साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बालकविताको परिचय र यसका प्रमुख तत्त्वहरू

बालसाहित्य भनेको एकातिर बालबालिकाहरूको स्वहस्तबाट लेखिएको काँचो विचार हो भने अर्कोतिर प्रौढ साहित्यकारहरूद्वारा बाल मनस्थिति छाम्ने गरी लेखिएको कलिलो खुराक पनि हो ।

बालसाहित्य र बालकविता

बालसाहित्य भनेको एकातिर बालबालिकाहरूको स्वहस्तबाट लेखिएको काँचो विचार हो भने अर्कोतिर प्रौढ साहित्यकारहरूद्वारा बाल मनस्थिति छाम्ने गरी लेखिएको कलिलो खुराक पनि हो । बालसाहित्यका सर्जक एवम् अध्येता कृष्णप्रसाद पराजुलीका अनुसार बालकले सजिलैसँग बुझ्न, टिप्न सक्ने र उनीहरूलाई रौस्याउँदै चरित्र निर्माणमा सघाउ पु¥याउने सृजनात्मक साहित्य नै बालसाहित्य हो यस दिशामा बालगीत, बाल–कविता, बालकथा, बाल–उपन्यास, बाल–नाटक र प्रेरणाप्रद जीवनी तथा रोचक सामग्री पर्न आउँछन् । प्रौढसाहित्यको जस्तै बालसाहित्यको पनि आफ्नो छुट्टै इतिहास छ । बालसाहित्य पनि विधागत बहुलताले भरिएको विशाल फाँट हो जसमा बालकथा, बालनिबन्ध, बालएकाङ्की, बालकविता जस्ता विभिन्न बिधाहरू समेटिएका हुन्छन् । यस्ता रचनाहरू बालबालिकाको मस्तिष्कमा घुस्न सक्ने र जिब्रोमा पच्न सक्ने हुनुपर्दछ साथै यिनीहरूमा कलिलो बोद्धिकता, सूक्ष्म दार्शनिकता, सरल शैलीशिल्प र भावनात्मक कोमलता हुनु पनि निकै आवश्यक छ ।

रमेशचन्द्र घिमिरे

त्यसो त बालकका लागि साहित्य लेखिँदा जटिल, क्लिष्ट, गहन, तार्किक एवम् बौद्धिक कुराको आवश्यकता नपर्ने र निकै तल्लो स्तरमा झरेर लेखिने हुँदा बालसाहित्य लेखन सजिलो हुन्छ भन्ने भ्रम पनि अधिकांश मानिसहरूमा परेको छ तर वास्तवमा बालकका लागि साहित्य लेखिनु सजिलो काम अवश्य पनि होइन । बालसाहित्य लेख्नका लागि बाल मनोविज्ञान बुझेको हुनुपर्दछ, पूर्वावस्थालाई सम्झँदै वर्तमान बिर्सिदिएर विगततिर फर्किनुपर्दछ र आफू पनि बालक नै बन्नुपर्दछ । बालसाहित्य पढ्न जति सजिलो, मीठो र रमाइलो हुन्छ, लेख्न त्यति नै गाह्रो हुन्छ । बालबालिकाहरूसँग पनि भावना हुन्छ, उनीहरू लेख्न सक्दैनन्, प्रौढहरूसँग लेखन क्षमता हुन्छ तर आफ्नो बालजीवन बिर्सिसकेका कारणले त्यो भावना बुझेर, खोजेर, सोधेर तथा बाल्य संसारमा फर्किएर लेख्न यिनीहरूलाई निकै अप्ठेरो हुन्छ । यसो हुँदाहुँदै पनि बालबालिकाहरूको भावना बुझेर लेख्ने काम पनि विभिन्न बालसाहित्यकारहरूद्वारा भएका छन् अनि ती सफल पनि हुन सकेका छन् र बालसाहित्यकारका रूपमा दरिएका छन् । यस्ता बालसाहित्यकारहरूद्वारा रचित उपर्युक्त विभिन्न विभिन्न विधाहरूमध्ये बालबालिकाले मन पराउने, जिब्रोले पचाउन सक्ने र दिक्क नमानीकन भाका फेरी–फेरी, स्वर मिलाई–मिलाई तथा उफ्री–उफ्री गाउन एवम् पढ्न खोज्ने विधाचाहिँ बालकविता वा बालगीत नै हो ।

बालकविता वा बालगीत

पद्यात्मक वा लयात्मक हिसाबले केटाकेटीको भाषामा लेखिएर उनीहरूले नै गाउने उद्देश्यले रचिएका वा समाजमा प्रचलनमा आएका गीत वा कविता नै बालगीत वा बालकविता हुन् । बालगीत वा बालकविताको परम्परा निकै अगाडिदेखि नै चलेको पाइन्छ । यसको पृष्ठभूमि खोतल्दै जाँदा लोकसाहित्यसम्म पुग्नुपर्ने हुन्छ । मौखिक वा श्रुति परम्परामा अडिएका कथ्य लोक–साहित्यभित्र पनि बालसाहित्य सुरक्षित रहेको पाइन्छ । खास गरी बाल–लोकगीत वा बाल–लोककवितामार्फत एक युगबाट अर्को युग, एक पुस्ताबाट अर्को पुस्ता, एक गाउँबाट अर्को गाउँ र एक ओठबााट अर्को ओठ हुँदै एकातिर यसको परम्परा कायमै छ भने अर्कातिर लेखन पद्धतिको विकास र शिक्षाको प्रचार–प्रसार भएपछि लिपिका रूपमा सुरक्षित हुने मौका पनि बालगीत वा बालकविताले पाएको छ । यसरी हेर्दा बालगीत वा बालकविताका पनि दुई भेद देखा पर्दछन् ः कथ्य र लेख्य । कथ्य भेदलाई बाल–लोकगीत÷कविता र लेख्य भेदलाई लिखित बालगीत÷बालकविताका रूपमा बुझ्नु पर्ने हुन्छ । यो आलेख बालगीत वा बालकविताको लेख्य भेद÷लिखित रूप अन्तर्गत पर्ने बालकविताका तत्त्वहरूका बारेमा केन्द्रित छ ।

बालकविताको महत्त्व

विषयवस्तुलाई लयात्मक र गेयात्मक भाषाका माध्यमबाट अभिव्यक्त गरिने कलात्मक र सौन्दर्यमूलक संरचना कविता हो भने बालकविताचाहिँ बालकद्वारा सिर्जित वा बालकका निम्ति सिर्जित लयात्मक, कलात्मक र मनोरञ्जनात्मक विधाविशेष हो । प्रौढकविताका तुलनामा बालकविताको भाषा सरल, सहज, सुकोमल, सम्प्रेष्य र लयात्मक हुनुपर्दछ । जटिल, दुर्बोध्य, बौद्धिक र असम्प्रेष्य भाषाको प्रयोग प्रयोग गरिएका तथा क्लिष्ट विचार, रौँचिरा दर्शन र गहन तर्कको जालोमा जेलिएका कविताहरू बालकविताको कोटिमा पर्दैनन् । बालकविता पनि गेयात्मक हुने र गीतिगुणको मुख्य आधार पनि गेयात्मक नै हुने हुँदा बालगीतलाई पनि बालकविताको नजिक राखेर हेर्न सकिन्छ । बालबालिकाहरूको सिर्जनात्मक प्रतिभालाई प्रस्फुटन गराउन सहयोग पु¥याउने, उनीहरूका जिज्ञासालाई शान्त पार्ने, शब्दभण्डारमा वृद्धि गर्ने, साङ्गीतिक चेतनालाई परिमार्जन गर्ने तथा मनोरञ्जन प्रदान गर्ने कार्यमा बालबालिका वा बालगीत एउटा सशक्त माध्यम भएकाले बालसाहित्यमा यस विधाको आफ्नै प्रकारको महत्व रहिआएको छ ।

बालकविताका तत्त्वहरूको परिचय

अङ्ग्रेजी भाषाको Elements को समानार्थी शब्द तत्त्व हो । कुनै पनि वस्तुलाई अस्तित्त्वमा ल्याउने वा निश्चित संरचना  प्रदान गर्ने कारक वा अवयलाई तत्त्व भनिन्छ । साहित्यका मुख्य चार विधामध्ये कविता पनि एउटा विधा भएको हुँदा तथा बालकविता पनि कवितासँग सम्बन्धित रहेको हुँदा साहित्यका तत्त्व जे–जे हुन् कविता वा बालकविताका तत्त्वहरू पनि तिनैै–तिनै हुन् भनेर भन्न सकिन्छ । यसर्थ सामान्यतया साहित्यका तत्त्व मानिएका – भावतत्त्व, कल्पनातत्त्व, बुद्धितत्त्व र शैलीतत्त्व या रचनातत्त्व नै बालकविताका पनि अनिवार्य तत्त्व वा आवश्यक उपादान हुन सक्छन् भन्ने धारणा राखिन्छ । तैपनि साहित्य एउटा सिङ्गो संरचना र कविता यसको कुनै एक विधाविशेष भएकाले यी तत्त्वलाई कविता या बालकविताका तत्त्व मान्नैपर्ने अनिवार्यता भने रहँदैन । आंशिक रूपमा मात्र साहित्यका तत्त्वहरूको कवितासँग मेल खाने हुँदा यसको तात्त्त्विक वर्गीकरण छुट्टै प्रकारले गर्न सकिन्छ ।

कविताका लक्षित समूह प्रौढ वर्ग र बालकविताका लक्षित समूह बालबालिका वर्ग भए पनि संरचनागत र विधागत समानताका कारणले यी दुवै विधामा समानता देखिने हुँदा कविताका कतिपय तत्त्वलाई बालकविताका तत्त्व मानेर र केही नितान्त बालकवितासँग मात्र सम्बन्धित तत्त्वलाई पनि एकै ठाउँमा समावेश गरेर मुख्य–मुख्य तत्त्वहरूको चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।

क) विषयवस्तु वा भावविधान

विषयवस्तु बालकविताको अनिवार्य तत्त्व हो । बालकविता रचनाका लागि चयन गरिने भाव, विचार वा वस्तु आदि नै विषयवस्तु हुन् । विषयवस्तुलाई भावविधान पनि भनिन्छ । बालकविताका सर्जकले आफ्ना रचनामा ब्रह्माण्डका सम्पूर्ण वस्तु, मानवीय स्वभाव, प्रकृति, समाज, धर्म, संस्कार, संस्कृति आदिजस्ता विभिन्न पक्षलाई ग्रहण गर्दै काव्यरचनाको आधार बनाएको हुन्छ । बालपाठकको मस्तिष्कलाई प्रभाव पार्न सक्ने उपयुक्त विषयवस्तुको चयनले बालकविता सशक्त र जीवन्त बन्न सक्छ । सर्जकको भोगाइ या अनुभवमा अभिप्रेरित गर्ने उत्प्रेरित वस्तु नै बालकविताको विषय बन्न सक्छ । बालकविताका सर्जकले कविता रचना गर्दा कुनै निश्चित विषयवस्तुको चयन गर्नुपर्छ भन्ने बन्देज छैन । मानवीय जीवन जगत्का समग्र वस्तु  एवम् मानवचेतनाका अनुुभव र अनुभूतिलाई रचेर जुनसुकै विषयवस्तुको  छनोट गर्न पनि ऊ स्वतन्त्र रहेको हुन्छ । बालकविताका सर्जकहरूले प्रायः प्रकृति, फूल, तारा, इन्द्रेणी, खेल, पौराणिक सन्दर्भ, बाल स्वभाव, प्राकृतिक पशुपक्षी वा कीटपतङ्ग, राष्ट्र, समाज, गाउँठाउँ, सामाजिक व्यवहार, जागरण आदिलाई विषयवस्तुका रूपमा बाालकवितामा प्र्रयोग गरेका हुन्छन् । यसरी विषयवस्तुविना बालकविताको सिर्जना गर्न असम्भव हुने हुँदा विषयवस्तु या भावविधानलाई बालकविताको मुख्य तत्त्व मान्न सकिन्छ ।

ख) लयविधान 

लयविधानलाई छन्दविधान पनि भनिन्छ । लयविधान बालकविताको सबैभन्दा महत्त्त्वपूर्ण तत्त्व हो । काव्यानुभूतिलाई छन्दले वेग प्रदान गर्दछ भने सङ्गीतात्मक लयले रसात्मकता ल्याइदिन्छ । यसको अभावमा बालकविता बालपाठकका लागि रुचिकर हुँदैन, केबल कोरा नारा, खोक्रो भाषण र जटिल गद्यजस्तो मात्र हुन्छ । नैतिक सन्देश सम्प्रेषणका लािग बालकविताका सर्जकले लयको मोहनीले बालपाठकलाई आफ्ना रचनामा तान्न सक्छन् र प्रत्यक्ष वा परोक्ष रूपमा त्यसमा निहित भाव बाल पाठकले ग्रहण गर्न सक्क्छन् । कुनै पनि स्वर–व्यञ्जन वर्णको उच्चारण क्रममा उत्पन्न आरोह अवरोहगत साङ्गीतिक  लययुक्त ध्वनि वा स्वर ताललाई सङ्गति दिएर श्रुतिमधुर बनाउने काम लयले गर्दछ ।

सङ्गीतात्मक लय मानिस या अन्य जीवजन्तुका लागि पनि अत्यन्तै रुचिकर हुन्छ भने बालपाठकका लागि यो त नभई हुँदैन । कवितामा हुने लयका कारणले गर्दा नै बालकवितालाई भाका फेरी–फेरी र रमाई–रमाई गाउन सकेका हुन्छन् । लय वा छन्दले बालकवितामा गति, यति र मात्राको क्रमलाई मिलाएर विशिष्ट साङ्गीतिक रस उत्पन्न गराउँछ । नेपाली बालकवितामा पनि कवितामा जस्तै वर्णमात्रिक, मात्रिक, लोक र स्वतन्त्र गरी मुख्य चारथरि छन्दयोजनाको प्रयोग गरिएको हुन्छ । यीमध्ये वर्णामात्रिक, मात्रिक र स्वतन्त्र लयको नेपाली बालकवितामा कम प्रयोग पाइन्छ भने लोकलयको प्रयोग निकै धेरै प्रचलनमा आएको देखिन्छ । लोकलय सजिलो, रसिलो र बालबालिकाका लागि प्रिय रहेको हुँदा प्रायः सर्जकहरूले यसै  लयलाई आधार मानेर बालकविताको रचना गरेका छन् । वर्णमात्रिक वा शास्त्रीय लयमध्ये उपजाति छन्दको प्रयोग बालबालिकालाई रमाइलो हुने हुँदा यस लयको प्रयोग पनि कतिपय सर्जकहरूले गरेको भेटिन्छ । यसो हुँदा लयविधान पनि बालकविताको मुख्य तत्त्व हो भनेर भन्न सकिन्छ ।

ग) कल्पना

कल्पना पनि बालकविता रचनाको लागि मुख्य तत्त्वअन्तर्गत नै पर्दछ । विषयवस्तु वा सर्जकको अनुभूति र भोगाइ बालकविता लेखनको बीज हो भने कल्पना त्यसको सृष्टि वा बिस्तार हो । भानुभक्त पोखरेलका अनुसार कल्पना भनेको संश्लेषणात्मक शक्ति हो, कल्पना भन्नु एक प्रकारको प्रतिभा हो । भावनालाई जीवन्त बनाउन र तीव्र रूपमा गति दिन कल्पना शक्तिले ठूलो भूमिका खेलेको हुन्छ । प्रतिभावान् वा सिद्धहस्त साहित्यकारको रचनामा कल्पना पक्ष पनि लुकेको हुन्छ । कल्पना तत्त्वले अमूर्त अनुभूतिलाई नयाँ रूप र नवीन आकृति दिएको हुन्छ । कल्पना शक्तिविनाको बालकविता लेखन ठाडो र रुखोजस्तो देखिन्छ । यदि बालकवितामा यस तत्त्वको पनि अनिवार्य उपस्थिति रह्यो भने बालबालिकाहरू पनि नयाँ संसारमा रमाउन पाउँछन् । खास गरी स्वच्छन्दतावादी काव्यस्रष्टाका लेखनामा कल्पना तत्त्वको मिश्रण गर्ने प्रवृत्ति समाहित भएको हुन्छ । कल्पनाले नै हार्दिक स्पन्दन र अनुभूतिलाई कविताको रूप दिने हुनाले यो मूर्तिविधायिनी शक्ति मानिन्छ । यसर्थ कल्पनातत्त्वलाई पनि बालकविता रचनाका लागि अनिवार्य एवम् आवश्यक तत्त्वका रूपमा लिन सकिन्छ ।

घ) अलङ्कारविधान 

अलङ्कारको खास अर्थ गहना हो । गहनाले मानिसको बाह्य रूपाकृतिलाई जसरी सुन्दरता थपेको हुन्छ त्यसरी नै काव्यलाई पनि सजिसजाउ र सुन्दर पार्न अलङ्कारले विशेष भूमिका प्रदान गरेको हुन्छ । ‘अलम् करोति इति अलङ्कार’ बाट अलङ्कार शब्दको व्युत्पत्ति भएको हो । अर्थात् जसले अभिव्यक्तिलाई पूर्ण पार्छ अथवा सिँगार्दछ त्यो नै अलङ्कार हो । अर्को शब्दमा भन्ने हो भने कवितामा प्रयुक्त शब्दगत वा अर्थगत चमत्कृतिलाई नै अलङ्कारका रूपमा परिभाषित गर्न सकिन्छ । कतिपय विद्वान् तथा आलोचकले अलङ्कारलाई काव्यको बाह्य तत्त्व मानेका छन् ।

बालकविता रचनाका लागि पनि अलङ्कारविधानको आफ्नो छुट्टै महत्व छ । प्रयोगका हिसाबले शब्दालङ्कार र अर्थालङ्कार गरी अलङ्कारलाई मुख्य दुई किसिमले विभाजन गर्न सकिन्छ । शब्दहरूको विन्यासमा पाइने कलात्मकता, चमत्कार अर्थात् शब्दप्रयोगबाट उत्पन्न हुने सौन्दर्य नै शब्दालङ्कार हो भने अर्थलाई प्रभावकारी तुल्याएर पाठकलाई आश्चर्यमा पार्ने अथवा स्रष्टाले आफ्ना कुरालाई  देखाएर समर्थन गर्न बाध्य बनाउने जस्ता अर्थसँग सम्बन्धित कथन प्रणालीजन्य सौन्दर्यलाई अर्थालङ्कार भनिन्छ । बालकवितालेखनमा शब्दालङ्कार अन्तर्गत अन्त्यानुप्रासको उचित र स्वाभाविक प्रयोगले कविता रोचक र रसिलो बन्न पुग्दछ भने अर्थालङ्कार अन्तर्गत उपमा, रूपक र दृष्टान्त अलङ्कारको प्रयोगले कवितामा छुट्टै मिठास थप्न पुग्दछ ।

ङ) चित्रयोजना 

कवितामा चित्रको प्रयोग ऐच्छिक रूपमा रहे पनि बालकवितामा यो अनिवार्य रहेको हुन्छ । ‘एक चित्र बराबर हजारौँ शब्द’ भनेझैँ भाषाको माध्यमले मात्र अभिव्यक्त हुन नसक्ने भाव चित्रसँग पनि अटाएको हुन्छ । चित्रयोजनाले एकातिर कवितामा सजावट थप्ने काम गरेको हुन्छ जसले गर्दा चित्र मात्र हेर्नका लागि र चित्र हेरेर स्पष्ट हुनका लागि बालबालिकाहरू बालकविता पढ्नतिर हौसिएका हुन्छन् । अर्कातिर शब्दले व्यक्त गर्न नसक्ने भाव चित्रले सजिलैसँग व्यक्त गरेको हुन्छ । बालकवितामा चित्र संयोजन गर्ने काम बालकविताका सर्जकहरूले नै गरेका हुन्छन् भनेर भन्न मिल्दैन । सर्जकको भावना बुझेर सोहीअनुरूप चित्र संयोजन गर्ने काम चित्रकारले गरेको हुन्छ । प्रौढ कवितामा अमूर्त चित्रको प्रयोग गरिएको हुन्छ भने बालकवितामा चाहिँ बालबालिकाले नै बुझ्ने खालको मूर्त र स्पष्ट चित्रको प्रयोग गरिनु आवश्यक हुन्छ । बालकवितामा अमूर्त चित्र, कविताको मर्मविपरीतको चित्र तथा बालबालिकालाई नकारात्मक असर पार्ने खालको चित्र सर्वथा वर्जित मानिन्छ । मूर्त भईकन पनि रङ्गीन चित्रको सजावट भएको बालकविताले बालपाठकलाई निकै प्रभाव पारेको हुन्छ । चित्र संयोजन गर्दा चित्रकारले बालबालिकाहरूलाई छिटो आकर्षण गर्न सक्ने विषयवस्तुसँग सम्बद्ध चित्रहरूको प्रयोग गर्नुपर्दछ । त्यस्ता खालका कविता पढ्दा बालबालिकाहरू चित्र हेर्दै शब्दको भाव बुझ्नमा रमाएका हुन्छन् ।

त्यसो त बालकविता चित्ररहित पनि हुन सक्छ तर चित्रसहितका कविताहरू उनीहरूको ध्यान तान्न जति सक्षम रहन्छन् त्यति चित्ररहित कविताहरू सक्षम रहँदैनन् । बालबालिकालाई भाषण या प्रवचनले प्रभावित पार्न सकिन्न तर चित्रका माध्यमद्वारा भने अत्यन्त सरल र प्रभावकारी रूपबाट उनीहरूमा धेरै कुराको सम्प्रेषण गर्न सकिन्छ । ग्राफिक कला र अफसेट मुद्रणको प्रणाली बढिरहेको वर्तमान परिप्रेक्ष्यमा चित्रकलाविना बालकविता प्रभावकारी हुन नसक्ने कारणले पनि चित्रयोजनाको महत्व झन्–झन् बढ्दै गइरहेको छ । बालकहरूको कल्पनाशीलता र तार्किक विकासमा चित्रकविता भएका पुस्तकले त झन् खेलौनाको नै काम गरेको हुन्छ । कल्पनाशक्ति बढाउन, ज्ञानविज्ञानका कुरा र राष्ट्रिय इतिहास, मूल्य–मान्यता रसंस्कृतिलाई सिकाउन कलात्मक चित्र भएका बालकविताहरू बालबालिकाका लागि निकै उपयोगी र आकर्षक हुने गर्दछन् । यसरी चित्रयोजनालाई पनि बालकविताको मुख्य तत्त्वका रूपमा स्वीकार गर्नुपर्ने हुन्छ ।

च) भाषा

बोलेर वा लेखेर मानवीय समुदायमा व्यवहृत हुने भावाभिव्यक्तिको माध्यमलाई भाषा भनिन्छ । बालकविता पनि भाषाद्वारा मूर्त रूपमा प्रकट हुने साहित्यिक कला हो । बालकविताका सर्जकले कथ्य विषयलाई पाठकसमक्ष प्रभावकारी ढङ्गले सम्प्रेषण गर्ने सामग्रीको विकल्प भाषाबाहेक अरु हुन सक्दैन । पाठकसमक्ष कथ्य विषयको सम्प्रेषण गर्दा कविले बालकवितामा लयात्मक पद्यभाषाको प्रयोग गरेको हुन्छ । अर्थका तहका हिसाबले बालकविताको भाषा अभिधात्मकका साथै लाक्षणिक र व्यञ्जनार्थ तथा सङ्क्षिप्त र सङ्केतात्मक हुने गर्दछ । प्रौढकविताका तुलनामा बालकविताको भाषा सरल र सरस हुनुपर्ने कारणले गर्दा बालकवितामा अभिधार्थक भाषा तथा सङ्क्षिप्त विधि अँगालिन्छ । लामा र जटिल कविता बालकविताका लागि त्यति ग्राह्य हुँदैनन् । यसले बालकविताको भाषालाई दुर्बोध्य र दुरुह गराउँछ ।

बालकवितामा प्रयोग गरिने भाषा उमेर समूहअनुसार भिन्नाभिन्नै किसिमको हुनु आवश्यक छ । समाालोचक लक्ष्मणप्रसाद गौतमका अनुसार खास गरी बालकवितामा सरल, सुकोमल, हृदयसंवेद्य, आनुप्रासिक, अनुकरणात्मक शब्दयुक्त र मनोरञ्जक भाषाको प्रयोग हुने कुरा निर्विवाद छ । बालकवितामा बालबोलीमा आधारित प्रचलित शब्दलाई नै बालकविताका सर्जकले प्रयोग गर्न सकेका खण्डमा यो अझ सार्थक, रोचक र उद्देश्यपूर्ण हुन्छ । ‘आइँ’, ‘कुती’, ‘चरी’ जस्ता प्राणीबोधक नाम, ‘चिची’, ‘पापा’, ‘माम’ जस्ता खानेकुराका नाम तथा ‘ककनन गर्नु’, ‘काटीकाटी गर्नु’, ‘थिरी गर्नु’, ‘भुङ्ग हुनु’, ‘हट्हट् गर्नु’ जस्ता क्रियावाची पदावलीका प्रयोग भएका बालककै भाषामा आधारित कविताहरू बालबालिकाका लागि रोचक र प्रिय हुने गर्दछन् । यसरी बालकविता सिर्जना गर्दा बालबालिकाको उमेर, रुचि र भावनालाई पनि दृष्टिगत गर्नुपर्ने हुँदा भाषामा निकै विचार पु¥याउनु पर्ने देखिन्छ । यसर्थ भाषा पनि बालकविताका प्रमुख तत्त्वमध्ये एक हो ।

छ) उद्देश्य 

उद्देश्यलाई सारवस्तु वा केन्द्रीय कथ्य पनि भनिन्छ । कुनै पनि साहित्यिक विधामा समाविष्ट रहने केन्द्रीय वा आधारभूत विचार नै उद्देश्य हो । जुनसुकै पनि विधारचना गर्नुपूर्व स्रष्टाले एउटा न एउटा उद्देश्य लिएको हुन्छ । बालकविता लेखनका लागि पनि यो एउटा अनिवार्य एवम् आवश्यक सर्त हो । निरुद्देश्य लेखनको कुनै अर्थ रहँदैन । प्रत्यक्ष वा परोक्ष रूपमा बालकविताका सर्जकले पनि आफ्नो उद्देश्य प्रस्तुत गर्दछ । बालकविताका सर्जकले उद्देश्य प्रस्तुत गर्दा मूल विचारको नाटकीकरण गरेर साधारणीकृत अवस्थामा पु¥याएको हुन्छ र त्यसैको बोध बालपाठककहरूले गर्दछन् । बालकवितालाई रुचिकर र पठनीय बनाउन रचनाकारले सारवस्तु वा उद्देश्यलाई आग्रहीकरण नभएर नाटकीकरण विधिले प्रस्तुत गर्नुपर्दछ । आग्रहीकरण भन्नाले विचारको प्रत्यक्षीकरण भन्ने बुझिन्छ । उद्देश्य वा सारवस्तुलाई आग्रहीकरण वा सिधै उपदेशका रूपमा व्यक्त गरियो भने त्यसले बालकविताको कलात्मक मूल्यमा ह्रास ल्याउनुका साथै आदर्शको खोक्रोपन  बढाएर बालकवितालाई नीतिशास्त्रसँग जोेदछ । आग्रहीकरण प्रविधिमा उद्देश्य विचार वाक्यको रूपमा प्रत्यक्ष देखा पर्दछ तर नाटकीकरण प्रविधिमा विचार वाक्यको प्रयोग भएको पाइँदैन । नाटकीकरण भन्नाले विचारको अप्रत्यक्ष वा नाटकीय प्रक्षेपण भन्ने बुझ्नुपर्दछ । उद्देश्यको नाटकीकरण भएको बालकविताबाट बालपाठकले प्रत्यक्ष रूपमा अर्ती उपदेश प्राप्त गर्न सक्दैनन् । बालकविता पढिसकेपछि मात्र त्यसको उद्देश्यबोध उनीहरूमा हुन्छ । विचार वाक्यको प्रयोग गरेर आग्रहीकरण विधिलाई अँगालिएको लेखनभन्दा विचार  वाक्यको प्रयोग नगरी नाटकीकरण विधिलाई अँगालिएको लेखन नै बालकविताका लागि ग्राह्य र उपयुक्त हुन्छ ।

निरुद्देश्य लेखनको औचित्य नहुने कारणले गर्दा बालकविताका सर्जकले बालपाठकलाई मनोरञ्जक खुराक दिने, कर्मशील हुन प्रेरित गर्ने, राष्ट्रप्रेमको भावना जगाउने, औपचारिक वा अनौपचारिक रूपले ज्ञान वा शिक्षाको प्रबद्र्धन गर्ने, चरित्र सुधारका लागि जोड दिने तथा भाषिक क्षमताको विकास गराउने आदि उद्देश्यले बालकविताको रचना गरेका हुन्छन् । बालकवितामार्फत प्रस्तुत गरिने यस्ता उद्देश्यको प्रयोगले बालबालिकालाई नैतिक, चरित्रशील र सिर्जनामुखी हुन प्रशस्त प्रेरणा प्रदान गर्ने हुँदा उद्देश्यलाई पनि बालकविताको मुख्य तत्त्व मान्न सकिन्छ ।

ईशानेश्वर क्याम्पस स्मारिका, २०७५

सन्दर्भ सामग्री  

१. कृष्णप्रसाद पराजुली, भाषाको माया, (काठमाडौँ : रत्न पुस्तक भण्डार, २०४४)

२. खगेन्द्रप्रसाद लुइटेल र अरु (सम्पा.), नेपाली कवि र कविता, (काठमाडौँ : विभु ऋभु प्रकाशन, २०५७)

३. भानुभक्त पोखरेल, सिद्धान्त र साहित्य,  (विराटनगर : श्याम पुस्तक भण्डार, २०४०)

४. टङ्कप्रसाद न्यौपाने, साहित्यको रूपरेखा, (काठमाडौँ : साझा प्रकाशन, दोस्रो संस्करण, २०४९)

५. अच्युतशरण अर्याल, नेपाली बालसाहित्यको रूपरेखा, (स्याङ्जा : डिल्लीप्रसाद अर्याल, २०४५)

६. लक्ष्मणप्रसाद गौतम, सान्दर्भिक समालोचना, (काठमाडौँ : भुँडीपुराण प्रकाशन, २०५७)

७. प्रमोद प्रधान, नेपाली बालसाहित्यको इतिहास, (काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन प्रा.लि., तेस्रो संस्करण, २०६९)

८. जनकप्रसाद हुमागाईं, नेपाली बालसाहित्य,  (काठमाडौँ : सुनकोसी साहित्य प्रतिष्ठान, २०५६)

९. सीता कटवाल, नेपाली बालकविताको अध्ययन, (अप्रकाशित स्नातकोत्तर शोधपत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०५०)

१०. रमेशचन्द्र घिमिरे, भुर्र चरी, (अप्रकाशित स्नातकोत्तर सिर्जनापत्र, त्रिभुवन विश्वविद्यालय, नेपाली केन्द्रीय विभाग, २०५८)

प्रतिक्रिया
Loading...