नेपालमा वीर्य बिक्री हुन थालेको निकै भइसकेको छ । भर्खरका युवाहरूको वीर्य किनेर तिनलाई बैंकिङ गर्ने कामको थालनी गरेको आधा दशक भइसकेको छ ।
विदेशतिर एक दशक बढी भइसकेको वीर्य बैंकिङले ल्याएका अनेकन् अप्ठेराका कथाहरू बजारमा छताछुल्ल भइसकेका छन् । हिन्दीमा बनेको एउटा फिल्म विक्की डोनरले त हँसाउँदा हँसाउँदै फिल्मको नायकको रून्चे हाँसोप्रति दया नलाग्ने होइन ।
विक्की नामक युवाको वीर्य र शुक्राणुका कारण सन्तानविहीन दम्पतिका लागि कसरी वरदान बन्यो भन्ने सो कथा कुनै फिल्मी कथा होइन, सन्तान जन्माउन नसक्ने पुरूषहरूका लागि पनि राहतको श्वास फेर्ने अवस्था बन्न पुगेकोछ ।
तर यसमा अर्को एउटा समस्या पनि छ । मानौँ, कुनै पुरूषको वीर्य स्वस्थ छ । यसबाट सन्तानोत्पादन सम्भव छ तर समयअगावै ती पुरूषको दुर्घटनाका कारण निधन भयो भने के होला त ?
यस्तोमा निधन भएका व्यक्तिका आफन्तहरू उसको सन्तान कुनै न कुनै रूपमा आओस् भन्ने नै चाहन्छन् । त्यसका लागि शुरूमा नै ती व्यक्तिको शुक्रकीट मृत्युपछि पनि संरक्षित गरिन्छ । पछि आवश्यक परेका बेला ती शुक्रकीटबाट सन्तान जन्माइन्छ ।
५० वर्षअघिको शुरूवात
धेरैअघि निधन भएको मानिसको शुक्रकीट निकाल्ने क्रम सन् १९७० को दशकमा अमेरिकामा भएको थियो ।
पहिलो पटक लस एन्जल्स शहरका एक डाक्टर कैपी रथमेनले कुनै मृत मानिसको शरीरबाट शुक्रकीट निकालेर तिनलाई संरक्षण गरेका थिए । उनले बाँझोपनको शिकार भएका पत्नीका पतिबाट शुक्रकीट निकालेर संरक्षित गरेका थिए ।
उनको सोही कामबाट थाहा भएको थियो कि कुनै पनि व्यक्तिको निधनको ४८ घण्टापछि पनि उसको शरीरमा रहेका शुक्रकीटहरू ज्यूँदै हुन्छन् । तिनलाई निकालेर सन्तानोत्पादन गर्ने कार्यका लागि उपयोग गर्न सकिने रहेछ ।
यसपछि पनि मृत व्यक्तिबाट शुक्रकीट निकालेर संरक्षण गर्ने कार्य शुरू हुन थाल्यो ।
वास्तवमा सन्तानोत्पादनका लागि स्त्रीको अण्ड र पुरूषको शुक्रकीटको मेल हुनु अति आवश्यक हुन्छ ।
जो मानिसले प्राकृतिक रूपमा यस्तो गर्न पाउँदैनन्, तिनको शुक्रकीट र अण्डलाई शरीरबाहिरै मिसाइन्छ । त्यसपछि गर्भलाई स्त्रीको गर्भाशयमा हुर्कनका लागि छाडिन्छ ।
जब डाक्टर रथमेनले मृत व्यक्तिबाट शुक्रकीट निकालेको खबर फैलियो, ६ साताभित्रै उनी ६ महिनाका लागि बुक भए ।
त्यसै बखत एक जना ठूला नेताका छोरा कोमामा गए । मस्तिष्कीय रूपमा तिनको मृत्यु नभए पनि उनी मरेतुल्य थिए । ती नेता आफ्नो छोरोको शुक्राणु सुरक्षित रहोस् भन्ने चाहन्थे ताकि पछि तिनै शुक्रकीटको माध्यमबाट उनी आफ्ना नातिनातिनाको अनुहार हेर्न सकून् ।
१९७० को दशकमा शुक्रकीटलाई सुरक्षित गर्ने प्रणालीको शुरूवात भए पनि सुरक्षित शुक्रकीटबाट सन्तान जन्माउनका लागि सन् १९९९ नै कुर्नु पर्यो । कृत्रिम तरिकाले यसरी सन्तान जन्मन थाले ।
गेबी वर्नोफ नामक महिलाले एउटी छोरी ब्रेन्डेलिन जन्माइन् । ती महिलाका पतिको निधनलगत्तै डॉक्टर रथमेनले तिनको शुक्राणु निकालेर ल्याबमा सुरक्षित राखेका थिए । सोही शुक्राणुको सहयोगबाट उनी आमा बन्न सफल भएकी थिइन् ।
हिजोआज रथमेन अमरिकाकै सबैभन्दा ठूलो वीर्य बैंक चलाउँछन् । अहिलेसम्म उनले दुई सयभन्दा बढी मृत व्यक्तिको शुक्राणु निकालेर सुरक्षित राखेका छन् ।
यस कार्यका लागि अचेल अमेरिकामा रथमेन मात्र होइन, कयौँ चिकित्सकहरूले आफ्नो नाम र दाम यही कामबाट कमाएका छन् ।
कुनै पनि पुरूषको मृत्युको ४८ घण्टाभित्रै शुक्राणु निकालेर सुरक्षित गर्न सकिन्छ । अस्ट्रेलियामा त अझ ४८ घण्टापछि निकालिएको शुक्राणु पनि सुरक्षित रूपमा निकालिएको थियो । त्यस शुक्रकीटबाट एउटा स्वस्थ सन्तानसमेत जन्मिएको थियो ।
कसैको मृत्युपछि शुक्राणु निकाल्नु के नैतिक रूपमा उचित होला त ? यस्तो प्रश्न पनि तीव्र रूपमा नउठेको होइन । भलै मृत व्यक्तिले आफ्नो मृत्युअघि मेरो वीर्य निकालियोस् भनेर स्वीकृति प्रदान नगरेको होस् तर तिनका आफन्तले उसको मृत्युपछि पनि उसको कुनै न कुनै अंश यो संसारमा रहोस् भनेर इच्छाविपरीत अर्थात् उसले कल्पना नै नगरेको चिजमा सहभागी गराउने गर्छन् । यसो गर्नु के उचित होला त ?
नैतिक रूपमा भन्ने हो भने घर परिवारले त्यस्तो इच्छा राख्नु नैतिक रूपमा गलत हुन्छ । उनीहरूको निजी इच्छाका कारण मृत व्यक्तिको इच्छाविपरीतको कार्य गर्नु अनैतिक नै हुनेछ । अर्को कुरा, कसैको इच्छापूर्तिका लागि मृत व्यक्तिको शरीरसमेत प्रयोग गर्नु कत्तिको न्यायोचित कुरा हो ?
कानुनले के भन्छ ?
भर्खरै विवाह भएका युवा दम्पति छन्, कुनै दुलाहाको चाँडै मृत्यु भयो भने यस्तोमा दुलहीले पक्कै पनि उसको शुक्रकीट सुरक्षित गरी आफ्नो आमा बन्ने सपना पूरा होस् भन्ने नै चाहन्छे ।
यस मामिलामा नेपालको कानुन त्यति सजिलो छैन ।
अमेरिकामा अन्य कयौँ किसिमका मानवीय अंगबारे कानुन बनाइएको भए पनि शुक्राणुका बारेमा केही बोलिएको छैन । यसैगरी कृत्रिम गर्भाधानका बारेमा पनि बेग्लाबेग्लै राज्यमा बेग्लाबेग्लै कानुन बनाइएको छ ।
कुनै मानिसले आफ्नो अन्तिम इच्छाको रूपमा आफ्नो अंगलाई मृत्युपछि के गर्ने भनी बताउने गरेको भए पनि कतिपय अवस्थामा परिवारको इच्छाले अंगदानका सन्दर्भमा निर्णय लिन सक्छन् तर जब शुक्रकीटको सन्दर्भमा भने यो अलि क्लिष्ट बन्न पुग्छ । किनभने यसबाट त नयाँ जीवन जन्मन्छ । त्यसैले अमेरिकाका कयौँ अदालती निर्णयमा रगत, हाड, हस्थिहाड र अन्य अंगलाई बढीभन्दा बढी महत्त्व दिइएको छ ।
अमरिकी सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिनका अनुसार “यदि वसियतमा कुनै किसिमको कुरा उठाइएको छैन भने कुनै डाक्टरको मृत्यु भएको मानिसको शुक्राणु निकाल्न बाध्य गर्न सकिने छैन ।”
हुन त अमेरिकी सोसाइटीले कतिपय अवस्थामा अस्पताल आफैँले निर्णय गर्न पाउनुपर्छ भनी बताएको छ ।
तर कयौँ देशले भने मृत व्यक्तिको शरीरबाट शुक्राणु निकाल्नका लागि प्रतिबन्ध नै लगाएको छ । फ्रान्स, जर्मनी, स्वीडेन र क्यानडामा यस्तो प्रतिबन्ध लगाइएको छ ।
बेलायतमा कुनै व्यक्तिको निधन हुनुअघि यसको स्वीकृति लिइएको छैन भने त्यस्ता व्यक्तिबाट शुक्राणु निकाल्न नसकिने अवस्था छ ।
सन् १९९० को दशकमा डायेन ब्लड नामक एक जना महिलाले उनको पतिको निधनपछि शुक्राणु निकाल्नका लागि स्वीकृति पाएकी थिइन् । अदालतले उनलाई त्यसको स्वीकृति दिएको थियो । तर त्यसका लागि पनि उनले उनको पतिको शव देशबाहिर लग्नु पर्यो र देशबाहिर नै उनी गर्भवती बन्नु पर्यो ।
यसैगरी अस्ट्रेलियाको क्विन्सल्यान्डमा एक जना महिलाले पतिको निधनपछि उनको शुक्रकीट प्रयोग गर्ने स्वीकृति पाइनन् ।
यस्तै इजराइलमा एक जना व्यक्तिको निधनपछि तिनका परिवारजनले उसको शुक्राणु निकाल्ने स्वीकृति मात्र दिँदैन, यस कार्यका लागि सरकारले सहयोगसमेत गर्ने गरेको छ ।
तर सन् २०१५ मा इजराइलमा अनौठो घटना देखियो । एक जना सैनिकको निधनपछि तिनका आमाबुवाले छोरोको शुक्राणुको सहयोगले बुहारीले सन्तान जन्माओस् भन्ने चाहन्थे ।
तर सैनिककी विधवा पत्नीले अस्वीकार गरिन् । ती महिलाले आफ्नो पतिको शुक्रकीट भविष्यमा प्रयोग नगरियोस् भनी प्रतिबन्धसमेत लगाइदिइन् ।
सामान्यतः यस्तो घटना मृत व्यक्तिका नजिकका मानिसहरूले शुक्रकीट निकालेर सुरक्षित राख्ने इच्छा व्यक्त गर्छन् । शुक्रकीट बैंक चलाउनेहरूले धेरैलाई प्रश्न सोध्ने गर्छन्, ‘यदि तपाईंको मृत्यु अचानक भयो भने मृत्युपछि पनि तपाईंको शुक्रकीट प्रयोग गर्न चाहेको खण्डमा के गर्न चाहनुहुन्छ ?’
प्रायः मानिसहरूले शुक्रकीटलाई प्रयोग गरेर सन्तान जन्माउँछन् भने जन्माउन दिए भइहाल्यो त भनी जवाफ दिने गरेका छन् ।
सन् १९९८ मा ब्रिटिस मेडिकल जर्नलले यसरी कुनै व्यक्तिको मृत्युपछि उसको वीर्य सुरक्षित राखी सन्तान जन्माउनुलाई अनैतिक मानेको थियो । पत्रिकामा भनिएको थियो, चिकित्सकहरूले यस्तो गर्नलाई अस्वीकार गर्नुपर्छ । र, त्यसका लागि साहस देखाउनुपर्छ ।
सन् २००८ मा अमेरिकामा भएको एउटा सर्भेमा मृत्युपछि मानिसको शरीरबाट शुक्राणु निकाल्नु जायज भएको बताइएको थियो ।
बिबिसीको मूल लेख यहाँ पढ्नुहोस्ः
The moral maze of using a dead man’s sperm – BBC Future



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

