हरेकको जीवनमा किशोरावस्था आउँछ, प्रौढावस्था र बाल्यावस्थाको वयसन्धिका रुपमा । यसलाई मनोवेत्ताहरुले अत्यन्त संवेदनशील र संक्रमणकालीन समयावधि मानेका छन् । न बालापनमा फर्कन सकिने, न त वयस्क क्लबमै जोडिने । यस्तो बेला किशोरकिशोरीलाई अन्तर्गुम्फन, मानसिक छटपटी अनि भावनात्मक ऊहापोह बिसाउने विश्वासिलो साथी चाहिन सक्छ । कोही नभेटिए डायरी पनि एउटा साथी हुन सक्दो रहेछ ।

डायरीको पहिलो पानामै एन्ने (एन) फ्य्राङ्क यसरी पोखिएकी छन्- ‘प्रिय डायरी ! मैले आजसम्म कसैलाई भरोसा गर्न सकेकी छैन । आशा छ- तिमीलाई विश्वास गरेर म आफ्ना सारा रहस्य बताउन सक्छु । तिमी मेरो ठूलो सहारा हुनेछौ । सदा तिम्रो साथको कामना गर्छु ।’

अर्को दिनको डायरीमा उनको धुकचुक पनि समेटिएको छ- ‘१३ वर्षे स्कुले केटीको भावना र रहस्यप्रति कसले चासो राख्ला र ?’ उनी व्यथित छिन्, ‘मेरो सच्चा साथी कोही पनि छैनन् । जति छन् तीसँग म हँसीमजाक र सामान्य कुराकानीमात्र गर्छु । उनीहरुसँग म यहाँभन्दा निकट हुन सक्छु जस्तो लाग्दैन ।’ एनलाई डायरी भएपछि केही पनि चाहिँदैन । उनलाई थाहा छ- आफ्ना भावना चिच्चाएर कहनुभन्दा कानेखुसी गर्नु सजिलो हुन्छ, आफूलाई कागजमा अभिव्यक्त गर्नु झन् सजिलो !

‘बाइबल’ पछि ‘बेस्ट सेलर’ क्लासिक गैरआख्यानको सूचीमा छ, ‘डायरी अफ अ योङ गर्ल’ । दोस्रो विश्वयुद्धकालीन यहुदी किशोरी एन फ्य्राङ्कको त्यो अमर डायरीका ६० भाषामा विविध संस्करण आइसकेका छन् । बीसौँ शताब्दीकै सबैभन्दा प्रख्यात यो डायरी सन् १९४७ मा पुस्तकाकार रुपमा प्रकाशित भएयता करोडौँ पाठकले पढिसकेका छन् ।

प्रतिलिपि अधिकारको झमेलाका कारण होला, नेपाली भाषामा भने ७० वर्षपछि मात्र यसका दुई थरी अनुवाद आए, ‘एक किशोरीको डायरी’ र ‘एन फ्र्याङ्कको डायरी’ का रुपमा । ‘एक किशोरीको डायरी’ खगेन्द्र गिरीको अनुवादमा सिकाइ समूहले छापेको हो भने ‘एन फ्र्याङ्कको डायरी’ अनुपम पोखरेलको अनुवादमा पाँचपोखरी प्रकाशन गृहले । भाषिक दृष्टिले दुवै अनुवाद चित्तबुझ्दा छन् । कठोर निर्वासनमा रहेकी एक किशोरीका आँखाबाट प्रेम र जीवन अनि युद्ध त्रासदीको जीवन्त पोर्टे«ट छ किताबमा ।

एन फ्य्राङ्कको डायरी पढ्नुअघि अलिकति उनको जीवनको आँखीझ्यालबाट चिहाउनु उचित हुन्छ । सन् १९२९ जुन १२ मा यहुदी परिवारमा जन्मेकी थिइन् एन फ्य्राङ्क । दोस्रो विश्वयुद्धताका हिटलर र उसका नाजी सिपाही जर्मनी कब्जापछि होलोकास्ट (दमन) मा उत्रन्छन् । सन् १९४२ जुलाई ५ मा एनकी दिदी मार्गोलाई जर्मनीको श्रमशिविरमा जान नाजी सिपाहीको उर्दी आउँछ । अनि सुरु हुन्छ, एनको परिवारको दुई वर्षे भूमिगत जीवन । नेदरल्यान्डस्को राजधानी आम्सटर्डमको हेट अक्टरउइस (गुप्त भवन) मा बिताउन बाध्य हुन्छ ।

एनका चार जनासहित आठ जना कोचिएर बस्छन्, साँघुरो ठाउँमा । उनीहरुमा जतिबेला पनि समातिने र मारिने भय, खानेकुराको सङ्कट, बाहिरी संसारसँग सम्पर्कविहीन भएर बस्नु पर्दाको अवस्था आफैँमा भयावह छ । डायरीमा एनले पटकपटक आफ्ना बाबुआमा, दिदी मार्गो र आफूसहित भान डान परिवारका अगस्टे, हरमान, पिटर र दन्तचिकित्सक अल्बर्ट डुसेलको चर्चा गरेकी छन् ।

युद्धकालीन अटेसमटेस र निषेधका बीचमा सन् १९४२ जुन १२ मा एनले लेख्न सुरु गरेको डायरी सन् १९४४ अगस्ट १ मा गएर अन्त्य भएको छ । जर्मन गुप्तचर प्रहरी गेस्टापोले गुप्तभवन पत्ता लगाएपछि एनको परिवारले सन् १९४४ अगस्ट ४ मा पक्राउ खाइहाल्यो । आम्सटर्डमका जेल, उत्तरी हल्यान्डको वेस्टरबोक श्रम शिविर हुँदै पोल्यान्डको अस्विच बन्दी शिविरमा पठाइँदा परिवारका महिला र पुरुषलाई अलगथलग पारियो । त्यसपछि त्यो यहुदी परिवारको कहिल्यै पुनर्मिलन भएन ।

एनकी आमा एडिथ र दिदी मार्गोको इहलीला जर्मनीको बेर्गेन बेल्सेन यातनाशिविरमै इहलीला समाप्त भयो भने एन पनि त्यही नाजी कैदखानामा टाइफसको महामारीमा परिन् । चम्किलो घाम र बादलविहीन आकाश हेर्नका लागि बाँचेकी एनले कठैबरी १६ को सिँढी पनि टेक्न पाइनन् । उनको मृत्युको मिति यकिन नभए पनि उनी त्यतिबेला १५ वर्ष ९ महिनामात्र भएको अनुमान गरिन्छ । उनी र दिदी मार्गोको शव बर्गेन बेल्सनको सामूहिक चिहानमा फालिएको अनुमान छ । जीवन कति क्षणभङ्गुर छ !

धन्य हो, फ्य्राङ्क परिवारका मूली ओटो मात्र यातनाशिविरबाट जीवितै फर्किए । सोभियत फौजले मुक्त गरेपछि उनले आम्सटर्डम आइपुग्दा भेटे, प्यारी पुत्रीको डायरी । गुप्त भवनमा छुटेको एनको त्यो डायरीमा कसो गेस्टापोको गिद्देनजर परेको रहेनछ । नातेदार र साथीभाइमाझ सुनाउँदै अन्ततः त्यो डायरी सन् १९४७ मा डच भाषामा प्रकाशित भयो । त्यही किशोरीको डायरी बीसौँ शताब्दीकै अमर रचनाका रुपमा प्रख्यात छ । साइरन, बम, गोली र बारुदका बीचउनले मानवता, शान्ति र स्वतन्त्रताको कामना गर्न छाडेकी छैनन् ।

साहसिक र रोचक छ, एनको गुप्तवास । डायरीका पानापानामा उनको समय, परिवेश र निजी अन्तरङ्ग लिपिबद्ध छन् । तैपनि संसारभरिकै सारा किशोरकिशोरीले आफैँसँग साक्षात्कार गर्न सक्छन् । उनी प्रायः उदास हुन्छिन् तर निराश कहिल्यै हुन्नन् । जस्तै कठिनतम अवस्थामा पनि आशाको दियो निभ्न दिन्नन् ।

छोटो जीवनमा पनि उनले कति लामो सपना सजाएकी छन् । उनलाई पत्रकार हुँदै प्रख्यात लेखक बन्नु छ, लन्डनमा कलाको इतिहासबारे अध्ययन गर्नु छ, पेरिसमा भाषा सिक्नु छ । प्रेम गर्नु छ, घरसंसार बसाउनु छ । डिम्पलवाली एनलाई अभिभावकले आफ्ना उमेरको कुरा बिर्संदा उदेक लाग्छ । त्यसैले त आमासँग सम्बन्ध चिसिँदै छ, बुबाप्रति पनि उनी उति स्नेही छैनन् । दिदीसँग पनि खासै बोल्दिनन् । सबैसँग उनको ठाकठुक परिरहन्छ ।

बरु उनलाई पिटरसँग केही नबोली बस्नु एकदमै मुस्किल हुन्छ । गुप्त भवनमा निवार्सित पिटरसँग कैशोर्य आकर्षण छ उनको । जून लागेको साँझ मचानमा गएर पिटरसँग भलाकुसारी गर्छिन् । पिटरले आँखा झिम्काउँदा मात्र पनि उनीभित्र अनौठो झिल्को उठिहाल्छ । उनलाई लाग्छ पनि, कुनै दिन गुप्त भवनमा वास्तविक महान् प्रेम विकसित हुन सक्छ ।

उनलाई यो पनि थाहा छ- कुनै बेला दिदी मार्गो पनि पिटरलाई नै मन पराउँथिन् । मनमनै पिटरलाई मन पराउन थालेपछि उनले दिदीसँग पनि पत्रवार्ता गर्छिन् । लजालु पिटरले आफ्नी ‘सुनौली मान्छे’ लाई पहिलो चुम्बन समेत टक्र्याए पनि । उनीहरुको मिल्तीजुल्ती देखेर गुप्त भवनमा बिहेभोज खाने सपना पनि नदेखिएको होइन । एनका मायालु पिटर अस्ट्रियाको माउथाउजेन शिविरको डेथमार्चमा मारिए ।

एनको परिभाषामा प्रेमका अर्थ हो- कसैलाई बुझ्नु, ख्याल राख्नु, दुःखसुख बाँड्नु । शारीरिक प्रेम पनि त्यसकै एक हिस्सा हो । डायरीमा एनले यौन सम्बन्ध, रजस्वला, गर्भाधान, परिवार नियोजनबारे आफ्नै बुतामा जान्नुपरेको गुनासो अभिभावकसँग गरेकी छन् । उनी लेख्छिन्- ‘किट्टी, एन पागल केटी हो । म पागल समयमा र पागलपनयुक्त परिस्थितिमा बाँचिरहेकी छु । आफ्ना विचार र भावना लेख्नु छ । अन्यथा निस्सासिने थिएँ ।’

हो, एनका उमेरमा मान्छे उन्मुक्त हुन चाहन्छन् । उनीहरुका पनि स्वतन्त्र मत, विचार र सिद्धान्त छन् । सही र गलतको परख पनि छ । अभिभावकसँग उनको वैचारिक द्वन्द्व त छ नै, कहिलेकाहीँ आफैँसँग पनि मानसिक द्वन्द्व हुन्छ । आफैँलाई विरोधाभासकी पुलिन्दा भन्न पनि पछि पर्दिनन् । साँच्चै भन्ने हो भने यी किशोरीमा प्रौढता पनि प्रशस्त झल्कन्छ । आफ्ना कमजोरीबारे ‘कन्फेसन’ पनि छ ।

वास्तवमा यो डायरी एन फ्र्य्राङ्कको आत्मालाप हो । लन्डनको एक रेडियो कार्यक्रममा युद्ध समाप्तिपछि युद्धकालीन अभिलेख सङ्कलन गरिने सुनेर उनलाई डायरी लेख्ने हुटहुटी जागेको थियो । एनको अनुभव र अनुभूति सिङ्गो समयको तस्बिर बोल्छ । डायरी पढ्दा उनको कलममा रहेको अद्भुत मसी अनुभूत हुन्छ । कतिपय निजी विद्यालयले कक्षा ८ र ९ को पाठ्यक्रममै राखेको यो किताबमा किशोरकिशोरीले एन फ्य्राङ्कको दृढनिश्चयी सपनासँग भलिभाँती परिचित मात्र हुने छैनन्, नियमित डायरी लेखेर भाषिक र सामाजिक विकाससमेत गर्न सक्ने छन् ।

यस्ता किताबको अनुवाद आफैँमा सुकर्म हो । अनुवादक र प्रकाशकहरुले यसमा प्रवाह थप्न अबेला भइसक्यो । ‘एन फ्य्राङ्कको डायरी’ या ‘एक किशोरीको डायरी’ को भाषा हिउँदको नदीजस्तो सुकिलो भएर बगेको छ । आख्यानको आनन्द पनि छ यसमा । आफ्नै समयकी आलोचक एन फ्र्याङ्कको जन्मजात लेखकीय क्षमताले कायल नै बनाइदिन्छ । यो किताब पढेर युवकयुवती र प्रौढले भूतपूर्व किशोरावस्थालाई ‘रिकल’ गर्न सक्ने छन् ।

र, उपन्यासको उफानमा अल्झिरहेका लेखक मित्रगणलाई यो किताबको असली सन्देश हुन सक्छ- आखिर डायरी पनि त साहित्य हो । राम्ररी लेख्न सके डायरी पनि खोजी खोजी पढिन्छन् ।