हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा चैत महिनामा रवीन्द्र मिश्रको पुस्तक राजनीतिसँग राजकाजले बाजी मारेको छ । चैत महिनादेखि फाइनप्रिन्टले बजारमा ल्याएको यस पुस्तकले एक महिना नबित्दै बजारमा आफ्नो आधिपत्य जमाएको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक हो ‘राजनीतिसँगै राजकाज’। मिश्रले यस पुस्तकबाट प्राप्त हुने लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् । त्यस्तै, गत महिना यो सूचीको एक नम्बरमा रहेको सुरेस बडालको पुस्तक रहर यस महिना सूचीको आठौँ स्थानमा पुगेको छ ।

साहित्यपोस्टले गएको असोज महिनायता बेस्ट सेलर किताबहरूको सूची प्रकाशन गर्दैआएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्ट सेलर बुकको सूचीलाई आधार बनाइरहेको छ ।

यो महिनाको सूचीमा साङ्गि्रला बुक्सबाट बजारमा आएको प्रेमबहादुर बोहोराको संस्मरणात्मक कृति कोग्ले दोस्रो स्थानमा रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ । यस पुस्तकमा बोहोराले डोल्पाको कथा समेटेका छन् । त्यस्तै, अघिल्लो महिना सूचीको दोस्रो स्थानमा रहेको बाबुराम भट्टराईको पुस्तक गुमनाम आमाहरूको कथा चैत महिनाको बेस्ट सेलर सूचीको सातौँ स्थानमा झरेको छ ।

यस महिनाको बेस्ट सेलर सूचीको तेस्रो स्थानमा शिखा बुक्सले बजारमा ल्याएको डा. दयाराम श्रेष्ठको कृति “साहित्यको अनुसन्धान व्यवस्थापन” (अनुसन्धान दर्शन) पर्न सफल भएको छ भने अघिल्लो महिना सूचीको तेस्रो स्थानमा रहेको पुस्तक सेयर मन्त्र यो महिना सूचीको छैटौँ स्थानमा पुगेको छ । त्यस्तै, सूचीको चौथो स्थानमा उपन्यास छुई र पाचौँ स्थानमा आपा क्हार्प रहेको छ ।

विकसित देशहरूमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।

त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले छैटौँ महिनाको सूची प्रकाशन गरेको हो ।

पढ्नुहोस्, यसपटक बेस्ट सेलर सूचीमा परेका पुस्तक र बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहितः

१. राजनीतिसँगै राजकाजः

चैत महिनाको बेस्टसेलर सूचीको पहिलो स्थानमा नेता तथा वरिष्ठ पत्रकार रवीन्द्र मिश्रको पुस्तक राजनीतिसँग राजकाज पर्न सफल भएको छ । चैत महिनादेखि फाइनप्रिन्टले बजारमा ल्याएको यस पुस्तकले एक महिना नबित्दै बजारमा आफ्नो आधिपत्य जमाएको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक हो ‘राजनीतिसँगै राजकाज’। मिश्रले यसअघिका पुस्तकहरूबाट प्राप्त रोयल्टी चितवनमा विपन्न चेपाङ समुदायमा कार्यरत मितेरी फाउन्डेसनको सहयोगार्थ प्रदान गर्दै आएका छन्, यस पुस्तकबाट प्राप्त हुने लेखकस्व (रोयल्टी) लेखक मिश्रले विवेकशील साझा पार्टीलाई प्रदान गर्ने बताएका छन् । यिनै विविध कारणका बीच छोटो समयमै मिश्रको पुस्तक बेस्ट सेलर सूचीको पहिलो स्थानमा परेको हो ।

२. कोग्लेः

साङ्ग्रिला पब्लिकेसनबाट बजारमा आएको प्रेमबहादुर बोहोराको संस्मरणात्मक कृति कोग्ले यो महिनाको बेस्ट सेलर सूचीको दोस्रो स्थानमा पर्न सफल भएको छ । अघिल्लो महिना यो पुस्तक सूचीको सातौँ स्थानमा रहेको थियो । यस पुस्तकले नेपालको दुर्गम मानिने डोल्पाको कथा बोलेको छ ।

साङ्ग्रिला बुक्सले बजारमा ल्याएको यस संस्मरणात्मक कृति कोग्लेभित्र लेखकका बाल्यकालका रमाइला किस्सा, स्कुल पढ्नका लागि गरेको सङ्घर्ष, एसएलसीपछि सहरमा रूमलिएको यात्रा, सहरबाट हेर्दा देखिएको कर्णालीको चित्रलगायत समेटिएका छन् । लेखक शिक्षा नेपालका संस्थापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता हुन् ।

३. साहित्यको अनुसन्धान व्यवस्थापन (अनुसन्धान दर्शन)ः

शिखा बुक्सले गत महिना बजारमा ल्याएको डा. दयाराम श्रेष्ठको अनुसन्धानात्म कृति हो, साहित्यको अनुसन्धान व्यवस्थापन । यस पुस्तकमा डा. श्रेष्ठले अनुसन्धानका लागि आवश्यक तत्त्वहरूको र त्यसको व्यवस्थापनका सम्बन्धमा व्याख्या गरेका छन् । यस पुस्तकको उपयोगिता साहित्यको अनुसन्धान, शोधपत्रको तयारी, विश्वविद्यालयका विभिन्न शोधहरू इत्यादिका लागि यो पुस्तक उपयोगी भएकाले राम्रो बिक्री भइरहेको बिक्रेताहरूले जनाएका छन् ।

 

४. छुईः

चैतको मध्यबाट बजारमा आएको घनश्याम पथिकको उपन्यास हो, छुई । महिनाबारी बार्ने प्रथालाई मुख्य विषय बनाएर लेखिएको यस पुस्तक चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ । केही समय अगाडि यस पुस्तकको बिमोचन भव्य कार्यक्रमका बीच गरिएको थियो । कार्यक्रममा पूर्वमिस नेपाल शृंखला खतिवडा, नायिक ऋचा शर्मा र वरिष्ठ हाँस्य कलाकारले उपन्यासमाथि बोल्नु भएको थियो, जसले उपन्यासको बिक्रीमा टेवा पुग्न गएको बताउँछन् बिक्रेताहरू ।

 

 

 

५. आपा क्हार्पः

उपन्यास पाठशालामार्फत् नेपाली साहित्यमा दर्बिलो उपस्थिति जनाएका तीर्थ गुरूङको कथासङ्ग्रह आपा क्हार्प चैत महिनाको बेस्ट सेलर सूचीको पाँचौँ स्थानमा पर्न सफल भएको छ । बुकहिल प्रकाशन गृहले प्रकाशनमा ल्याएको यस पुस्तकलाई तमु वर्ष पुस्तक पुरस्कारसमेत प्राप्त गरिसकेको छ । यस कथासङ्ग्रहमा रहेका १५ थान कथाहरूले विविध विषयहरुलाई समेटेका छन् । गुरुङ मिथवरिपरि रहेर तयार पारिएको यस सङ्ग्रहले आञ्चालिकताको प्रतिनिधित्व गर्दछ। विशेषगरी गण्डकी क्षेत्र, पोखरा र वरिपरिको परिवेश तथा गुरुङ समुदायसँग गहिरो सम्बन्ध देखिन्छ। कथाकारले यसै क्षेत्रमा बोलिने बोलीलाई टपक्कै टिपेर पात्रका मुखबाट बोलाउन सफल भएका छन् ।

 

 

६. सेयर मन्त्रः

अघिल्लो महिना साहित्यपोस्टको यो सूचीको तेस्रो स्थानमा रहेको सेयर बजार विश्लेषक रविन्द्र भट्टराईको पुस्तक सेयर मन्त्र यस महिना सूचीको छैटौँ स्थानमा झरेकाे छ । नेपालमा सेयर बजारमाथि लगानी गर्नुपर्ने कुरामा जागरण नै चलेको तथा लेखक स्वयम् सेयर बजारमा ज्ञाता भएका कारण यस पुस्तकको बिक्री राम्रो रहेको बिक्रेताहरू बताउँछन् । लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।

७. गुमनाम आमाहरूका कथाः

नेपाली राजनीतिमा सबैभन्दा बढी प्रशंसक र सबैभन्दा बढी आलोचक कमाएका नेता हुन्, डा. बाबुराम भट्टराई । सामाजिक सञ्जालहरुमा यिनले लेखेका टिप्पणीहरुमा पनि यसको छनक पाइन्छ । यिनै राजनीतिकर्मीले लेखेको पुस्तक गुमनाम आमाहरूको कथा चैत महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको सातौँ स्थानमा परेको छ । अघिल्लो महिना सूचीको दोस्रो स्थानमा रहेको यो पुस्तक यस महिना ५ स्थान तल झरेको छ ।

यस पुस्तकमा बाबुराम भट्टराईले आमाहरूका कथालाई समेटेका छन् । यो संस्मरणात्कम कृति हो । यो पुस्तक पनि गत महिना मात्र बजारमा आएको हो ।

८. रहरः

सुरेश बडालको कथासङ्ग्रह यस महिनाको बेस्ट सेलर सूचीको आठौँ स्थानमा झरेको छ । अघिल्लो महिना यो सूचीको पहिलो स्थानमा रहेको रहर, सात स्थान तल झर्दै यो महिना आठौँ स्थानमा पुगेको छ । यो पुस्तक अघिल्लो वर्ष नै बजारमा आउने भनिए तापनि कोरोना महामहारीका कारण एक वर्ष ढिला गरी आएको थियो ।

सुरेश बडाल युवापुस्ताका लोकप्रिय लेखक हुन् । युवापुस्तामाझ उनको फ्यानफलोइङ लोभलाग्दो छ । यसैकारणले पनि सुरूवाती चरणमै पुस्तकको व्यापार सुखद भएको व्यवसायीहरू बताउँछन् । साथै, पुस्तक आउन साथ देशभर सहजरूपमा उपलब्ध गराइनुले पनि व्यापारमा फाइदा पुगेको देखिन्छ । तथापि बिक्री कति लामो समय हिँड्छ भन्ने हेर्ने आउँदा महिना कुर्नै पर्ने हुन्छ ।

 

९. महारानीः

यस वर्षकाे मदन पुरस्कार प्राप्त कृति

शिखा बुक्सबाट बजारमा आएको, अघिल्लो वर्षको मदन पुरस्कार विजेता औपन्यासिक कृति महारानी यो महिना पनि बेस्ट सेलर सूचीको नवौँ स्थानमा पुगेको छ । । याे पुस्तक अघिल्लो महिनाको सूचीमा छैटौँ स्थानमा रहेको थियो ।

गएको असोज र कार्तिकमा निरन्तर सूचीको पहिलो स्थानमा रहेको चन्द्रप्रकाश बानियाँको यस उपन्यासको बिक्री तेस्रो महिनादेखि केही सुस्तताको देखिन्छ । यद्यपि साहित्यपोस्टको बेस्टसेलर सूचीमा निरन्तर पर्न सफल महारानी नै एकमात्र कृति हो । यसको बिक्री काठमाडौँ उपत्यकाको तुलनामा सहरोन्मुख गाउँमा बढी भइरहेको रिपोर्टहरूले देखाएका छन् ।

१०. काँचो कागजः

नेपाली कविता र नाटक विधाका सशक्त हस्ताक्षर गोपी सापकोटाको पहिलो उपन्यास ‘काँचो कागज’फागुनदेखि बजारमा आएको थियो । कलम प्रकाशनले बजारमा ल्याएको यस उपन्यास यो महिनाको बेस्ट सेलर सूचीको दशौँ स्थानमा पर्न सफल भएको छ । उपन्यासले प्रेम, आशक्ति र अध्यात्मलाई सशक्त रूपमा प्रस्तुत गरेको छ ।

बिगत तीन दशकदेखि नेपाली साहित्यमा सक्रिय सापकोटाको लेखनमा नवीनता पाइन्छ । नेपाली नाटकमा प्रयोगधर्मी नाटककारको रूपमा परिचित गोपीले उपन्यास काठमाडौँबाहिर राम्रो बिक्री भइरहेको प्राप्त रिपोर्टले देखाएको छ ।