नेपाली साहित्यमा नारी हस्ताक्षरको उपस्थिति एकदमै कम छ । त्यसमाथि अहिलेभन्दा करिब ७० वर्ष अगाडि किनाराकृत वर्गबाट साहित्यमा प्रवेशको त कुरै जाओस्, घरबाहिर निस्कन समेत हम्मेहम्मे पर्ने समयमा साहित्य लेखनमा होमिन आइन् एक जना कलिली केटी कलकत्तबाट दीक्षित भएर । त्यसबेला नेपालमा उच्च जाति र वर्गको मात्रै वर्चश्व थियो साहित्यमा, उच्च वर्गका महिलाहरु फाट्टफुट्ट लेखनमा देखा परे पनि उच्च शिक्षाको कमि थियो उनीहरुमा पनि । तर भारतको दार्जीलिङमा शिक्षकहरु उच्व वर्गको प्रतिनिधित्व गरे पनि सबै जाति र वर्गकाे समान रुपमा पहुँच थियो शिक्षामा ।

फलस्वरुप सबै जाति र वर्गका मानिसहरुले साहित्य लेखनमा आफूलाई समर्पित गर्न पाए । यस्तो वातावरणमा उनलाई साहित्यमा होमिन प्रेरित गरे पारसमणि प्रधान, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञावाली, लैनसिंह बाङ्देल, शिवकुमार राई, रुपनारायण सिंहा, इन्द्र सुन्दास, अच्छा राई रसिकका लेखहरुले ।  जाति जागरण  लहर एकातिर थियो भने सारा भारतमा स्वतन्त्रको बुलन्द आवाज उठिरहेको थियो। त्यही समयमा उदय भयो लक्खीदेवी सेवाको सन् १९४९ मा ‘ठूलो मान्छे’ लेख ‘गोर्खा’मा छापेर ।  बिहेपछि मात्र उनी लक्खीदेवी सुन्दासको नामले चिनिइन् नेपाली साहित्य आकाशमा । तर एक स्राेतका अनुसार उनको पहिलो लेख हिन्दीमा ‘क्या यह जिन्दगी है ?’ कथा बापु पत्रिकामा सन् १९४५ छापिए थियो । तर सन् १९४८ मा हस्तलिखित पत्रिका कमलमा प्रकाशित बलिदान कथा नै पहिलो कथा थियो होला उनको ।

लक्खीदेवी सुन्दास साहित्यमा जति अब्बल थिइन् अध्ययनमा त्यतिकै लगनशील र तीक्ष्ण । दर्शनशास्त्र र नेपालीमा एमए गरेकी उनले वि.स. २०४६ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरिन्, शोध विषय थियो- नेपाली कविताको विकाशमा दार्जीलिङको कविताको योगदान। उनले कानुनमा स्नातक र हिन्दीमा साहित्यरत्न पनि जोडिन् आफ्नो योग्यतामा । सायद त्यो समयमा यति धेरै योग्यता भएको व्यक्ति कमै थिए होलान्, त्यो पनि महिला सिमान्तकृत समूहबाट ।

लक्खीदेवी सुन्दासलाई धेरैजसो उनका विद्यार्थीहरुले गुरुआमा भनेर सम्बोधन गर्थे । लरेटो कलेज र दार्जीलिङ सरकारी महाविद्यालयमा लामो समयसम्म अध्यापन गरेकी भएर पनि यो सम्मान पाएकी हाेलिन् । गुरुआमालाई देख्ने र भेट्ने अवसर धेरै पाए पनि भलाकुसारी गर्नमा चाहिँ चुकेछु म ।  विद्यार्थी जीवनमा उनको बहुचर्चित कविता “उत्सर्ग“ले मलाई निकै छोएको थियो । सायद यो कविता मैले ९ कक्षामा पढेको जस्तो लाग्छ । कविता यस्तो छः

तिमीले गरेको उत्सर्ग यहाँ

यी कन्दराहरुले देख्ने छ

रगत पसिना एक गराई

हाडहरूको पर्खाल बनाई

अञ्जली आफ्नै मासपिन्दको

कथा इतिहासले साँच्ने छ

देखोस् न देखोस् यो वर्तमान्

भावी पिँढ़ीले देख्ने छ

नभन तिम्रो उत्सर्ग यहाँ

जङ्गली फूल झैँ मर्ने छ

नभन तिम्रो सिद्धिएको आयु

अमूल्य विहिन नै चुक्नेछ

हिसाब किताबको यस युगमा

चुक्ला मूल्य एक एकको

चिसा उत्धारको ठाउँ छैन

कहीँ कसैले छद्म भेषमा

तिम्रो इतिहास लेख्दैछ

तिम्रो सिद्धिएको आयुको

एक एक मूल्य चुक्दैछ

तिम्रो सिद्धिएको आयुको

एक एक मूल्य चुक्दै छ

यसै नहार नभाग

उत्सर्ग गर उत्सर्ग गर

तिमी जीर्ण सिर्न खिइँदै जाऊ

मक्किन्दै  मक्किन्दै भत्किँदै जाऊ

सिपाही प्रहरी मजदुर देशको

नसोच्न यो उपलब्धी कम हो

मृत्युपछि पनि बन्छौँ सहिद

उपाधि तक्मा सम्मान पत्र पनि

पाउँछौँ वीरत्वको अमीट छाप

तिमी देश रत्न कर्मद वीर

आदर्श त्यागका प्रतिमूर्ति नै

चाहिएन परिवार जहान आफ्ना

वसुधैव कुटुम्बकम्  मन्त्रले

रगत पसिना एक गराई

गौरव देशको तिमी बन

उत्सर्ग गर उत्सर्ग गर

तिम्रा छातीका टलक्दार बेयाज

तिम्रा कलकिदार टोपी

पालीस्दार बुटपट्टी

तिम्रा शानका ज्युजल्या प्रतीक

तिम्रा शानका  परेड खेलाई

तिम्रा शानकाे हिँडाइ बसाई

तिम्रो मृत्यु कहिले छैन

अडिक हिमाल झैँ अजर अमर

सुरक्षित इतिहासको पाता तिमीलाई

शुभकामना सम्वेदना राशि राशि

लाखौं लाखौं मुटुका भावना

तिमी होमिँदा युद्ध वेदीमा

प्रार्थना ऋचावेद ध्वनिहरू

यसैले तिम्रो त्याग तिम्रो बलिदान

नगण्य होइन नचुक्ने होइन

गौरव देशको बन्दै आई

उत्सर्ग गर , उत्सर्ग गर ।।

“लक्खीदेवी सुन्दासले थोरै कविता लेखिन्, तर पनि कवितामा जीवनका भोगाइ र कविका ऐकान्तिक अनुभूतिहरुको प्रखर अभिव्यक्ति दिएकी छिन् ।”, कवि-कथाकार भाउपन्थी कविताकोशमा लेख्छन्, “ कवयित्री सुन्दासका कविताहरुमा नारी जीवनका विविध अनुभवहरु र तिनबाट उद्भुत अनुभूतिहरु संयमित र सगठित गद्यशैलीका अभिव्यक्तिहरु छन् । कवितामा दर्शन र विचारको प्राधान्य हुनुभन्दा भावनाको अभिव्यक्ति आउनुपर्ने मान्यता राख्ने कवयित्री सुन्दास गद्यमा कविता लेख्ने गर्छिन् ।”

लक्खीदेवी सुन्दासका कविताहरु सम्भावित अर्थ समर्पित एकान्त  कवितासङ्ग्रहमा समाहित छन् । साझा कवितामा परेको उनको कविता नँया घामको प्रतीक्षामा निकै मनन् योग्य छ ।

प्रतीक्षा छ नयाँ घामको

हाम्रा हिजोका सपनालाई,

विपना तुल्याउन,

आत्माका मौन आवाजहरुलाई

वाणी दिन,

प्रतीक्षा छ नयाँ घामको ।

यो पहाड यत्तिको चिसो थिएन,

जीवन यति विच्छिन्न थिएन,

भोलि त उदाउँछ नयाँ घाम,

न्यानोपना लिएर,

यसरी थमथम्याउँदै

फुल्याउँदै फुल्याउँदै

आएका थियौ आफैँलाई र आफ्नै सन्ततिलाई

कुन मन्त्र, कुन तुजुक रचटकले लाटिएछौ ?

लक्खीदेवी गुरुआमाले कविता र कथाबाट साहित्यिक यात्रा सुरू गरे पनि पछि गएर उनको कलम समालोचनामा सशक्त हुँदै गएको उनको लेखनबाट थाहा पाउँछौँ । नेपाली साहित्यमा सीमित महिलाहरुले कलम चलाएको समयमा यो विधामा हात हाल्नु  लक्खीदेवी गुरुआमाको निम्ति निकै चुनौतीपूर्ण थियो । नेपालबाहिर पनि रामकृष्ष्ण शर्मा, इन्द्रबहादुर राई, गुमानसिंह चाम्लिङ, डिल्लीराम तिम्सिना जस्ता मुर्धन्य समालोचकहरुको जगजगी रहेको बेला समालोचना लेखनमा आउनु लक्खीदेवी गुरुआमाको जीवनमा निकै अर्थ लाग्छ । समालोचना क्षेत्रमा आएर आफ्नो स्वतन्त्र परिचय बनाउनु नै लक्खीदेवी गुरुआमाको निम्ति ठूलो सफलता थियो ।

गुरूआमाले गुमानसिंह चाम्लिङका कविताहरु सम्पादन मात्रै गरिनन्, त्यस कृतिमाथि लामो समालोचनात्मक भूमिका लेखेर चाम्लिङको कविता प्रवृतिमाथि निकै रोचक र गहकिलो चर्चासमेत गरिन् । ओकिउयमा ग्वाइनको बारेमा विस्तृत लेख लेख लेखिन् डा. लक्खीदेवी सुन्दासले सिक्किमबाट प्रकाशित भएको प्रक्रिया पत्रिकामा । यो लेखमा ग्वाइनको जीवनबारेमा धेरै अप्राप्य सूचनाहरु र साहित्यिक यात्राको विस्तृत जानकारी दिएकी छिन् ।

समालोचकका रुपमा डा. लक्खीदेवी सुन्दास शीर्षकको लेखमा समालोचक नवीन पौड्याल लेख्छन्,  “सन् २००८ सालमा प्रकाशित डा. सुन्दासको ‘समय र समीक्षणा’ एक समीक्षात्मक ग्रन्थ हो जुन उनकाे समय समयमा विभिन्न पत्र-पत्रिकामा प्रकाशित समीक्षात्मक लेखहरुकाे सङ्कलन हो । यो ग्रन्थ नेपाली साहित्यका निम्ति एउटा महन् उपलब्धी हो । यसमा विविध विषयक जम्मा छत्तीसवटा समालोचना  छन् । … यसमा कविता विषयक पन्ध्रवटा समीक्षा सङ्कलित छन् । यसका अधिकांश लेखहरु विभिन्न साहित्य सर्जकहरुका कृतित्वमाथि केन्द्रित छन् ।  यसमा समीक्षित सर्जकहरुमा आदिकवि भानुभक्त आचार्य, धरणीधर कोइराला, पारसमणि प्रधान, रुपनारायण सिंह, इन्द्र सुन्दास, हरिप्रसाद गोर्खा राई, गम्भीर राई, धुर्व दवाडी, तुलसी अपतन, शिवकुमार राई, रामकृष्ण शर्मा, अगमसिंह गिरी, इन्द्रबहादुर राई, गुमानसिंह चाम्लिङ, वीरविक्रम गुरङ, जगत छेत्री आदिको कृति र साहित्यिक प्रवृतिको बारेमा लेखिएका छन् । तीमध्ये पनि भानुभक्त आचार्यसम्बन्धी तीनवटा, शिवकुमार राईसम्बन्धी तीनवटा, रुपनारायण सिंहसम्बन्धी तीनवटा, इन्द्रबहादुर राईसम्बन्धी छवटा, अगमसिंह गिरीसम्बन्धी तीनवटा, गुमानसिंह चाम्लिङसम्बन्धी दुईवटा लेखहरु सङ्कलित छन् । यो सर्जक व्यक्तित्वबाहेक विषय विशेषमा आधारित लेखहरु चारवटा जति छन् ।”

दार्जीलिङको विगत परिस्थितिको अवलोकन गर्दा हामी चाल पाउँछौ- दार्जीलिङको नेपाली समाजलाई चाहिएथ्यो एउटा प्रतीक जसलाई उनीहरू श्रद्धा र भक्ति दिई अन्य समाजअघि उभ्याउन सक्थे ।

“दार्जीलिङको नेपाली जीवन र भानुभक्त” शीर्षक लेखमा लक्खीदेवी सुन्दास लेख्छिन्, “दार्जीलिङको विगत परिस्थितिको अवलोकन गर्दा हामी चाल पाउँछौ- दार्जीलिङको नेपाली समाजलाई चाहिएथ्यो एउटा प्रतीक जसलाई उनीहरू श्रद्धा र भक्ति दिई अन्य समाजअघि उभ्याउन सक्थे । दार्जीलिङको त्यस समयको रैथाने प्रवासी जीवन जहाँ सङ्घर्ष थियो, र थियो विकराल रूपमा उभिएको हात र मुख जुटाउने समस्या । त्यस्ता परिस्थितिमा न त साहित्यप्रति केही चासो नै थियो न साहित्यकहरूप्रति आस्था । …रामायण समग्र भारतको धार्मिक ग्रन्थ- राम र सीता ईश्वरका प्रतीक हुनगएको थियो ।”

इन्द्रबहादुर राईको तेस्रो आयाम र लीला लेखनमा लामै विमर्श गरेकी छिन् गुरुआमाले । लीला लेखन पूर्वीय दर्शन  र सिद्धान्तमा आधारित छ भन्ने धारणा व्यक्त गरेकी छिन् उनले ।

कथा लेखनबाट साहित्यमा प्रवेश गरेकी लक्खीदेवी सुन्दास, कथा साहित्यले नै दियो उनलाई सर्वोत्कृष्ट पुरस्कार – सन् २००१ मा आहत अनुभूति कथासङ्ग्रहको निम्ति साहित्य अकादमी पुरस्कार । २५ वर्षको लामो इतिहासमा यो पुरस्कार पाउने पहिलो महिला साहित्यकार भइन् उनी । इन्द्रबहादुर राई लेख्छन् ,” लेखिका मान्य विद्धती हुनुहुन्छ तर लेखनमा बौद्धिक बनिरहन रुचाउनुहुन्न । यथार्थ जीवनमा पनि भावावेगले पुग्नुहुन्छ निर्णय र निष्कर्षमा । कथाहरु भेट्नुहुन्छ उसरी स्थिति, चरित्र घटनाले पहिले संवेदित छ विसइएर। रचयित्रीका आभ्यन्तरिक जीवनी हुन् कथाहरुमा सन्निहित संवेदनाहरु गम्भीर र विस्तीर्ण यी संवेदनसमुच्चय तर पाठकवर्गका साझा भएका छन् । अपेक्षित स्तरीय कथासङ्ग्रह उहाँबाट पाएकोमा हाम्रो हर्ष रेखाङ्कित गर्छौं ।”

प्रबुद्ध कथाकार शरद छेत्री आहत   अनुभूतिको समीक्षा गर्दै सिक्किम साहित्य परिषद्को मुखपत्र ‘कनका” मा लेख्छन,  “ कथासङ्ग्रहमा पर्न गएका सोह्र कथाहरु नै गहकिला छन्, लेखन शैलीले पाठकको मनलाई सहजै आकर्षित पार्छन् भने कथावस्तुले हाम्रै वरिपरिका समाजलाई अनि  मानव-मूल्यको बद्लँदो स्थितिलाई राम्ररी विश्लेषण गर्दै समातेको छन् । कथाका धर्महरु निक्कै हदसम्म यथार्थतर्फ झुकेका जस्ता भएका छन् भने मनोविश्लेषण गर्ने कुशल प्रक्रियाले कथाहरुलाई सधैँ नवीकरण पस्किरहेका लाग्दछन् ।”

नेपाली कथाको इतिहास पुस्तकमा लक्ष्मणप्रसाद गौतम र ज्ञानु अधिकारी ‘आहत अनुभूति’ बारे लेख्छन्, “यस सङ्गृहित सोह्रवटा कथाले मूलतः परिवारिक पृष्ठभूमिलाई अभिव्यक्त गरेका छन्। उनका केही कथाहरु नारीको दुःखपूर्ण स्थितिको चित्रणमा केन्द्रित रहेको देखिन्छ। यिनी समालोचना र निबन्धका क्षेत्रमा पनि सक्रिय छिन् ।”

अहिलेको शिक्षाले ज्ञान दिए पनि विवेक दिन नसकेको दृष्टिकोण अघि सारिएका यिनका कथामा मानवीय अस्तित्वको खोजी पनि गरिएको छ ।

समालोचक लीला लुइटेल अन्नपूर्ण पोस्टमा लाखौं लक्खीदेवी शीर्षकको लेखमा लक्खीदेवीको कथाकारितामाथि लेख्छिन्,  “युगीन जीवनका विकृति, विवशता, अभाव आदिका कारण धराशयी हुन पुगेको मानवीय संवेदना अभिव्यञ्जित लक्खीदेवीका कथामा पितृसत्तात्मक समाजमा नारीले भोग्नुपर्ने शारीरिक एवं मानसिक प्रताडनाहरू समेटिएका छन् । मनोविश्लेषणको प्रधानता पाइने यिनका प्रायः कथामा मानिसभित्र रहेको हीनताग्रन्थीको विश्लेषण गरिएको छ। अहिलेको शिक्षाले ज्ञान दिए पनि विवेक दिन नसकेको दृष्टिकोण अघि सारिएका यिनका कथामा मानवीय अस्तित्वको खोजी पनि गरिएको छ । यिनले रूपनारायण सिंहको भ्रमर उपन्यासकी सहभागी मायालाई प्रयोग गरेर पनि कथा सिर्जना गरेकी छन् । यसरी अग्रज साहित्यकारका पात्रलाई प्रयोगशील ढङ्गले सहभागीको प्रयोग गर्दै नारीवादी अवधारणा अघि सार्नु यिनको कथात्मक वैशिष्ट्य रहेको छ ।”

लक्खीदेवी सुन्दासको अर्को बलियो पक्ष भनेको सम्पादन हो । उनले अकादमी निबन्धावली, नेपाली साहित्य सम्मेलन – कवितासङ्ग्रह,  नेपाली साहित्य सम्मेलन- कथासङ्ग्रह, शिवकुमार राईका सात कथा, गुमानसिंह चामलिङका कविता, भारतीय नेपाली नारी लेखनबाहेक  नेपाली साहित्य सम्मेलनद्वारा प्रकाशित हुने दियालो, पश्चिम बङ्गाल साप्ताहिक र वसुधा आदि पनि सम्पादन गरेकी छिन्।

सानै उमेरमा नै नाटक र एकाङ्की लेखेको देखिन्छ डा. सुन्दासले । विजय आश्रम सन् १९४९ मा कलकत्तामा मञ्चन भएको थियो भने अन्वेषण, आधुनिक युवती, थोत्रो ब्याग आदि एकाङ्की विभिन्न स्थानमा मञ्चन भएको जानकारी पवित्रा रेग्मीद्वारा सम्पादित साहित्य अकादेमी अनि पच्चीस वर्षका पुरस्कृत नेपालली साहित्य नामक पुस्तकमा उल्लेख गरिएको छ । अनुवाद साहित्यमा पनि कलम चलाएकी सुन्दासले अङ्ग्रेजीमा लेखिएको ‘बल्लतोल : मलायम पोइट’ नामक कृतिलाई ‘वल्लतोल’ नाम दिई नेपालीमा अनुवाद गरेकी छिन्।

उनले रत्नश्री स्वर्ण पदक, भानुभक्त पुरस्कार, लोकप्रियादेवी पुरस्कार, सैन्यध्वज–नन्ददेवी पुरस्कार, मोहनलाल साह पुरस्कार, माइकल मधुसूदन दत्त अन्तर्राष्ट्रिय पुरस्कार, भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गरेकी छिन् ।

लक्खीदेवी सुन्दास अध्यापनबाहेक केही समय विभिन्न सरकारी पदमा पनि आसिन थिइन् । नेपाली साहित्य सम्मेलन दार्जीलिङको अध्यक्ष, भारतीय नेपाली नारी साहित्यिक मञ्च वसुधाको अध्यक्ष एवं संरक्षक रहेकी सुन्दासकाे साउन ३० गते २०७६ मा ८५ वर्षको उमेरमा भारतको सिलगुडीमा निधन भएको थियो ।