मेरो छोरा अनिमेषलाई सजिलै हाड भाँचिने रोग ओस्टिओजेनेसिस इम्पेर्फेक्टा एक प्रकारको रेयर डिजिज् (दुर्लभ प्रकारको रोग) लागेको छ । म उसको उपचारमा तथा जिउन सजिलो पर्ने कुनै नयाँ आयामको आविष्कार भएको छ कि भनेर कहिलेकाहीँ इन्टरनेटमा खोज्ने गर्दछु । त्यसैक्रममा नोभेम्बर महिनाको दोश्रो हप्तातिर रेयर डिजिज् फेसबुक पेज खोल्दा साइडमा युरोरडिस फोटो अवार्ड २०२१ आर नाउ ओपन भनेर लिंक गरेको देखेँ । आफू फोटोग्राफीप्रति शौखिन भएकाले स्वभाविकरूपमा मेराे चासाे हुने नै भयाे । फेरि उक्त फोटो अवार्डले मेराे छाेराकाे पनि प्रतिनिधित्व गरेकाे थियो ।

फोटो प्रतियोगिताको लागि फोटो अफलोड गर्न भनी आह्वान गरिएको रहेछ । आफूले खिचेको रेयर डिजिज्सँग सम्बन्धित फोटो दुनियाँलाई देखाउने सुनौलो मौका छ, अवसर नगुमाऔँ, यस्तै लेखिएको थियो । पेजमा फोटोको साइज, फोटोको क्याप्सन, फोटो खिच्ने वालाको नाम, खिचिनेवालाको नाम ठेगाना, रोगको नाम आदि भर्नु पर्ने रहेछ । फोटो पठाउने अन्तिम समय ३१ जनवरी रहेछ । पछि फोटो खोजेर एउटा फोटो पठाउने एकल निर्णय गरेर ल्यापटप बन्द गरिदिएँ ।

खिम लामिछने ‘काजी’

मैले २९ जनवरीको साँझ युरोरडिस फोटो अवार्ड  २०२१ को लागि वेवसाइटमा भएको फर्ममा फोटो अपलोड गरेँ । त्यसपछि सिधै ११ फेब्रुवरीको दिन एउटा इमेल आयो, युरोरडिस टिमबाट । इमेलमा लेखिएको थियो, “हामीलाई धेरै खुसी लागेको छ, तिम्रो फोटो ओई क्यान, उत्कृष्ट ५ मा पर्न सफल भएको छ । हार्दिक बधाई छ । ५ वटै फोटोहरु अहिले वेवसाइटमा राखिएको छ । पुब्लिक भोटिंग खुला गरिएको छ । जुन फोटोले पुब्लिक भोट बढी पाउने छ, त्यही फोटोलाई युरोसडिस ब्लाक पर्ल अवार्ड सेरमोनीमा लाइभ कार्यक्रम गरी विजेता घोषणा गरिनेछ । भोट अपिल गर्न यहाँ क्लिक गर्नुहाेला ।”

त्यो इमेल पढेर निकै खुसी लाग्यो । तर सामाजिक सन्जालमा भोट मागी हाल्न भने सकिनँ । पहिले यो कस्तो फोटो प्रतियोता हो ? निर्णायक मण्डलमा को को छन् ? युरोरडिस भन्ने संस्था के कस्तो हो ? सबै हेर्नु पर्यो अनि भोट माग्ने नै खालको रहेछ भने माग्नु पर्ला भन्ने लाग्यो ।

अनि सुरु गरेँ साइड र संस्थाकाे खनतलासी, अरु प्रस्तिस्पर्धी को रहेछन् ? कहाँका रहेछन् ? कस्तो फोटोहरु सेलेक्ट भएका रहेछन् ?, वेवसाइटबाट थुप्रै जानकारी लिएँ ।

सर्वप्रथम त फोटो सेलेक्ट गर्ने फोटोग्राफर तथा फोटो पत्रकार मार्कस ब्लिसडेलको बारेमा खोजेँ, जो प्रतियोगिताका मुख्य निर्यायक थिए । उनको बारेमा बुझ्दै जाँदा थाहा लाग्यो, उनी अमेरिकाका नामुद डकुमेन्ट्री फोटोग्राफर रहेछन् । थुप्रै वर्ष नेशनल जोग्राफीमा काम गरेका रहेछन् । फोटोग्राफीमा ३० भन्दा बढी अन्तराष्ट्रिय पुरस्कारहरु प्राप्त गरिसकेका रहेछन् । सन् २०१५ मा एमनेस्टी इन्टरनेशनल अवार्ड, नोवेल पिस प्राइज फोटोग्राफरलगायत थुप्रै प्रसिद्ध पदकहरु प्राप्त गरिसकेका रहेछन् । यस्ता विश्व विख्यात फोटोग्राफरद्वारा मेरो फोटो छानिएको थाहा पाउँदा निकै गौरवान्वित महशुस गरेँ । उत्कृष्ट ५ मा पर्नु नै मेरो जित हो जस्तो लाग्यो । आफ्नो फोटोग्राफीप्रतिको लगाव, प्यासन र मेहेनतको प्रतिफल प्राप्त भएको अनुभूति भयो ।

त्यसपछि अन्य प्रतिस्पर्धीहरुका बारेमा खोजी गरेँ । आइसल्याण्ड, संयुक्त राज्य अमेरिका, स्लोभाकिया र अस्ट्रियाबाट  फोटोहरु छनौटमा परेका रहेछन् । सबै फोटोहरु उत्तिकै प्रतिस्पर्धी लाग्यो मलाई । अब मेरो चासाे प्रतियोगी फोटोग्राफरतर्फ साेझियो । आइसल्याण्डको अल्टरनेटिंग हेमिफ्लेजिया अफ चाइल्डहुड रोग लागेको फोटो जसको शीर्षक लीभिंग विथ अ रेयेर डिजिज दिइएको थियो । जसकाे फोटो खिच्ने डायना जुलियस डोटिर, उनी एक कुशल फोटोग्राफर भएको थाहा लाग्यो ।

त्यसैगरी जुडी एण्ड ग्याभिन फोटोग्राफीले अमेरिकाको क्यान के एफ १ ए म्युटेसन रोगसँग सम्बन्धित व्यक्तिको फोटो खिचेका रहेछन । जसको नाम आउर रुटिंग दिइएको थियो, उनी अमेरिकामा फोटोग्राफी व्यवसाय नै चलाएर बसेका रहेछन् । विवाह, पार्टी आदिमा फोटो तथा भिडियोग्राफी गर्दा रहेछन् ।

 

फोटोको शीर्षक टोगेदर फरएभर दिइएको प्रोक्सिमल स्पाइनल मस्कुलर अट्रोफी टाइप २ लागेका बिरामीको फोटो स्लोभाकियाका पाभोल कुलाकोभक्सीले खिचेका रहेछन् । उनी पनि आफ्नो ठाउँमा निकै प्रख्यात नै रहेछन् । तर अस्ट्रियाका जोहन्सन उइगेल जसले म्युकोपोली साच्चारीडोसीस टाइप ४ रोग भएका व्यक्तिको फोटो खिचेका थिए उनको बारेमा भने त्यस्तो केही भेटिनँ । उनले फोटोको क्याप्सन ह्याभिंग फन विथ माइ न्यु ब्यालेन्स बाइक रहेको थियो ।

अरु प्रतिस्पर्धीहरुले सामाजिक सन्जालमार्फत् भोट अपिल गरको देखेपछि मैले तुरुन्त भाेट अपिल गरेँ, “भोट गरिदिनु होला । मेरो फोटो युरोरडिस फोटो अवार्ड २०२१ मा उत्कृष्ट ५ मा पर्न सफल भएको छ । भोटको आधारमा पहिलो दोश्रो र तेश्रो घोषणा गरिने भएकोले मेरो फोटोलाइ भोट गरिदिनु हुन अनुरोध गरेँ ।”

पोस्ट गरेकै १ घण्टाभित्रै निकै सकारात्मक कमेन्ट र मेसेजहरु आउँन थाले । तर मलाई कता कता लाज पनि लाग्यो । आफ्नै छोरा र श्रीमतीको फोटोमा, आफ्नै छोरालाई लागेको रोगको बारेमा फोटो खिचेर अनि आफैँले भोट गरी माग्न अलि अफ्ठ्यारो महशुस भयो । एकातिर, नेपालबाट म मात्र प्रतिस्पर्धामा थिएँ । कतै न कतै नेपालमा नाम जोडिएको छ, भोट अपिल गरेको ठिकै हो जस्तो लाग्यो । फेरि अर्कोतिर, यो त मेरो व्यक्तिगत कुरा हो । मेरो आफ्नो व्यक्तिगत फाइदाको लागि सबैलाई भोट माग्न के राम्रो होला र ?  मनमा अनेकौँ तर्कनाहरु आइरहे ।

तर भोट अपिल गरिसकेको छु । पत्रपत्रिकामा भोटको लागि अपिल गरिएको छ । सपोर्ट गर्ने शुभचिन्तकहरुले भोट हालिरहनु भएको छ । यसबाट निकै खुसी लागेको छ । अर्को अफ्ट्यारो पाटो के छ भने, मेरो फोटोमा भोट हाल्न धेरै अल्मलिन्छन् । लिंकमा जानुस्, फोटो आउँछ, अलि तल जानुस्, भोट गर्ने ठाउँ आउछ भनेर मात्र नबुझिदिने, कतै इन्टरनेट नै स्लो भएर भोट गर्दागर्दै झ्याउ लागेर भोट नै नगरी दिनेजस्ता अनेकौँ समस्या छन् ।

भोट गरिदिनु भएका र मलाई सपोर्ट गर्नुहुने सम्पूर्ण शुभ चिन्तकहरुलाई यसै लेखमार्फत् हार्दिक धन्यावाद दिन चाहन्छु । साथै तल उल्लेखित लिंकमा क्लिक गरी मेरो फोटोलाई भोट गरिदिनु हुन फेरि पनि हार्दिक अनुरोध गर्दछु ।

https://blackpearl.eurordis.org/photo-award/