शनैः शनैः आत्मज्ञानको पथतर्फ अभिमुख भइरहेका अर्जुनमा यसप्रति अझै बढी जिज्ञासाको उजागर भइरहेको दृष्टिगोचर हुन्छ । मानसिक विषादका सिकार भएका अर्जुन श्रीकृष्णेपचारको प्रभावले मानसिक उद्वेलनको स्थितिबाट जागरुक, ज्ञानपिपासु, अनि मुमुक्षुको तहमा उक्लनु निश्चय नै सन्तोषप्रद क्षण भएको हुनुपर्दछ श्रीकृष्णका लागि ।
जिज्ञासा नै ज्ञान प्राप्तिको पहिलो चरण हो । “जिज्ञासु बनेरै पनि परमात्मालाई प्राप्त गर्न सकिन्छ” भन्ने विषय पहिले नै चर्चा भइसकेको छ । जिज्ञासु शिष्य, गुरुजनसँग भइरहने निरन्तरको वादविवाद, छलफल, एवं प्रश्नोत्तर आदि प्रक्रिया, अनि योग्य गुरु, यी सबैलाई ज्ञानसाधनाका लागि सर्वस्वीकृत साधनका रुपमा नै अङ्गीकार गरिएको छ हाम्रो पूर्वीय परम्परामा ।
अतः श्रीमद्भगवद्गीताको आठौं अध्यायको सुरुवातमा नै दुई श्लोकहरुका रुपमा आएको अर्जुनका प्रश्नहरुलाई आत्मज्ञानप्रति उनमा जागेको भोकका रुपमा नै मान्न सकिन्छ । अर्जुन सोध्दछन्ः
“किं तद्ब्रह्म किमध्यात्मं किं कर्म पुरुषोत्तम ।
अधिभूतं च किं प्रोक्तमधिदैवं किमुच्यते” ।।भ.गी.८(१)।।
अधियज्ञः कर्थ कोऽत्र देहेस्मिन्मधुसूदन ।
प्रयाणकाले च कथं ज्ञेयोऽसि नियतात्मभिः” ।।भ.गी.८(२)।।
यी दुई श्लोकहरुमा वास्तवमा आत्मज्ञानमा पारङ्गत हुनका लागि आवश्यक अनि प्रमुख सात विषयका प्रश्नहरु अन्तर्निहित रहेका छन् । तिनलाई निम्नानुसार उल्लेख गर्न सकिन्छः
१. ब्रह्म भनेको के हो?
२. अध्यात्म के हो ?
३. कर्म के हो ?
४. अधिभूत भन्नाले के बुझिन्छ ?
५. अधिदैव केलाई भनिन्छ ?
६. अधियज्ञ को हो, अनि यो शरीरमा कसरी रहन्छ ?
७. संयम चित्त भएका व्यक्तिहरु अन्त्य समयमा परमात्मालाई कसरी जान्दछन् ?
उपरोक्त प्रश्नहरुको विस्तारपूर्वक उत्तर दिने क्रममा श्रीकृष्ण भन्दछन्ः
“अक्षरं ब्रह्म परमं स्वभावोऽध्यात्ममुच्यते ।
भूतभावोद्भवकरो विसर्गः कर्मसंज्ञितः” ।।भ.गी.८(३)।।
अधिभूतं क्षरो भावः पुरुषश्चाधिदैवतम् ।
अधियज्ञोऽहमेवात्र देहे देहभृतां वर” ।।भ.गी.८(४)।।
अर्थात् अविनाशी परमात्मतत्त्व नै ब्रह्म हो । सम्पूर्ण जगतको अधिष्ठानका रुपमा रहेर जड प्रकृतिका अवयव (शरीर, इन्द्रिय, मन, बुद्धि एवं अहङ्कार) का साथसाथै चेतनरुप आत्मतत्त्वलाई समेत प्रकाशित गर्ने अनि प्राणीहरुको जन्मदेखि मरणसम्मका परिवर्तनहरुमा साक्षी भावमा रहने तत्त्व नै अक्षर ब्रह्म अर्थात् परमात्मा हो ।
अनि अव्यक्त परमात्माकै अंशका रुपमा व्यक्तभावमा चेतनाको प्रतीक बनी प्राणीहरुको शरीरमा रहेर जड प्रकृतिको सञ्चालन गर्ने आफ्नै स्वभावको परिचायक आत्मतत्त्व नै अध्यात्म हो ।
बुद्धिमा अन्तर्निहित रहेको शक्ति जसका कारणले नै बुद्धिद्वारा विभिन्न भावहरुको निर्माण हुन सक्दछ, त्यसैलाई नै कर्म मानिन्छ । जस्तैः प्रेरणा, बल, शान्ति, प्रेम, क्रोध, मोह, लोभ आदि ।
नाशवान् अथवा क्षर उपाधियुक्त प्रकृतिका अवयवहरु (शरीर, इन्द्रिय, मन, बुद्धि एवं अहङ्कार) अनि तिनले ग्रहण गर्ने विषय अर्थात् पञ्च महाभूत (पृथ्वी, जल, तेज, वायु, एवं आकाश) नै अधिभूत हुन् । ती प्रत्येक प्राकृतिक अवयवहरुका अधिष्ठाता पुरुष जसमा ती विषयहरु ग्रहण गर्ने सामथ्र्य हुन्छ, ती सब अधिदैव हुन् ।
अनि यी सब इन्द्रियजनित विषय, बुद्धिगम्य विचार, एवं मनजनित भावनाहरुलाई यज्ञमा हवन गरिएका वस्तुहरुलाई झैँ गरी वास्तविक रुपमा ग्रहण गर्ने अधिष्ठाता अधियज्ञ को हो त ? त्यो उही चैतन्य परमात्मा नै हो, जो प्रत्येक शरीरमा आत्माको रुपमा अर्थात् प्रकृतिका अवयव पुरीहरुमा पुरुषका रुपमा निवास गरिरहेको हुन्छ ।
अब पालो आयो अर्जुनको अन्तिम प्रश्नको उत्तर दिने । अर्थात् संयम अवस्थामा रहेका व्यक्तिहरु अन्त्य समयमा परमात्मालाई कसरी जान्न सक्दछन् ? अथवा देहत्याग गर्दा परमात्माको स्मरण गर्ने प्राणीहरुको गति के हुनसक्दछ ?
यहाँ प्रयुक्त भएको ‘अन्तिम अवस्था’ या ‘देहत्यागको अवस्था’ लाई दुई प्रकारले अथ्र्याउन सकिन्छः
१. साँच्चै नै आत्माले शरीर त्याग गर्ने अवस्था या शरीरको मृत्यु हुने अवस्था ।
२. अहङ्कारको नाश भई जीवनमुक्तिको अभाष हुने गरी ध्यानाभ्यासमा तल्लीन रहने अवस्था ।
अर्जुनमा उब्जिएको जिज्ञासा दुवै अवस्थाका लागि स्वीकार्य रहन्छन् अनि श्रीकृष्णको उत्तर पनि उपरोक्त दुवै परिस्थितिमा समान रुपले लागू हुन सक्ने देखिन्छ ।
“अन्तकालमा परमात्माको स्मरण गर्दै देहत्याग गर्ने मनुष्य साँच्चै नै मुक्त हुन्छ अनि परमात्मालाई नै प्राप्त गर्दछ भन्ने कुरामा शङ्का छैन ।” (।।भ.गी.८(५)।।) श्रीकृष्ण यही नै भन्दछन् ।
फेरि उनी यो पनि भन्दछन् कि “अन्तकालमा जुन भावको स्मरण गर्दै शरीर त्यागिएको हुन्छ, त्यसको फलस्वरुप नीज व्यक्तिले त्यही नै भावको प्राप्ति गर्दछ ।” (।।भ.गी.८(६)।।) यो कुरा त सधैँ नै लागु हुने अर्थात् जीवनकालमै पनि कायम रहने विषय हो ।
“यादृशि भावना तस्य, सिद्धिर्भवति तादृशि”, अर्थात्, “तिमी जे सोच्छौ, त्यही नै पाउँदछौ ।” यो तथ्य नयाँ विषय त होइन, यो त सबै धर्मशास्त्रका पुस्तकहरुमा पाइएको कुरा नै हो । अझ भन्नुपर्दा “जस्तो तिमी सोच्दछौ, त्यस्तै नै बन्नेछौ ।” भन्ने कुरा जुनसुकै आध्यात्मिक ग्रन्थ मात्र नभई मनोविज्ञानका पुस्तकहरुमा समेत उल्लेखित भइरहेका नै पाइन्छन् ।
तर विचार गरौं त, अन्त्य समय अथवा देहत्यागको बेलामा मात्र सकारात्मक भाव एक्कासी आउन सक्ला त ? असम्भव नै होला त्यो कुरा त । जीवनभर गरिएको चिन्तन या अभ्यास कै प्रतिबिम्ब नै देहत्यागका बेलामा मनमा अनि मस्तिष्कमा छाउने होला नि, होइन र ? अतः जीवनभर चित्तको एकाग्रताको अभ्यास गरी अनि आत्मचिन्तन या आत्मानुसन्धानमा समय व्यतित गरिराखेको व्यक्तिले नै अन्त्यकालमा परमात्मतत्वको स्मरण गर्न सक्ने हो ।
त्यस्तै खालको अभ्यास नै ध्यानरत अवस्थामा पनि चाहिने हो । ध्यानमा पनि एकैपटक एकाग्रता कसरी प्राप्त होला ? त्यसका लागि पनि नियमित अनि निरन्तर साधनाको नै आवश्यकता औंल्याउँदै श्रीकृष्ण भन्दछन्ः
“अभ्यासयोगयुक्तेन चेतसा नान्यगामिना ।
परमं पुरुषं दिव्य याति पार्थानुचिन्तयन्” ।।भ.गी.८(८)।।
यसरी निरन्तर ध्यान धारणामा राखेर चिन्तन गरिरहनुपर्ने अनि मरणको समयमा समेत स्मरणमा ल्याउनुपर्ने परमात्मतत्त्व अर्थात् ‘परम दिव्य पुरुष’ कस्ता होलान् त ? यो सम्भावित प्रश्न अर्जुनको मनमा पक्कै आउला भन्ने सोचेरै नै होला, श्रीकृष्ण भन्दछन्ः
“कविं पुराणमनुशासितार मणोरणीयांसमनुस्मरेद्यः ।
सर्वस्य धातारमचिन्त्यरुप मादित्यवर्ण तमसः परस्तात्” ।।भ.गी.८(९)।।
अर्थात्, यो आत्मतत्त्व चेतनाको रुपमा प्रकाशस्वरुप छ । सृष्टिको आदि, मध्य र अन्त्यमा समान रुपले विद्यमान कालको अधिष्ठान नै हो यो । विषय, भावना अनि विचार, यानिकि शरीर, मन, एवं बुद्धिका अवयवहरुलाई एकआपसमा मालाले झैँ उन्न सक्ने शासकस्वरुप छ यो । अणुभन्दा पनि सूक्ष्म, सबैको आधार, अचिन्तनीय अथवा आफू नै त्यसैमा समाहित नभइकन चिन्नै नसकिने, सूर्य झैँ सर्वव्यापक, यो आत्माको चिन्तनले मात्र पनि अविद्याजनित सबै अन्धकारहरुको नाश गरिदिन्छ ।
अब, प्रयाणकाल अर्थात् अहङ्कारको मृत्युको क्षण, यस्तो परमात्मतत्त्वको ध्यान कसरी गर्ने त ? त्यसको विधि पनि सविस्तार बताउँदछन् श्रीकृष्णः
“प्रयाणकाले मनसाचलेन भक्त्या युक्तो योगबलेन चैव ।
भ्रुवोर्मध्ये प्राणमावेश्य सम्यक् स तं परं पुरुषमुपैति दिव्यम्” ।।भ.गी.८(१०)।।
निरन्तरको अभ्यासद्वारा इन्द्रिय, मन, एवं बुद्धिलाई स्थिर राख्न सक्ने शक्ति नै योगबल हो । यसरी ध्यानस्थ भएको व्यक्तिले आफ्नो चिन्तनलाई दुई आँखीभौँको बीच भृकुटीमा कायम राखिरहन सक्दछ, जसद्वारा उसलाई शनैः शनैः परमात्मतत्त्वको बोध हुन थाल्दछ ।
शरीरका नौ द्वार इन्द्रियहरुलाई संयमित गरेर बाहिरी बासनाहरुबाट आफूलाई बिमुक्त गर्ने, अनि क्रमशः मेरुदण्डका माथिल्ला भाग ह्रदयस्थान (सुषुम्ना) मा मनलाई, अनि प्राणलाई मस्तिष्कमा स्थापित गर्दै विषयबासनाबाट आफूलाई टाढा राख्ने प्रयास गर्दैगर्दा योगधारणामा स्थित हुन सकिन्छ (।।भ.गी.८(१२)।।)।
अनि यस्तो योगारुढ अवस्थामा ओमकारको उच्चारण गर्दै प्राण त्याग्ने (अहङ्कार त्यागी ध्यानमग्न रहने) व्यक्तिले नै अन्ततः परमगति या मुक्तिको प्राप्ति गर्दछ (।।भ.गी.८(१३)।।) ।
व्यक्तिविशेषको अन्तिम चाहनाका आधारमा तिनलाई दुई प्रकारले विभाजित गर्न सकिन्छः
१.विषयसुख, भौतिक उन्नति अर्थात् अभ्युदय प्राप्तिको चाहना गर्ने मानिस ।
२. अनात्मबन्धनबाट मुक्ति अथवा निःश्रेयसको कामना गर्ने व्यक्ति ।
यी चाहनाअनुसार नै व्यक्तिको यो लोकमा पुनरावृत्ति हुने या नहुने कुरा निर्धारित रहन्छ । निश्चय नै, भौतिकवादीहरुको पुनर्जन्म हुन्छ भने साँचो मुक्तिको कामना गर्नेहरुको पुनर्जन्म हुँदैन । किनकि प्रयाणकालमा ती व्यक्तिहरु जाने मार्ग नै फरक फरक हुन्छ ।
“अग्निज्र्योतिरहः शुक्लः षण्मासा उत्तरायणम् ।
तत्र प्रयाता गच्छन्ति ब्रह्म ब्रह्मविदो जनाः” ।।भ.गी.८(२४)।।
“धूमो रात्रिस्तथा कृष्णः षण्मासा दक्षिणायनम् ।
तत्र चान्द्रमसं ज्योतिर्योगी प्राप्य निवर्तते” ।।भ.गी.८(२५)।।
अग्नि, ज्योति, दिन, शुक्लपक्ष, उत्तरायणको छ महिनालाई देवमार्गका रुपमा चित्रित गरिएको छ । निरन्तररुपमा सत्य अथवा प्रकाशतिर ध्यान गर्ने व्यक्तिले सूर्यद्वारा अधिष्ठित देवयानको मार्ग अवलम्बन गर्दै ब्रह्मको प्राप्ति गर्दछन् । ती व्यक्तिहरु मुक्त हुन्छन्, फेरि तिनलाई संसारमा फर्कन पर्दैन ।
त्यसको विपरीत बादल, रात्रि, कृष्णपक्ष र दक्षिणायनको छ महिनाको समय पितृमार्गका द्योतक हुन् । भौतिकवादी अनि साँचो ध्यान या उपासनारहित कर्म गर्नेहरुले पितृयानको अवलम्बन गरी पितृलोक प्राप्त गर्दछन् । आफ्ना पुण्यकर्महरुद्वारा प्राप्त हुने फल क्षीण भएपछि पुनः तिनीहरु पृथ्वीलोकमा नै जन्म लिन पुग्दछन् ।
तर मेरो विचारमा उपरोक्त दुई श्लोकहरुमा अभिव्यक्त श्रीकृष्णवाणीको शाब्दिक अर्थलाई मात्र ग्रहण गरी कदापि बुझ्नु हुँदैन । जीवनभर जस्तोसुकै कर्म गरे तापनि उत्तरायणको शुक्ल पक्षको बिहानी समयमा प्राण त्यागे मुक्त भइने तर दक्षिणायनको कृष्णपक्षको रात्रिको समयमा मरेमा पुनः जन्म लिनुपर्ने सरलीकृत रुपमा बुझ्नु–बुझाइनु भ्रमपूर्ण नै ठान्नुपर्दछ ।
बरु ती श्लोकहरुलाई यसप्रकार बुझ्दा ठीक होला कि ?
आत्मिक चेतनाको प्रकाशलाई बोध गरेर जीवन व्यतीत गर्ने योगीहरुले मृत्युको समयमा पनि त्यही आत्मतत्त्वलाई, त्यही प्रकाश या अग्निस्वरुप परमात्मालाई ध्यान गर्न सक्षम बन्दछन् अनि सहजै तिनले मुक्ति पाउँछन् । तर भौतिक सुखभोगको मात्र कामना गर्ने भोगीहरु भने अन्तिम समयमा पनि त्यही भोग्य पदार्थ या विषयहरुकै कामनामा मग्न रहने हुँदा तिनको नियति नै पुनर्जन्म नै हुन्छ ।
त्यसैले भोगीहरुभन्दा योगीहरुको स्थान उच्च रहने भन्दै श्रीकृष्ण भन्दछन्ः
“वेदेषु यज्ञेषु तपःसु चैव दानेषु यत्पुण्यफलं प्रदिष्टम् ।
अत्येति तत्सर्वमिदं विदित्वा योगी परं स्थानमुपैति चाद्यम्” ।।भ.गी.८(२८)।।
त्यस्तै, अनन्यभावले नित्य परमात्मतत्वको स्मरण गर्ने योगीका लागि त्यो परमात्मा नै आफैँ सहज रुपमा प्राप्त भइदिने तथ्य पनि श्रीकृष्ण प्रष्ट्याउँदछन्ः
“अनन्यचेताः सततं यो मां स्मरति नित्यशः ।
तस्याहं सुलभः पार्थ नित्ययुक्तस्य योगिनः” ।।भ.गी.८(१४)।।
आत्मज्ञानको माध्यमद्वारा परमात्मतत्त्वको यसरी विस्तृत विवेचना गरेर अर्जुनका सबै जिज्ञासाहरु शान्त पार्ने प्रयास गर्दागर्दै पनि श्रीकृष्णको तात्कालीन उद्देश्य भने अर्जुनमा रहेको विषादग्रस्त निष्क्रियता या तमोगुणीय जडताबाट उनलाई मुक्त गरी उनलाई राजसी सक्रियतामा उद्यत गराउनु नै थियो । अतः सदासर्वदा परमात्मचिन्तन गरेर सक्रिय रहन आह्वान गर्दै युद्धरुपी कर्मयोगमा लाग्न प्रेरित गर्दछन् उनी अर्जुनलाई । त्यसैबाट पनि निःसन्देह परमात्मप्राप्ति हुने सन्देश पनि प्रवाह गर्दछन् श्रीकृष्णः
“तस्मात्सर्वेषु कालेषु मामनुस्मर युध्य च ।
मय्यर्पितमनोबुद्धिर्मामेवैष्यस्यसंशयम्” ।।भ.गी.८(७)।।
परमात्मतत्वको गम्भीर एवं विस्तृत विवेचना गरिएको श्रीमद्भगवद्गीताको यो आठौँ अध्याय साँच्चै नै सबैका लागि आत्मज्ञानको दर्पण नै बन्न सक्दछ । त्यसैले यसको अध्ययन गरौँ ।
धुलिखेल अस्पतालमा कार्यरत मनोचिकित्सक डा. अजय रिसाल काठमाडौं विश्वविद्यालय, मानसिक रोग विभागका सह—प्राध्यापक हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।