समयको गती र जीवजगतको नियतिको आरोह अवरोहसँगै प्राणी जगतको विकासक्रम पनि परिवर्तित स्वरुपमा अगाडि बढी रहन्छ । जीवजगतको विकासमा यौनको अत्यान्त महत्वपूर्ण स्थान हुन्छ । यौनबिना प्राणी जगतको विकास प्रवाह सम्भव छैन । सम्पूर्ण जीवका यौनसम्बन्धी आ-आफ्नै प्राकृतिक र अनुवांसिक गुणहरु हुन्छन् । कतिपय समय र विकासक्रममा बदलिन्छन् र अझ उन्नत भएर देखा पर्दछन्। मानव यौन जीवनचक्रका पनि केही प्राकृतिक र अनुवांसिक विशेषताहरु छन् र उपरिसंरचनाका कारण केही ढिलो गरी बदलिने क्रममा छन् ।
यौन मनोदशालाई प्रख्यात मनोविद् सिग्मंड फ्रायडले तीन दशकभन्दा बढीको अनुसन्धानबाट निस्कर्षमा पुर्याएका हुन् । एउटा शिशुको जन्मेदेखि मृत्युसम्म मानिसका पाँच यौन चरणलाई क्रमशः ओरल, गुदा, लिङ्ग पहिचान, बिलम्ब र जननाङ्गमा विभाजन गरेका छन् । मानवले ती सबै उमेरअन्तर्गत कसरी यौनसन्तुष्टि प्राप्त गर्दछ भन्ने कुरा उनले psychosexual development भन्ने पुस्तकमा विस्तृत रुपमा व्याख्या गरेका छन् । जसलाई मानिसको आयुभरको यौन चक्र भन्न सकिन्छ । जसले हामीलाई मानवयौनको विकासक्रमबारे बुझ्न धेरै मद्दत गर्दछ ।

जीवको जीवनचक्रमा आएको अकल्पनीय रुपान्तरणबारे एउटा उदाहरणलाई लिऊँ । पचास मिलियन वर्ष अगाडि जमिनमा बस्ने आन्थ्राकोथेरेस  (anthracotheres ) जातिको एउटा प्रजाति उभयचर हुँदै एउटा परिवार आधुनिक जीव हिप्पोमा विकास भयो भने अर्को पाकिसेटस र इन्डोहायस हुँदै आधुनिक व्हेल, डल्फिन, ओटर र सिलमा रुपान्तरण भएको जीव वैज्ञानिकहरुले पत्ता लगाए । शुरुमा त्यो जाति मोनोगामस यौन प्रजातिभित्र भएको अनुमान गरिन्छ। ती जीवले आफ्नो पुरानो शारीरिक ढाँचा, बस्ने बासस्थान र खाने आहारा सबै बदले तर त्यही अनुपातमा प्राकृतिक यौन चरित्रलाई बदल्न सकेनन् । उनीहरुका केही शाखा यौन चरित्रका हिसाबले अझै मोनोगामस रहेको विभिन्न अनुसंधानबाट पत्ता लागेको छ । तर केही प्रजातिका डल्फिन र शिलहरु दुवै चरित्रको बीचमा छन् ।

यहाँ छलफल गर्न खोजिएको प्रसङ्ग मुख्य रुपमा मानिसको यौनिक विकासक्रममा सामिजिक विकासक्रमले कति फरक पार्छ भन्ने हो । संसारमा बाह्य जगतको परिवर्तनले जीवजगतको डिएनएमा प्रभाव पारेजस्तै उसले गर्ने क्रिया प्रतिक्रियामा पनि क्रमशः फरक पार्दछ । उसका मौलिक आनीबानी, जिउने कला र सोचमा पनि सामाजिक विकासक्रमले रुपान्तरण गरिदिन्छ । त्यसले मानिसको मौलिक यौनचरित्र वा गुणलाई पनि बदल्न सक्ने तथ्यहरुबारे यहाँ चासो राखिएको हो । जसबारे जान्न पाउनु मानव यौनिक विकास प्रक्रियाबारे चासो राख्नेका लागि आवश्यक छ ।
वैदिक वा आदिम युगमा मानव यौनसमाज खुल्ला रहे पनि धर्म नियन्त्रित अँध्यारो मध्ययुगमा यस्ता यौनिक छलफल अबैध मानिन्थे । यौनिक मनोविज्ञानको विकासमा मनोविद् डार्विनको खोजले मानव यौनमनोविज्ञानबारे एउटा क्रान्ति ल्याइदियो ।
डार्विनको सिद्धान्त (Darwin, evolution, & natural selection ) अनुसार मानव विकास आधुनिक चरणसम्म आउने क्रममा धेरै आरोह अवरोहहरु हुँदै अगाडि बढेको देखिन्छ । मानिसले कसरी आफूलाई हिमाली भेगदेखि मरुभूमिमा समेत बाँच्न सक्ने बनायो ? बानीको विकासमा उसले उद्गम स्थान अफ्रिका छोडेपछि फरक फरक किसिमले आफूलाई रुपान्तरण गर्न सक्यो ?  त्यसलाई आधुनिक मानवको विकासक्रमले समेटेको छ ।
‘याप’ मानवको कन्दमुल, रुखका बोक्रा र चराका अण्डा आहार थियो ।  बिन्दरथाल र होमोह्याबिलिस तीस लाख वर्षे विकासक्रममा कन्दमुल र मुख्यतया मासुमा निर्भर भयो । होमोसेपियन्सपछिको आधुनिक मानवले आफ्नो जीवनशैली र आहारबिहारमा परिवर्तन ल्याउन सके पनि त्यही अनुपातमा उसले आफ्नो यौनचरित्रको प्राकृतिक स्वभावमा परिवर्तन ल्याउन सकेको देखिन्न ।
आधुनिक मानिस एकल जोडीको बाध्यकारी कानुनमा कसिन बाध्य बनाइए पनि उसले किन एकल जोडीबाट पूर्ण यौन आनन्द लिन सक्दैन ? यसका केही कारणहरु छन् । एउटा कारण उसको यौनसम्बन्धी प्राकृतिक स्वभाव कस्तो थियो, कस्तो विकासक्रमबाट गुज्रियो र हालको मानव यौनमनोविज्ञान कस्तो छ ? भन्ने हो भने अर्को जीवले प्रकृति प्रदत्त केही गुणहरु बदल्न अन्य आनीबानीको तुलनामा ज्यादै लामो समय लिने भएकोले पनि हो । अहिलेसम्म खोजिएका वैज्ञानिक तथ्यहरुबाट के निचोडमा पुग्न सकिन्छ भने ब्यासो, फ्याउरो, वेभर्स (एक प्रकारको डल्फिन ), अफ़र्स (सिल) जस्ता केही प्राणी र केही चराका प्रजातिहरुले आफ्नो यौनप्रवृतिलाई बदल्न त्यति प्रयास गरेनन् । ती आफ्नो युगभरि यौनिक प्रवृतिमा एकप्रति समर्पित रहिरहे । ती प्राणीहरुलाई समाज वैज्ञानिकहरुले मोनोगामस प्राणी भनेर नामाकरण गरेका छन् ।

 

यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रुपमा नै बग्न दिएको भए विभिन्न रोग , सामाजिक विसंगति र यौनहिंसाको जन्म नै हुने थिएन ।

याप मानवदेखि नै मानवको यौनिक विकासक्रमलाई हेर्ने हो भने मानिस मोनोगामस प्राणी हैन । मानिस बहुयौन साथीसँग सम्भोग गरेर यौनआनन्द लिने वा यौन साथी बदलिरहने ‘पोलिगामस’ प्राणी हो । मानिसको प्राकृतिक गुण अनुसार जीवनभर एउटा यौनसाथीसँग सम्भोग गरेर उसले यौनिक सन्तुष्टि लिन नसक्ने प्रमाणहरु अन्त कतै खोजी रहनै पर्दैन । उसले आफ्नो यौन साथीबाहेक अन्यसँग पनि सहवासको कल्पना गर्छ, उत्तेजित भैरहन्छ र सहवासको प्रयास गर्छ । तर कानुनी बाध्यता, परिस्थिति, सामाजिक प्रक्रिया र चेतनाको विकासक्रमले मानिसलाई क्रमशः पोलिगामसबाट मोनोगामसतर्फ घचेटी रहेको देखिन्छ । अहिलेको यौनिक चरित्रको कथित संक्रमणकालीन अवस्था मानिसको प्राकृतिक र आनुवंशिकताको गुणविपरीत मात्र नभएर मानिसले मानिसमाथि शक्तिको आडमा थोपरिएको निजी सम्पति बेष्ठित उपरिसंरचना, कथित धार्मिक, नैतिक र सामाजिक नीतिनियमहरुको बलजफ्ती परिणति हो ।सामाजिक विकाससँगै मानिसको प्राकृतिक यौनप्रवृतिलाई एकैसाथ बदल्न खोज्दा आएको भयानक हिँसामध्ये बलात्कार पनि एक हो ।  यौनको प्राकृतिक नियमलाई मानिसले प्राकृतिक रुपमा नै बग्न दिएको भए विभिन्न रोग , सामाजिक विसंगति र यौनहिंसाको जन्म नै हुने थिएन । यो खोजलाई त्यति गहिराईमा पुगेर बहस गर्ने साहस गर्नुलाई हाम्रो समाजमा अझै पनि दुस्साहसको रुपमा लिइन्छ ।
जीव विज्ञानमा बच्चा जन्माउने (Mammal) र फूल पार्ने जीवलाई वर्गिकरण गरे झैँ यौनरुचिको आधारमा पनि जीवहरुलाई एकल र बहुयौन आनुवंशिकताको गुण भएका भनेर वर्गिकरण गरिएको छ ।

 

मोनोगामस (Monogamous) 
मोनोगामस भनेको जीवनभर एउटै मात्र विपरीत लिङ्गी जोडीबीच यौनसम्बन्ध कायम गर्ने प्राणीलाई बुझाउछ । त्यसैले मोनोगामस एकल प्राकृतिक तथा अनुवंशिक यौन गुण हो । जसको लागि जीवनभर एउटै यौन साथी प्रथम र अन्तिम हुन्छ । व्यक्तिवादी समाज व्यवस्थाले कृषि  र दास युगपछि मानव समुदायले पनि कृतिम दवाबवश यी गुणहरु विकास गर्दै लागेको देखिए पनि बहुविवाह, बेश्या गमन, बलात्कार वा अन्य स्वरुपमा मानिसले आफ्नो प्राकृतिक बहुयौन रुचि राख्ने स्वभाव पूर्णरुपले बदल्न सकेको छैन । शास्त्रीहरुको तर्कानुसार मानिसको सामाजिक कानुन वा चलन मोनोगामी भए पनि समाज मानिसको मनोविज्ञान यौन साथी बदलेको कल्पना र सपनाबाट प्रायः उत्तेजित रहन्छ ।
जीव वैज्ञानिकले बताए अनुसार मोनोगामी जोडीहरु प्राकृतिक रुपमा चिन्ने तरिका उसको शारीरिक बनावटले हो । जसका भाले पोथीको आकार समान हुन्छ, लिङ्ग र स्तनबाहेक अन्य तरिकाले पहिचान गर्न सकिँदैन ।
अध्यायनले के देखाएको छ भने, मानिस मात्र नभएर प्रकृतिमा रहेका प्राणीहरुमध्ये ३ देखि ५ प्रतिशत जीवात्माहरु मात्र एक यौन साथीसँग सम्भोग गर्ने प्राणीअन्तर्गत पर्दछन । उनीहरुको यौन जीवनको अनुसन्धानबाट यो पत्ता लागेको छ कि पहिलोपटक छनौट गरेको जोडीमध्ये एक मर्यो वा हरायो भने बाँचेकोले जीवनभर अर्को यौन साथी खोज्दैन र यौनसम्पर्क पनि गर्दैन । अनुसन्धानले प्रमाणित गरेअनुसार जनावरमा फ्याउरो, ब्वाँसो, सिल र डल्फिन (अफ़र्स ) मात्र त्यो यौन वर्गमा पर्दछन् ।
यी सबै प्राकृतिक सत्यहरु पत्ता लगाउन यौन अनुसन्धानकर्ताहरुले पाँच हजार प्रजातिका जनावरहरुको यौन जीवनबारे अध्ययन अनुसन्धान गरेका थिए ।

 

पोलिगामस (poligamous) 
एकै समय वा फरक फरक समय र स्थानमा फरक फरक यौन साथीहरुसँग सम्भोग गर्न रुचाउने प्राणी पोलिगामस हो । ग्रीक शब्द पोलिगामिया (State of sex and marriage to many spouses ) बाट पोलिगामी शब्द आएको हो । मोनोगामि वर्गका प्राणीले एक यौन साथीसँग जीवन बिताइदिन्छ भने पोलिगामी यौन वर्गको विशेषता बहुयौन साथी बनाउनु वा बनाउने चेस्टा गरिरहनु हो । यो वर्गका भाले पोथी समान हुँदैनन् । यो वर्गका भाले वा पुलिंगीहरु पोथी वा स्त्रिलिङ्गी भन्दा १० प्रतिशत अग्ला र २० प्रतिशत शारीरिक वजन बढी भएका हुन्छन् । उनीहरुको लिङ्ग पहिचान गर्न त्यति गाह्रो हुँदैन । हेर्दै स्त्री र पुरुष फरक देखिन्छन् ।

 

प्राकृतिक अधिकार भर्सेज सामाजिक नियम र शक्ति:
मानिस शक्तिशाली शासकहरुद्वारा लादिएका कथित नैतिक, सामजिक र धार्मिक नीति नियमहरुको परिबन्दले निर्धारण गरेको विभेदकारी एकल यौनजीवन पद्धति (केवल स्त्रीको लागि मात्र बाध्यकारी) लाई अपनाउँदै आइरहेको देखिन्छ ।अहिले विकसित र चेतनशील देशहरुमा समान र सहमतिमा उन्मुक्त यौन स्वतन्त्रताका बारेमा छलफल र बहस घनिभूत रुपमा हुँदै आएका छन् । उनीहरुले सबै किसिमका व्यक्तिवादी र सामान्तवादी सामाजिक व्यवस्थाले निर्धारण गरेका अन्यायपूर्ण दवाबहरु तोडेर यौनको प्राकृतिक बहावलाई नरोक्न आह्वानसमेत गरेका छन् ।
समाजशास्त्रीका मतानुसार यौनलाई वर्तमान समाज व्यवस्थाले जतिसुकै गोप्य, घिनलाग्दो, कसैलाई भन्ने नहुने रहस्यमयी बनाउन खोजे पनि मानिस फरक फरक अवस्थामा बहुयौन साथीसँग सम्भोगको बाटोमा लुकेर भए पनि हिँड्न छोडेको छैन । आफ्नो नीजी पत्नी वा पतिबाहेक अन्य सुन्दर वा सुन्दरीसँग यौनिक रुपमा लालायित भैरहने, फरक फरक यौन साथी बनाएर विभिन्न आसनको यौन कल्पना गर्दै यौनरस बगाइरहने र यौन साथी बदल्ने चेस्टामा तरंगीत भैरहने स्वभाव विकासक्रमको युगान्तकारी अन्तरालमा विकास गरेको गुण हो।

 

कृषि युगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो ।

समाजशास्त्रीका अनुसार मानवको आधुनिक समुदाय एकल यौन बाध्यतातर्फ धकेलिनुका पछाडि केही बाध्यताहरु छन् । तिनै बाध्यताहरुले मानव विकासको पछिल्लो चरणमा आफ्ना यौनिक अधिकारबारे आवाज उठिरहेको छ । निजी सम्पत्तिको प्रादुर्भाव, बच्चा जन्मदर अधिक भएकोले हुर्काउने निजी दायित्व, कथित धार्मिक र सामाजिक अन्धता आदि कारणले मानिसले यौन साथी छनौट र यौन स्वतन्त्रता गुमाएको हो । कृषि युगको शुरुवातले मानिस घुमन्तेबाट रैथाने र निजी सम्पतिको मालिक बन्न पुग्यो । त्यही सम्पत्तिको लोभले चाहाना भए वा नभए पनि बाँच्नको लागि श्रम गरेका जोडी स्थाई रुपमा सँगै बस्न र एकल रुपले सहवास गर्न बाध्य भए ।
शिकारी वा ढुंगे युगको कविला समाजसम्म मानिसले आफ्नो यौन साथी चिम्पान्जीले जस्तै बदलिरहन्थे । यौनको लागि महिलाको स्वीकृति निर्णायक हुन्थ्यो । त्यस्तै समूहको सबैभन्दा बलवान पुरुषमात्र स्त्रीको रोजाइमा पर्दथे । त्यसैले त्योबेला जन्मेका बच्चा अधिक स्वास्थ्य र बलिया हुन्थे । जन्मेका सबै बच्चाहरु आमाको माया र सामूहिक रेखदेखमा हुर्कन्थे ।
त्योबेला यौनको लागि अनुवांशिक र प्राकृतिक अदृश्य नियम थियो । त्यहाँ दवाबमूलक वैधानिक नियम कानुन हुन्थेन । दुबैको ईच्छा अनुसार यौन साथी रोजेर सम्भोग कार्य सम्पन्न हुन्थ्यो भने अर्कोपटक पुरानै यौन साथीसँग सम्भोग गर्न कोही बाध्यकारी थिएन । आवश्यकता अनुसार यौन साथीको छनौट र सम्भोग गर्न महिला र पुरुष स्वतन्त्र हुन्थे । पुरुषमाथि प्रकृति हावी थियो र महिलाको स्वीकृति सर्वस्वीकार्य हुन्थ्यो ।

 

यौन शोषण र दासताको शुरुवात कसरी र किन भयो ?
जब सामूहिक उत्तरदायित्व र  सामूहिक जीवनपद्धतिबाट मानिस व्यक्तिगत सम्पत्ति र व्यक्तिवादी जीवन पद्धतितर्फ बाध्यतावश बदलिने परिस्थिति बन्यो, उनीहरुले राज्य वा त्यस्तै प्रकारको आफू नियन्त्रित क्षेत्रको घोषणा गरे । त्यसपछि सामूहिक जीवन पद्धति छिन्नभिन्न भयो । त्योबेलाको जोडी र त्यो जोडीको स्त्रीबाट जन्मेका बच्चा लिएर मानिसले आफ्नो बास बनायो । आमा बच्चाको स्याहार र बाबुको खेतीपातीको साथै तात्कालिक खानाको जोहोले जीवन पूर्णरुपमा व्यस्त हुनु पर्ने परिस्थितिको सृजना भयो । त्यही निजी सम्पत्ति र तात्कालिक दायित्वले मानिसलाई आफ्नो प्राकृतिक अधिकार र रुचि स्थगित गर्न बाध्य बनायो ।
ती सबै बाध्यताको कारण एक खालको परिस्थिति भए पनि मानिस एउटै यौन साथीबाट पूर्णत अझैसम्म तृप्त हुन सकेको देखिदैन । उसको प्राकृतिक पोलिगामस चरित्र यथावत् छ । तृप्त भएजस्तो देखिने उसको दमित बाध्यता हो ।

 

समाज, सम्भोग र प्रेमबारे
संसारमा सबैभन्दा धेरै आकर्षण यौनिकतातर्फ नै देखिन्छ । संसारभर अहिलेसम्म लेखिएका साहित्य र गीतमध्ये दुई तिहाईभन्दा बढी यौनिकता उन्मुख छन् । लेख्नेहरुले पनि आ-आफ्नो मनोविज्ञानको प्रतिनिधित्व गरेर लेख्ने हुन् । व्यक्तिवादी अधिपत्यलाई कायम राख्न बनाइएका कथित धर्म, संस्कृति, कानुन र अनगिन्ति सामाजिक बाध्यताहरुले लेखक, दार्शनिक र साहित्यकारको मनोविज्ञानलाई पनि दवाबमा पारेको हुन्छ । माथिबाट लादिएको दवाबका कारण मुस्लिम बाहुल्य तथा पूर्वीय समाजका अनगिन्ती मानवहरु यौनबारे खुलेर कुरा गर्न सक्दैनन् । खुल्लारुपमा यौन चाहनाबारे आफ्नो छनौटको साथीसँग समेत इच्छा प्रकट गर्न सक्दैनन् । यौन साथी फेर्नु पर्ने कारणबारे गरिने बहस त झन् टाढाको कुरा भयो । खुल्लारुपमा यौन चाहना पूरा गर्ने बहस किन हुन सक्दैन ? यौन स्वतन्त्रता आहार खोज्ने स्वतन्त्रताभन्दा कमजोर किन बनाइयो ? आखिर त्यो पनि प्राकृतिक आवश्यकता न हो । पश्चिमी समाज यौनको बहसमा यसरी खुल्ला हुँदैछ र अब यौन प्राकृतिक गुण अनुसार बग्न दिनु पर्छ भन्ने मान्यता पनि स्थापित हुँदैछ ।
तर धार्मिक रुढीग्रस्त समाजमा स्वतन्त्र रुपमा यौन साथी छनौट गर्नबाट वन्चित गरिन्छ । यौन आवश्यकतालाई धार्मिक, वर्गीय र जातीय आधारमा बैध र अबैधको बिल्ला भिराएर हिँसा गर्ने र ज्यानसमेत लिने गरिन्छ । प्राकृतिक नियम अनुसार सहमतिय सहवास, साथीको छनौट र यौन चाहना व्यक्त गर्ने अधिकार स्वतन्त्र छ । सुद्ध यौनचाहनाले प्रस्ताव प्रेरित छ र सम्बन्ध प्रेमपूर्ण छ भने त्यो यौन प्राकृतिक रुपमा बैध हो । त्यसको लागि विवाह वा सामाजिक मर्यादा पूरा गर्न जरुरी छैन ।

 

प्राकृतिक रुपमा स्वतन्त्रतापूर्वक यौन साथीको छनौट र हेराफेरी गर्ने हाम्रो प्राकृतिक अधिकार हुँदाहुँदै पनि  व्यक्तिवादी समाजमा यौन आकर्षणका आयामहरु सामाजिक प्रचलन र व्यक्तिगत रुचि अनुसार फरक पर्न सक्छ ।

सामाजिक घर्षणको कारण दमित चाहनाहरु बाँध फ़ुटे झैँ कलमको सहाराबाट बाहिर निस्कन्छन् जसलाई हामी साहित्य वा यौन साहित्य भन्दछौं । प्रेम या यौन साहित्यको मूलकारण पनि कथित व्यक्तिवादी सामाजिक नैतिकताले हाम्रो प्राकृतिक र जैविक अधिकार थिचिनुबाट विष्फोट हुँदै गरेको मनोवैज्ञानिक विद्रोह हो ।
प्राकृतिक रुपमा स्वतन्त्रतापूर्वक यौन साथीको छनौट र हेराफेरी गर्ने हाम्रो प्राकृतिक अधिकार हुँदाहुँदै पनि  व्यक्तिवादी समाजमा यौन आकर्षणका आयामहरु सामाजिक प्रचलन र व्यक्तिगत रुचि अनुसार फरक पर्न सक्छ । तर सबै किसिमका यौन आकर्षणका शैलीहरुको केन्द्रिय महत्त्व भनेको सम्भोग हो ।
सम्भोग सधैंभरि सबैलाई स्वर्गीय आनन्द दिने प्राकृतिक शारीरिक संघर्षण क्रिया हो । जसमा स्त्री पुरुषको समान भूमिका, रुचि र त्याग हुनु जरुरी हुन्छ । त्यसैले सम्भोग अधिकार हो भने एकभोग (एकको चाहानामा मात्र हुने बलात्कार) अपराध ।  सम्भोगतर्फ जीव आकर्षित हुनुको मूल कारण त्यही चरम तृप्ति हो । सन्तान उत्पादनको लागि प्रकृतिले जीव जगतलाई त्यसैगरि आकर्षण, घर्षण, स्खलन र चरमानन्दको शृष्टिकला दिएको छ । त्यसको लागि जीवको प्राकृतिक स्वाभाव, रुचि, शारीरिक भिन्नता, यौन साथी छनौटको तरिकासमेत प्रदान गरेको छ ।
 
मानव यौनरुचि, हिँसा, अधिकार र बदलिँदो परिवेश
अघि नै भनियो, मानव स्वभावैले दुईभन्दा बढी यौन साथी छनौट गरेर सम्भोग गर्ने अनुवांशिक र प्राकृतिक गुण भएको प्राणी भए तापनि समाजको बनौट, विकसित नीति नियम, मानसिक विकास वा चेतनास्तर र उत्तरदायित्वको अभिवृद्धिसँगै मानिसको यौन परिवेश पनि निजी हुँदै गएको छ । चेतनाको वृद्धि मानिसमा मर्यादित, जवाफदेही र सुरक्षित यौन सम्पर्क गर्ने, यौन आनन्दसँगै सन्तान हुर्काउने दायित्वसमेत मात्र एक जोडीले पूरा गर्नुपर्ने भएकोले मानिसले आफ्ना प्राकृतिक यौन रुचिलाई क्रमिक रुपमा बदल्न बाध्य पारिएको छ ।
यौनको प्राथमिक आवश्यकता सन्तान उत्पादन मात्र नभएर चरम आनन्दको उपभोग गर्नु पनि हो । अहिलेको सामाजिक परिवेश अनुशार सन्तान हुर्काउनको लागि जोडी बदल्नु वा यौनलाई मात्र प्रधानता दिनु हितकर मानिदैन । सामूहिक जीवन पद्धति अनुसार बाँच्ने र बच्चा हुर्काउने जीवन पद्धति भत्की सकेकोले बाध्यतावश इच्छा अनुसार यौन साथी बदलिरहने आफ्नो जैवीक अधिकारलाई दबाएर बाँच्न आधुनिक मानव बाध्य छ ।
त्यसैले विकसित देशका समाजशास्त्रीहरुले प्राकृतिक यौन अधिकार मानिसको नैसर्गिक अधिकार भएकोले प्राकृतिक अधिकारलाई राज्यले मान्यता दिनुपर्ने आवाज उठाइरहेका छन् । यौन अधिकारको लागि अब सम्भोग क्रान्ति आवश्यक भएको तर्कसहित सेमिनार, अन्तरक्रिया र बहसलाई स्कूल, कलेज र सार्वजनिक सभाहरुमा घनिभूत बनाउँदै लागेका छन् । द्रुतगतिमा पश्चिमा राज्यहरुमा कानुनी मान्यताहरु पनि फेरिंदै गैरहेका छन् । लिभिङ्ग टुगेदरलाई कानुनी मान्यता दिने देशहरु धेरै भैसकेका छन् ।

 

जातीय, धार्मिक र अन्धराष्ट्रिय मानव नश्लको समाप्त गर्दै सम्पूर्ण मानवलाई भावनात्मक एकतासहितको विश्व बन्धुत्वको अभियानलाई योगदान पुर्याउनेछ ।

स्वतस्फूर्त, मर्यादित र सहमतीय आधारमा यौन साथी छान्न र बदल्न पाउने अधिकार अबका केही दशकपछि पूर्णरुपमा संसारभर स्थापित हुने मनोवैज्ञानिक र समाजशास्त्रीहरुको दावी देखिन्छ । उनीहरुकै अनुसार त्यसले सामाजिक बनौट र अधिकारको क्षेत्रमा उल्लेख्य परिवर्तन ल्याउने छ । जसअनुसार अन्तर्जातीय र देशीय सहवासले मानिसको नश्लीय रुपान्तरण हुनेछ । त्यसले उन्नत मानव नश्लको विकास गरी संसारको मानव चेतनाको गुणात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ । अर्कोतर्फ जातीय, धार्मिक र अन्धराष्ट्रिय मानव नश्लको समाप्त गर्दै सम्पूर्ण मानवलाई भावनात्मक एकतासहितको विश्व बन्धुत्वको अभियानलाई योगदान पुर्याउनेछ ।
मनोविद फ्रायड भन्दछन्,” चेतनाको विकास र अन्तरघुलनले यौनलाई लाज, घिन र संवेदनशील चारित्रिक अभिसापबाट बाहिर निकालेर पुजक, भोजन, निद्रा र शिक्षा ग्रहण कर्मजस्तै सम्मानित र मर्यादितरुपमा स्थापित गर्नेछ भने यौन स्वतन्त्रताबाट मानव अझ बढी मानवीय, खुशी, कर्तव्यनिष्ठ र शान्तिप्रिय बन्नेछन्  ।”
समाजशास्त्रीहरुको भनाइअनुसार यौन स्वतन्त्रताको बहसबारे एउटै मत नभए पनि “पूर्ण सम्भोग सन्तुष्टिबाट निस्कने अक्सिटोसिन हार्मोनले समाज, परिवार र प्राणी जगतलाई प्रेममय बनाउँदै सम्बन्धहरु आत्मीय र सुमधुर बनाएर लैजान्छ । यौनरुपमा सन्तुष्ट व्यक्ति आफैँमा मिहेनती, धैर्यवान र आत्माविश्वासी हुन्छ । तर यौनिक रुपमा असन्तुष्ट व्यक्ति अधैर्य, अविश्वासी, झगडालु र मनोरोगी हुन्छ’ भन्ने कुरामा एकमत  देखिन्छन् ।

 

यौन स्वतन्त्रताका लागि परम्परागत र अवैज्ञानिक विवाह पद्धति नष्ट गरिनुपर्दछ
दास युगपछि भित्रिएको छनौट स्वतन्त्रताबिनाको यौन संकुचन र यौन दासताको प्रतिक परम्परागत वैवाहिक शैली तहसनहस बनाइनु पर्छ ।
पहिलो कारण, त्यसले धार्मिक विभेद मात्र नभएर जातीय विभेदलाई अधिकतम बढावा दिएको छ । एउटै जात विशेषसँग मात्र विवाह गर्न अनुमति दिने त्यो विवाह पद्धति नश्लीय विकास र अन्तर्घुलनको बाधक मात्र बनेको छैन, त्यसले बलात्कार, हिँसा र मानव बीचको प्राकृतिक र मानवीय सद्भावलाई बलजफत  भत्काउँदै लागेको छ । जातीय द्वेष, यौनहिँसा वा शोषण, विभेद र सति, दाइजो, देउकी, कुमारी लगायतका प्रथा यौन स्वतन्त्रता विरुद्धका कुरा हुन् । समाजशास्त्रीको मतानुसार यी सब परम्परागत विवाहको फोहरबाट पैदा भएका सामाजिक रोग हुन् ।
दोश्रो, आफ्नो बच्चा स्वच्छ, स्वास्थ्य र सुन्दर बाबुबाट जन्माउने, आमाको इच्छानुसार बच्चाको संख्या अड्कल्ने र समाजमा आमाको प्राकृतिक अधिकारलाई स्थापित गराउने प्रणालीलाई परम्परागत विवाह पद्धतिले समाप्त पारिदिएको छ भने महिलालाई भीष्म पितामहद्वारा यौनदासीको रुपमा अपहरित अधिकारबिहिन अम्बा, अम्बिका र अम्बालिकामा बदलिदिएको छ । जसको कारण विवाहरुपी पाप चक्रव्यूहमा पिल्सिएर हज्जारौँ अपहरित अम्बारुपी महिला र बालिकाहरु आत्महत्या गर्न विवश छन् ।
तेश्रो, जन्मेको सन्तानलाई बाबुले अङ्गालेको कथित धर्मको आधारमा निर्णय गर्न लगाएर संसारमा एकछत्र दानवीय कोलाहल मच्चाइएको छ । आमालाई उसको स्वास्थ्य, समय र रुचिको ख्याल गर्न नदिएर धार्मिक अनुमतिको बलात्कारद्वारा सन्तानमाथि सन्तान थुपारिएको छ  । पृथ्वीमा एक प्राणीको विकास र अन्य प्राणी तथा वनस्पतिको विनासले प्राकृतिक चक्रिय सन्तुलन समाप्त पार्दै लगिएको छ । जुन हानिकारक मात्र नभएर आत्मघाती पनि छ । यदि आमामा सन्तानसम्बन्धी निर्णय अधिकार हुन्थ्यो भने संसारमा अन्य प्राणीको प्राकृतिक अधिकार यसरी समाप्त पारिने थिएन ।
चौथो, पुरुष प्रधान समाजले यौन स्वतन्त्रतालाई पुरुषमा मात्र सिमित गरिदिएर यौन हिँसालाई बढावा दिएको छ । यौनहिंसालाई ढाकछोप गर्न यौनलाई लुकाउनु पर्ने लाज कर्म बनाइएको हो । यौनलाई लुकिकर्म बनाएपछि धार्मिक गुरुकुलमा ब्रम्हचारीद्वारा, चर्चमा पादरीद्वारा, गुम्बामा लामाहरुद्वारा, मस्जितमा मुल्लाद्वारा, राजघरानामा राजा र उसका उच्च रजौटाद्वारा गरिने सम्पूर्ण बलात्कारहरु लुकाउन सजिलो भयो । त्यही कारण हो, सामाजिक सद्भावसहितको प्राकृतिक यौनलाई लाजलाग्दो बोल्न, भन्न र देखाउन नहुने कर्म बनाउनुको अर्थ । यौन परिपूर्तिको सहज प्राकृतिक अधिकारको मार्ग विभिन्न कारणले थुनिदिएर बाध्यकारी विवाहले यौनस्वतन्त्रताको मानव अधिकार समाप्त पारेको छ ।

 

त्यो बाध्यतापूर्ण वैवाहिक यौनहिँसा, पद्धति र त्यसपछि हुने अनेकथरीका दवाबमूलक गोप्य यौनसंस्कारलाई खारेज गर्नु जरुरी छ ।

त्यसैले कथित आधुनिक युगको उपभोक्तावादी समाजले पछ्याएको वैवाहिक पद्धतिको छहारीमा लुकाइएको बलात्काररुपी यौन आतंक अमानवीय छ । त्यो बजारमा बेच्न राखिएको यौन अपराधभन्दा अझै डरलाग्दो छ । अत: त्यो बाध्यतापूर्ण वैवाहिक यौनहिँसा, पद्धति र त्यसपछि हुने अनेकथरीका दवाबमूलक गोप्य यौनसंस्कारलाई खारेज गर्नु जरुरी छ ।
यौनजस्तो परम् आनन्द र स्वर्गानुभूतिको प्राकृतिक बरदानलाई दास युगसँगै हिंसात्मक र गोप्य बनाउँदै लगियो । त्यसको प्रमुख कारण हरुवा कविला पक्षका दुवै लिङ्गीको यौन स्वतन्त्रतालाई समाप्त पार्नु थियो । हरुवा कविला महिलामाथि हुने यौन बर्बरता मानिसले देखे भने विद्रोह हुन्छ भन्ने भय आततायी वर्गलाई थियो । त्यसैले त्यो यौन बर्बरता कायम राख्न उनीहरुले अँध्यारो र असहजताको बाटो रोजे ।
सम्भोगजस्तो पुज्य र श्रृष्टिको माध्यामलाई गोप्य र रहस्यमय बनाइयो । सत्ता र शक्तिको दुरुपयोग गरेर अपहरण र लुटको सहारामा मालिक वर्गले यौनलाई कब्जा गर्यो । त्यसलाई प्रकृतिको बहावसँग बग्न दिइएन । यौनलाई बर्बरता र सनसनीपूर्वक लुट्न थालियो । यौनलाई युद्धमा, जुवामा र राजघरानाका नाचघरानामा तमासा देखाउने साधन बनाइयो ।
यस्ता अनगिन्ती घटनाहरु इतिहासदेखि अहिलेसम्म आदर्श र बहादुरीपूर्ण मानिँदै आएको छ । त्यसैले ती सबै मान्यताहरु स्थापित गर्नुको उद्यस्य  भनेको मानवको स्वतन्त्रतापूर्वक यौन साथी खोज्ने र स्वतन्त्र यौनसम्बन्ध कायम गर्ने अधिकारलाई समाप्त पार्नु हो ।

 

मानव यौन चरित्रका अनगिन्ती उदाहरणहरु 
मानिस कुन यौन वर्गमा पर्छ ? को उत्तर समाजशास्त्रीहरुले आफैँलाई सोध्न आग्रह गर्दै भन्दछन्, “बाहिर अन्य सुन्दरीलाई देख्दा पुरुषको मनमा यौन चाहना प्रकट हुन्छ । घरमा श्रीमतिले थाहा पाउछिन भनेर मात्र ऊ तर्सिन्छ । यो नियम महिलामा पनि लागु हुन्छ । त्यो फरक यौन स्वादको लागि प्रकट भएको यौन भोकलाई उनीहरुले निमोठ्न बाध्य हुन्छन् ।” त्यसैले भनिन्छ प्रेम र यौन फरक कुरा हुन् । प्रेममा बासनाको समेत स्वार्थ हुँदैन, बासनामा यौन तृक्ष्णा बढी हुन्छ तर प्रेमले मानवताको विशालद्वार खुला गरिदिन्छ जसमा सबैतिर समानताबाहेक केही हुँदैन । एउटा कुरा के पनि सत्य हो भने प्रेमबाट यौनसन्तुष्टिसहित पारिवारिक र सामाजिक दायित्व पनि पूरा हुनसक्छ । प्रेमको समानताले यौन साथीको छनौटमा महत्व राख्दैन, आकर्षणपछि यौन साथीको छनौट, सन्तुष्टिको मापन, पुनः यौन साथीको छनौट यौनिक स्वतन्त्रताबाट मात्र सम्भव छ । (“Making love with a woman and sleeping with a woman are two separate passions, not merely different but opposite. Love does not make itself felt in the desire for copulation (a desire that extends to an infinite number of women) but in the desire for shared sleep (a desire limited to one woman.” ― Milan Kundera )
चर्चामा आइसकेको यौनहिँसा यौन स्वतन्त्रताको बाधाबाट उत्पन्न हुने हो । यो कतिपय नबुझेर पनि हुन्छ । रामेछापको एउटा विवश दाजुले आफ्नो पति विद्रोहमा गुमाएकी बैनीको लागि कृतिम यौन खेलौना किन्न बाध्य भएको घटनाले त्यही देखाउँछ । वर्षौँसम्म उसकी बहिनीको यौन हार्मन उत्सर्गनको प्रक्रिया रोकिएर मानसिक असन्तुलन हुने रोग शुरु भयो । धामी झाक्री, डाक्टर, औषधी मुलोले ठीक नभएपछि आफ्नै रोगीकी भाउजूको “विवाह गरिदिए ठीक हुने ।” आग्रहलाई दाजुले समाधान गर्न सकेनन् र राजधानी आएर ३५०० रुपैयाँमा कृतिम पुरुष लिङ्ग किनेर लागे । उनको श्रीमतीले पिडितलाई प्रयोगमा सहयोग गरिनपछि उनकी बहिनीको यौन हिस्टोरिया सन्चो भयो । त्यस्ता अज्ञानताको कारणले हुने समस्यालाई समेत यौनहिँसा भन्छन् समाजशास्त्रीहरु । त्यो समस्या कतिपय यौन हार्मोन बढी भएका अविवाहित युवतीहरुमा पनि हुन्छ । त्यसको प्राकृतिक उपचार यौन सम्पर्कमार्फत् हार्मोनको उत्सर्गन हो । सामाजिक व्यवस्थाले यौन चाहनाबारे बताउने, खुल्ने अनुमति नदिएकै कारण त्यो घटना भएको हो ।
अर्कोतर्फ हाम्रा घरमा हुर्केका चेलीहरुलाई विवाहपूर्व, पति मरेको वा नभएको अवस्थामा यौन स्वतन्त्रताको अनुमति दिँदैन । त्यो गलत मात्र नभएर यौनहिँसा हो । यौन प्राकृतिक चिकित्सा पनि हो । उपयुक्त केटासँग अविवाहित वा पति गुमाएकाहरुले यौनसम्पर्क गर्नुलाई अपराध मान्नु हुँदैन । बरु त्यो बारेमा अभिभावक वा आमाले यौन सम्बन्धी सुरक्षा सतर्कता अपनाउने सल्लाह दिनुपर्छ ।
यहाँ पहिलोपटकको यौनपछि सितिमिति विवाह हुँदैन । यौन शिक्षा र तालिम प्राप्त चेलीहरुले यौन साथीको पूर्ण परिक्षणपछि मात्र निर्णयमा पुग्छन् भने केटाहरुको हकमा पनि त्यही सत्य हो ।

यौन सम्बन्धित सबै कुराहरु गर्न नहुने वा छाडा हुँदैनन् । यसै विषयमा केही दिन अगाडि एउटा असजिलो अध्ययन भयो । भर्खर १२ कक्षामा पढ्ने मिलिसालाई १८ वर्षपछि गर्न हुने नहुनेबारे के थाहा छ भनेर सोधियो । उनले स्वाभाविक शैलीमा भनिन्, “उनकी आमा बार्बाराले भनेकी छन् उनी आगामी हप्ता १८ वर्ष पुगेपछि यहाँको चलनअनुसार थोरै अल्कोहल लिनेछिन र उपयुक्त केटा साथीसँग यौन सम्पर्क गर्नेछिन् । उनलाई सुरक्षित यौनसम्पर्कबारे गुरुआमा र आमाले भरपुर सिकाएका छन् । उनलाई  यौन सम्पर्क गर्ने तीव्र ईच्छा छ । तर लामो समय त्यही केटासँग बित्छ वा बित्दैना केही महिनाको संगतपछि आमासँग छलफल गरेर निर्णय गर्नेछिन् । केटाले यौन सन्तुष्टि दिनसक्छ कि सक्दैन ? त्यो जाच्ने छन् । संगतले ऊ कस्तो प्रकारको केटा हो ? खराब बानी के के छन् ? त्यसलाई दीर्घकालिक रोग छ कि छैन ? रगतको समूह के हो जान्नको लागि तीन महिना समय लाग्नेछ । ऊसँग नबसी त्यो जाच्न सम्भव हुँदैन त्यसैले उनी  ऊसँगै केही समय बस्नेछिन् । अस्पताल केटा सँगसँगै जानेछिन् । पुराना रिपोर्टहरुबारे डाक्टरसँग बहस हुनेछ । घरायसी अवस्थाको जानकारी लिएर आमासँग बहस हुनेछ ।” उनले भनिन्, “कमसेकम ६० प्रतिशत गुणहरु समान नभए तीन महिनामा उसलाई उनले हार्दिकतापूर्वक बिदाई गर्ने छिन् ।”  यसरी पश्चिमा परिवारमा सहमतिमा हुने जुनसुकै प्रकारको सम्भोगलाई अपराध मानिदैन । मिलिसाको आमा पनि पूर्वशिक्षक हुन् भने उनको बुबा वकिल । यहाँ पहिलोपटकको यौनपछि सितिमिति विवाह हुँदैन । यौन शिक्षा र तालिम प्राप्त चेलीहरुले यौन साथीको पूर्ण परिक्षणपछि मात्र निर्णयमा पुग्छन् भने केटाहरुको हकमा पनि त्यही सत्य हो ।

हाम्रो पूर्वीय संस्कार यौन शिक्षाका हिसाबले युरोपभन्दा धेरै तल छ । यो संस्कार हिन्दु, बुद्ध र मुस्लिम धार्मिक मान्यताबाट प्रभावित भएकोले मात्र त्यस्तो भएको हैन । मुलभूत कारण शिक्षा प्रणाली  हो । यौन शिक्षाजस्तो जीवन उपयोगी शिक्षा अहिलेसम्म लागू भएको छैन । यौनबारे बहस हुँदा गिल्का छोडेर हाँसोमा उडाइन्छ । त्यसको महत्वलाई मजाक ठानिन्छ ।
हामीले पढ्ने गरेका र सुन्ने गरेका यौनसम्बन्धी कुरा रामायण, महाभारत र पुराणहरुका मात्र हुन् । महाभारतमा उल्लेखित द्रौपतिको विवाहपश्चात् यौन तृप्तिको प्रसङ्ग होस् या कुमारी अवस्थामा सत्यवती र ऋषि परासर साथै विवाह पछि सत्यवती र सन्तनुको यौन दिनचर्याको कुरा होस् । ती सबैलाई क्षम्य र सम्मानित कर्म मानिन्छ । तर त्यही कर्म समाज वा घरमा घट्यो भने अपराधीकरण गरी ज्यान लिने दिनेसम्मको अवस्था बन्दछ । हामीले यौनकर्मलाई सबै कर्मबाट अलग गरेर नहेरेसम्म त्यसभित्रको पवित्रता देखिँदैन ।
पौराणिक कालका महर्षि याग्याँ बाल्क्य, दसरथ , कृष्ण राधा र अनन्त गोपिनीसँगको यौनसंवाद र सम्भोग पूजनीय हुन सके पनि अहिलेको सहमतीय सम्भोगलाई विचारै नगरी अपराधीकरण गरिन्छ । हाल नेपालमा जंगबहादुर अगाडि पछाडि कुन राजा, राणा, भारदार र मुखियाका एउटा यौन साथी छन् ? त्यस्तै महिलाहरुमा पनि लुकीछिपी आफ्नो पवित्र यौन चाहना मेट्ने गरेका उदाहरणहरुलाई आधार बनाएर दुष्ट्याइँपूर्वक समाचारहरु बनाउने गरिन्छ । पुरुष अधिपत्य भएको र महिलालाई यौन स्वतन्त्रता नदिई आफूले मात्र भोग्न खोजेका उदाहरणहरु अनगिन्ती छन् ।

 

 यौन सम्बन्धहरु वैध र अवैध कसरी हुन्छन् ?
एउटा पुरुष वा महिलाले आफूलाई मन परेको वा छनौटमा परेको साथीसँग सुरक्षित यौनसम्बन्ध कायम गर्नु पटक्कै अपराध हैन । त्यो उसको प्राकृतिक आत्मनिर्णयको अधिकार हो । तर हाम्रो उपभोक्तावादी र व्यक्तिवादी समाजमा कुनै पनि अप्राकृतिक बन्धन तोडेर गरिने यौन सम्बन्धलाई अपराध मानिन्छ । जुन मानव अधिकारको आधारमा अर्को जधन्य अपराध हो । यही बन्धन र सम्बन्धले गर्दा संसारभर सयौं हत्या र यौनहिंसाका घटनाहरु घट्ने गरेका छन् । अझ मुस्लिम समाजमा यौन स्वतन्त्रताको अवस्था अत्यान्त नाजुक छ । त्यो समाजमा केटीलाई शिक्षा ग्रहण गर्ने र आफ्नो यौन साथी चुन्ने न्युनतम स्वतन्त्रतासमेत दिइएको छैन । जहाँ महिलाको अवस्था अझै नारकीय छ ।
महिलाहरुमा यौनिक स्वतन्त्रता नहुनु एक वर्ग विशेषको यौनिक दमन हो । यदि मानिसको प्राकृतिक, अनुवांशिक र वैज्ञानिक कारणलाई आधार मान्ने हो भने मानिस पूर्णरुपमा पोलिगामी प्राणी हो । लामो अध्यायनपछि निचोड निकाल्दै वासिंगटन विश्वविद्यालयकी प्रोफेसर प्रख्यात समाजशास्त्री पेपर स्खुक्सले भन्छिन, “I didnot think we are a monogamous animal . A really monogamous animal is a goose,which never mates again even if its mate killed .Monogamy is invented for order and investment but not nesessarily because it is natural .”
सन्दर्भ स्रोत 
The social control of sexuality by John Delamater ,A report The sexual Revolution by Tan W. Smith, Make a love not war by david plyn, Sexual liberation is not the same thing as sexual Equality by Danielle crittelle, Darwin, evolution, & natural selection