मेरी आमालाई धम्की थियो । धेरै समय भरतपुर अस्पताल बस्नु पर्थ्यो। अलिक सन्चो भएपछि घरमा ल्याइन्थ्यो तर अक्सिजन कहिल्यै छुटाउन नहुने । अस्पतालकै बेडबाट एक दिन आमाले मसँग भन्नु भएको थियो, “बाबु यी नर्स नानीहरूले मेरो धेरै सेवा गरेका छन् । डाक्टर र नर्सहरू धर्तीका देवता हुन् जस्तो लाग्छ । एउटी नातिनीलाई नर्स कि डाक्टर पढाउन सके अरूको सेवा गरेर मेरो ऋण तिरी दिन्थेँ ।”
आमाको त्यो अन्तिम इच्छा हो कि जस्तो पनि लाग्यो र त्यही बेलुका आमाको इच्छा मैले छोरीहरूलाई सुनाएँ । ठुली छोरी प्रतिमा अलिक बुझ्ने भैसकेकी थिइन्। त्यो कुरा उनको मनमा गढेको कुरा उनले बाह्र कक्षा पास गरेपछि बल्ल थाहा भयो । किनकी उनले बाह्र पास गरेकै बेलुका नर्स पढ्ने निर्णय सुनाइन्।

डिल्ली अम्माई (बेल्जियम)
भनिन्छ, आधुनिक प्रविधिले मानव अङ्गको सेल गर्भमा प्रत्यारोपण गरेर दुरुस्तै अर्को मान्छे जन्माउन सक्छ । बङ्गुर र भेडामा क्लोन प्रयोग सफल पनि भयो । त्यस्तै अचेल विचार र इच्छाको क्लोन मनोविज्ञानमा पनि हुँदो रहेछ कि जस्तो लाग्छ । आमाकी आफ्नी नातिनी परिचारिका वा डाक्टर बनेको देख्ने धोकोले ठुली छोरी प्रतिमा अहिले वरिष्ठ परिचारिका ( Registered nurse (RN)) भएकी छन् । तर दुर्भाग्य ! आमाले आफ्नी नातिनीले पवित्र श्वेत वस्त्र लगाएर बिरामीको सेवा गरेको देख्न पाउनु भएन । त्यसो भनेको दुई वर्ष पनि आमाको फोक्सोले आमालाई बचाउन सकेन । तर आमा तपाईँको इच्छा अनुसार अन्य नर्सहरूले तपाईँलाई लगाएको ऋण अहिले तपाईँकै नातिनीले खुरुखुरु तिरिरहेकी छिन् । तपाईँको आत्माको अनन्त शान्तिको कामना छ आमा । तपाईँकी परिचारिका नातिनीलाई सदैव मानव सेवामा मन रमाइरहने आशिष् दिइरहनु होला।
छोरीले रोजेको नर्सिङ पेशाबारे मेरो बुझाइ :
मैले बुझे अनुसार बिरामीको सेवा वा हेरविचारलाई उपचारिका सेवा भनिन्छ । अङ्ग्रेजीमा नर्स शब्दको अर्थ हुन्छ ‘रेख देख र पोषण ‘। नर्स एउटा त्यस्तो व्यक्ति हो जसले बच्चाको हेरचाह गर्छ; त्यो हिसाबले हेर्दा स्त्री लिङ्गी नर्स पनि हुन सक्छन् भने पुलिङ्गी पनि नर्स हुन सक्छन् । जसले शिशुहरू वा बिरामीको हेरचाह गर्छन् ती सबै सेवक सेविकाहरूलाई नर्स भनिन्छ । नर्स अत्यन्त परोपकारी र उदारताको काम हो र यो कार्य यस्तो व्यक्तिको लागि गरिन्छ जुन याचक आफैँले आफ्नो केयर गर्न सक्दैन । त्यसैले हेरचाह एक अत्यन्तै पवित्र पेशा हो । यसका लागि समर्पित हृदय भएका चरित्रवान् व्यक्तिहरू आवश्यक पर्दछन् जो मानवीय जीवनको मूल्यप्रति कटिबद्ध र दृढ छन् । नर्सहरूको हरेक समयको सानो भन्दा सानो इकाईले कसैको प्राण रक्षा गरिरहेको हुन्छ । एक नर्सको त्यागयुक्त सेवाले मृत्यु उन्मुख मानव जीवनोन्मुख बनिरहेको हुन्छ । एक नर्सको मनोविज्ञान सदैव परोपकारप्रति दृढ सङ्कल्पित हुनु पर्छ र जीवनको मूल्य चिनेको हुनु पर्छ ।
अनुकम्पा, करुणा ,समवेदना र समर्पणका लागि नर्सिङ एक उच्च मानवीय आत्मसम्मानपूर्ण पेशा हो, जुन समाजको आवश्यकतालाई सम्बोधन गर्न निरन्तर विकसित हुँदै गैरहेको छ । देवतातुल्य धर्तीमा कोही परोपकारी पेशाकर्मी छन् भने ती डाक्टर र नर्स हुन् । शास्त्रानुसार पनि परोपकारको उत्कर्ष समाजसेवालाई मानिन्छ, समाजसेवामा पनि उत्तम डाक्टर र नर्सद्वारा गरिने प्राणरक्षाको कर्म हो । गम्भीर स्वास्थ्य समस्याहरूको बारेमा सबैभन्दा सही निदान सुनिश्चित गर्नबाट नर्सहरू सार्वजनिक स्वास्थ्यको सुरक्षामा अपरिहार्य हुन्छन् ।
नर्सिङलाई कला र विज्ञान दुवैको रूपमा वर्णन गर्न सकिन्छ । कला यस मानेमा कि बिरामीको विश्वास नर्सले कहिल्यै मानसिक रूपमा खलबलिन दिँदैनन्, बिरामीलाई जिउने उत्प्रेरणा र विश्वास उनीहरूको सेवाभावमा निहित हुन्छ । डाक्टर वा नर्सको सेवा विज्ञान यस मानेमा मानिन्छ कि यो औषधिको मात्रा र रोगको प्रकृति, रोगको रोगथाम वा निराकरण तथा सल्यक्रिया आदि प्राविधिक प्रयोगसँग पनि सम्बन्धित हुन्छ ।
मानवनिर्मित भौतिक सुविधा र आर्थिक उन्नतिले दिने सन्तुष्टि भन्दा पर आत्मिक तथा लौकिक सन्तुष्टि छ, जसलाई कुनै जाति वा देशको सीमाले प्रभावित गर्न सक्दैन, त्यो परम् सन्तुष्टि मानव सेवाबाट मात्र प्राप्त हुने हो । महाकवि देवकोटाले यात्री कवितामा भनेको सेवा पनि त्यही परोपकारको परमार्थी सेवा हो । जब हामी परोपकारबाट विमुख हुँदै जान्छौँ, हामीभित्रको मानवता पनि क्रमशः मर्दै जान्छ । मानवता मर्नु भनेको आत्माभित्र भएको प्रकाश निभ्नु जस्तै हो र जीवनको ज्योति अनन्त अँध्यारो सुरुङभित्र प्रवेश गर्नु जस्तै हो । परोपकार- सेवा भाव र समर्पणको मार्ग हुँदै प्रेम मार्फत निसृत हुने गर्दछ । प्रेम नै जनहितको त्यस्तो विज हो जसले मानवताको भ्रुणलाई कहिल्यै मर्न दिदैँन । मेरो विचारमा अरूको खुशीबाट प्राप्त हुने यो परम् सन्तुष्टि लिनका लागि नर्सिङ एक उपयुक्त पेशा हो । त्यसैले छोरी तिमीले जुन दिन यो पेशा रोज्ने निर्णयमा पुगेकी थियौ र त्यही निर्णय अनुसार नर्सिङ पढाइ सुरु गरेकी थियौ । तिमीले गरेको निर्णयको त्यो दिन म आत्मिक खुशीले दिने सुखानुभूतिमा गद्गद भएको थिएँ।
नर्सिङ्बारे इतिहास के भन्छ ?
माध्यामिक तहको पढाइ सकिने बेला तिमीले भनेकी मलाई अझै याद छ छोरी, ‘मानव प्रेम होस् त मदर टेरेसाको जस्तो, परोपकार र मानव सेवा होस् त फ्लोरेन्स नाइटिङ्गलको जस्तो । हामीले पनि अलिकति फ्लोरेन्स नाइटिङ्गलकै बारेमा पनि पाठ पढ्नु पर्थ्यो । त्यसपछि नर्सकी संस्थापक आमाको बारेमा धेरै कुराहरू थाहा भएको थियो । उहाँको मानव हितप्रतिको समर्पण र त्यागबारे जानेर नै मेरो परिचारिका पढाइतर्फ आकर्षण पैदा भएको छ । मैले नर्सिङ्ग पेशालाई श्वेत पहिरनजस्तै पवित्र पेशा मानेर हाम्रा अग्रजहरूकै अनुशरणमा हिड्ने प्रयत्न गर्ने लक्ष लिएकी छु ।’
पङ्क्तिकारले पनि पढेपछि थाहा पायो कि ‘महान् परोपकारी महान् आमा फ्लोरेन्स नाइटिङ्गलले सिकिस्त बिरामी, घाइतेहरूलाई नियमित हेरचाहको जग बसाल्नु भएको रहेछ । उहाँ एक धनी घरकी छोरी हुनुहुन्थ्यो, तर युद्धमा घाइतेहरूको नियमित सेवाको आवस्यकतालाई आत्मसाथ गर्दै पुरानो चिकित्सा पद्दतिबाट असन्तुष्ट बन्नुभएको उहाँले नर्सिङ पढाइ सकेर लन्डनमा बिरामीहरूका लागि हेरचाह भवन खोल्नुभयो । सन् १८४५ मा, जब क्रिमियामा युद्ध सुरु भयो, उहाँले आफ्नो ३४ वर्षको उमेरमा युद्ध सचिवको अनुरोधमा ३८ जना नर्सको टोली लिएर घाइतेहरूको सेवामा तल्लीन हुनुभयो । जसरी एक आमाले आफ्नो बच्चाको स्याहार स्वतस्फुर्त गर्छिन् भनेझैँ परिचारिकाकी संस्थापक आमा फ्लोरेन्स नाइटिङ्गलले पनि युद्धका घाइतेहरूको सेवा त्यसरी नै गर्नु भयो, परिचारिकाको स्थिति बसाल्नु भयो र परिचारिका सेवालाई संसारकै उत्कृष्ट पेशाको रूपमा स्थापित गरेर जानुभयो । उहाँहरूको अथक सेवा पाएर बिरामीहरू छिटो सन्चो हुन था ले। मर्नेको सङ्ख्या धेरैले कम भयो । ब्यारेकमा घाइते सिपाहीको मर्ने सङ्ख्या ४२ प्रतिशतबाट २ प्रतिशतमा झरेपछि नाइटिङ्गललाई संसारले सम्मान गर्न थाल्यो। नर्सकी संस्थापक फ्लोरेन्स नाइटिङ्गलकै प्रयासले लन्डनमा नर्सहरूका लागि संसारकै पहिलो नर्सिङ्स्कूल खोलियो, जुन विद्यालय अहिलेपनि संसारभरि उनैको नामले प्रसिद्ध छ ।’
तिमी यो पेशाका अग्रजहरूको त्यागमय इतिहासबाट मानवतालाई ब्युँझाएर यो पेशा अँगाल्ने निर्णयमा पुगेकी रहिछौ । हो, डाक्टरहरूले बिरामीको प्राणलाई शरीरबाट बाहिर बग्न नदिन जसरी सम्बन्धित रोगको कारण पत्ता लगाएर निदानाका लागि कार्य गर्दछन् त्यस्तै दयालु सिस्टरहरूले ओइलाउन लागेको शरीरलाई जीवन तर्फ फर्काउने काममा आफूलाई समर्पित गरेका हुन्छन् ।
परिचारिका पेशाको स्थापना कालमा अमेरिकामा सिस्टर्स अफ च्यारिटी तथा दयालु बहिनीहरूद्वारा स्थापना गरिएका अस्पतालहरूको सेवाले अमेरिका आभारी भयो । गृहयुद्धको त्यो समयमा अस्पतालहरूको ठूलो हिस्साले उनीहरूको रकमको एक हिस्सा नर्स प्रशिक्षण स्कुलहरूको स्थापनामा खर्च गर्न थाल्यो । जसले अमेरिकामा स्थाई रूपमा नर्सिङ पढाइ र सेवालाई स्थायी बनायो । उक्त समयमा १८०० शैक्षिक कार्यक्रममा ६० हजार विद्यार्थीले नर्सिङ पढाइ शुरु गरे। यसरी यो सेवाले प्रतिष्ठित पेशाको रूपमा विश्वव्यापी हुने मौका पाएको हो । यो सबै मैले अलिकति तिमीबाट र धेरै तिमीले सिफारिस गरेका पुस्तकहरूबाट थाह पाएँ छोरी।
नर्सिङ सेवाहरू :
मैले के पनि बुझेँ भने प्रतिमा, ‘प्रत्येक नर्स कुनै एक वर्गका मानिसको विषयगत सेवाका विशेषज्ञ हुन् । अहिले पशु अस्पतालमा पनि नर्सहरू राखिन थालेकोले अरूको सेवा आवस्यक रहेका जो कोही प्राणिले पनि नर्सको सेवा लिन सक्ने भएको हो । नर्सका कामहरू मुख्यतः सामाजिक र सार्वजनिक स्वास्थ्य सेवा, अस्पतालको हेरचाह, औद्योगिक क्षेत्रमा कामदारहरूको स्वास्थ्य हेरचाह, नर्सिङ हेरचाह र निजी चिकित्सा सेवा अन्तर्गत पर्ने देखियो । त्यो बाहेक युद्धबाट घाइते बनेका वा दुर्घटनामा घाइते बनेका बिरामीहरूको आकस्मिक सेवा समेत नर्सिङमा पर्दछ । परिचारिकामार्फत गरिने हेरचाहका धेरै अन्य उपविभागहरू पनि छन्, उदाहरणका लागि – बच्चाको हेरचाह, हृदय रोगिहरूको हेरचाह, गर्भावस्थाको हेरचाह, सामान्य औषधि र शल्य चिकित्सा हेरचाह, मानसिक बिरामीहरूको हेरचाह, सङ्क्रमक रोगीहरूको हेरचाह आदि।
विश्लेषण क्षमता र उदेश्य :
मेरो विचारमा बिरामीहरूको अवस्थाबारे मुल्याङ्कन गर्दा नर्सहरूले परीक्षणको नतिजा मात्र हेरेर हुँदैन । नर्सहरूले नर्सिङ प्रक्रियामा उदाहरणीय आलोचनात्मक सोचको माध्यमबाट आफ्नो क्षमता तथा अनुभवहरूको उपयोग गर्दै उद्देश्यपूर्ण डेटालाई बिरामीको जैविक, शारीरिक र व्यवहारिक आवश्यकताहरूको सापेक्षिक अनुभवको साथ एकीकृत गरेर हेर्न सक्नु पर्दछ । त्यसैले यो पेशालाई कलासँग जोडिएको हो।
सारांशमा भन्नु पर्दा छोरी ! नर्सहरूको मुख्य काम निरोगी नागरिकको आधार बनाएर स्वस्थ राष्ट्र अनि विश्व निर्माण गर्नु हो । रोगको अनुपस्थितिलाई स्वास्थ्य भनिदैन, स्वास्थ्य निश्चय पनि तन्दुरुस्त नाम हो, जुन त्यस्तो अवस्था हो जहाँ पूर्ण शारीरिक, मानसिक र सामाजिक प्रसन्नता हुन्छ । अस्पतालमा स्वस्थ भए पछि बिरामीलाई पहिले जस्तो अस्वच्छ वातावरणमा फर्काउनु पर्ने बाध्यताले स्वस्थ राष्ट्रको निर्माणको दिशामा कुनै प्रगति हुन सक्दैन । नर्सहरूले अधिक स्वास्थ्यको भावना जागृत गराउने र स्वास्थ्य जागरण ल्याउन सक्नु पर्छ र तिनीहरूले यो बुझ्नुपर्दछ कि समुदायमा यदि आत्मिक जागरण, स्वास्थ्य जीवनशैली र विश्वास कायम गरियो भने धेरैजसो स्वास्थ्य सम्बन्धि चिन्ता स्वतः हट्नेछ । यो केवल नर्सहरूबाट मात्र सम्भव छ, जसले मानिसहरूलाई स्वस्थ जीवन जिउन राम्रो मार्ग निर्देश गर्न सक्छन् । तिनीहरूले बिरामी र उसको परिवारलाई ती चीजहरूको बारेमा शिक्षा दिनुपर्दछ ताकी नर्सले छोडेपछि पनि उनीहरूले परिवारको एकापसमा नर्सले झैँ सेवा गर्न सकुन् । तिम्रो सेवाभावको भावार्थबाट मैले बुझेको कुरा यो पनि हो।
जिम्मेवारी :
छोरी तिमीले हमेसा भन्ने गर्छ्यौ, ‘नर्सले नयाँ आगन्तुक बिरामीहरूको प्राय: सबै जिम्मेवारीहरू लिनुपर्दछ । एक नर्सले बच्चा जन्मनुभन्दा नौ महिनाअगाडिबाटै आफ्नो काम शुरु गर्नु पर्दछ । जन्मभन्दा अघि, जन्ममा, शैशवकालमा, बाल्यावस्था र किशोरावस्था, एक बालकको हरेक समयमा र नर्सले बच्चाको घरमा, स्कुलमा, अस्पतालमा, सडकमा, खेतमा समेत हेरचाह गर्नुपर्छ। नर्सले बालकको अभिभावकलाई सहयोग गर्नुपर्दछ र जानकारी दिनु पर्छ कि तपाईँको बच्चा यो समस्याहरूबाट गुज्रिरहेको छ । नर्सले शिक्षक, सल्लाहकार र साथीको समेत अभाव पूरा गरिदिनु पर्छ । प्रत्येक नर्सलाई बच्चाको रुचिसम्बन्धी अनुमान, विशेष ज्ञान र बच्चा हेरचाहको अधिक सीपहरू चाहिन्छ ता कि उनले वैज्ञानिक ढङ्गले उनीहरूको हेरचाह गर्न सकुन् ।
बच्चाका लागि समय अत्यन्त तीव्र हुन्छ, जब उसलाई अस्पताल ल्याइन्छ । ऊ आफ्नी आमालाई छोडेर नयाँ संसारमा पुग्छ, जहाँ के गर्ने वा नगर्ने उसलाई थाहा हुँदैन । बच्चाको अस्थिर मानसिक सन्तुलन र तीव्र आवेगले उसको बिरामीपनलाई बढी जोखिममा पार्छ । यस्तो अवस्थामा, अस्पतालमा व्यक्तिगत हेरचाहको महत्त्व उपचारको भन्दा बढी हुन्छ । विश्वासलाई आत्मीय बनाउन उसका लागि सबै कुरा स्पष्ट रूपमा बताउनु एक नर्सको मुख्य काम हो ता कि बच्चा वा बिरामी मेडिकल र डाक्टरले गर्ने कामका लागि तयार हुन सकुन् । यदि बच्चालाई पहिल्यै सहमतिमा ल्याउन सकिएन भने पक्कै उसको विरोधले आगामी उपचार अनुसन्धानमा बाधा पुर्याउनेछ । यी सबै कुराका हेक्का राखेर नर्सले सेवा दिनु पर्छ ।
कार्डियक केयरमा नर्सको विशेष जिम्मेवारी हुन्छ र उही तरिकाले नर्स प्रशिक्षित भएका हुन्छन् । शुरुमा दुखाइ कम भएपछि मुटुका धेरै रोगीहरूले तिनीहरूको रोगको सम्बन्धमा पछिसम्म आवश्यक सतर्कताहरू लिँदैनन् । नर्सप्रति बिरामीको उल्लेखनीय विश्वास र आफैँमा पूर्ण निर्भरता प्राप्त गर्ने नर्स, जो बिरामीको शारीरिक गतिको भाव बुझ्दछिन्, जसले आफ्नो शैलीलाई बिरामीले थाहा नपाउने किसिमले परिवर्तन गर्न सक्दछिन्, उनी नै वास्तवमा कार्डियक केयरका लागि सफल र योग्य नर्स हुन् ।’ तिमीले भनेका यी सबै कुराहरू सत्य हुन् छोरी ।
तिमीले पनि अस्पतालमा मानसिक बिरामीहरूको केयर गर्दछ्यौ । आफ्नो अनुभव अनुसार नर्सहरूलाई मानसिक बिरामीहरू सम्हाल्नका लागि ठूलो कुशलताको आवश्यकता हुन्छ । नर्सले आफ्नो काम बिरामीहरूबीच धेरै ध्यानपूर्वक गर्नुपर्दछ । उसको व्यवहार र उसको हेरचाह निश्चित रूपमा बिरामीका लागि कुनै औषधि भन्दा बढी उपयोगी हुन्छ । त्यसैले नर्सलाई बिरामीका बारेमा सबै प्रकारको ज्ञान हुनुपर्दछ र उसले ती चीजहरू राम्ररी जान्नुपर्दछ, जसले बिरामीको मानसिक सन्तुलन बिग्रन्छ । अत धैर्यता, समानुभूति र सीप लगाएर बिरामीहरूसँग व्यवहार गर्नुपर्दछ, मानौँ ऊनीहरू उसका साथीहरू र प्रियजनहरू हुन्, किनभने मानसिक बिरामीहरू सामान्य चीजबाट उग्र बनेर निस्कन्छन् र उपचारबाट हुँदै आएको लाभ एकै छिनमा समाप्त हुन सक्दछ ।’
यी कुरामा पूर्ण रूपमा सहमत छु छोरी, तिमीले भन्ने गरेका माथिका क्षमताहरू नर्सहरूको विशेष सीपहरूका केही उदाहरण हुन् । नर्सका प्रत्येक विशेष क्षेत्रमा केही विशेष कर्तव्यहरू हुन्छन् । नर्सले आफ्नो सेवा वा हेरचाहको लाभ तब लिन सक्दछन् जब उनीहरूलाई सम्पूर्ण रूपले परिस्थितिको ज्ञान हुन्छ ।
परिवेश :
जीवनका मूल्यबारेका सोचमा, सामाजिक पद्दतिबारेका सोचमा र शिक्षा पद्दतिबारेका सोचमा नेपाल र बेल्जियमबिचको कहाली लाग्दो अन्तरले मलाई बेलाबेलामा नेपालबारे सोच्न बाध्य गराउँछ । मदर टेरेसाले पश्चिम बङ्गाललाई यिनै कारणहरूले आफ्नो कर्मभूमि बनाएको हुनु पर्छ जस्तो लाग्छ । जीवनको मूल्य किन फरक छ, युरोपमा मानवजीवन किन यति मुल्यवान छ ? गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यमा नागरिक अधिकार कायम गरेर यहाँका सरकारले नागरिक सर्वोच्चता कायम गरेका छन् । तर नेपाल लगायत तेश्रो मुलुकहरूमा मानवीय मूल्य किन हायल कायल छ ? सायद यो प्रश्नको उत्तर त जन्मभूमिलाई आंशिक रूपमा भएपनि कर्मभूमि नबनाएसम्म तिमीलाई थाह नहुने होला । यसका लागि संसारभरिका स्वास्थ्यकर्मी (नर्स र डाक्टर ) एक विश्व सञ्जाल बनाएर मानवीय मूल्य र स्वास्थ्यसँग सम्बन्धित सानातिना अभियानहरू चलाउन सकिन्छ भन्ने बारे पनि सोच्नु पर्छ होला छोरी । यस अभियानका लागि संसारभरिका नेपाली स्वास्थ्यकर्मीहरूले धेरै समय नभएपनि भ्याकेसनको समयलाई उपयोग गरेर धेरै नेपालीको प्राण रक्षाका लागि काम गर्न सकिन्छ ।
तिमीले छोटै उमेरमा धेरै कार्य अनुभव बटुलेकी छौ । नेपालबाट आएकै साल समर भ्याकेशनमा पकेट मनीका लागि तिमी मारियाको ग्रीन हाउसभित्र काम गर्यौ । तिम्रो लगनशीलता देखेर होला, अर्को वर्षपनि मारियाले तिमीलाई बोलाउनु भयो । तिमीले काम गरेको देखेर जोन, फिलिसिया, आलेकान्द्रो, आन्द्रे र मालिक मारिया समेत खुशी हुन्थे । प्रतिमा ‘यु आर अल्वेज वेल्कम’ विदाको काम सकिएपछि मारियाले भनेको अझै मैले सम्झेको छु छोरी ।
टमाटर टिप्ने काम ज्यादै गाह्रो काम भए पनि त्यो पनि गर्न सक्यौ र कठिन काममा समेत अभ्यस्त हुन सक्ने गुणको विकास गर्यौ । पछि तिमीलाई ओम अङ्कलको आन्थोर्पेन, ग्रोनप्लात अवस्थित दोकानमा कासामा काम गरेर व्यवसायिक कलाको विकास गर्ने मौका मिल्यो । तिमीले त्यसबेला अधिक समुदायहरूको समीपमा रहँदा र बोल्दा आफ्नो आत्माविश्वास बढ्दै गएको कुरा गरेकी थियौ । त्यो पनि तिम्रो जीवनको अर्को अध्याय थियो, जसबाट तिमीले धेरै सिक्ने मौका पायौ ।
“अन्तिमपटक जीवनको भिक्षा मागेर बिरामीले मुखमा हेर्दा मेरो मन स्थिर रहनै सक्दैन । म उसको सेवामा कतै कमी भयो कि वा औषधिको समय, परिक्षणको रिपोर्ट, डाक्टरको बोलावट वा अन्य कारणबारे सोच्न ढिला गर्नु अपराधसमान लाग्छ । मानवता बाहेक परिचारिका सेवामा नाता, गोता, जात, धर्म, रङ्ग, देश, लिङ्ग केही रहँदैन। अचेल म पृथ्वी माताकी असल छोरी बाहेक अरू बन्ने चेष्टा गर्दिन । एकै दिनमा पचासौँ मुलुकका र सम्प्रदाय विशेषका बिरामीको सेवा गर्नु पर्छ । यही पेशामा मेरो सन्तुष्टि र गौरव छ र स्वाभिमान पूर्वक मानवसेवा गरिरहेकी छु । त्यसैले मलाई नेपालमा नभएकोमा कुनै पछुतो छैन । सेवाको कुनै रङ्ग हुदैन, यदि सेवा अझ मानवीय सेवामा पनि भेद देख्न थालियो भने हाम्रो सेवाले हामीलाई कहिल्यै अन्तराष्ट्रिय जातको सेवक बनाउने छैन ।
अस्पतालभित्र पसेपछि बिरामी वृद्धवृद्धा भए आमा, उमेर अनुसार बैनी, आमा, बुबा र आफ्नै परिवारझैँ देख्दछु । सायद मानवले सम्पूर्ण संकीर्णताका बार भत्काएपछि पुगिने ठुलो आँगन भएको घर त्यही अस्पताल भित्र हुने हाम्रो सेवा भाव होला । मानवता अट्ने ठुलो घर र हामी सबै महादेशका आफन्त परिवारजन त्यही पांचतले भवनभित्र हुन्छौँ ।” तिम्रो यो भनाइमा निहित भावले मलाई मेरी छोरी गर्व गर्न लायक अन्तराष्ट्रिय जातकी नर्स साथै परोपकार र मानवताकी स्वास्थ्य सिपाही हुन् भन्नेमा कुनै शङ्का छैन ।
हो, नर्स वास्तवमा संसारलाई त्यही मानवताको घरमा लैजाने पेशा हो । मैले यसलाई जागिरमात्र भनेँ भने जीवन दिन सक्ने र मानवताको अन्तिम गन्तव्यको स्पर्श बोध गराउने नर्स सेवामाथि अन्याय हुन्छ, नर्सकी संस्थापक महान् आत्मा फ्लोरेन्स नाइटिङ्गलको समर्पण भावप्रति अन्याय हुन्छ ।
अन्तमा, जीवन अथाह यात्राको नाम हो । त्यो भित्र कति धेरै बाँच्नको लागि सङ्घर्ष हुन्छ भन्न सकिन्न र शब्दमा लेख्न पनि सकिन्न । तर मानवताको सेतो वस्त्र लगाएर सेवारत नर्स र डाक्टरबाहेक यस्तो मृत्युञ्जय सेवा सायदै होला। मेरो अनुभूतिले भन्छ, वृद्ध-वृद्धा बिरामी उपचारको क्रममा बित्दा एउटा नर्सले प्रत्येक दिन आफ्नै काखमा आफ्ना अविभावक गुमाएको अनुभव गर्दछन् । दिमाग सन्तापले तड्पिन्छ, एकछिन अगाडि बिरामीले हेरेको धमिला आँखाभित्रको अपील ,आफूले उनलाई बचाउनका लागि दिएको सेवाको मुल्याङ्कन गरेपछि झन् मन अतासिन्छ । तर डाक्टर र नर्सको सेवाले बाँचेर मुस्कुराउँदै बिरामी निको भएर घर फर्केको सम्झनाले अघिल्लो मृत्युको शोकलाई तुरुन्त बिर्सन कर लगाउँछ । एक दिन तिमीले भनेकी थियौ छोरी, ‘नर्सहरूका सेवा मार्फत बाँचेकाहरूले दिएको धन्यवादका कारणले हो प्रत्येक दिन हाम्रा काखमा मृत्यु मडारिँदा पनि नर्स डिप्रेसनमा नजाने । कतिपय अवस्थामा त आफ्नो सेवाको कमजोरीले बिरामीको ज्यान गयो कि भन्ने शङ्काले रातभरि निद्रा पर्दैन । अस्पतालभित्र नर्सको आफ्नो समय हुँदैन । अस्पताल भित्रको एक सेकेन्ड पनि नर्सको समय बिरामीको हो । नर्सको सानो भन्दा सानो त्रुटिले बिरामीको जीवन गुम्न सक्छ । त्यसैले त्यहाँ पुगेपछि प्रत्येक समय चौकन्ना हुनुपर्छ । त्यसैले यो नर्स पेशा मानिसको प्राण बोक्ने पेशा हो जस्तो लाग्छ ।’
हरेक उमेर समूहका बिरामीलाई नर्सले हेर्ने दृष्टिकोण परिवारको भन्दा फरक हो भन्ने निष्कर्ष निकालियो भने त्यो पाप हो । उसले त्यो बिरामी बचाउन प्रत्येक सेकेन्ड तड्पी तड्पी सेवामा बिताइरहेको हुन्छ । ठिक छ नानी, नर्सिङमा ब्याचलर सकेर यसको सेवाभित्रको महत्त्वलाई चम्काउने प्रयत्न गर्दैछौँ । अध्यायनमा त सफल भएकै छौँ वा तिम्रो मेहनत सधैँ उत्कृष्ट र अविजित छ । तर सफल नर्सिङ भनेको जीवनको मूल्यलाई सम्मानपूर्वक बचाउनुसँग जोडिएको हुन्छ । त्यसमा सफल भइरह्यौ भने तिमी सफल वरिष्ठ परिचारिका सावित हुनेछौ र त्यसको मूल्याङ्कन विधि भनेको तिम्रो सेवाप्रतिको आत्मिक विश्वस्तताबाहेक अरू हुनै सक्दैन । वास्तवमा तिमीले रोजेको सेवालाई मैनबत्तीको उज्यालोमा देख्न सकिने भए संसारले नर्सको पेशा कति पवित्र रहेछ भनेर थाहा पाउने थियो ! हाम्री आमाले भने झैँ महामारीको यस्तो कठिन अवस्थामा पानी अरूको प्राण रक्षाका लागि लडिरहेका नर्सहरू धर्तीका देवता नै हुन् । किनकी संसारभरि २१,००० (एक्काइस हजार) भन्दा बढी नर्सहरूले कोरोनाबाट बिरामीलाई बचाउने सिलसिलामा आफैँ सङ्क्रमित भई सहादत प्राप्त गरिसकेका छन् । ती सबै महान् सहिद नर्सहरूप्रति मेरो असीम श्रद्धा छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

