१. विषय प्रवेश
लघु रूपभन्दा ठुलो र बृहत् रूपभन्दा सानो कविताको रूपलाई मध्यम रूप भनिन्छ । कविताको मध्यम रूपअन्तर्गत खण्डकाव्य र लामो कविता पर्दछन् । लामो कविता फुटकर कविताभन्दा ठुलो र महाकाव्यभन्दा सानो हुन्छ । आकार–प्रकारका दृष्टिकोणले यो बिचमा पर्ने हुनाले यसलाई कविताको मझौला रूप भनिएको हो । अघिल्लो शृङ्खलामा खण्डकाव्यका बारेमा विस्तृत चर्चा गरिएको हुँदा लामो कविताको सैद्धान्तिक चर्चा त्यति धेरै गरिरहनु पर्दैन । खण्डकाव्य र लामो कविता समकक्षी सिर्जना हुन् । खण्डकाव्य पूर्वीय काव्यजगत्को देन हो भने लामो कविता पाश्चात्य काव्यजगत्को देन हो । नेपाली साहित्यमा खण्डकाव्यको आगमन नेपाली कविताको प्राथमिक कालमा नै भएको हो तर लामो कविताको प्रवर्तन भने वि.सं. २०२० पछि मात्र भएको मानिन्छ । यसका आधारमा हर्दा नेपाली साहित्यमा लामो कविताले झन्डै छ दशकको यात्रा पूरा गर्न लागेको देखिन्छ । यस लेखमा त्यही लामो कविताको विधागत चिनारीका साथै रचनाविधानका बारेमा विशेष जानकारी प्रस्तुत गरिएको छ ।

२. लामो कविताको परिचय
पूर्वीय साहित्यमा जसलाई खण्डकाव्य भनिन्छ त्यही प्रकृतिको कवितालाई पाश्चात्य साहित्यमा लामो कविता भनिन्छ । पाश्चात्य काव्यजगत्मा कविताको मध्यम रूपको रचना प्रशस्त भएको पाइन्छ । पाश्चात्य साहित्यमा यस प्रकृतिका रचनालाई रोमान्स, एलिजी, पास्टोरल, लङ पोयम आदि नाम दिइने कुराको उल्लेख डा. माधव पोखरेलले गरेका छन् । नेपाली सन्दर्भमा हेर्दा ‘लङ पोयम’ (लामो कविता) नै बढी प्रचलित देखिन्छ । विषयविन्यास, संरचना विधान तथा सिर्जनाको आयाम आदि जस्ता कुराहरूले गर्दा खण्डकाव्य र लामो कवितालाई समकक्षी भनिएको हो । आन्तरिक संरचनागत स्वरूप र तात्त्विक रूपमा यी दुईमा भिन्नता भए पनि विधागत आयामका दृष्टिले समान देखिन्छन् ।
अङग्रेजीको ‘लङ पोयम’को नेपाली रूप ‘लामो कविता’ हो । विशेषण र विशेष्य रहेको पदावलीबाट ‘लामो कविता’ बनेको पाइन्छ । यसले शाब्दिक रूपमा नै फुटकर कविताभन्दा लामो भन्ने अर्थ प्रदान गरेको छ । खण्डकाव्यको नयाँ रूप लामो कवितामा चाहिँ केन्द्रीय कथ्य विषयवस्तुभित्र आख्यानका टुक्राटुक्री राखी ज्यादा विशृङ्खलता देखिए तापनि त्यहाँ समष्टि प्रभावको न्यूनतम अन्विति तथा बाह्य अस्तव्यस्तता देखिए पनि आन्तरिक न्यूनतम संरचना रहेको ठान्न सकिन्छ भन्ने मान्यता डा. वासुदेव त्रिपाठीको पाइन्छ ।
आकारगत दृष्टिले खण्डकाव्य र लामो कवितामा सामीप्य देखिए पनि आन्तरिक बुनोटमा भने स्पष्ट रूपमा भिन्नता देखिन्छ । डा. लक्ष्मण गौतमले खण्डकाव्यमा जीवनको एक पक्षको चित्रण हुन्छ र यसमा आख्यानको बाक्लो उपस्थिति रहन्छ भने लामो कवितामा आख्यान व्यतिक्रमित वा अव्यतिक्रमित जुनसुकै रूपमा पनि रहन सक्छ र यसमा आख्यानको उपस्थिति पनि बाक्लो वा पातलो पनि हुन सक्छ भनेर यी दुईबिचमा स्पष्ट भिन्नता देखाएका छन् ।
जटिलता लामो कविताको मूलभूत परिचय हो । जीवन जटिल छ, जगत् अव्याख्येय छ र मानव तथा संसारकै भाग्य र भविष्य अनुमानै गर्न नसकिने छ भने सिर्जनाचाहिँ किन सरल हुनुपर्ने ? जीवन र जगत्को जटिलताको चित्राङ्कन सरल भाषाशैलीमा हुनै सक्दैन । जीवन र जगत् जस्तो छ त्यस्तै जटिल कविता हुनुपर्छ । कविता टुक्रा टुक्रामा अर्थिने होइन, पूर्णतामा मात्र अर्थिनुपर्छ र समस्यैसमस्याको जालोभित्र मानवजीवन जेलिएजस्तै शब्दगुम्फन, भावगुम्फन र अर्मूत चिन्तनशीलताको अनौठो भूमरीभित्र कविताको भाव जेलिएको हुनुपर्छ । जसले जस्तो अर्थ लगाउने प्रयास गरे पनि हुन्छ, कविताको अर्थ यही हुनुपर्छ भन्ने बाध्यताको सिर्जना कविले गर्नु हुँदैन भन्ने भिन्न मान्यताका साथ लामा कविताहरूको आगमन भएको देखिन्छ ।

३. लामो कविताको सिर्जनात्मक आगमन
पाश्चात्य परम्परामा लामो कविताको इतिहास पूर्वीय परम्परामा खण्डकाव्यको जस्तो लामो छैन । पश्चिमी साहित्यमा ‘लामो कविता’को जन्म इसाको बिसौँ शताब्दीमा मात्र भएको देखिन्छ । अङ्ग्रेजी साहित्यका कविद्वय टी.एस. इलियट र डब्लु. बी. इट्सका कविताहरूबाट यस्ता खाले रचनाको थालनी भएको मानिन्छ । सन् १९२२ मा प्रकाशित इलियटको ‘द बेस्ट ल्यान्ड’ नामक लामो कविताले यस विधालाई विश्वसामु स्थापित गरायो । यसपछि भने यसको व्यापकता क्रमशः बढ्दै गयो र सबैतिर फैलिने क्रममा लामो कविताले २०२० को दशकबाट नेपाली साहित्यमा पनि प्रवेश ग¥यो । नेपाली खण्डकाव्यको आधुनिक कालमा परिष्कारवादी धारा, स्वच्छन्दतावादी धारा र प्रगतिवादी धारापछि कवि मोहन कोइरालाबाट प्रयोगवादी धाराको थालनी भएको पाइन्छ । यस प्रयोगवादी काव्यधाराको प्रमुख चिनारी नै लामो कविता हो । २०२० पछि कवि वैरागी काइँलाको ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’ (२०२१), मदन रेग्मीको ‘आजाजुजे पहाड र घाउको आँखा’ (२०२१), मोहन कोइरालाको ‘सूर्यदान’ (२०२२) जस्ता सशक्त लामा कविताहरू नेपाली काव्यपरम्परामा देखापरे । कोइरालाको ‘सूर्यदान’लाई कोसेढुङ्गा मानेर नेपाली लामो कविताको युगको आँकलन गर्ने गरिन्छ ।

४. लामो कविता हुनका लागि के के चाहिन्छ ?
लामो कविता प्रयोगवादी कविताकै विकसित वा मध्यम रूप भएकाले कविताका लागि आवश्यक कुराहरू लामो कविताका लागि पनि आवश्यक हुन्छन् । यसमा आख्यानको प्रवेश पूर्ण वा आंशिक दुवै रूपमा हुने गर्दछ । मूर्त वा अमूर्त दुवै कुराको उपस्थितिमा लामो कविता सिर्जना हुन सक्छ । मूर्त कथावस्तु र सरल प्रस्तुति भएका लामा कविताहरू त खण्डकाव्य जत्तिकै मनमोहक लाग्छन् तर अमूर्त विषयवस्तु र चिन्तनको थुप्रो लगाइएका लामा कविताहरू चाहिँ हाडेओखरजत्तिकै लाग्छन् । हुनत, लामो कवितालाई लामो कविता बनाउनका लागि खण्डकाव्यमा जस्तै विषयवस्तु, घटना वा आख्यान, अनुभूतिको आख्यानीकरण, पात्र वा चरित्रको छनोट, अनुकूल परिवेशको छनोट, निश्चित उद्देश्य र वैचारिक धरातलको निर्धारण, लयविधान, भावविधान, विम्ब, प्रतीक र अलङ्कार विधान, भाषाशैली आदि जस्ता सबै तत्त्वहरू अनिवार्य मानिन्छन् तर तिनको व्यवस्थापनमा भने लामो कविताका स्रष्टाहरूले सामान्य मार्ग छनोट नगरेर प्रयोगधर्मी बाटो अवलम्बन गरेको पाइन्छ । त्यस प्रयोगधर्मी मार्गलाई निम्नलिखित बुँदाहरूका आधारमा स्पष्ट पार्न सकिन्छ—

(क) विषयवस्तुको अनौठो संयोजन
लामो कवितामा पनि ‘विषयवस्तु, घटना वा आख्यान’को प्रयोग अवश्य हुन्छ तर त्यो मूर्त रूपमा नभएर अमूर्त रूपमा आएको पाइन्छ । स्पष्टभन्दा अस्पष्ट, दृश्यभन्दा अदृश्य, सरलभन्दा जटिल, स्थूलभन्दा सूक्ष्म, रेखीयभन्दा चक्रीय, सतहीभन्दा गहन रूपमा विषयवस्तुको प्रयोग हुने हुनाले लामा कविताहरू परम्परागत खण्डकाव्यभन्दा जटिल हुने गर्दछन् । लामा कविताका स्रष्टाहरूमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा माक्र्स, डार्बिन र फ्रायडदेखि लिएर नित्सेसम्मका विचार र दर्शनहरूको मिश्रणबाट बनेको अनौठो संयोजन पाइन्छ । जटिल जीवनको चित्रणमा जटिल शब्द (शैलीको) प्रयोग हुनुपर्दछ भन्ने प्रयोगवादी मान्यताका कारण आख्यानविहीन अमूर्तताभित्र शब्दको खेल खेलाउने काम यी स्रष्टाहरूले गरेका हुन्छन् । जीवनका वितृष्णा, कुण्ठा र निस्सारता, भोगाइगत बीभत्सता, कारुण्य र अव्यवस्थितता, सामाजिक जीर्णता, निराशा र विसङ्गत मानवीय वासना, संवेदनहीनता र स्वप्नचेत तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समकालीन वस्तुस्थितिप्रतिको गहिरो दृष्टिकोण छुट्टाछुट्टै नभएर खजमजिएको, गुजमुजिएको र थुप्रिएको अवस्थामा आउने हुनाले विषयवस्तुको अनौठो संयोजन लामा कविताको एउटा विशिष्ट चिनारी बन्ने गरेको छ ।

(ख) भावविधान र शिल्पविधान दुवैमा जटिलताको प्रयोग
‘कविता हुनुपर्छ, अर्थिनु हुन्न’ भन्ने इलियटको भनाइ नै लामा कविताका स्रष्टाहरूको आदर्श मार्ग हुनाले यी कविताहरू स्वाभाविक रूपमा नै जटिल हुने गर्दछन् । पाश्चात्य साहित्यमा प्रचलित प्रतीकवाद, अतियथार्थवाद, विसङ्गतिवाद र अस्तित्ववादको मिश्रणबाट उत्पन्न दुरुह गुम्फनभित्र नेपाली समाजका कथाहरूलाई उन्ने कार्य नेपाली लामा कविताहरूमा भएको पाइन्छ । विषयगत रूपमा जटिल भएपछि शिल्पगत रूपमा जटिल हुनु स्वाभाविक हो । यो बौद्धिक पाठक लक्षित सिर्जना हो । परम्परित रूपमा रैखिक कथावस्तुमा र सरल शिल्पयोजनामा बानी परेका पाठकहरूका लागि लामा कविताको बनोट र बुनोट दुवै दुरुह लाग्न सक्छ तर समकालीन विश्वयथार्थको बोध भएको, विश्वमा जीवित विविध दर्शन, चिन्तन र विचारहरूका बारेमा जानकारी राख्ने र विश्वसाहित्यमा कला सिर्जनाका क्षेत्रमा हुँदै आएका अनेकौँ आन्दोलन र अभियानहरूसँग परिचित बौद्धिक पाठकहरूका लागि भने लामो कविताले छनोट गरेको विषय, भाव र शिल्पयोजना तीनओटै कुरा आकर्षक लाग्ने गर्दछन् ।

(ग) सरलता र जटिलताबिचको द्वन्द्व
सुरु सुरुमा जटिलता लामा कविताको प्रमुख चिनारी बनेको देखिन्छ । एउटै कविको केन्द्रीयतामा रहेर विश्लेषण गर्ने हो भने पनि यो स्थिति स्पष्ट रूपमा देख्न सकिन्छ । २०२२ देखिका डेढ दशक ‘सूर्यदान’, ‘लेक’, ‘पलङ नं. २१’ र ‘नुनशिखर’ जस्ता जटिल लामा कविता लेख्ने कवि मोहन कोइरालाले २०३८ पछि भने सरलतालाई अँगालेको पाइन्छ । कवि कोइरालाका ‘नदी किनारका माझी’, ‘गङ्गाप्रवास’ ‘सिमसारका राजदूत’ जस्ता लामा कवितामा तुलनात्मक रूपमा पाइने सरलता यसको उदाहरण हो । सरल भनिएका लामा कवितामा पनि आख्यानको सूत्रात्मक प्रवेश मात्र भएको पाइन्छ । अनुभूतिको आंशिक आख्यानीकरण, भाषिक जटिलतामा सुधार, दृष्टिकोणमा केही स्पष्टता, बिम्ब र प्रतीकहरूमा केही सरलता, अवचेतन र अमूर्त प्रस्तुतीकरणमा आंशिक सन्तुलन, संरचनामा आंशिक सचेतता आदि सरल भनिएका लामा कविताहरूका मूलभूत विशेषताहरू हुन् ।

उदाहरणका रूपमा हेर्दा वैरागी काइँलाको ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’, मदन रेग्मीको ‘आजाजुजे पहाड र घाउको आँखा’, रत्नशमशेर थापाको ‘क्षितिजको झुल्का आज बोकाको सपना’, ईश्वरवल्लभको ‘मेरी आमाले आत्मा हत्या गरेका देश’, तोया गुरुङको ‘सूर्यदह’, राजन मुकारुङको ‘मिथकमाया’ जस्ता लामा कविताहरू तुलनात्मक रूपमा जटिल मानिन्छन् । यिनमा प्रयोग भएको चिन्तन, दर्शन र प्रस्तुतीकरण बौद्धिक पाठकका लागि मात्र अनुकूल मानिन्छ तर जीवन थिङको ‘नर्सिसस्’, विक्रम सुब्बाको ‘सुम्निमा र पारुहाङ’, कृष्णभूषण बलको ‘दाज्यू तिम्रो हात चाहिन्छ’, युद्धवीर रानाको ‘चिहान नपाएका तक्माहरू’, गोपाल पराजुलीको ‘शब्द–शताब्दी’, दिनेश अधिकारीको ‘इन्द्रजात्रा’, मञ्जुलको ‘सिद्धिचरणहरू’, टङ्क उप्रेतीको ‘गजुर पग्लिएर’, कपिल लामिछानेको ‘अक्टोपसहरू’, रमेश श्रेष्ठको ‘घाँस उखेलिरहेकी केटी’, कृष्ण धरावासीको ‘कान्छी राधा’, विप्लव ढकालको ‘प्रोफेसर शर्माको डायरी’ जस्ता लामा कविताहरू तुलनात्मक रूपमा सरल मानिन्छन् । लामा कविताको सरलता र खण्डकाव्यको जटिलताबिचमा तुलना गर्ने हो भने खण्डकाव्यको जटिलता नै सरल लाग्ने अवस्था देखिन्छ । त्यसैले खण्डकाव्य र लामो कविताबिचमा मात्र होइन, लामो कविताहरूकै बिचमा पनि जटिलता र सरलताबिचको द्वन्द्व पाइन्छ ।

(घ) लयविधानमा विशिष्ट प्रयोग
कवितामा प्रयोग हुने लयहरू मुक्त र बद्ध गरी दुई प्रकारका हुन्छन् । वार्णिक छन्द, मात्रिक छन्द र लोकछन्द बद्ध लयअन्तर्गत पर्दछन् भने मुक्त छन्द एउटा छुट्टै शैली हो । खण्डकाव्य बद्ध र मुक्त दुवै लयमा लेख्न सकिन्छ तर लामो कवितामा प्रायः मुक्त छन्दको प्रयोग हुने गरेको पाइन्छ । मुक्त छन्दलाई गद्य लय पनि भन्ने गरिन्छ तर कवितामा प्रयोग हुने गद्य समाचार, प्रतिवेदन, भाषण वा अन्य गद्य रचनामा प्रयोग हुने गद्यभन्दा फरक हुन्छ । यसमा आन्तरिक सङ्गीत चेतना हुन्छ । बद्ध छन्दमा सङ्गीतको प्रयोग बाह्य रूपमा नै भएको देखिन्छ तर मुक्त छन्दमा आन्तरिक रूपमा भएको पाइन्छ ।
मुक्त छन्दको लयविधानलाई पहिचान गर्ने आधार गण वा सूत्र नभएर भाषिक प्रयोगमा देखिने कला नै हो । त्यो भाषिक कलाको निर्माण निम्नलिखित पाँच तरिकाले हुने गर्दछ—

१) भाषिक विचलन वा व्यतिक्रम
२) आनुप्रासिक अन्तर्गुञ्जन
३) अभिव्यक्तिगत वक्रता
४) तर्कपूर्ण नवीन दृष्टि
५) विम्ब, प्रतीक तथा मिथकको छनोट

उल्लिखित पाँचओटा मूल आधारका केन्द्रीयतामा रहेर तिनका अन्तर्यमा लुकेका भाषिक एवं अभिव्यक्तिगत सामथ्र्य एवं वैशिष्ट्यका आधारमा गद्य कविताको लयविधानलाई चिन्न र प्रयोग गर्न सकिन्छ तर लामो कविताको लयविधानमा भने फरकपन र थप विशिष्टता पाइन्छ । कतै सूत्रात्मक, कतै व्याख्यात्मक, कतै साङ्केतिक, कतै विम्बात्मक, कतै खाली ठाउँ, कतै प्लसमाइनसको सङ्केत, कतै वस्तुविम्बको प्रयोग, कतै शब्दविम्बको प्रयोग आदि जस्ता प्रयोगशीलताबाट अनौठो लयविधान गर्ने प्रवृत्ति लामो कवितामा देखिन्छ । यसमा एक अक्षरको एउटा अनुच्छेददेखि लिएर दुईतीन पृष्ठको एउटा अनुच्छेदसम्मको लयात्मक सङ्कुचन र विस्तरणको प्रयोग भएको पाइन्छ । त्यसैले लामो कविताको लयविधान प्रयोगवादी फुटकर गद्यकविताको भन्दा पनि विशिष्ट प्रकारको हुने गर्दछ ।

५. लामो कविताको आकार कत्रो हुनुपर्छ ?
लामो कविताको आकार यत्रो हुनुपर्छ, यति पृष्ठको र यति अनुच्छेदको नै हुनुपर्छ भन्ने सीमाङ्कन कतै पनि गरिएको पाइँदैन तर नेपाली प्रयोगलाई आधार मान्ने हो भने दशपन्ध्र पृष्ठदेखि १०० पृष्ठभन्दा माथिका लामा कविताहरू नेपालीमा लेखिएका छन् । महाकवि देवकोटाको ‘पागल’, बालकृष्ण समको ‘स्वर्ग र देवता’, भूपी शेरचनको ‘हामी’ जस्ता कविताहरू पनि आकारका दृष्टिले फुटकर कविताभन्दा केही लामा नै देखिन्छन् तर ती लामा कविता होइनन्, फुटकर कविता नै हुन् । कवि मोहन कोइरालाको ‘सिमसारका राजदूत’मा १०८ पृष्ठमा एउटै कविता समेटिएको छ । त्यसैले लामो कवितालाई शब्दसङ्ख्या, अनुच्छेदसङ्ख्या, पृष्ठसङ्ख्या आदिका आधारमा हेर्नेभन्दा पनि त्यसमा प्रयोग भएको विषयवस्तुले मागेको आयातन र परिधिमा नै यसको आयाम निर्धारण हुने गर्दछ ।

६. लामो कविता कसरी लेखिन्छ ?
लामो कविता आफैँमा प्रयोगशील सिर्जना भएका कारण पूर्वनिर्धारित ढाँचा वा रेखामा यो चल्दैन । त्यसमा पनि हरेक लामा कविताहरू आआफ्ना छुट्टै विशेषता बोकेर आएका हुन्छन् । संरचनागत स्वरूपमा नयाँपनको खोजी लामा कविताको आफ्नो चिनारी हो । त्यसैले फरक दुई लेखकका बिचमा पनि फरक प्रवृत्ति देखिन्छ भने एउटै लेखकका दुइटा लामा कवितामा पनि प्रवृत्तिगत एकरूपता पाइँदैन । यति हुँदाहुँदै पनि प्रभावकारी विषय छनोट, नवीन शिल्पविधान र गम्भीर जीवनदर्शनको स्थापना लामा कविताको विशेषता भएको हुनाले कविले लामो कविताको सिर्जना गर्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनु आवश्यक मानिन्छ—

पहिलो चरण: विषयवस्तुको चयन
लामो कविता केका बारेमा वा के विषयमा लेख्ने हो कवि स्पष्ट हुनुपर्छ । लामो कविता जुनसुकै विषयमा पनि लेख्न सकिन्छ । यसमा विषयवस्तुको सरासर स्थापना हुँदैन । यसमा मूर्त विषयलाई अमूर्त रूपमा पनि उभ्याइन्छ र अमूर्त विषयको मूर्तीकरण पनि गरिन्छ । त्यसैले लामो कवितामा सामाजिक घटनाहरूको सरल संयोजन हुनुपर्छ भन्ने छैन । यसमा टुक्रा टुक्रा घटना र आख्यानचूर्णहरूलाई जोडेर एउटा सुन्दर कोलाज निर्माण गर्न सकिन्छ । कवि मोहन कोइरालाको ‘सूर्यदान’मा विषयको डोरो पत्ता लगाउनै गाह्रो हुन्छ भने उनकै ‘सिमसारका राजदूत’मा चितवनको पदमतालमा विश्व चरासङ्ग्रहालय बनाउने विषयमा भएको द्वन्द्वदेखिका हरेक घटनाहरूको रेखाङ्कन गर्न सकिन्छ । विषय छनोटका दृष्टिले हेर्दा वैरागी काइँलाको ‘अस्तित्वको दाबीमा साबातको बैला उत्सव’मा विश्वव्यापी जीवनदर्शन लुकेको छ, ईश्वरवल्लभको ‘मेरी आमाले आत्मा हत्या गरेका देश’मा आशा र निराशाको द्वन्द्वात्मक गतिशीलता पाइन्छ, विक्रम सुब्बाको ‘सुम्निमा र पारुहाङ’ र राजन मुकारुङको ‘मिथकमाया’मा किरात समुदायमा प्रचलित र मुन्धुम अभिप्रेरित मिथकको सुन्दर प्रयोग पाइन्छ, दिनेश अधिकारीको ‘इन्द्रजात्रा’मा सांस्कृतिक विम्बबाट समाजलाई चियाइएको पाइन्छ, कपिल लामिछानेको ‘अक्टोपसहरू’मा समुद्री जीव अक्टोपसलाई विम्ब बनाएर मानवीय चरित्रको उद्घाटन गरिएको पाइन्छ भने विप्लव ढकालको ‘प्रोफेसर शर्माको डायरी’मा एउटा प्रोफेसरलाई माध्यम बनाएर समयानुकूल आफूलाई परिवर्तन गर्न नसक्ने व्यक्ति, समाज र विश्वचेतनाको पुरातन सोच र व्यवहारप्रति विमति जनाइएको छ । यसरी लामो कविताको एउटा विषयमा सिङ्गो विश्वचिन्तन समेटिन सक्ने हुनाले यसमा कविको खुबी सशक्त देखिन्छ । विषयवस्तुको छनोट कवि आफैँले गर्ने हो । त्यो विषय जुनसुकै क्षेत्रको पनि हुन सक्छ ।

दोस्रो चरण: कुनै एउटा नवीन शैली र शिल्पको छनोट गरी खेस्रा लेखन
यस चरणमा लामो कविताको पूर्वस्थापित सिद्धान्तमा केन्द्रित रहेर अथवा आफैँले कुनै एउटा शैली निर्माण गरेर कविता रचना गर्न थाल्नुपर्छ । यसका लागि विषयवस्तुअनुकूल पात्र, परिवेश, उद्देश्य आदिको निर्धारण गर्न सकिन्छ । विषयवस्तुलाई जीवन्त बनाउन र शक्तिशाली भाव निर्माण गर्नका लागि आवश्यक विम्ब, प्रतीक र अलङ्कारहरूको छनोट गर्नुपर्छ । फरक प्रकृतिको भाषाशैली र नवीन प्रकृतिको प्रस्तुतीकरणको चयन गर्नुपर्छ । बौद्धिकताको उच्चतम प्रयोग गरेर निर्धारित विषयवस्तुभित्र नै विश्वचेतनाको प्रतिविम्बन गर्न सक्नुपर्छ । यसरी कतै हार्दिकता र कतै बौद्धिकताको प्रयोगका साथ कवित्वको विस्तार गर्दै जानुपर्छ । लामो कवितामा हार्दिकताको भन्दा पनि बौद्धिकताको प्रयोग नै मुख्य मानिन्छ । त्यसमा पनि विषय वा प्रसङ्गमा केही फरक मोड दिनुपर्ने भएमा त्यसलाई विभिन्न परिच्छेद वा खण्डमा विभाजन गर्न सकिन्छ । एउटै विषय र घटनाको निरन्तरता छ भने चाहिँ कुनै परिच्छेद विभाजन नगरी अगाडि बढ्न सकिन्छ र फरक विषय छ भने अलग अलग शीर्षक दिएर लेख्न पनि सकिन्छ । यसरी विषयवस्तु र कवित्वलाई मिश्रण गराउँदै कविताको एउटा विशिष्ट संरचना निर्माण गरी लामो कविताको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरण: आवश्यक परिमार्जन गरी साफी लेखन
यस चरणमा स्रष्टाले आफ्नै सिर्जनालाई पनि निष्पक्ष पाठक बनेर पढ्नुपर्छ । पाठक बनेर पढ्दा आफूलाई खड्केका कुनै कुरा भए तिनलाई आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा विषय, तर्क, दृष्टान्त, विम्ब वा प्रतीक छनोटमा केही दोषहरू भए तिनलाई हटाउनुपर्छ । यसका साथै कुनै शब्दचयनमा आफूलाई चित्त बुझेन भने वा अभिव्यक्तिलाई अझै आलङ्कारिक र कलात्मक बनाउन मन लाग्यो भने त्यसलाई पनि परिष्कार गर्नुपर्छ । यति भइसकेपछि अब आफैँ समालोचक बनेर भावपक्ष र शिल्पपक्ष दुवैको निर्मम समीक्षा गर्नुपर्छ । त्यसमा पनि केही अभाव देखिएमा पुनः परिमार्जन गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ अनि मात्र त्यो लामो कविता प्रकाशन योग्य हुन्छ ।

यी कुराहरू सिकारु चरणका कविहरूका लागि हुन् तर सिद्धहस्त कविले त एकैपटकमा एउटा लामो कविताको साफी लेखन नै गर्न सक्छ । अन्त्यमा एउटा सुन्दर, सशक्त र युगीन लामो कविता सिर्जनाका लागि भने निम्नलिखित कुराहरूमा ध्यान दिनु राम्रो मानिन्छ—

— जीवन र जगत्का जुनसुकै क्षेत्रबाट विषयवस्तुको छनोट,
— विषयप्रतिको गम्भीर दृष्टिकोण, विषय र कवित्वको अन्तर्घुलन र शक्तिशाली भावनिर्माण,
— बौद्धिकता र प्रयोगशीलताको उच्चतम प्रयोग,
— विषयछनोट, विम्बछनोट, भाषाछनोट र शिल्पयोजना आदि सबै कुरामा नवीनताको अनुभूति,
— आन्तरिक सङ्गीत चेतनासहितको मुक्त लयमा प्रयोगधर्मी कवित्वको प्रकटीकरण गरी लामो कविता सिर्जना, निष्पक्ष पाठक बनी प्रथम पठन र परिमार्जन, गुणदोषको परीक्षणसहितको समालोचनात्मक दृष्टि राखी भाव र शिल्प दुवैको समीक्षापछि अन्तिम स्वरूप प्रदान र प्रकाशन ।

७. निष्कर्ष
नेपाली लामो कविता परम्परालाई हेर्ने हो भने २०२२ सालदेखि हालसम्म आइपुग्दा सयौँ लामा कविताहरू सिर्जना भएका छन् । यति हुँदाहुँदै पनि गुणात्मक मूल्यका दृष्टिले एकदुई दर्जन लामा कविताहरू मात्र उदाहरणीय छन् । गद्य भाषाको प्रयोग भएका र विषयवस्तुको सरासर वर्णन गरिएका लामा कविताहरूको सङ्ख्या पनि उल्लेखनीय देखिन्छ । लामो कविताको जीवन विषयवस्तुको वर्णनसँग नभएर कवित्वसँग जोडिएको हुन्छ । यस आधारमा हेर्दा अबको लामो कविता लेखन मात्रात्मक प्रतिस्पर्धामा नभएर गुणात्मक प्रतिस्पर्धामा जानुपर्ने देखिन्छ । सर्वसाधारण पाठकका लागि यो दुरुह लाग्न सक्ला तर बौद्धिक तथा नवीनताप्रति जिज्ञासु पाठकहरूका लागि यो वरदान नै मानिन्छ । त्यसैले समयको माग, युगको आवश्यकता र पाठकको अपेक्षाअनुकूल वर्तमान विश्वचेतना, ज्ञानविज्ञान र मनोविज्ञानको प्रतिनिधित्व गर्न सक्ने लामा कविताहरू आउन सक्ने हो भने यसले नेपाली कवितालाई विश्वबजारमा पु¥याउन ठुलो सहयोग पु¥याउने कुरा निर्विवाद छ ।

क्रमशः अर्को हप्ता….