प्लेटोले लोकतन्त्रबाट नै तानाशाह जन्मन्छ भनी उसबेला नै भनेका थिए । किनभने उनी लोकतन्त्रका बारेमा त्यति राम्रो धारणा राख्दैनथे ।

तपाईं समुद्रको बीचमा हुनुहुन्छ, नाउ कसरी चलाउने भनी तय गर्नका लागि चुनाव गराउनु हुन्छ ?
नाउ चलाउनका पोख्त कुनै व्यक्ति छ कि भनेर खोज्नु हुन्छ ?

तपाईं अवश्य पनि नाउ चलाउन जान्ने मान्छे नै कोही छ भनी खोज्नु हुन्छ । समुद्रमा नाउ चलाउनका लागि कुनै सिकारू मानिसलाई तपाईं पक्कै पनि नाउ जिम्मा लगाउनु हुन्न । यस्तो अवस्थामा विशेषज्ञताले निकै महत्त्व राख्दछ ।

तपाईं पक्कै पनि कुनै सिकारू मानिसले जन्ममरणको अवस्थामा अब के गर्ने होला भनी घोरिने मानिस चाहनु हुन्न होला ।

अब यही कुरा समुद्रमा दौडाइने नाउभन्दा कयौँ गुणा ठूलो नाउ चलाउने बेलामा अवश्य पनि गम्भीर भएर सोच्नु हुन्छ होला ! अझ त्यो नाउ नै राज्य हो भने त्यो राज्य चलाउनका लागि त अझ बढी समझदार र गम्भीर किसिमले सोच्नु हुन्छ होला । राज्य चलाउन त अझ बढी जिम्मेवार व्यक्ति नै छनोट गर्नुपर्ला, होइन त ?

उसो भए चुनावका माध्यमबाट नेता तय गर्ने कुरा उपयुक्त होला त ? त्यसो गर्नुभन्दा पनि बरू कुनै अनुभवी व्यक्तिलाई राज्य सञ्चालनको जिम्मा दिए के होला ?

यो कुरा लोकतन्त्रको पालना गरिने वा लोकतन्त्र शुरू गर्ने देश एथेन्सका दार्शनिक प्लेटोले २४०० वर्ष पहिले नै उनले द रिपब्लिक नामक पुस्तकको छैटौँ अध्यायमा दाबी गरेका थिए । द रिपब्लिक न्याय, मानव स्वभाव, शिक्षा तथा पुण्यजस्ता विषयमा पहिलो पटक पटक प्रभावशाली तरिकाले बोल्ने पुस्तक हो ।

यसमा सरकार र राजनीतिका कुरा पनि छन् । कुराकानीको शैलीमा लेखिएको यस पुस्तकमा सोक्रेट्स (सुकरात) र प्लेटो तथा तिनका साथीहरूका बीच राज्यसत्ताका बारेमा कुराकानी हुन्छ । गुरू र शिष्यहरूका बीच कुराकानीका क्रममा कुन सरकार ठीक हुन्छ भनी छलफल गरिएको छ ।

यस पुस्तकमा प्रजातन्त्रका बारेमा प्लेटोको धारणा स्पष्ट रूपमा देखिन्छ । ग्रिसेली भाषामा लेखिएको यस पुस्तकमा भनिएको छः सर्वसाधारणले बनाएको सरकार निर्णय लिने कुरामा त्यति भरोसालायक हुँदैन ।

मतदाताहरू नेताको रूपरंगबाट प्रभावित, बोली र हाउभाउ देख्ने हुनाले शासन गर्न त्यो व्यक्ति उपयुक्त छ कि छैन भन्नेतर्फ सोच्नै सक्दैनन् । सरकार चलाउने योग्यताको कसीमा जाँच्ने क्षमता सर्वसाधारणमा हुँदैन ।

बिबिसीको हिस्ट्री अफ आइडियाज् शृंखलामा दार्शनिक नाइजल वारबर्टन भन्छन्, प्लेटो सत्ताको शीर्षमा जस्ता विशेषज्ञ रहून् भन्ने चाहन्थे, ती विशेष रूपले प्रशिक्षित दार्शनिक हुनुपर्छ भन्थे । तिनीहरूमा इमान्दरिता, वास्तविकताको गहिरो बुझाइ (आम मानिसभन्दा धेरै बढी)का आधारमा चुनिनुपर्छ भन्थे ।

सत्ताको स्वरूप
इस किसिमको सरकारको स्वरूप एरिस्टोक्रेसी (अभिजात्य वर्गको शासन) थियो । ग्रिसेली भाषामा त्यसको अर्थ “उम्दा मानिसहरूको सरकार” हुन्छ । यस स्वरूपमा केही मानिस आफ्नो सम्पूर्ण जीवन नेता बन्ने तयारीका लागि हामिन्छन् । तिनीहरूमाथि गणतन्त्र चलाउने जिम्मेवारी हुन्छ ताकि तिनले बुद्धिमतापूर्ण निर्णय गर्न सकून् ।

यस्तै अर्की दार्शनिक लिन्ड्से पोर्टर भन्छिन्, “प्लेटोको विचार विशिष्टतापूर्ण थियो । उनी एरिस्टोक्रेटले निःस्वार्थ भाव और बुद्धिमत्तापूर्ण तरिकाले शासन गरून् भन्ने चाहन्थे ।”

हुन त त्यस किसिमको आदर्शले भरिएको समाज सधैँ पतनोन्मुख नै हुन्छ ।

पोर्टर भन्छिन्, “उनले त्यो बेला नै आशंका व्यक्त गरेका थिए कि पढेलेखेका र बुद्धिमान मानिसका सन्तान अन्ततः राजनीतिले दिलाउने आराम र विशेषाधिकारका कारणले भ्रष्ट हुन पुग्छन् । त्यसपछि उनीहरू आफ्नो सम्पत्तिका बारेमा मात्र सोच्नेछन् र एरिस्टोक्रेसी एक ओलिगार्की (सीमित मानिसहरूमा निहित सत्तायुक्त शासन) मा परिणत हुनेछ । ग्रिकमा यसको अर्थ ‘केही मानिसको शासन’ हुन्छ ।”

ती धनी र क्षुद्र शासक बजेटको असन्तुलनका कारण चिन्तित हुन्छन् । तिनले खर्चमा भन्दा बढी वचतमा ध्यान दिन्छन् र त्यसै कारणले समाजमा र देशमा असमानता बढ्न थाल्छ ।

समृद्धि
प्लेटो भन्छन्, “जसै धनी झन् बढी धनी हुँदै जानेछ, ऊ अझै बढी सम्पत्ति कमाउनेमा जोड दिन थाल्नेछ । त्यो बेला उसले मूल्य र मान्यताका बारेमा सोच्न छाड्नेछ ।”

जसै असमानता बढ्नेछ, अशिक्षित गरिबहरूको संख्या धनीको तुलनामा बढ्नेछ । अन्ततः ओलिगार्कको सत्ता पल्टनेछ । त्यसपछि राज्यमा एक किसिमको डेमोक्रेसी (प्रजातन्त्र)मा परिणत हुनेछ ।

हामी लोकतन्त्र या प्रजातन्त्रको प्रशंसा सुन्न अभ्यस्त छौँ । तर एरिस्टोक्रेसी र ओलीगार्कीभन्दा डेमोक्रेसी तेस्रो दर्जाको शासन व्यवस्था हो भन्ने सुन्दा हामीलाई अनौठो लाग्छ ।

यति मात्र होइन रिपब्लिक पुस्तकमा प्लेटोको मनमा उब्जिएको कुरातर्फ सोक्रेटस (सुकरात)ले के इशारा गर्छन् भने लोकतन्त्र अराजकताको एउटा सुखद् रूप हो । र, यो पनि उसभित्रको विरोधाभासका कारण अन्य शासनजस्तै सकिन्छ ।

र, जसरी एरिस्टोक्रेसीबाट ओलिगार्की जन्मिएको थियो, त्यसैगरी डेमोक्रेसी (जनताको शासन)बाट निरंकुशता जन्मन्छ ।

यसको कारण के हो भने जब मानिस सम्पत्ति हासिल गर्नका लागि एउटा अन्धो दौडमा लाग्न थाल्छन्, यसले समाजमा समानताको माग उठ्न थाल्छ । समानताको भोक उत्पन्न हुन थाल्छ । र, यसरी नै कहिल्यै तृप्त नहुने स्वतन्त्रताको प्यासले एउटा निरंकुशताको माग उत्पन्न गरिदिन्छ ।

स्वतन्त्रताको खिल्ली
अति स्वतन्त्रता पाएपछि के हुन्छ ? मानिसले अझ बढी स्वतन्त्रता चाहन्छन् ।

जुनसुकै मूल्य चुकाएर पनि स्वतन्त्रता पाउने लक्ष्य छ भने स्वतन्त्रताले गुट र मतभिन्नतालाई जन्माउँछ । तिनले संकीर्ण हितहरूका कारण असल कुरा केही देखिने छैन ।

यस्तोमा जो पनि नेता बन्न चाहन्छ, उसले ती गुटहरूलाई सन्तुष्ट बनाउनु पर्नेछ । तिनका भावनालाई ध्यान दिनुपर्नेछ । यस्तो हुनु भनेको कुनै पनि तानाशाहले फल्नेफुल्ने अवस्था परिपक्व हुनु हो । किनभने लोकतन्त्रलाई नियन्त्रण गर्नका लागि त्यही तानाशाहले जनतालाई भ्रमित पार्ने गर्छ ।

यति मात्र होइन, आवश्यकताभन्दा बढी स्वतन्त्रताले एक किसिमको उन्मादी भिड जन्माउँछ । यस्तो अवस्थामा सर्वसाधारणको विश्वास शासकले गुमाउन थाल्छन् । मानिसहरू चिन्तित हुन थाल्छन् । यस्तो अवस्थामा उनीहरूले त्यस्तो नेतालाई समर्थन गर्न थाल्छन्, जसले तिनको डरलाई उचाइमा पुर्याउँछ, पाल्छ-हुर्काउँछ । त्यसपछि ऊ सारा जनताको रक्षकका रूपमा आफूलाई उभ्याउँछ । हुन त प्राचीन एथेन्सबासीकहाँ प्रत्यक्ष लोकतन्त्र थियो । यस्तोमा मतदाता लगभग हरेक चिजका लागि आफ्नो मत जाहेर गर्थे । त्यो चाहिँ कहिल्यै नसकिने जनमत संग्रहजस्तो बन्न पुगेको थियो ।

दार्शनिक लिन्ड्से पोर्टर भन्छिन्, “अचेल कयौँ यस्ता संस्थाहरू छन्, प्लेटोका बेलामा ती थिएनन् । तीमध्ये प्रतिनिधित्व गर्ने लोकतन्त्र, सर्वोच्च अदालत, मानव अधिकार कानुन, सर्वशिक्षा आदि । यी त्यस्ता उपकरण हुन्, जसले अविवेकी भिडको शासनलाई नियन्त्रित गर्थे ।”

हुन त पछिल्लो समय डोनाल्ड ट्रम्प जस्ता नेताहरूको उदयले ‘द रिपब्लिक’को चेतावनीलाई एक पटक पुनः अहं बनाइदिएको छ ।

एंड्रयू सलिवानजस्ता कयौँ विश्लेषक र राजनीतिक टिप्पणीकारले प्लेटोका धारणा र तिनको वतर्मान सामञ्जस्यका बारेमा धारणा राखेका थिए ।

प्लेटोलाई केन्द्रमा राख्दै उनले भनेका छन्, यस्ता नेता “सामान्यतया उच्च वर्गबाट आउँछन् तर वर्तमान समयसँग तालमेल बनाउँछन् । तिनले एउटा आज्ञाकारी भीडमाथि अधिकार जमाउँछन् र त्यस भिडबाट धनीहरूलाई भ्रष्टाचारी भन्न थाल्छन् ।”

“अन्ततः त्यस्ता मानिस एक्लै उभिन्छन् र भ्रमित, विचलित र आफैँमा दिग्भ्रमित जनतालाई अनगिन्ती विकल्पहरूमध्ये कुनै एउटा चुन्न र लोकतन्त्रको असुरक्षाहरूबाट स्वतन्त्रता दिन्छन् । त्यस्ता व्यक्तिले आफूलाई नै हरेक समस्याको समाधानकर्ताका रूपमा उभ्याउँछन् । अनि जसै जनताले त्यस्ता व्यक्तिलाई समाधानको रूपमा हेर्न इच्छुक हुन थाल्छन्, लोकतन्त्र तत्काल उँधोमुन्टो झर्न थाल्छ ।”

तर यहाँनेर एउटा अर्को कुरा पनि छ । दार्शनिक पोर्टर भन्छिन्, त्यस्तो अवस्थाबाट जोगाउनका लागि प्लेटोको भनाइको गूढार्थ बुझ्न जरूरी छ । हुन त, एरिस्टोक्रेट्सबाट शासित हुनु भनेको त्यस्ता नेतृत्वबाट शासित हुनु हो, जो भ्रष्ट हुँदैन र तिनले पाएको शिक्षाका कारण तिनले राम्रो र बुद्धिमतापूर्ण निर्णय गर्नेछन् । त्यस्ता एरिस्टोक्रेटले लगातार आफैँलाई प्रश्न गर्छन्- सबैभन्दा उचित र विवेकपूर्ण बाटो के होला त ? प्लेटोले त्यसको सही र सटीक जवाफ दिएका छन् । प्लेटो भन्छन्, उचित, विवेकपूर्ण र बुद्धिमतापूर्ण निर्णय गर । त्यो निर्णयमा मूल्य प्रधानता होस्, भावनाको होइन ।’