सहरको मुटुमा बसोबास तर उपनाम गाउँले । लेखक लव गाउँलेको परिचय यस्तै विरोधाभासी छ । तर उनी बालाजुमा गाउँले परिवेश र जनजीवन देख्छन् । पहाड, जंगल अनि उद्यानको हरियोपरियो महक पाउँछन् ।

उनी बालाजुमा बसेको जम्मा २५ वर्षमात्र भयो । बालाजुबाट चार किलोमिटर उत्तरको फुटुङ, जयन्तीपुर हो उनको जन्मथलो । अहिले पनि त्यतै गाईबाख्रा चराएको र खेतबारी खनेको सपना देखिरहन्छन् ।

यस्तो लाग्छ, उनी गाउँलेको मिठास गुमाउन चाहँदैनन् । गाउँको सौन्दर्यमा रुझिरहन्छन् । गाउँले हुनुमै मजा मान्छन् । त्यसैले उनका हरेक रचनामा गाउँ नै मगमगाइरहेको हुन्छ । गाउँले चिन्छ, बोल्छ या बोलाउँछ । उनी आफू गाउँले हुनुको अर्थबोध गर्छन् ।

स्कुले उमेरमै उनले लवबहादुर केसीलाई लव गाउँलेको हुलिया दिएका रहेहुन् । उनका काका अमिर कविता, नाटक आदि लेखिरहन्थे । तिनै काकाका कवितालाई अन्टसन्ट बनाएर आफ्नै नाममा छाप्न उनले गरेको कोसिस काम लागेन । साँच्चै भन्ने हो भने त्यो एक प्रकारले गाउँले केटीलाई लेखिएको प्रेमपत्रजस्तो थियो ।

त्यसपछि उनले कविता छापे, ‘नयाँ सन्देश’ मा । चोरचार गरेको होइन, आफ्नै कविता । २०२८–२९ सालतिर शान्ति विद्यागृह लैनचौरमा पढ्दा उनी जासुसी उपन्यासमा लहसिए । घरमा आमाले भात खान बोलाउँदा उनी लुकिछिपी त्यही उपन्यास पढिरहेका हुन्थे । २०३३ मा पहिलो कथा छापेका थिए, ‘अतीत र वर्तमानलाई दाँज्दा’ ।

लव गाउँलेको ‘मल्टिपर्सोनाज’ असाधारण छ । कथा, कविता, नाटक, उपन्यासमा साहित्यिक ‘सिग्नेचर’ दिए भने नाटक र सिनेमामा पनि हात हाले । निजामती सेवातर्फ उपसचिवसम्म भए ।

सामान्य मानिस एउटा पेसामा लागेपछि त्यसमै अलमलिन्छ । तर उनी कतै सीमित हुन चाहेनन् । धेरैतिर छरिने या बाँडिने इच्छा गरे । उनको जीवनमा विविधता छ । ‘विविधता भएन भने जिन्दगी मोनोटोनस हुन्छ,’ उनी भन्छन्, ‘एउटै विधामा खुम्चिनु भनेको लकडाउनमा एउटै कोठामा बसिरहनु जस्तो हो ।’

यहाँनेर ‘लकडाउन’ शब्द किन आएको हो भने यो संवाद त्यतिबेलाकै हो । सरकारले लगाएको लकडाउन मैले पनि इमानदारीपूर्वक दुई महिना पालना गरेको थिएँ । म विष्णुमती खोलावारि बस्थेँ, लव गाउँले खोलापारि । पाँच-सात मिनेटको पैदल दूरीमा रहेका लव गाउँलेसित भेट्न मन लाग्यो । घरबाहिर निस्कनका लागि मैले बहाना बनाएँ, अन्तर्वार्ता । कोरोनाकालीन छिःछिः दूरदूरका बेला पनि त्यो घरमा मैले मजाले स्वागत पाएँ । अञ्जु भाउजू र छोरीहरुसित रमाइलो वातावरणमा कुराकानी गरेँ ।

उनले समयभन्दा दुई वर्ष पहिल्यै अनिवार्य अवकाश पाएका रहेछन् । एसएलसीको फाराम भर्दा दुई वर्ष उमेर बढाएको फाइदा के भयो टाइपिस्ट मुखियाको अस्थायी जागिर पाए, २०३३ सालमै । त्यतिबेला उनी भरखर सरस्वती क्याम्पस भर्ना भएका थिए । तलब १ सय ८२ रुपियाँ थियो । गाउँकै सुब्बा बूढाले यसो सिसाकलमले लेखिदिएको चिर्कटो देखाएर पाएका थिए त्यो जागिर ।

चिया अफर गर्थे, ‘खान्नँ खान्नँ’ भन्दा पनि तानेर खुवाउँथे । उज्ज्वला महर्जनको कविताजस्तो त्यसपछि… त्यसपछि… त्यसपछि… । यसका अनेक किस्साहरु छन् ।

त्यतिबेला उनी अन्तर्मुखी थिए । कुमसम्म कपाल पालेका थिए । उनी बोल्दै बोल्दैनथे । टाइपिस्टहरुको एउटा कोठा थियो । त्यहाँ उनीभन्दा दोब्बर उमेर खाएकी र उनीभन्दा अलिकति जेठी महिला काम गर्थे । उनीहरु उनको कपालमा कागजको डल्लो बनाएर प्वाक्क प्वाक्क हान्थे । चिया अफर गर्थे, ‘खान्नँ खान्नँ’ भन्दा पनि तानेर खुवाउँथे । उज्ज्वला महर्जनको कविताजस्तो त्यसपछि… त्यसपछि… त्यसपछि… । यसका अनेक किस्साहरु छन् ।

‘के ताल पर्यो, के ताल पर्यो । डबल एजकी महिलाले मलाई तीन वर्षसम्म बलात्कार नै गर्नुभयो,’ उनी सुनाउँछन्, ‘नागढुंगा ननाघेको मलाई पोखरा, वीरगन्ज, इलाम, काँकडभिट्टा पुर्याउनुभयो । दार्जिलिङ जाने भनेको अघिल्लो रात सोले फिल्म लागेको थाहा पाएपछि म विराटनगर सोझिएँ ।’

उनी २०३४ मा लोकसेवा दिएर निजामती सेवामा खरिदार भइसकेका थिए । खरिदार भएको आठ महिनामै लेखापाल (सुब्बा) भए । यी युवा सुब्बालाई धेरै केटीले पछ्याएछन् । ह्यान्डसम त छँदै थिए । झिल्के पनि उत्तिकै । मैले कुराकानी गर्दा सोफामा अञ्जू भाउजू पनि सँगै थिइन् । उनका कुरा बेलाबखत सच्चाइदिन्थिन् ।
उनी लेखापाल भएर जिल्ला पञ्चायत सचिवालय डिल्लीबजार चारखालमा कार्यरत थिए । उनले क्षेत्रपाटी घर भएकी अञ्जु सिंहलाई त्यही कार्यालयमा भेटे । दुवै सुब्बा थिए । लव स्थायी र अञ्जु अस्थायी ।

लवलाई भेट्न केटीहरु आइरहन्थे । एउटै कार्यालयकी कर्मचारी अञ्जुलाई थाहा नहुने कुरै भएन । लवकी एक पत्रमित्र थिइन्, पाल्पाली । तिनी दुई जनासँग एकसाथ प्रेम गर्दिरहिछन् । दुवैलाई चिठी पठाउँदा साटिएछ । त्यो थाहा पाएपछि लव भाउन्न भए । ‘बेमानपत्र’ भन्ने कविता लेखेर तर्क पत्रिकामा लेखे । रम त्यही रनाहामा उनले अञ्जुसित कवितामै प्रेम प्रस्ताव राखे । एक वर्ष नपुग्दै उनीहरुले २०३६ मा वीरगन्ज पुगी दुई जना साक्षी राखेर सिन्दूरपोते गरे ।

विवाह हुने बेला दुवै जनाले ‘डिप्लोमा इन पब्लिक एड्मिनिस्ट्रेसन’ (डीपीए) को सँगै जाँच दिएका थिए । पहिलो छोरी (मोनालिसा) जन्मनेबित्तिकै परिवार नियोजनको टोली पुगेको थियो गाउँमा । नियोजन गर्छु भनेका लवलाई आमा, श्रीमती र सासूले ढिम्किनै दिएनन् । रहँदाबस्दा फेरि गर्भ रह्यो, छोरी (जुलियट) नै भयो । रहँदा बस्दा फेरि पनि छोरी (जस्मिन) भयो । चौथो खेप त झन् जुम्ल्याहा छोरी (जेनी र एनी) जन्मिए । त्यसपछि पनि छोरी नै जन्मिइन्, भाग्यश्री । उनी छैँटौँ छोरी हुन् र अन्तिम पनि ।

यसो हेर्दा छोराको लालसामा छ-छोरी जन्मिएजस्तो लाग्छ । तर लवलाई त्यसलाई ठाडै अस्वीकार गर्छन् । उनी आफूलाई अहिले पनि ‘ह्यापिएस्ट फादर’ नै दाबी गर्छन् । जस्मिन र भाग्यश्री अस्ट्रेलिया अनि जेनी डेनमार्क बस्छन् । जेनी र भाग्यश्रीको विवाह हुन बाँकी छ । लवका तीन नातिनातिना छन् । दुई महिनाअघि अञ्जुको निधन भएपछि उनी हृदय टुक्रिएको अनुभव गरिरहेका छन् । पत्नीको स्मृतिमा शोकाञ्जलि लेख्दैछन् ।

स्मरणीय के छ भने जुम्ल्याहा छोरी जन्मेपछि लव गाउँले डिप्रेसनमा गए । यो कुरा थियो, २०४४ साउनको । सुरुमा उनलाई टाइफाइड भएको थियो । निद्रा नलाग्ने, खाना नरुच्ने, डर लाग्ने समस्या आठ महिनासम्म झेलिरहे । अञ्जुले झारफुके, देउमा आदिकहाँ लगिन् । बीसको उन्नाइस भएन । अनि डाक्टर सुन्दरमणि दीक्षितकहाँ पुगे ।

यी जिनिसलाई उनी मुटुले भ्याउन्जेल माया गर्न चाहन्छन् । ६१ वर्षे यी लेखक जीवनलाई सुन्दर बनाउने कोसिस गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

डा दीक्षितले १५ दिनको औषधि दिएका थिए त्यसले ठीक नभएपछि अर्को डाक्टर ‘रेफर’ गरे । विश्वबन्धु शर्मा त्यतिबेला भरखर आएका मनोचिकित्सक थिए । पद्मकन्या क्याम्पस अगाडि क्लिनिक थियो । अनि त उपचार भइहाल्यो ।
त्यही बेला उनलाई काठमाडौँबाहिर खटायो अफिसले । डाक्टर दीक्षितले नै चिठी लेखिदिएपछि जानुपरेन । उनी आज पनि डा दीक्षितले जीवनदान दिएको स्मरण गरिरहेका छन् । र, लव गाउँले आजपर्यन्त डिप्रेसनको औषधि खाइरहेका छन् ।
हुन त उनले छ महिना, वर्षदिन मदिरा छाडेर नहेरेका होइनन् । उनी पिउन छाड्दा पनि फ्रेस अनि पिउँदा पनि फ्रेस भएको अनुभव गर्छन् । के जीवनलाई भन्दा मदिरालाई प्रेम गर्नु जरुरी छ ? उनले यसो भने, ‘केटी, मदिरा, चाँदीजस्तै टल्केको हिमाल, नीलो नीलो बगेको नदी कसलाई राम्रो लाग्दैन ?’ यी जिनिसलाई उनी मुटुले भ्याउन्जेल माया गर्न चाहन्छन् । ६१ वर्षे यी लेखक जीवनलाई सुन्दर बनाउने कोसिस गर्नुपर्छ भन्ने मान्यता राख्छन् ।

जागिरमा लव सफल मानिएनन् । २०४३ सालमा शाखा अधिकृत भएका उनी २०६२ मा बल्ल उपसचिव सचिव भए । २०७३ मा त्यही पदमा अवकाश पाए । ‘अब म भातै पकाउँदिनँ’ भनेर उपसचिवको जाँच दिन कर गरेकी थिइन् पत्नीले । सहसचिवको जाँच देऊ भन्दा मान्दै माननेन् । आफैँले मिलाएर केही पटक विदेश गए ।

जीवनमा उनले कसैलाई आदर्श, आइडल, आइकन या रोलमोडल बनाएनन् । कोही त्यस्ता व्यक्ति पनि देखेनन् । कोही कोही लायकसम्म थिए । व्यक्तिगत चरित्र, व्यवहार, रहनसहन उस्तै । अब उनलाई ठूला मान्छेप्रति कुनै भ्रम छैन ।
उनलाई थाहा छ, कोही जिन्दगीभरि हाकिम भइरहँदैनन् । उनको रगतमा झुक्ने डीएनए छैन । ‘मेरा लागि कोही ठूला मानिस होइन, मेरी श्रीमतीभन्दा ठूलो कोही होइनन्, थिएनन्,’ उनी भन्छन्, ‘१० जना महाराजका अगाडि झुक्नुभन्दा आफ्नै महारानीको खुट्टा ढोग्नु जाती ।’

फेसबुकका स्टाटस हेर्दा महिलाका हकमा उनी ‘एग्रेसिभ’ लाग्छन् । लेखन हेर्दा पनि ‘वाइल्ड’ नै लाग्छन् । अञ्जु भन्थिन्, ‘उहाँ त केरकारमा हुनुपर्ने मानिस हो ।’ साँच्चै उनी एकपछि अर्को सरप्राइज प्रश्न सोध्न सिपालु छन् । फर्केर हेर्दा उनलाई लाग्छ, ४१ वर्षसम्म जीवनसँगिनीले मलाई कसरी थेग्न सकिन् होला ?

यी अराजक लेखकलाई झेल्न सक्नु चानचुने हुँदै होइन । उनी त आफैँ लेखेर पनि ‘कन्टोभर्सी’ सिर्जना गरिरहन्छन् । एक पटक अस्पतालमा बस्दा अञ्जुलाई नर्सहरुले सोधे रे, ‘यतिका वर्षसम्म तपाईं कसरी बस्न सक्नुभयो उहाँसँग ?’ कहिलेकाहीँ आमा पनि अञ्जुलाई भन्थिन् रे, ‘मेरो ठूलो छोरोलाई तह लगाउनु पनि ठूलै कुरा हो ।’ ‘मजति मायालु मानिस को होला र यो दुनियाँमा ?’ लव भन्छन् ।

लव २०४३ मा शाखा अधिकृत भएर मन्त्रिपरिषद्को सचिवालयमा काम गर्दा टेलिफिल्मका कलाकारहरुसित भेट भइरहन्थ्यो । भरखर नेपाल टेलिभिजन खुलेको थियो । २०४४ सालमा ‘देश’ नाम राखेर टेलिफिल्म लेखेका थिए । श्यामदास वैष्णव र निर्देशक लय संग्रौलाले त्यसलाई ‘प्रतिष्ठा’ बनाइदिएछन् । त्यसमा कथा। पटकथा र संवाद उनकै थियो ।

दौलतविक्रम विष्टको कथा ‘उफान’ माथि फिल्म बनाउन उनले छ महिना लगाएर पटकथा लेखे । त्यो मोटरसाइकलमा यात्रा गर्दा कता झरेछ कता । फेरि ६ महिना लगाएर लेखे । तीन भागको टेलिफिल्म आफैँले निर्देशन गरे ।

२०४८ मा अर्को टेलिफिल्म ‘अँध्यारो घर’ आफैँले निर्देशन गरे । उनले कसैसित तालिम लिएका थिएनन् । स्वउत्प्रेरणामै निर्देशन गरे । सर्ट ब्रेक गर्न त्यहीँ सिके । त्यो प्रसारण हुने दिन उनी अमेरिका उडेका थिए । उनकै कथामा ‘हिराको औँठी’ बनाए नारायण पुरीले । त्यसमा बद्री अधिकारीले अभिनय गरेका थिए । उनले भने अहिलेसम्म हेर्न पाएका छैनन् ।

दौलतविक्रम विष्टको कथा ‘उफान’ माथि फिल्म बनाउन उनले छ महिना लगाएर पटकथा लेखे । त्यो मोटरसाइकलमा यात्रा गर्दा कता झरेछ कता । फेरि ६ महिना लगाएर लेखे । तीन भागको टेलिफिल्म आफैँले निर्देशन गरे । लागत १ लाख ९० हजार थियो । नेपाल टेलिभिजनले दिने भयो, प्रति भाग ५० हजार । दुई लाख देऊ भन्दा नमानेपछि च्यानल नेपाललाई बुझाए ।

टेलिफिल्म मात्र होइन, शीतल नेपाल र आफ्नै निर्देशनमा ठूलो पर्दाको फिल्म पनि बनाए, ‘चाहना’ । राजेश हमाल, करिश्मा मानन्धर, सरोज खनाल, गौरी मल्ल, सुनील थापा, विजय सिंह आदि ‘मल्टी स्टार’ लिएर ५० लाखमा बनाएको त्यो सिनेमाका पाँच निर्मातामध्ये एक थिए, दीपक मल्होत्रा । छायाकार नै तीन जना थिए, दीपक ढकाल, चन्द्रप्रकाश घिमिरे र जावेद शाह ।

उनी ११ हजार पारिश्रमिक पाउने गरी अनुबन्धित भएका थिए । मुम्बईको होटलमा एक महिना बसे । सिनेमाको सुटिङ र पोस्ट प्रोडक्सनको कामका लागि छुट्टी कसरी मिलाए त ? उनका हाकिम कानुनची थिए । उनले बिदा स्वीकृत गराउँदा यस्तो निवेदन लेखेछन्, ‘आउँदाखेरि हाजिर हुने र नआउँदा बिदा जनिने गरी छुट्टी सदर गरिपाऊँ’ । यसरी सचिवलाई फनफनी घुमाइदिएछन् । पछि त सबै जना जिल्ल परे । यस्तो पनि हुन्छ र !

मैले सोधेको थिएँ, ‘सिनेमा लाग्नुको उद्देश्य के थियो ? रुपरसिक स्वभावका कारण त होइन ?’

‘साहित्य लेखेर केही हुँदैनथ्यो, सिनेमामा ग्ल्यामरसँगै पैसा पनि थियो,’ उनी भन्छन्, ‘तर सिनेमा बजार झुर रहेनछ । पोर्नो फिल्म खेल्नेजत्तिको पनि इज्जत छैन ।’

‘चाहना’ सुपर हिट भए पनि उनी अस्ट्रेलियातिर लागे । अस्ट्रेलियामा पनि सिनेमा बनाउने तम्तयारी थियो । तर हिरोइन नै पाइएन । त्यहाँको याक एन्ड यती होटलकी एक केटीलाई फकाउन जिम्मा दिएका थिए सुरज गुरुङलाई । उनी त पाँच डलरको दाल किनेर रेस्टुराँमा घन्टौँ बस्दा रहेछन् । उनले हिरोइन होइन, प्रेमिका बनाएछन् । हिरो बनाउने भनिएका आशीष उर्फ दिनेश शर्मा पनि देश फर्किसकेछन् । उनलाई अझै इच्छा छ, गतिलो सिनेमा बनाउने ।

अभिनयका सोखिन लव अवसरका मामिलामा अभागी ठहरिए । २०४६ तिर आफ्नै निर्देशनमा रहेको नाटकमा अभिनय गर्न खोजेका थिए । पर्दाभित्र छिर्ने बेला प्यान्टको जिपर नै फुस्किएछ । अनि उनी त्यसमा सफल भएनन् । ‘चाहना’ मा सानो भूमिका गरेका थिए । संवाद बोल्दा भकभक आयो । अर्को सट लिऊँ भन्दा ओके भनिदिए । पछि सम्पादनका बेला आफ्नो भूमिका कटौती गरे ।

उनी जोखिम जति पनि लिन सक्छन् । केही वर्षअघि उनी ‘शमी’ साहित्यिक पत्रिकाको सम्पादक भएका थिए, बधाई दिन नभ्याउँदै त्यो मुकाम छाडेर ‘समीरण’ को सम्पादक भइसकेछन् ।

अहिलेसम्म लव गाउँलेका सात वटा किताब आइसकेका छन् । मुक्तकसंग्रह- ‘म मेरो देश खोजिरहेछु’ (२०३७), कथासंग्रह- ‘कालचक्र’ (२०४६) र ‘अरे क्यानाम डिस्टप’ (२०५६), उपन्यास- ‘भूगोलको एक छेउ’ (२०५२) तथा कवितासंग्रह- ‘आँखाभित्र आँखाबाहिर’ (२०४६) र ‘अनुहार त बरु कागजकै भए हुने’ (२०५७) ।

लव गाउँले कुनै ‘बेस्ट सेलर’ लेखक होइनन्, उनले त्यस्तो नामचीन पुरस्कार पनि पाएका छैनन् । मैले उनको जीवनगाथा लेख्नुपर्नाको एक मात्र कारण यही हो । उनी ठूला साहित्यकार नहोलान्, इमानदार लेखक चाहिँ पक्कै हुन् । उनी पुरस्कारका हकदार नभए पनि पाठकको धाप पाउन लायक छन् ।

‘कसैलाई पनि समाज वा राष्ट्रले भाषा–साहित्यको सेवाबापत पछि मेवा टक्र्याउँला भनेर भर्ती गरेको हुँदैन । लेखक बन्नु स्वैच्छिक कर्म हो, व्यक्तिको नितान्त निजी र रोजाइको कुरा हो, गनगनको र रोदनको बासी पथको पार्थिव हुनुभन्दा त बरु लेखक नहुनु नै वेश,’ खगेन्द्र संग्रौलाको धारणामा उनी ल्याप्चे र दस्तखत दुवै ठोक्छन् ।
कविता मनबाट लेखिनुपर्ने उनको मत छ । उनका कविताको बान्की यस्तै ‘सेक्सी’ हुन्छ ।

मेरो भाग्यले मलाई
लिपिस्टिक बनाउन सकेन,
नत्र त म
सधैँ तिम्रो ओठमा हुन्थेँ

मैले फेरि सोधेँ, ‘लव गाउँलेलाई चिनाउने किताब छापियो कि पहिलो, दोस्रो, सातौँ मात्र भयो ?’
‘कतिपय त किताबै होइनन् कि जस्तो पनि लाग्छ । अस्ट्रेलिया ब्लुजचाहिँ मेरो ड्रिम बुक हो,’ उनी भन्छन्, ‘मैले सकेसम्म निडर, निष्कपट र निष्पक्ष भएर लेखेको छु ।’

‘अस्ट्रेलिया ब्लुज’ नियात्राको शैलीमा लेखिएको संस्मरणात्मक वृत्तान्त हो । तर उनले विधा छुट्याएका छैनन् । किताबमा आफ्ना पुराना किताबको सूची दिन पनि जरुरी ठानेनन् । कसैलाई भूमिका लेखाउन या आफ्नो परिचय राख्न पनि आवश्यक ठानेनन् । रमाइलो के भने मैले अन्तर्वार्ता गरेको एक वर्ष पुग्न लाग्दा पनि उनले कहिले आउँछ भनेर एक पटक पनि सोधेनन् । उनको धैर्यधारण क्षमतालाई म सलाम गर्छु ।

अस्ट्रेलियन एजेन्सी फर इन्टरनेसनल डेभलपमेन्ट (असएड) छात्रवृत्तिअन्तर्गत दुई वर्षे मास्टर्स कोर्सका लागि जाँदा त्यहाँ गरेको संघर्षको फेहरिस्त छ यसमा । सुरुमा उनी एक्लै जान्छन् । तर घर छाडेर गएपछि फुक्काफाल हुनुपर्नेमा उनी झन् गहिरो बन्धनमा बाँधिएजस्तो अवसादले घेरिन्छन् ।

अनावश्यक रुपमा असएडकी ‘हसिना’ सँग झगडा गर्छन् । विश्वविद्यालय परिवर्तनतिर लाग्छन् । सिड्नी डाउन टाउनबाट जम्मा ८२ किलोमिटर टाढाको ओलङगङ पुगे हुनेमा सिड्नीबाट झन्डै १ हजार ५ सय ६० किलोमिटर परको रकहेम्पटन लखेटिन्छन् । पछि नेपाल फर्केर श्रीमती र चार छोरीसहित पुग्छन्, घरबारी बन्धकी राखेर ।

ओलङगङ-सिड्नी-रकहेम्पटन, रकहेम्पटन-सिड्नी-नेपाल, नेपाल-ब्रिसबेन-रकहेम्पटन, रकहेम्पटन-सिड्नीको गोलचक्करमा दुई वर्ष तीन महिनाको बसाइ टुंग्याए उनले । तैपनि अस्ट्रेलिया सपनाले मूर्त नपाएको झोँक झिकेका छन् किताबमा । उनी फर्के, उही पुरानु सुटमा । सुटकेसमा पुराना कपडा, खल्तीमा ५० डलर र हातमा असएडको अनुदान हवाई टिकट लिएर ।
अस्ट्रेलियामा उनलाई काम चाहिएको थियो । एक पत्रिकामा पार्टटाइम क्लिनिङका लागि विज्ञापन देखेपछि फोन गरेछन् ।

भोलिपल्ट त उनको निवासमै कोही ढकढक गर्न आइपुग्यो । ऊ त काम दिन होइन, उल्टै उनको कोठा सफा गर्न पो आएको रहेछ । उनले ‘सरी’ भनेर बिदा गर्नुपर्यो ।

परिवारलाई सुखी देख्न अस्ट्रेलिया लगेका थिए उनले । तर आफू शौचालय सफा गर्ने काम पाउँछन् । विश्वविद्यालयको कक्षाबाट भागीभागी पार्टटाइम काममा जान्छन् । कसैको फालेको फ्रिज तानतुन गरेर चलाउँछन् । सेकेन्डह्यान्ड पुसबाइक किनेर काम चलाउँछन् । कामबाट निकालिएपछि मुद्दा हाल्न अदालत जान्छन् ।

गरिबी कस्तो भने आफ्नै घर आगलागी हुँदा पनि दमकललाई मोबाइलबाट मिसकल दिने घरमालिकजस्तै कृपण हुन्छन् पैसाको मामिलामा । एउटा हाफप्यान्टका लागि छोरीहरुको झगडा आफ्नै आँखाले देख्नुपर्छ ।

किताबमा केही असामान्य भित्रिया कुरा पनि छन् । सहपाठी सुन्दरीसँग ८२ किलोमिटर रेलयात्रामा गरेर सिड्नी जान्छन् । तर सहपाठीले कहाँ बस्ने भनेर सोध्दा साथीको फ्ल्याटमा भन्दा ब्वाई फ्रेन्डमा अनुवाद हुन नपाएकामा थकथकिन्छन् । मायाको शान्त नदी तर्न नपाएकामा खेद मान्छन् ।

महिलाको लवाइखुवाई, रंग, अनुहार, जिउडाल देख्दा आफू विवाहित र छोरीहरुको बाबु हुँ भन्ने पनि बिर्सन्छन् र औसत लोग्नेमान्छेपन देखाउँछन् । उनी कस्ता ‘फ्रायडियन’ हुन् भने रेलको सिटमा चिनजानकै नेपाली महिलासँग सम्मोहित हुन्छन् । उनको सामीप्य लुट्न डायरी बन्द गरेर कलम कमिजको खल्तीमा घुसार्छन् ।

भरे त देब्रे छातीमा चिसो हुँदै आउँछ । कमिज त कालै भइसकेछ बिर्को बन्द गर्न बिर्सेको कलमले । ‘ध्यान कहाँ तपाईंको ? कु-ठाउँमा ध्यान पुग्यो कि क्या हो ? आफ्नो माल सुरक्षित राख्नु पर्दैन ?’ ती महिलाले सचेत बनाउँदा पो झल्याँस्स हुन्छन् । मसी त पत्तासाफ भइसकेछ । महिला मित्रले उपहार दिएका दामी कलम र दामी कमिज दुवैको उज्यालो हराउँछन् । उनी लाचार भएर ङिच्च हाँस्छन् । ‘ग्रेट कन्फेसन’ !

यौनलाई खुलस्त पारेर लेख्नेमा पर्छन् लव गाउँले । कतिपयका दृष्टिमा त्यो अश्लीलताको पराकाष्ठा हो । सामान्य मानिसले लेख्न नसक्ने कुरा उनी सहजै लेखिदिन्छन् । साहित्यमा यौन झिकिदिने हो भने पञ्जा लगाएर कन्याएजस्तो हुन्छ भनिरहन्छन् ।

लव गाउँलेको साहित्य यसै असामान्य छ । तर उनी योभन्दा पनि असामान्य लेख्न चाहन्छन् । लव गाउँलेजस्तो आफूलाई सबैभन्दा नपढ्ने साहित्यकार कसले भन्न सक्छ ? र, पढेको भन्दा धेरै लेखेको कसले भन्न सक्छ ?