योग पूर्वीय दर्शनमध्येको सबैभन्दा बढी प्रचलित दर्शन हो । योग दर्शन सांख्य दर्शनसँग जोडिन्छ । पूर्वीय दर्शनहरु नाैवटा रहेका छन्ः ६ वटा आस्तिक र ३ वटा नास्तिक । आमरूपमा नास्तिक भन्नाले ईश्वर नमान्ने भनेर पनि बुझेको पाइन्छ, तर खासमा नास्तिक दर्शनहरु ईश्वरको अस्तित्व स्वीकार नगर्नेभन्दा पनि वेदको अस्तित्व स्वीकार नगर्ने दर्शन हुन् । जसमा बौद्ध, जैन र चारवाक दर्शन पर्दछन् । आस्तिक दर्शन अर्थात् षड्दर्शन अर्थात् वेदलाई मान्ने दर्शन छवटा (न्याय र वैशेशिक, सांख्य र योग,मीमांसा र वेदान्त) रहेका छन् । यीमध्येमा पनि सबैभन्दा प्राचीन शांख्य दर्शन मानिन्छ । केवल प्राचीन मात्र हैन, सबैभन्दा वैज्ञानिक पनि यसै दर्शनलाई मानिन्छ । सांख्य भनेको संख्या हो । जसमा सांख्यले २५ वटा तत्त्वको कुरा गर्दछ । यसका प्रणेता महर्षि कपिल हुन् । यसले प्रकृति जड हुँदाहुँदै पनि सक्रिय छ, तर पुरुष चैतन्य हुँदाहुँदै पनि निष्कृय छ भन्छ । र योगको मुख्य कारण भनेको त्यो प्रकृतिलाई नै गुर्णातित बनाउनको लागि हो । पुरुषसँग मिलाउन अर्थात् उसको वास्तविक रूपको ज्ञान गराउन हो । योग दर्शन सांख्यसँग जोडिन्छ । अब योग दर्शनतर्फ लागौँ;
योग शब्दको अर्थ युज धातुमा घञ प्रत्यय लागेर बनेको छ । जसको अर्थ हो जोड्नु, मिल्नु, मिलन हुनु, संयोग हुनु । योग संयोगको अवस्थालाई समाधि भनिन्छ । यसको मतलब जीवात्मा र परमात्माको समता अवस्था हो । खासमा यसको अर्थ जोड्नु पनि हो, तर त्यतिमात्र हैन यसको ३२ वटा अर्थ रहेका छन् । जसमध्येमा एउटाचाहिँ जोड्नु हो । वैदिक परम्परामा सबैभन्दा बढी लेखिएको साहित्य योग हो । यसका ३० हजारभन्दा पनि बढी साहित्य रहेको अनुमान गरिन्छ । कतै योग चार प्रकारका उल्लेख गरिएको छ । गीतामा कर्मयोग, भक्तियोग, ज्ञानयोग र राजयोगको कुरा गरिएको छ भने कतै हठ योग, मन्त्र योग, लय योग र राजयोगको चर्चा भएको पाइन्छ । योग साधकको प्रकृति हेरेर पनि कुन प्रकारको उपयुक्त हुन्छ र कति वर्षमा फल प्राप्त गरिन्छ भनेर शिवसंहितामा उल्लेख गरिएको छ । खासमा योग २ किसिमका हुन्छन्; वैषेयिक र पारमार्थिक । वैषेयिक भनेको १३ किसिमको जुन विभिन्न विषयसँग सम्बन्धित छ र वैशेषिकबाट आत्मिक सुख प्राप्त गर्न सकिदैन । तर पारमार्थिक योगबाट सुख, शान्ति तथा आनान्द प्राप्त गर्न सकिन्छ । खासमा सबै दर्शनको उद्देश्य दुःखबाट मुक्ति दिनु हो । योग पनि मोक्ष प्राप्तिको साधन हो । योग खासमा अभ्याष, वैराग्य र समाधि हो । अभ्यासभन्दा पनि वैराग्यलाई उत्तम मार्ग पनि मानिन्छ । योगले गर्ने ३ वटा फाइदा;
- अशुद्धि क्षय।
- ज्ञानदीप्तिः ।
- अविवेकख्याति।
योगमा पतञ्जलिको नाम धेरै आउने भए तापनि उनी योगदानकर्ता मात्र हुन् । विभिन्न शास्त्रमा छरिएका सूत्रलाई सूत्रबद्ध गर्ने र अनुशासनमा ढाल्ने कार्य उनले गरे । योगको आदि प्रवक्ता भने हिरण्यगर्भा हुन् । योगमा खासगरी ३ जना हिरण्यगर्भा, महर्षि वेदव्यास र कपिलमूनिको स्थान महत्त्वपूर्ण मानिन्छ । सिलसिलेवररूपमा हेर्दा पतञ्जलि को स्थान ११ औँ नम्बरमा आउँछ । योगका पर्वतकहरू कमशः १. हिरण्यगर्भा, २. महेश्वर, ३. शीवानी, ४.कपिल, ५. पंचसीख, ६. जनक, ७. वशिष्ठ,८. दत्तात्रय, ९. जैगिषन्य, १०. यज्ञवल्क्य, र ११. पतञ्जलि रहेका छन् । त्यसपछि पनि विभिन्न योग ऋषि तथा योगका गुरुहरुले यसको प्रचारप्रसार गरिरहरेका छन् । अब योगको प्रयोगको बारेमा कुरा गरौँ;
सर्वप्रथम योग शब्दको वेदमा प्रयोग;
ऋग्वेदमा प्रवलाम १८ औं शुक्तको ७ औं मन्त्र “योग ईन्ति योग समाधौ” (१. १८. ७) प्रयोग भएको छ । यसै गरी अथर्ववेदमा “योगे योगे तबस्तरं, बाजे बाजे हवामहे सखाप ईन्रमुतयः” (१. १०. ५) अथर्वमा काण्ड, शुक्त र मन्त्र । सामवेद र यजुर्वेदमा पनि योग शब्दको प्रयोग भएको छ ।
योग के हो ? भन्दा पनि योगले नछोएको पाटो नै छैन भन्दा हुन्छ । यो मनलाई प्रसन्न बनाउने माध्यम हो । मुक्तिको मार्ग हो । यो शरीर भाँच्नेभन्दा पर हो । ‘‘सर्वचिन्ता परित्यागो निश्चिन्तो योग उच्यते।’’सम्पूर्ण चिन्ता त्यागेको अवस्था योग हो । योगश्चित्तवृतिनिरोध: योगको परम लक्ष्य चित्तको वृत्ति रोक्नु हो । चित्त माने मन, बुद्धि र अहङ्कार । अझ खासमा योगको उद्देश्य कैवल्य प्राप्ति हो । कठोपनिषद्मा जीवात्मा र परमात्माको कुरा व्याख्या गरिएको छ । एकीकरण हुनु, एकाकार हुनु अर्थात् जीवात्मा र परमात्मा मिलन हुनु योग हो ।
केही शास्त्रीय परिभाषा;
‘योगश्चित्तवृत्तिनिरोधः’’ (पतञ्जलि.यो.सू. १/२) योग चित्त अर्थात् चित्तका वृत्तिहरू निरोध भएको अवस्था योग हो । पतञ्जलिप्रणित योगलाई राजयोग पनि भनिन्छ । यसमा अष्टाङ्गिक योग (यम, नियम, आशन, प्रणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि) रहेका छन् । यसैगरी सिद्धार्थ गौतम (बुद्ध) ले पञ्चशील सिद्धान्त, अष्टशील सिद्धान्त र चतुआर्य सत्यमा, संसार दुःखले व्याप्त छ । दुःखको कारण छ । दुःखलाई अन्त्य गर्न सकिन्छ र दुःख नाश गर्ने उपाय छ भनिएको छ । दुःखबाट मुक्त हुनुलाई निर्वाण भनिन्छ । सबै संस्कार अनित्य हुन् भन्ने कुरा जब प्राज्ञद्वारा बुझिन्छ र देखिन्छ, तब दुःखबाट मुक्त हुने बाटोमा पुग्छ । दुःख निवारण गर्ने अष्टाङ्गीक अर्थात् आठ सम्यक् मार्ग छन् । सम्यक् दृष्टि, सम्यक् संकल्प, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् जीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति (ध्यान) र सम्यक् समाधि छन्, जसलाई आर्य अष्टांगिक योग मार्ग भनिन्छ ।
घेरण्ड ऋषिले मनोकामना सिद्धि तथा सप्तांग योग (षट्कर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान र समाधि) को कुरा गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ – शोधनं दृढता चैव स्थैर्य च लाघवम् । प्रत्यक्षंच विनिर्तिप्तै घटस्थंसप्तसाधम् ।। ९।।
अर्थात् जसबाट शरीर शुद्धीकरण, शरीरको बलियोपना, मनको स्थिरता, शान्तिसहित आत्मा र परमात्माको मिलन हुँदै समाधिको अवस्थासम्म पुगिन्छ । सप्तांग योग र षट्कर्ममार्फत् तान्त्रिक विधिबाट कुण्डलिनी जागरण साधना गरिने यसलाई हठ योग भनिन्छ । हठ योगका मुख्य तिन ग्रन्थहरूमा हठयोगप्रदीपीका शिवसंहिता र घेरन्डसंहिता रहेका छन् भने अन्य हठ रत्नावली, गोरक्षासंहिता लगायतका ग्रन्थहरु रहेका छन् । कुनै ग्रन्थमा कुनै कुरा अलि बढी पाइन्छ । जस्तै घेरन्डसंहितामा शरीर शुद्धीकरण योग डिटक्स धेरै डिटेलमा दिइएको छ । यी सम्पूर्ण ग्रन्थहरु एकअर्काका परिपूरक हुन् । एकले अर्कोलाई काट्दैनन् । बरु थप कुरा दिन्छन् ।
यसैगरी गीताको अनुसार ‘‘योगः कर्मसु कौशलम्’’ (गीता २/५०) अर्थात् कर्मको कौशलता योग हो । कुनै पनि कार्य कौशलतापूर्वक गर्नु योग हो । केवल योग भनेको ध्यान मात्र गर्नु या आशन मात्र गर्नु हैन । कुनै पनि कार्य सजगताका साथ गर्नु योग हो । यसैगरी ‘‘समत्वं योग उच्यते’’ (गीता २/४८) अर्थात् सुख-दुःख, हानि-लाभ, सफलता-असफलता आदि द्वन्द्वहरुमा सम रहेर निष्काम भावद्वारा कर्म गर्नु योग हो । धेरै खाने वा थोरै खान अर्थात् अतियोग या हिनयोग योग हैन बरु सम योग नै योग हो । गीताका १८ अध्याय नै १८ प्रकारका योगहरु रहेका मानिन्छ । त्यसैले महाभारत, रामायाण पुराण, स्मृति सबै ग्रन्थहरु योगका ग्रन्थहरु हुन् भन्न सकिन्छ । यसैगरी गीतामै अध्याय छमा भनिएको छ ‘‘दुःख संयोगवियोगं योग संज्ञितम्’’(गीता ६/२३) अर्थात् दुःखरूप संसारको संयोगबाट रहित हुनुलाई योग नामले सम्बोधन गरिन्छ ।
महोपनिषद्मा योगलाई यसरी व्याख्या गरिएको छ, ‘‘मनः प्रशमनोपायो योग इत्यभिधीयते’’(महो ५/४२) मनको प्रशमन गर्ने उपायलाई योग भनिन्छ । योगले हाम्रो मनमा आएका विभिन्न वृत्तिहरुलाई रोक्ने कार्य गर्दछ । मनलाई प्रशमन गर्दछ । अर्थात् बृद्धिलाई रोक्ने काम गर्दछ । भनिन्छ, जति जीवन साधा हुन्छ त्यति चिन्ता आधा हुन्छ । त्यसैले साधारण जीवनशैली पनि मन-प्रशमन गर्ने एक उपाय हो ।
यो कुरा जब योगीले मनन् गर्दछ । तब योगीलाई न त मृत्युले छुन्छ न रोगले न बुढ्यौलीले नै ।
याज्ञवल्क्य स्मृतिमा महर्षि याज्ञवल्क्य भन्नुहुन्छ, ‘‘संयोग योगयुक्तो इति युक्तो जीवात्मा परमात्मनो।’’अर्थात् जीवात्मा र परमात्माको मिलन नै योग हो । जीवनको परम् लक्ष्य भनेको कैवल्य प्राप्ति हो । निर्वाण हो । मोक्ष हो । जुन योगको परम् लक्ष्य हो । कैवल्योपनिषद्मा भनिएको छ, ‘‘श्रद्धा भक्ति ध्यान योगादवेहि’’अर्थात् श्रद्धा, भक्ति, ध्यानद्वारा आत्माको ज्ञान नै योग हो । विनाश्रद्धा र भक्तिज्ञान आर्जनमा कठिनाई हुन्छ । यदि त्यो नै हो कि हैन भन्ने सशंय भएमा ज्ञान प्राप्तिमा असहजता हुन सक्छ ।
‘‘योगः संयोग इत्यक्तः जीवात्म” विष्णु पुराणमा उल्लेख भएअनुसार जीवात्म र परमात्माको मिलन नै योग हो ।
यी त भए शास्त्रीय मान्यताहरू, अब आजको समयमा हामीले बुझ्दैआएको योग भनेको स्वास्थ्यसँग जोड्नु हो । योग स्वस्थ्य मात्रै हैन, त्यो पनि हो । तर शारीरिक, मानसिक, आध्यात्मिक तथा आत्मीक सबै कुराको सर्वाङ्गीण प्रर्वद्धन योग हो । योगलाई धेरै रूपमा आशनहरू भनेर पनि बुझ्ने गरिन्छ । तर आशन भनेको त सबैभन्दा कम हो । अझ तैत्तिरिय उपनिषद्मा हाम्रो शरीरको पञ्चकोष मोडलको बारेमा बताइएको छ । जसमा हाम्रो शरीरलाई अन्नमय कोष त्यसपछि प्राणमय कोष, मनोमय कोष, विज्ञानमय कोष र आनान्दमय कोष रहेका छन् । हाम्रो शरीरमा लाग्ने रोगहरु मनोमय कोषमा लाग्छन र प्राणमय कोषमा हुँदै हाम्रो अन्नमय कोषमा देखिन्छन् । रोगबाट बच्नको लागि मनलाई सधैँ प्रशन्न राख्नु पर्दछ । “पृथिव्यप्तेजोनिखले समुत्थिते पञ्चात्मके योगगुणे प्रवृत्ते । न तस्य रोगो न जरा न मृत्य प्राप्तस्य योगाग्निमयं शरीरम् ॥” (श्वेताश्वतर २/१२) । हाम्रो शरीर पञ्चतत्त्वले बनेको छ । यो कुरा जब योगीले मनन् गर्दछ । तब योगीलाई न त मृत्युले छुन्छ न रोगले न बुढ्यौलीले नै ।
आजभोलिको जमाना सुपरफास्टको जमाना हो । वैज्ञानिक अनुसन्धान तथा तथ्यलाई आधार मान्ने समय हो । हामी शब्दमा विवाद गरिरहेका छौँ, योग र योगा । पश्चिमाहरूले अनुसन्धान गरे । योगा भने । हामीले केवल विरोध गर्न जानेका छौँ । आफूले काम गर्नु पर्दैन । पर्यो भने भनिहाल्छौँ सबै शास्त्रमा लेखेको छ । जे जति भए तापनि अहिले योगको चार्म बढ्नुमा पश्चिमाहरुको धेरै योगदान छ । नत्र मै पनि योग सिक्न जाँदा यो बूढेसकालमा सिक्ने कुरा अहिले किन भन्ने पनि गर्थे । कतिपटक त लुकेर पनि योग सिक्न गइयो । हुन त च्याउसरि योगका स्टुडियोहरु खुलेका तथा विभिन्न विकृति पनि छन् । शरीरको कुरा हो जथाभावी भाँच्नु पनि हुँदैन । यसको पनि विधि र प्रक्रियाहरु छन् । बग्रेल्ती खोलिएका योग स्टुडियोहरुलाई नियमन गर्न सकिएन भने यसमा विकृति पनि आउन सक्छ । यतिभन्दा भन्दै कयौँ योग स्टुडियोले विदेशीहरु भित्राएर योग पर्यटनमा दिएको भूमिकालाई पनि नकार्न मिल्दैन । सबै कुरा पद्धति र प्रणालीबाट चल्नु पर्यो ।
विभिन्न सोधअनुसन्धानले देखाएअनुसार योगले विभिन्न रोगहरु ठीक पार्ने देखाएको छ । र यसरी रोग विशेषको योगलाई योग थेरापीले हेर्दछ । यो योग थेरापीको लागि योग थेरापिष्ट योग्य तथा तालिम प्राप्त हुनु पर्दछ । योग किन गृह्य भनेका रहेछन् भन्ने कुरा बल्ल आएर बुझिदै छ । योगमा षट्कर्म मध्यको जलनेति गर्दा यदि मुख बन्द गरी गरेमा मानिसको मृत्युसम्म हुन सक्छ । अर्थात् पानीभित्र छिर्न सक्छ । फोक्सोमा पानी पस्न सक्छ । नेति गर्ने विधि छ । मुख खुल्ला गर्नुपर्यो । त्यसैले पनि भनिएको होला, योदबिद्दा परं गोप्य भनेर । योग सिक्नको लागि दक्ष योग शिक्षकको निगरानिमा गर्नु पर्दछ । नत्र अदक्षले ज्ञानको कमि भएका, युटुभको भरमा तथा आफैँले नजानी सिकाउन हतार गर्नेका कारणले योगमा विकृति पनि देखिएका छन् ।
योगको महत्त्वः
‘मनः प्रशमनोपायो योग इत्यभिधीयते’ (महोपनिषद् ५/४२) । मनको सम्पूर्ण शान्ति ल्याउने साधन योग हो । यो परम् विद्यालाई विधिसम्मत प्रयोग गरेर लाभ लिन सकिन्छ । किन भने हेरक कुराको विधि हुन्छ । “आदौ स्थानं तथा कालं मिताहारं तथा परम् । नाडीशुद्धिश्च तत्पश्चात् प्राणायामंच साधयेत्” (घेरन्ड ५/२) योग गर्नको लागि स्थान तथा काल मिताहार तथा नाडीशुद्धि गर्नुपर्छ । त्यसपछि मात्र प्राणायाम गर्नु पर्दछ । यसैगरी हेमन्त शिशिर ग्रिष्म तथा वर्षाऋतुमा प्राणायाम नगर्ने । तथा वसन्त र शरद ऋतु उत्तम रहरेका छन् भनी लेखिएको छ । विधिसम्मत गरेमा लाभ तथा विधिविपरित गरेमा विभिन्न किसिमका रोगहरू निम्तिने घेरन्डसंहिता लगाएतका शास्त्रहरूमा उल्लेख गरेको छ ।
यसो त योगको महत्त्व अनगिनत रहेको छ । तापनि केही मुख्य क्षेत्रहरु समेट्नु पर्दा नेपाल योगभूमि भएको हुनाले योग पर्यटनको विकास गरी देशलाई आर्थिक उन्नतितर्फ लम्काउन सकिन्छ । योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई अम्लपित्त, ढाड दुख्ने समस्या, माइग्रेन, दम, महिनावारी वेदना, महिनावारी अनियमितता, बाझोपन तथा कब्जियत निर्मूल गर्दछ | योगले शरीर तथा मनलाई गहिरो विश्राम दिई प्रतिरक्षा प्रणालीको अति प्रवृत्तिबाट उत्पन्न हुने एलर्जी तथा अटो इम्युन डिसर्डर कम गर्दछ | त्यसैले आमवात, एलर्जीक राइनाइटिस, मल्टिपल स्केलोरोसिस, क्रोन्स डिजिज, अल्सरेटिभ कोलाईटिस, स्पोन्डाइलाईटिस आदि रोगमा फाइदा (Benefit) हुन्छ । योगले मेलाटोनिन, इन्डोर्फिन, अक्सिटोनिनजस्ता रसायन बनाई खुसी, प्रेम तथा आनन्द प्रदान गर्दछ | योगले धूम्रपान, मद्यपान तथा लागूपदार्थको सेवनको चाहना कम गर्छ । शरीरमा एन्टी अक्सिडेन्टको मात्रा बढाइ बुढ्यौली कम गर्दछ | मनलाई शान्त पार्दै मस्तिष्कको क्रियाशीलता बढाउँछ । रोग तथा चोटपटक पछिको पुनर्स्थापनामा सहयोग गर्दछ |
गरौँ योग, रहौँ निरोग, तर सही तरिकाले गरौँ । नेपाललाई योग भूमि बनाउँ । ॐ शान्ति शान्ति शान्ति ।
योगले स्ट्रेस हर्मोन, कोर्टिशलको मात्रा घटाइ तनाव कम गर्दछ | योग तनाव व्यवस्थापनको सबैभन्दा उत्तम माध्यम हो । बानी परिवर्तन, मनमाथि विजय, स्मरणशक्ति बढाउने, अर्धचेतनमनको व्यवस्थापन लगायतका विभिन्न रोगहरुको उपचारमा समेत योग निकै प्रभावकारी भएको छ । योग निद्राले स्मरणशक्ति बढाउने, अवचेतन मनलाई सक्रिय गराउने, शरीरको तापक्रम घटबढ गर्ने, वेभहरुमा नियन्त्रण जस्ता थुप्रै कुराहरु पहिले नै परिक्षण भएका छन् । योग-अभ्यासले मनोसामाजिक रोगहरुको समाधान हुने कुरा प्रमाणित भएको छ ।
योगको प्रयोगले समाजमा रहेका विकृतिहरु हटाउनको लागि नैतिक शिक्षा स्थापित गर्न मद्दत गर्दछ । योग खेलकुदमा प्रयोग गर्न सकिन्छ । यसको महत्त्व व्यापक रहेको छ । गरौँ योग, रहौँ निरोग, तर सही तरिकाले गरौँ । नेपाललाई योग भूमि बनाउँ । ॐ शान्ति शान्ति शान्ति ।
(लेखक डा. बिनोद घिमिरे योग तथा पुनर्स्थापना विशेषज्ञ । डा. घिमिरे आरोग्य नेपालको निर्देशक हुनुहुन्छ । आरोग्य नेपालले एकीकृत स्वास्थ्य प्रवर्द्धनको लागि योग न्याचुरोप्याथी आयुर्वेद मनोपरामर्श जस्ता विधिहरुको प्रयोग गरी बिरामीको उपचार तथा स्वास्थ्य व्यक्तिको हेल्थ प्रमोसनको लागि कार्य गर्दछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

