अब्बल समालोचक त थिए नै उनी,  भावुक कवि पनि थिए । धेरै नामी लेखक र कविहरु पनि तर्सिन्थे उनको चुस्त शब्द प्रहारबाट । तर कसैलाई पनि अपमान गरेर लेख्दैन थिए उनी । सबै समान थिए उनको दृष्टिकोषमा । उनको रचनाको आलोचना सानै ठिटोले गरेर लेखोस्, उनले  आफ्नै पाराले जवाफ दिन्थे, त्यतिकै च्यातेर फ्यालिदिँदैन थिए । यसको ज्वलन्त उदाहरणचाहिँ म स्वयम् नै हुँ । ती साहित्यकार थिए रामकृष्ण शर्मा- आधुनिक नेपाली समालोचनाका निर्माता मध्येका एक ।

रामकृष्ण शर्मा

म दश कक्षामा पढ्दा पाठ्यक्रम बाहिरका धेरै  पुस्तकहरु  पढ्थे । त्यहीबेला हातमा पर्यो उत्तम कुँवरको  स्रष्टा र साहित्य ( वि.स. २०२३) र रामकृष्ण शर्माको सप्त शारदीय( वि.स. २०२४) । शर्माले लेखेको र बालकृष्ण समले अन्तर्वार्तामा भनेको कुरामा विरोधाभास छ भनेर शर्मालाई पत्र लेखेँ मैले । समले पूर्वीय दर्शनबाट प्रभावित भएर नाटक लेखेको भनेका थिए भने शर्माले समको नाटकमा पश्चिमी साहित्यको प्रभाव भएकाे लेखेका थिए । शर्माले तुरून्तै जवाफ दिए- समले जे भने पनि म आफ्नो अडान परिवर्तन गर्दिनँ, मसँग सहमत हुनुहोस् या असहमत, त्यो तपाईको व्यक्तिगत कुरा हो ।  एउटा दश कक्षाको केटोलाई यसरी उत्तर आउनु मेरो निम्ति आश्चर्य मात्रै थिएन गर्वको विषय पनि थियो । किनकि उनी मुर्धन्य साहित्यकार मात्र थिएनन्, उच्च न्यायलयको बहालवाला न्यायाधीश पनि थिए ।

रामकृष्ण शर्मालाई बुझ्ने यो पहिलो खुड्किलो थियो मेरो लागि । त्यही पत्रमा उनीद्वारा रचित कविको धन पढ्ने सुझाव दिए, सोही अनुसार मैले त्यो निबन्ध अधोपान्त पढेँ । त्यस निबन्धमा निबन्धकारले कविको धन भाव र शैली दुवै हो भनेका छन् । उनी भन्छन्, “कुनै एउटा कविको भाव र शैली धन अर्को कविले लिएको खण्डमा सो कवि साहित्यमा “एक्सप्लोइटर” कहलिन्छ ।” शर्मा तर्क गर्छन्, “साहित्यिक चोरी बौद्धिक अपराध हो, नैतिकताको ताट पल्टाइ अलंककरणको प्रदर्शन हो । चोर्नु असल होइन जितेर लिनु असल हो । एक कविको भाव र शैली अर्को कविले लिएको खण्डमा सो कविले ऋण स्वीकार गर्नु असल हो ।”

बर्मामा जन्मिएर, गुवाटी र कलकत्तामा शिक्षा-दिक्षा पाएका रामकृष्ण शर्माले कालिम्पोङलाई कर्म थलो बनाए, दोस्रो युद्धपछि । पढाइमा अब्बल थिए उनी, अंग्रेजी भाषामा एम.ए.सम्म अध्ययन गरे भने कानुनमा स्नातक गरे प्रथम श्रेणीमा  प्रथम भएर ।

शर्माको कृतिहरुको सिंहालोकन गर्दा समालोचनमा मात्र खुम्च्याएर राख्नु सरासर अन्याय हुनेछ । वि.स. २०१० मा ‘बलिदान खण्डकाव्य लेखेर कविको रुपमा स्थापित भएका शर्माले वि.स. २०३० मा भावालु मेरो मन कविता सँगालो प्रकाशित गरेका थिए । उनको लोकछन्द झ्याउरेमा लेखिएको ‘बलिदान’ मा भावना र कल्पना मात्र छैन, मार्मिकता पनि प्रचुर मात्रामा छ।

संसारभित्र रहेर कर्म नगरी नहुने

सम्झूँला यही गरूँला कर्म कंलक नहुने,

नयन चरी कंलक नहुने ।

……………………………………………….

तिमीलाई होइन, प्रेमलाई दिए जीवन यो बलिदान

केही दिनपछि निभेर जाला जलेको मेरो प्रान

प्रेमको रिमझिम, जीवन भो बलिदान । 

भावालु मेरो मन कविता संग्रहमा २७ वटा कविताहरु संकलित छन्, जसमा विभिन्न रुप र स्वरुपका कविताहरु समावेश भएका पाउछौँ। युवा अवस्थाको अल्लारेपन  र जीवनको यथार्थपनको मिश्रणले सजिएको त्यो संग्रहमा उनले विभिन्न चरणमा लेखिएको कविता संग्रहित छन् । लक्खीदेवी सुन्दासले वि.स. २०४४ को ‘मधुपर्क’मा रामकृष्ण शर्माको कवितालाई स्वच्छन्दतावादी, प्रतीकात्मक, कारूणिक, पौराणिक मिथ, शोक कविता, आतीय भावधारा र पत्रात्मकमा वर्गिकरण गरेका छन् ।

शर्माका कविता यात्रा वि.स. १९९७ मा ‘खोजी’ पत्रिकामा मेरो जीवन शीर्षक कविताबाट सुरु भएकाे थियो । र अन्त्य वि.स. २०४३ मा ‘रत्नश्री’ पत्रिकामा चौरासीको एक विश्राम कविताको प्रकाशनसँगै भयो । रामकृष्ण शर्माको कविहृदय लेखमा समालोचक डा. शान्ति छेत्री लेख्छिन्, “रामकृष्ण शर्माजस्ता प्रचण्ड अध्ययनशील व्यक्तिबाट निश्चय नै भव्य, उच्च, उदात्त कवित्व-शक्तिको अपेक्षा गर्न सुहाउँछ तर उनको यस आत्मास्वीकृतिलाई तमाम पाठक र समालोचकले बुझिदिनु परेको छ ।, (भावालु मेरो मनको प्रवेशिकाबाट),  गद्यलाई नै आफ्नो भाव-विकास गर्ने माध्यम बनाएको हुनाले र हृदय मथेरभन्दा मस्तिष्क जोतेर नै साहित्य सेवा गर्ने बानी परेकोले मैले लामा पद्य रचनातिर आफ्नो चित्त झुकाउन सकिनँ । …. यो संग्रहमा परेका दुईवार कविताले पाठकलाई आकृष्ट पार्न सके मैले सन्तोष मान्नु पर्छ ।”

रामकृष्ण शर्माको कवितामा जाति प्रेम र उत्थानको प्रशस्तै प्रसंग पाइन्छ । नाम्लो र बन्दुकबाट माथि उठी कलम चलाउनु पर्छ, नेपालीहरु भावको यो कविता निकै मननीय छ ।

यहीँ छ हाम्रो गरिमाको मुहान, यहींकै बासिन्दासले गरेका छन्,

आफ्ना स्तनलाई बन्धुक भिराएर विश्वको थर्कमान ।

तर यो अवस्थादेखि बढ्नुमै छ हाम्रो जातिको अस्तित्व

यो नाम्लेपना छोडेर हातमुख जोड्ने कामदेखि चाहिन्छ विश्राम

त्यसपछि पो कागज, कलम हाम्रो इतिहास र गौरव

तब हाम्रो साहित्य, सभ्यता र संस्कृत ।

वि.स. १९९९ मा ‘शारदा’ पत्रिकामा अंग्रेजी साहित्यको प्रभाव शीर्षकको निबन्ध लिएर साहित्यमा होमिएको शर्मा कालान्तर प्रखर समालोचकको रुपमा प्रकट भए । आफ्ना अग्रज समालोचकको बारेमा कृष्णचन्द्रसिंह प्रधान ‘साझा समालोचना’ को भूमिकामा लेख्छन्, “आधुनिक साहित्यको यही जुर्मुराउँदो कालमा रामकृष्ण शर्माको प्रादुभार्व भयो । उनको प्रवेशले समालोचनामा सक्रियता आयो र एउटा हलचल, जिज्ञासा र प्रश्न अंकित भएर पुनःमुल्याङ्कन र आत्माचिन्तनको निमित प्रेरित गर्यो । ‘अंग्रेजी साहित्यको प्रभाव १९९९ बाट सुरु गरी टाक्सिएको नेपाली कविता २००१ सम्ममा पुग्दा प्रसिद्धि पाइसकेका शर्मा कठोर समालोचकमा दरिए । वास्तवमा उनमा स्तुति र पक्षपात, परम्परामोदन र अन्धभक्ति छैन, उनको ‘हो’ कुराको प्रस्तुतीकरणमा निर्भिकता, संश्यहीन अठोट, स्पष्ट विचार न्यायकर्ताको निणर्य झैँ लाग्छ ।”

रामकृष्ण शर्माको समालोचना नभएको सायद कमै समालोचना संग्रह होला नेपाली साहित्यमा । उनको आलोचनाले नेपाली साहित्यको त्रीदेवमध्येका दुई देव- लक्ष्मीप्रसाद देवकोटा र बलकृष्ण समलाई पनि नछोडेको ज्वलन्त उदाहरण छन् । अंग्रेजी भाषाको राम्रो पकड र साहित्यको गहन अध्ययन भएकोले पनि शर्माको लेखरचनाहरु निक्कै तर्कपूर्ण र पेचिलो हुन्छ ।

सप्त शारदीयको भूमिकामा शर्माले दुई देवको कोपभाजनमा परेको स्वीकार्छन् । उनी लेख्छन्, “अंग्रेजी साहित्यको प्रभाव शीर्षक निबन्ध लेखेर मैले नेपाली गद्यक्षेत्रमा प्रवेश गरेँ । तर प्रवेश मात्र के गरेथें, बारुलाको गोलो ममाथि खनियो । लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समशेर (उहाँ तिनताक ‘सम’ बनिनुभएको थिएन) बाट मेरो निबन्धको अतीव उग्र र तीव्र आलोचना भयो । त्यसो हुनु अस्वभाविक पनि होइन । तदनन्तर ‘शारदा’को सम्पादकीय स्तम्भबाट पनि सो निबन्धको कटु आलोचना भयो, निबन्धकारसम्मले जोगिन पाएन । जे भयो साहित्यकै सेवामा भयो, अनि वेशै भयो । ती आलोचनाका आधातले मेरो कुलकुलाउँदो तर उन्मुक्त कलमको गति र लक्ष्य कत्ति पनि रोकिएन । कविको धन, समालोचना, टाक्सिएको नेपाली कविता इत्यादी निबन्ध लेख्दै मैले मेरा आलोचकलाई विस्तार विस्तार जवाफ दिएँ । त्यसर्थ मेरा समालोचनात्मक निबन्ध निहार्दा देवकोटा, बालकृष्णका लेख र शारदाको उपरोक्त सम्पादकीय बिर्सनु हुँदैन।”

प्रसिद्ध कवि ईश्वरवल्लभका पिता पण्डित मुरली भट्टराईले  हिन्दीको “नेपाल और उसकी संस्कृति” नामक पुस्तकको ‘नेपालका साहित्य’ लेखमा कवि शिरोमणि लेखनाथ मैथली शरण गुप्त र अयोध्यासिंहबाट, महाकवि देवकोटा निरालाबाट, बालकृष्ण सम जयशंकर प्रसादबाट र भीमनिधि तिवारी राम नरेश त्रिपाटीबाट प्रेरित भएकाे भनेर उल्लेख गरेपछि चारै जनाको दस्तखतसहित लामो सम्पादकलाई पत्र ‘भारती’मा प्रकाशित गरी प्रतिवाद गरेका थिए ।

समालोचक घनश्याम कँडेल नेपाली समालोचना नामक पुस्तकको भूमिकामा रामकृष्ण शर्माको समालोचनाको प्रकृति र प्रवृत्तिबारे लेख्छन्, “रामकृष्ण शर्मा आधुनिक नेपाली समालोचनाका प्रवर्तक मानिन्छन् । नेपाली समालोचनामा  पाश्चात्य प्रभावलाई भित्राउने, केही मात्रमा प्रभाववादी भए पनि आफ्ना भनाईलाई तार्किक-बौद्धिक रुपमा प्रस्तुत गर्ने, साहित्यिक कृति र कृतिकारका गुणदोषलाई विशेष गरेर दोषलाई देखाउने र निर्भीक भएर निर्णय दिने स्पष्टवादी समालोचकका रुपमा उनको प्रसिद्धि छ । उनी नितिपरक दृष्टिले होइन, सौन्दर्यपरक दृष्टिले कृतिलाई केलाउन मन पराउछन् भन्ने कुरा सुक्तिसिन्धु सम्बन्धी उनका धारणाबाट स्पष्ट हुन्छ ।”

तरलतावादका प्रवर्दकमध्ये एक हस्ती एवं कवि/लेखक फणीन्द्र नेपालले रामकृष्ण शर्माका कृतिमाथि एम.ए.को शोधकार्य गरेका थिए, चालीसको दशकमा । त्यही शोधकार्यलाई रामकृष्ण शर्माका कृति, अधीति र अभिवीक्षा नाम दिएर पुस्तक प्रकाशन गरे वि.स. २०४६ मा । आफ्ना पुस्तकमा नेपाल लेख्छन्, “बहुआयामिक व्यक्तित्व छ रामकृष्ण शर्माको । काव्यकार, कथाकार, निबन्धकार, समालोचक र साहित्यसैद्धान्तिक रामकृष्ण शर्मा । सम्पादक र भाषा विमर्शक एंव ईश्वरचिन्तक तथा राजनीतिक प्रवर्तकसमेत देखिन्छन् । शर्माले सबैजसो कृतिमा आफ्ना सारस्वत प्रतिभाको ईष्यर्णीय, प्रंशसनीय र गटरवशाली प्रदर्शनी गरेक छन् । भाषा साहित्यइतर उनका लेखन पक्षको बेग्लै अध्याय नै सूचीकरण गर्न सकिन्छ ।……. शर्मा प्रथमोप्रथम कवि । अनि समालोचक तथा निबन्धकार अनि मात्र अरु लेखनकारिता । बलिदान( वि.स. २०१०), भावालु मेरो मन( वि.स. २०३०) उनका दुई कविता कृति । प्यारो सपना र अन्य लेखहरु( वि.स. २०१७) उनका लेखप्रबन्ध-निबन्धको संकलन । सप्त शारदीय(सातवटा सैद्धान्तिक-प्रायोगिक समालोचना संग्रह, वि.स. २०२४) । दशवटा यस्तै समालोचनाहरुको संग्रथन दश गोर्खा( वि.स. २०२६) नामले प्रकाशित । टेबलगफ-नौ बैठक (सैद्धान्तिक-प्रायोगिक समालोचना, वि.स. २०३१) । एक विसाउनीसमालोचना, भाषिक विमर्श, निबन्धहरुको सम्पुञ्जन (वि.स. २०३८) । दार्जीलिङ क्षेत्रमा नेपाली साहित्यको पृष्टभूमि र जन्म (समालोचना पुस्तिका, वि.स. २०४०) । ईश्वर चिन्तन पनि उनको रुचिको विषय । अष्टाबक्र नाममा आठओटा आध्यात्मिक चिन्तनसम्बन्धी लेखहरुको संकलन (वि.स. २०३५) प्रकाशित । केही कथाहरु प्रकाशित । केही भाषिक विमर्श विभिन्न संकलन तथा पत्रपत्रिकामा मुद्रित । राजनीतिक लेखादी ‘स्वतन्त्रमञ्चको बुलेटिन तथा गोर्खा मा प्रकशित ।”

सन् २०१० मा प्रकाशित दार्जीलिङमा नेपाली हास्यव्यंग्यको परम्परा र विकाश पुस्तकमा एन.पी.थापा लेख्छन्, “रामकृष्ण शर्माले आफ्नो टेबलगफः नौ बैठक पुस्तक संग्रहलाई कालेबुङको गम्फुज र दार्जीलिङको दिलखुशाको टेबल गफलाई सुन्ने, लेख्ने, छाप्ने तथा बेच्ने एवं किन्नेलाई गफका गफीलाई धन्यवाद भनेर आफ्ना हास्यव्यंग्य निबन्धहरुलाई केवल गफमात्र ठानेको देखिन्छ । रचनाकारले जे जस्तो भने पनि उनका निबन्धहरु भारतेली नेपाली हास्यव्यंग्य निबन्धहरुमा सूचीमा विशिष्ट स्थान ओगट्न पुगेका छन् ।…… टेबलगफः नौ बैठक नामक पुस्तकमा अन्तर्भुक्त गरिएको साहित्यमा स्पष्ट र अर्घेला टिप्पणी’, साहित्य गोष्ठीप्रतिको विचार तथा टी टुटी ट्वाँट’ जस्तो व्यंग्यात्मक रचनाहरुमा रामकृष्ण शर्माको व्यंग्य प्रहार धारिलो भएर गएको छ । साहित्यमा स्पष्ट र अर्घेला टिप्पणी नामक व्यंग्य रचनामा नेपाली पत्रिकाहरु विशेषतः तत्कालीन शारदा पत्रिकामा लेखिने सम्पादकीयप्रति स्तरीयता नरहेको जताउँदै उनले प्रखर रुपमा व्यंग्यवाण प्रहार गरेका छन् ।”

गोर्खालिगको मुखपत्र गोर्खाको केही वर्षसम्म सम्पादक भए रामकृष्ण शर्मा । उनको सम्पादनकालमा आच्छा राई ‘रसिक’, नरेन्द्र कुमाई, अगमसिंह गिरी,  प्रेम थापा, वीरविक्रम गुरुङले साहित्यमा प्रवेश गर्न अवसर पाए । ‘गोर्खा’ मा छापिएका कविताहरु संकलित गरी सन् १९५५ मा उद्गगार’ कविता संग्रह प्रकाशित गरे । वि.स. २०४३ सालमा ६४ वर्षको उमेरमा बितेका शर्मा आफ्नो व्यवसायिक र साहित्यक जीवनसँगसँगै नेपाली साहित्यलाई नँया उचाई दिएर गएका छन् ।