नेपाली भाषामा अज्ञानका कारण जबरजस्ती प्रयोगमा ल्याइएका धेरै शब्दहरू छन् । केही प्रतिनिधिमूलक शब्दहरू हेरौँ :

१.      पुनरावलोकन

  • यसलाई विन्यास गर्दा “पुनर्+आवलोकन” हुन्छ तर “आवलोकन” भन्ने शब्द नै हुँदैन, अवलोकन शुद्ध शब्द हो ।
  • पुनर्+अवलोकन = पुनरवलोकन नै शुद्ध शब्द हो ।
  • आजसम्म पुनरवलोकन लेखिएको देखिएन; भेटिएन ।

२.      पृथकीकरण

  • ‘करण’ शब्दका अगाडि दीर्घ गराउनुपर्छ भन्ने अल्पज्ञानले पृथकीकरणजस्ता कैयौँ शब्द प्रयोगमा
    ल्याइए । पृथकीकरण अशुद्ध हो तर जताततै यसकै साम्राज्य देखिन्छ ।

    कवीन्द्र लम्साल

  • पृथक् + करण = पृथक्करण (शुद्ध)
  • सामान्यतया यदि पृथक् नभई पृथक हुन्थ्यो भने पृथकीकरण बन्न सक्थ्यो ।

३.      उल्लेखित

सरकारी निकायका पत्रहरूमा अत्यधिक मात्रामा देखिने शब्दहरूमध्ये उल्लेखित पनि एक हो । शुद्ध शब्द ‘उल्लिखित’ (उत्+लिखित) हो ।

४.      छैठौँ

झट्ट हेर्दा संस्कृतको षष्ठ शब्दबाट छैठौँ बनेको हुन सक्ने देखिन्छ तर संस्कृतबाट प्राकृत हुँदै नेपालीमा आउँदा ठकारको लोप भई टकार बच्न जाँदा ‘छैटौँ’ शुद्ध बन्न पुग्छ । छैटौँ प्रयोग गरौँ ।

५.      उपरोक्त

उपरि (संस्कृतमा माथि भन्ने अर्थमा) + युक्त = उपर्युक्त बन्दछ । उपरोक्त अशुद्ध हो ।

६.      दैत्य सम्बन्ध

–           नेपाल र अफ्रिकी मुलुक घानाबीच दैत्य सम्बन्ध कायम भएको छ ।

धेरै पुस्तक तथा कतिपय लेखहरूमा “दैत्य सम्बन्ध” लेखेको देखिन्छ । “दैत्य”को अर्थ असुर/राक्षस/दानव भन्ने
हुन्छ । यहाँ प्रयुक्त “दैत्य” शब्द गलत छ । यहाँनेर शुद्ध शब्द हो “दौत्य” ।

–           यसलाई यसरी भन्नुपर्छ :- नेपाल र … दौत्य सम्बन्ध कायम भएको छ ।

–           “दौत्य सम्बन्ध” भन्नाले देश-देशबीचको कूटनीतिक सम्बन्धलाई बुझाउँछ ।

७.      अन्य केही प्रचलित अशुद्ध शब्दहरू (कोष्ठकमा लेखिएका तिनका शुद्ध रूप हुन्)

संसद (संसद्, संविधानमा संसद लेखेको छ भनेर अशुद्धलाई नै निरन्तरता दिने जमात छ),

मन्त्रीपरिषद (मन्त्रिपरिषद्),

मार्फत् (मार्फत),

वापत् (बापत),

वमोजिम (बमोजिम),

अक्षेरुपि (अक्षरेपि = अक्षरे+अपि = अक्षरेऽपि, अक्षरेपि नेपालीमा),

व्यहोरा (बेहोरा, तद्भव/आगन्तुक वा नेपाली मूल शब्दमा व्य संयुक्त वर्ण नरहेको-केवल तत्सम शब्दमा मात्र रहेको),

राजश्व (राजस्व, संस्कृतमा “श्व” को अर्थ कुकुर हुन्छ ।)

इकाई (एकाइ ‍= एक+आइ (शुद्ध), इक+आई = इकाई जसको नेपालीमा कुनै अर्थ छैन ।)

दोश्रो/तेश्रो (दोस्रो/तेस्रो)

निपूर्ण (निपुण)

भैसकेको (भइसकेको, गइसकेको)

यस्ता थुप्रै शब्द छन् । प्रस्तुत शब्दहरू प्रतिनिधिमात्र हुन् । हामी न शुद्ध लेख्न खोज्छौँ, न शब्दकोश हेर्छौँ, न त अरूले यस्तो शुद्ध हो भन्ने जानकारी गराउँदासमेत सच्चिन्छौँ । समस्या छ । शुद्ध लेखौँ । भाषाको सम्मान गरौँ ।