संसारको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा जीवमाथि भएको अन्यायलाई भित्री गहिराईदेखि अनुभूति गर्ने प्रयासले नै समवेदना र चेत तहको पाइन देखाउँछ र त्यही भावले नै उसको दृष्टिकोणलाई समुदायमा स्थापित गर्छ । मानवताको चेतनामाथि उठेका मान्छेहरूबाट मानवका अथाह पीडाहरूको महसुस गर्ने चेत ग्रन्थिनिसृत हुन्छ । सृष्टिप्रति समवेदित करुणा र कर्तव्य भावका लागि कुनै विज्ञताको जरुरी पर्दैन । त्यो नै प्राकृतिक न्यायको अनुभूतिबाट उत्सर्जित सूक्ष्म ज्ञान हो । जुन पवित्र भाव विकसित हुँदै गयो भने त्यसले पुर्याउने गन्तव्य भनेको प्राकृतिक समानता युक्त संसार हो । जसलाई हामी प्राकृतिक साम्यवाद पनि भन्न सक्छौँ । जहाँ सबै चराचर सबैका निम्ति बाँच्न सकून् ।
मानवताको अनुभूतिलाई प्रमाणित गर्ने माध्याम भन्नाले व्यक्ति समाज, समुदाय, राष्ट्र र जीव जगत्को जीवन चक्रलाई प्राकृतिक सौन्दर्यको रूपमा स्वीकार गरी सम्मान गर्नुलाई बुझाउँछ । त्यसैले नै भनिएको होला, यथास्थितिको परिवेशले सर्वप्रथम मानिसलाई बदल्छ, उसको चेतनालाई असर पार्छ । त्यही सिकाइको प्रेरणा लिएर मानिस मानवताको लागि ब्युँझिन्छ, उठ्छ र गतिशील बन्छ । उसले तत्कालका लागि असम्भव जस्तो देखिने तर सिङ्गो मानव समुदायको अस्तित्वका लागि चिरकालीन मुद्दा बोकेर अगाडि आउँछ । अनि मात्र उसले मानव अस्तित्व अन्य जीव वा वनस्पतिको अस्तित्वबिना सम्भव छैन भन्ने बुझ्छ र ऊ प्राकृतिक सहअस्तित्वको शरणमा परिक्रमा गर्न थाल्छ । जसरी वातावरण र मानिसबाहेकको देश हुँदैन त्यस्तै प्रकृतिवादीहरूको पनि देश हुँदैन । प्रकृतिप्रेमीहरू जैविक सहअस्तित्व र जीव जगत्को न्यायका लागि लड्नु पूर्व अन्तराष्ट्रियवादी हुनु जरुरी हुन्छ । किनकि पर्यावारणको विनाशको प्रभाव राष्ट्रिय कानूनको सम्मान गरेर एक देशमा मात्र बस्दैन ।
अहिले संसारभरि वातावरणविद्हरूले उठाइरहेको एक गम्भीर प्रश्न हो हामीले केका लागि लेख्ने ? स्वयम् आफ्नो अस्तित्व रक्षाका लागि लेख्ने कि ? सामरिक युद्धमा गरिएका युद्धको समर्थन वा विरोधमा लेख्ने ? देशका लागि मात्र लेख्ने कि प्राकृतिक न्यायले सञ्चालित आगामी विश्व व्यवस्थाको प्रेरणाका लागि लेख्ने ? चेतनाको एक आयात र निर्यातकर्ता लेखक र पत्रकार हो । त्यो एक साहित्यकार वा दार्शनिक पनि हुन सक्छ । प्रायः लेखक वा पत्रकारहरूले पनि नियमित रूपमा यी सत्यहरू तथ्यसहित समुदायमा बाँड्नु आवस्यक छ । आफ्नो प्यारो धर्तीको वातावरण ध्वस्त हुनबाट बचाउन, मानव अस्तित्वको रक्षा गर्न वा जीव जगत्को नियति र गतिबारे के कति लेखेका छौँ, के कति गरेका छौँ ? यो हामी आफैँलाई पनि एक प्रश्न हो ।
सार कुरा के भने, जिज्ञासा चेतनाको बीज हो, त्यसले खोजलाई प्रोत्साहित गर्छ, अनुसन्धान वा खोजले तथ्यहरूलाई समाजका बिचमा ल्याई दिन्छ । खोज पत्रकारितामा भनौँ , विज्ञानको प्रयोगशालामा भनौँ वा विश्लेषण र अनुसन्धान मुलक लेखहरूमा विगतमा भएका प्रयोगका भित्री नतिजा र परिणामलाई सौन्दर्यपूर्ण तरिकाले बाहिर ल्याइन्छ । ती सबै तथ्यहरू कुनै व्यक्तिहरूको त्यागबाट मात्र प्राप्त हुन्छन् । समुदायको असल भविष्यका लागि, मानवको सुखद प्रयोजनका लागि अगुवाहरूले त्याग गर्दछन् । त्यो विभिन्न क्षेत्रमा हुनसक्छ । त्यो पत्रकारिता वा लेखकीय विधामा पनि हुनसक्छ । भाषाको उन्नतिका लागि, पहिचानका लागि, दिग्दर्शन वा मार्ग निर्देशनका लागि र अन्त्यमा धर्तीमा जैविक अस्तित्वका लागि समेत मानिसले खोजिरहेको छ , लेखिरहेको छ र संसारलाई चेतनाको निर्यात गरिरहेको छ ।
सुन्दा विषाद लाग्नसक्छ तर सत्य कुरा के हो भने “जीवनमा आफ्ना लागिमात्र सोच्नु अपराध हो” । किनकि व्यक्तिगत स्वार्थले अरूको हितलाई बेपर्वाह मिल्काइदिन्छ र आत्मकेन्द्रित बनाउँछ । त्यसैले समाज विज्ञानमा व्यक्तिवादी सोच घातक मानिन्छ । समाज परिवर्तनको अर्को तर महत्त्वपूर्ण सोच अरूको अस्तित्वलाई स्विकार्ने सोच हो । आफ्नो अस्तित्व अरूको अन्तर्निहित गर्ने सोच, आफ्नो हित समुदायको हितसँग जोड्ने सोच नै उत्कृष्ट सोच हो । समूहको हित, समूहको अस्तित्व र सम्पूर्ण सभ्यतालाई आफू जत्तिकै महत्त्व दिने सोच नै प्राकृतिक न्यायसङ्गत सोच हो । किनकि प्रकृतिमा अरूको पनि जबर्जस्त अस्तित्व छ । प्रकृतिमा अरूको पनि त्याग र जिम्मेवारी छ ।
प्रकृतिमा जति जीव चराचरको अस्तित्व छ ती सबैको एकापसमा सम्बन्ध पनि छ । हाम्रो छिमेकीसँगको सम्बन्ध भन्दा घनिष्ठ सम्बन्ध ती सबैसँग छ । उनीहरूबिना हामी बाँच्न सक्दैनौँ । हाम्रो खाना, हाम्रो बासस्थान, हाम्रा पेय, हाम्रो जीवनका प्रत्येक यस्ता क्षण नहोलान् जुनबिना हामी बाँच्न सकौँ । त्यसैले हाम्रा जीवनका ती सबै आधारहरू हामीले भत्कन नदिनका लागि , सबैले सबै चराचरको सम्मान र सहअस्तित्वका लागि प्रेरणा दिनुपर्छ । त्यसलाई केन्द्रमा राखेर लेख्नु वा बहस गर्नुपर्छ । अरू व्यक्तिगत विषय भन्दा पृथ्वीको सन्तुलन बचाउने कुरा महत्त्वपूर्ण छन् । देश नरहेपनि मानव बाँच्न सक्छ तर वातावरण नरहे मान्छे बाँच्न सक्दैन । दुई तीन मैनासम्म वातावरण दस दिनअगाडिको काठमाडौँको जस्तो प्रदूषित भयो भने संसार एक ठुलो मानव चिहानमा परिणत हुनसक्छ । यो सबै हाम्रो लापरवाहीका कारणले भएको हो । दुम्सी र जङ्गली जनावर रोक्न हामीले जङ्गलमा आगो लगायौँ । सुकेका रुख बेचेर निजी पुँजी कमाउन हामीले जङ्गलमा आगो झोस्यौँ । जङ्गलमा खी गर्न वा बस्ती बसाल्न हामीले जङ्गल जलायौँ । निजी लाभका लागि हामीले हाम्रो जङ्गल मात्र जलाएनौँ ,हाम्रो भविष्य जलाएका छौँ । त्यसैले निजी सम्पत्तिको अवधारणा प्राकृतिक न्यायसम्मत छैन । निजी पुँजीको स्थापना वास्तवमा प्राकृतिक समानता, जैविक समानता र स्वयं रचयिताका लागि समेत अस्वीकार्य छ ।
अर्को गरी भन्दा, प्राकृतिमाथिको मानव हमलाले आज नेपालको राजधानीमात्र हैन संसारभरि जुन ऋतु सन्तुलनमा समस्या देखिएको छ, त्यो निजी पुँजीको प्रणालीले निम्त्याएको खतरा हो । आज संसारलाई केबल उपभोक्ता बनाउने, कजाउने र प्रकृतिको दोहनलाई अझै तीव्रता दिँदै नाफाको प्रतिस्पर्धामा आफूलाई अब्बल सावित गर्ने होडले अबको केही वर्षमा अमेजन, पूर्वी एसिया र नेपाललगायतका वन सम्पदा सकिनेछन् । मरुभूमिकारण तीव्र बनेर जानेछ । प्रदूषणले अक्सिजनको सिलिन्डर किनेर बाँच्नु पर्ने अवस्था आउनेछ । लेखकहरू अब त्यसका लागि लेखौँ जसले प्राकृतिक जैविक समानाताका लागि चेतनाका फुलहरू फुलाउन सकोस् ।
पृथ्वीको राजनैतिक प्रणालीले गलत बाटो लिएको छ । उपभोगका लागि उत्पादनको बाटो छोडेको छ । समुदायको प्रगतिका लागि प्राकृतिक सन्तुलनको बाटो छोडेको छ । मानव अस्तित्वका लागि चराचरले बलिदान दिनुपर्ने ? सिङ्गो जीव जगत्ले मानवको अनावस्यक नाफाका लागि सिङ्गो प्रकृतिको विनाश सहनुपर्ने ? ईश्वरको न्यायमा यसको सजाय कसले पाउनुपर्छ मलाई थाह छैन, तर प्राकृतिक न्यायका लागि मानव अस्तित्व नासिनु नै यो अपराधको उचित दण्ड हुनसक्छ । मेरो विचारमा कठिन समयको सन्निकट उभिएका हामीले पृथ्वीको वातावरणलाई चाह्यौँ भने अझै लामो समय यथास्थानमा राख्न सक्नेछौँ । अन्यथा यही प्रकारले प्रकृतिको दोहन भैरह्यो भने मानव अस्तित्वको अन्त्यलाई प्रलयले पनि रोक्न सक्ने छैन । मानिसको प्रकृति माथिको निर्मम आक्रमण देखर नै महान् वैज्ञानिक स्टेफन हकिङ्गले ‘मानिसले आफ्नो अस्तित्व रक्षाका लागि अर्को बस्न योग्य ग्रहको खोजी गर्नुपर्ने अन्यथा ‘ भविष्यवाणी गरेका होलान् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।