हामी अन्तरिक्षमा किन जान्छौँ ? चन्द्रमाका चट्टानका केही टुक्राका लागि यति धेरै परिश्रम र धनको बर्बादी किन गर्छौं ? यति धेरै मिहिनेतले धर्तिमा नै केही उम्दा र राम्रो काम गर्न सकिन्न र ?

तर अन्तरिक्षमा जाँदा र पृथ्वीबाहिर निस्कँदा हामीमाथि अकल्पनीय असर पर्छ । यो कदम मनुष्य प्रजातिको भविष्यको पूर्ण रूपले नै बदल्ने किसिमको हुनेछ । यसले नै हाम्रो भविष्य सुरक्षित छ या छैन भन्ने पनि तय गर्नेछ ।

सत्य त के हो भने अन्तरिक्ष यात्राले धर्तिको आजका अनेकन् समस्या सुल्झाउन सायदै केही सहयोग गर्ला तर यसले हामीलाई ती समस्यालाई नयाँ कोणबाट हेर्ने दृष्टि दिनेछ । त्यसैले अब समय आइसकेको छ, अब हामीले जनसंख्या बोझले थिचिएको पृथ्वीमा आफैँलाई हेर्नुको साटो अन्तरिक्षमा बाहिरतिर हेर्नु उचित हुनेछ ।

मानव प्रजातिलाई अन्तरिक्षमा बास बसाउनु यति चाँडो सम्भव छैन । यसलाई सत्यमा परिणत गर्न सयौँ या हजारौँ वर्ष लाग्न सक्छ । आउँदो ५० वर्षमा मंगल ग्रहमा मानिसको कदम पुग्न सक्छ । आउँदो २०० वर्षमा हामी बाहिरी ग्रहहरूका चन्द्रमाहरूका बारेमा पूरा खैरखबर लिन सक्नेछौँ । मंगलमा हामी आफ्नो रोभर पहिले नै पुर्याइसकेका छौँ र शनिको चन्द्रमा टाइटनमा पनि प्रोबलाई पुर्याइएको छ । तर हाम्रो चिन्ता मनुष्य जातिको भविष्यलाई लिएर छँदैछ । त्यसैले रोबोट मात्रै पठाउनु मात्र ठूलो कुरा हुँदै होइन । हामी स्वयं त्यहाँ पुग्न अत्यावश्यक छ ।

तर हामी जाने त जाने तर कहाँ जाने ? अन्तरिक्ष यात्रीले इन्टरनेसनल स्पेस स्टेसनमा महिनौँ बिताइसकेका छन् । तर हामीलाई के पनि थाहा छ भने स्पेस स्टेसनको शून्य गुरून्त (जिरो ग्राभिटी)मा बस्दा चिया पिउन मात्र अप्ठेरो झेल्ने होइन, लामो समयसम्म जिरो ग्राभिटीमा बस्दा हाम्रो शरीरलाई खतरनाक असर पर्छ । त्यसैले हामी अन्तरिक्षमा आधार शिविर बनाउन त ठीकै हो तर अन्य ग्रह या चन्द्रमामा पनि बसाइँ सर्नु उत्तिकै जरूरी छ ।

शून्य गुरूत्व (जिरो ग्राभिटी)
प्रायः भारहीनताको अवस्था बताउनका लागि शून्य गुरूत्वको प्रयोग गर्ने गरिन्छ । लामो समयसम्म भारहीनताको अवस्थामा रहनु हाम्रा लागि, हाम्रो शरीरका लागि खतरनाक साबित हुनसक्छ । केही मानिसहरूलाई स्पेस सिकनेस (रोगी महसुस गर्नु, रिँगटा चल्नु, टाउको दुख्नु आदि) जस्ता समस्या देखिन्छन् । हुन त यस्तो समस्या प्रायः तीन दिनभन्दा बढी हुँदेन । यसका अतिरिक्त मांसपेसी कमजोर हुन थाल्छ । त्यहाँ रगतको गति कम हुन्छ र शरीरमा झोलिलो पदार्थको वितरणमा गडबडी हुन्छ । यसका कारण अन्तरिक्ष यात्रीको अनुहार सुन्निएजस्तो देखिन्छ । यसअवस्थालाई मूनफेस (चन्द्रमुखी) भनिन्छ । पृथ्वीमा फर्कंदा त्यस किसिमका समस्या चाँडै नै गायब हुन्छ र अन्तरिक्षयात्रीले सामान्य महसुस गर्न थाल्छ ।

यस्तो हुँदा हामीले अन्तरिक्षमा अर्को ठहर कहाँ चुन्छौँ त ? स्वाभाविक रूपमा चन्द्रमा नै हाम्रो पहिलो रूचि हुन्छ । यो हाम्रो नजिक पनि छ र त्यहाँ पुग्नु सजिलो पनि छ । चन्द्रमामा हामी कयौँ पटक पुगिसकेका छौँ र एउटा मोटरमा बसेर त्यसको यात्रा पनि गरिसकेका छौँ । अर्कोतर्फ चन्द्रमा निकै सानो छ र त्यहाँ न त वायुमण्डल छ, न त धर्तिजस्तै चुम्बकीय क्षेत्र, जसले खतरनाक सौर्य वायुकणहरूलाई रोक्न सकोस् । चन्द्रमामा पानी तरल अवस्थामा छैन तर यसका ध्रुवहरूमा रहेका विशालकाय क्रेटरहरूमा हिउँ लुकी बसेको हुनसक्छ । चन्द्रमामा बसाइँ सर्ने मानव बस्तिका लागि यो हिउँ पानी र अक्सिजनको स्रोत बन्न सक्छ । हिउँलाई पानी र अक्सिजनमा परिवर्तन गर्न जरूरी ऊर्जा परमाणु रिएक्टर या सोलर प्यानलबाट उत्पन्न गर्न सकिन्छ । सौर्य मण्डलमा अर्को यात्राका लागि चन्द्रमालाई आधारशिविर बनाउनेतर्फ काम गर्न सकिन्छ ।

मंगल ग्रहका बारेमा के त उसो भए ? के यसमा हामी नजाने त ? किन नजाने ? चन्द्रमापछि हाम्रो अर्को लक्ष्य त मंगल नै हो । यो स्वाभाविक लक्ष्य पनि हुनेछ । पृथ्वीको तुलनामा मंगल सूर्य निकै टाढा छ । त्यसैले हाम्रो पृथ्वीको तुलनामा कम गर्मी हुनेछ । यहाँको तापमान निकै कम हुनेछ । कुनै बेला मंगलको पनि पृथ्वीको झैँ चुम्बकीय क्षेत्र थियो तर चार अर्ब वर्ष पहिले सो चुम्बकीय क्षेत्र नष्ट हुन पुग्यो । परिणामस्वरूप यसको अधिकांश वायुमण्डल ध्वस्त हुन पुग्यो । अचेल मंगलमा पृथ्वीको तुलनामा एक प्रतिशत मात्र वायु दबाब रहने गरेको छ ।

करोडौँ वर्षअघि यहाँको वायुमण्डलीय दबाब हाम्रो टाउकोमा पर्ने हावाको भार निकै धेरै थियो होला । मंगलको सतहमा बनेका नदी तथा खोलाको चिह्नले सो कुराको प्रमाण दिइरहेका छन् । तरल रूपमा मंगलमा पानी टिक्न सक्दैन र वाष्प बनेर उडिहाल्छ ।

तर मंगल ग्रहका दुई ध्रुवमा हिउँका रूपमा धेरै पानी छँदैछ । हामी मंगलमा बस्न चाह्यौँ भने त्यसलाई प्रयोग गर्न सक्छौँ । यहाँ ज्वालामुखीहरूले सतहमा ल्याइदिएका कयौँ खनिज तथा धातुलाई पनि प्रयोग गर्न सकिन्छ ।

यसरी चन्द्रमा र मंगल हाम्रा लागि निकै फाइदाकारक साबित हुनसक्छन् । तर सौर्यम्डलका अन्य कुन कुन ठाउँमा हामी जान सक्छौँ त ? बुध र शुक्र त निकै तातो डल्लो जस्ता छन् । जबकि वृहस्पति र शनि ग्यासले भरिएका पिण्ड हुन् । तिनको सतह ठोस छैनन् ।

मंगल ग्रहका चन्द्रमाहरूमा पुग्नका लागि प्रयास गर्न सक्छौँ किनभने ती निकै साना छन् । वृहस्पति र शनिका केही चन्द्रमा अलि राम्रा विकल्प हुनसक्छन् । शनिको चन्द्रमा टाइटन हाम्रो चन्द्रमा भन्दा ठूलो र भारी छ । यसमा घना वायुमण्डल पनि छ । नासा र युरोपेली स्पेस एजेन्सीका केसिनी ह्युजेन्स मिसनले आफ्नो एउटा प्रोब टाइटनमा पुर्याएको थियो । प्रोबले टाइटनका सतहका कयौँ तस्बिर पनि पठाएको छ । तर सूर्यबाट निकै टाढा भएका कारण टाइटन निकै चिसो छ । त्यो भन्दा पनि त्यहाँ मिथेन ग्यासको तरल बग्ने नदी किनारामा बस्नका लागि मलाई कुनै रूचि छैन ।

सौर्य मण्डलभन्दा बाहिरका बारेमा चाहिँ तपाईंलाई के लाग्छ ? जानुपर्छ ? कि नजाने ? ब्रह्माण्डलाई विस्तार गर्न थाल्यौँ भने सूर्यजस्ता कयौँ यस्ता ताराहरू पाइन्छन्, जसको आफ्नो सौर्यमण्डल तथा ग्रह छन् । अहिलेसम्म हाम्रो सौर्यमण्डलबाहिर वृहस्पति तथा शनि जस्ता केही विशाल ग्रहका बारेमा मात्र हामीलाई जानकारी थियो । तर अब हामीले अन्य सौर्यमण्डलका पृथ्वीजस्ता साना ग्रहहरूलाई पनि फेला पारिसकेका छौँ । तीमध्ये केही त त्यस्तो गोल्डीलक क्षेत्रमा पर्छन्, जहाँ आफ्नो सूर्य र तिनको एउटा निश्चित सीमाभित्र पर्ने गर्छ । गोल्डीलक क्षेत्रमा पर्ने ग्रहमा पानी तरल रूपमा टिक्न सक्छ । एक अनुमानअनुसार १० प्रकाश वर्षको दुरीसम्म यस्ता एक हजार सूर्य हुनु सम्भव छ । यदि तीमध्ये एक प्रतिशतसँग पनि पृथ्वीजस्ता ग्रह तिनको गोल्डी लक क्षेत्रभित्र परेको खण्डमा पृथ्वीजस्ता कम्तीमा पनि १० वटा धर्ति अस्तित्वमा रहने सम्भावना रहन्छ ।

हाललाई हामी अन्तरिक्षमा त्यति धेरै टाढा जान सम्भव छैन । साँच्ची भन्ने हो भने त यति टाढा पार गर्न अहिलेलाई कल्पना पनि गर्न सक्दैनौँ । तर आउँदा २०० देखि ५०० वर्षसम्मका लागि हामीले लिने लक्ष्य भनेको यस्तै हुनुपर्छ । मात्र १० हजार वर्ष पहिले हाम्रो सभ्यता शुरू भएको थियो । त्यसपछि हाम्रो विकासको गति तीव्र गतिले बढिरहेको छ । अब हामी त्यो ठाउँमा आइपुगेका छौँ, जहाँबाट हामी साहसका साथ ती लक्ष्यसम्म अघि बढ्न सक्छौँ र पहिले कहिल्यै नपुगेका ठाउँसम्म पुग्न सक्छौँ । र, त्यहाँसम्म पुग्नेछौँ र नजाने त्यो ठाउँमा कस कसलाई फेला पार्छौं !