१. विषय प्रवेश

कविताको लयलाई ‘छन्द’ भनिन्छ । छन्द बद्ध र मुक्त गरी दुई प्रकारका हुन्छन् । शास्त्रीय वार्णिक, मात्रिक, लोकछन्द र बहर (गजलको फारसी लय) आदिलाई बद्ध छन्द भनिन्छ भने जसलाई हामीले गद्य कविता भन्ने गरेका छौँ ती मुक्त छन्द हुन् । बद्धको अर्थ बाँधिएको भन्ने हुन्छ भने मुक्तको अर्थ स्वतन्त्र वा बन्धनरहित भन्ने हुन्छ । वार्णिक छन्दहरू गणको साँचोमा बाँधिएका हुन्छन्, मात्रिक छन्दहरू मात्राको बन्धनमा बाँधिएका हुन्छन्, लोकछन्दहरू आक्षरिक एकरूपतामा बाँधिएका हुन्छन् र बहरहरू रुक्नको अनुशासनमा बाँधिएका हुन्छन् त्यसैले यी सबै बद्ध छन्दअन्तर्गत पर्दछन् । गद्य कविताहरूमा आन्तरिक सङ्गीत चेतना अनिवार्य भए पनि तिनले गण, मात्रा, अक्षर वा रुक्नहरूमा बाँधिनु पर्दैन त्यसैले गद्य कवितालाई मुक्त छन्द भनिन्छ । यो गद्यमा लेखिए पनि यसमा कथा, निबन्ध, प्रतिवेदन, समाचार आदिमा जस्तो गद्यको प्रयोग नभएर आन्तरिक सङ्गीत हुने हुनाले यसलाई पनि छन्द नै भनिएको हो तर यो निश्चित नियमको बन्धनबाट मुक्त हुने हुनाले मुक्त छन्द हो । सामान्यतः बद्ध छन्दलाई सिर्जनाका लागि जटिल र मुक्त छन्दलाई सरल रूपमा हेर्ने गरिन्छ तर सुन्दर गद्य कविता निर्माण गर्नका लागि त्यसमा पनि आन्तरिक लयविधान आवश्यक छ भन्ने कुराको बोध कविहरूमा हुनु अनिवार्य मानिन्छ । त्यसैले यस लेखमा त्यही कुरालाई प्रमुख लक्ष्य बनाएर मुक्त छन्दको लयविधानसम्बन्धी जानकारी प्रस्तुत गरी यसमा कविता कसरी लेख्ने गरिन्छ भन्ने कुरालाई प्रयोगात्मक रूपमा सिद्ध गर्ने प्रयास गरिएको छ ।

२. मुक्त छन्द के हो ?
‘मुच्’ धातुमा ‘त’ प्रत्यय लागेर ‘मुक्त’ शब्दको निर्माण हुन्छ । यसको अर्थ स्वतन्त्र, उन्मुक्त वा बन्धनरहित भन्ने हुन्छ । पूर्व उल्लिखित ‘छन्द’ शब्दमा ‘मुक्त’ विशेषण थपिँदा ‘मुक्त छन्द’ पदावलीको निर्माण भएको हो । कवितामा प्रयोग हुने आन्तरिक सङ्गीत चेतनालाई ‘मुक्त छन्द’ भनिन्छ । अर्थात् गद्य कविताको लयविधान नै मुक्त छन्द हो । यसलाई आन्तरिक लय पनि भन्न सकिन्छ । बद्ध लयहरू बाह्य रूपमा नै अनुभूत हुन्छन् । कुनै शब्दविना गुनुगुनाउँदा पनि त्यो कुन छन्द हो भनेर चिन्न सकिने हुनाले बद्ध छन्दमा बाह्य सङ्गीत हुन्छ तर मुक्त छन्दका कविताको शब्द उच्चारण नगरुन्जेल छन्दको पहिचान हुँदैन त्यसैले यिनमा आन्तरिक सङ्गीत हुन्छ । संस्कृतमा ‘गद्यः कवीनां निकषं वदन्ति’ भन्ने उक्ति नै छ । यसको अर्थ ‘गद्य सिर्जना कविहरूलाई जाँच्ने कसी हो’ भन्ने हुन्छ । यसका आधारमा हेर्दा पद्य सिर्जनाभन्दा गद्य सिर्जना कठिन कार्य मानिन्छ । संस्कृत काव्यपरम्परामा महाकवि बाण भट्टको ‘कादम्बरी’ महाकाव्य पूर्ण रूपमा गद्यमा सिर्जना भएको छ । लयविधान कविताको अनिवार्य तत्त्व भए पनि पूर्वमा होस् वा पश्चिममा होस् यसलाई बाह्य पक्षका रूपमा हेर्ने गरिन्छ । कविताको आन्तरिक शक्तिचाहिँ कवित्व, भाव वा विचार नै हो ।

नेपाली कवितामा बद्ध र मुक्त दुवै प्रकारको लयविधान पाइन्छ र कविताको शक्ति बाह्य लयमा नभएर आन्तरिक कवित्वमा हुन्छ भन्ने कुरा पनि कवि, पाठक र समालोचक सबैलाई थाहा छ तापनि लयलाई लिएर नेपाली कविहरूमा एक प्रकारको युद्ध नै चलेको देखिन्छ । छन्दमा कविता लेख्नेले गद्यमा लेख्नेलाई कवि नै नगन्ने र गद्यमा लेख्नेले छन्दमा लेख्नेलाई कवि नै नगन्नेजस्तो निषेधको वातावरण केही समयअघिसम्म स्पष्ट रूपमा देखिएको थियो तर अहिले भने त्यो अवस्थामा कमी आएको छ । यी दुवै नेपाली कविताका लागि अतिवादी धारणा हुन् । गणका साँचामा गन्थन भरेर छन्दमा कविता लेखेँ भन्नु पनि कविता लेख्नु होइन र एउटा वाक्य वा अनुच्छेदलाई दश टुक्रा पारी भाँचेर गद्यमा कविता लेखेँ भन्नु पनि कविता लेख्नु होइन । बद्ध छन्दमा होस् वा मुक्त छन्दमा होस् कविताचाहिँ लेखिनुपर्छ भन्ने नै वर्तमान नेपाली कविताको प्रमुख उद्घोष हो ।

३. नेपाली कवितामा मुक्त छन्दको प्रयोग
वि.सं. १८२६ मा सुवानन्द दासद्वारा लिखित ‘पृथ्वीनारायण’ कवितालाई नेपाली कविताको पहिलो स्वरूप मानिन्छ । उक्त कवितामा लोकलयको प्रयोग भएको छ । १८३९ तिर लेखिएको शक्तिवल्लभ अज्र्यालको ‘तनहुँ भकुन्डो’ कवितामा वार्णिक छन्दको प्रयोग भएको छ । यस तथ्यलाई हेर्दा नेपाली कविताले २५० वर्षको यात्रा पूरा गरेको देखिन्छ । नेपाली कविताको प्राथमिक र माध्यमिक कालमा वार्णिक, मात्रिक र लोकछन्दका कविताहरू प्रशस्त देखापरे पनि मुक्त छन्दका कविताहरूको आभास मात्र फेला पर्दछ । वि.सं. १९९२ को ‘शारदा’ पत्रिकामा ‘…प्रति’ कविता प्रकाशन गरी नेपाली कविताका क्षेत्रमा उदाएका गोपालप्रसाद रिमालको त्यही वर्षको मार्ग÷पौष अङ्कमा प्रकाशित ‘कविको गान’लाई उच्चकवित्व चेतसहितको पहिलो गद्य कविता मान्ने गरिन्छ । यसपछि भने एकातिर शास्त्रीय छन्दमा समेत सिद्धहस्त बौद्धिक कवि बालकृष्ण समका ‘स्वर्ग र देवता’ तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका ‘पागल’ जस्ता कविताहरू देखापरे भने अर्कातिर प्रजातन्त्रको आगमनपछि भूपी शेरचन सुन्दर गद्य कविताहरू लिएर देखापरे । यसरी रिमालको प्रवर्तन, सम र देवकोटाको समर्थन र भूपीको सिर्जनात्मक उन्नयनसँगै जोडिएका मोहन कोइराला, ईश्वरवल्लभ, वैरागी काइँला आदिको सशक्त हस्तक्षेपपछि मुक्त छन्दका कविताहरू नेपाली कविताका अभिन्न अङ्गका साथै अमूल्य सम्पत्ति बनेको पाइन्छ ।

४. मुक्त छन्दमा लयको निर्माण कसरी गरिन्छ ?
मुक्त छन्दमा लयको निर्माण गर्ने आधारहरू शास्त्रीय बद्ध छन्दमा जस्ता स्पष्ट हुँदैनन् । गद्य कविताको लयविधानलाई पहिचान गर्ने आधार गण वा सूत्र नभएर भाषिक प्रयोगमा देखिने कला नै हो । त्यस्तो कला निर्माणका लागि आवश्यक लयविधानका मूलभूत आधारहरू निम्नलिखित देखिन्छन्—

(क) भाषिक विचलन वा व्यतिक्रम
(ख) आनुप्रासिक अन्तर्गुञ्जन
(ग) अभिव्यक्तिगत वक्रता
(घ) तर्कपूर्ण नवीन दृष्टि
(ङ) विम्ब, प्रतीक तथा मिथकको छनोट

उल्लिखित पाँचओटा मूल आधारका केन्द्रीयतामा रहेर तिनका अन्तर्यमा लुकेका भाषिक एवं अभिव्यक्तिगत सामथ्र्य एवं वैशिष्ट्यका आधारमा गद्य कवितामा लय निर्माण गर्न सकिन्छ ।

(क) भाषिक विचलन वा व्यतिक्रम
सामान्य वा सोझो अभिव्यक्तिमा वाक्यहरू निर्माण हुन्छन् र तिनले बाह्य कुराको सूचना दिन्छन् तर भाषामा विचलन ल्याउनासाथ वा प्रयुक्त शब्दहरूको व्यतिक्रम गर्नासाथ त्यहाँ एकप्रकारको लय निर्माण हुन्छ । त्यसले भावलाई पनि सशक्त बनाइदिन्छ । एउटै अभिव्यक्तिमा आएका शब्दहरूलाई यताउता पारेर राख्नासाथ उत्पन्न हुने अनौठो भाषिक तरङ्ग नै गद्य कविताको लय हो । सामान्य अभिव्यक्तिमा व्याकरणिक पदक्रम हुन्छ भने कवितामा आलङ्कारिक पदक्रम हुन्छ । यसरी नै सामान्य अभिव्यक्तिमा अभिधा अर्थको प्रयोग हुन्छ भने कवितामा लक्षणा वा व्यञ्जना अर्थको प्रयोग हुन्छ । भाषिक विचलन वा व्यतिक्रमले भाषिक तथा आर्थिक दुवै पक्षमा कलात्मकता र उच्चता प्रदान गर्दछ । जस्तै ः
सामान्य अभिव्यक्ति (व्याकरिणक पदक्रम र अभिधा अर्थ)
गाईले घाँस खान थाल्यो ।
बाघले मासु खान थाल्यो ।
यी सोझो अर्थ दिने दुइटा सरल वाक्य हुन् ।
कवितात्मक अभिव्यक्ति (आलङ्कारिक पदक्रम र अभिधा अर्थ)
घाँस खान थाल्यो गाईले
मासु खान थाल्यो बाघले
यहाँ भाषिक विचलन वा व्यतिक्रम छ तर अर्थ अभिधा नै छ ।
कवितात्मक अभिव्यक्ति (आलङ्कारिक पदक्रम र व्यञ्जना अर्थ)
घाँस खान थाल्यो बाघले
मासु खान थाल्यो गाईले

यहाँ भाषिक विचलन वा व्यतिक्रम पनि छ र व्यञ्जना अर्थ पनि छ । गाईले मासु खानु र बाघले घाँस खानुमा अर्थमा बाधा आएको छ र यहाँको गाई र बाघ अभिधा अर्थका जनावर नभएर परम्परा, संस्कृति, मर्यादा, चालचलन आदिको समाप्ति र विकृतिको आगमनका प्रतीकहरू हुन् । मुक्त छन्दमा यसरी भाषिक विचलनबाट लयनिर्माण गरी व्यञ्जना अर्थ प्रदान गरिन्छ । यसरी नै भाषिक विचलन गर्ने निम्नलिखित तरिकाहरू हुन्छन्—

आङ्कारिक पदक्रमबाट लय निर्माण
जहाँ, आरुबखडाका हाँगा हाँगामा
फुल्दछन् कुखुराका चल्लाहरू ।
(भूपी शेरचन)

चक्रीय भाषिक व्यतिक्रम
हिँड्दाहिँड्दै मोडमा
हिँडेको बाटो नै मोडिएपछि
हिँड्नेको पनि केही लाग्दो रहेनछ !
(तुलसी दिवस)

अमूर्तको मूर्तीकरण
आउने जाने त्यसैमा अनन्तको अनुहार हेर्न
समयहीन नै समय हिँडिरहेछ
सहडहीन सडकमा ।
(मोहन कोइराला)

ध्वन्यात्मक भाषिक विचलन
अक्टोपसहरू अक्टोपसले झैँ
अनन्त अन्डा पारेर
अक्टोपसहरू जन्माउँछन् ।
(कपिल लामिछाने)

शृङ्खलाबद्ध भावविधानबाट लय निर्माण
तिमीलाई पानी दुख्छ
तिम्रो दुखाइमा
आँखाको नानी दुख्छ ।
(रमेश श्रेष्ठ)

तुलनात्मक प्रस्तुतीकरणबाट लय निर्माण
कवि श्रवण मुकारुङको ‘हारजित’ कवितामा यसको सुन्दर प्रयोग गरिएको छ ।

(ख) आनुप्रासिक अन्तर्गुञ्जन
आन्तरिक अनुप्रास योजना गद्य कविताको सबैभन्दा शक्तिशाली पाटो हो । यसले लय निर्माणमा प्रमुख भूमिका खेलेको हुन्छ । पद्य कवितामा अन्त्यानुप्रास मात्र भए पनि पुग्छ तर गद्य कवितामा अन्त्यानुप्रासको भन्दा आन्तरिक अनुप्रास योजनाको विशेष भूमिका हुन्छ । अनुप्रासको प्रयोग एक एक वर्णदेखि लिएर पद, पदावली हुँदै वाक्यात्मक तहसम्म पनि पुगेको हुन्छ । जस्तैः
वर्णात्मक अन्र्तगुञ्जन
तर तरल समयको सरगम सौन्दर्यमा
सङ्गीतको सम्पादित सौन्दर्य जस्तो
मर्जीको मध्यान्तर पनि त कहाँ हुन्छ र !
(मोमिला)

पदमूलक अन्तर्गुञ्जन
साँधुरो गल्लीमा मेरो चोक छ
यहाँ के छैन सब थोक छ
(भूपी शेरचन)

पदावलीमूलक अन्तर्गुञ्जन
मसान उठाएर भए पनि
पिसाच जगाएर भए पनि
बोक्सी बकाएर भए पनि
झाँक्री नचाएर भए पनि
(लक्ष्मण गाम्नागे)

वाक्यात्मक अन्तर्गुञ्जन
कवि टङ्क आचार्यको ‘तोरीका फूल’भित्रका कवितामा यसको प्रशस्त प्रयोग पाइन्छ ।
अन्त्यानुप्रासमूलक लयविधान

कवि हरिभक्त कटुवालको ‘मन त फलामकै भए असल हुन्छ’ कवितामा यसको सुन्दर प्रयोग पाइन्छ ।
अनुप्रासको निरन्तरता

कवि लक्ष्मण गाम्नागेको ‘मुला’ कवितामा यसको सुन्दर प्रयोग गरिएको छ ।
आवृत्तिमूलक पदविन्यास

कवि रमेश श्रेष्ठको ‘आमा नदीहरू’ कवितासङ्ग्रहमा यसको सशक्त प्रयोग पाइन्छ ।
अनुप्रासको क्रमिक विकास र विस्तारमूलक लयविधान
कवि भीष्म उप्रेतीको ‘खेती’ कवितामा यसको सुन्दर प्रयोग पाइन्छ ।
चित्रात्मक अन्र्तगुञ्जन
कवि निमेष निखिलको ‘उमेरको नदी’ लामो कवितामा यसको सुन्दर प्रयोग गरिएको छ ।

(ग) अभिव्यक्तिगत वक्रता
वक्रता कविताको अपरिहार्य पाटो हो । यसको प्रत्यक्ष सम्बन्ध भावसँग हुन्छ तर त्यसप्रकारको भावविधानमा भाषाको भूमिका हुन्छ । वक्रता भनेको बाङ्गो भनाइ हो । अभिव्यक्तिलाई घुमाउरो तरिकाले प्रस्तुत गर्नु नै वक्रता हो । यसैलाई आचार्य कुन्तकले वक्रोक्ति भनेका छन् । एउटा अभिव्यक्तिमा वक्रताको केन्द्र एउटा पद, पदावली वा वाक्य रहन्छ र तिनको अन्तरसम्बन्धका आधारमा सिङ्गो प्रकरणमा नै वक्रता उत्पन्न हुन्छ ।
पदवक्रताबाट लय निर्माण
आजको मान्छे ‘माशु’ भएर बाँचिरहेछ । (अर्जुन पराजुली)
यहाँ मान्छेको ‘मा’ र पशुको ‘शु’बाट ‘माशु’ वक्रोक्तिको निर्माण गरिएको छ ।

पदावली वक्रताबाट लय निर्माण
बिरुवा भएर उम्रन्छ
हुर्किन्छ
तर निगुरो बढ्छ
लत्र्याउँछ टाउको
सम्झौताको मोडमा ।
(टङ्क उप्रेती)

यहाँ ‘सम्झौताको मोडमा’ पदावलीमा वक्रता छ ।
वाक्यवक्रताबाट लय निर्माण
नवराज लम्सालको ‘आगो छोपेर कतिन्जेल’ कवितासङ्ग्रहभित्र प्रयोग भएको ‘आँगोसँग जिस्कनु हुन्न’ वाक्यमा वक्रता पाइन्छ ।

प्रकरण वक्रताबाट लय निर्माण
कवि भूपीन व्याकुलको ‘पागल कविताहरू’मा यसको सुन्दर प्रयोग गरिएको छ ।

(घ) तर्कपूर्ण नवीन दृष्टि
तार्किक प्रस्तुति कविताका लागि अर्को अपरिहार्य पक्ष हो तर तर्कले मात्र कविता कविता बन्न सक्दैन । त्यसमा सशक्त जीवनदृष्टि हुनु पनि अनिवार्य छ । फूललाई फूल मात्र देख्ने मान्छे कवि हुन सक्दैन । जसले फूलमा जीवनको सौन्दर्यमूलक सुख र काँडामा कुरूपतामूलक दुःख अन्तर्निहित भएको देख्छ अनि मात्र ऊ कवि बन्छ । विचार वा दृष्टिकोण कवितामा हुनै पर्छ जसले कविलाई विषयलाई पर्गेल्न सक्ने समालोचकीय मस्तिष्क र जीवन र जगत्लाई पगाल्न सक्ने संवेदनशील मुटु प्रदान गर्दछ । यसका साथै तर्कले अभिव्यक्तिलाई जीवन निरपेक्ष भावुकताबाट बचाएर सत्यताको नजिक पु¥याइदिन्छ । यसका साथै तर्क र नवीन जीवनदृष्टिले अभिव्यक्ति कलामा लयात्मकता सिर्जना गरिदिन्छन् ।
तर्क, अनुप्रास र जीवनदृष्टिबाट लय निर्माण

१. बा ! पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको !
(हरिभक्त कटुवाल)

२. मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुवै थरीको निवास छ ।
(भूपी शेरचन)

३. सैनिक केवल विधवा जित्छ
सैनिक केवल टुहुरो जित्छ
सैनिक केवल लङ्गडो जित्छ
र सैनिक सधैँ देशभित्र हारेको छ ।
(डा. विष्णुविभु घिमिरे)

४. आमा ! भोक लाग्यो !
धानको भात खान्छु !
किन बाबु ! दसैँ आयो र ?
(अनिल पौडेल)

५. नमस्ते गर्नकै लागि मात्र हुन् भने हातहरू
र स्वस्ती गर्नकै लागि मात्र हुन् भने लबजहरू
मलाम हिँड्नकै लागि मात्र हुन् भने खुट्टाहरू
ठुन्क्याऊ हात, थुत फटाफट जिब्रा, खुस्काऊ घुँडाका जोर्नीहरू ।
(दिनेश अधिकारी)

६. प्रिया !
तिमी होइनौ चन्द्रमा
त्यहाँ त टेलिसक्यो कुकुरले ।
(स्वागत नेपाल)

७. कुनै दिन मलाई
भगवानले खुसी पार्न सकेछन् भने
म उनलाई
मान्छे बन्ने आशीर्वाद दिने छु ।
(मोहन सङ्ग्राम)

(ङ) विम्ब, प्रतीक तथा मिथकको छनोट
कविताको निर्माणमा विम्ब, प्रतीक र अङ्कार विधानको विशिष्ट भूमिका हुने गर्दछ । साथै मिथकले कवितालाई ध्वन्यात्मक बनाउँछ । कवितामा प्रयुक्त प्राकृतिक वा भौतिक छायालाई विम्ब भनिन्छ । अर्थात् कविता पढ्दा मान्छेका मस्तिष्कमा छाया बनेर आउने दृश्यहरू नै विम्ब हुन् । सामाजिक, सांस्कृतिक वा पौराणिक जीवनसँग जोडिएका विशेष अर्थ बोकेका व्यक्ति वा घटनाहरू प्रतीक हुन् जसले युगीन व्यापकता र सीमितता दुवैको प्रतिनिधित्व गर्दछन् । लोकजीवनमा प्रचलित पुराकथा, इतिहास, पुराण आदिसँग जोडिएर आएका तर समाजमा ध्वन्यात्मक स्वरूप ग्रहण गरिसकेका घटना र पात्रहरूलाई मिथक भनिन्छ । विम्ब, प्रतीक र मिथकले कवितामा अलङ्कार विधानका लागि सहयोग पु¥याउँछन्, भावलाई व्यञ्जनात्मक कोटिमा पु¥याउँछन् र लयविधानमा पनि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछन् । जस्तैः

१. निदाएकी यशोधराजस्ती श्रीमती
र राहुलजस्ता छोराछोरीलाई त्यागेर
एउटा तनावपूर्ण सिद्धार्थजस्तै
यो अन्धकारमा कहाँ हरायो हो ऊ ?
(विप्लव ढकाल)

२. लक्ष्मणरेखा नाघेर
रावणको झोलीमा पस्दा कविता
अट्टाहास गर्छन् कुम्भकर्णहरू ।
(नेत्र एटम)

यसरी मुक्त छन्दको सङ्गीतचेतना आन्तरिक रूपमा बलियो हुन्छ । यसको निर्माणमा शब्द सौन्दर्य, अर्थ सौन्दर्य र भाव सौन्दर्य तीनओटै पक्षको बलियो भूमिका हुने गर्दछ ।

५. मुक्त छन्दमा कविता कसरी लेख्ने ?
मुक्त छन्दमा कविता लेख्न थाल्दा सबैभन्दा पहिले कुनै एउटा विषयवस्तु चयन गर्नुपर्छ । त्यसको बाह्य स्वरूपको पहिचान गरी आन्तरिक अर्थ पनि पहिल्याउनुपर्छ अनि क्रमशः लेख्न थाल्नुपर्छ । जस्तैः

पहिलो चरण: विषयवस्तुको छनोट— यस चरणमा के विषयमा कविता लेख्ने हो ? त्यस विषयको छनोट गर्नुपर्छ र सामान्य वर्णन गर्न थाल्नुपर्छ । जस्तैः
विषयवस्तु: गरिबी
चित्रण:
बुढा हजुरबा छन् ।
साना नातिनातिनाहरू भोकै छन् ।
आमाबाबु पैसा कमाउन विदेश गएका छन् ।
बुढी हजुरआमा भोका नातिनातिना देखेर आँसु खसाल्छिन् ।
यहाँ विषयवस्तु र चित्रण दुवै छ तर यो कविता होइन । यसलाई कवितात्मक बनाउन भाषिक विचलय ल्याउनुपर्छ । यसका लागि दोस्रो चरणमा जानुपर्छ ।

दोस्रो चरण: कवितात्मक संरचना— यस चरणमा व्याकरणिक पदक्रमलाई आलङ्कारिक पदक्रममा ल्याउनुपर्छ । जस्तैः
छन् बुढा हजुरबा
भोकै छन् नातिनातिनाहरू
विदेश गएका छन् आमाबाबु पैसा कमाउन
आँसु खसाल्छिन् बुढी हजुरआमा भोका नातिनातिना देखेर ।

यत्तिको रचनालाई हामीले गद्यकविता नै मान्ने गरेका छौँ तर यो अझै पनि कविता बनेको छैन । यहाँ पदक्रम मात्र फरक भएको छ तर वर्णन सरासर छ । यसमा गद्यकविताको संरचना छ तर प्रभावकारी भावविधान पाइँदैन । अब यसलाई तेस्रो चरणमा गएर प्रभावकारी भाव निर्माण गर्नुपर्छ ।

तेस्रो चरण: प्रभावकारी भाव निर्माण— यस चरणमा विम्ब, प्रतीक र अलङ्कारका माध्यमबाट शक्तिशाली भाव निर्माण गर्नुपर्छ । जस्तैः
डुब्न लागेको घाम
चिच्याउँदै छन् खोक्रा सारङ्गीहरू
थप्प चुहिँदै छ जूनबाट एक थोपा शीत
कहिले आउला खुसी लिएर अज्ञात रेमिट्यान्स ?

प्रस्तुत हरफहरूमा आएका विम्ब, प्रतीक र अलङ्कारहरूले सशक्त भाव निर्माणमा सहयोग पु¥याएका छन् । डुब्न लागेको घाम = हजुरबा, खोक्रा सारङ्गीहरू = नातिनातिना, जूनबाट चुहिएको शीत = हजुरआमाको रुवाइ र अज्ञात रेमिट्यान्स = विदेश गएका बाआमा यस्तो ध्वन्यात्मक संयोजनले गरिबीको सशक्त चित्रण गरी प्रभावकारी भावसमेत निर्माण गरेको छ । त्यसैले कविका आँखाले जे देख्यो त्यही कुरालाई सरासर वर्णन गर्दा गद्यकविता हुँदैन । त्यसलाई कविको हृदयको आँखाले हेरेर मनको भाषाले अभिव्यक्ति दिन सक्नुपर्छ । यसरी निरन्तर अभ्यास गर्दै जाने हो भने मुक्त छन्दमा पनि सुन्दर सूक्तिहरू निर्माण गर्न सकिन्छ ।

७. निष्कर्ष
उल्लिखित साक्ष्यहरूका आधारमा हेर्दा मुक्त छन्दमा लेख्न सजिलो छ तर कविता नै बनाउनचाहिँ गाह्रो छ भन्ने थाहा पाइन्छ । विषयवस्तुको सोझो वर्णन, अनुच्छेद भाँचेर गरिने भाषिक विस्तार र आँखाले देखेको दृश्य र शब्दमा उतारिने सपाट चित्र आदि कुराले मुक्त छन्दका कवितामा दोष लिएर आउँछन् । जबसम्म कलाले विषयवस्तुलाई सिँगार्न सक्दैन, विम्बले सूचनाको प्रतिनिधित्व गर्न सक्दैन र ध्वनि वा व्यञ्जनाले अभीष्टको सङ्केत गर्न सक्दैन तबसम्म कविता सशक्त हुँदैन । यसका लागि प्रशस्त साधना, समर्पण र अभ्यासचाहिँ आवश्यक हुन्छ । सुरु सुरुमा अभिव्यक्ति तरल बन्ने गर्दछ तर अभ्यास गर्दै गएपछि अभिव्यक्ति खँदिलो र कलात्मक बन्न थाल्छ । मुक्त छन्दभित्रको आन्तरिक सङ्गीत चेतना र कवित्वमा रहेको अन्तरसम्बन्धलाई बुझ्न नसक्ने र सपाट वर्णनमा केन्द्रित रहने हो भने कविता कविता नभएर कथन वा गन्थन बन्न थाल्ने कुरा निश्चित छ ।

क्रमशः अर्को हप्ता…