भनिन्छ, विज्ञानले वास्तविकतालाई उजागर गर्छ। त्यो साँचो पनि हो तर विज्ञान या तर यसमा धेरै समस्याहरू नभएका होइनन्। कतिपय अवस्थामा वैज्ञानिक अनुसन्धान र वैज्ञानिक कथित विज्ञहरुबीच निष्कर्षहरु बाझिने हुन्छ। कति त गलत अनुसन्धान पद्धतिको (Research Methodology) को कारणले हुन्छन् भने कतिपय वैज्ञानिक तथा अनुसन्धानकर्ता आफ्नै संज्ञान पूर्वाग्रह (Cognitive biasness) को कारणले हुन्छ।
तीभन्दा पनि खतरनाक अवस्था भनेको प्रायोजित वैज्ञानिक र अनुसन्धान अर्थात् प्रायोजन गर्दिने या अनुसन्धानको लागि पैसा स्रोत उपलब्ध गराउनेहरुको निजी स्वार्थ पोस्ने नियतले गरिएको अनुसन्धान हो। यसको एउटा जल्दोबल्दो उदाहरण अमेरिकी वैज्ञानिक Clair Cameron Patterson र त्यस्तै उद्योगपतिहरू बीचको १९६० र ७० को दशकमा चलेको Lead (Pb) Poisoning ले मानव स्वास्थ्य र पृथ्वीको वातावरणमा परिरहेको असरको समन्धमा भएको विवादलाई लिन सकिन्छ।
दोस्रो विश्वयुद्धको समयमा अमेरिकी आणविक हतियार विकास परियोजना The Manhattan Project मा भूगर्भ रसायनशास्त्री (Geochemist) का रुपमा Clair Cameron Patterson कार्यरत रहेका थिए। Clair Patterson उनको PhD सुपरिवेक्षक Harrison Brown सङ्गै सोही परियोजनामा सम्मिलित थिए। उनी सो परियोजनामा युरेनियमको नाभिकीय क्षयको (Atomic Decay) विश्लेषण गर्ने कार्य गर्थे। यही क्रममा उनी पृथ्वीको आयु पनि पत्ता लगाउने Harrison Brown को काममा उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए।

दिपेश मूर्ति पन्त
Patterson ले युरेनियम का निश्चित isotopes हरुको अणु क्षयीकरण (Atomic Decay) को गणितीय तथ्यहरुलाई पृथ्वीमा अहिले रहेका युरेनियम र लिडको मात्रा र स्थितिलाई पृथ्वीको रचना हुँदाको मात्रा र स्थितिलाई सटीक गणितीय समन्धको रुपमा स्थापित गर्न उनी सफल भएका थिए। यसैबाट पृथ्वीको आयु पत्ता लगाउन सकिन्छ भन्ने उनको तर्क थियो। आज यही विधिबाट पृथ्वीको होस् या आकाशीय पिण्डहरूको आयुको विश्लेषण गरिन्छ।
पृथ्वीको आयु पत्ता लगाउने क्रममा Clair Cameron Patterson ले जब Zircon का टुक्रामा रहेका युरेनियमका अणुहरुको क्षय (Atomic decay) भएर लिडमा Lead (Pb) रुपान्तरण (Transmutation) हुने दरको हिसाब किताब गर्दै थिए, लिडको मात्राको प्रत्येक पटक गरिएको जाँचमा धेरै असंगत नतिजा (Inconsistent results) मात्र आयो अर्थात् प्रत्येक पटक लिडको मात्रामा धेरै उतारचढाव आउँथ्यो। त्यसैले उनले कयौँ पटक धेरै विधि र निर्मलीकरणका उपाय अपनाउँदै प्रयोग जारी राखे। तर नतिजा त उस्तै असंगत नै रहिरह्यो।
धेरै समय र अथक प्रयासपछि California Institute of Technology – Caltech को अत्यन्त उच्च, अत्यन्त स्वच्छ प्रयोगशालामा एक उल्कापिण्डमा रहेको लिडको मात्राको (जुन युरेनियम अणुको क्षयीकरणबाट लिडमा रुपान्तरण भएको थियो) संगत मापन (Consistent measurement) गर्न सफल भए जसले पृथ्वीको वास्तविक उमेर करिब ४ अर्ब ६० करोड भएको देखायो।
यही क्रममा अब उनले अचम्मको कहिले नसोचेको परिस्थितिको सामना गर्नु पर्यो। पहिलाको परिक्षणमा आएको उच्च लिडको मात्रा र त्यसमा देखिएको उतार चढावले एक भयानक खतराको महसुस गरायो, कतै त्यस्तो नतिजाको पछाडि पृथ्वीको वातावरणमै रहेको लिडको मात्रा त जिम्मेवार छैन? यदि हो भने त यो निकै अस्वाभाविक रुपमा बढिरहेको छ।
Patterson लाई के थाहा थियो भने लीड एक विषालु धातु हो। यसले मानव र प्राणीहरूको स्वास्थ्यमा घातक प्रभाव पार्छ। यसले मानिसको शारीरिक मात्र नभई स्नायु प्रणालीमा समेत असर पार्दै मानिसको मानसिक स्वास्थ्यमा पार्ने असर झनै गम्भीर हुन्छ। त्यसैले उनले पृथ्वीको वातावरणमा अवस्थित लिडको मात्रा प्राकृतिक हो कि मानवीय कारणले हो भन्ने कुरा पत्ता लगाई छोड्ने निधो गरे।
सो कुरा उनले १९५५ मा एउटा सम्मेलनमा प्रस्तुत गरे त्यसपछि पनि उनले यो नतिजालाई अनेक प्रयोग र विधिबाट परिष्कृत गर्दै लगे। २०१५ मा CalTech Media Relation ले प्रकाशित गरेको Getting the Lead Out नामक लेखमा उनको प्रयासबारे विस्तारमा उल्लेख गरिएको छ।
उनले पृथ्वीमा लिडको मात्रा अप्राकृतिक रुपमा अति धेरै छ र यो मानवीय कारणले नै हो भन्ने त स्पष्ट पारे तर उनको प्रमुख चुनौती चाहिँ यसको स्रोतको पहिचान गर्दै त्यसमा स्पष्ट गणितीय समन्ध स्थापित गर्नु थियो। १९२० देखि नै पेट्रोलियम कम्पनीहरुले पेट्रोलियममा Tetraethyl Lead (C8H20Pb) मिसाएर Internal Combustion इन्जिनको कार्यमा सुधार ल्याइएको थियो। लिडको यस्तो प्रभाव थियो कि पानीका पाइपदेखि रङ्हरू, खानाका डिब्बाहरु र बच्चाका खेलौनाहरु सबैमा लिड नै मिसाइएका हुन्थे। पत्रपत्रिकादेखि रेडियो टिभीमा लिड मनुष्यको लागि बरदान जस्तै गरी प्रचार गरिएको थियो। लिड हाम्रो साथी भन्ने नारा नै भैसकेको थियो।
अब Patterson को अनुसन्धानको नजिताहरुले बिस्तारै उद्योगपतिहरुको निद्रा खल्बलिन थालिसकेको थियो विशेषगरी पेट्रोकेमिकल उद्योगहरूको। १९६५ मा Patterson ले Contaminated and Natural Lead Environments of Man नामक शोधपत्र प्रकाशित गरे। त्यसबाट जोगिन Ethyl Corporation ले अर्का वैज्ञानिक Robert A. Kehoe लाई लिड एकदम सुरक्षित छ र वातावरणमा लिडको मात्रा प्राकृतिक रुपमै रहेको छ भनेर प्रचार गराउने अथक प्रयास गर्यो।
Robert A Kehoe ले विभिन्न प्रकाशन र कार्यक्रममार्फत Clair Cameron Patterson को अनुसन्धानको विरुद्धमा आफ्ना अनुसन्धानहरु प्रस्तुत गर्न थाले। सबै उद्योगपति Patterson को विरुद्धमा लागिपरे उनलाई पागल सावित गर्न कुनै ठाउँ बाँकी राखेनन्, उनका अनुसन्धानलाई चाहिने स्रोत र साधन सके जति रोके। तर Clair Cameron Patterson यस्को विरुद्धमा डटेर नै लागे, अब उनले जसरी पनि पृथ्वीको वातावरणमा जुन स्तरको लीड को मात्रा छ त्यो नयाँ थपिएको हो जो नयाँ प्रदूषण (Fresh Contamination) नै हो भनेर तथ्यसहित प्रमाणित गर्नु पर्ने भयो। Patterson लाई मानिसहरूले आलोचना मात्र होइन, उनलाई उपहास र ठट्टाको पात्र बनाए। तर Patterson ले सबैलाई वास्ता नगरिकन आफ्नो अनुसन्धान जारी राखे।
अब उनलाई ठोस प्रमाण चाहिएको थियो। यसलाई प्रमाणित गर्न उनले समुद्रको सतही पानीमा गहिरो पानीमा भन्दा सयौँ गुना लिड रहेको पत्ता लगाए, एन्टर्टिकाको हिउँको पहाड खोतलेर ३०० वर्ष पहिला खसेको हिउँको परीक्षणबाट पनि उनले लिड प्राकृतिक रुपमा वातावरणमा फैलिएको नभै मानिसले उत्पादन गरेको लिडयुक्त वस्तुहरुले पृथ्वीको वातावरण विषाक्त बनाइरहेको छ भन्ने प्रमाणित गरिदिए। जब उनको यो शोधपत्र The Nature भन्ने जर्नलमा छापियो त्यसपछि पनि उनलाई उद्योगपतिहरुले विशेषगरी पेट्रोकेमिकल उद्योगले खेदनसम्म खेदे, उनका वैज्ञानिक अन्वेषणका सबै बजेट रोके, पागल नै साबित गर्न खोजे। तर उनको शोधपत्रमा औँला उठाउने ठाउँ चाहिँ थिएन। उनले स्पष्ट प्रमाणसहित पृथ्वीमा बढिरहेको लिडको मात्रा मानव उत्सर्जित प्रदूषण नै हो भनेर प्रमाणित गरिदिए भने यसको दुष्प्रभावहरुको बारेमा पनि प्रष्ट पारिदिए।
यिनै प्रयासको फलस्वरूप उनको अनुसन्धानले के सावित गरिदियो भने उत्तरी गोलार्धको वातावरणमा लिडको प्राकृतिक स्तरभन्दा झण्डै १ हजार गुणा लिडको मात्रा रहेको छ। यसको स्रोत भनेकै Tetraethyl Lead मिसिएको पेट्रोलियम, कीटनाशक, खानेपानीका पाइप, तयारी खानाका डिब्बाहरु, रङ आदि नै हुन्। यसले मानिसको शारीरिक र मानसिक स्वास्थ्य अति भयानक जोखिममा छन्।
यतिबेलासम्म त उनलाई पनि मानिसहरूले सुन्न थालिसकेका थिए। उद्योगपतिहरुले प्रायोजित गरेका कथित वैज्ञानिक र अनुसन्धानहरुसङ्ग Patterson को प्रश्नको जवाफ थिएन तर Patterson सँग लिड प्रदूषणको स्पष्ट प्रमाण थियो। अन्त्यमा सौभाग्यवश अमेरिकी विभिन्न संस्थाहरु जस्तै अमेरिकी सेना (United States Army), The United States Department of Health & Human Services -HHS (स्वास्थ्य मन्त्रालय जस्तै), आणविक ऊर्जा आयोग (United States Atomic Energy Commission) र National Science Foundation(NSF) हरुका वैज्ञानिकहरूसहित केही अमेरिकी सांसदहरु उनका पक्षमा बलियोसँग उभिए।
अन्त्यमा उनी सफल भए अमेरिकी संसद्ले १९७० मा Clean Air Act पास गर्यो। १९७७ मा घर रङ्गाउने रङ्बाट र १९८६ मा Tetraethyl Lead पेट्रोलियम पदार्थमा पनि निषेध गरियो। १९२२ जुन २ मा अमेरिकाको Iowa राज्यको ग्रामीण इलाकामा जन्मिएका Patterson दोस्रो विश्वयुद्धको खतरनाक हतियार अणुबम निर्माण परियोजना The Manhattan Project हुँदै एक वातावरण योद्धाको रुपमा परिणत भए। २० औँ शताब्दीको सबैभन्दा गम्भीर प्रदूषण लिडलाई प्रतिबन्धित गर्ने लक्ष्य हासिल गर्दै उनी १९९५ डिसेम्बर ५ का दिन अस्ताए।
त अहिले शक्तिशाली उद्योगपतिहरुसँग अधिकार छ। विश्वमा वैज्ञानिक अन्वेषणभन्दा चरमपन्थी विचारधाराहरु र धर्मान्ध शक्तिहरू बढी भन्दा बढी शक्तिशाली हुँदै गइरहेछन्। निकृष्ट लक्ष्य भएका उद्योगपति, चरमपन्थी र धर्मान्ध राजनैतिक नेतृत्वले स्वतन्त्र वैज्ञानिक अनुसन्धानलाई प्रभावित पार्न थालिसकेका छन्। जस्तो कि स्पष्ट रुपमा हामीले जलवायु परिवर्तनका प्रभावहरू देखिरहेका छौँ, हाम्रो लोभ लालच र प्रदूषण, प्राकृतिक साधन स्रोतको अत्यधिक शोषण कारक तत्त्व हुन् भन्ने कुरा अब त बिना वैज्ञानिक अनुसन्धान पनि भन्न सक्ने अवस्था छ। तर पनि प्रयोजकहरु विभिन्न प्रपोगण्डा गर्न छोडेका छैनन्। हामी धेरै कुरामा सावधान सजग हुनु पर्ने अवस्था छ।
त्यो बेलाको लिड प्रदूषण जस्तै अहिले प्लास्टिक हाम्रो लागि त्यस्तै गम्भीर प्रदूषण सावित भएको छ। प्लास्टिकका सूक्ष्म कणहरू आज पानीमा घुलिसकेका छन् प्राणीहरू र वनस्पतिको कोषमा पुगिसकेका छन्। त्यो बेला लिडप्रति रहेको झुकाव जस्तै प्लास्टिकलाई हामी त्याग्न नसक्ने अवस्थामा पुगेका छौँ भने उद्योगीहरु त प्लास्टिकको विरोध पनि सुन्न नसक्ने भइसकेका छन्। Patterson लाई समयमा नसुनेर, अझ उपहास गरेर जुन गल्ती मानव समाजले गरेको थियो त्यो त आखिर सच्चियो। अहिले पनि पर्यावरणको पक्षमा बोल्नेहरुलाई उपहास मात्र होइन, आक्रमण नै गर्ने क्रियाकलाप बढिरहेको छ। समय र अवस्था बिग्रेर हातबाट फुस्कनुअघि सोच्नु पर्ने होइन र?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

