हरेक महिना गरिँदै आएको साहित्यपोस्ट बेस्ट सेलर सूचीमा यस महिना कथासङ्ग्रह ‘रहर’ले बाजी मारेको छ । फागुनकाे बीचतिर फाइनप्रिन्टले बजारमा ल्याएकाे यस पुस्तकले आधा महिनाभित्रै बजारमा आफ्नाे आधिपत्य जमाएकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ । रहर सुरेश बडालकाे पहिलाे पुस्तक हाे । याे पुस्तक अघिल्लाे वर्ष नै बजारमा आउने भनिए तापनि काेराेना महामहारीका कारण एक वर्ष ढिला गरी आयाे । त्यस्तै, गत महिना याे सूचीकाे एक नम्बरमा रहेकाे सेयर बजार विश्लेषक रविन्द्र भट्टराईकाे पुस्तक सेयर मन्त्र यस महिना सूचीकाे तेस्राे स्थानमा झरेकाे छ ।
साहित्यपोस्टले गएको असोज महिनायता बेस्ट सेलर किताबहरुको सूची प्रकाशन गर्दैआएको छ । यसका लागि यस संस्थाले काठमाडौँ उपत्यकाका २०, अनलाइन माध्यमको एउटा र उपत्यका बाहिरका १० वटा स्टेसनलाई बेस्ट सेलर बुकको सूचीलाई आधार बनाइरहेको छ ।
याे महिनाकाे सूचीमा फाइन प्रिन्टबाट बजारमा आएकाे बाबुराम भट्टराई पुस्तक गुमनाम आमाहरूकाे कथा दाेस्राे स्थानमा रहेकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ ।। यस पुस्तकमा बाबुराम भट्टराईले आमाहरूका कथालाई समेटेका छन् । त्यस्तै, अघिल्लाे महिना सूचीकाे दाेस्राे स्थानमा रहेकाे इमन बटलरकाे अनुदित पुस्तक पुँजीवाद याे महिना सूचीबाट बाहिरिएकाे छ ।
विकसित देशहरुमा धेरै पुस्तक पढिने भएकाले त्यहाँका पत्रिकाहरुले हरेक साता बढी बिक्री हुने किताबहरुको सूची सार्वजनिक गर्दै आएका छन् । तीमध्ये सबैभन्दा अमेरिकाको न्युयोर्क टाइम्स र बेलायतको सन्डे टाइम्सको सूची बढी विश्वसनीय मानिन्छ । नेपालमा पनि त्यस किसिमको सुरुवात गोरखापत्रले २०४१ सालमा सुरु गरेको थियो । त्यस बेला न्युरोडको पिपलबोटमा बिक्री भएका किताबको आधारमा उक्त सूची प्रकाशन हुन्थ्यो । पछि पिपलबोटबाहेक अन्य स्थानमा पनि पुस्तक बिक्री हुन थालेपछि त्यो सूचीमा गडबडी हुन थाल्यो ।
त्यसपछि लामो समय नेपाली साहित्यिक पत्रकारिताले यस किसिमको अभ्यास नै गरेन । धेरैपछि अंग्रेजी पत्रिका द काठमाडौँ पोस्टले हरेक आइतबार यस किसिमको सूची प्रकाशन गर्न थालेको थियो । तर नेपालमा पुस्तक बिक्रीको संख्या निकै थोरै भएकाले हरेक साता यस्तो सूची प्रकाशन गर्न गाह्रो भएपछि यो बन्द भयो । साहित्यपोस्टले पनि सुरुमा साप्ताहिक रुपमा यस्तो सूची निकाल्ने योजना बनाएको थियो तर नेपालभरि सातामा एक हजार पुस्तक पनि बिक्री नहुने थाहा भएपछि यसलाई एक महिनामा गर्ने योजना बनाएको हो । यसै नीतिअनुसार यसपटक साहित्यपोस्टले पाँचाैँ महिनाको सूची प्रकाशन गरेको हो ।
पढ्नुहोस्, यसपटक बेस्ट सेलर सूचीमा परेका पुस्तक र बिक्रेताहरुको अनुभवका आधारमा ती पुस्तक बिक्री हुनुका कारणसहितः
१. रहरः
फागुनकाे बीचतिर फाइनप्रिन्टले बजारमा ल्याएकाे यस पुस्तकले आधा महिनाभित्रै बजारमा आफ्नाे आधिपत्य जमाएकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ । रहर सुरेश बडालकाे पहिलाे पुस्तक हाे । याे पुस्तक अघिल्लाे वर्ष नै बजारमा आउने भनिए तापनि काेराेना महामहारीका कारण एक वर्ष ढिला गरी आयाे ।
सुरेश बडाल युवापुस्ताका लाेकप्रिय लेखक हुन् । युवापुस्तामाझ उनकाे फ्यानफलाेइङ लाेभलाेग्दाे छ । यसैकारणले पनि सुरूवाती चरणमै पुस्तककाे व्यापार सुखद भएकाे व्यवसायीहरू बताउँछन् । साथै, पुस्तक आउन साथ देशभर सहजरूपमा उपलब्ध गराइनुले पनि व्यापारमा फाइदा पुगेकाे देखिन्छ ।
२. गुमनाम आमाहरूकाे कथाः
नेपाली राजनीतिमा सबैभन्दा बढी प्रशंसक र सबैभन्दा बढी आलोचक कमाएका नेता हुन्, डा. बाबुराम भट्टराई । सामाजिक सञ्जालहरुमा यिनले लेखेका टिप्पणीहरुमा पनि यसको छनक पाइन्छ । यिनै राजनीतिकर्मीले लेखेको पुस्तक गुमनाम आमाहरूकाे कथा फागुन महिनाकाे साहित्यपाेस्ट बेस्ट सेलर सूचीकाे दोस्राे स्थानमा परेकाे छ ।
यस पुस्तकमा बाबुराम भट्टराईले आमाहरूका कथालाई समेटेका छन् । याे संस्मरणात्कम कृति हाे । याे पुस्तक पनि गत महिना मात्र बजारमा आएकाे हाे ।
३. सेयर मन्त्रः
अघिल्लाे महिना साहित्यपाेस्टकाे याे सूचीकाे पहिलाे स्थानमा रहेकाे सेयर बजार विश्लेषक रविन्द्र भट्टराईकाे पुस्तक सेयर मन्त्र यस महिना सूचीकाे तेस्राे स्थानमा झरेकाे छ । नेपालमा सेयर बजारमाथि लगानी गर्नुपर्ने कुरामा जागरण नै चलेकाे तथा लेखक स्वयम् सेयर बजारमा ज्ञाता भएका कारण यस पुस्तककाे बिक्री राम्राे रहेकाे बिक्रेताहरू बताउँछन् । लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ ।
४. जिजीविषाः
अभिनेत्री मनीषा काेइरालाकाे आत्मकथा जिजीविषा यस महिनाकाे बेस्ट सेलर सूचीकाे चाैथाे नम्बरमा परेकाे छ । यसअघि, पुस महिनाकाे सूचीकाे एक नम्बरमा परेकाे याे पुस्तक माग महिनामा आठाैँ स्थानमा झरेकाे थियाे ।
मनिषा कोइरालालाई क्यान्सर रोग लागेपछिका अनुभूति यस पुस्तकमा समेटिएका हुनाले पनि यस पुस्तकमा पाठकको विशेष रूची रहेको छ । पछिल्लाे समय सञ्जाल तथा सञ्चार माध्यममा अभिनेत्री काेइरालाकाे सक्रियता बढेकाले पनि पुस्तकप्रति पाठककाे चासाे पुनः बढेकाे बिक्रेताहरू बताउँछन् ।
५. करियाः
अघिल्लाे महिना बेस्ट सेलर सूचीकाे दशाैँ स्थानमा परेकाे कृष्ण अविरलकाे इतिहास खाेदलिएकाे उपन्यास करिया यस महिना सूचीकाे पाँचाैँ स्थानमा उक्लिएकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ । यस उपन्यासलाई अजम्बरी पब्लिकेसनले बजारमा ल्याएकाे हाे ।
रक्तकुण्ड जस्ताे सनसनीपूर्ण उपन्यास लेखेर चर्चामा आएका अविरलले पुस्तकमा करिब १०० वर्षअघिकाे राणाकालीन समाज र करिया प्रथा समेटका छन् । उपन्यास खाेज तथा अनुसन्धानमा आधारित छ ।
६. महारानीः

यस वर्षकाे मदन पुरस्कार प्राप्त कृति
शिखा बुक्सबाट बजारमा आएकाे, अघिल्लाे वर्षकाे मदन पुरस्कार विजेता औपन्यासिक कृति महारानी याे महिना पनि बेस्ट सेलर सूचीकाे छैटाैँ स्थानमा रहन सफल भएकाे छ । याे पुस्तक अघिल्लाे महिनाकाे सूचीमा पनि छैटाैँ स्थानमै रहेकाे थियो ।
गएको असोज र कार्तिकमा निरन्तर सूचीको पहिलो स्थानमा रहेको चन्द्रप्रकाश बानियाँको यस उपन्यासको बिक्री तेस्रो महिनादेखि केही सुस्तताको देखिन्छ । यद्यपि साहित्यपाेस्टकाे बेस्टसेलर सूचीमा निरन्तर पर्न सफल महारानी नै एकमात्र कृति हाे । यसको बिक्री काठमाडौँ उपत्यकाको तुलनामा सहरोन्मुख गाउँमा बढी भइरहेको रिपाेर्टहरूले देखाएका छन् ।
७. काेग्लेः
गत महिनाबाट बजारमा आएकाे प्रेमबहादुर बाेहाेराकाे संस्मरणात्मक कृति काेग्ले याे महिनाकाे बेस्ट सेलर सूचीकाे साताैँ स्थानमा पर्न सफल भएकाे छ । यस उपन्यासले नेपालकाे दुर्गम मानिने डाेल्पाकाे कथा बाेलेकाे छ ।
साँग्रिला बुक्सले बजारमा ल्याएकाे यस संस्मरणात्मक कृति काेग्लेभित्र लेखकका बाल्कालका रमाइला किस्सा, स्कुल पढ्नका लागि गरेकाे सङ्ङर्ष, एसएलसीपछि सहरमा रूमलिएकाे यात्रा, सहरबाट हेर्दा देखिएकाे कर्णालीकाे चित्रलगायत समेटिएका छन् । लेखक शिक्षा नेपालका संस्थापक, एक किताब, हाेप र समुन्नत कर्णाली अभियानका अभियन्ता हुन् ।
८. महाभारतमा के छ ?
साहित्यपाेस्टमा भाषिक शुद्धिकरण अभियान चलाएका डा. मतिप्रसाद ढकालकाे पुस्तक महाभारतमा के छ ? फागुन महिनाकाे बेस्ट सेलर सूचीकाे आठाैँ स्थानमा पर्न सफल भएकाे छ । अघिल्लाे महिना यस पुस्तक सूचीकाे पाँचाैँ स्थानमा रहेकाे थियो ।
याे पुस्तकमा महाभारतमा भएका कुराहरू सरल भाषामा बुझाइएका छन् । महाभारत हिन्दूहरूकाे महान् ग्रन्थ भएकाे र यो पुस्तकले महाभारतमाथि नै प्रकाश पारेका हुनाले पनि बिक्री राम्रो भएकाे बिक्रेताहरू जनाउँछन् ।
९. देश देशावरः
माघमा यस सूचीकाे साताैँ स्थानमा परेकाे व्यवसायी जीवा लामिछानेकाे नियात्रा देश देशावर यस महिना सूचीकाे नवाैँ स्थानमा झरेकाे देशभरबाट प्राप्त रिपाेर्टले देखाएकाे छ । याे पुस्तक गएको मंसिरमा साहित्यपोस्ट बेस्ट सेलर सूचीमा प्रथम स्थानमा रहेको थियो ।
यसअघि लामिछानेको नियात्रा संग्रह ‘सरसर्ती संसार’ बजारमा आएको थियो । उक्त पुस्तक पनि दुई वर्षअघि त्यस वर्षको बेस्टसेलर पुस्तक मध्येको एक बनेको थियो । नेपालमा ५ हजार भन्दा बढी बिक्री हुने पुस्तकलाई बेस्टसेलरको उपाधि दिने गरिन्छ । गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष एवं प्रसिद्ध व्यवसायी भएका कारण पनि लामिछानेलाई त्यसको लाभ प्राप्त भएको देखिन्छ । नियात्रामा फरक भूगोलको यात्राभित्रका ज्ञान सरल भाषामा दिएका कारण उनको पुस्तक पाठकहरुले रुचाएको देखिन्छ ।
१०. भष्ट्रचारः
शरदचन्द्र पाैडेलकाे पुस्तक भष्ट्रचारः कारण, परिणाम र नियन्त्रणका उपाय यस महिनाकाे साहित्यपाेस्ट बेस्ट सेलर सूचीकाे अन्तिम अर्थात् दशाैँ स्थानमा पर्न सफल भएकाे छ । भष्ट्रचारका कारण, यसले निम्त्याएकाे परिणाम र नियन्त्रणका उपायहरू मिहीन ढङ्गबाट केलाइएकाे यस पुस्तकलाई साँग्रिला बुक्सले बजारमा ल्याएकाे हाे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

फेरि पनि महाभाराले मार्यो बाजी; ऐतिहासिक कृतिलाई पाठकको प्रेम कायमै
