परिचय

साहित्यका विभिन्न विधाहरू मध्ये कविताको एउटा नवीन स्वरूप युग्मक हो । युग्मकलाई प्रतिपादन गर्ने काम प्रयोगवादी स्रष्टा कालूसिंह रनपहेँली (२ मई, १९५४) ले गरेका हुन् । एउटा युग्मकमा दुई हरफ हुन्छन् । दुई हरफ एक आपसमा सम्बन्धित रहेका हुन्छन् । त्यसैले दुई हरफमा एउटा युग्मक भएपनि यो आफैँमा पूर्ण हुन्छ । यी दुई हरफको विषयवस्तुमा अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ ।

१. संरचना

युग्मकलाई अस्तित्वमा ल्याउने वा निश्चित संरचना प्रदान गर्ने कारक वा अवयवलाई युग्मकका संरचनात्मक तत्व भनिन्छ । संरचनात्मक तत्वहरूको योगबाट नै सिङ्गो संरचना निर्माण हुन्छ । युग्मक पनि एउटा सिङ्गो संरचना भएकोले यसका पनि आफ्नै प्रकारका संरचक घटकहरू रहेकाछन् । यिनै संरचक तत्व वा घटकहरूबाट युग्मकको निर्माण हुन्छ ।

१.१ शीर्षक

कुनै पनि रचनाको पहिचानका लागि भाव मिल्दो शीर्षक आवश्यक छ । शीर्षकविनाको युग्मक लेखिँदैन । तसर्थ प्रत्येक युग्मकको शीषक अनिवार्य तत्व हो । युग्मकको शीर्षक राख्दा विषयवस्तु वा वैचारिक पक्षसँग सम्बन्धित भएर साङ्केतिक र संक्षिप्त रूपमा शीषर्क राखिन्छ ।

१.२ विषयवस्तु

मानवीय जीवन जगत्का समग्र वस्तुलाई र मानव चेतनाका अनुभव र अनुभूतिलाई समेटेर युग्मकको रचना गरिन्छ । प्रकृति, मानवता, संस्कार, संस्कृति, नैतिकता, जीवनले देखेका, भोगेका, कल्पना गरेका र यथार्थिक अनुभूति अनि दृष्टिका साथै उखान टुक्काका साथै लोकोक्तिहरू नै युग्मकका विषयवस्तु हुन् । यसमा जीवनका दुई छेउमा जन्म र मृत्यु हुन्छन् । यी दुईको माझमा फेरि छन् जीवनका दुःख–सुख, हाँसो–आँशु, आशा–निराशा, मिलन–बिछोड इत्यादि । यति हुँदाहुँदै पनि यही नै विषयवस्तुमा युग्मक रचना गर्नुपर्छ भन्ने अनिवार्यता छैन । युग्मककार विषयवस्तु छान्न स्वतन्त्र हुन्छ । यही विषयवस्तुको छनौटमा रहेको स्वतन्त्रताका कारण युग्मकमा पनि विविधता पाइन्छ ।

१.३ हरफ

युग्मकमा दुई हरफ हुन्छन् । पहिलो हरफलाई लिड (Lead) भनिन्छ । यसले विषय वस्तुको उठान गर्छ । दोस्रो हरफलाई किकर (प्ष्अपभच) भनिन्छ । यसले पहिलो हरफको आशयमा प्ष्अप गर्दै भावलाई पुरा गर्छ । युग्मकका दुई हरफ नदीका दुई किनारा सरह रहेका हुन्छन् । जसमा दुई किनारा बीचबाट बगेको पानीमा चेतनाको चिराग बगेको जस्तै हुन्छ ।

१.४ भाषाशैली

भाषा भाव अभिव्यक्तिको माध्यम हो भने शैली भावाभिव्यक्तिको पद्धति हो । भाषाका माध्यमबाट गरिने अभिव्यक्तिको प्रकार नै भाषाशैली हो । युग्मकमा प्रयोग गरिने सङ्कथनगत पद्धतिलाई शैली भनिन्छ । आर्थत् रचनामा आउने रचनाकारको प्रभाव, छायाँ वा रूपगुण नै शैली हो । शैली व्यक्तिपिच्छे फरक हुनसक्छ ।

शैलीगत विविधताले साहित्यिक विधाहरूबीच पृथकता ल्याउँछ । शैलीकै कारणले एउटै विषयमा लेखिएका रचनाहरूबीच रचनाकारका आधारमा भिन्नता पाइन्छ । युग्मकको भाषा गद्यात्मक वा पद्यात्मक हुन्छ, यी मध्ये जुन भाषा प्रयोग गरे पनि हुन्छ । युग्मकलाई अनुप्रास युक्त र अनुप्रास विहिन गरी दुई शैलीबाट रचना गर्न सकिन्छ ।

१.४.१ अनुप्रास

अनुप्रासको तात्पर्यार्थ साम्य हो । ध्वनिसाम्य, वर्णसाम्य र शब्दसाम्य अनुप्रास पाइन्छन् । युग्मकमा अनुप्रास अनिवार्य तत्व भने होइन । तर पनि अनुप्रास मिलेका युग्मक भए श्रुतिमा माधुर्यता हुन आउने गर्छ । तसर्थ अनुप्रास मिलाएर पनि युग्मक लेख्न सकिन्छ । युग्मकलाई निम्न अनुप्रासका आधारमा रचना गर्न सकिन्छ ।

१.४.१.१ आद्यानुप्रास

दुई हरफका शुरु शुरुका ध्वनिहरूमा साम्य रहनु आद्यानुप्रास हो ।

आशा
डडेको वन भयो हरियो
लडेको मन फेरि दरियो ।

(कालूसिंह रनपहेँली)

माथिको आशा शीर्षकको युग्मकमा डडेको र लडेको आद्यानुप्रासका रूपमा आएका छन् ।

१.४.१.२ मध्यानुप्रास

दुई हरफका बीच बीचका ध्वनिहरूमा साम्य रहनु आद्यानुप्रास हो ।

व्यवहार
मत अभिमत जोडौँ, गरौँ मानाका कुरा
दम्भ अभिमान तोडौँ, गरौँ छानाका कुरा ।

(दीपक सुवेदी)

माथिको व्यवहार शीर्षकको युग्मकको दुई हरफमा बीचमा जोडौँ, तोडौँ साम्यका रूपमा आएकाछन् ।

१.४.१.३ अन्त्यानुप्रास

युग्मकका दुई हरफकै अन्त्यमा ध्वनिहरूको साम्य रहनु अन्त्यानुप्रास हो ।

ज्ञान
अन्धकार गोरेटो सुन्दर ज्योति
खोज्नु होस यहीँ नै पाइन्छ हिरा मोती ।

(सचिन खवास)

ब्रह्माण्ड
जून तारा सूर्य ग्रह नक्षत्र सारा ।
आफ्ना आफ्ना कर्म आ–आफ्नै अभिभारा ।

(प्रेम नेउपाने)

माथिको ज्ञान शीर्षकको युग्मकका दुई हरफकै अन्त्यमा ज्योति र मोती, त्यसै गरी ब्रह्माण्ड शीर्षकमा सारा र अभिभारा अन्त्यानुप्रासका रूपमा आएका छन् ।

१.४.१.४ छेकानुप्रास

युग्मकको कुनै हरफमा एउटै क्रममा अनेक वर्णको एकपटकमात्र आवृत्ति भए त्यसलाई छेकानुप्रास भनिन्छ ।

त्याग
सर्जक हुन् प्रेमी प्रेमिका कलामा सिपालु
नव नभमा बाँचिरहन्छन् मुना–मदन भै आफू ।

(दीपक सुवेदी)

प्रस्तुत युग्मकमा आएको पहिलो हरफमा ‘स’, ‘प’ र ‘म’ व्यञ्जन अनि दोस्रो हरफमा ‘न’ र ‘म’ दोहोरिएर छेकानुप्रास अलङ्कार उत्पन्न गरेकाछन् ।

१.४.१.५ वृत्यनुप्रास

वृत्ति भनेको घुम्नु वा दोहोरिनु हो र एउटा युग्मकमा कुनै ध्वनि वा कुनै वर्णको एकै हरफमा आवृत्ति हुनुलाई वृत्युनप्रास भनिन्छ ।

आह्वान
माझेर मन मनै मैलो
निर्माण नभ गरौँ नौलो ।

(दीपक सुवेदी)

प्रस्तुत युग्मकमा आएको पहिलो हरफमा ‘म’ वर्ण चारपटक आवृृत्ति भएको छ भने दास्रो हरफमा ‘न’ तीनपटक आवृत्ति भएको छ ।

१.४.१.६ लाटानुप्रास

एउटै युग्मकको विभिन्न ठाउँमा विभिन्न अर्थ बुझिने प्रक्रियालाई लाटानुप्रास भनिन्छ ।

जीवन
फूलले फूलाउँछ फूललाई
फुलले फुलाउँछ फुललाई ।

(दीपक सुवेदी)

प्रस्तुत युग्मकमा ‘फूलले फूलाउँछ फूललाई’ पङ्क्ति दोहोरिएको छ । तर दुबै पङ्क्तिले फरक अर्थ दिन्छन् । पहिलो पङ्क्तिमा आएको ‘फूल’ ले र दोस्रो पङ्क्तिमा आएको ‘फुल’ ले फरक अर्थमा आएकाछन् । यसरी एउटा शब्द वा वाक्य फरक फरक अर्थमा दोहोरिएको अवस्था हुँदा लाटानुप्रसा उत्पन्न गरेका छ ।

१.५ भाव

भावविनाको संरचना, आत्माविनाको शरीर हो । युग्मक मौलिक संरचनाका साथै मौलिक भावका दृष्टिले पनि महत्वपूर्ण छ । त्यसैले भाव युग्मकको मूल तत्व हो । यसलाई अनुभूति र उद्देश्य पनि भन्न सकिन्छ । अर्थात् युग्मककारको अनुभूति, युग्मकको विषयवस्तु र युग्मकको उद्देश्य तथा युग्मककारको जीवनदर्शनको समष्टि रूप नै युग्मकको भाव हुने गर्छ । युग्मककारको अनुभूति र कल्पनाशक्तिले युग्मकको भावमा ज्यादा ओज थप्दछ । यो युग्मक रचनाको कारक पनि हो ।

अतः युग्मक पनि साहित्यका अन्यविधा वा उपविधाहरूजस्तै मानव संवेदनाको कलात्मक अभिव्यक्ति भएको हुँदा मानव अनुभूति नै युग्मकमा व्यक्तिने भावको स्रोत हो । यसमा भावगत विविधता रहन्छ ।

१.६ बिम्ब, प्रतीक र अलङ्कार

युग्मकको भाव सम्प्रेषणका लागि बिम्व, प्रतीक र अलङ्कार विधान भए अझ राम्रो हुन्छ । युग्मकमा बिम्ब, प्रतीक र अलङ्कारहरू भाव परिपोषक तत्वका रुपमा रहन्छन् । बिम्वहरू व्यञ्जनाधर्मी भएर युग्मकमा रहेका हुन्छन् । युग्मकको भाषा स्वाभावोक्तिका अतिरिक्त बक्रोतिमूलक वा अतिशयोक्तिमूलक पनि हुन्छ । यसले आलङ्कारिक चमत्कृतिद्वारा युग्मकमा सौन्दर्य उत्पन्न गर्दछ ।

१.६.१ विम्ब

कुनै वस्तुको लाक्षणिक अर्थ बुझाउन बिम्वको प्रयोग गरिन्छ । बिम्वले शब्द वस्तुको प्रतिच्छायाका रूपमा विशिष्ट अर्थको बोध गराउँछ । सांसारिक वस्तु वा जीवनजगतका व्यापक सन्दर्भबाट लिइएका सामग्रीहरू नै बिम्व हुन् । युग्मक लेखनमा प्रतीक, विम्ब र अलङ्कारको विशिष्ट भूमिका हुन्छ । युग्मकमा प्रयोग गरिएका भौतिक वा प्राकृतिक छाया नै विम्ब हुन् ।

१.६.२ प्रतीक

शब्दले दिने सामान्य अर्थभन्दा भिन्न अर्थ बुझाउने वा अभिधाभन्दा व्यञ्जनार्थ प्रस्तुत गर्ने सशक्त र प्रभावकारी माध्यमलाई प्रतीक भनिन्छ । अर्थात् युग्मक रचनामा सामाजिक, सांस्कृतिक वा पौराणिक जीवनको सन्दर्भ लिएर प्रयोग भएका घटना वा पात्रहरू प्रतीक हुन् ।

युग्मक दुई हरफमा मात्र लेखिने भएकोले थोरैमा धेरै भन्न तथा विशिष्ट र प्रभावपूर्ण अभिव्यक्ति दिन समाज, संस्कृति, ज्ञानविज्ञान आदि जीवनजगत्का अनेकानेक सन्दर्भबाट परम्परित एवं नवीन बिम्ब प्रतीकको चयन गरी युग्मकमा प्रयोग गरिन्छ । सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रका विसङ्गति र विकृतिलाई व्यङ्ग्य हान्न प्रतीकले सहयोग पु¥याउँछ ।

१.६.३ अलङ्कार

अलङ्कार भन्नाले शोभाप्रदायक साधन बुझिन्छ । अलङ्कारशास्त्रमा भूषित गर्ने उपादानलाई अलङ्कार भनिन्छ । युग्मकमा प्रयुक्त सङ्गति, व्यङ्ग्य, प्रशंसा आदि प्रक्रियाबाट बिम्बालङ्कारको रूपतात्विक प्रक्रियालाई कलात्मक रूपमा प्रस्तुत गरिन्छ । युग्मक अभिधेयार्थकभन्दा लक्षार्थक वा व्यञ्जनार्थक हुनु राम्रो हुन्छ । जस्तै:

सुन्दरी
फूललाई फूलले हेर्छिन्, बागको बास
सुवास एउटी चन्द्रमा छ, अर्की उदास ।

(दीपक सुवेदी)

प्रस्तुत सुन्दरी शीर्षकको युग्मकमा आएको “फूललाई फूलले हेर्छिन्” मा अतिशयोक्ति अलङ्कार उत्पन्न भएको छ । यहाँ “सुन्दरी” अर्थात् उपमेय लुकेको छ र उपमान “चन्द्रमा” मात्रै प्रस्तुत छ । सुन्दरी (उपमेय) मा चन्द्रमा (उपमान) को अभेद आरोप गरिएको छ । अर्थात् सुन्दरीको चन्द्रमा जस्तो रूप (उपमेय) लुकेको छ । यसैले यसमा अतिशयोक्ति अलङ्कार सिद्घ हुन्छ । ज्यादै बढाइचढाइ गरिएको कथनलाई अतिशयोक्ति भनिन्छ ।

१.७ युग्मकका विशेषता

साहित्यका अन्य विधाहरू जस्तै युग्मकका पनि केही मौलिक विशेषताहरू छन् । तिनै विशेषताहरूले युग्मकको आफ्नो स्वरूप प्रस्तुत गर्दछन् । युग्मकका विशेषताहरूलाई निम्नअनुसार छन्:

(क) गद्यात्मक वा पद्यात्मक

युग्मक दुई हरफमा गद्य र पद्य दुबै शैलीमा लेखिन सकिने कविताको एउटा रूप हो ।

(ख) संक्षिप्तता

युग्मक संक्षिप्त रूप हो । यसमा संक्षिप्त संरचनाभित्र कसिलो प्रभावकारी दृष्टि अभिव्यक्ति हुन्छ । एउटा युग्मकमा दुई हरफ हुन्छन् यसलाई आर्दश रूपमा लिइनु यसको संरचनागत संक्षिप्ततालाई संकेत गर्दछ ।

(ग) सरलता

युग्मकले कोमल, सरल र कर्णप्रिय शब्दहरूको अपेक्षा गर्दछ । ज्यादा समस्त र क्लीष्ट शब्दहरू युग्मकका लागि राम्रो मानिदैन । यो भावका दृष्टिले पनि सरल हुनु जरुरी छ ।

(घ) संवेद्यता

युग्मक लघु संरचनाभित्र पनि ज्यादै संवेद्य हुन्छ । यसमा संक्षिप्त दृष्टि तर ज्यादै कसिलो तरिकाले व्यक्त हुनेहुँदा युग्मक ज्यादा प्रभावकारी बन्दछ । यसको शैली र भावको सघनता नै यसमा प्रभावकारिताको मुख्य कारण हो ।
युग्मक नेपाली साहित्यका सन्दर्भमा नयाँ शैली र संरचना भएको रचना भए पनि आजकल यो ज्यादै लोकप्रिय भइरहेको छ ।

वर्तमान अवस्था

नेपाली साहित्यमा युग्मक लेखनको २५ वर्ष पूरा हुन लागिरहेको छ । कालूसिंहले १/९/१९९५ देखि युग्मक लेख्न शुरु गरेका थिए । नेपाली भाषामा उनले लेखेको पहिलो युग्मक:

जिन्दगी
हाँस्नु त
रुनु घामको सिंयाल रहछ ।

हालसम्म युग्मकका कृतिहरू कालूसिंह रनपहेंलीको युग्मक (१९९८) र पासाङ नर्बु लामाको समयको पक्षधर (२०१३) एकल रूपमा सङ्ग्रह प्रकाशन भएकाछन् । युग्मकमा साधनारत स्रष्टाहरूमा चाहिँ सचिन खवास (सलुवा), अम्बर लाछिकाकी (सिक्किम), हीरालाल रनपहेंली (लाटपञ्चर), ओमकुमार खवास (रियाद), बी.के. मुखिया, प्रेम नेउपाने र अर्जुन नेउपाने आदि देखिन्छन् ।

सीमाहरू

(क) आन्तरिक विरोधाभासहरू रहनु ।
(ख) सैद्धान्तिक स्थिरता आइनसक्नु ।
(ग) युग्मकलाई आधार बनाएर अन्य विधा (कथा, काव्य वा अन्य) मा यसको प्रयोग, परिचय र स्थापना गर्न बाँकी रहनु ।

सम्भावना

भाषाको लेखन प्रणाली र यसको शैली सभ्य समाजका आधार हुन् । यिनै आधारहरूलाई वर्तमानको मार्गमा भविष्य र इतिहासको लागि अजेय पार्नु लेखकको कर्तव्य हो । यद्यपि यसको लेखन नेपाली साहित्यमा धेरै पुरानो नभएपनि समयको पछ्यौरी समातेर जति दौडनु पर्ने त्यति दौडिन चाहिँ सकेन युग्मकले ।

यस प्रकारको युग्मक रचनामा संयुक्त युग्मक, युग्मक काव्य, युग्मक कथा पनि लेख्न सकिन्छ । यसरी भोलिका दिनमा युग्मकको अन्य काव्यका रूपमा विस्तार हुनसक्ने प्रशस्त सम्भावना देखिएकाछन् ।