नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।
महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !
विवेकान्ध राजा धृतराष्ट्रका दुराशयको शिकार बनेर, धूर्त शकुनिका कपटी जुवाको षड्यन्त्रमा फँसेर, नीच दुर्योधनादिका दुर्व्यवहार खपेर, प्रियतमा सती द्रौपदीमाथि भएको भीषण अनाचार चूपचाप सहेर अनि आफ्नै पराक्रमले अर्जिएको समृद्ध साम्राज्यबाट निष्काशित भएर धर्मनिष्ठ, सरलमति राजा युधिष्ठिरले आफ्नो प्रिय परिवारका साथ १२ वर्षको वनवासका लागि प्रस्थान गरेका छन् ।
बस्, यही मोडमा मुनिवर व्यासको महाग्रन्थ महाभारत सभापर्व सम्पन्न गरेर वनपर्वतिर लम्कन्छ ।
हस्तिनापुरको नगरद्वारबाट मृगचर्मधारी वनवासीको वेशभूषामा, पुरोहित धौम्यलाई अगाडि लगाएर कृष्णाका साथमा निस्किएका पञ्चपाण्डव उत्तराभिमुख हुँदै अगि बढे । उनीहरूका साथमा पछि–पछि लागेर प्रेमवश सारा नगरवासीहरू हस्तिनापुरबाट निस्कन लागेका थिए र भन्दै थिए :
अब यो ठाउँ बस्न लायक रहेन । सबै दुराचारी र कपटीहरूको कब्जामा परिसक्यो । जसले धर्मात्मा महाराज युधिष्ठिरमाथि त यत्रो अत्याचार गरे भने त्यस्ताले हामी जनसाधारणलाई के बाँकी राख्थे ?
धेरै टाढासम्म पनि सारा नगरवासीहरू दुःखित हुँदै, प्रेमवश आफ्ना पछि–पछि आउन लागेको देखेर धैर्यशील धर्मात्मा युधिष्ठिरले स्नेहभावका साथ ती सबैलाई माया गरेर सम्झाई बुझाई येन केन प्रकारेण विदा गरी शहरतिर फिर्ता पठाइदिए । साँझ पर्न लाग्दा उनीहरू पतितपावनी गंगाजीका पावन तटमा पुगे । त्यहाँ एउटा महान् वटवृक्ष थियो, जसको प्रमाणकोटि भनेर गौरवशाली परिचय दिइन्थ्यो, त्यसै वटवृक्षका तलमा आजको रात बिताउने विचार गरी सबैले त्यहीं विश्राम गरे ।
आज दिनभरि घटेका अत्यन्त क्लेशपूर्ण घटना र लामो यात्राको थकानले सबै श्रान्त थिए– मनले पनि, तनले पनि । त्यो रात उनीहरूले केही खाएनन् । केवल गंगाजल पिए र विश्राम गर्न लागे । उनीहरूका साथ स्नेहवश केही ब्राह्मणहरू पछि लागेका थिए, तिनीहरूले कसै गरी पनि साथ छोड्न मानेनन् । ती वेदाध्यायी, सदाचार एवम् उत्तम शीलले सम्पन्न थिए र धर्मराज युधिष्ठिरलाई वरिपरिबाट घेरेर बसेका थिए । सन्ध्याकालीन रमणीय प्राकृतिक शोभाले सम्पन्न त्यस गंगातटमा अग्नि प्रज्वलित गरेर ती ब्राह्मणहरू वेदमन्त्रको मेघनिर्घोषतुल्य उद्घोष गर्दै आफ्नो सान्ध्य नित्यकर्म सम्पन्न गरेपछि मधुर संवाद गर्न लागेका थिए ।
यही आध्यात्मिक संवादका बीच ती सबै भुसुक्क निदाएछन् ।
….
रात गयो । प्रभात भयो । प्राची दिशाबाट उषाकिरण झिल्मिलायो, अनि सूर्योदय हुन लाग्यो । पाण्डव–परिवार वनतिर जान तैयार भयो अनि ती भिक्षान्नभोजी ब्राह्मणहरू पनि उनीहरूका पछि लाग्न थाले । त्यो देखेर युधिष्ठिरले भने :
हे श्रद्धेय विप्रदेव, हामी आफ्नो सारा श्री–सम्पत्ति गुमाएर वनवासी बनेका छौं, क्षमा गर्नुहोला, हजुरहरूलाई भोजनादिद्वारा सत्कार पनि गर्नसक्ने स्थितिमा छैनौं । यो डरलाग्दो जंगलमा प्राणसंकट रहन्छ, कृपया अब फर्किनुहोस् ।
तर, ती सरलमति स्नेहकांक्षी ब्राह्मणहरूले भने :
हे राजन्, हजुरको जो गत, हाम्रो पनि सो गत । जेसुकै होस् । हामी हजुरहरूलाई परित्याग गरेर जान चाहँदैनौ । हाम्रो पालन–पोषणको चिन्ता हजुरहरूले गर्न पर्दैन । हाम्रा लागि जे चाहिने फलफूल हामी आफैं व्यवस्था गर्नेछौं र प्रसन्नताका साथ हजुरहरूका साथ वनमा विचरण गर्नेछौं ।
युधिष्ठिरले भने :
हे महात्मागण, हजुरहरुको यो स्नेह र साथ पाएर हामी कृतार्थ भएका छौं, हजुरहरू यो महत् कष्ट भोग्नका लागि योग्य हुनुहुन्न तैपनि हामीप्रतिको स्नेहका कारण यो सबै भोग्न तैयार हुनुहुन्छ ।
अनि फेरि व्यथित हुँदै भने :
यो देखेर मेरो मनमा ग्लानि पैदा हुन्छ । हजुरहरूले भोजनका लागि आफैं कष्ट गरेको चूपचाप हेरेर म कसरी बसुँला ? हाय ! हाम्रा कारण हजुरहरूले यति क्लेश सहनुपरेको देख्दा मन व्यथित हुन्छ । धृतराष्ट्रका पापी सन्तानहरूलाई धिक्कार छ !
ती सबैमध्ये कर्मयोग र सांख्ययोग यी दुवै अध्यात्मविद्यामा पारंगत ज्ञानी ब्राह्मण थिए : शौनक । तिनले महाराज युधिष्ठिरलाई सम्बोधन गरेर भन्न लागे :
हे राजन् !
शोकस्थानसहस्राणि भयस्थानशतानि च
दिवसे दिवसे मूढमाविशन्ति न पण्डितम् । मभा, वन, २अ, १६श्लो
यस जगत्मा शोकका हजारौं स्थान छन् र भयका सैकडौं स्थान छन् । तिनीहरूले मूढहरूलाई दिनका दिन सताउँछन् तर ज्ञानीजनलाई छुन पनि सक्दैनन् ।
अर्थकृच्छे«षु दुर्गेषु व्यापत्सु स्वजनस्य च
शारीरमानसैर्दुःखैर्न सीदन्ति भवद्विधाः । १९
अर्थसंकट, असह्य कष्ट तथा स्वजनहरूमा विपदा आइपरेको खण्डमा पनि हजुरहरू जस्ता ज्ञानीजन शारीरिक र मानसिक दुःखबाट समेत पीडित हुँदैनन् ।
व्याधेरनिष्टसंस्पर्शाच्छ्र्र«मादिष्टविवर्जनात्
दुःखं चतुर्भिः शारीरं कारणैः सम्प्रवर्तते ।
तदा तत्प्रतिकाराच्च सततं चाविचिन्तनात्
आधिव्याधिप्रशमनं क्रियायोगद्वयेन तु ।
मतिमन्तो ह्यतो वैद्याः शमं प्रागेव कुर्वते
मानसस्य प्रियाख्यानैः सम्भोगोपनयैर्नृणाम् ।
मानसेन हि दुःखेन शरीरमुपतप्यते
अयःपिण्डेन तप्तेन कुम्भसंस्थमिवोदकम् ।
मानसं शमयेत् तस्माज्ज्ञानेनाग्निमिवाम्बुना
प्रशान्ते मानसे ह्यस्य शारीरमुपशाम्यति । २२–२६
रोग, अप्रिय घटना, अतिपरिश्रम तथा प्रियजनसँग वियोग यी चार कारणले शारीरिक दुःख हुने गर्दछ । समयमै यी चार कारणहरुको निवारण वा प्रतीकार गर्नु र यी कुनै पनि कुरामा फिटिक्कै पीर नलिनु, यी दुई क्रियायोग वा दुःखनिवारणका उपाय हुन् । तिनबाटै आधि–व्याधिको शमन हुने गर्दछ । त्यसैले बुद्धिमान् तथा विद्वान् व्यक्ति प्रिय वचन बोलेर अनि हितकारी आनन्दमय भोगहरू जुटाएर मानिसका मानसिक दुःखहरूको शमन गर्दछन् । किनभने मनमा दुःख भएपछि शरीर पनि सन्तप्त हुन थाल्दछ, जसरी तातो फलामको डल्लो हालिदियो भने घैंटाको शीतल जल पनि तात्दछ । त्यसैले पानीले आगोलाई शमन गरे झैं ज्ञानद्वारा मानसिक दुःखको शमन गर्नुपर्दछ । मनको दुःख हट्नासाथ तनको दुःख पनि दूर भइहाल्छ ।
स्नेहमूलानि दुःखानि स्नेहजानि भयानि च
शोकहर्षौ तथाऽऽयासः सर्वं स्नेहात् प्रवर्तते ।
स्नेहाद् भावोऽनुरागश्च प्रजज्ञे विषये तथा
अश्रेयस्कावुभावेतौ पूर्वस्तत्र गुरुः मतः ।
कोटराग्निर्यथाशेषं समूलं पादपं दहेत्
धर्मार्थौ तु तथाल्पोऽपि रागदोषौ विनाशयेत् ।
विप्रयोगे न तु त्यागी दोषदर्शी समागमे
विरागं भजते जन्तुर्निर्वैरो निरवग्रहः ।
तस्मात्स्नेहं न लिप्सेत मित्रेभ्यो धनसञ्चयात्
स्वशरीरसमुत्थं च ज्ञानेन विनिवर्तयेत् ।
ज्ञानान्वितेषु युक्तेषु शास्त्रज्ञेषु कृतात्मसु
न तेषु सज्जते स्नेहः पद्मपत्रेष्विवोदकम् । २८–३३
दुःखको मूल कारण हो : स्नेह र आसक्ति । आसक्तिले नै भय, शोक, हर्ष तथा क्लेश यी सबै आइलाग्दछन् । विषयवस्तुमा भावना र अनुराग पनि आसक्ति वा स्नेहले नै हुने गर्दछ । यी दुवै अमंगलकारी मानिन्छन्, त्यसमा पनि पहिलो विषयको भाव महान् अनर्थकारी मानिएको छ । जसरी खोक्रो रुखमा लागेको आगाले पूरै रुखलाई जरैदेखि डढाएर खरानी बनाउँदछ तेसै गरी थोरै विषयासक्तिले पनि धर्म र अर्थ दुवैलाई पूरै खाक पार्दछ । भोगको अप्राप्तिमा जसले त्याग गर्दछ ऊ वास्तविक त्यागी होइन, बरु प्राप्तिमा पनि त्यसको दोषदर्शन गरेर जसले चटक्क छोड्दछ उही असली त्यागी हो, उही वैराग्यशील हो । उसका मनमा कसैप्रति राग र द्वेष नहुने भएकाले ऊ निर्वैर एवं बन्धनमुक्त हुन्छ । त्यसैले मित्रवर्ग तथा विपुल धनराशि पाएर पनि तिनीहरू प्रति स्नेह वा आसक्ति नगर्नू, ज्ञानले अनासक्त भइरहनू । जो ज्ञानी, योगयुक्त, शास्त्रज्ञ एवं मनका स्वामी हुन्छन् तिनका मनमा कुनै पनि वस्तुको आसक्ति त्यसरी नै अडिंदैन जसरी कमलका पातमा जल अडिंदैन ।
या दुस्त्यजा दुर्मतिभिर्या न जीर्यति जीर्यतः
योऽसौ प्राणान्तको रोगस्तां तृष्णां त्यजतः सुखम् । ३६
आसक्तिले तृष्णा जन्माउँछ जो समस्त व्याधिहरूको जड हो । मति बिग्रिएकाहरूका निम्ति जुन कुरा त्याग्न दुष्कर छ, जो शरीर जीर्ण भैसक्दा पनि स्वयं जीर्ण हुँदैन, जसलाई ज्यानमारा रोग भनिन्छ, त्यस्तो तृष्णालाई जसले चटक्क त्याग्न सक्दछ त्यही व्यक्ति सुखी हो ।
महाराज युधिष्ठिरलाई ऐश्वर्यहीन हुन परेकोमा पीर लागेको ठानेर धन–सम्पत्तिका दोषहरू देखाउँदै शौनकले यी वाक्य बोले :
यथा ह्यामिषमाकाशे पक्षिभिः श्वापदैर्भुवि
भक्ष्यते सलिले मत्स्यैस्तथा सर्वत्र वित्तवान् । ४०
हे महाराज, जसरी मासुको चोक्टोलाई आकाशमा पक्षीले, पृथ्वीमा हिंस्रक जनावरले र पानीमा माछाले झम्टिन्छन् त्यसै गरी धनवान् मानिसलाई पनि सबैले सर्वत्र झम्टिरहन्छन् ।
अर्थजानि विदुः प्राज्ञाः दुःखान्येतानि देहिनाम्
अर्थस्योत्पादने चैव पालने च तथा क्षये । ४३
धन सम्पत्तिका चक्करमा लागेपछि जसरी पनि दुःखै मात्र हुन्छ । पहिले कमाउँदा दुःख, कमाएपछि जोगाउन पनि दुःख अनि मासिँदा त झन् दुःख ।
अन्तो नास्ति पिपासायाः सन्तोषं परमं सुखम्
तस्मात् सन्तोषमेवेह परं पश्यन्ति पण्डिताः । ४६
धनका तिर्सनाको कतै टुंगो छैन, जति भए पनि शान्ति हुँदैन, त्यसैले सन्तोष नै परमसुख हो, ज्ञानीजनले सन्तोषलाई नै सर्वोत्तम मानेका छन् ।
धर्मार्थं यस्य वित्तेहा वरं तस्य निरीहता
प्रक्षालनाद्धि पंकस्य दूरादस्पर्शनं वरम् । ४९
धनी भएपछि धर्म गरुँला भनेर धन कमाउन खोज्नुभन्दा त बरु धन कमाउने झन्झटै नगर्नु वेस । पछि पखालुँला नि, भनेर पहिले हिलामा पस्नुभन्दा त शुरुमा हिलामा नपस्नु नै राम्रो । हे महाराज युधिष्ठिर, त्यसैले हजुरले कुनै वस्तुको अभिलाषा नगर्नु नै उचित हो । यदि धर्म नै हजुरको प्रयोजन हो भने धनको इच्छा मनबाट सर्वथा त्यागिदिनुहोला ।
यी सबै कुरा शिरोपर गरेर युधिष्ठिरले भने :
म आफ्नो भोगका लागि धनको इच्छा गर्दिनँ, तर श्रद्धेय ब्राह्मणवर्गको भरण–पोषणका लागि धनको चाहना राख्दछु ।
शौनकले भने :
हजुर धर्माचरणमा प्रतिबद्ध हुनुहुन्छ । शास्त्रले भन्दछ :
इज्याध्ययनदानानि तपः सत्यं क्षमा दमः
अलोभ इति मार्गोऽयं धर्मस्याष्टविधः स्मृतः ।
अत्र पूर्वश्चतुर्वर्गः पितृयाणपथे स्थितः
कर्तव्यमिति यत् कार्यं नाभिमानात् समाचरेत् ।
उत्तरो देवयानस्तु सद्भिराचरितः सदा
अष्टांगेनैव मार्गेण विशुद्धात्मा समाचरेत् । ७५,७६,७७
यज्ञ, अध्ययन, दान, तप, सत्य, क्षमा, दम र अलोभ यी धर्मका आठ मार्ग बताइएका छन् । यिनमा पहिलेका चार मार्ग – यज्ञ, अध्ययन, दान, तप, पितृयान मानिन्छन् अर्थात् सकामभावले गरेपछि स्वर्गादि प्राप्तिका साधन बन्दछन्, यिनलाई निरभिमान भएर सम्पन्न गर्नुपर्दछ । पछिल्ला चार मार्ग – सत्य, क्षमा, दम र अलोभ चाहिं देवयान कहलाउँदछन्, साधुपुरुष सदा यिनै मार्गको अवलम्बन गर्दछन् । यिनै आठवटा मार्गको अनुसरण गरेर आफ्नो धर्माचरण सम्पन्न गर्नू ।
सिद्धा हि यद् यदिच्छन्ति कुर्वते तदनुग्रहात्
तस्मात्तपः समास्थाय कुरुष्वात्ममनोरथम् । ८४
सिद्ध पुरुष जुन जुन वस्तु चाहन्छन् ती आफ्नै तपोबलले प्राप्त गर्दछन् । तेसैले हे महाराज, हजुर पनि तपस्याका प्रभावले आफ्ना मनोरथको पूर्ति गर्नुहोस् ।
तपोपूत विद्वान् ब्राह्मण शौनकका यी पवित्र वचन श्रद्वापूर्वक शिरोपर गर्दै अन्त्यमा युधिष्ठिरले ब्राह्मण–वर्गको भरण पोषणका लागि आवश्यक स्रोत–साधन प्राप्त गर्न तपःसाधनामा प्रवृत्त हुने निधो गरे ।
…….
महाभारत, वनपर्वको पहिलो र दोस्रो अध्याय ।
२०८२ साल कार्तिक २१ गते शुक्रवार ।
ॐ अक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ मंसिर २०८२, सोमबार 










