वासु शशी आधुनिक नेपाली कविताको दोस्रो चरणका महत्त्वपूर्ण कवि हुन् । वि.सं. १९९१ देखि आधुनिक नेपाली कविताको पहिलो चरण आरम्भ भएको थियो । यसको विस्तार २०१६ सम्म भएको छ । २०१७ देखि २०३५ सम्मको अवधिलाई दोस्रो र त्यसपछिको अवधिलाई आधुनिक नेपाली कविताको तेस्रो चरणका रूपमा लिइन्छ । पछिल्लो समयलाई कविताको समसामयिक कालखण्डका रूपमा बढी उल्लेख गरिएको पाइन्छ । कविताका प्रवृत्तिमा आएका भिन्नताका आधारमा चरणहरूको विभाजन गरिएको छ । कैयौँ प्रवृत्तिहरूमा समानता रहे पनि कैयौँ महत्त्वपूर्ण प्रवृत्तिगत भिन्नता प्रत्येक चरणका बीचमा रहेका छन् । पहिलो चरणमा स्वच्छन्दतावादी, आलोचनात्मक यथार्थवादी र प्रगतिवादी कविताहरू बढी लेखिएका छन् भने शिल्पका दृष्टिले रचनाहरू सरल र सम्प्रेष्य पाइन्छन् ।

वासु शशी

गोपालप्रसाद रिमालबाट आरम्भ भएको गद्य कविता यसै अवधिमा फस्टाउन सुरु ग¥यो । दोस्रो चरणका कवितामा आधुनिकतावादी साहित्य चिन्तनमा आधारित विभिन्न प्रवृत्तिहरू देखिए । प्रयोगवाद महŒवपूर्ण प्रवृत्तिका रूपमा अगाडि आयो । एकथरी कविहरू क्लिष्ट, जटिल र अमूर्त कविता लेखनतर्फ लागे । शिल्पका दृष्टिले कविता निरस, असम्प्रेषणीय बन्यो । यस अवधिमा आलोचनात्मक यथार्थवादी र प्रगतिवादी कविता पनि प्रशस्त लेखिए । रिमालले आरम्भ गरेको काव्य–पथ यस अवधिमा अझ फराकिलो भयो । यस अवधिमा पाइने मानवतावादी, जीवनमुखी धाराका महत्त्वपूर्ण कविका रूपमा वासु शशीलाई लिइन्छ ।

बहुविधामा पोख्त कलम

 

अमर गिरी

शशी बहुमुखी प्रतिभाका धनी स्रष्टा थिए । कविताका अतिरिक्त उनले नाटक, उपन्यास, गीत आदि पनि लेखेका छन् । उनलाई सफल नाटककारका रूपमा पनि लिइन्छ । उनले नेपाली र नेपाल भाषा दुवैमा नाटकको रचना गरेका छन् । उनी कुशल अनुवादक र सम्पादक पनि थिए । नेपाली चलचित्रका क्षेत्रमा पनि उनको योगदान छ । साहित्यको संस्थागत उन्नयनमा पनि उनी सक्रिय रहेका थिए । उदारवादी चिन्तनलाई अँगालेका शशी नेपालमा लोकतन्त्र स्थापनाका निम्ति पनि क्रियाशील थिए । अध्यात्ममा गहिरो आस्था भएका उनी व्यवहारमा सरल, सहज र आत्मीय थिए । मानवता उनको चिन्तनको मूल केन्द्र थियो । बहुमुखी प्रतिभाका धनी भए पनि उनी मूलतः कवि हुन् । त्यसपछि मात्र नाटककार, आख्यानकार, अनुवादक, सम्पादक र अन्य । उनको सबैभन्दा विशिष्ट योगदान नै कविताका क्षेत्रमा छ ।
गद्य कवितालाई अझ लोकप्रिय गराउने कविमा शशी पनि पर्छन् । रिमालले कवितालाई गद्य शैली मात्र दिएका थिएनन्, समाजसँग गहिरो गरी जोड्ने काम पनि गरेका थिए । उनका कवितामा शिल्पगत नवीनता मात्र पाइन्न, अन्तर्वस्तुमा नवीनता पनि पाइन्छ । विद्रोह, परिवर्तन र नवीनताको आग्रहलाई रिमालले आफ्ना कवितामा जीवन्त अभिव्यक्ति दिएका छन् । उनका कवितामा विभेद, उत्पीडन र निरङ्कुशताको प्रतिवाद एवं स्वतन्त्रता, समानता तथा मानव गरिमाको प्राप्तिको आकाङ्क्षा पाइन्छ । यसका निम्ति सङ्घर्षको आह्वान उनको कविताको एक महत्त्वपूर्ण विशेषता हो । आधुनिक नेपाली कविताको दोस्रो चरणमा एकातिर अमूर्त एवं दुर्बोध्य कविता सिर्जनामा सक्रिय स्रष्टाहरू थिए भने अर्कातिर रिमालको परम्परालाई अघि बढाउन सक्रिय स्रष्टाहरू पनि थिए । यस परम्परामा एकातिर प्रगतिवादी दृष्टिकोणसहित कविता सिर्जनामा सक्रिय स्रष्टाहरू पाइन्छन् भने अर्कातिर उदारवादी मानवतावादी दृष्टिकोणसहित समानता, स्वतन्त्रता र मानवताका पक्षमा उभिएका स्रष्टाहरू देखिन्छन् । मानवता एवं आफ्नो समयलाई केन्द्रमा राखेर बोधगम्य, मर्मस्पर्शी गद्य कविता लेख्नु यस्ता कविहरूको विशेषता थियो । शशी यही प्रवृत्तिका विशिष्ट कवि थिए । उनी जीवनलाई अलग राखेर साहित्य लेख्न सकिन्न मात्र भन्दैनथे, लेखक झुट लेख्न र बोल्न सक्तैन पनि भन्थे । रिमालको गद्य कविता लेखनलाई अझ विस्तारित गर्न शशीको महत्त्वपूर्ण योगदान छ ।
कविको संवेदना, भावना एवं विचारको निर्माण आफू बाँचेको समयका बीचबाट हुन्छ । शशीले कविता सिर्जनाको आरम्भ खुला लोकतान्त्रिक वातावरणका बीचबाट गरेका थिए । तर यो स्थिति धेरै दिनसम्म रहेन् । २०१७ सालमा लोकतन्त्रलाई समाप्त गरियो । पञ्चायती व्यवस्था लागू भयो । यो एक दलीय निरङ्कुश शासन व्यवस्था थियो । यसले अभिव्यक्ति स्वतन्त्रतालाई मात्र कुण्ठित गरेन, व्यक्तिका सम्पूर्ण मौलिक हकहरूलाई नै समाप्त ग¥यो । स्वतन्त्रता एवं मानव गरिमा र सौन्दर्यमाथि गम्भीर प्रहार भयो । मुलुक अझ पछाडि धकेलियो । यसको प्रभाव स्रष्टा र साहित्यमा पर्नु स्वाभाविक थियो । शशीमा पनि यसको प्रभाव पर्यो । उनको काव्य व्यक्तित्वको निर्माण यही अँध्यारो समयमा उज्यालोको आग्रहसहित भएको पाइन्छ । उनका महत्त्वपूर्ण कविता यही अँध्यारो समयमा लेखिएका छन् ।
उनका कविता त्यसबेलाको अन्तर्राष्ट्रिय परिवेशप्रति पनि गम्भीर सरोकार राख्छन् । उनको समय आणविक हातहतियारको होडबाजीको समय थियो । शीतयुद्धको पीडा खप्न दुनियाँ बाध्य थियो । साम्राज्यवादी सैन्य हस्तक्षेप खप्न कैयौँ साना मुलुक अभिशप्त थिए । एकातिर विश्वयुद्धका निको भई नसकेका घाउहरू थिए भने अर्कातिर मानव जातिमा सम्भावित विश्वयुद्धको त्रास थियो । सैन्य हस्तक्षेपले मानव अस्तित्व र गरिमालाई निरर्थक जस्तो बनाएको थियो । मानिस युद्धको विभीषिका खप्न अभिशप्त जस्तै थियो । यी सबैको विरोध र मानवताको आग्रह पनि सँगसँगै चलेको थियो । यसले पनि शशीको काव्य व्यक्तित्वलाई गम्भीर रूपमा प्रभावित गरेको पाइन्छ । समग्रमा भन्दा उनको काव्य व्यक्तित्वको निर्माण राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशका बीचबाट भयो र झाङ्गियो ।
उनले फुटकर कवितादेखि काव्यसम्म लेखेका छन् । ‘मेरी उषा’ (२०१६), ‘केही कविता’ (२०१७), ‘पानी गल्दैन’ (२०१७), ‘एउटा यस्तो फूल चाहिन्छ’ (२०२३), ‘वासु शशीका कविता’ (२०३५), ‘एउटा नदी छ म आफैभित्र’ (२०५०) उनका कविता कृतिहरू हुन् । उनका कविताका प्रवृत्तिहरूलाई उनका यिनै रचनाहरूमा नियाल्नुपर्छ । उनको काव्यदृष्टि मूलतः उदारवादी मानवतावादबाट प्रभावित र प्रेरित थियो । उनको संवेदनाजगत् यही मानवतावादबाट निर्मित थियो । एक मानवतावादी कविका रूपमा उनी मनुष्यलाई असीम प्रेम गर्थे ।
मनुष्य उनको चिन्तनको सबैभन्दा महत्त्वपूर्ण पक्ष थियो । मनुष्य उनका निम्ति साधन होइन साध्य थियो । उनी मान्छेभन्दा ठूलो संसारमा अरू कोही छैन भन्थे र स्रष्टाले उसप्रति गहिरो सरोकार राख्नुपर्ने उनको धारण थियो । मान्छे साध्य भएकाले उनको कविताको केन्द्रमा मनुष्य, उसका सुख–दुःख, आँसु–हाँसो, उज्यालो–अँध्यारो, घात–प्रतिघात, आशा–निराशा एवं उज्यालोका निम्ति सङ्घर्ष गर्ने प्रवृत्ति रहेका छन् ।
एक मानवतावादी कविका रूपमा उनी मानिस–मानिसबीचका विभेदका सम्पूर्ण पर्खालहरू भत्किनुपर्छ भन्थे । यसै आधारमा उनले आफूलाई विभेद र उत्पीडनको विपक्षमा उभ्याएको पाइन्छ । उनले प्रकृति र प्रणयका विषयमा पनि कविता लेखेका छन् । उनका कवितामा प्रेम र यौनको गम्भीर काव्यात्मक अभिव्यक्ति पाइन्छ । प्रकृतिको मानवीकरण उनका कतिपय रचनाहरूको महत्त्वपूर्ण विशेषता हो । प्रकृति र प्रणयका कविता लेखे पनि उनको कविताको केन्द्र मनुष्य र मनुष्य समाज नै हो ।
उनका कविताको सरोकारको फलक व्यापक छ । आणविक युद्धको भयानक पीडा खप्नुपरेको मनुष्य समाजले पुनः त्यस्तै वा त्यसभन्दा पनि डरलाग्दो पीडा खप्नुपर्ने हो कि भन्ने चिन्ता मात्र कविमा छैन, संसारमा हुँदै गरेका युद्ध, तीबाट मनुष्यले उठाउनुपरेको क्षति र खप्नुपरेको पीडाप्रति पनि उनमा गहिरो चिन्ता पाइन्छ । उनी संसारमा मनुष्य शान्तिपूर्वक बाँचेको र अघि बढेको हेर्न चाहन्छन् । ‘बीसौँ शताब्दीको गीत’ उनको यस भावनालाई अभिव्यक्ति दिने उत्कृष्ट कविता हो । ‘जहाँ जहाँ मानिस पुगेको छैन’, ‘शान्तिका लागि परिपत्र’, ‘साना नानी र उसको खुसी’ ‘मानिसले मानिसलाई नबिगारे हुन्थ्यो’ आदि जस्ता कवितामा उनको मानवतावादी चिन्तनले प्रखर अभिव्यक्ति पाएको छ । उनले आफ्ना कवितामा मानव गरिमा र सौन्दर्यलाई सर्वोपरि महत्त्व दिएका छन् ।
शशीका कवितामा आफ्नो समयका विसङ्गति र विकृतिमाथि तीखो प्रहार र परिवर्तनको स्वप्न पनि पाइन्छ । उनी निरङ्कुशताका विरोधी थिए । स्वतन्त्रता, समानता र सामाजिक न्याय चाहन्थे । उनका कवितामा यसको प्राञ्जल अभिव्यक्ति पाइन्छ । उनले तत्कालीन समाजमा विद्यमान विभेदलाई कवितामा सजीव अभिव्यक्ति दिएका छन् । यथार्थलाई कवितामा प्रभावकारी प्रतिविम्बन गर्ने शशीका कवितामा कतै प्राण धान्न पनि गाह्रो पर्ने नेपालीहरूको दयनीय अवस्थाको अभिव्यक्ति छ भने कतै कवि ‘यो देश अहिले गौरवगाथा गाउने मुडमा छैन’ भन्दै मानवीय दुःख दरिद्रताको हिमालयप्रति आँखा चिम्लने शासकहरूप्रति गहिरो व्यङ्ग्य गर्छन् ।
विभेदको पर्खालप्रति उनको गम्भीर सरोकार भएकै कारण उनी पर्खालका विरुद्ध उभिएका छन् । उनले कवितामा मजदुर किसानको श्रमको महत्त्वलाई मात्र अभिव्यक्ति दिएका छैनन्, उनीहरूको श्रमको सौन्दर्यलाई पनि उच्च महत्त्व दिएका छन् । उनी मजदुर किसानलाई यस धर्तीका मधुर गीत र सुन्दर नृत्यका रूपमा लिन्छन् र अन्नदाताहरूमाथि, सभ्यता र संस्कृतिका स्रष्टाहरूमाथि बम नखसाल्न आग्रह गर्छन् । उनी ‘जीवन बुझ्न कविता बुझ्नुपर्छ, कविता नै जीवन बुझ्ने सुन्दर साधन हो’ भन्थे । उनका कवितामा जीवनको चित्र त पाइन्छ नै कुरूप चित्रलाई बदल्ने आग्रह पनि पाइन्छ । उनी कवि, लेखकहरूलाई दियोसँग तुलना गर्थे । उनी ती कहिल्यै मर्दैनन् भन्ने ठान्थे । उनका कविता स्वयं यसका साक्ष हुन् । उनका कविता दुःसाध्य समयमा लेखिएका तर दियोको भूमिका सम्पादन गर्ने कविता हुन् । जीवनलाई, समाजलाई बुझ्ने क्रममै उनले कलम समाए । जीवनलाई बुझ्ने प्रयास गर्दाकै काव्यात्मक अभिलेख हुन् उनका कविता ।

उदारवादी चिन्तनका मानवतावादी कवि
शशीका कविता शिल्पका दृष्टिले पनि उच्च छन् । रूप र अन्तर्वस्तुको सुन्दर एकता उनका कविताको विशेषता हो । उनले गद्य शैलीमा कविता लेखेका छन् र नवीन विम्ब तथा प्रतीकहरूको प्रयोग गरेका छन् । अन्तः सङ्गीत उनका कविताको विशिष्टता हो । उनी सरल कविता लेख्नुलाई प्रयोगधर्मी कविता लेख्नुभन्दा गाह्रो ठान्थे । प्रयोगधर्मिताका नाममा नबुझिने कविता लेख्नुभन्दा सरल, सरस र बुझिने कविता लेख्न वास्तवमा गाह्रो पनि हुन्छ । यो उनको अनुभवको निष्कर्ष थियो । सरलता, सुबोधता, स्पष्टता, कोमलता र मधुरता उनका कविताका शिल्पगत विशेषता हुन् । मानवीय सरोकार र शिल्पगत सरलता एवं माधुर्य नै उनका कविता रुचाइनुका कारण हुन् । उनका कविताको निजत्व पनि यसमै छ । उनका कविता उनीजस्तै टाढैबाट चिनिन्छन् र पाठकलाई भित्रैसम्म स्पर्श गर्छन् । उनका कविताको यही विशेषताले समकालीन कविहरू उनीबाट प्रभावित छन् ।
शशीको काव्य यात्रामा स्वदेशी, विदेशी धेरै स्रष्टाहरूको प्रभाव छ । यी स्रष्टाहरू स्वर र शैलीका दृष्टिले विविध रहेका छन् । यस विविधतालाई उनले सघनरूपमा लिएका छन् र आफ्नो मूल सरोकारमा गम्भीर र सचेत छन् । उनी साहित्य वादमा आधारित हुनुहुँदैन भन्थे । दिशानिर्देशका निम्ति साहित्य लेख्ने कुरासँग उनको विमति थियो । उनका दृष्टिले ज्ञान, विज्ञान, कला, साहित्य, सङ्गीत, सबैको चरम विकास र चरम प्राप्ति मानवीय नैसर्गिकता थियो । उनी मानिस स्वयं पूर्ण छैन, परन्तु पूर्ण हुन योग्य छ भन्ने इमर्सनको दृष्टिकोणबाट अत्यन्त प्रभावित थिए । एक कविका रूपमा उनका पनि आफ्ना सीमा थिए । त्यही सीमाभित्र उनको काव्य लेखन अङ्कुरायो र मौलायो । उनलाई बुझ्ने पनि उनको सीमाभित्र नै हो । समग्रमा भन्ने हो भने उदारवादी चिन्तनका यी मानवतावादी कवि आधुनिक नेपाली कविताका महत्त्वपूर्ण हस्ती हुन् र उनका कविता महत्त्वपूर्ण प्राप्ति ।
साभारः मधुपर्क