कवि सिद्धिचरण श्रेष्ठको खण्डकाव्य ‘मंगलमान’ पढेपछि गायक रामेशको मनमा उथलपुथल भयो । र, खण्डकाव्यकै पंक्ति ‘हाम्रो मंगलमान…’ नगाई धर पाएनन् । मंगलमानको जीवन-संघर्ष थाहा पाएका निकटतम मित्र लक्ष्मण राजवंशीले सिंगो कथा नै लेखे ।

सिद्धिचरण स्वयंले आफ्नो जीवनकै उत्कृष्ट कृति मानेका छन्, ‘मंगलमान’ लाई । कविले मात्र नभएर धेरैजसो पाठकले आफ्नो ‘गुड बुक’ को सूचीमा यसलाई राखेका छन् ।

इतिहासको गर्तमा पुरिएको एक बागी पात्र मंगलमान नेपालीमाथि लेखिएको जम्मा ४६ पृष्ठको यो बेजोड जीवनी-काव्य हो । वास्तवमा मंगलमान को थिए र नेपाली समाजमा ‘ब्याक टु मंगलमान’ को लोकआहान कसरी चल्यो त ?

केही वर्ष पहिले इतिहासकार हरिराम जोशीले सिद्धिचरणकृत खण्डकाव्यको फोटोकपी नथमाउन्जेल मलाई ‘ब्याक टु मंगलमान’ को वास्तविक किस्सा थाहा थिएन । र, त्यो थाहा पाएपछि निकै रुचिकर लाग्यो ।

साना-ठूला मुद्दामा मानिस बटुलेर आन्दोलन तताइरहने मंगलमानको बानीबेहोरालाई लिएर डा डिल्लीरमण रेग्मीले भनेका रहेछन्, ‘‘इट इज ब्याक्ड बाई मंगलमान ।’ तर, कतिपयले त्यसलाई शुद्ध उच्चारण गर्न नजानेर ‘ब्याक टु मंगलमान’ भन्न थालेछन् । अहिले पनि सबै क्षेत्रमा ‘ब्याक टु मंगलमान’ वाक्यांश चल्तीमै छ । आ-आफ्नै किसिमले त्यसको अर्थ लगाउने छुट पनि छ ।

यी मंगलमान कस्ता पात्र भने हरेकजसो आन्दोलनमा अग्रपंक्तिमा रहन्थे । नारा भट्याउन, भीड जुटाउन, आन्दोलनकारीहरूलाई लाठी खान र जेल जान हौस्याउने मंगलमान नभएको सडक संघर्ष बिरलै हुन्थे ।

उनका मित्र लक्ष्मण राजवंशीले सम्झेका छन्, ‘मंगलमान उपस्थित नभएका जुलुस, सभा र समारोह नुनबिनाका खाना वा मलामीहरूको भीड वा श्रद्धाञ्जली सभाजस्तै हुन्थे । उनी घरमा भन्दा सडकमा, सडकमा भन्दा जेलमा अधिक बसे, कुनै सत्ता-शक्ति-सम्पत्तिको लोभलालचबिना ।’

मंगलमान विद्रोहको पृष्ठभूमिमा जोडिएको छ, एउटा पुरानो घटना । मिलिटरी फौजलाई घरेलु इलम सिकाउने क्रममा मणिराज उपाध्याय र उनका दाजु जुजुमान प्रधान समातिए, प्रजातन्त्रका लागि राजनीति गरेको आरोपमा । जुजुमानलाई मृत्युदण्ड दिइने भएपछि गारदमा पुगेछन्, मंगलमान र उनका पिता गणेशमान । उनीहरुलाई भनिएछ, ‘जति हेर्न मन लाग्छ, आजै हेर । भोलिपर्सि हेर्न पाउने छैनौ ।’

त्यतिबेला प्रधानमन्त्री पद्मशमशेर थिए भने चिफसाहेब मोहनशमशेर । चिफसाहेबको मृत्युदण्ड प्रस्ताव पद्मशमेशरले सकारेनन् । र, कोर्टमार्सल गरी आजीवन कारावासको सजाय पाएका जुजुमान १२ वर्ष जेल बसेर प्रजातन्त्रको आगमनसँगै छुटे ।

त्यही घटनापछि विद्रोही बनेर निक्लिए, मंगलमान । नेपाल प्रजापरिषद्को प्रजातान्त्रिक आन्दोलनमाथि भएको राज्य–हिंसा देखेका-भोगेका उनी १९९८ देखि नै राजनीतिक रूपमा सामेल भए । यस क्रममा उनी सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल ‘गोठाले’, विजय मल्ल, चन्द्रमान मास्के आदिसँगै जेल बसे । त्यहाँ उनले संकल्प गरे, ‘हरिजन समाजको सुधारमा लाग्छु ।’

जेलबाट निस्कनासाथ मंगलमान हरिजन समुदायमा पुगे । काठमाडौँभित्र पोडे, च्यामे, कुसुले, नाईलगायतका जात हरिजनका रुपमा चिनिन्थे । उनीहरू नेवारभित्रका दलित मानिँदा रहेछन् ।

ती दलित घरघरबाट दिसा–पिसाब उठाएर खेत–खेतमा लगेर मलका रुपमा बेच्थे । धोबीले लुगा धुन्थे भने कुसुलेहरूले सडक सफाइ । नाई (कपाली) भित्र पुरुषले कपाल काटिदिन्थे भने महिलाले नङ । उनका बैंकर भाइ चन्द्रमान प्रधानको आत्मकथा ‘चन्द्रकमलः एक थुँगा’ मा यसको विस्तृत विवरण छ ।

आफू त्यति पढालिखा नभए पनि २००४ असारमा उनले आफ्नै काकाको घर …. मा हरिजन विद्याश्रम खोले । कवि सिद्धिचरणले त्यसको नाम जुराइदिए, नेपाल ज्योत्सना विद्यालय । मंगलमानले स्कुलको हेडमास्टर बनाए धोबीलाई । र, हरिजनका छोराछोरीलाई पढाए ।

 सिद्धिचरणको शब्द्यमा समाजले जहिल्यै भनिरह्यो, ‘थुक्क पशु ! घाँस खा जा छैन तँलाई लाज,  तैँ जस्ताले बनाएर बन्दैन समाज ।’

अछूतका लागि अलग्गै पाठशाला खोल्ने काममा उनलाई महावीर स्कुल खोल्दा सर्वस्वसहित आजन्म काराबासको सजाय पाएका चिनियाँलाल सिंह (जेलमै मृत्यु) का भाइ मदनलोचन, नाति नापित र नूतन थपलियाले सक्दो सहयोग पुर्याएका रहेछन् । संस्थापकको गिरफ्तारी र भारत प्रवासका कारण दुई–तीन वर्षमात्रै चल्यो ।

मंगलमान पोडे समुदायसँग सहभोज गरेको निहुँमा परिवारबाट बहिष्कृत भए । ‘अछूतहरूका लागि अछूतहरूबाटै चलाइएको शिक्षा अभियानका कारण समाजबाटै बहिष्कृत भए । सिद्धिचरणको शब्द्यमा समाजले जहिल्यै भनिरह्यो, ‘थुक्क पशु ! घाँस खा जा छैन तँलाई लाज,  तैँ जस्ताले बनाएर बन्दैन समाज ।’

विक्रम संवत् १९८२ साउनमा त्यौडको घवाननी चोकमा जन्मेका थिए मंगलमान । निकटतम मित्र नूतन थपलियाको स्मृतिबिम्बमा मंगलमान विद्यार्थीकालमा बच्चाहरूका नाइके हुन्थे । हुनेखानेहरूका खोसेर बच्चाहरूबीच बाँडी खानमा मज्जा मान्थे ।

उसो त मंगलमानका पिता पुर्खा राणा शासकका सेवक नै थिए । उनका बाजे फर्पिङबाट उत्पादन हुने बिजुली अड्डामा काम गर्थे । त्यसै कारण बाजेले एक लाइन बिजुली पाएका थिए । तर छरछिमेक र टोल भने अन्धकारै थियो ।

आफ्ना मित्रको चित्र समालोचक कृष्णचन्द्रसिंह प्रधानले यसरी उतारेका छन्, ‘हेर्दा ग्वाँजे-ग्वाँजे लाग्ने, पुड्को-पुड्को, कमिज-सुरुवालमा सधैँभरि हतार-हतारमा हिँडिरहने सर्वहारा अनुहारको मान्छे हो, मंगलमान । डरभर र पीरचिन्ता केही नराख्ने, निर्धक्क हिँड्ने, ‘अछूत’हरूका प्रिय नेता ।’

मंगलमानको लडाकु छवि देखाउने दुई दृष्टान्त हुन्, भेडा-च्याङ्ग्रा काण्ड र खुर्सानी काण्ड । २००८ सालतिर मातृकाप्रसाद कोइरालाको सरकारले दसैँ–तिहारका लागि तिब्बतबाट भेडा–च्याङ्ग्रा ल्याएर बेची नाफा कमाएको उनलाई चित्त बुझेन । जनताको सेवा गर्ने कि नाफाखोरी गर्ने ?

अन्ततः उनले सरकारले ल्याएको भेडा–च्याङ्ग्रा लुटेर जनतालाई परल मोलमा बेचे । त्यसबाट आएको पैसा सरकारकहाँ लगेर बुझाइदिए ।

मातृकाकै सरकारले विदेशी मुद्रा आर्जनका निम्ति भन्दै खुर्सानी विदेश पैठारी गर्यो । बजारमा खुर्सानीको हाहाकार भयो । गरिबहरुले खुर्सानीसँग भात खान पनि पाएनन् ।

मंगलमानलाई झोँक चल्यो र केही साथीसँगै गएर भन्सारका जम्मै खुर्सानी लुटेर बजारमा बेची त्यसको रकम सरकारलाई बुझाइदिए । त्यसपछि स्थानीय खाँचो हेरी पैठारी गर्ने नियम बसालियो ।

यति मात्र होइन, मंगलमानले २००८ मा अछूत समुदायलाई संगठित गरेका थिए, न्यून वैतनिक कर्मचारी संघको नाममा । सहिद गंगालाल श्रेष्ठका पिता अध्यक्ष रहेको संघको आन्दोलनमा उनले च्यामखलः र पोडेहरूको संगठित बलमा काठमाडौँको सरसफाइ ठप्प पारिदिएपछि सरकारले बाध्य भएर कुचीकारको तलब १३ रूपैयाँबाट बढाएर ४५ रूपैयाँ पुर्याउनुपर्यो । त्यसबेला पनि ‘हरिजन’ हरूलाई उचालेको आरोपमा मङ्गलमान जेल बसे ।

उनको कथा यतिमै सकिँदैन, २०१२ सालमा मन्दिर प्रवेशको आन्दोलन चल्यो । पशुपतिनाथको मन्दिरमा हरिजनले पनि प्रवेश पाउनुपर्छ भनेर मंगलमानले अभियानै छेडे । त्यसक्रममा उनी पक्राउ पर्दा भारतीय पत्रिका ‘संसार’ ले हरिजनका नेता मंगलमानको अभियानका बारेमा समाचार प्रकाशित गरेको नूतनले उल्लेख गरेका छन् ।

मंगलमान संघर्षको अर्को नाम हो । नेपाली समाजमा चेतनाको फिलिंगो बाल्ने व्यक्ति । मंगलमानका थुप्रै परिचय छन्, हरिजनका प्रिय नेता, विद्रोही र लडाकु नेता, प्रकाशक-सम्पादक आदि इत्यादि । सबैभन्दा महत्त्पूर्ण पाटो चाहिँ उनले आफूलाई कहिल्यै जातका आधारमा चिनाएनन्, ‘मंगलमान नेपाली’ नै उनको सग्लो र अग्लो परिचय भइदियो ।

उनले ‘नेपाली’ थर राख्नुमा जातीय विभेद, छुवाछूतजस्ता कुप्रथाको अन्त्यको आकांक्षा स्पष्ट छ । उनी भन्थे रे, ‘हामी सबै नेपाली हौं, कुनै उँचनिच छैनौं । किन वर्ण चाहियो, किन जातसात चाहियो ?’

कृष्णचन्द्रसिंह प्रधान भनेका छन्, ‘उनलाई नेपाली होइन कसले भन्थ्यो र ! तर थर नै नेपाली लाग्ने उपनाम राखेर समानता र राष्ट्रियताबोध गरे ।’

कुन सनकमा हो, भारतको विरोधस्वरुप मंगलमानले कुनै बेला नेपाल–पाकिस्तान मैत्री संघ नै खोलेछन् । संस्थामा लक्ष्मण राजवंशी, कमल चित्रकार, माणिकलाल श्रेष्ठ र हिरण्यलाल श्रेष्ठ आदि सदस्य थिए ।

समाजको अभिजातीय वर्गप्रति तीखो घृणा र दमित समुदायप्रति अपार स्नेह थियो उनमा । जातीय विभेद हुने सामाजिक, धार्मिक कार्य देख्दा उनी क्षुब्ध हुन्थे र आफ्नो उग्र स्वभाव प्रकट गरिहाल्थे । एक पटक आमाको सराद्धे गर्न आएका पुरेतलाई कोठाभित्रै ताल्चा लगाइदिएका थिए रे ।

यति हुँदाहुँदै पनि कुनै दल विशेषका थिएनन् । सबैका हितैषी थिए । उनको निकटता भने डिल्लीरमण रेग्मीसँग थियो । कुन सनकमा हो, भारतको विरोधस्वरुप मंगलमानले कुनै बेला नेपाल–पाकिस्तान मैत्री संघ नै खोलेछन् । संस्थामा लक्ष्मण राजवंशी, कमल चित्रकार, माणिकलाल श्रेष्ठ र हिरण्यलाल श्रेष्ठ आदि सदस्य थिए ।

उनी लडाकु मात्र होइनन्, समाजका शिक्षित तप्कालाई सचेत तुल्याउनका लागि ‘भूगोलपार्क’, ‘ममता’ र ‘नेपाली’ गरी तीन वटा दैनिक पत्रिका प्रकाशन गरेका थिए । सरकारले एउटा पत्रिका बन्द गरिदिए उनी अर्को पत्रिका चलाइहाल्थे । प्रधानमन्त्री डाक्टर केआई सिंहलाई ‘ड्राइभर’ लेखेबापत ‘भूगोलपार्क’ को दर्ता नै खारेज भएको थियो ।

उनले २०१४ सालमै भूगोलपार्क दैनिकमा लेखेका रहेछन्, ‘हाम्रा प्यारा प्रजावत्सल राजा एकतन्त्र शासन चलाउने पक्षमा मात्र छैन, बन्दुक र मेसिनगनको आधारमा देशको शासन बागडोर आफ्नो हातमा लिने ताकमा पनि छ ।’

माथि नै भनिसकियो, तिनै हरिजनहरुसितको बसाउठीले गर्दा उनको भातपानी काडियो । त्यसै समुदायमा काम गर्ने क्रममा उनको हिमचिम बढ्यो एक पोडे कन्यासँग । उनीसँग विवाह गरेर सामाजिक विद्रोह गर्न चाहे पनि युवतीले सर्त राखिछन्, ‘काजी, तपाईंले मलाई विवाह गर्नु भए पनि तपाईंको घरपरिवार र समाजले मलाई स्वीकार्दैनन् । मलाई तपाईंको घरभित्र छिर्ने अनुमति मिल्दैन । मेरो काम त फोहोर संकलन गर्दै हिँड्ने हो । यदि तपाईं मसँगै यही टोलमा बस्नुहुन्छ भने मात्र तपाईंसँग विवाह गर्न तयार छु ।’ त्यसपछि उनले विवाहको विषय नै उप्काएनन् ।

साँच्चै भन्ने हो भने ‘जेल-चरी’ थिए मंगलमान । २००७ सालतिर जेलभित्र हाँसोठट्टा चल्थ्यो रे । कोही दुईपटक जेल परेँ भन्थे भने कोही म चारपटक । मंगलमानले भनेछन्, ‘म त योसहित सातपटक’ ।

उनी जेलमै रहेका बेला २००५ मा भोज खाँदा हैजा लागेर उनकी आमा, कान्छी बहिनी र काकाका छोरा बिते । घरभन्दा केही पर वीर अस्पताल भए पनि कसैले अस्पताल लैजाने सोचेनन् । उनको घरमा पिता गणेशमान, साना भाइहरु चन्द्रमान र हिरण्यमानमात्र बँचे ।

समाज सुधारका क्रममा ३६ वर्षे जीवनमै २४–२५ पटक जेल परे मंगलमान । सारा जिन्दगी घर–जेल, जेल–घर गर्दै बित्यो ।

एक पटक उनी बिरामीले थलिएर घरमा एक्लै रहेछन् । एउटा चोर पसेछ । उसलाई देखेर खुसी पो भएछन् मंगलमान । ऊ त जेलमा बस्दाको साथी पो रहेछ । अब त्यही चोर साधु बन्यो । उसकै ओखतीमूलो पाएर मंगलमान निको भए ।

कविले त्यस प्रसंगलाई यसरी लेखेका छन्;

जेलभित्र चिनिएको मिलनसार मित्र

चोर भई पस्यो आज उसकै घरभित्र ।

‘आऊ–आऊ मेरो मित्र’ मंगलमान बोल्यो

कहाँ चोर, कहाँ साथी ठूलो छाती खोल्यो ।

‘कैले आयौ जेलबाट सन्चै छौं कि कसो ?

भोक, प्यास, अत्यासले पाएनौ कि मेसो ?’

चोर भन्छ नम्र बनी ‘आएँ चोर्नलाई

तिम्रो घर यो हो भन्ने के थाहा मलाई ?’

‘बिरामी छु हेर साथी कोही छैन घरमा

औषधि लौ ल्याइदेऊ किनेर बजारमा ।’

बजारमा चोर गई ओखती त्यो ल्यायो

रोग निको नभइन्जेल सेवा उस्ले पायो ।

२०१७ सालमा कांग्रेस सरकारका बेला उनी तत्कालीन युवराज वीरेन्द्रको अपहरण योजना बनाएको अभियोगमा फेरि पक्राउ परे । जेलभित्र टन्न रक्सी ख्वाएर कठोर यातना दिइए पनि मंगलमानबाट कुनै गुप्ती कुरा निस्केन ।

मृत्यु हुनु केही समयअघिसम्म पनि उनी जेलमै थिए । त्यहाँ उनलाई जलग्रह नामक रोगले समात्यो । कारागारमै मृत्यु भए अवगाल आउने भएपछि उनलाई छाडियो ।

७ पुस २०१८ मा रोगबाट उनको इहलीला सकिँदा लास उठाउने पनि कोही भएनन् । न गुठियार, न मित्र, न आफन्त, न छरछिमेक, न इष्टमित्र, न पत्रकार । साँच्चै भन्ने हो भने मलामी नै पाएनन् उनले । त्यसबाट मर्माहत कवि कालीप्रसाद रिजालले कोरे, ‘मंगलमानः एक शब्दचित्र’ ।

तर मंगलमान
भगवतीको मूर्ति चोरिँदा रोयो
राजर्षि महाराज
अमलेख हुँदा पनि रोयो
राजाको स्वर्गबास हुँदा रोयो
गंगालाललाई गोली हान्दा पनि रोयो
तर मंगलमान मर्दा कोही रोएनन्
उसको निधनलाई असामयिक कसैले भनेनन्

यस्ता विशाल बेवास्ताका बीच चितामाथि मंगलमान हुरुहुरु बलेको देखेर कवि सिद्धिचरण भाउन्निए । कसैको मृत्युमा सहानुभूति दिनेको साटो बाटोघाटोमा तर्केर हिँडे कतिपय । यो अवस्था देखेर व्यथित सिद्धिचरण श्रेष्ठको कविमन पग्लियो र २०१८ सालमै खण्डकाव्य लेखे । त्यसमा कविले मंगलमानका पिताको सन्ताप यसरी पोखेका छन्;

गुठियार, नातागोता कोही पनि छैनन्,

वैतरणी तारिदिने पुरेत पनि छैनन् ।

कस्तो पापी संसार यो मेरो छोरो मर्यो

वास्ता गर्ने कोही छैनन् यौटा फूल झर्यो ।

विडम्बना के हो भने मंगलमानको क्रान्तिकारी भावना र विद्रोही चेतका कारण राजसभा स्थायी समितिमा मनोनीत कविले पञ्चायतकालभरि खण्डकाव्य प्रकाशित गर्न सकेनन् । लेखिएको २१ वर्षपछि मात्र यसको प्रकाशनको तारतम्य मिल्यो ।

यस्तो लाग्छ, कवि सिद्धिचरणले आँसुका थोपाथोपाले यो खण्डकाव्य लेखेका छन् । कवि के ठान्छन् भने अन्यायको विरोध नै आमाको सेवा हो । मंगलमानको मृत्युसँगै न्यायनिसाफ पनि मरेको छ ।

‘धर्नाकारी धेरै भएर जेलमा लैजाऊ भन्दा पनि नलाने अवस्था थियो । टियर ग्यास, पानीको फोहोरा छाडेर लखेटिन्थ्यो । थानकोट, फर्पिङ, दक्षिणकालीमा लगेर छोडिन्थ्यो । आन्दोलनकारी राति हिँडेर फर्किनुपर्थ्र्यो । हामीलाई जहाँबाट पक्रेर ल्याएको हो, त्यहीँ छोड भन्दै कसैकसले जबर्जस्ती पनि गर्थे । यस्ता साथीहरूलाई नख्खु जेलमा पनि लगेर राखिन्थ्यो ।’

दिवंगत नेता श्यामलाल श्रेष्ठले २०१४ सालको भद्र अवज्ञा आन्दोलनमा सहभागी मंगलमानलाई यसरी सम्झेका छन्-

‘त्यतिबेला भद्रकालीको अगाडि ठूलो गेट थियो । त्यही गेटमा सुत्न जाँदा पानीको फोहोराले हानियो । दक्षिण ढोकामा बस्न जाँदा पुलिसले समातेर ट्रकमा राख्यो । थापाथलीनिर अहिले धान गोदाम रहेको त्यो ठाउँमा मुनलाइट सिनेमा हल थियो । त्यहाँ ट्रक दुर्घटना हुँदा मंगलमान घाइते भए । उनलाई वीर अस्पताल लैजाँदै गर्दा प्रहरी ज्यादती मुर्दावाद भनेर नारा लाग्यो । बीपी र गणेशमान थापाथली भद्रकाली र माइतीघरको गोरेटोबाटो हुँदै घाइतेहरूलाई भेट्न वीर अस्पताल पुगे ।’

जीवनमा दुइटा चुनावमा उम्मेदवार भएछन्, मंगलमान । २००९ मा भएको काठमाडौँ नगरपालिकाको वडाध्यक्षमा साधना प्रधान (अधिकारी) सँग पराजित भए । उनी हरिजनको प्रतिनिधित्व गर्दै उठे पनि त्यो समुदायले नै मत दिएन । आफूलाई खासै मत कम देखेपछि उनले आफ्नो ढ्वाङ नै घोप्ट्याइदिएछन् ।

२०१५ सालको आमनिर्वाचनमा काठमाडौँ क्षेत्र नं. १ बाट गणेशमान सिंहसँगै खडा भएका थिए मंगलमान । उनको स्वतन्त्र उम्मेदवारीप्रति गणेशमानले कटाक्ष गरेपछि मनोनयन फिर्ता लिए । त्यही चुनावमा गणेशमानका प्रतिद्वन्द्वी थिए, पुष्पलाल । बोरिस पास्तरनाकको उपन्यास ‘डक्टर जिभागो’ च्यापेर हिँड्ने पुष्पलाल भाषण गर्दा रुसको खुब तारिफ गर्थे रे ।

त्यसताका मंगलमानका भाइ चन्द्रमान ‘वादविवाद गोष्ठी’ गरिरहन्थे । आमनिर्वाचनको मुखमा उनले सबै उम्मेदवारलाई बोलाएर अन्तर्क्रिया कार्यक्रम गरे दाजुकै सल्लाहमा । त्यो निर्वाचनमा काठमाडौँको क्षेत्र नं. १ र २ बाट गरी १७ जना उम्मेदवार चुनावी मैदानमा रहेछन् ।

कार्यक्रममा संयुक्त प्रजातन्त्र पार्टीका प्रेमबहादुर शाक्यबाहेक सबै सहभागी भएछन् । चुनावको पूर्वसन्ध्यामा पुष्पलालको र्याली ठूलो निस्केपछि डराएर बनेपा पुगेका गणेशमान विजय हासिल गरेको थाहा पाएपछि मात्र काठमाडौँ फर्किएको ‘चन्द्रकमलः एक थुँगा’ मा चन्द्रमानले लेखेका छन् ।

तर ‘मंगलमान’को विशेष महत्त्व छ । यो उनले खण्डकाव्यमार्फत विभेदमा बाँचिरहेका बन्धुहरूको पीडाको अभिव्यक्ति दिएका छन् ।

वास्तवमा तत्कालीन समाजको शोषण र उत्पीडनको प्रतीक हो, मंगलमान राजनीतिक–सामाजिक परिवर्तनका लागि खरानीमुनिको फिलिंगो । उनको विम्बमै सामाजिक साँघुरोपनविरुद्ध विद्रोहको साहसिक सन्देश छ ।

हुन त सिद्धिचरणका ‘ओखलढुंगा’, ‘विश्वव्यथा’, ‘नवयुवक’ आदि कविता चर्चित छन् । तर ‘मंगलमान’को विशेष महत्त्व छ । यो उनले खण्डकाव्यमार्फत विभेदमा बाँचिरहेका बन्धुहरूको पीडाको अभिव्यक्ति दिएका छन् । उनको काव्य चेतना उम्दा छ ।

मंगलमानको छविभित्र न्याय र समानताको भाव छ । मरेर पनि बाँच्न सकिँदो रहेछ भन्ने पाठ छ । सबैको कल्याणका लागि दियो बनेर आफू अँध्यारोमै बस्ने मंगलमानको चरित्र अनुपम छ ।

सबै खाले अन्याय र उत्पीडनविरुद्ध एक्लै वा साथीहरुसँग मिलेर लड्ने बेमिसाल मंगलमानको कथा किंवदन्तीजस्तो लाग्छ । कवि सिद्धिचरणले एक बागी पुरुषलाई ‘धरतीको ज्युँदो छोरो, सिर्जनाको मोती’ का रुपमा साँचो सम्मान गरेका छन् खण्डकाव्यमार्फत ।

सिद्धिचरण आफैँमा एक प्रेरणादायी कवि हुन् । उनलाई गणेशमान सिंहले क्रान्तिका समयमा मानसिक विचलन आउन नदिने प्रेरणास्रोत मानेका छन् । उनकै प्रेरणा र कविताका कारण आफू राणाविरोधी भएको गणेशमान सिंहको आत्मकथन छ ।

सिद्धिचरणकै कविताको प्रेरणाबाट राजनीतिमा लागेका रहेछन्, सहिद गंगालाल । अर्का नेता मनमोहन अधिकारी उनका कविताबाट अप्रभावित भइरहन सकेनन् ।

कवितामा जागरणका भाषा बोल्ने कवि सिद्धिचरणबारे कवि माधव घिमिरे लेख्छन्, ‘उनी मनमा नलागी कविता लेख्दैनन् । उनी कविताको परिभाषा गरेर त्यसै अनुरूप कविता सिर्जना गर्दैनन् । जसरी माता कुनै सुन्दर मूर्ति हेरेर त्यस्तै सन्तान सिर्जना गर्दिन ।’

ऐतिहासिक अभियन्ता मंगलमानमाथि कवि लेख्छन्;

हिमालको माथि चढी विगुल म फुक्दछु

अन्याय यो सधैँसधैँ हुन्नहुन्न भन्छु

लाखलाख मंगलमान जन्मँदै छन् यहाँ

संग्राम यो जिन्दगानी बदल्दै छन् यहाँ

सिद्धिचरणले थुप्रै कविता लेखेका छन् । कसैले ओखलढुंगा सम्झेलान्, कसैले विश्वव्यथा । तर उनलाई सम्झनुपर्ने कविताचाहिँ ‘मंगलमान’ नै हो । मंगलमान यस्ता पात्र हुन्, जसले राजनीतिमा लागेर जीवनकालभरि केही पाएनन् र मृत्युपश्चात् पनि सम्झनायोग्य ठानिएनन् ।

समाज र देशले कुनै हैसियत नदिएको, उल्टै जीवनभर तनाव थोपरेको एक बागी पात्रलाई काव्यनायक बनाएर सिद्धिचरणले आफैँलाई अमर बनाएका छन् । नेपाली काव्य संसारमा अब मंगलमान पनि बिर्सिंदैनन्, सिद्धिचरण पनि ।

कस्ता कस्ता सज्जनको नलेखेर गाथा
लेख्न थाल्यो त्यस्तो नाथे मंगलमानको गाथा
भन्नेलाई मेरो सानो उत्तर यो भाइ
कामले नै तौलने हो सानोठूलोलाई ।