हाम्रा पुर्खा प्रकृतिप्रेमी थिए, हाम्रो धर्म, रीतिथिति र जीवनशैली प्राकृतिक थियो, प्रकृतिसँग सामञ्जस्य भएर उनीहरू जीवनयापन गर्थे भन्ने कतिपय दाबीहरु गर्ने समुदायहरू नभएका होइनन्। अहिले हाम्रो पुस्ताले गरेको प्राकृतिक विनाश देख्दा हामीलाई त्यस्तो लाग्नु स्वाभाविक पनि हो। हामीले कतै हाम्रा पुर्खाहरूको जीवनशैलीलाई अपनाउन नसक्दा यो प्रकृतिको विनाश भएको त होइन? हाम्रो मनमा प्रश्न उठ्न सक्छ। कतिपय विद्वानहरूले त्यस्तै सोच र धारणाको आधारमा अनेकन प्राकृतिक जीवन पद्धति भन्दै विभिन्न समूहहरु, संघसंस्था र सम्प्रदाय पनि बनाएका छन्।

अब जिज्ञासा उठ्न सक्छ, के हाम्रा पुर्खा प्रकृतिप्रदत्त जीवनशैली अपनाउँथे ? के उनीहरू प्रकृतिसँग सामञ्जस्य र एकाकार थिए त ? यसैका बारेमा जति पनि अनुसन्धान भएका छन्, तिनीहरूले त्यसो भन्दैनन्। बरु विपरीत निष्कर्ष निकाल्छन्। प्रकृतिमाथि दोहन र प्राणीका विभिन्न जाति तथा प्रजातिहरूको विनाश आधुनिक मानवको मात्र कुकर्म थिएन, यो खेल त झण्डै ४० लाख वर्षअघिदेखि मानव जातिका विभिन्न प्रजातिले खेल्दै आएका छन्। अहिले त त्यसको निरन्तरता मात्रै हो।

दिपेश मूर्ति पन्त

प्राणीहरू विलुप्त हुने क्रम त हाम्रो प्रजाति अर्थात् आधुनिक मानव प्रजाति सेपियन (Homo sapiens) अस्तित्वमा आउनुपूर्व मानवका अन्य प्रजातिहरूकै कालमा शुरू भएको प्रमाणहरू फेला परेका छन्। तर आधुनिक मानव प्रजातिको विकासक्रम हेर्ने हो भने त यसले आफ्नो विस्तार यस्तो तीव्र र घातक दरमा गरेको देखिन्छ। यस क्रममा अन्य धेरै स्तनधारी प्राणीहरूसहित मानवका अन्य प्रजातिहरू समेत सेपियनको विस्तार क्रममा विलुप्त भयो जस्तो नियण्डरथल (Homo neanderthalensis) जो शारीरिक रुपमा सेपियन भन्दा निकै सुदृढ थियो।

विभिन्न कालखण्डका मानव बस्तीहरुमा प्राप्त भएका जीवाशेष (Fossil)हरुको अध्ययनका क्रममा जुन नियमित स्वरूप अर्थात् pattern देखिएको छ त्यसलाई मात्र संयोग थिए भन्न सकिँदैन। हरेक महादेशहरु चाहे एसिया होस् या अफ्रिका या उत्तरी अमेरिकादेखि साइबेरिया या अष्ट्रेलिया या म्याडागास्कर टापुसम्म मानिसको यो प्रजातिले जहाँ खुट्टा टेक्यो, त्यसको लगत्तै त्यहाँका प्राणीहरू विशेषगरी विशालकाय स्तनधारीहरु विलुप्त नै भएका थिए।

Ecology Letters जर्नलमा छापिएको एक अनुसन्धान रिपोर्टमा अनुसन्धानकर्ता University of Gothenburg का वैज्ञानिक डा. सोरेन फर्वि (D.r Søren Faurby) भन्छन् , “हो साँचो हो हामीले पहिलेका प्रजातिहरू र हाम्रै पुर्खाहरू भन्दा अत्याधिक दरमा पर्यावरण र पृथ्वीको नाश गरिरहेका छौँ तर यसको मतलब चाहिँ यो पक्कै होइन कि उनीहरू प्रकृतिसँग सामञ्जस्य थिए या प्रकृतिप्रदत्त जीवन यापन गर्दथे। हामीले अहिले जसरी प्राकृतिक साधन स्रोतमाथि एकाधिकार स्थापित गरेका छौँ, त्यस्तै व्यवहार हाम्रा पुर्खाको पनि थियो।”

अष्ट्रेलियाको विशालकाय जीवहरूको विनाशलाई हामीले आधुनिक मानव (Homo Sapiens) ले छोडेको गम्भीर खतको रुपमा लिन सकिन्छ। पछिल्लो १० लाख वर्षका तथ्यलाई केलाउने हो भने पृथ्वीमा औसतन् हरेक एक लाख वर्षको अन्तरालमा हिमयुग अर्थात् Ice age आएको छ। पछिल्लो हिमयुग झण्डै आजभन्दा ७५००० वर्ष देखि १५००० वर्षसम्म रहेको थियो। अष्ट्रेलियाका ती विशाल स्तनधारी Diprotodon जो आजभन्दा १६ लाख वर्षअघिदेखि दशौं वटा हिमयुगजस्तो विषम परिस्थिति सफलतापूर्वक झेलेको प्राणी एकएक आधुनिक मानवले पाइला टेक्नासाथ करिब ४५००० वर्षअघि विलुप्त भयो। त्यो त एउटा उदाहरण मात्र हो। योसँगै झण्डै ९०% अष्ट्रेलियाका विशालकाय जीवहरू विलुप्त भएका थिए। तर समुद्रका विशाल जीवहरू त्यसबेला पनि फलीफुलिरहेका थिए। त्यसैले यसमा जलवायु परिवर्तनकै हात थियो भन्ने सम्भावना यसैको आधारमा नकार्न सकिन्छ।

हिमयुगको अर्को विशालकाय स्तनधारी उनी हात्ती म्यामथ (Wolly Mammoth) जो साइबेरियाको तटदेखि २०० किमी उत्तरी क्षेत्र Wrangel Island जो ध्रुवीय समुद्रमा अवस्थित छ, त्यहाँ करोडौँ वर्षदेखि फलीफुली रहेको थियो, आज भन्दा १०००० वर्ष पहिलेबाट तीव्र गतिमा घट्न शुरू गर्यो, जब आधुनिक मानिसको पाइला त्यहाँ पर्यो। अनि करिब ४००० वर्षबाट यो विलुप्त नै भयो।

अष्ट्रेलियाकै उदाहरण दिने हो भने आजभन्दा करिब ४५००० वर्ष पहिले Eucalyptuses वनस्पति दुर्लभ थियो तर अहिले यो अष्ट्रेलियाको प्रमुख वनस्पति हो। यसको अस्वाभाविक फैलावटमा मानिसकै हात रहेको थियो। मानिसले आफ्नो बासस्थानको विस्तारको क्रममा आगो लगायो। ठूला रुख र झाडी मासिएपछि Eucalyptuses अग्नि प्रतिरोधी भएकाले यो सजिलै तीव्र गतिमा फैलियो। यसमा धेरै पोषक तत्त्व नहुने भएकाले यसले विशालकाय शाकाहारी स्तनधारी जनावरहरुलाई पर्याप्त भएन।

१६००० वर्षअघि साइबेरियाबाट उत्तरी अलास्का हुँदै उत्तर अमेरिका पसेको आधुनिक मानवले प्रवेश गरेको २००० वर्ष बीचमा ठूलो दाह्रे बाघ (sabre-tooth tiger), ८ टनसम्म हुने विशाल Sloth, अमेरिकी रैथाने घोडा, उँट, म्यामथ र विशाल मूसा जातिका जनावरहरू सकिदियो, जो दशौं लाख वर्षदेखि पृथ्वीको विषम वातावरणीय परिवर्तनहरू झेलेर सफलतापूर्वक फलिफुलिरहेका थिए।

म्याडागास्कर टापु जो अफ्रिकाको पूर्वी तटबाट ४०० किमी पूर्व पर्छ, त्यहाँ रहेका हात्ती चरा उड्न नसक्ने विशाल चरो, विशाल बाँदर (Lemur) आदि १५०० वर्षअघिसम्म उत्कर्षमै थिए तर जब मानिसले त्यहाँ पनि कदम राख्यो, आज ती प्राणीहरू पनि इतिहासमै सीमित भए।

चाहे क्यारेबियन टापु हुन् या सोलोमन टापु हुन् या प्रशान्त महासागरीय टापु हुन्, सबैतिर जहाँ-जहाँ मानव प्रवेश गर्यो त्यहाँ यसले आफ्नो विनाश लीला मच्चाएको छ। अग्नि दहनको आधारमा उभिएको मानव बस्ती र कृषि क्रान्तिको आकार यति विस्तृत थियो कि पृथ्वीले आफ्नो जैविक विविधताको ठूलो भाग गुमाएको स्पष्ट छ। त्यस क्रममा Sapiens पुस्तकका लेखक हरारी लेख्छन्, “पुर्खाको दुहाई दिँदै रुखलाई अङ्गालो मार्दै प्रेम प्रकट गरेर प्रकृतिप्रेमी देखिने व्यक्तिहरूलाई विश्वास गर्न पर्दैन, उनीहरू पनि त्यही आधुनिक मानव नै हुन्।”

यही अध्ययनका क्रममा अर्को तथ्य पनि फेला परेको छ, जसले मानिसको मस्तिष्कको आकार र ती जनावरहरूको विलुप्त हुने दरमा उच्च सकारात्मक समन्ध छ। जति तीव्र गतिमा मानव प्रजातिको मस्तिष्क विकसित हुँदै गयो, त्यति नै तीव्र गतिमा प्राणीहरूको विनाश भएको थियो जबकि त्यस समयमा त्यस्तो उल्लेख्य वातावरणीय परिवर्तन भएको थिएन जसले ती प्राणीहरुलाई जोखिममा पार्न सक्थ्यो। त्यसैले पूर्वी अफ्रिकामा भएको प्राणीहरूको विनाशलाई हाम्रो पुर्खाको क्रियाकलापसँग स्पष्ट जोड्न सकिन्छ।

मानिसले त्यो बेला दाह्रे बाघले मारेको शिकार मात्र चोरेन, उसले खाद्य श्रृंखलामा ठूलो हस्तक्षेप गर्यो। मांशाहारी शिकारी जनावरहरू त शिकार नपाएर नै सकिए होलान्। ती विशाल शाकाहारी स्तनपायी जनावरहरू पनि चरनको अभाव अनि लामो सन्तानोत्पादन अवधिको कारणले गर्दा जोगिन सकेनन्। अर्थात् ती प्राणीहरूको सन्तानोत्पादन दर पनि कम र अवधि पनि धेरै हुने हुँदा एउटा आमा जनावरको मृत्युले जनसङ्ख्यामा उल्लेखनीय कमी ल्याउँछ।

अहिलेका अध्ययनहरूले त बढ्दो शहरीकरण, वन विनाश, प्रकृतिक साधनको दोहन र गम्भीर प्रदूषणले जैविक विविधताको धेरै ठूलो भाग चाहे जमीन होस् या समुद्री होस्, तीव्र गतिमा नष्ट गरेको प्रत्यक्ष देखाउँछन्। अहिले त मानव प्रजाति आफैँ जोखिममा परेको छ। तर यो मानवले अहिले आएर गरेको क्रियाकलाप चाहिँ होइन, यो त लाखौं वर्षदेखि आफ्नो क्रम विकासको निरन्तरतामा गर्दै आएको हो। अझ Homo sapiens को अघि त मानवकै अन्य प्रजातिसमेत टिक्न सकेनन्। अहिले मानवको यही प्रजाति मात्र जीवित छ। तर कहिले सम्म ? यो प्रश्न त अहिले Sapiens आफैँलाई चुनौती बनेको छ।