त्यसको नाम नै बैत अल हिकमा थियो । यसको अर्थ हो, ज्ञानको घर । सुन्नेबित्तिकै पक्कै त्यो ज्ञानको कुनै यस्तो केन्द्र हुनुपर्छ, त्यहाँ सबै मानिस भेला भएर ज्ञानगुनका कुरा गर्दा हुन् । हुन त १३ औँ शताब्दीमा त्यो प्राचीन पुस्तकालय पूरै नष्ट भइसकेको थियो । यतिबेला त्यसको कुनै छेकछन्द र नामनिसान देखिँदैन । त्यसैले यतिबेला त्यो पुस्तकालय कहाँ थियो र त्यो कस्तो देखिन्थ्यो होला भन्ने ठ्याक्कै अनुमान गर्न गाह्रो छ ।

अचेल त्यो लाइब्रेरीको कुनै अंश नबचेको हुनाले अनुमान गर्न कठिन भए पनि बचेखुचेका साहित्यले बैत अल हिकमा कुनै समय बगदादको एउटा बौद्धिक पावरहाउसका रूपमा रहेको हुनुपर्छ । खासगरी इस्लामी स्वर्णयुगमा बगदादकै ठूलो नाम थियो । यो त्यो केन्द्र थियो, जहाँ हिजोआज चल्तीमा रहेको शून्य प्रचलित हुन थालेको थियो र आधुनिक अरबी संख्याले जन्म लिएको थियो ।

यसको स्थापना आठौँ शताब्दीको अन्त्यमा खलिफा हारून अल रसिदको निजी संग्रहका रूपमा भएको थियो । ३० वर्षपछि भने त्यो एउटा सार्वजनिक शिक्षा केन्द्रका रूपमा परिणत भएको थियो । ज्ञान केन्द्र नाम यस्तो लाग्छ, यसले त्यो बेला संसारभरिका वैज्ञानिकहरूलाई बगदादतर्फ आकर्षित गरेको हुनुपर्छ ।

हुन त बगदाद त्यो बेला बौद्धिक जिज्ञासाको एउटा ठूलो र जीवन्त केन्द्र थियो । यो अभिव्यक्तिको स्वतन्त्रताको एउटा महत्त्वपूर्ण केन्द्र पनि थियो । (यहाँ मुस्लिम, यहूदी, इसाई विद्वानहरू, अर्थात् सबैले पढ्न पाउने स्वीकृति पाउँथे ।)

यसका आर्काइभ कति ठूलो थियो भने अचेल त्यति नै ठूलो लन्डनस्थित ब्रिटिस लाइब्रेरी या पेरिसको बिबलियोथेक नेसनलको संग्रह छ ।

बैत अल हिकमा या ज्ञानको घर त्यो बेला मानविकी र विज्ञानको अध्ययनको यस्तो केन्द्र बनेको थियो, त्यसको कुनै तुलना थिएन । यहाँ गणित, खगोल विज्ञान, औषधि विज्ञान, रसायन शास्त्रजस्ता तमाम विज्ञान विषयहरूका साथै भूगोल, दर्शनशास्त्र, साहित्य र कलाको अध्ययन हुन्थ्यो । केही अन्य विषय रसायनशास्त्र र ज्योतिषशास्त्रको पनि अध्ययन केन्द्रका रूपमा यो स्थापित थियो ।

ज्ञानको यस महान् केन्द्रको छवि दिमागमा बनाउनका लागि निकै नै कल्पनाशक्ति चाहिन्छ । (तपाईंले ग्रेम अफ थ्रोन वेब शृंखलामा देखाउने ठूला किल्ला या ह्यारी पोटर फिल्मको हगवार्ट्सको पुस्तकालयजस्ता अध्ययन केन्द्रको कल्पना पनि गर्न सक्नुहुन्छ ।)

तर के कुरा चाहिँ पक्का थियत्र भने यस केन्द्रले एउटा यस्तो सांस्कृतिक पुनर्जागरणलाई जन्मायो, जसका कारण गणितको धारा नै मोडियो ।

फिबोनेकी

बगदादमा सन् १२५८ मा मंगोलहरूले घेराबन्दी गरेर यस अध्ययन केन्द्रलाई पूर्ण रूपमा ध्वस्त बनाइदिए । (भनिन्छ, आक्रमणका क्रममा नजिकैको दजला नदीमा यति धेरै पाण्डुलिपि फ्याँकिएका थिए कि यसको पानी मसीका कारण कालो भएको थियो रे !)

तर यस अध्ययन केन्द्रमा खोजिएका अमूर्त गणितीय भाषालाई पछि इस्लामी साम्राज्यले मात्र होइन युरोप र अन्ततः सारा संसारले अपनायो ।

बैत अल हिकमाको विरासतको खोजी

सरे युनिभर्सिटीमा भौतिकशास्त्रका प्राध्यापक जिम अलि-खलिली भन्छन्, “ज्ञानको केन्द्र कहाँ थियो र कसरी बन्यो भन्ने कुरा हाम्रालागि त्यति धेरै महत्त्वको कुरा होइन, बरू हाम्रा लागि ज्यादै रूचिको विषय चाहिँ वैज्ञानिकहरूको विचारको इतिहास हुर्कनुको कारण र वातावरण हो । हाम्रा लागि बढी उत्सुकताको कुरा चाहिँ यी विचार कसरी अघि बढे र हुर्किए भन्ने नै हो ।’

वास्तवमा बैत अल हिकमाको गणितको विरासतको खोजका लागि हामीले इतिहासलाई खोतल्दै समयको पछि दौडनु पर्छ ।

इटालेली पुनर्जागरणको अवसान हुनुभन्दा केही सय वर्ष पहिलेका बेला युरोपमा गणितको पर्याय एक जना व्यक्तिलाई नै मानिन्थ्यो र ती व्यक्ति थिए, लियोनार्दो द पिसा । उनको निधनपछि उनलाई फिबोनेकीका नामले चिनिन थालियो । सन् ११७० मा जन्मिएका इटालेली ती गणितज्ञको शुरूवाती शिक्षा अफ्रिका (तटीय उत्तरी अफ्रिका) को बारबेरी तटमा अवस्थित रहेको व्यापार केन्द्र बुगियामा भएको थियो ।

फिबोनो २० वर्षको नहुँदै मध्यपूर्वतिर लागे । त्यो बेला भारतको ठूलो नाम थियो । उनी भारत पुगेर फर्कनेहरूको वाहवाही सुनेर त्यतैतिर लाग्ने विचारका साथ मध्यपूर्व आइपुगेका थिए । नभन्दै उनी भारत आइपुगे र केही समय बसे । फेरि फर्केर उनी इटाली पुगे । त्यो बेला उनले आफ्नो यात्रा वृत्तान्त लिबर अबाकी (Liber Abbaci) प्रकाशित गरे. यस पुस्तकमा उनले हिंदू-अरबी संख्या पद्धतिका बारेमा जानकारीयुक्त प्रकाशन भएका शुरूवाती पुस्तकमध्येको एउटा थियो ।

लिबर अबाकीको प्रकाशन सन् १२०२ मा भएको थियो । तर त्यो बेलासम्म केही सीमित बुद्धिजीवीहरूलाई मात्र हिन्दु-अरबी संख्याका बारेमा जानकारी थियो । युरोपका व्यापारी र विद्वान अझै पनि रोमन संख्यालाई नै प्रयोग गर्थे । यसले उनीहरूको गुणा र भागा निकै जटिल हुन्थ्यो । (MXCI लाई LVII सँग गुणा गरी हिम्मत गर्नु त !)

गणितलाई सर्वसुलभ बनाइयो
फिबोनेकीको पुस्तकमा पहिलो पटक संख्याहरूको प्रयोग अंक गणितको क्रियामा भयो । यस प्रविधिको प्रयोग व्यावहारिक समस्याहरू समाधानमा हुन सक्थ्यो । जस्तो किः प्रफिट मार्जिन निकाल्न, एउटा मुद्रालाई र अर्को मुद्रामा बदल्ने, एक पद्धतिको भारलाई अर्को पद्धतिमा परिवर्तन गर्न, वस्तुहरू अदला-बदली गर्न र ब्याजको गणना गर्न यो काम लाग्थ्यो ।

फिबोनेकीले आफ्नो पुस्तकको पहिलो अध्यायमा लेखेका छन्, जो मानिस गणना कलाको जटिलता र शैलीलाई बुझ्न चाहन्छन्, तिनले औँलाको गणनामा दक्ष हुनु पर्छ । उनको इशारा ती संख्याका बारेमा थियो जसलाई अचेल बालबालिकाले स्कुलमा सिक्ने गर्छन् ।

यसरी नौ अंकहरू र शून्य, जसलाई सिफर भनियो, तिनको सहाराले अब कुनै पनि संख्या लेख्न सकिन्थ्यो । यसरी अब गणित यस्तो रूपमा परिवर्तन भएर आयो, जसको प्रयोग हरकोहीले गर्न सक्थ्यो ।

गणितज्ञ अल ख्वारिजमीको योगदान
एक गणितज्ञका रूपमा आफ्नो रचनात्मकताका कारणले फिबोनेकीको व्यक्तित्व विलक्षण त थियो नै उनमा ती चिजहरूको पनि गहिरो बुझाइ थियो, जसका बारेमा मुस्लिम विद्वानहरूले सयौँ वर्षदेखि जानकारी बटुलेर राखेका थिए । फिबोनेकीले तिनको गणना गर्ने सूत्रहरूका बारेमा जान्दथे । मुस्लिम दशमलब पद्धतिका बारेमा उनलाई जानकारी थियो र बीजगणितको ज्ञानका बारेमा पनि उनलाई राम्रो जानकारी थियो ।

वास्तवमा ‘लिबर अबाकी’ लगभग नवौँ शताब्दीको गणितज्ञ अल ख्वारिजमीको गणितीय गणना पद्धतिमा आधारित थियो । तिनकै ग्रन्थमा पहिलो पटक द्विघातीय समीकरणहरू (quadratic equations) लाई व्यवस्थित ढंगले हल गर्ने तरिका बताइएको थियो ।

गणितमा आफ्नो खोजका कारण प्रायः अल-ख्वारिजमीलाई बीजगणितका पिता भनिन्छ । बीजगणित शब्द उनैले बनाएका हुन् । अरबीमा अल-जब्रको अर्थ, टुक्रिएका अंशहरूलाई एक ठाउँमा भेला पार्नु हो । सन् ८२१ मा उनले बैत अल हिकमाको खगोल वैज्ञानिक र प्रमुख लाइब्रेरियन बनाइयो ।

अल-खलीली भन्छन्, “ख्वारिजमीको ग्रन्थले नै पहिलो पटक मुस्लिम संसारलाई दशमलब संख्या पद्धतिसँग परिचय गराएको थियो । यसपछि लियोनार्दो दा पीसा जस्ता गणितज्ञहरूले यसको प्रचार सारा यूरोपभरि गरे ।

फिबोनेकीले आधुनिक गणितमा जुन परिवर्तनकारी प्रभाव उत्पन्न गरेका थिए, त्यसको धेरैजसो श्रेय अल ख्वारिजमीको विरासतलाई जान्छ । यसरी चार शताब्दीको अन्तरमा जीवन बिताइरहेका दुई मानिसलाई एउटा प्राचीन पुस्तकालयले जोड्यो । मध्ययुगको सबैभन्दा प्रख्यात गणितज्ञ एक जना यस्ता महान् चिन्तकको काँधमा उभिएका थिए, जसको सफलताले इस्लामी स्वर्ण युगको एक महान् संस्थाका रूपमा आकार लिएको थियो ।

हुन त बैत अल हिकमाका बारेमा निकै कम जानकारी पाइन्छ तर पनि इतिहासकर प्रायः यसको कार्य क्षेत्र र उद्देश्यलाई बढाई-चढाई गरेर कथाकुथुंग्री जोड्ने लोभबाट भने रोक्न सक्दैनन् । प्रायः यसलाई एउटा मिथकीय दर्जा नै दिइन्छ तर अहिलेको समयमा हामीसँग भएका थोरबहुत ऐतिहासिक तथ्य र रेकर्डहरू ती बढाई-चढाईसँग मेल खाँदैनन् ।

अल खलीली भन्छन्, “केही मानिसहरू यो केन्द्र त्यति महान् पनि थिएन कि कसैको आँखामा बिझाओस्।”

तर पनि अल-ख्वारिजमीजस्ता मानिस यो संस्थासँग जोडिएको र गणित, खगोल विज्ञान अनि भूगोलमाथि गरिएका कामहरूकै कारण यो सही मानेमा एउटा बौद्धिक केन्द्र रहेको हुनुपर्ने अनुमान अल खलिली बताउँछन् । “यति त पक्का नै हो, यो अनूदित पुस्तकहरूको संग्रह गर्ने ठाउँमा मात्र सीमित थिएन,” अल खलिली भन्छन् ।

यस पुस्तकालयका अनुवादक तथा विद्वानहरू यहाँका ग्रन्थहरू पढून् र सर्वसाधारण विद्वान होऊन् भन्ने चाहन्थे । त्यसका लागि यहाँ ठूलो परिश्रम गरिएको थियो ।

इस्लामी संसारका प्राचीन पुस्तकालयको भूमिका

पुरानो पाण्डुलिपि

बेलायतस्थित ओपन युनिभर्सिटीमा गणितको इतिहासका प्राध्यापक जून बेरो ग्रिन भन्छन्, “ज्ञानको सो केन्द्रको आधारभूत महत्तव छ किनभने यहीँ नै अरबी विद्वानहरूले ग्रिसेली विचारोहरूलाई स्थानीय भाषामा अनुवाद गरेका थिए । र, यही अनूदित कामले नै हामीलाई गणितका बारेमा हाम्रो बुझाइको आधार बन्न पुग्यो ।”

वास्तवमा एउटा महलमा बनेको यो लाइब्रेरीले संख्याहरूका बारेमा प्राचीन विचारहरूको संसारमा चिहाउने झ्याल बन्न पुग्यो । र, वास्तवमा यो वैज्ञानिक खोजको ठाउँ बन्न पुग्यो ।

बेरो ग्रिन भन्छन्, “यी सारा संख्या पद्धतिले सिकाउँछन् कि पश्चिमेली देशहरूमा प्रचलित तरिका मात्र एक मात्र अंक प्रणाली होइन । वास्तवमा अलग-अलग अंक या संख्या पद्धतिलाई बुझ्नुको खास अर्थ छ ।”

उदाहरणका लागि जब प्राचीन समयमा कुनै व्यापारीले ‘दुई भेडाहरू’ लिख्नु पर्यो भने उसले माटोमा ती भेडाका तस्बिर बनाएर काम चलायो होला । यसरी नै २० वटा भेडाहरू लेख्न उसका लागि सम्भव भएन होला । पछि भेडाको साटो उसले एउटा चिह्न बनायो होला र यस्तो प्रणाली विकसित गर्यो होला, जसमा संख्या (चिह्न)हरूको मिलिजुली रूपले एउटा मूल्य निर्धारित गर्यो होला । अर्थात् त्यसको एउटा निश्चित मान बन्न पुग्यत्र होला । यहाँ दुई भेडाहरू देखाउनुको अर्थ, त्यसको मात्रालाई देखाउनु बन्न पुग्यो ।

फिबोनेकीको स्मृति जरूरी किन छ ?
सन् २०२१ फिबोनेकी 850 औँ जन्मजयन्ती हो । यो समय रोमन संख्याहरूको वर्षों पुरानो उपयोगितालाई चुनौती बन्न पुगेको छ ।

ब्रिटेनमा रोमन अंकयुक्त पुराना घडीहरूका अंक परिवर्तन गर्न थालिँदैछ । कक्षाकोठामा अचेल डिजिटल अंकहरूयुकत घडी राखिँदैछ । स्कूल संचालकहरूलाई अब विद्यार्थीलाई पुरानो एनालग टाइम खुट्याउन सक्दैनन् भन्ने लागिरहेको छ । संसारका केही भागमा सरकारहरूले सडकमा संकेत चिह्न र आधिकारिक दस्तावेजहरूबाट रोमन अंकलाई हटाना शुरू गरिसकेको छ । हलिउडले त केही वर्षयता सिक्वल फिल्मका टाइटलहरूमा रोमन अंक हटाउन थालिसकेको छ । सुपर बाउल च्यापियनसिप) ले पनि आफ्नो ५० औँ खेलमा रोमन अंकलाई हटाइसकेको छ । किन त ? किनभने खेलका प्रशंसकहरू कतै यसको अंकमा भ्रमित नहोऊन् ।

तर रोमन अंकसँगको हाम्रो यो दूरीले हाम्रो जिन्दगीका कयौँ पाटोमा गणितीय निरक्षरता कसरी फैलँदै जान थालेको छ भन्ने पनि बताउँछ । शायद योभन्दा पनि अहं कुरा चाहिँ रोमन अंक गायब हुँदै जानु भनेको कतै हाम्रो गणितीय बहस सञ्चालन गर्न सक्ने क्षमताको क्षयीकरण त होइन ?

सारा संसारमा रोमन अंक गायब हुँदै जाँदै गरेका बेलामा बेलायतमा मात्र बालबालिकाहरूले १०० सम्म रोमन गन्ती याद गर्नुपर्ने ढिठ पालेर बसेको छ । किनभने पछिल्लो वर्ष जब MMXX देखियो, धेरैले यो के अंक हो भनेर बुझेनन् । यो खासमा २०२० हो ।

पपुलर कल्चरमा फिबोनेकीको प्याटर्नले निकै ठाउँमा अस्तित्व जमाइरहेको छ । चाहे त्यो साहित्य होस्, फिल्म या अन्य किसिमको दृश्यकलामा यो जीवित छँदैछ । तर पनि लियोनार्दो दा पिसा अर्थात् फिबोनेकीको यो योगदानका बारेमा स्कुल तथा कलेजमा शायदै पढाइँदो हो । उनको योगदानको यो कथा एउटा महलमा बनेको पुस्तकालयमा त्यो बेला शुरू भएको थियो जब पश्चिमी क्रिस्टियानिटीको एउटा ठूलो हिस्सा बौद्धिक अँधेरोमा डुबेको थियो ।

खासमा भन्ने हो भने यो त्यो कथा हो, जसले गणितका बारेमा हाम्रो युरोप केन्द्रित दृष्टिकोण ढालिदिन्छ । यसले त इस्लामी संसारको बौद्धिक उपलब्धिका बारेमा प्रकाश पार्छ । र, इतिहासको गर्तमा रहेका अंकहरूको निकै पुरानो खजानालाई महत्त्व दिइरहनुपर्ने आवाज उठाउँछ ।

(हामीले यो कथा यहाँबाट साभार गरेका हौँ र थोरै अनुवादकीय स्वतन्त्रता पनि प्रयोग गरेका छौँः)

How modern mathematics emerged from a lost Islamic library – BBC Future