विषय प्रवेश

साहित्य सिर्जना गर्ने कार्य जति जटिल छ, उति रमाइलो पनि छ, गणित विषयजस्तै । गणित गाह्रो मानेको खण्डमा विद्यार्थीहरूलाई गणित विषय सकेसम्म पढ्न नपरे हुन्थ्यो भन्ने हुन्छ । जुन विद्यार्थी गणितमा सिपालु छ, हिसाब गरेपछि उत्तर मिलिहाल्छ उसले सकेसम्म गणितलाई नै विशेष जोड दिन्छ । त्यसरी नै जसलाई सिर्जना रमाइलो लाग्छ ऊ अरू कुरा छोडेर पनि साहित्यसिर्जनामा लाग्छ । यसरी हेर्दा बालबालिका वा विद्यार्थीहरूमा पनि सिर्जनात्मक खुबी हुन्छ । मात्र के हो भने उनीहरूलाई शिक्षक वा अभिभावकले उचित वातावरण तयार गरिदिनु पर्छ । यदि शिक्षक वा .अभिभावकमा त्यस्तो प्रतिभाको अभाव छ भने ती बालबालिका वा विद्यार्थीलाई सिर्जनामा अभ्यस्त बनाउन बालसाहित्यकारको पनि ठूलो भूमिका रहन्छ । उनीहरूले उचित वातावरण नपाएर सिर्जना गर्न नसकेको अवस्थामा बालसाहित्यकारको प्रयास, मार्गनिर्देशन र प्रशिक्षणले पनि विद्यार्थीहरू सिर्जनात्मक लेखनमा डोरिन सक्छन् ।

रमेशचन्द्र घिमिरे

साहित्य सिर्जना गर्ने कार्यका लागि प्रौढ नै हुनुपर्छ, परिपक्वता आउनुपर्छ भन्ने छैन किनकि प्रौढले जस्तै बालबालिकाले पनि साहित्य सिर्जना गर्न सक्छन् । उनीहरूका मनमा पनि भावना वा विचारका ज्वारभाटाहरू चल्न सक्छन् । फरक यत्ति छ — प्रौढमा अनुभवले खारिएको परिपक्व लेखन हुने गर्दछ भने बालबालिकामा कलिलो विचार र मलिलो भावना हुन्छ तर यस्तै लेखन नै रमाइलो हुन्छ । अरूका रचना पढ्दापढ्दै यस्तै लेख्न पाए हुन्थ्यो भन्ने विचार बालबालिका वा विद्यार्थीहरूका मनमा आउन पनि सक्छ । बालबालिकाको यस्तो सिर्जनात्मक सोचाइमा अभिभावकले अवरोध पु¥याए भने उनीहरूको प्रतिभाको निकास हुन पाउँदैन र सिर्जना अवरुद्ध हुन जान्छ । । घरमा अभिभावकले र विद्यालयमा शिक्षकले प्रत्यक्ष रूपमा उनीहरूलाई साहित्य सिर्जनामा लाग्न प्रेरित गराउनुपर्छ भने बालसाहित्यका लेखकले पनि उनीहरूलाई बाल पत्रिकामा प्रकाशित रचनामार्फत अप्रत्यक्ष रूपमा प्रेरित गरिरहेका हुन्छन् । यो आलेख पनि बालबालिकालाई बालसाहित्यअन्तर्गत बालकविता सिर्जनामा प्रेरित गराउने उद्देश्यले तयार पारिएको छ ।

बालबालिकालाई बालकविता लेखनसम्बन्धी अभ्यास गराउँदा ध्यान दिनुपर्ने कुरालाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।

विषयवस्तु चयन, विषयवस्तु चयनको आधार, सम्बन्धित विषयवस्तुको बारेमा जानकारी सङ्कलन, सम्बन्धित लयमा वाचन अभ्यास, लयको साँचोमा ढालेर लेख्ने अभ्यास, पूर्ण अन्त्यानुप्रासको प्रयोग, अक्षर संरचना ख्याल गरेर लेख्नु, शब्दभण्डारको ज्ञान, कल्पनाशीलताको प्रयोग, सकारात्मक सन्देशको नाटकीय प्रक्षेपण, भाषाशैलीगत सरलता र व्याकरणिक शुद्धता:

१) विषयवस्तु चयन:

शून्यमा केही पनि सिर्जना हुँदेन । हातमा कापी र कलम लिएर बसेको सिकारुले यदि विषयवस्तु नै पाएन भने उसले कलम टाकेर बस्नुबाहेक अर्को विकल्प हुँदैन । तसर्थ आफूले लेख्न खोजेको विषय वा शीर्षक जे हो त्यसमा विद्यार्थी वा बालबालिका पहिल्यै स्पष्ट हुनुपर्दछ र विषयवस्तु चयन गर्न नसकेको खण्डमा विषयवस्तु चयनको आधार ःलिएर प्रकृति, बालखेल, चाडपर्व, बाल्यअनुभव, संस्कृति, विज्ञान तथा प्रविधि, स्थानीय महत्वका वस्तु, लोपोन्मुख वस्तु, वैयक्तिक जीवन भोगाइ आदिका आधारमा विषयवस्तुको छनोट गर्नुपर्दछ ।

२) विषयवस्तु चयनको आधार :

प्रकृति ः हिमाल, खोलानाला, नदी, वनजङ्गल, पहाड
प्राकृतिक जीवजन्तु ः कुकुर, बिरालो, मुसो, हात्ती, गाईभैँसी,
चराचुरुङ्गी ः सुगा, मैना, हाँस, काग
प्राकृतिक वनस्पति ः बाँस, साल, केरा,
फलफूल ः स्याउ, सुन्तला, केरा, आँप
प्राकृतिक कीटपतङ्ग ः पुतली, मौरी, कमिला
बालखेल ः यति यति पानी, इन्चु पिन्चु, चुङ्गी, डण्डीबियो, गट्टा, रुमाल लुकाइ, ओक्कल दोक्कल, भाँडाकुटी
चाडपर्व र संस्कृति ः दसैँ, तिहार, तिज, छठ, होली, नयाँवर्ष, रोपाइँ, दाइँ
विज्ञान तथा प्रविधि ःघडी, रेडियो, मोबाइल, टेलिभिजन, हबाईजहाज
स्थानीय महत्वका वस्तु ः गुन्द्री, राडी–पाखी, छत्री, घुम (स्याखु), डोको, डालो, आँगन, पिँढी, चुलो, ओदान
लोपोन्मुख वस्तु ः घुमाउने घर, लालटिन, टुकी, ढिकी, जाँतो
बाल अनुभव ः भ्रमण, परीक्षा दिँदाको अनुभव, गुरु–गुरुआमाले गर्ने माया, हजुरबा–हजुरआमाले गर्ने माया
नाता सम्बन्ध ः मामा–माइजू, बाबा–आमा, हजुरबा–हजुरआमा, गुरु–गुरुआमा, काका–काकी, हेडसर, भाइ, बहिनी
राष्ट्रियता ः जन्मभूमि वा राष्ट्रियताप्रतिको प्रेम, राष्ट्रिय विभूति, देशका महत्वपूर्ण ठाउँको वर्णन
विविध ः अन्य विषयहरू

३) सम्बन्धित विषयवस्तुको बारेमा जानकारी सङ्कलन

कुनै विषयवस्तु वा शीर्षकको चयन गरिसकेपछि उक्त विषयका बारेमा के–कस्ता कुराहरू समेट्ने भन्ने बारेमा सर्जक जानकार हुनुपर्दछ । विद्यार्थी वा सर्जक आफै सबै विषयमा पूर्ण हुन सक्दैन । त्यसका लागि अध्ययन, अनुसन्धान र सोधखोजको आवश्यकता पर्दछ । पुराना कुराहरू जान्नु परेमा हजुरबा हजुरआमासँग सोध्ने, घरायसी प्रयोजनमा आउने सामग्रीका बारेमा आमादिदीसँग सोध्ने, केही नयाँ कुराहरूका बारेमा बाबु दाजु वा गुरुहरूसँग सोध्ने, प्रचलित खेलका बारेमा आफू पूर्ण जानकार हुन सकिएन भने साथीसँगी वा भाइबहिनीसँग समेत सोेधेर जानकारी सङ्कलन गर्न सकिन्छ । उदाहरणका लागि ‘आँगन’ शीर्षकमा कविता रचना गर्नु छ भने विभिन्न स्रोतहरूबाट यसरी जानकारी सङ्कलन गर्न सकिन्छ ः

आँगनमा नाचगान गरिन्छ । आँगनमा भारी बिसाइन्छ । आँगनमा कोही गुच्चा खेल्छन् कोही तास खेल्छन् । आँगनमा चुङ्गी खेलिन्छ, खोपी पनि खेलिन्छ । केटाकेटीले आँगनमा कपर्दी, डन्डीबियो र अरू खेल पनि खेल्छन् । जाडामा आँगनमा गुन्द्री ओच्छ्याएर घाम ताप्न पाइन्छ । बिस्कुन वा धान सुकाउनका लागि आँगनकै प्रयोग गरिन्छ । तिहारका बेलामा भैली खेल्न, रङ्गोली बनाउन र उस्तै परे भाइटीका लगाउन पनि आँगनलाई नै उपयोगमा ल्याउन सकिन्छ । आँगनमा दसैँमा खसी काटिन्छ । सानोसानो दाइँ हाल्न पनि आँगनमा नै मिल्छ । आँगनमा धान झाँट्न र भट्ट, मास ठटाउन पनि मिल्छ । गुन्द्री ओच्छ्याएर आँगनमा बसी निबुवा साँधेर खान पाइन्छ । पुसको पहार ताप्दै आमा र हजुरआमाहरूले आँगनमा तान लगाएर गुन्द्री पनि बनाउँछन् । दसैँको बेला आँगनमा घुर्रे पिङ र लट्ठ् पिङ हालिन्छ । आदि, आदि ।

४) सम्बन्धित लयमा वाचन अभ्यास ः

बालबालिका वा विद्यार्थीले लयमा कविता लेखन गर्नुपूर्व आफूले जुन लयमा रचना गर्नुपर्ने हो त्यस लयमा आधारित केही श्लोक कण्ठस्थ पारेर एक दुई चोटि वाचन गर्दै, मनमनै गुन्गुनाउँदै गर्नुपर्दछ ।
केही उदाहरण

१६ अक्षरे असारे झ्याउरे लयका लागि ः

क) सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

ख) हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले

१४ अक्षरे सबाईका लागि ः

क) वर्षायाम एक दिन ठूलो पानी पर्यो
काला–काला बादलुले सेता गेडी झार्यो

ख) यही देशमा खेल्थिन् सीता नेपालकी छोरी
भिना केही काला थिए दिदी हाम्री गोरी

ग)ं हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ । आदि

५) लयको साँचोमा ढालेर लेख्ने अभ्यास ः

माथि उदाहरणमा दिइएका तथा अन्य रचनाको वाचनमा अभ्यस्त भइसकेपछि बालसर्जकहरूले अब विस्तार विस्तार आफै रचना गर्न सक्छन् । लेख्दै जाँदा भाका स्वतः मिलेर आउँछ र शब्द पनि कलमको टुप्पाले आफै खोज्न सक्छ । पहिलो कुरा त विद्यार्थीमा सिर्जनशील प्रतिभा हुनुपर्दछ । दोस्रो कुरा उनीहरूमा विषयवस्तुको ज्ञान हुनुपर्दछ अनि तेस्रो कुरा उनीहरू अभ्यासले खारिनु पनि पर्दछ । अनि मात्र उनीहरू जीवन्त र सशक्त कविता रचना गर्न सक्दछन् । भाका हालेर गाउँदै लेख्ने अभ्यासले उनीहरू सरर्र बगेको शैलीमा कविता रचना गर्न सक्दछन् । उनीहरुले कुन शब्द कहाँ र कसरी राख्ने भन्ने कुराको मेसो पनि पाउँछन् ।

६) पूर्ण अन्त्यानुप्रासको प्रयोग ः

हेर्दा सामाान्य जस्तो लागे पनि बालकविताका सर्जकले कविता रचना गर्दा पूर्ण अन्त्यानुप्रास वा तुकबन्दी योजनाको राम्ररी प्रयोग गर्न जान्नुपर्दछ । अन्त्यानुप्रासको राम्रो प्रयोग हुन सकेन भने सन्दर्भ मिलेर पनि कविता बन्दैन अन्त्यानुप्रासको राम्रो प्रयोग हुन सक्यो भनेचाहिँ सन्दर्भ नमिले पनि बरु कविता बन्न सक्छ । यदि सन्दर्भ र अन्त्यानुप्रास दुवै मिलेको छ भने राम्रो कविता बन्छ ।

केही उदाहरण ः

सन्दर्भ मिलेको/अन्त्यानुप्रास नमिलेको ः

नाम मेरो कृष्णकान्त थर सुवेदी हो
घर मेरो कास्की जिल्ला पोखरामा पर्छ

सन्दर्भ मिलेको/आंशिक अन्त्यानुप्रास मिलेको ः

नाम मेरो कृष्णकान्त थर सुवेदी हो
घर मेरो कास्की जिल्ला पोखरामा पर्यो

सन्दर्भ मिलेको/पूर्ण अन्त्यानुप्रास मिलेको ः

कृष्णकान्त नाम मेरो सुवेदी हो थर
कास्की जिल्ला पोखरामा पर्छ मेरो घर

माथिका कवितांशबाट के प्रस्ट हुन्छ भने जुन कवितामा सन्दर्भ र अन्त्यानुप्रासको राम्रो तालमेल पाइन्छ, त्यस्तै कवितामा मात्र कवितात्मक मिठास र आनन्द पाइन्छ । अन्त्यानुप्रास मिलाउँदा ‘सुन/जून’, ‘हुन्छ/छुन्छ’ भन्दा जुन मिठास प्राप्त ‘हुन्छ/जान्छ’, ‘गयो/पढ्यो’ मा चाहिँ केही मिलेर पनि धेरै नमिलेको प्रतीत हुन्छ ।

७) अक्षर संरचना ख्याल गरेर लेख्नु ः

लाकलयात्मक कविता लेख्दा विद्यार्थीले ती कवितामा हुने अक्षर संरचनालाई समेत ख्याल गर्नुपर्ने हुन्छ । अक्षर संरचनाका लागि लेख्य अक्षरको गणनालाई नभई कथ्य रूपलाई आधार लिनुपर्ने हुन्छ । उदाहरणका लागि लेख्दा ‘भात’ भनेर दुई अक्षरमा लेखिए पनि यदि त्यसको उच्चारण ‘भात्’ भनेर गरिन्छ भने त्यसलाई सासको एकै झोक्कामा उच्चारण भएको आधारमा एक अक्षर मान्नुपर्ने हुन्छ । केही लोकलय र तिनको अक्षर संरचनालाई यसरी हेर्न सकिन्छ ः

बालोरी ः ७+७ अक्षरे (२+२+३, २+२+३)

७ अक्षरमा ः

यो घर कसको आलेको
भित्र बाहिर टालेको
भोटे कुकुर पालेको

७+७ अक्षरमा

अब आउने तिहारको देउसी अनि भैलीमा
पैसा कमाई ल्याएर राख्छु सुर्के थैलीमा
रुन्चे मुख लाएर रिसाउँदै ठुसुक्क
जुँगा तानी बैनीले थैली हाँस्यो मुसुक्क

भजन ः १२ अक्षरे (२+२+३, २+३)
आमासँग पिरोली स्विटर मगाएँ
न्यानो स्विटर लाएर जाडो भगाएँ

एकादशी तुलसी तिलको दान
हाम्लाई पनि बैकुण्ठ लैजाऊ भगवान्

आऊ न कृष्ण बस न मेरो मनैमा
नजाऊ कृष्ण छोडेर वृन्दावनैमा

सबाई ः १२ अक्षरे (२+२+२, २+२+२)

६ अक्षरमा

तारा बाजी लै लै
मामा आए घोडा
माइजू आइनु डोली
पापा ल्याइन् सोली
खान दिन्छिन् भोलि

६+६ अक्षरमा

मकैसँग भट्ट मिसाएर चट्ट
पिनेपछि अब बन्छ सातु झट्ट
खान्छु यही सातु चिया ल्याउनू तातो
समातेर हातो घुमाउँछु जाँतो

सबाईः १४ अक्षरे (२+२+२+२, २+२+२)

वर्षायाम एक दिन ठूलो पानी प¥यो
काला–काला बादलुले सेता गेडी झा¥यो

यही देशमा खेल्थिन् सीता नेपालकी छोरी
भिना केही काला थिए दिदी हाम्री गोरी

हिमालको काखमा छ सानो मेरो गाउँ
पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ ।

सबाई ः १६ अक्षरे (२+२+२+२, २+२+२+२)

गाउँ मेरै सहर मेरै मैले रच्ने सुख नै हो
मैले ज्युँने पौरख गर्ने यै देश यै समाज नै हो

झ्याउरे ः १६ अक्षरे (३+२, ३+२, ३+३)

सानो छ खेत सानो छ बारी सानै छ जहान
नगरी काम पुग्दैन खान साँझ र बिहान

हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले

सेलो ः १६ अक्षरे (३+२+३, ३+२+३)

लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो
हिमालचुली मुन्तिर पानी भर्ने पँधेरो

तिजे गीत ः अघिल्लो हरफमा १५ अक्षर (२+२+२+२, २+२+३)/
पछिल्लो हरफमा १३ अक्षर (२+२+२+२, २+३)

झारै झार छन् बारीमा उखेल्ने हो, गोड्ने हो
अल्छी हुने बानी म त आजै छोड्ने हो
काम सिकी आफ्नो काम आफै गर्नु जाती हो
कामले सानो भइँदैन है सुन साथी हो

८) शब्दभण्डारको ज्ञान ः

बालकविता सिर्जना गर्ने बालसर्जकमा शब्दभण्डारको ज्ञान हुनु निकै जरुरी छ । एउटै शब्दले के–कति अर्थ दिन्छ ? त्यसको विपरीत अर्थ के हुन्छ ? कुनै पनि शब्दका पर्यायवाची शब्दहरू के–के हुन सक्छन् ? यसबारेमा सर्जक राम्ररी जानकार हुनुपर्दछ । अक्षरसङ्ख्या जति चाहिन्छ त्यही आधारमा कुन शब्द राख्दा कविताको गति–यति र लय खल्बलिँदैन, अक्षर संरचना मिल्छ र कविताको साँचोमा राख्दा ठ्याक्क मिल्छ भन्ने कुरामा विचार पु¥याउन सकियो भने कविता सरर्र बग्छ र कविताले भन्न खोजेको कुरा लयात्मक, रसिलो र सजिलो पारामा व्यक्त हुन्छ । जस्तै ः ‘महिना’ शब्दलाई १, २ वा ३ अक्षर जति अक्षर चाहिन्छ उक्त शब्दको पर्यायवाची रूपको पहिचान गरी प्रयोग गर्न सकिन्छ ।

उदाहरण
महिनालाई ‘मास्’ अर्थात् १ अक्षर बनाएर लेख्दा ः

असारको मासमा रोपाइँ हुन्छ हाम्रो खेतमा
त्यही बेला रमाइलो गरौँला नि भेटमा

महिनालाई ‘मैना’ अर्थात् २ अक्षर बनाएर लेख्दा ः

असार मैना रोपाइँ हुन्छ हाम्रो गैह्री खेतमा
त्यही बेला रमाइलो गरौँला नि भेटमा

महिनालाई ‘महिना’ अर्थात् ३ अक्षर बनाएर लेख्दा ः

असारको महिनामा रोपाइँ हुन्छ खेतमा
त्यही बेला रमाइलो गरौँला नि भेटमा

त्यस्तै गरेर कविता रचना गर्दा पुनरुक्तिको दोष सकेसम्म हटाउनुपर्दछ । कतिपय अवस्थामा एउटै शब्दको पटक–पटक हुने आवृत्ति त्यति साह्रो सुहाउँदैन । ‘परिश्रमी’ शब्दलाई कतै ‘जाँगरिलो’ त कतै ‘मेहनती’ शब्दका रूपमा पनि प्रयोग गर्न सकिन्छ । त्यसो गर्दा शब्दचयनमा विविधता र रोचकता पनि हुन्छ । कवयित्री सरस्वती श्रेष्ठ ‘सरु’ ले आफ्नो बालकवितांशमा यस्तै प्रयोग गर्नुभएको छ । जस्तै ः

कमिला झैँ मेहनती हामी पनि बनौँला
आफू हिँड्ने आफ्नो बाटो आफै खनौँला

गौँथली झैँ परिश्रमी हामी पनि बनौँला
आफू हिँड्ने आफ्नो बाटो आफै खनौँला

माहुरी झैँ जाँगरिलो हामी पनि बनौँला
आफू हिँड्ने आफ्नो बाटो आफै खनौँला ।

९) कल्पनाशीलताको प्रयोग ः

बालकविता लेख्दा त्यसमा कल्पना शक्तिको समेत उपयोग गर्नुपर्दछ । कल्पनाशक्तिको प्रयोग भएको कविता थप रोचक र रमाइलो हुन्छ । बालबालिकाहरू बादल देखेर रमाउँछन् र आफूले सोचेको आकृति खोज्छन् अनि खरायो हो कि भन्ने परिकल्पना गर्दछन् । आकाशको जून देख्दा जूनलाई मामा सोचेर रमाइलो कल्पना गर्दछन् । काफल पाक्यो चरीले आफैलाई बोलाएको र काफल पाकेको सूचना गरेको भन्ने ठानेर काल्पनिक आनन्दको अनुभूति गर्दछन् । उनीहरूले इन्द्रधनुलाई धरतीकी रानी र स्वर्गबाट झरेकी परीको रूपमा कल्पना गर्दछन् । कागलाई दाज्यै, गाईलाई माता भन्नुमा पनि कल्पनाशक्तिले काम गरेको हुन्छ । केटाकेटीहरू जब भातपकाइ खेल्दछन् तव बालुवालाई भात, हिलो पानीलाई दाल, काठका लोप्रालाई आलुको तरकारी, गन्देझार पिनेर बनाएको रसलाई अचार, फ्याउसेको पातलाई थाल आदिका रूपमा आरोपित गर्दै कल्पनाको संसारमा डुबुल्की मार्दछन् । आकाशभन्दा माथि के छ हाोला भन्ठान्नु, डाँडाभन्दा उता अर्को गाउँ पनि छ होला र ! भन्ने सोच्नु, डाँडाबाट फुत्त निस्केर घाम उदाएको र अर्काो डाँडाबाट झरेर घाम अस्ताएको कुरा उनीहरुले गर्ने मीठो कल्पना हो । बालबालिकाले चयन गर्ने विषयवस्तुमा यिनै र यस्तै कल्पनाको सहारा लिएर पनि बालसर्जकले कविता रचना गर्न सक्दछन् ।

१०) सकारात्मक सन्देशको नाटकीय सम्प्रेषण

बालबालिकाले कविता लेख्दा नैतिक सन्देश दिनै हुँदैन भन्ने छैन । खेल, घटना तथा विषयवस्तुको वर्णनसँगै थाहै नपाई सन्देशको प्रवाह भएको हुनुपर्दछ । आख्यानभित्र मिसिएर र पूरै कविता पढिसकेर मात्र सन्देशको प्रक्षेपण हुने खालको कविता उनीहरुले रचना गर्नुपर्दछ । बालबालिकाले सिर्जना गर्ने कवितामा घटना पात्र र परिवेशका माध्यमले नाटकीय सन्देशको सम्प्रेषण गर्ने खालको हुनुपर्दछ । प्रत्यक्ष रूपमा दिइने सन्देशले कविताको भन्दा पनि अर्ती–उपदेशर तितो ओखतीको काम गरेको हुन्छ । यस्तो कविता लेख्नुअघि दर्सैका बेलामा गाइने बालबालिकाका बिच अत्यन्तै लोकप्रिय यस्ता बालकवितालाई ंउदाहरणका रूपमा पेश गर्नु राम्रो हुन्छ ः

कान्छी औँला भन्छ– दसैँ आयो
साइँली औँला भन्छ– खाउँला पिउँला
माझी औँला भन्छ– कहाँ पाउँला
चोरी औँला भन्छ– चोरी ल्याउँला
बूढी औँला भन्छ– धत् पापी, म त छुट्टै बसुँला ।

माथिको उदाहरणले बालबालिकाले खेलको मनोरञ्जनसँगै नैतिक सन्देश पनि प्राप्त गर्न सक्दछन् । एउटै कविताबाट चोरी गर्न नहुने, चोरी कार्य पाप हो अनि चोरी गर्नेको सरसङ्गतसमेत गर्नुहुँदैन भन्ने ३ वटा अप्रत्यक्ष नैतिक सन्देश उनीहरुले प्राप्त गरेका हुन्छन् । यसरी बालकविता लेख्ने बालसर्जकले सकारात्मक सन्देशको नाटकीय सम्प्रेषण हुने कुरालाई बिर्सनु हुँदैन ।

११) भाषाशैलीगत सरलता र व्याकरणिक शुद्धता ः

बालबालिकाले लेख्ने कविता आफैमा सरल शब्दले युक्त हुन्छ । तर कतिपय बालसर्जकलाई सकेसम्म गाह्रो शब्द राखेर कविता लेख्दा स्तरीय र राम्रो हुन्छ भन्ने भ्रम पर्न सक्छ । राष्ट्रकवि माधव घिमिरेका कविता चाहे बालकविता हुन्, चाहे प्रौढ कविता जुनसुकै पनि कवितामा सरल शब्दको चयन गरिएको पाइन्छ । सरल शब्दमा गहन भाव मिसिएको हुन्छ । त्यसैले कवितालाई सबैले बुझ्ने खालको बनाउन सजिला शब्दहरुको खोजी गर्नुपर्छ । पढ्दा गाह्रो हुने शब्द रोचक र रमाइलो हुँदैन । अर्थ दिएर पनि बेअर्थको हुन्छ । भाका मिलाउनका लागि कथ्य भाषा, भाषिका वा आञ्चलिक भाषाको प्रयोग गर्नु पनि त्यति राम्रो हुँदैन किनभने यस्तो भाषाको प्रयोग गर्दा उक्त सर्जकको आफ्नो क्षेत्रका पाठकले त बुझ्न सक्लान् तर अर्को क्षेत्रका पाठकले कविताले दिन खोजेको अर्थ र भाव भेट्टाउँदैन । मानक भाषा भनेको साझा, स्वीकार्य र सर्वसम्मत भाषा भएकाले देशभरिका पाठकले कविता बुझुन् भन्ने कुरामाा सर्जकको ध्यान पुगेको हुनुपर्दछ । अर्को विचार गर्नुपर्ने कुरा के हो भने व्याकरणिक शुद्धतामा पनि सर्जकले विचार पु¥याउनै पर्ने हुन्छ । तर यसो भन्दैमा पदक्रम मिलाउनै पर्ने हुन्छ भन्ने चाहिँ होइन । सामान्य वा व्याकरणिक पदक्रमका आधारमा कविता लेख्दा पनि राम्रो हुन्छ, पदक्रम नमिलाई विशिष्ट पदक्रमको प्रयोग गर्दा पनि कविता रमाइलो, रसिलो र मीठो बन्न सकेको हुन्छ । पदक्रमका सन्दर्भमा त कविलाई काव्यात्मक इजाजत (पोएट्रिक लाइसेन्स) नै छ भन्ने त भनाइ नै छ । आखिर जेसुकै भए पनि बालकविता लेख्न अभ्यास गर्ने नवीन सर्जकले भाषाशैलीगत सरलता र व्याकरणिक शुद्धतामा ध्यान दिनु पनि एउटा महत्वपूर्ण पाटो हो ।

क्याम्पस प्रमुख,
ईशानेश्वर क्याम्पस प्रमुख भोर्लेटार, लमजुङ