
हस्तिनापुरको आधा राज्य पाएपछि, खाण्डवप्रस्थ आबाद गरेर विश्वकर्माद्वारा निर्मित अमरावतीतुल्य नगरी इन्द्रप्रस्थलाई राजधानी बनाएर आनन्दपूर्वक पाण्डवहरू रहन लागे । स्वयं भगवान् श्रीकृष्णको अनुग्रह, माता कुन्तीको अनुपम वात्सल्य एवम् दिव्य रमणी कृष्णाको अनन्य अनुराग प्राप्त गरेर उनीहरूको जीवन धन्य बन्यो ।
यसैबीच एक दिन त्यहाँ देवर्षि नारदको यदृच्छया आगमन भयो । आकाशमार्गबाट उहाँ धरतीमा ओर्लिनुभयो । विप्रवर नारद परमज्ञानी, स्वेच्छया जगत्को परिभ्रमण गरिरहने ब्रह्मतेजोयुक्त दिव्य पुरुष हुनुहुन्थ्यो । उहाँ आउनुभएको देखेर महाराज युधिष्ठिरले आफनो सिंहासनबाट उठेर समीप गई उहाँलाई प्रणाम गरे र श्रद्धाका साथ आफ्नै सिंहासनमा उहाँलाई आसीन गराए । पाँचै भाइले उहाँको आसन, पाद्य, अर्घ्यादि उपचारद्वारा यथायोग्य पूजा सत्कार गरिसकेपछि कृष्णालाई अन्तःपुरमा सन्देश पठाइयो । देवर्षिको दर्शनार्थ उनी पनि आइन् र उहाँलाई प्रणाम गरेर विनीत भावले उभिइन् । देवर्षिले उनीलाई सौभाग्यवती हुने आशीर्वाद दिएर विदा दिनुभयो । कृष्णा अन्तःपुरतिरै फर्किइन् । अनि देवर्षि एकान्तमा पञ्चपाण्डवसँग विशेष–वार्ता गर्न लाग्नुभयो ।
हे पाण्डुपुत्र हो, यशस्विनी पाञ्चाली कृष्णा अब तिमीहरू सबैकी एकैव धर्मपत्नी बनेकी छन् । अतः तिमीहरूले यस्तो नीति बनाउनुपर्दछ जसले गर्दा तिमीहरूका बीच परस्परमा कहिल्यै पनि फाटो पैदा नहोस्, कहिल्यै वैर–विद्वेषको भाव पैदा नहोस् । यस विषयमा म तिमीहरूलाई सुन्द र उपसुन्दको कथा सुनाउँछु, ध्यानपूर्वक सुन ।
प्राचीनकालमा महादानव हिरण्यकशिपुका कुलमा निकुम्भ नामले प्रसिद्ध दैत्य जन्मियो । त्यसका दुई छोरा थिए, सुन्द र उपसुन्द । दुवै महाबली, पराक्रमी, भयङ्कर र ज्यादै क्रूर स्वभावका थिए । तिनीहरू दुवैको विचार एक, खानपान एक, दुःख–सुख एक र सारा व्यवहार एक थियो । तिनीहरू सँगै बस्थे, सँगै खेल्थे–खान्थे । दुवैको आपसमा अटूट प्रेम थियो । लाग्दथ्यो तिनीहरूका शरीरमात्र दुई हुन् तर प्राणचाहिं एक ।
एक बखत ती दुई समस्त जगत्लाई विजय गर्ने इच्छाले गुरुदीक्षा लिएर विन्ध्यपर्वत गए र कठोर तपस्या गर्न लागे । भोक–प्यास आदि अनेक कष्ट सहेर, शरीरमा वल्कल धारण गरेर, वायुमात्र सेवन गरेर तिनीहरू दिनरात तपिरहे । आफ्नै शरीरको मांसखण्ड काटेर तिनीहरू अग्निमा आहुति दिन्थे । लामो समयसम्म केवल खुट्टाका बूढीऔंलामात्र टेकेर, दुवै हात माथि उचालेर, सूर्यमा एकोहोर हेरेर, उग्र तपस्या गरेपछि खपिनसक्नु भयो । विन्ध्य–वनमा आगो सल्किन लाग्यो । देवताहरू भयभीत भए । उनीहरूले तिनको तपस्या भङ्ग गर्न भनेर अनेक उपाय गरे । धनसम्पत्ति थुपारिदिए, सुन्दरीहरू नचाए, मायारचित तिनीहरूका बन्धुबान्धवलाई विपत्तिग्रस्त रूपमा देखाए, तर कुनै उपायले काम गरेन । कसैको केही लागेन । अन्त्यमा जगत्पिता ब्रह्माले दर्शन दिनै पर्यो, वरदान माग भन्नै पर्यो ।
उनीहरूले अमरत्वको वरदान मागे । ब्रह्माले असम्भव र सृष्टि नियमविपरीत भएकाले त्यस्तो वरदान दिन नमिल्ने कुरा गर्नुभएपछि उनीहरूले भने : त्यसो भए हामीलाई हामी एक अर्काबाहेक यस जगत्मा अरु कसैबाट पनि मृत्युभय नहोस् ।
तथास्तु भनेर ब्रह्माजी अलप हुनुभयो । त्यसपछि तिनीहरूको उत्पात शुरु भयो । सारा जगत्मा सर्वत्र उनीहरूको क्रूर साम्राज्य छायो । खाऊ, पिऊ, भोग गर, यही तिनीहरूको नीति थियो । ती अत्यन्त निर्दय र भयंकर बन्दै गए । धर्मकर्म देखिसहँदैन थिए, ऋषिमुनि र ब्राह्मणजतिलाई भेटे कि आगामा फालिदिन्थे, कसैको केही डर भर थिएन, सज्जनहरू सबै त्राहि माम् भन्दै लुकेर ज्यान बचाउन थाले, सबै सत्कर्म निमिट्यान्न भए । उनीहरू इच्छानुसार रूप धारण गर्दथे, कहिले सिंह, कहिले बाघ बन्दथे र जसलाई भेट्यो आक्रमण गरेर खाइदिन्थे । उनीहरूका भयानक कर्म देखेर सूर्य, चन्द्र, ग्रह, तारा, नक्षत्र लगायन समस्त चराचर जगत् विषादग्रस्त बन्यो । ती दानवद्वयले कुरुक्षेत्रलाई नै आफ्नो मुख्य अड्डा बनाएका थिए ।
आखिरमा सबै देवताहरू मिलेर ब्रह्माका समीप गए । सकल जगत् त्राहि माम् भएको वृत्तान्त सुनाए र यी दैत्यलाई ठेगान लगाउन अनुरोध गरे । जगत्–पिताले केही वेर विचार गरेर विश्वकर्मालाई एउटी अलौकिक दिव्य सुन्दरी निर्माण गर्न अराउनुभयो । विश्वकर्माले भएभरको प्रतिभा लगाएर संसारभरिका सर्वोत्तम रत्नहरूको दिव्य तेजःपुञ्ज समाहित गरेर एउटी यस्ती अनुपम सुन्दरीको निर्माण गरे जसका अंगप्रत्यंगमा तिलको दानो जति पनि त्यस्तो ठाउँ थिएन जहाँ मनमोहकता र मादकता नहोस् । त्यसैले तिनको नाम रह्यो तिलोत्तमा । तिनलाई ब्रह्माजीले ती दुवै दानव सुन्द र उपसुन्दलाई आफ्नो मादक जवानीले लोभ्याउने आज्ञा दिनुभयो । तिनलाई देखेर स्वयं ब्रह्माबाहेक समस्त देवताहरूसमेत एकोहोरिए, मोहित भए, लठ्ठ परे । सबैलाई विश्वास भयो : अब कार्यसिद्धि पक्कै हुनेछ ।
विन्ध्यपर्वतको शिखरमा ती दुवै दैत्य स्वेच्छाचारी आमोदप्रमोदमा डुबेर बसेका थिए । तिलोत्तमा त्यहीं गइन् । झिनो रेशमी वस्त्रखण्ड आफ्नो शरीरमा लपेटेकी तिनी अर्धनग्न वेश धारण गरेर नजीकका फूलवारीमा गएर फूल टिप्न थालिन् । ती दुवैले तिनलाई देखे । मद्यपान गरेर लठ्ठ परेका, लाल लाल आँखा गरेका, ती क्रूरकर्माहरू बिजुलीको तरंगले छोए झैं झस्किएर तिनको रूप–यौवनमा लठ्ठिएर, आफ्नो होश हराएर तिनका समीपमा गए र दुवै प्रणययाचना गर्न थाले, आफ्नी स्त्री बन्न आग्रह गर्न थाले । एउटाले उनको दायाँ हात समायो, अर्काले देब्रे हात ।
उनीहरू मदोन्मत्त थिए । एक अर्कालाई आँखीभौं टेढ्याएर हेर्न थाले । उता तिलोत्तमा चाहिं दुवैमाथि पालै–पालो मादक कटाक्षपात गर्न थालिन् । उनको मादक स्पर्श, मोहक गन्ध, लठ्ठ बनाउने हाउभाउ देखेर दुवैले आफ्नो होश हराए ।
सुन्दले क्रुद्व हुँदै उपसुन्दलाई भन्यो : छोड्, यो मेरी पत्नी हो । तेरालागि आमासमान हो । हट् ।
उपसुन्दले भन्यो : तेरी होइन, यो त मेरी पत्नी हो, तेरा लागि पुत्रवधूसमान हो । हट् ।
तिलोत्तमाका लागि उनीहरूका मनमा एक अर्काप्रति ईर्ष्या र रीसको भयंकर बतासहुरी चल्न लाग्यो । जीवनभरिको भातृप्रेम, स्नेह र सौहार्द सबै त्यही हुरी बतासले उडाएर बेपत्ता पारिदियो । दुवैको तुजुक उग्र र उग्रतर हुँदै जान थाल्यो । क्षणभरमै दुवै हात हातमा भयंकर गदा लिएर भिडन्त गर्न थाले । एउटा भन्थ्यो : यो मेरी हो ।
अर्को भन्थ्यो : छाड्, यो मेरी हो ।
क्रोधाग्निले डढ्दै उनीहरू एक अर्कालाई निर्दयतापूर्वक गदाप्रहार गर्न थाले । दुवै उज्जण्ड, दुवै उद्दीप्त र दुवै दुर्दमनीय थिए । आखिर भयंकर हानहानमा परेर गदाको निर्मम चोट खाएर दुवै धराशायी भए । दुवैका अंग–प्रत्यंगबाट रगतको खोलो बग्न थाल्यो । केही क्षणमै ती दुवै यमराजका अतिथि बने ।
उनीहरू मरेको देखेर तिनका सबै आफन्तहरूको भागा रे भाग भयो । सबै डरका मारे पाताललोकतिर भासिए ।
सर्वत्र पलभरमा शान्ति छायो । लोकपिता ब्रह्मा अवतरित हुनुभयो । उहाँका साथ देवगण अवतरित भए । सबै प्रसन्न थिए । सबैले तिलोत्तमाको प्रशंसा गरे । सबैलाई संकटबाट मुक्त गरेकामा भव्य अभिनन्दन गरे ।
अनि, ब्रह्माले प्रसन्नताका साथ भन्नुभयो : हे सुन्दरी, जहाँसम्म सूर्यको गति छ ती सबै लोकमा तिमी इच्छानुसार विचरण गर्न सक्नेछौ । तिमीमा यति तेज हुनेछ कि तिमीलाई कसैले पनि सोझो आँखाले हेर्न सक्नेछैन । यसरी अलौकिक सुन्दरी तिलोत्तमालाई यति वरदान दिएर, त्रिलोकीको रक्षाभार पुनः इन्द्र महाराजलाई सुम्पिएर अन्त्यमा ब्रह्माजी ब्रह्मलोकतिर फर्कनुभयो । देवतागण देवलोकतिर लागे । तिलोत्तमा स्वेच्छया त्रिजगतीमा विचरण गर्न लागिन् ।
अन्त्यमा देवर्षि नारदले महाराज युधिष्ठिरतिर मुखातिब हुँदै भन्नुभयो :
हे युधिष्ठिर, यसरी सुन्द र उपसुन्दले आपसी भातृस्नेह हुँदाहुँदै पनि होश हराएर तिलोत्तमाका निम्ति मारामार गरे । त्यसैले म भन्दछु, यदि मेरो प्रिय गर्न चाहन्छौ भने तिमीहरू आपसी सहमतिले एउटा यस्तो नियम बनाओ– जसले गर्दा द्रौपदीका निम्ति तिमीहरूबीच कहिल्यै पनि फाटो नपरोस् ।
देवर्षिका आज्ञालाई श्रद्धाका साथ शिरोपर गर्दै ती पाँचै भाइले उहाँकै सामु तत्काल एउटा नियम यसरी बसाले : हामीहरू प्रत्येकका घरमा निष्पाप द्रौपदी पालैपालो एक एक वर्षको समयावधि निवास गरुन् । द्रौपदीका साथमा एकान्त बसेका बेला कदाचित् अर्को भाइले देख्यो भने उसले बाह्र वर्षसम्म ब्रह्मचर्यपूर्वक वनमा निवास गरोस् ।
यो नियम सबैको एकमतले स्वीकृत भयो । देवर्षि नारद पनि सन्तुष्टमनसा त्यहाँबाट आकाशमार्गतिर लाग्नुभयो । यसरी कृष्णाका साथ पञ्चपाण्डवको प्रणयसम्बन्ध आजीवन कायम रह्यो । कसैले यस नियमलाई कहिल्यै उल्लंघन गरेन । अर्जुनले एक पटक दैवेच्छावशात् नियमभङ्ग गर्न पुगेको हुँदा, नियमानुसार नै प्रायश्चित्त पनि गरे, तर नियमको उल्लंघन कदापि गरेनन् ।
त्यो कथा अघिल्लो भागमा ।
…
महाभारत, आदिपर्व, २०७ देखि २११ अध्यायसम्म ।
२०८२ ज्येष्ठ ९ गते शुक्रवार । ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

