साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

‘फर्सीको जरा’माथि केही प्रश्न

नेपाली कविता र समालोचनाका क्षेत्रमा स्थापित नाम हो, विप्लव ढकाल। उनका निर्जन बन्दरगाह, कालो मध्यान्तर र च्याउको जङ्गल, प्रोफेसर शर्माको डायरी, अन्तिम नायिकाजस्ता पुस्तक प्रकाशित छन्। ढकाललाई मोहन कोइरालाको कविता ‘फर्सीको जरा’माथि केही प्रश्न :

तपाईंको दृष्टिमा कवि मोहन कोइरालाको परिचय?

विप्लव ढकाल

मोहन कोइराला नेपाली कवितामा प्रयोगवादी धाराका प्रवर्तक तथा केन्द्रीय कवि हुन्। महाकवि देवकोटाको निधनसँगै स्वच्छन्दतावादको मूल प्रवाह अवरुद्ध बनेको र पञ्चायतको प्रारम्भसँगै नागरिक स्वतन्त्रता कुण्ठित हुन पुगेको पृष्ठभूमिमा उनले विसंगत, अमूर्त र अवचेतन लेखनका माध्यमबाट नेपाली कविताको एउटा युगलाई नेतृत्व गरेका छन्। लामो कविताको क्षेत्रमा पनि उनको अग्रणी योगदान रहेको छ। उनी जटिल र गम्भीर कविताका शिल्पी हुन्। उनका कविताले पाठकको उच्च बौद्धिकता र गहन काव्यिक साक्षरताको माग गर्छन्। सामान्य पाठकका लागि त उनका कविता फलामको चिउराजस्तै छन्।

समयचेतका दृष्टिकोणले ‘फर्सीको जरा’ कस्तो कविता हो?
‘फर्सीको जरा’ समग्र प्रयोगवादी कालको एउटा साझा प्रतीक र साझा दृष्टान्त हो। पाठकले नबुझेरै सर्वाधिक चर्चित बनेको कविता हो यो। यसले २०औँ शताब्दीका पाश्चात्य चिन्तन र लेखनपद्धतिलाई सूक्ष्म रुपमा आत्मसात् गरेको छ। यसमा समयलाई निरपेक्ष सत्य मानिएको छैन। प्रत्येक मान्छे र उसको चेतना नै समय हो। विसंगत मानवीय अस्तित्व र उसले भोगेको समयबीचको कठोर द्वन्द्व नै कविताको मूल विषय भएकाले समयचेतका दृष्टिले यो निकै शक्तिशाली कविता हो।

शिल्पको कसीमा?

मोहन कोइराला

समयले जन्माएको सौन्दर्य चेतनासँगै कविताका शिल्प निर्माण हुने र भत्किने गर्छन्। ‘फर्सीको जरा’ विशृंखलित संरचना, मुक्त साहचर्य र चेतन प्रवाहपूर्ण शैलीका कारण बहुचर्चित बनेको कविता हो। यसको आन्तरिक संरचना अस्तव्यस्त छ। प्रतीकवादी स्वप्नलेखन, अतियथार्थवादी स्वचालित आचेतन लेखन, प्रभाववादी मनोगत तत्क्षणताको लेखन, विसंगतिमूलक दृष्टि र अस्तित्ववादी भावबाट निर्माण भएको अमूर्तता नै यसको विशेषता हो। समष्टि प्रभावबाट मात्रै यो कविता बुझ्न सकिन्छ। अपरम्परित विम्ब र प्रतीकहरुको बहुल प्रयोगबाट यसले नेपाली कविताका धेरै परम्परागत शिल्प र प्रविधिलाई भत्काएको छ र पछि आफैँ यो पनि भत्किएको छ।

गतिशील समाजमा वैचारिक दृष्टिकोणले यो कविताको आयु र औचित्य कति छ?
हरेक कविताको आयु र औचित्य समयसँग जोडिएको हुन्छ। यस कविताले जीवनका कठोर विरोधाभासलाई विचारको सूत्र बनाएको छ। जीवनको गति, मूल्य र सूक्ष्म अर्थहरुको खोजी गरेको छ। जीवन भनेको त फर्सी हो। फर्सी कहाँ जटिल छ र? एउटा फर्सीलाई बुझ्न सक्यो भने जीवन सजिलै बुझ्न सकिन्छ। कविले मान्छेको चेतनालाई चुनौती दिएका छन्। यो कविता चेतनाको पीडाबाट जन्मिएको कविता हो। त्यसैले यसको आयु र औचित्य त्यति चाँडै समाप्त हुनेछैन। तर, अर्कातिर यही कालखण्डमा समयसँग सरल संवाद गर्दै हिँडेका भूपि शेरचन, हरिभक्त कटुवाल र अन्य कविहरुको पनि त्यत्तिकै शक्तिशाली उपस्थिति थियो भन्ने सत्यलाई बिर्सनु हुँदैन।

तपाईं कविताको ‘कोरियोग्राफी’सम्बन्धी अध्ययन गर्दै हुनुहुन्छ, यो कविताको कोरियोग्राफी?
यस कवितामा अनेकौँ स्वरुपमा उपस्थित भएको एउटा समाख्याता छ। उसले आफूलाई कुखुराको कमजोर चल्ला, काँक्रो, फर्सीको बियाँ, माटो, फर्सीको मुन्टा, पात र जरा, तोरियाँको जरो, पारिजातको थुतुनो, अनन्त समय, हुट्टिट्याउँ र आकाशका रुपमा चिनाएको छ। शून्यबाट पलाएर शून्यमै समाप्त हुने हाम्रो अस्तित्वका अनन्त सम्भावनालाई खोज्ने क्रममा यस कविताको कोरियोग्राफी निर्माण भएको छ। हाम्रो अस्तित्व विश्वासको जरामा अडिएको छ। तर विश्वासको घना र रंगीन जंगलभित्र हामी विश्वासलाई नै विश्वास गर्न सक्दैनौँ। हिजो, आज र भोलिको विश्वासमा समानता र संगति छैन। समयको अविरल र अनन्त यात्रामा हाम्रो क्षणिक अस्तित्वको कुनै मूल्य छैन। अनेकौँ विश्वासमध्ये हामीलाई बाँच्न ‘एक विश्वास’ भए पुग्छ। तर आफ्ना अर्थहीन र भ्रमपूर्ण विश्वासप्रति हामी थाकेका छौँ। यही थकाइबाट सत्यको उद्बोधन र सम्भावनाको उज्यालो खोज्ने क्रममा फर्सीको सिंगो जीवनी नै यस कविताको कोरियोग्राफी बनेर आएको छ।

प्रस्तुति : ध्रुवसत्य परियार
२०७४ जेठ २७ नागरिक

 

प्रतिक्रिया
Loading...