१२ वर्षको वनवासका लागि हस्तिनापुरबाट प्रस्थान गरेका पञ्चपाण्डव, सुकोमलाङ्गी प्रियतमा द्रौपदीका साथ तीन दिन तीन रातको लामो यात्रा सम्पन्न गरेर काम्यक वनमा पुगेका थिए । त्यहाँ पुग्दा–पुग्दै आधी रात भइसकेको थियो । त्यसै बखत, त्यस अनकण्टार अरण्यमा एकाएक एउटा अनौठो भयंकर जीव उनीहरूको बाटो छेकेर बसिरहेको देखियो ।
वास्तवमा त्यो किर्मीर नाम गरेको राक्षस थियो । त्यसै नरभक्षी भयङ्कर राक्षसको डरका मारे त्यहाँ कोही बस्दैनथे । त्यसका आँखा घनघोर रातमा पनि टलल्ल टल्किरहेका थिए । हातमा हुर्हुराउँदो राँको बोकेर त्यो तिनीहरूतिरै आउन लागेको देखिन्थ्यो । आफ्ना बडेमानका मुंग्राजस्ता दुवै भयङ्कर पाखुरा दुईतिर पसारेर, गहिरो गुफाजत्रो हाब्रो च्यातेर बाटो छेक्दै त्यो आउन लागेको देखिन्थ्यो । त्यसका आठवटा घीनलाग्दा दाह्रा बाहिर निस्किएका थिए, दुवै आँखाहरू रीसले गर्दा भर्भभराउँदो भुंग्राजस्ता रा…ता देखिन्थे । त्यो भयंकर गर्जना गर्दै समस्त वन्यजन्तुलाई भयभीत तुल्याउँदै अगि बढ्दै थियो । जंगलका सारा जीवजन्तु डरका मारे कुलेलम ठोक्न थालेका थिए । उसले लमक–लमक पाइला चलाउँदा हुरी बतास चल्न थाल्दथ्यो, धूलो उडेर धुइरीमण्डल हुन्थ्यो । जसरी अकस्मात् आइपरेको कुनै विपदाले पाँचै इन्द्रियलाई एकैसाथ शोकावेगले ग्रस्त तुल्याउँदछ त्यसैगरी त्यो भयानक राक्षस यकायक ती पाँचै भाइहरूका सामु आइपुगेको थियो र त्यसले उनीहरूलाई झसङ्ग तुल्याएको थियो ।
त्यस अदृष्टपूर्व राक्षसलाई देखेर डरका मारे कृष्णाले आँखा चिम्लिइन् । दुःशासनले बलपूर्वक खिँचेर खज्यमजाइएको उनको केशराशि ती पाँच भाइहरूका बीच त्यसबेला चारैतिर छरिन पुग्दा यस्तो लाग्दथ्यो मानौं पाँच पर्वतका बीचमा भुमरी परेको वेगवती नदी पो हो कि ? उनलाई त्यसरी व्याकुल हुन लागेको देखेर पाँचै भाइले यसरी सम्हाले जसरी पाँचै वटा इन्द्रियहरूले आफ्ना विषयलाई सम्हालेर राख्दछन् ।
यसै बीच उसको भयानक मायावी राक्षसी विद्याको इन्द्रजाललाई शक्तिशाली पुरोहित धौम्य मुनिले मायानिरोधक मन्त्रहरूको विधिवत् उच्चारण गरेर छिन्नभिन्न तुल्याइदिए । आफ्ना इच्छानुसारको रूप धारण गर्ने त्यो राक्षस अब बल्ल आफ्नो मूल रूपमा देखा परेको थियो । त्यो अत्यन्त बलवान् र क्रूर राक्षस रीसले आँखा राता–राता पार्दै कालोपम बनेर उभिएको सबैले देखे ।
अनि, धैर्यमूर्ति ज्येष्ठपाण्डव युधिष्ठिरले त्यसलाई शान्तभावले सोधे :
तिमी को हौ ? कसका छोरा हौ ? तिम्रो के काम गरिदिऊँ ? भन !
उनका कुरा सुनेर त्यसले भन्यो :
म बकको भाइ हुँ । मेरो नाउँ किर्मीर हो । म यसै निर्जन काम्यक वनमा निवास गर्दछु । यहाँ आएका तिमीहरूजस्ता मनुवालाई खाएर नै मेरो जीविका चल्छ । राम्रो भयो, मलाई भोक लागिरहेको थियो, आइपुगेछौ । अजिङ्गरको आहारा दैवले जुटाउँछ भन्थे, हो र छ !
युधिष्ठिरले भलादमी पाराले आफ्नो परिचय दिंदै भने :
म पाण्डुपुत्र युधिष्ठिर हुँ, मेरो नाम त तिमीले अवश्यै सुनेका होलाउ, अहिले जुवामा सबकुछ हारेर आफ्ना सकल परिवारका साथ १२ वर्षको वनवास कटाउन म यहाँ आएको हुँ ।
किर्मीरले खुशी हुँदै भन्यो :
ए, तेसो पो हो ? मेरा सौभाग्यले तिमीहरू आज यहाँ आइपुगेछौ, म दिनका दिन तिम्रो माइलो भाइ भीमसेनलाई नै धुइँपत्ताल लाएर खोजेको खोज्यै थिएँ । मेरो प्यारो भाइ बकलाई एकचक्रा नगरीमा मार्ने तेही होइन ? अनि मेरो प्यारो साथी हिडिम्बलाई मारेर उसकी बहिनीलाई अपहरण गर्ने पनि तेही होइन त ? आज अब यसको मिति पुग्यो भन्ने जान । तिम्रै अगाडि म यसलाई ग्वाम ग्वाम खाइदिन्छु अब ।
युधिष्ठिरले क्रुद्ध हुँदै भने :
यस्तो कदापि हुन सक्दैन ।
यसरी यता ज्येष्ठ भ्राता युधिष्ठिरको त्यो भयानक राक्षस किर्मीरसँग शिष्टवार्ता चलिरहेको थियो, यता अर्जुनले आफ्नो गाण्डीव धनुषमा प्रत्यञ्चा चढाइहाले ।
तर, भीमसेनले उनलाई रोक्दै भने :
पख भाइ, यो मेरो शिकार हो । अनि एउटा दश व्याम अर्थात् – लगभग तीस पैंतीस हातजति – अग्लो रुख मरक्क पार्दै जुरुक्क उखेलेर, पहिले कम्मर कसी, बडा वेगले दौडिंदै गएर त्यस राक्षसका थाप्लामा बड्याम्म बजारे । तर त्यसको कुनै प्रभाव त्यसलाई परेन, त्यो चूपचाप उभिइरह्यो । बरु त्यो रुख नै पो झर्याम–झुरुम् भयो । यस सवालको जवाफमा किर्मीरले हातमा बोकेको आगाको लप्का उठिरहेको बडेमानको राँको भीमसेनमाथि झटारो हान्यो, जसमाथि खेलै–खेलमा उनले देब्रे गोडा उचालेर यसरी लात मारे कि– त्यो उल्टै गएर तेस राक्षसमाथि नै बज्रिन पुग्यो । त्यसले फेरि एउटा रुख उखेलेर भीमसेनमाथि प्रहार गर्यो । अनि त के थियो र ? ती दुई महाभारतका बलिष्ठ योद्धाहरू, रामायणका बाली–सुग्रीव झैं परस्परमा भिड्न लागे । अनि, त्यस अटव्य वनको सत्यानाश भयो । उनीहरू आपसमा रुख उखेलेर हानाहान गर्दथे, रुख उनीहरूका टाउकामा बज्रेर धूलोपीठो हुन्थ्यो, तर उनीहरूलाई केही हुँदैनथ्यो । पूरै पैंतालीस मिनेट यो घमासान वृक्षायुधमय वन–विध्वंसकारी द्वन्द्वयुद्ध चलि नै रह्यो ।
अब किर्मीरले क्रुद्ध हुँदै भीमसेनमाथि एउटा ठूलो चट्टान उचालेर बजारिदियो । त्यसको प्रहारले भीम जडवत् बने । तेसै बेला दौडेर आई ऊ भीमसेनमाथि जाइलाग्यो । दुई हृष्ट–पुष्ट साँढे झैं ती दुईको कुस्ती हुन थाल्यो । दुर्योधनादिको रीस पनि भीमसेनले उसैमाथि पोखे । उता द्रौपदी पनि प्रणयभावले हेर्दै उनलाई उत्साहित तुल्याउन लागिन् । किर्मीरले भीमलाई वज्रकठोर दुवै पाखुराले करप्प पारेको थियो तर महाबली भीमसेनले त्यो छुटाएर तेसलाई बलपूर्वक पर उछिट्टिने गरी फुत्त फ्याँकिदिए । फेरि दौडेर आई त्यो राक्षस भीमसेनसँग भिड्न लाग्यो । अबको पाली भीमले त्यसको कम्मरमा च्याप्प समातेर वेगले त्यसलाई घुनुनुनु घुमाउन थाले । हेर्दा–हेर्दै त्यसको शक्ति क्षीण भयो । अनि फुटेको ढोलजस्तो विकृत आवाज निकालेर त्यो चीत्कार गर्न थाल्यो, तर भीमले त्यसलाई छोडेनन्, घुमाको–घुमाइ गरे, अनि त्यो मूर्छित भएर लल्याक्–लुलुक् पर्यो । अब भीमसेनले त्यसलाई जोडसँग भुइँमा पछारे अनि हिंस्रक पशुलाई झैं पिट्न थाले । अनि त्यसको कम्मरलाई वज्रसमान घुँडाले कच्याक्क किचेर दुवै हातले त्यसको गर्दन परक्कै बटारिदिए । किर्मीरको अंग प्रत्यंग जर्जर भइसकेको थियो । आँखा बाहिर निस्कन लागेजस्ता देखिन्थे । त्यसै अवस्थामा फेरि भुइँमा घिसार्दै घररर घुमाएर यसो भने :
एइ पापी, अब तैंले यमपुरी गएर त्यस हिडिम्बे र बकेको आँशु पनि पुछ्न नसक्ने भैस् नाथे !
हेर्दा हेर्दै त्यसका प्राणपखेरु उडिगए अनि बल्ल भीमसेनले त्यसलाई घिसार्न छोडे । त्यसको रंग–रूप काला बादलको जस्तो घनघोर थियो । चारैतिर त्यसका जगटा छरिएका थिए, त्यसका घीनलाग्दा लुगा र बीभत्स आभूषणहरू यता उति छरिएका थिए । त्यो हेरिनसक्नु दृश्य थियो ।
त्यो हेरिरहनु परेको पनि थिएन कसैलाई । सबैले भीमसेनको मुक्तकण्ठले प्रशंसा गरे । त्यहाँबाट प्रसन्न हुँदै पाण्डवहरूको टोली अगि बढ्यो । द्रौपदीलाई अगि लगाएर उनीहरू यात्रा सम्पन्न गर्न लागे ।
….
त्यसपछि काम्यक वनको समग्र यात्रा निरापद हुन पुग्यो । तिनीहरूले एउटा राम्रो वन्य फाँट आफ्नो वासस्थानका लागि चयन गरे र आवश्यक सर–सामग्रीहरू जुटाए । त्यो वन विविध पशुपन्छीका समूहले भरिएको, घना वृक्षहरूले परिपूर्ण भएको निकै समृद्ध एवं रमणीय थियो । दिव्य प्राकृतिक सुषमाले सम्पन्न त्यस वनमा प्रशस्त वनस्पतिहरू, पर्याप्त फलफूल र कन्दमूल पनि उपलब्ध थिए । त्यहीं एक रमणीय कुटी बनाएर तिनीहरू बस्न थाले । आफ्ना श्रद्धेय पुरोहित धौम्यजीका साथ धेरै वेदज्ञ सुशील ब्राह्मणहरू पनि उनीहरूसँग रहने गर्दथे । साँझ–बिहान स्नान–सन्ध्या, पूजा–पाठ र पवित्र वेदमन्त्रोच्चारणपूर्वक यज्ञानुष्ठान सम्पन्न हुने गर्दथ्यो । भोजनका लागि सूर्यदेवका अनुग्रहले प्राप्त अक्षयपात्र छँदै थियो । यसरी तिनीहरू आनन्दपूर्वक त्यहाँ बसेर वनवासका दिनहरू कटाउन थाले ।
…
त्यो राक्षसको बीभत्स शव त्यसै जंगलमा पसारिइरहेको थियो । त्यो देख्नेहरू पहिले त डराए, त्यसपछि चाहिं छक्क परे । यो उग्र कर्म भीमसेनबाट भएको थाहा पाएर सबै उनको जय–जयकार गर्न थाले । यो खबर एक कान– दुई कान– मैदान ! हुँदै सर्वत्र फैलियो ।
उता हस्तिनापुरमा पनि यो वृत्तान्त पानीमा तप्केको तेल झैं तुरुन्त फैलिन पुग्यो । त्यस्तो भयङ्कर राक्षस किर्मीरलाई खेल–खेलमा भीमसेनले त्यस्तो बीभत्स रूपमा वध गरेको थाहा पाएर हस्तिनापुर दरबार डरले थरहरि भयो । महाराज धृतराष्ट्र चिन्तित हुँदै लामो–लामो सास फेर्न थाले । आगामी समयमा हुने कौरवकुलका विध्वंसको सम्भावनाले उनको मन भयभीत हुन थालेको थियो ।
……..
महाभारत वनपर्व, अध्याय ११
२०८२ साल मंसीर ५ गते शुक्रवार
ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










