नेपाली साहित्यको सम्भवतः सबैभन्दा कम चर्चा र समीक्षा गरिएको विधा हो नाटक । नेपाली नाटकको बृहत् इतिहास लेख्नै बाँकी छ । लेखिएका इतिहास पनि पूर्ण छैन भन्दा अत्युक्ति नहोला । त्यसमाथि यस अवधिमा यस्ता केही सशक्त नाटक लेखिए, प्रकाशित पनि भए तर तिनका न कुनै चर्चा भयो न मञ्चन । जति भए अत्यन्त सीमित । यस्ता केही नाटककार छन् जसका नाम नेपाली साहित्यको इतिहासका पानाहरूमा खासै उल्लेख भएनन् । आजका पुस्ताले बिर्सन थालेका त्यस्ता केही सशक्त नाटककारमध्ये एक हुन् वासु शशी । वासु शशी एक आफ्नो समयका अत्यन्त चर्तित र सशक्त कवि हुन् ।
कथा, उपन्यास, खण्डकाव्य, गीत, मुक्तक आदि अनेकौँ विधामा उनका दर्जनौँ पुस्तक प्रकाशित छन् । उनका दर्जनौँ टेलिचलचित्र र चलचित्रहरू प्रदर्शन भएका छन् । जीवनको उत्तराद्र्धमा नाट्य विधातिर उनको विशेष रुचि थियो । सिनेमाका पटकथालाई नयाँ आयाम दिने उनको सोच, शैली र प्रस्तुति बेजोड थियो । पूर्वीय र पश्चिमी दर्शनको गहिरो अध्ययनको प्रत्यक्ष परिणाम उनका नाटकमा देख्न सकिन्छ ।
मञ्चीय दृष्टिले पनि उनका हरेक नाटक सफल छन् । नाटक लेख्नु र मञ्चन हुनु दुई अलग कुरा हुन् तथापि नाटक त्यतिबेला नै पूर्ण हुन्छ जब नाटक मञ्चमा पुग्छ । तुलनात्मक दृष्टिले साहित्यका अन्य विधाभन्दा कम लेखिने विधा नै नाटक हो । कम लेखिनुको मूल कारण नै यसको मञ्चीय पक्षका कारणले हो । मञ्चीय ज्ञानबिना नाटक लेखिँदा नाटक अपूर्ण हुन सक्छ । नाटकको अभिनेय तत्त्वले गर्दा नै यो अरूभन्दा फरक हुन्छ । नेपाली नाटक कम लेखिनुको कारण पनि यही हो । यस सन्दर्भमा हेर्दा वासु शशीका नाटकहरूमा मञ्चीय पक्षको बलियो उपस्थिति देखिन्छ । उनले लेखेका थोरै नाटक मात्र मञ्चन भएका छन् ।
उनको सफल मञ्चित नाटक बाँसुरीमा नअटाएका धुनहरू तीसको दशकमा निकै चर्चा कमाएको नाटक हो । हुन त उनले केही नेवारी नाटक पनि लेखेका छन् । तिनमा ताचा प्वायँ पनि मञ्चित नाटक हो । अन्य नाटकहरूमा वासु शशीका तीन नाटक, उपहार, बुद्ध आदि हुन् । बुद्ध उनको अन्तिम नाटक हो । यो नाटक उनको जीवनको सायद सबभन्दा उत्कृष्ट कृतिमध्ये एक हुनुपर्छ । अन्य तमाम कृतिभन्दा नितान्त भिन्न विषय, भिन्न प्रस्तुतिले यस नाटकलाई नेपाली साहित्यकै उपलब्धिका रूपमा लिनुपर्छ । विडम्बना, न कतै यसको चर्चा भयो, न कुनै इतिहासमा विशेष चर्चाको विषय बन्यो । यहाँ यही नाटकको केही चर्चा गर्ने जमर्को गरेको छु ।
वासु शशीका प्रायः कवितामा पाइने एउटा मूल विशेषता दार्शनिक चिन्तन हो । विचार पक्ष प्रायः हरेक कवितामा प्रबल रहेको देखिन्छ । यही विशेषता बुद्ध नाटकमा देखिन्छ । बुद्धका बारेमा हजारौँ पुस्तकहरू लेखिएका छन् । बुद्धको दर्शन आज विश्वभरि फैलिएको छ । उपन्यास, सिनेमा, नाटक, गीतिनाटक हरेक विधामा बुद्धका प्रायः सबै पक्ष लेखिएका छन् । शशीले ती सबैभन्दा पृथक् र रोचक पक्ष यस नाटकमा अत्यन्तै सशक्त ढङ्गले लेखेका छन् । यो नाटकभन्दा सिनेमासँग नजिक छ । उनको इच्छा पनि यो सिनेमा बनिदिए हुन्थ्यो भन्ने थियो ।
यसो भनिरहँदा नाट्य सम्राट बालकृष्ण समको प्रेमपिण्ड नाटकको प्रसङ्ग जोड्न मन लाग्यो । प्रेमपिण्ड नेपाली नाटकको इतिहासमा सबैभन्दा बृहत् नाटक हो । राणा कालमै लेखिएको यस नाटकको प्रस्तुति आजको सिने पटकथा लेखनभन्दा कम छैन । जतिबेला नेपाली सिनेमा बन्न सुरु भएकै थिएन । समको इच्छा थियो यो नाटकको सिनेमा बनोस् । त्यसैले त्यो समय मञ्चमा प्रयोग गर्न गाह्रो हुने कतिपय दृश्यको परिकल्पनासमेत गरिएको छ । आजको जस्तो विद्युतीय उपकरणको अभावमा पनि त्यस्ता दृश्यहरूको कल्पना गर्नुले समको सिर्जनशीलता अद्भुत थियो भन्न सकिन्छ । ठीक त्यसरी नै यस नाटकको प्रस्तुति र शैली नाट्य मञ्चनमा मात्र सीमित नरहेर सिने पर्दा लागि समेत प्रयोग होस् भन्ने ध्येय देखिन्छ ।
नाट्य प्रस्तुति र सिने प्रस्तुतिका आधारभूत भिन्नता छन् । सिनेमा शतप्रतिशत प्राविधिक विधा हो । नाट्य विधामा प्रविधि पक्षको मात्र प्रधानता रहँदैन । मञ्चमा हिमालको दृश्य चाहिए कृत्रिम हिमालको सेटिङ वा अन्य कुनै साङ्केतिक वस्तु प्रयोग गरिन्छ भने सिनेमाका लागि क्यामेराको माध्यमले हिमालकै दृश्य खिच्न सकिन्छ ।
सिनेमामा प्रविधिको जुन सहयोग सहज उपलब्ध हुन्छ त्यो नाटकमा हुँदैन । नाटकमा बढीभन्दा बढी निर्देशकको कल्पनाशीलताले दृश्य निर्माण गर्नुपर्ने हुन्छ । तथापि दुवै विधाको आधारभूत कुरा भनेको आलेख, पटकथा वा लेखन पक्ष नै हो । आलेख बलियो भएन भने प्रस्तुतिमा अनेक समस्या आइलाग्न सक्छ । यस तथ्यलाई बुद्ध नाटकको सन्दर्भले हेर्दा शशी एकदमै सचेत देखिन्छन् । हरेक दृश्यलाई उनले सूक्ष्म रूपमा विवरणसहित प्रस्तुत गरेका छन् । निर्देशकीय परिकल्पनालाई समेत ध्यान दिएर दृश्य विधान तयार गरिएको छ । यहाँ भन्न सकिन्छ शशीभित्र नाटककारका मात्र नभएर निर्देशकीय व्यक्तित्वको प्रतिभा पनि देखिन्छ ।
प्रस्तुतिको त्यो गहिराइ बुझ्न नसक्ने सर्जक पटकथा लेखक वा नाटककार हुनै सक्दैन । शशीको लेखकीय प्रतिभाको सबैभन्दा ठूलो विशेषता नै यही हो । यसैले उनी यस धर्तीमा नभए पनि उनको यो कृति कुनै पनि निर्देशकले सहजै पर्दाका लागि छायाङ्कन गर्न सक्छन् । वा रङ्गमञ्चमा नाट्य प्रस्तुति गर्न सक्छन् । दृश्य विधानको आधारभूत पक्ष अत्यन्तै बलियो रहेका कारणले प्रस्तुतिका दृष्टिले सफल नाट्य कृति मान्न सकिन्छ । नाटक त्रिआयामिक विधा हो । लेखन, प्रस्तुति र दर्शक यी तीन आयाम पूरा भएपछि मात्र नाटक पूर्ण हुन्छ ।
लेखकले लेखिदिएर मात्र हुँदैन प्रस्तुतिको आयाम पार नगरेसम्म दर्शकसम्म पुग्न सक्दैन । प्रस्तुतिको चरणमा पुग्दा निर्देशक, कलाकार र प्राविधिक विविध पक्ष अर्थात् ध्वनि, सङ्गीत, प्रकाश विधान आदि धेरैको सहभागिता आवश्यक पर्छ । यसरी तयार भएको प्रस्तुति दर्शकले हेरेनन् भने त्यसको केही अर्थ हुँदैन । यसरी नाटक एक व्यक्तिको प्रयासले सम्भव छैन । दर्शकसम्म पुग्दा दर्शकले सहजै ग्रहण गर्न सकेन भने सम्पूर्ण प्रयास असफल हुनसक्छ । दर्शकको ग्रहण पक्षले नै निर्धारण गर्छ, नाटकको सफलता र असफलता । यसैले नाटक लेखन क्रममा नै यस तथ्यलाई लेखकले मनन गर्नुपर्ने हुन्छ । साहित्यका अन्य विधा पाठकका लागि हुन्छ भने नाटक दर्शकका लागि । यसरी नाटकका प्रविधिदेखि दर्शकका मनोविज्ञानसमेत लेखकले बुझ्न आवश्यक हुन्छ । बुद्ध नाटकलाई विश्लेषण गर्दा हरेक दृश्य, विवरण र कथ्यको विकास प्रक्रियामाथि उल्लेख गरिएका सबै पक्षमा ध्यान दिइएको देखिन्छ ।
नाट्य लेखनका तीन चरण हुन्छन्, ती हुन् प्रारम्भ, विकास र समापन । विकासको चरणमा सबैभन्दा महत्त्वपूर्ण तत्त्व भनेको कथानक प्रक्रियामा आउने द्वन्द्व हो । द्वन्द्वले नै कथ्य अघि बढ्छ । दर्शकको ध्यान तानिरहने शक्ति नै नाटकीय द्वन्द्व हो । बुद्ध कृतिको कथानक विकासमा यो पक्ष अत्यन्त सशक्त छ । प्रस्तुतिका क्रममा दर्शकमा कौतुहल सिर्जना गर्ने आधार भनेकै द्वन्द्व हो । वासु शशीका नाट्य लेखनमा द्वन्द्व विधान निकै सशक्त हुने गर्छ । बाँसुरीमा नअटाएका धुनहरू होस् वा नेवारी नाटक ताचा ब्वायँ दुवै नाटक सफल हुनुको मूल कारणमध्ये यो पनि एक हो । बुद्धको लेखनमा यो पक्ष अत्यन्त प्रबल छ ।
प्रस्तुत कृतिको विकास क्रममा कथ्यलाई अघि बढाउने क्रममा यसका प्रमुख पात्रमध्ये एक मरिना सुजाताको वेशमा हुन्छिन् । आफ्ना सहयोगीहरूबाट बुद्धको मूर्ति चोरी गराइन्छ । चोरीको दृश्यपछि गुम्बामा स्तब्धता देखाइएको छ । यहाँ कथ्य, दृश्य र त्यसबाट उत्पन्न घटना क्रममा प्रस्तुत भएका द्वन्द्वले गर्दा नै नाटकीय कथानकको विकासलाई गति प्रदान गरेको छ । यसरी दृश्य विधानमा निर्देशकीय कल्पनाशीलताको चरम उपयोग हुनु यसको सकारात्मक पक्ष हो ।
प्रस्तुत नाट्य कृतिको मूल कथावस्तु गौतम बुद्धका प्रसङ्गलाई लिइएको छ । मरिना नामकी पात्र विदेशबाट आएकी छन् । उनी र सहयोगीहरू गुम्बामा रहेको बुद्धको मूर्ति चोर्ने काममा छन् । मूर्ति चोरेर अनेक स्थानमा लुक्छन् । यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रसङ्ग के छ भने लेखक शशीले केवल मूर्ति चोर्नु वा यसप्रतिको नकारात्मक विषयलाई उठाउनुभन्दा गलत प्रवृत्तिका पात्रलाई सही मार्गमा लान सकिन्छ भन्ने दृष्टान्त दिएका छन् । मूर्ति चोरिसकेपछि मूर्ति लुकाउने र आफू पनि लुक्ने सन्दर्भमा मरिनामा आएको परिवर्तन नै नाटकको सबैभन्दा महत्त्वपूर्ण विशेषता हो ।
शशीको लेखनमा जुन दार्शनिक र वैचारिकता छ त्यो माथिल्लो तहको छ । अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कृतिको पङ्क्तिमा राख्न सकिने आधार पनि यसको दर्शन र वैचारिक पक्ष र तिनको प्रस्तुति शिल्प हो । त्यो दार्शनिक पक्षलाई कथानक प्रस्तुतिको रोचक शिल्पको लेपमा यसरी अभिव्यक्त गरिएको छ जहाँ दर्शन र विचारको एकोहोरो गन्थनको आभास नै हुँदैन । गौतम बुद्धको चिनारी र बुद्धले प्रतिपादन गरेका विचार, भाव र दर्शनको रोचकताका साथ कथानक घटनाक्रमसँग प्रस्तुत गरिएको छ ।
पढ्दै जाँदा ओस्कार पुरस्कार प्राप्त कुनै हलिउडको चर्चित सिनेमा हेरिरहेको महसु्स हुन्छ । यसको मूल कारण नै विषयवस्तुको प्रस्तुतिका कथ्य र प्रविधिको सन्तुलित अभिव्यक्ति हो । विश्वका सफल चलचित्र वा नाट्य प्रस्तुतिमा लेखकले आफ्नो लेखनको प्रारम्भदेखि कथ्यको विकासक्रमका सन्दर्भमा सुरुका केही समयभित्रै आफ्ना पात्रहरू र दर्शकबीच गहिरो सम्बन्ध स्थापित हुनुपर्छ भन्ने मान्यता राख्छन् । प्रस्तुति क्रममा निर्देशकले पनि यही मान्यतालाई स्थापित गर्ने प्रयत्न गर्छन् । यही मान्यतालाई वासु शशीले यस कृतिमा प्रयोग गरेका छन् ।
जस्तो कि कथानकको सुरु भगवान् बुद्धको भव्य मन्दिरबाट गरिएको छ । भजन गाइरहेको दृश्य छ । एक पात्र सत्यवती बगैँचामा फूल टिप्दैछिन् । फूल टिप्दा काँडाले घोच्छ । यहाँ काँडाले घोचेको प्रसङ्गलाई हिंसासँग जोडिएको छ । अर्थात् फूल टिप्नु पनि एक प्रकारको हिंसा नै हो । सत्यवती भन्छिन्, यसैले सारा बगैँचा नै भगवान्मा अर्पण गर्छु । कथानक विकास हुनुअघि नै पात्रप्रति दर्शकको सहानुभूति उत्पन्न हुने वातावरण स्थापित गराउन खोजिएको यो एउटा दृष्टान्त हो । कथानक अघि बढ्दै जाँदा बुद्धकालीन मिथलाई रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । सुजाता मृत बच्चा महानाम भन्तेको अघिल्तिर राख्दै विलाप गर्छिन् । वास्तवमा सुजाता पात्र सुजाता नभएर मरिना सुजाताको वेशमा देखिएकी हुन् ।
कौतुहलको प्रारम्भ नै यही दृश्यबाट भएको छ । मरिना मूर्ति चोर्ने गिरोहकी सक्रिय सदस्य हुन् । केही वर्ष पहिले नेपालबाट धेरै मूर्ति चोरिएका घटना हरेक दिनजसो सुनिन्थ्यो । तिनै प्रसङ्गको झल्को दिने घटनाक्रम भए पनि यहाँ त्यसै कथ्यका माध्यमले बुद्ध दर्शनदेखि मानवीय सकरात्मक सोचलाई कलात्मक पुट दिइएको छ । मूर्ति चोरिसकेपछि गौतम बुद्धका दर्शन र जीवनी पढ्न थालेकी मरिनाको सोचमै परिवर्तन आउँछ । चोरीप्रति पश्चाताप भाव सिर्जना हुनु र बुद्ध मार्गप्रति समर्पित हुनुको परिणाम नै यसको निष्कर्ष हो ।
शशीको लेखनको सौन्दर्य अद्भुत छ । मिथकको प्रयोगसँगै दृश्य विधानले त्यही युगमा त पुर्याएकै छ, साथै उनको चित्रात्मक अभिव्यक्ति पद्धतिले सहज रूपमा सम्प्रेषण गरिदिएको छ । अहिलेको अत्याधुनिक प्रविधियुक्त वर्तमान र प्राचीनताबीचको सेतुलाई रोचक शैलीमा प्रस्तुत गरिएको छ । प्रमुख पात्रमा देखिएको परिवर्तनले बौद्ध दर्शनको व्याख्या गर्नु यसको निष्कर्ष मान्न सकिन्छ ।
यसले दिन खोजेको सन्देश नै सशक्त वैचारिक दर्शन हो । कथ्य, विचार र दर्शनलाई नाटकीय रूप दिँदै नाट्य प्रविधिका आवश्यक तìव निर्वाह गर्न सक्नु यसको अर्को सशक्त पक्ष हो । वासु शशीका अन्य सबै रचना वा कृतिहरू आआफ्ना ठाउँमा उच्च मूल्यका छन् । विशेषगरी कविताको क्षेत्रमा उनको योगदान विशिष्ट छ । तिनको यथोचित मूल्याङ्कन हुनै बाँकी छ । तर नेपाली नाट्य परम्परामा उनको योगदानलाई इतिहासले बिर्सेको कुरालाई अबको पुस्ताले मनन गर्नु आवश्यक छ ।
आजका कतिपय रङ्गकर्मी राम्रा नेपाली नाटक नलेखिएको टिप्पणी गर्छन् । शशीले थोरै नाटक लेखे, जति लेखे ती विषय र प्रस्तुतिका दृष्टिले उच्च रहेको कुरा नकार्न सकिँदैन तर न तिनको मूल्याङ्कन भयो, न चर्चा । हाम्रो साहित्यको विडम्बना नै यही हो । सेक्सपियरलाई यूके सरकारले राष्ट्रकै सम्पत्ति मान्छ । हामीले बालकृष्ण समलगायत अनेक प्रतिभालाई बिर्सिसक्यौँ । आजको युवा पुस्ताले यस्ता थुप्रै प्रतिभालाई पुनः एक पटक सम्झनुपर्छ । वासु शशी सम्झनैपर्ने व्यक्तिìव पङ्क्तिकै एउटा सशक्त नाम हो ।
साभारः मधुपर्क
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।