कहिलेकाहीँ ठूला लेखक र कविहरूको अभ्युदय हुँदा समकालीन सहकर्मीहरू ओझेलमा पर्ने गर्छ र पर्नु स्वभाविक पनि हो । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, विश्वेश्वरप्रसाद कोइराला आदिको साहित्यमा प्रादुर्भाव भएको बेला कैयन् कवि र लेखकहरू छायामा परे होलान् त्यसको लेखाजोखा कसैले गरेको छैन । विगत केही महिनामा मैले कैयन् समालोचनाका किताबहरू किने अनि पढेँ तर केवल तीन दर्जन लेखक कविहरू र उनीहरूका कृतिमाथि मात्रै प्रायःजसो विचेचना गरेको पाएँ । यसले मलाई सोच्न बाध्य बनायो– के नेपाली साहित्यमा तीन दर्जन साहित्यकारहरूकाे मात्र स्वामित्व छ ?
नेपालमा मात्र हैन, यही हालत रहेछ दार्जीलिङको साहित्यमा पनि । जुनबेला कवि अगमसिंह गिरी, तुलसी अपतन, ओकिउयमा, वीरेन्द्र सुब्बाहरूको दार्जीलिङमा उदय भयो, त्यही समयका धेरै कविहरू चर्चाको बाहिर रहे । उनीहरूको विशाल व्यक्तित्व र कवित्वका कारण धेरै कविहरू विस्तारै साहित्यको भूगोलबाट बाहिरिए । तर त्यसको खोजी कसैले गर्न आवश्यक ठानेनन् । उदय, खोजी, गोर्खा, प्रभात, भारती अनि पछि गएर धुँवा, दियो, दियालो, अस्तित्व पत्रिकाहरूको अवलोकन गरेमात्र पनि थाहा हुन्छ कति कविहरू बिलाए साहित्य आकाशबाट । कता बिलाए उदय-कालीन कविहरू- मनबहादुर तामाङ, रुपनारायण दाहाल, शिव रसाइली, भानुभक्त कुमाईँ, सन्तवीर लिम्बु, हर्कबहादुर राई, इन्द्रमणि मानव, हीरामाया थापा, महानन्द सुब्बा, देवदास राई, जगत राई जसको कविताहरूले उदयको कैयन् अंकहरू सजिएको थियो । धेरै जसो त दार्जीलिङका जीवित सम्पदा वरिष्ठ कवि एवं लेखक नरबहादुर दाहालका समकालीन अनि अनुज पनि ।
दार्जीलिङमा सन् तीसको दशकमा एक वर्षको अन्तराल दुई जना एकै नाम र थर भएका कविहरू जन्मिए, कवि अगमसिंह गिरी भन्दा ८ वर्ष कान्छा । राङ्गभाङ खोलोको वारि सेलेबुङ्ग चियाकमानमा एउटा जगत राई, खोलापारि मिरिकमा अर्को जगत राई अनि संयोगले दुवै कवि तर पछि आएर मिरिकमा जन्मेको जगत राईले उपनाम ‘विश्व’ थपे । अर्को संयोग दुवै पेसाले शिक्षक । जगत राईको छोरा र छोरीलाई मैले साहित्यिक चेत नखुल्दै भेटेको थिएँ भने जगत राई ‘विश्व’को छोरा कवि सिद्धार्थ राईलाई दुई दशकभन्दा पहिले काठमाडौँमा भेटेको सम्झना छ । उनले उपहारस्वरूप दिएको उनको कविता संग्रह उनीहरू जो फर्किएनन् अझै पनि मसँग सुरक्षित छ ।
सन् साठी दशक कविताको निम्ति उर्वरा क्षेत्र रह्यो दार्जीलिङ जिल्ला र वरपर । अगमसिंह गिरी, वीरेन्द्र सुब्बा, कवि ध्रुव, नरबहादुर दाहाल, रूपनारायण दाहाल, सावित्रि सुन्दास, विनीता सिंह आदिले कविको रूपमा आफैँलाई स्थापित गरिसेकका थिए त्योबेला । त्यही हुलमा आए जगत राई पनि मोखसलबाट दार्जीलिङ शहर, शिक्षकको जागिर खान दार्जीलिङ मूनिसिपल विद्यालयमा अनि साहित्यको फराकिलो फाँटमा आफ्नो प्रतिभा प्रस्फुटन गराउन । जुन क्षेत्रबाट कवि राई आए त्यो क्षेत्रबाट कवि, लेखक र संगीतकर्मीहरू निकै आएका छन् । कवि मदन आोझा र गायक-संगीतकार विनोद स्याङदेन तिनीहरूमध्येमा प्रमुख हुन् । जगत राई मूलतः कवि हुन् तर केही कथाहरू पनि लेखेका छन्। उनका दुईवटा कविता वनाराणीबाट प्रकाशित हुने ‘उदय’मा छापिएका छन् । पहिलो कविता ‘पेट’, वर्ष २५, किरण ४-७, २०१९ भाद्रमा र दोस्रो ‘मेरो कविता’ चाँहि त्यही वर्ष किरण १०-१२, पौषमा ।
‘पेट’ व्यंग्यात्मक कविता हो कवि जगत राईको । पेटले भोकको व्यथा नबुझेको भावमा लेखेको कविताले अच्छा राई ‘रसिक’को कविता र निबन्धको झझल्काे दिन्छ ।
“ त्यसैले हो भने त अब…
तँलाई नै चिरफार गरेर भुटभाट पारीकन
मैले हाँसी-हाँसी उत्सव मनाउनुपर्छ ।
तब तँ जान्दछस् भोजनका पीडा र व्यथा !
तब तँ जान्दछस् अरूका जीवन र अस्तित्व !
यसरी शान्ति उपलब्ध गरिस् भने,,
मेरो निम्ति त विश्वले शान्ति कमाउँछ ।
—— नत्र ता मृत्युपर्यन्त——–
अभिशाप सम्झी— मैले जलिरहन पर्छ ।।।
भोकको पीडालाई कविताको माध्यमबाट अभिव्यक्त गर्ने कवि जगत राईले अच्छा राई र नरेन्द्रप्रसाद कुमाईँभन्दा उमेरमा एक दशक बढी बाँच्न पाए । ३६ वर्षको कलिलो उमेरमा दुई सन्तान र पत्नीलाई छाडेर इहलीला समाप्त गरे रोगबाट थलिएर।
कवि नरेन्द्रप्रसाद कुमाईँकृत रोदन खण्डकाव्य झैँ जगत राईले पनि रोदन खण्डकाव्य लेखे, जुन धुवाँमा धारावाहिक रूपमा छापियो । कवि कुमाईँको भन्दा फरक धार र शैलीमा लेखिएको काव्यमा कुमाईँको प्रणय र प्रेमालाभभन्दा पृथक दर्शन र शैलीमा प्रस्तुत भएको पाइन्छ ।
रुनुमा जो छ जीवन सार्थक
हाँस्नुमा कति पनि छैन!
रुनु नजान्ने निरर्थक
संसार थाहा हुँदैन।
यो लेख तयार पार्दा जगत राईसम्बन्धी लेखिएका लेख वा सन्दर्भ सामग्रीहरू बटुल्ने प्रयास गरेँ । तर प्राध्यापक कृष्णराज घतानीको एउटा लेखभन्दा अरु पाउन सकिनँ । घतानी सरलाई अरू केही थप सन्दर्भ सामग्री पाइन्छ कि भनेर फेसबुकको मेसेन्जरबाट अनुरोध गरेँ तर प्रतिउत्तर आएन । घतानी सरको लेखलाई आधार बनाएर विस्मृतमा परेका कवि जगत राई बारेको लेख्नुको कुनै विकल्प रहेन ।
उनको कृतिहरू अप्रप्य त छ नै तर कुनै पनि साहित्यिक संस्थाहरूले पुनः प्रकाशन गर्ने जागर देखाएको छैन जस्तो लाग्छ । साहित्यिक मुलप्रवाहमा नआएका कैयन् लेखक र कविजस्तै जगत राई पनि विस्तारै विस्मृतमा विलीन हुँदै जानेछन् । यो धेरै दुःखलाग्दो कुरा हो ।
जगत राई नेपाली साहित्यमा प्रवेश गरेको समय दार्जीलिङमा तेस्रो आयामको जगजगी थियो भने अगमसिंह गिरी, वीरेन्द्र सुब्बा आदि निकै सशक्तरूपमा आइसकेको थियो । उत्तर-भारती-कालमा प्रकाशित भएको पत्रिकाहरू दियालो, धुँवा, दियो, अस्तित्वले पनि धेरै कवि र लेखकहरूलाई प्रश्रय दियो । दियालोमा प्रकाशित भएको उनको एउटा कवितामा जीवन बोल्छः
मुक्त उडानकी यौटा म चित्र
यौवन-पथको यौटा म दृश्य
कटु-समस्याको पूर्ति-साकार,
मै पर्यन्त सीमित-संसार।
समालोचक कृष्णराज घतानीको एउटा लेख ‘कवि जगत राईका केही कविता लिएर’ सिक्किमबाट प्रकाशित हुने प्रक्रिया पत्रिकामा छापिएकाे थियो । उक्त लेखमा घतानी सर लेख्छन्, “यी कविताहरूलाई लिएर मलाई भन्न मन लागेको कुरा के भने- अगमसिंह गिरी राईज्यूका एक अभिन्न मित्र थिए। यी दुई कविहरूका लेखनशैली र शब्दहरूका चयनमा प्रायः धेरै नै समन्वय छन् । राईज्यू कवि गिरीबाट प्रभावित भएका हुन् वा गिरीज्यू जगतजीबाट प्रभावित भएका हुन- भन्न निकै चर्को देखिन्छ । यद्यपि, जगतजी गिरीजीका पंक्तिका कवि भए पनि उहाँले जनतासम्मुख आउन संकोच सम्झन्थे- यो राईजीको ठूलो कमजोरी थियो’ ( ‘कथा-स्मृति’- तिलक र शरदबाट) । सम्भवतः अझ पर त्योभन्दा कमजोरी हाम्रो छ- ‘जगत’ज्यूका जेजति रचना प्रकाशमा आए- सबै समालोचनात्मक दृष्टिगत परिवेष्ठित छैनन्, अनुसन्धानात्मकताका साथै बृहत्रूपमा कलम उठाइएको छैन, प्रयाससम्म गरिएको छैन (यद्यपि, यो सानो प्रयास हो) । यस्ता सशक्त स्वच्छन्दवादी प्रतिभाशाली कवि ‘जगत’ज्यू वि.स. २०२६ को जेठ तदानुसार १९७० जून १२ तारिखको दिन यस जगतदेखि बिदा भए । आजीवन साहित्यको माध्यम लिएर उनले जे गरे, दिए आफ्नो भाषा-साहित्य, जाति-संस्कृतिलाई नै अग्रशीलता प्रदान गर्नु थियो, यो उनको उद्देश्य थियो ।”
समालोचक एंव इतिहासकार डा. कुमार प्रधान आफ्नो अंग्रेजी पुस्तक नेपाली साहित्यको इतिहासमा नरबाहदुर दाहाल, मनबाहदुर गरुङ जस्तै जगत राई पनि अगमसिंह गिरीबाट प्रभावित भएको बताउछन् । जगत राईले शान्तिबाला खण्डकाव्य लेखेको उल्लेख गर्छन् डा. प्रधान । राजनारायण प्रधानद्वारा सम्पादित ‘दार्जीलिङ कथा र कथाकार भाग १’ मा उनको ‘फेरि गाँउतिर’ कथा समावेश भएको पाउँछौ ।
मिरिकमा जन्मेका कवि जगत राई ‘विश्व” अध्ययनमा अब्बल थिए । स्नातक र बीटी गरेर शिक्षण पेसा अपनाएर प्रधानाध्यापकको रूपमा सेवा निवृत भए । सेलिम्बोङको जगत राईभन्दा २५ वर्ष बढी संसार देखे तर साहित्य कर्म भने बीचैमा चट्टक छोडे । १४ वर्षको उमेरमा सन् १९४८ मा ‘कमलप्रति’ कविता ‘हिमध्वानि’ पत्रिकामा प्रकाशित गरेर साहित्यमा होमिएको कवि राई उनका समकालीन कविहरू झैँ छन्दमा कविता लेखे । तर कवि जगत राई ‘विश्व’ ६० वर्षसम्म बाँचे पनि उनको कवि र लेखक जीवन केवल २८ वर्षको मात्र रहेको सचेन राईले ‘प्रकिया’ पत्रिकामा छापेको आफ्नौ लेखमा उल्लेख गरेका छन् । यस्तो प्रतिभाशाली कविले किन कविता लेख्न छोडे भन्ने विषयमा कसैलाई थाहा छैन ।
सानै उमेरमा छन्दमा कविता लेख्न निपुर्ण राई उनका कवि मित्रहरू झैँ कविताहरू पनि गोर्खा, हाम्रो कथा, युगवाणी आदि त्यसबेलाको चर्चित साहित्यक पत्रिकाहरूमा प्रकाशित भएको छ ।
अनुवाद साहित्यमा पनि उनी सिद्धहस्त प्रमाणित भइसकेका थिए । उनले सन् १९५७( वि.स.२०१४) मा उमर (ओमर) खैय्यामको रुवाइयात अनुवाद गरेका थिए जसको भूमिका तुलसीबहादुर छेत्री ‘अपतन’ले लेखेका छन् । उमर खैय्यामको रुवाइयातको अनुवादको इतिहास लामो छ । पहिलो अनुवाद गरे ओकिउयमा ग्वाइनले वि.स. २००७ सालमा, जसको प्रकाशक थिए पारसमणि प्रधान । त्यसपछि क्रमशः नारायणप्रसाद बाँस्कोटा( वि.स.२०१०), दुर्गाप्रसाद भट्टराई (वि.स. २०१६), गोविन्दप्रसाद सिंह( वि.स.२०२०), मधुसूधन देवकोटा (वि.स.२०२४), बुद्धकुमार मोक्तान (वि.स. २०२५), फणीन्द्रप्रसाद आचार्य (वि.स.२०२७) र केदार सत्याल (वि.स. २०३७) आदि अनुवाद गरेका छन् ।
“रुवाईहरू मूल कविताबाट अनुवाद भएकै भए पनि आफ्नो भाषामा रुपान्तरीत हुँदा यति सुन्दर भएको छ कि मानौ यो स्वयं मूल कविता हो । यसमा अनुवादक स्वयंको कवित्व प्रतिभा भएकोले नै यी रूवाईहरु सरस, सरल, स्पष्ट र कोमल बनाउन सकेका हुन् ।”, लेख्छन् सचेन राई आफ्नो लेखमा । यसको भूमिकामा तुलसीबाहदुर छेत्री लेख्छन्, “उमर खैय्यामको पहिलो अनुवाद हाम्रा प्रिय कवि श्री ओकिउयमाद्वारा सन् १९५१ मा भएको थियो, यो दोस्रो हो, पछि अरू पनि हुनसक्छ । तर सबैमा हामीले एक न एक विशेषता पाउनेछौँ । यो अनुवादको विशेषता- सरलता र सुस्पष्टता नै हो जस्तो मलाई लाग्छ ।”
कवि जगत राई ‘विश्व’ले अनुवाद गरेको खय्यामका रुवाईको दुई सर्ग अंग्रेजी र त्यसको नेपाली अनुवाद पनि प्रस्तुत गरेको छु । केवल १५ वर्षको उमेरदेखि अनुवाद गर्न थालेकाे यो रुवाई, केही भारतीमा प्रकाशित भए पनि । पछि अरू धेरैको आर्थिक सहयोग लिएर उनी २२ वर्षको हुँदा प्रकाशित भयो सन् १९५७ मा ।
Now the New Year reviving old Desires,
The thoughtful Soul to Solitude retires,
Where the White Hand of Moses on the Bough
Puts out, and Jesus from the Ground suspires.
नव वर्षागमबले जीर्ण इच्छा हरा भैरहेछ,
चिन्ताग्रस्त आत्माले लिइरहेछ एकान्त आसरा,
तरू-शाखामा मूसाको सेतो हस्त छ, उज्ज्वलित
अनि येसुको उच्छासले आज हरियो छ धरा।
Iram indeed is gone with all its Rose,
And Jamshyd’s Sev’n-ring’d Cup where no one Knows;
But still the Vine her ancient ruby yields,
And still a Garden by the Water blows.
लहलह गुलाबसँग विलीन भैगयो त्यो ईरम बगैँचा
जमशेदी सप्न-चक्र प्यालाको छैन नि क्यै पता;
तर अझै छ मौजूद बगैँचा दरिया किनारा
औ दाख-दारख्तले परातन मोती अझतक दिन्छ त ।
खय्यामका रुवाईको केही कुरामा कवि ‘विश्व” लेख्छन्, “ ‘भारती’मा एकाध रुवाई छापिएपछि, साहित्यिक वन्धुहरूले झट्ट प्रकाशित गराउने सहमत दिए । तर प्रबल इच्छा मनैमा रह्यो । वर्ष बिते । आखिर यो प्रकाशित भयो- उदारह्रदय महानुभावहरूका आड पाएर । तर अनुवाद कतिको सफल भयो- सो पाटक-पाधिका विचार्लान्, समालोचक जाँच्लान् । यो सेकेन्डहेन्स पुस्तकको पसलमा नफ्याँकिएला । फ्याँकिए तापनि, यसलाई पुनर्जीवन दिने स्वीनर्वन र रोसेटीहरू जरुर यसले पाउला । मेरो यस्तो आशा छ ।” यो पुस्तक पुनःमुन्द्रण भएको छैन तर यसको छायाकपी उपलब्ध गराउनेप्रति सिद्धार्थ राईप्रति आभार छु ।
थोरै कथा लेखे जगत राई ‘विश्व’ले । एउटा पागल नामक कथा राजनारायण प्रधानद्वारा सम्पादित ‘दार्जीलिङ कथा र कथाकार भाग १’ मा समावेश भएको छ।
‘सम्झना’ हस्तलिखित पत्रिकामा सन् १९५५ मा छापेको कविता ‘कवि गाउन जान्दछ’मा कविले कविको मर्म पोखेको छ । प्रशस्त हिन्दी र उर्दु शब्द प्रयोग गरी लेखेको यो कविता उनको पुत्र सिदार्थ राईले उपलब्ध गराइदिनु भएकोले यही साभार गरे ।
कवि गाउन जान्दछ
कवि सिर्फ गाउन जान्दछ
दर्द आफ्ना अन्तर्मनका
खामश भई गीतमा उनेर
सुनोस न सुनोस् -यो बेरहम दुनियाँकाई
मधुरो शीरले सुनाउन जान्दछ ।
के छ र-
यो कविको काल्पनिक दुनियाँमा,
न महल, न धन, न विलास,
न विगतका, न भविष्यतका
स्वप्न झैँ आस,
मनको आफ्नै रंगीन दुनियाँमा
आजाद भई
पखेटाउन जान्दछ।
आँसु बुँद गाँथी गाँथी
छन्दमय डोरीमा
कुर्बान गरी प्यारो जिन्दगी
सत्यको एउटै आशामा
वफिक्र वेपरवाह, बेधङकसँग-
स्वार्थ संसारलाई पैल्हाउन जान्दछ।
कवि विश्वको मार्च २८, १९५७-मा ‘हाम्रो कथा’ पत्रिकामा ‘गीत’ शीर्षकमा छापेको यो कवितामा उनको भावुकता र स्वच्छन्दवादी चिन्तन अभिव्यक्त भएको पाउछौँ ।
निमेष मात्र रही प्रिये, विल्दछ जीवनको नूर।
फक्रलान हरिया बोटमा
फूलहरु मुस्काई फेरि
शिशिरमा वैलाए पनि
सुहाउलान् वसन्त हेरी
तर-तर म यो सुन प्रिये
हेर्दै तिमीलाई क्षण-क्षण
दुःख-कष्टमा टक्कराउँदै
हुन्छ सदालाई रज-कण!
निमेष मात्र रही प्रिये, जान्छु कँहा कुन्नि सुदूर.
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।