प्रिय कवि हरि अधिकारी पाँचौँ खेप पाताल प्रवासिएको पनि तीन वर्ष पूरा भइसकेछ । मङ्सिरको आखिरीतिर उनको प्रकाशोन्मुख पुस्तक ‘सङ्कलित गद्यरचना’ को डिजिटल–पाण्डुलिपि खोतल्दा पो झल्याँस्स भएँ । यतिका दिनसम्म पनि मलाई हरि दाइ सात समुद्रपारिको देश अमेरिकामा छन् भन्ने कहिल्यै लागेनछ । सदैव लागिरहँदो रहेछ- हाम्रा हरि दाइ काभ्रेको कुशादेवी, भक्तपुरको देउजा गाउँ या काठमाडौ‘को बागबजार या यतै कतै छन् ।

यहाँ पनि हरि दाइसँग उस्तो नियमित भेटघाट नै त कहाँ हुन्थ्यो र ! मेरो काम पर्दा या दाइले खोज्दा भेटिने त उही हातेफोन या भर्चुअल प्लेटफर्ममै हो । मलाई उनी यतै कतै छन् भन्ने त्यस्तो ‘भर्चुअल भ्रम’ किन भयो होला भने विभिन्न पत्रपत्रिका र अनलाइनहरूमा निरन्तर रूपमा उनका तीक्ष्ण लेखोट आइरहन्छन् । रेडियो, टेलिभिजन च्यानललाई तात्तातो अन्तर्वार्ता दिएर छाइरहन्छन् ।

यतै भएको भान हुने गरी फेसबुकको भित्तो (ट्विटरमा भेटिँदैनन्) मा हरेक विषयमा साइबर सिपाही जत्तिकै फूर्तिफार्तीका साथ भिडिरहेका हुन्छन् । हिट हुनु हरि अधिकारीको विशेषता नै हो । उनका कथा, कविता, लेख, समीक्षा र अन्तर्वार्ता सबथोक हिटै हुन्छन् । म छक्क पर्छु, साहित्य, राजनीति, सिनेमा, सङ्गीत, समाज सबैखाले विधामा उत्तिकै रफ्तार छ हरि दाइको । फेसबुक स्टाटस पनि लेखोटजत्तिकै लमाइको लेखिदिन्छन् । उनको सुललित गद्यमा गण्डकीजस्तै गतिमान प्रवाह छ ।

प्रस्तुत पुस्तकको ‘असीमित अवसरहरूको देशमा एक जोडी नेपाली’ शीर्षक निबन्धमा म निकैबेर घोत्लिएछु । अमेरिकाको उत्तरी भर्जिनियाको सेन्ट्रल्भिल फोर्ट नजिक रहेको आवासीय भवन समूह ‘एल्म्स’ परिसरभित्रको दुईकोठे रैनबसेरामा रहेर मनको मसीले लेखिएको निबन्ध हो यो । छोरा अभिनव, बुहारी सुस्मिता र नातिनी अनुष्काको तीन सदस्यीय परिवारका पाहुना या अनुल्लेख्य हिस्साका रूपमा रहेर उनले त्यहाँको परिवेश र जनजीवनको सजीव प्रत्यक्ष वर्णन गरेका छन् ।

केही समय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निकटतम सहायक रहेका र कुनै वित्तीय संस्थामा राम्रै जागिर गरिरहेका छोरा र बहुप्रशंसित कराते खेलाडी सुस्मिता कँडेलको विवाहमा माइती पक्ष राजी नभएकोदेखि सन् २००९ मा डीभी-चिट्ठा परेर अमेरिका पसेपछिको ‘ढाड भाँच्ने हदसम्मको शारीरिक श्रमको कोलमा लगेर जोत्ने घन्टे जागिर’ को तमासा देख्नु परेको आत्मालाप छ यसमा ।

फगत गफ तन्काउनका लागि भए पनि म भर्चुअल्ली सोधिरहन्थेँ, ‘दाइ कहिले फर्कने ?’ हरि दाइ यो वा त्यो तारेख बताइरहन्थे । फिर्तीको भाका सार्दासार्दै विश्वव्यापी रूपमा कोभिड-१९ को कहर आइलाग्यो । अब त सोध्नु पनि एउटा फजुलजस्तो हुन थाल्यो । यो निबन्धमा मलाई किन घत लागेको हो भने अब हरि दाइ ‘भिजिटर’ या ‘टुरिस्ट’ होइनन्, उनले ढुक्कै स्थायी बसोवास अनुमतिपत्र समेत लिइसकेका रहेछन् ।

‘म किन यहाँ बसिरहेको छु ? मलाई थाहा छैन । वास्तवमा यस विषयमा आफैँसँग गम्भीरताका साथ विमर्श गर्ने आँट पनि छैन मसँग । एक्लै हुँदा कहिलेकाहीँ जब यसो घोरिएर सोच्न थाल्दछु, त्यतिबेला भने मलाई आफ्नो यो अमेरिका बसाइ एकदम वाहियात लाग्न थाल्दछ । अनि म एउटा मान्छेले जीवनमा सद्देभन्दा वाहियात काम नै ज्यादा गर्दछ भनेर कुनै ज्ञानी पुरुषले भनेको सुविचारित वाक्य सम्झिन्छु र मनमनै हाँस्दछु ।’

दुई दशकभन्दा पुरानो चिनजानका आधारमा म हरि दाइको इतिहास धेरथोर जान्दछु । राजनीतिमा होस् कि साहित्यमा, पत्रकारितामा होस् कि अन्यान्य क्षेत्रमा उनी ज्याद्रा प्राणी हुन् । हरि दाइको दुई गोठको विस्तारित परिवारमध्ये अमेरिकामा उनका छोरा अभिनव र छोरी अनुपमाको परिवारमात्र छन् । तर उनी बाहुनी प्रभासहितको परिवारसँग अलग्गिएर अमेरिकामै किन अड्डी कसिरहेका छन् ? मैले सजिलै बुझ्न सकेको छैन ।

मलाई थाहा छ, उनी सधैँका लागि अमेरिका गएका होइनन् । उमेर अवस्थाले गर्दा पनि सम्भवतः अमेरिकामा उनको लेखन-पठनबाहेक अरू कामधाम छैन । बढीमा चिसो हाई-हेलो चल्ने र हावा समेत पराई लाग्ने अनात्मीय परिवेशमा यति लामो समयसम्म कसरी टिकिरहेका छन् त हरि अधिकारी ? उनैले लेखेका छन्, ‘मेरा दुइटा सन्तान र मलाई समेत आश्रय दिइरहेको यो महान् राष्ट्रका जनताको असहायपना देखेर मेरो हृदय विदीर्ण बनेको छ ।’

त्यसो त नेपालमा हरि अधिकारीको केही नाम भए पनि काम र दाम थिएन भन्ने अद्भुत दृष्टान्त हो, ‘बस बिसौनीमा पर्खिबस्दा’ । हरि दाइले पाँच दशक सङ्घर्ष गर्दा पनि काठमाडौँ सहरको काँठ क्षेत्रको कुनै गाउँको एउटा कुनासम्ममा पनि आफ्नो स्थायी थातबासको व्यवस्था गर्न सकेनन् । आफ्ना लागि घोडा-गाडीको बन्दोबस्त पनि गर्न सकेनन् । उनी कुरा चपाउन जान्दैनन्, खस्रो बोल्छन्, चाकरी-चाप्लुसी गर्दैनन् । अरूले त्यसलाई नै कमजोरी आँकेको स्थितिमा उनलाई आफू ‘अन्डररेटेट’ भान पनि भयो होला ।

यसबीचमा उपत्यकाको पूर्वीछेउ देउजा गाउँ (भक्तपुर) को सानो ग्रामीण बस्तीमा एउटा छानो उठाएर आफूलाई खाँट्टी काँठेको हुलियामा बदले । अरू काँठेजस्तै साबिक नङ्खेल गाविसको जोरपाटी बस-बिसौनीमा उभिएर बनेपा-धुलिखेल-पनौतीको बसबाट पश्चिममा भक्तपुर र काठमाडौँसम्म र पूर्वमा धुलिखेल-पनौतीसम्मको यात्रा गरे । चाडपर्वहरूमा दिनभरि धुलिखेल र पनौतीबाट आउने बस चढ्न नसकेर उदास भई घर फर्के पनि ।

यहाँनेर मैले हरि दाइको विवशतालाई भावुकताको मरमसला बनाउन चाहेको होइन । उनी कसैसित सम्झौता गर्दैनन् र कसैको सहानुभूति लिएर बाँच्न जान्दैनन् पनि । जति निर्भीक लेखक या जति स्वतन्त्रता सेनानी भए पनि आखिरमा उनको जीवन आम नेपालीभन्दा फरक थिएन र छैन ।

नयाँ पुस्तकमा हरि दाइको निजी जीवनका घामछाया भेटिन्छन् । तिनलाई उनको ‘सेल्फ पोट्रेट’ भने पनि हुन्छ । तिनमा बेलाबखत उनको स्वकीय शैली पनि प्रकट हुन्छ । ‘काठमाडौँ, नेवाः खाजाघर र मेरो राज्य’ पढेपछि म हरि दाइप्रति नतमस्तक भएँ । काठमाडौँसित एकाकार हुन नसक्ने उनको बाहिरिया व्यक्तित्व देखेर भाउन्न पनि भयो । ४० वर्ष बिताएको काठमाडौँको डेराबास उठाएर २०५७ सालमा परिवारलाई भक्तपुरको देउजागाउँ पुर्याउनु एकखाले ‘पोएटिक जस्टिस’ नै थियो होला ।

‘त्यस सहरको आसपास एउटा घर बनाएर त्यसलाई आफ्नो एउटा ठेगाना बनाउन नसकेको भए पनि जीवन र जगत्लाई हेर्न र बुझ्न मैले पाएको पहिलो शक्तिशाली लेन्सका रूपमा काठमाडौँले मेरो व्यक्तित्वलाई आकार दिएको हो, मभित्रको सततः जिज्ञासु मान्छेलाई जगाएको हो । त्यसैले म जहाँ पुगेर थन्किए पनि काठमाडौँ मेरो मानसमा र मेरो स्मृति-विम्बमा सधैँका लागि जमठ भएर बसेको छ,’ उनी लेख्छन्, ‘….काठमाडौँको मनपर्ने आफन्त भने म कहिल्यै हुन सकिनँ । … काठमाडौँका असङ्ख्य गल्ली-गल्छेँडामा चलिरहेका अनगन्ती रक्सीपसलहरूले मात्र हो मलाई खुल्ला हृदयले स्वीकारेर आफ्नो खासै भित्रिया मानेको ।’

‘देशको राजधानी नगरमा मेरो हार्दिक स्वागत त कहिल्यै भएन । तर हेला गरिएँ पनि म भन्दिनँ । एउटा अस्तित्वहीनजस्तै परचक्री तर उसको अविभाज्य छाया भएर मैले धेरै समयसम्म आफूलाई काठमाडौँ सँगसँगै हिँडाइरहेँ र एक दिन, अचानक, त्यसलाई छोडेर हिँडिदिएँ ।’

‘यस युगका महानतम् नेपाली गायक नारायणगोपालको प्रिय अखडा बाङ्गेमुढाको गुरुजीको भट्टीमा अतीतमोहको वशीभूत म अहिले पनि कहिलेकाहीँ जाने गर्छु । बागबजारको रामभाइ तन्डुकारको भट्टी, जहाँ सर्वप्रथम मैले नेपाली रक्सीको स्वाद चाखेको थिएँ, त्यहीँ धेरै वर्षसम्म विख्यात सञ्चारकर्मी र बौद्धिक व्यक्तित्व तुलसीनाथ ढुङ्गेलसँग मैले टेबुल सेयर गरेको थिएँ ।’

‘मेरो पुस्ताका अनेकन रक्सीप्रिय साहित्यकारहरूसँग त मेरो अझै पनि सहभोजनपानी जारी छ । पत्रकारहरू चाहिँ धेरैजसोले अहिले आएर खोयाबिर्केबाट युनाइटेड ब्रुअरी वा सिग्राम लिकर्सका बोतलसम्मको फड्को मारेकाले अहिले हामीहरूको भेट एकदमै पातलिएको छ ।’

पुस्तकमा उनले पछौटेपनको एउटा अद्भुत सङ्ग्रहालयजस्तो बीस गाउँ (बिहाबर) को इतिहास खोतलेका छन् । २००९ असारमा निम्न-मध्यम खेतीवाल ब्राह्मण परिवारमा जन्मेका हरि अधिकारीले आफ्नी आमाप्रति पोखेको भावगङ्गा निकै कारुणिक छ । सुत्केरी बस्न माइत गएका बेला घर फर्कन दुई महिना ढिलो गरेकै निहुँमा उनका दुर्बासाजस्ता रिसाहा हजुरबाले सौतेनी माम्लो थपिदिएकोमा उनी आक्रोशित देखिन्छन् ।

‘मेरो प्रिय जन्मभूमि कुशादेवी बिहाबर’ मा उनले आफूलाई भाषा पाठशालाबाट झिकेर नयाँ विद्यालय भर्तीको सुझबुझ राख्ने पिताजीप्रति भने कृतज्ञता पोखेका छन्, ‘त्यसले नै आजको हरि अधिकारी नामक यो साहित्यको अथक विद्यार्थी, वितेको पाँच दशकदेखि निरन्तर कविताको आराधना गरिरहेको साहित्यकार र साहित्य-समीक्षा इमान्दारीपूर्वक गरेकै कारण कसै-कसैले अशोभनीय भाषामा गाली गरिएको समालोचक निर्माण गरेको हो ।’

सदरमुकाम धुलिखेलको सञ्जीवनी हाइस्कुलबाट २०२३ सालमा एसएलसी गरेपछि उनलाई राजधानी सहरको शरणमा नआई धरै थिएन । त्रिचन्द्र कलेजमा भर्ना भएर सहरको सातपत्रे भन्न मिल्ने असन-इन्द्रचोक नजिकको न्ह्योखा टोलमा डेरा गरेर बसे । इतिहास विषयमा एमए गरे । यसबीचमा लोक सेवा आयोगको परीक्षामा बसेर अफिसर ‘कमिसन्ड’ भए । सरकारी अधिकृतले पाउने शान र अपमान दुवैको पर्याप्त अनुभव गरे ।

‘यो पोखरा, त्यो पोखरा’ मा हरि अधिकारी नोस्टाल्जिक भएर गज्जबसँग पोखिएका छन् । सरकारी जागिरे भएर त्यहाँ गएका उनले पहिलोपल्ट विपनामा देखेको पोखरा एउटा भव्य काव्यजस्तो छ । यो निबन्ध २०२९ देखि २०३१ सम्म त्यस सहरमा बसेको र पहिलो प्रेमको आल्हादकारी सरोबरमा डुबेर धेरै दिनसम्म बेपत्ता भएको तरुण हरि अधिकारीलाई भेट्टाउन समर्थ छ ।

अब उनको साहित्यिक जीवनको चर्चा गर्नु मनासिब होला । उनको प्रथम प्रेम कविता नै हो । उनले आफ्नो साहित्यिक ठेगाना कवितामै बनाए । नेपाल प्रज्ञा प्रतिष्ठानको २०२७ को कविता उत्सवमा उनी सर्वप्रथम भए । उनको कविताको शीर्षक थियो, ‘पहिले आफूलाई चिन’ । त्यो चुम्बकीय कवितालाई म अहिले पनि उत्तिमै प्रेम गर्छु ।

हरेक वर्ष वसन्तले म्वाइँ खाने

र, शिशिरले नङ्ग्याउने

एउटा सुन्तलाको विरुवाजस्तो छ तिम्रो देश

त्यसका केस्रे ओठबाट निस्केका

सृष्टिका नयाँ स्वरहरूलाई चिन

त्यस सुकुमार इच्छाहरूलाई चिन !

त्यो हिमाल

जे कोसी भएर बसेको छ

जो मेची र महाकाली भएर बगेको छ

एउटा किनारामा उत्रन लागेका

लहरलहरजस्तो छ तिम्रो देश

त्यसका नयाँ नयाँ सपनाहरूलाई चिन

त्यसका नयाँ नयाँ किनाराहरूलाई चिन !

त्यो आकाश

जसलाई डाँडाहरूले चोरेका छन्

र नीला गहिरा रङहरू जङ्गलमा लुकेका छन्

त्यो उदाउन लागेको

आकाश आकाशजस्तो छ तिम्रो देश

त्यसका नयाँ नयाँ आभासहरूलाई चिन

त्यसका नयाँ नयाँ क्षितिजहरूलाई चिन !

रोचक प्रसङ्ग के भने, यो पुरस्कृत कविता उनले १८ वर्षको काँचो उमेरमा लेखेका हुन् । जतिबेला उनले नेपाल एकेडेमीका कसैलाई चिनेका थिएनन् । धन्न कविताको पुछारमा त्रिचन्द्र कलेज लेखेकाले एकेडेमीका कर्मचारीहरू हरि अधिकारीलाई खोज्दै शिक्षकहरूसम्म पुगेछन् र उनलाई २०२८ असार ९ गते कविता वाचनमा बोलाएछन् । आजका पार्टीजीवी-प्राज्ञहरूले यो यथार्थ कहिले पर्गेल्लान् ?

हरि अधिकारी कवितालाई सोझो प्रतिक्रियात्मक वक्तव्यवाजीको माध्यम बनाउँदैनन् । विम्ब र प्रतीकको माध्यमबाट कवितागिरी गर्ने उनको अन्दाजे बयाँ हो । कविता सँगसँगै कथामा पनि आकर्षित भएछन् । २०२६ सालमा राष्ट्रिय युवा महोत्सव आयोजक समितिको राष्ट्रव्यापी कथा प्रतियोगितामा उनको ‘स्थितिहरूका बीच’ शीर्षक कथा प्रथम भयो । यसको अर्थ के हो भने हरि अधिकारी आफ्नो साहित्यिक यात्राको प्रारम्भिक चरणमै ‘लक्की लेखक’ मा दरिए । यसलाई हुने बिरुवाको चिल्लो पात भन्ने उखान चरितार्थ भएको रुपमा लिए पनि हुन्छ ।

आफ्नो साहित्यिक जीवनको चर्चा गर्दा प्रख्यात लेखक, सम्पादक तथा कला-समीक्षक नारायणबहादुर सिंहसँगको मधुरतम सम्झनालाई छुटाउँदैनन् हरि अधिकारी । ‘नारायणबहादुर सिंह र मधुपर्कः केही सम्झना’ मा उनले त्रि-चन्द्र कलेजका युवाशिक्षक ध्रुवचन्द्र गौतममार्फत् उःबेलाको नामी पत्रिका ‘रूपरेखा’ मा प्रवेश पाएको उल्लेख गरेका छन् ।

गौतमले नै गोरखापत्रका उप-सम्पादक एवम् रम्यरचनाका विख्यात लेखक भैरव अर्याललाई सिफारिस गरिदिए । भैरवले गोरखापत्रमा लेख छाप्न थालेपछि हरिले रचनापिच्छे २५-२५ रुपियाँ पाउन थाले । तर दुई वर्ष कुर्दा पनि ‘मधुपर्क’ मा आफ्नो नाम छाप्न नसकेपछि अभिन्न मित्र ध्रुव सापकोटासँग मिलेर आफैँ कथा-कहानीकेन्द्रित पत्रिका निकाल्न कस्सिए, ‘प्रतीक’ । पत्रिका निकाल्ने क्रममा भेटिएका सिंहले उनका कथा छापिदिएको प्रसङ्ग मर्मस्पर्शी छ । सिंहले ‘रामलालको आकाश’ र ‘प्रेमको एउटा कथा’ पढेर स्याबासी दिएको उनको स्मृति-पटलमा तरोताजा छ । अनिता तुलाधर, देवेन्द्रप्रताप शाह, वनमाली निराकार, गोपाल पराजुली, प्रेमराज रेग्मी, ध्रुव सापकोटा, प्रकाश प्रेमीको पहिलो रचना छाप्ने श्रेय ‘प्रतीक’ ले पाएको छ ।

आफ्ना रचनाहरूले सकेसम्म भाषिक विशिष्टता, सौष्ठव र लालित्यको शान र मान राख्न सकून् भन्नेतर्फ सचेत लेखक लाग्छन् हरि अधिकारी । नेपाली लेखकहरूभन्दा ज्यादा अङ्ग्रेजी, हिन्दी भाषा र बङ्गाली भाषाका केही लेखकको सीप र शैलीबाट प्रेरणा लिएकाले नै उनी आफ्ना दौँतरी लेखकहरूको बगालमा बेग्लै देखिएका छन् ।

यत्ति हो, कहिलेकाहीँ कुनै लेखकलाई पढ्दा मात्र रमाउँछन् । कमजोर भाषाका कारण उनीभित्रको पारखी पाठक सन्तुष्ट हुन सकिरहेको छैन ।

उनको दृष्टिमा नेपाली गद्य-लेखकहरूमा सर्वाधिक प्रभावशाली लक्ष्मीप्रसाद देवकोटा नै हुन् । भैरव अर्याल थोरै शब्दमा चोटिलो ढङ्गले कुरा राख्नमा खप्पिस छन् । गुरूप्रसाद मैनाली र ध.च. गोतामेको लेखनमा देखिने अभिव्यक्तिको सुस्पष्टता पनि तारिफयोग्य छन् ।

पछिल्लो समय भने उनी भाषिक लालित्यका दृष्टिले प्रशंसाका लायक लेखकहरू खासै देख्दैनन् । यत्ति हो, कहिलेकाहीँ कुनै लेखकलाई पढ्दा मात्र रमाउँछन् । कमजोर भाषाका कारण उनीभित्रको पारखी पाठक सन्तुष्ट हुन सकिरहेको छैन । नयाँ नयाँ उत्साही लेखकहरू आइरहेकाले नेपाली गद्य-लेखनले राम्रै गति लिने कुरामा अविश्वास पनि गर्दैनन् ।

यस ग्रन्थमा हरि अधिकारीका प्रतिनिधि गद्यरचना छन् । पहिलो कुरा, यसले नेपाली भाषामा पनि यति भाँती पु¥याएर लालित्यसहित लेख्न सकिँदो रहेछ भन्ने तत्त्वबोध गराएको छ । दोस्रो, यसमा समावेश प्रत्येक रचनाले नेपाली समाज गुज्रिएर आएको एउटा विशिष्ट कालखण्डको कथा सुनाएका छन् । यी लेखहरूले सुनाउन जमर्को गर्ने विगत समयको त्यो कथा बढीभन्दा बढी नेपालीले, त्यसमा पनि नयाँ पुस्ताका नेपालीले त झनै सुन्नुपर्छ भन्नेबाहेक अरू आकाङ्क्षा नहोला लेखकमा ।

हरि अधिकारी भन्नासाथ म पुग्छु, परशु प्रधानकृत ‘केही अनुहार केही क्षण’ (२०५१) मा । २३ जना लेखकको व्यक्तिचित्रमध्ये मलाई मन परेको हरि अधिकारी नै हो । त्यसका १७ पृष्ठमा प्रधानले अधिकारीलाई विवादास्पद व्यक्तिका रूपमा चित्रित गरेका छन् । मलाई पनि कता कता हो कि क्या हो जस्तो लाग्छ ।

उनले मदन पुरस्कारलाई कमल दीक्षितको बक्सिस भनेर लेखे, तर आफ्नो कृति ‘प्रतिनायक’ मदन पुरस्कारको उत्कृष्ट सूचीमा परेपछि केही पनि बोलेनन् । तारानाथ शर्मा र हरि अधिकारी दुवै तीखो आलोचना गर्नमा माहिर हुन् । तर हरिले शर्माकृत ‘सुम्निमा’ अनुवादले गलत भए जतिको परिच्छेद परिच्छेद उद्धृत गरेर उछित्तो काढे । उनी कसैलाई पनि एक बित्ता छाड्दैनन् ।

सञ्चार जगत्मा उनी तरङ्ग ल्याइरहन्छन् । कहिले ‘आफ्नैबारे प्रचार गराउन नसकेर ओझेलमा परेँ’ भनिदिन्छन् त कहिले ‘मै हुँ भन्ने लेखकहरूलाई उदाङ्गो बनाइदिएको छु’ भन्न पनि पछि पर्दैनन् । कहिले ‘मदन पुरस्कार पाउने ८० प्रतिशत किताब झुर हुन्छन्’ भन्छन् त कहिले ‘९५ प्रतिशत किताब घाँस-पराल हुन्छन्’ । कहिले अमेरिकामै बसेर ‘अमेरिकी जनता मूर्ख छन्’ भन्न मन पराउँछन् । हरि अधिकारीको यही प्रत्युपन्नमति नै मेरा निम्ति प्रिय छ ।

हरि अधिकारीका १३ कथाको सङ्ग्रह ‘रामलालको आकाश’ (२०४०) काका रामचन्द्र अधिकारी र प्रथम प्रेमिका सरोजा उदासलाई समर्पण गरिएको छ । सरोजालाई उनले तीन वर्ष सँगै बसेर पनि विवाह हुन नसकेकी प्रेमिकाका रूपमा चिनाएका छन् । यति पारदर्शी र ढोँगरहित लेखक नेपालजस्तो देशमा जन्मन गाह्रो छ । समीक्षक नारायणबहादुर सिंहले लेखेका छन्, ‘हरिको कथाको केन्द्र मान्छे नै हुने गर्छ । बाँचेको मान्छे, अनेक नियतिसँग जुझिरहेको मान्छे, सुखी मान्छे, दुःखी मान्छे, पीडाले छटपटाएको मान्छे, विसङ्गति र विषमताको मार खाएको मान्छे ।’

फेरि पुस्तकमै प्रवेश गर्छु ।

‘सुभद्रा अधिकारीः एक शब्दचित्र’ मा नेपाली रङ्गमञ्च र चलचित्र जगत्की कलाकार एवम् नृत्याङ्गनाको ‘अबिच्युरी’ हो । ती नारीको सम्झनाको सन्दूक यसरी उघारेका छन्, ‘सुदर्शिनी, सुभाषिनी, सरल स्वभावकी र सकारात्मक सोचकी प्रतिमूर्ति मेरी प्यारी सुभद्रा दिदीले साँच्चिकै महाप्रस्थान गरिसकेकी छन् । उनले रङ्गमञ्चमा फैलिने सप्तरङ्गी प्रकाशको झिलिमिली, हार्मोनियमको गुन्गुन्, गिटारको रिटिङ रिटिङ, तबलाको थाप, पाउजूको रुन्झुन्, एक्सनमा जानुअघिको चुरोटको एउटा लामो सर्को, दर्शकहरूको उल्लासपूर्ण थपडी र हरेक पटकको राम्रो अभिनय वा नृत्यपछि उस्तादको आँखामा फैलिने सन्तुष्टिको चमक, सबैसँग सधै‘का लागि बिदा लिइसकेकी छन् । उनको निधनले नेपाली कलाजगत् निकै गरिब भएको छ ।’ यो हरि अधिकारीले लेख्ने क्लासिक गद्यको उत्कृष्ट नमुना हो ।

साहित्यमा जहिल्यै श्रेष्ठता खोज्ने हरि दाइ नेपाली हुनुको नाताले ‘लोकल साहित्य’ लाई माया गर्छन् । यसको अर्थ उनी विश्वभरकै भाषाका कवि, लेखकलाई सम्मान गर्दैनन् भन्ने होइन । यस पुस्तकका दुइटा लेखले त्यो बुझाउँछन् ।

लोकप्रिय कवि राहत इन्दौरीको निधनमा निकै व्यथित देखिन्छन्, हरि अधिकारी । पोहोर साल कोभिड-१९ का कारण बितेका भारतको इन्दौरका शायर इन्दौरी वशीर बद्र, वशिम बरेलवी र मुनव्वर रानाका हाराहारीका मानिन्छन् । छोटा छोटा तर चोटिला नज्म (कविता) मार्फत् पूर्वी गोलार्धका करोडौ‘ काव्यप्रेमीहरूको दिल-मथिङ्गल लुटेका इन्दौरीको स्मरण गर्दै उनले लेखेका छन्, ‘इन्दौरीको नाम कुनै पनि कवि सम्मेलन वा मुसायराको सफलताको ग्यारेन्टीजस्तै हुन्थ्यो ।’

विक्रम संवत् २०२५ को हिउँदमा त्रि-चन्द्रको विद्यार्थी अवस्थामा यातायात संस्थानको खरिदार रहेका कविजीसँगको भेटलाई उनले बडो मिठाससहित पस्केका छन् ।

पाकिस्तानी कवि र चिन्तक फैज अहमद फैज (सन् १९११-१९८४) को ४३ वर्ष पुरानो उर्दू नज्म  ‘हम देखेंगे’ को चर्चा छ, ‘प्रसङ्ग एउटा कविताकोः आकलन त्यसको सामर्थ्यको’ मा । पाकिस्तानमा सन् १९७९ मा जर्नेल जियाउल हकको फौजी तानाशाहीको विरोधमा लेखेको नज्म थियो त्यो । यो लेख हरि अधिकारीको गद्य लेखनको उपल्लो दृष्टान्त हो ।

धन्य छन् हरि अधिकारी, जो आफूलाई मोहन कोइराला स्कुलका कवि मान्छन् । ‘सरल मानिस जटिल कवि’ तिनै कविजीमाथिको जीवन्त चित्र हो । विक्रम संवत् २०२५ को हिउँदमा त्रि-चन्द्रको विद्यार्थी अवस्थामा यातायात संस्थानको खरिदार रहेका कविजीसँगको भेटलाई उनले बडो मिठाससहित पस्केका छन् ।

कवि मोहन कोइराला र उनका भाइ शङ्करको स्वामित्वमा रहेको भक्तपुर लोहकिन्थलीको  मोहीहरूले वर्षैदेखि दमपच पारेर राखेको जग्गा हरि दाइले आफ्नै जोडबलमा फिर्ता दिलाइदिएको मात्र होइन, पास नामसारी गर्ने बेलामा ५० हजार रूपैयाँ पनि हालिदिएका थिए । त्यस बापत चलनचल्तीको मोल अनुसार जति हुन्छ, त्यति जग्गा दिने सर्तमा । तर कविले जग्गा त दिएनन् दिएनन्, लिएको रकम पनि धेरै वर्षपछि थोरै थोरै गरेर बडो मुश्किलले फिर्ता गरेछन् ।

त्यति मात्र होइन, कविले हरिको साहित्यिक क्षमतालाई कम आँकेर प्रज्ञा-प्रतिष्ठानका रहँदा सहकार्य पनि गरेनन् । यी सब कुरालाई लिएर कविप्रति गुनासो हुँदाहुँदै पनि  हरि दाइले लेखेका छन्, ‘उनीसँग बिताएका ती अनगन्ती क्षण मेरो हृदयको अन्तरमा यसरी जमेर बसेका छन्, तिनसँग बात मार्दै म अनेक जन्म कटाइदिन सक्छु ।’

यी पङ्क्ति पढेर म स्तब्ध भएँ । कस्तो अप्रतिम सम्मान ! मोहन कोइरालालाई एकछिन बिर्सने हो भने कवितामा हरि अधिकारी स्वयम् स्कुल बन्ने ताकत राख्छन् । आधा शताब्दी लामो साहित्य साधनामा पनि हरि दाइलाई प्राज्ञ वा त्यस्तै केही पदप्राप्ति हुन सकेन । साहित्यमा उनको योगदानको कुनै नोटिस नहुनु दुःखद हो । तर खेदको भावनालाई सधैँ बोकेर त्यसैमा अल्झिरहनुको कुनै अर्थ छैन । किनभने यो देशको समाज-राजनीतिक चेतनाको स्तर-सापेक्ष विषय हो । राजनीतिबाजहरूले यस देशका लगभग सबै प्राज्ञिक संस्थाहरूको हुर्मत लिइसकेको जगजाहेर छ ।

त्यसो त सरकारी पुरस्कार या पद नपाउनुको एउटा कारण उनकै स्वाभिमानी स्वभाव हो । आफ्नै भाइसाथी पूर्णबहादुर खड्का, बलबहादुर केसी, दीपकुमार उपाध्याय आदि संस्कृति मन्त्री भएका बेला मागेको भए या धाएको भए उनले राष्ट्रिय र क्षेत्रीय स्तरका प्रतिभा पुरस्कार नपाउने कुरा पनि थिएन । मन्त्रीले उनलाई बोलाएनन्, उनी पनि नबोलाई जाने मानिस परेनन् । र्याङठ्याङ मिल्न सकेन । फेरि नेपालमा प्रतिभा खोजेर पुरस्कृत गर्ने चलन पनि त छैन ।

उनका हकमा रिचार्ड डार्कले भनेजस्तो मात्र भयो साहित्य । ‘खान-लाउनका दृष्टिले साहित्य निकम्मा छ तर त्यही अनुपयोगिता नै मेरा निम्ति मूल्यवान् छ ।’ पद, पुरस्कार या प्रशंसा नपाएको झोँकमा उनले साहित्यबाट संन्यास लिएनन् पनि । आजको दिनसम्म साहित्यमा लागेर मैले केही पाइनँ भन्नु पनि एकखालको अज्ञानता प्रदर्शन नै हुन जान्छ । केही पाउँछु भनेर लाग्ने विधा साहित्य होइन । यो भाषा या वाङ्मयको सेवा नै हो निसर्त ।

‘सन्दर्भ लिज्बन भ्रमणकोः कुरो धेरैतिरको’ चाहिँ सन् १९९८ ताका पोर्चुगलको राजधानी भ्रमणको संस्मरण हो । ‘वर्ल्ड एक्स्पो, लिज्बन १९९८’ को नेपाल डे परेडमा उनलाई व्यापार प्रवर्धन केन्द्रका कार्यकारी निर्देशकको हैसियतमा भाग लिने चिट्ठा परेको रहेछ । ‘प्रसङ्ग महाकवि देवकोटाको, बनारस प्रवासको’ मा महाकवि दम्पतीको फक्कड स्वभावको चिनारी मिल्छ ।

‘एक नदीको कथा उसकै शब्दमा’ माथिल्लो मुस्ताङको न्हुबिने हिमालबाट निस्किएकी कृष्णागण्डकी नदीको सभ्यताको आत्मकथा हो । ‘हिमालको कथाः म हुँ शैलाधिराज हिमालय पर्वत’ पनि महान् हिमालय पर्वतको त्यस्तै आत्मकथा हो । यी रचना पढ्दा पाठकलाई हरि अधिकारीको ज्ञानकोषसँग परिचित हुने मौका मिल्छ ।

‘क्रान्तिकारी किशोरीको सान्निध्यमा केही क्षण’ रोल्पाली छापामार युवतीको हृदयको हाहाकारलाई केन्द्रीय कथ्य बनाएर उभिएको छ ।

‘गालामा अबिर दलाइमाग्न नबिर्सिनोस्, त्यो शिविर पस्ने भिसा हो’ कसैले साउती मारेको एक वाक्यमा लेखक तरङ्गित भएका छन् । खासगरी एक दशक लामो माओवादी सङ्घर्षको उपलब्धि के हो त भन्ने सोझो प्रश्न सोधेर उनले ‘ड्रामाटिक इफेक्ट’ सहित युद्ध सरदारहरूलाई खङरङ्ङ पारिदिएका छन् ।

लोकलाई थाहा छ, हरि अधिकारी लोकतन्त्रवादी लेखक हुन् । उनले लामो समय काङ्ग्रेस नेताहरूको सान्निध्यमा बिताएका छन् । बीपी कोइराला, गणेशमान सिंह र किसुनजी उनका प्रिय र आदर्श नेताहरू हुन् । जीवनका अन्तिम वर्षहरूमा गणेशमान सिंह के कस्तो मनोदशामा थिए, त्यसको एकमुष्ट जवाफ हो, ‘गणेशमान सिंहसँगको त्यो अन्तिम भेट’ । लेखकले गणेशमान सिंहलाई समयको नाडी छाम्न जान्ने मानिसका रूपमा सटीक किसिमले चित्रित गरेका छन् ।

‘सुन्दरीजल जेलमा भट्टराईको अन्तिम डायरी’ मा उनले आफ्ना प्रिय नेता कृष्णप्रसाद भट्टराईको मृदु सम्झना गरेका छन् । २०१७ पुस १ को काण्डपछि सुन्दरीजल जेलमा थुनिएका किसुनजीले बीपी कोइराला र गणेशमान सिंहभन्दा १ वर्ष ९ महिना बढी किन बन्दी जीवन बिताउनुपरेको थियो भन्ने छनक यसमा छ । सुन्दरीजल जेलबाट नख्खु जेलसार हुने अघिल्लो दिन लेखेको डायरीमार्फत् किसुनजीले निष्काम कर्मयोगी जीवनका साथै तत्कालीन राजनीतिक शब्दचित्र दिएका छन् । यसमा हरि अधिकारीका शब्द भने खासै भेटिँदैनन् ।

‘बलबहादुर पाँडेको मार्मिक कथा’ इतिहासको गुमनाम पृष्ठ हो । काठमाडौँको सदर झ्यालखानामा मानसिक सन्तुलन खजमजिएर सकसपूर्ण स्थितिमा जीवनका अन्तिम दिनहरू गुजारिरहेका राजबन्दी बलबहादुर पाँडे क्षेत्रीलाई अर्का राजबन्दी गणेशमान सिंहले कसरी करुणाभाव देखाए र सेवासुश्रुषा गरे भन्ने जीवन्त वर्णन छ यसमा । यसले पाँडेप्रति हार्दिक सहानुभूति जगाउँछ भने गणेशमानप्रति श्रद्धा र सम्मान ।

साहित्यिक पत्रकार सङ्घले प्रजातन्त्रवादी नेता एवं अन्यतम् आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको २०३८ माघ १६ गते काठमाडौँमा भएको सार्वजनिक अभिनन्दनको संस्मरण पनि छ पुस्तकमा । हरि अधिकारी सङ्घका उपाध्यक्ष मात्र नभएर त्यो ऐतिहासिक कार्यक्रमको संयोजक थिए । सरकारी कर्मचारी भएर पनि प्रतिबन्धित राजनीतिक दलको शीर्ष नेताको अभिनन्दनको जिम्मेवारी लिएकाले लेखकको दुस्साहसी छवि देखाउँछ, ‘बीपी कोइरालाको अन्तिम सार्वजनिक अभिनन्दन’ ले ।

‘हुआँ कार्लोसको अभिनन्दन’ त्यस्तै अर्को ऐतिहासिक घटना हो । खासमा काठमाडौँ नगरपालिकामा हरिबोल भट्टराई मेयर भएका बेला युरोपेली देश स्पेनका मानार्थ राष्ट्रप्रमुख राजा हुआँ कार्लोसलाई अभिनन्दन गरेको संस्मरण हो यो । जतिबेला हरि दाइ मेयरका सल्लाहकार थिए ।

प्रस्तुत पुस्तकका प्रायः रचनालाई ऐतिहासिक अध्ययन भने पनि हुन्छ । केही व्यक्तिचित्रजस्ता छन् भने केही लेखक आफैँ जोडिएका संस्मरण । ‘प्रसङ्ग सूर्यप्रसाद उपाध्यायकोः चर्चा काङ्ग्रेसको इतिहासको’ मा काङ्ग्रेसका एक विस्मृत नेताको खानतलासी हो भने ‘कामरेड एमबीसँगको त्यो भेट’ पञ्चायतकालमा ‘नेपाली आवाज’ का निम्ति अन्तर्वार्ता लिँदाका घतलाग्दा प्रसङ्ग छन् ।

हरि अधिकारीले जोखिमै जोखिमको जिन्दगी गुजारेका छन् । काठमाडौँमा घरबार छैन, नियमित आम्दानी छैन, नातागोता ठूला पदमा छैनन् तैपनि स्थायी जागिरलाई जोरलात्ती हाने, २०४२ सालमा । जागिर छाडेर हापेर काङ्ग्रेसको राजनीति गर्न खोजे । अर्को वर्ष चुनावको निहुँमा लोकतान्त्रिक विचारको प्रसार गर्ने हेतुले राष्ट्रिय पञ्चायत सदस्यमा उम्मेदवारी दिएर मज्जाले हारे ।

त्यसलाई अधिकारीले बुटवल लगेर पनि चलाउने प्रयास गरेका थिए  केही समय । श्रमजीवी पत्रकारहरूको सङ्गठन नेपाल प्रेस युनियनको संस्थापक अध्यक्षसमेत भए ।

काठमाडौँ नगरपालिकाका प्रधानपञ्च हरिबोल भट्टराईको सल्लाहकार भएर काम गरे । चारतारे झन्डा लिएर सडकमा आए र पत्रकारितातिर छिरे । नेपाली आवाज, युनाइटेड प्रेस इनटरनेसनल, भ्वाइस अफ अमेरिका, जनमञ्च, इन्डिपेन्डेन्ट, देशान्तर आदि पत्रिका र समाचार संस्थामा काम गरे । मित्र मनमोहन भट्टराईको सल्लाहमा पर्यटन गाइडको लाइसेन्स पनि लिए ।

किसुनजीको सामीप्यमा बसे अनि उनको स्नेह र संरक्षकत्व पाए । एकाध राजनीतिक नियुक्ति पनि लिए । म सम्झन्छु, उनले अच्युत वाग्लेसित मिलेर ‘श्री देउराली’ दैनिक निकाले । त्यो पत्रिका काठमाडौँ र विराटनगरबाट एकैचोटी निस्कने नेपालकै पहिलो दैनिक थियो तर टिक्न नसकेकाले त्यसले बनाएको इतिहास पनि ओझेलमा पर्यो । त्यसलाई अधिकारीले बुटवल लगेर पनि चलाउने प्रयास गरेका थिए  केही समय । श्रमजीवी पत्रकारहरूको सङ्गठन नेपाल प्रेस युनियनको संस्थापक अध्यक्षसमेत भए ।

म छक्क पर्छु, पत्रकारिताले पनि उनको गद्यको शक्तिलाई नाङ्गोझार पार्न सकेन । उनले जहिल्यै साहित्यसहितको पत्रकारिता गरे र रचनाको खँदिलोपनालाई जोगाए । साहित्य छाडेर फगत पत्रकारिता गरेनन् । त्यसैले उनको गद्यमा अद्भुत कलाकारिता फेला पर्छ । साहित्यमा उनको खोजी किन हुन्छ भने उनी नेपाली मात्र पढेर नेपालीमै लेख्ने लेखक होइनन् । उनका गद्यरचनामा सन्तुलन र परिपक्वता छ, बौद्धिकता र तार्किकताको मात्रात्मक अभिवृद्धि पनि । उनको शब्द र विम्ब चयन अनि प्रतीकीकरण सुस्वादु छ ।

यो लेखक हरि अधिकारीको पूर्वनियोजित रूपमा आएको पुस्तक होइन । अखबारी लेखनमा डेडलाइनको दबाब र स्पेस सीमित हुन्छ । यसो हुँदा कहिलेकाहीँ रचनात्मक क्षमताकै उपहास हुन जान्छ ।

प्रस्तुत पुस्तकका कुनै कुनै निबन्धले कतै विस्तार नपाएको र कतै परिपाक नमिलेको भान हुनु अखबारी लेखनकै दुष्प्रभाव हो । अझ त्यसलाई अद्यावधिक नगरिँदा पाठकलाई अलिकति अलमल हुन जान्छ । प्रायः सङ्कलनमा यस्ता कमजोरी रहन्छन् । यस पुस्तकमा पनि त्यो न्यूनाधिक छ । म कति मात्र भन्छु भने यी निकम्मा निबन्ध होइनन् । कम्तीमा यिनले अखबारमा छापिने सबथोक झूर हुन्छन् भन्ने कुरालाई सुरुदेखि नै खारेज गर्छन् ।

हरि दाइको उमेर ६८ भयो भन्दा मलाई पत्यार लाग्दैन । उनीजतिको युवा ऊर्जा म आफूमा पटक्कै पाउँदिनँ । कवितासङ्ग्रहको सङ्ख्याले के भन्छ भने उनी मूलतः कवि हुन् । ‘संसद्मा एक दिन’, ‘हरि अधिकारीका कविता’ र ‘गार्मेन्टकी गायत्री’ नै बोल्छन् उनका बारेमा । ‘रामलालको आकाश’ र ‘प्रतिनायक’ दुई कथासङ्ग्रहले उनलाई कथाकारमा दर्ता गरिसकेका छन् भने ‘एक्लो नायक’ ले उपन्यासकार समेत बनाइसकेको छ । ‘साठी वर्षपछि’ उनका निबन्ध र प्रबन्धको सङ्कलन हो ।

सन्त नेता कृष्णप्रसाद भट्टराईको जीवनकथामाथि लेखिएको उपन्यास हो, ‘एक्लो नायक’ । यसलाई किसुनजीप्रति हरि अधिकारीको ‘स्पेसल ट्रिब्युट’ भने पनि हुन्छ । ‘किसुनजीको सच्चा जीवनकथा लेख्छु’ भन्ने लेखकको अठोट स्तुत्य हुँदाहुँदै केही औपन्यासिक ‘ट्रिटमेन्ट’ नपुगेको भान हुन्छ । उनकै शब्दमा यो न विशुद्ध आख्यान हो, न त ऐतिहासिक वृत्तान्त । आखिरमा यो हो के त ?

त्यसो त पठनीयताको डिग्री भने यो उपन्यासमा प्रशस्त छ । बीपी कोइरालाका अतिरिक्त सम्बन्ध खोलिदिएका छन् भने विश्वबन्धु थापा र तुलसी गिरीलाई ‘बीपीका राजनीतिक सन्तान’ भनिदिएका छन् । गिरिजाप्रसाद कोइरालालाई राजाको दर्शनभेटपछि पञ्चायतको मन्त्री बन्न खुट्टा उचालेका तर सहायक मन्त्रीको अफरपछि रोकिएको भन्ने खुला आरोप छ । उनलाई पार्टी अनुशासनमा नबस्ने र पार्टीलाई राजाको पाउमा बुझाउन खोज्ने मामुली सम्झौतावादी पनि भनिएको छ । सुशील कोइरालाको भूमिका गिरिजाबाबुको खाली गिलासमा चिया थपिदिने मात्र देखाइएको छ ।

पुस्तकमा गणेशमान सिंह, लक्ष्मीप्रसाद देवकोटा, मरिचमान सिंह, शरदचन्द्र शाह, सुन्दरराज चालिसे, रमेशनाथ पाण्डे, रानी ऐश्वर्यसम्मका विवादास्पद चर्चा छन् । मैले यसको समीक्षाका क्रममा २०७३ वैशाखको ‘नेपाल’ म्यागेजिनमा लेखेको रहेछु, ‘कवि हुनुको अर्थमा हरि अधिकारीको भाषिक विन्यास तारिफयोग्य थियो, छ । त्यसमा ताजापन पनि छ । तर भाषिक कलाबाजी र रङरोगनले मात्र उपन्यास सग्लो उभिन सक्दैन । एक चर्चित लेखकको मामुली उपन्यास मात्र हो, ‘एक्लो नायक’ । लेखकले ‘सिल्भर एज’ मा ‘गोल्डेन बुक’ पर्खेका पाठकलाई न्याय गर्न सकेका छैनन् ।’ यसलाई उपन्यासको साटो जीवनी या इतिहासको पुस्तक बनाउन सकेको भए विधागत सम्मान मिल्थ्यो भन्ने मेरो जिकिर छ ।

कसैकसैले हरि अधिकारीलाई घमण्डी पनि भनेका छन् । त्यो घमण्ड शाकाहारी टाइपकै छ । किनभने उनी आफ्ना आवश्यकता घटाएर बाँचेका सच्चा ‘मिनिमियालिस्ट’ हुन् । काठमाडौँमा उनको मित्रमण्डलीका ध्रुव सापकोटा या शैलेन्द्र साकार हरि अधिकारीको खबर नसोधे पनि दिन्छन्, सोधे त दिने भइहाले ।

साथीहरूप्रतिको उनको दृष्टिकोण पनि सम्यक नै लाग्छ । ‘दुनियाँको नजरमा स्थापित हुने, प्रशंसा, आदर, सम्मान, पुरस्कार पाउने हिसाबले एकदमै पिछडिएको मानिसमध्ये पनि सबैभन्दा पिछडिएको हुँ । साथीहरूबाट के सिफारिस गराउने ? उनीहरूको आफ्नै समस्या छ, पाए भने आफैँ पुरस्कार थाप्छन् । मलाई किन दिलाउँछन् र ?’

उनले ३० वर्ष अगाडि नै परशु प्रधानसित भनेका रहेछन्, ‘नेपाली साहित्यमा कसैको पनि सही वा यथार्थ मूल्याङ्कन भएको छैन । त्यसरी कुनै पनि रचनाकारको समग्र कृतित्वको वस्तुपरक अध्ययन गर्ने न यहाँ कुनै निकाय छ, न व्यक्ति नै ।’ साहित्यमा नेपाल एक पाइला पनि अघि बढेको छैन भन्ने दृष्टान्त यही हो । ‘प्राज्ञहरूलाई बजेट नभएको पिरलो छ, प्राध्यापकहरूको पनि यस्तै उस्तै दुखेसो छ ।’

पुस्तकको परिप्रेक्ष्यमा हरि अधिकारी ‘नम्बर वन गद्यकार’ नहोलान् । तर समकालीन नेपाली लेखनमा गिनेचुनेका गद्यकार त हुन् नै । अखबारी लेखनमा लाग्दालाग्दै पनि उनले आफ्नो भाषालाई अनावश्यक सरलीकरण गरेका छैनन् । उनका वाक्य सुगठन घडीपुर्जाजस्तो टम्म मिलेको लाग्छ मलाई । सुकिला शब्द र तिखो स्वादकै कारण उनी गद्यकारिताको एउटा केन्द्र भएका छन् । नेपाली भाषाको सौन्दर्यको सम्मानप्रति कर्तव्यबोध गरेर त्यसको सकेसम्म निर्वाह गरेका छन् ।

नेपाली साहित्यका पाठकहरू र अध्येताहरूले स्तरीय पद्य र गद्य दुवै विधामा हरि अधिकारीलाई एउटा उल्लेख्य उपलब्धि मानेकै छन् । उनी साहित्यको प्रख्यात लेखकमात्र नभएर कहिल्यै नथाक्ने पाठक हुन् । यसको पढ्ने, उसको नपढ्ने भनेर पनपच्छे गर्दैनन् । त्यसरी पढेको कुनै पनि पुस्तक वा लेख-रचनामा कुनै घतपर्दो शब्द, विम्ब, उपमा वा उपमेय भटियो भने आफ्ना रचनामा उपयुक्त किसिमले तिनको प्रयोगको जमर्को गर्छन् । आफ्ना रचना प्रकाशनमा पठाउनुअघि पटके पुनर्लेखन र पुनरावलोकन गर्न उनलाई झिँजो लाग्दैन ।

नेपाली सँगसँगै संस्कृत र अङ्ग्रेजी साहित्यको गम्भीर कोटीको विद्यार्थी भएकाले ठीक शब्दलाई ठीक ठाउँमा राख्ने, शाब्दिक अनुशासन कायम गर्ने, पुनरुक्ति र अतिशयोक्तिदोषबाट सकभर बँच्नेजस्ता अत्यावश्यक सतर्कता उनले संस्कृत साहित्यका आचार्यहरूबाट सिकेका छन् । त्यसैले पाठकलाई उनले लेखेको कुराको अन्तर्यसम्म पुग्न खासै गाह्रो पर्दैन । तर हुनुपर्नेजति सरल हुन नसक्नु चाहिँ उनको सीमा र कमजोरी मान्नुपर्छ ।

पढालिखा नेपाली समाजमा हरि अधिकारीको लेखन-कला मन पराउने पाठक थुप्रै देखिन्छन् । साहित्यइतर पाठकले समेत उनका रचनावलि पढेर उत्तिकै आनन्द उठाएका छन् । विक्रमको २०३० को दशकमै भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्यापन गरिरहेका डा. ईश्वर बरालले उनको ‘मिस तुलाचन’ शीर्षक कथा पढेर त्यसको प्रशंसामा एक पृष्ठ लामो चिठी लेखेका रहेछन् । त्यसबेलासम्म उनीहरूबीच परिचय र भेटघाटै रहेनछ ।

हरि अधिकारीले कविता, कथा, निबन्ध र समीक्षामा उत्तिकै उचाइ लिएका छन् । प्रस्तुत पुस्तक प्रतिनिधि गद्य रचनावलि भए पनि उनका समीक्षा समेटिएका छैनन् । तर उनको गद्यशिल्पको नमुना समीक्षा पनि हुन सक्छन् । ‘कलेज–क्रिटिक’ हरू केही ‘सेन्सर्ड’, केही रकमी र केही काइते शैलीमा लेख्न जान्दछन् । तर उनको समीक्षा कला ‘स्ट्रेट फरवार्ड’ छ र त्यो पाठकलाई रिझाउन सक्षम छ ।

कोही रिसाओस् या खुसाओस्, उनी मनका लागेका कुरा ड्याङै लेखिहाल्छन् । र, त्यो ‘पब्लिक रेकर्ड’ मा राखिदिन्छन् । सम्बन्धित व्यक्तिले आफ्नो कमजोरी पनि थाहा पाओस् भन्ने उनलाई लाग्छ सायद । झूटो प्रशंसा नपाउँदा सम्बन्धित लेखक रिसाए पनि सयौँ पाठक खुसी पारेकाले उनका ‘भर्चुअल मलामी’ बढिरहेकै छन् ।

कहिलेकाहीँ ‘हार्ड हिटिङ’ समीक्षाका सन्दर्भमा हरि अधिकारीको लहरमा मेरो नाम जोडिएको पाउँछु । तर त्यो तुलना मलाई त्यति सुखद लाग्दैन । किनभने समीक्षा विधामा म काम चलाउ सरकारजस्तो मात्र हुँ । हरि अधिकारीले समीक्षा नलेखोस् भनेर मलाई फर्माइस गरिएका कैँयन् उदाहरण छन् । मलाई हेक्का छ, न म हरि अधिकारीजस्तो पढाकु हुँ, न त उनीजसरी चुरो कुरो पक्रेर लेख्नै जान्दछु । म त उनलाई निसन्देह प्रेम गर्ने अनुज मात्र हुँ ।

जतिसुकै फाइँफुट्टी लगाए पनि नेपाली साहित्यकारमा तातोभुत्लो साक्षरता नभएको यथार्थ हो । प्रायः पाठक (लेखक पनि) घटिया वा तल्लो स्तरका लेखन नै रुचाउँछन् । गम्भीर लेखक या समीक्षकको अधिकतम प्रयास त्यस्तो दृष्टिकोण बदल्नु हुनुपर्ने हो । संसारभरि नै सक्षम लेखकहरूलाई पढेर प्रशंसा गरिन्छ । तर यहाँ त्यस्तो संस्कार छँदै छैन ।

कतिपय व्यक्ति आलोचनालाई व्यक्तिगत आक्षेप ठानेर हरि अधिकारीको विरोधी कित्तामा उभिएका देखिन्छन् । तिनलाई थाहा नहुन पनि सक्छ, हरि अधिकारीको निन्दा पनि उति नै पठनीय हुन्छ । उनले गाली नै गरे पनि त्यो चर्चित हुन्छ र बिक्रीयोग्य हुन्छ ।

साहित्यिक साक्षरता नभएका कतिपय व्यक्तिलाई के पनि लाग्न सक्छ भने हरि अधिकारीबाट खतरा छ । नेपाली साहित्यलाई साँच्चै कोबाट खतरा छ ? मेरो विचारमा हरि अधिकारीबाट त बिलकुलै छैन । हरि अधिकारीहरूका पारखी बढे भने साहित्यको जमानत जफत हुन पाउँदैन । साहित्यको सक्कली श्रीवृद्धि हुन्छ ।

हरि अधिकारीको ‘लिटरेरी सेन्स’ उच्च कदको छ । उनको आलोचनालाई ‘छुच्चोपन’ पनि भन्न छुट छ । तर त्यो तीव्र आस्वाद्य हुन्छ । उनी आफ्नो वरद हस्ताक्षरमा कृति र कृतिकारको किटानी जाहेरी दिन सक्छन् । उनको ‘मास्टर स्ट्रोक’ तारिफयोग्य छ । लालच र भयमुक्त चरित्रले नै उनलाई आफ्नो मनको आदेशमा चल्ने सामर्थ्य दिएको हो । उनी इमानदार नहुँदा हुन् त यति निर्धक्क लेख्न सक्थेनन् पक्कै । त्यसकारण थोरबहुत अभिमान पनि राखे होलान् । म त्यसलाई स्वाभाविक मान्छु ।

साहित्यकार साहित्यले बाँच्ने हो, समीक्षक धानिने समीक्षाले हो । न दारु ग्याङले साहित्य बचाउँछ, न त झन्डा ग्याङले । उनले घोषित या अघोषित कुनै ग्याङ खडा गरेका छैनन् । काङ्ग्रेसी भए पनि ‘डेमोक्रेटिक ठेक्कापट्टा’ उनले पाएका छैनन् । उनको पुस्तक समीक्षामा ज्यान छ । आलोचनामा पनि मिठास छ । त्यसैले मेरा दृष्टिमा हरि अधिकारी मसहूर समीक्षक हुन् । जोसुकै रिसाओस्, खुसाओस् ।

हरि अधिकारीका निबन्धहरूले पाठकको मन र मस्तिष्कमा पार्ने नाटकीय प्रभाव अद्भुत छ । हरेक निबन्धमा वर्णित घटना र पात्रपात्रा पाठकको दिमागमा कुनै सिनेमाको दृश्यमा झैँ सजीव भएर देखा पर्छन् । अधिकारीको लेखनको त्यही विशेषताको सम्मानस्वरुप मैले यस लेखोटको शीर्षक ‘दृश्यमान् शब्दहरूको मोहक नृत्य’ राखेको छु । झन्डै ५० वर्षको समयावधिमा लेखिएका निबन्ध सङ्गृहीत प्रस्तुत पुस्तकको व्यावसायिक सफलता या असफलता कसैको वशमा छैन । तर यी निबन्धहरूले कवि हरि अधिकारीको उम्दा गद्यकारिताको आकर्षक झलक देखाउने छन् भन्नेमा चाहिँ म निश्चिन्त छु ।

हरि अधिकारीको नवीनतम पुस्तक ‘सङ्कलित गद्यरचना’ को भूमिका