सबैको सहमति अनुसार महात्मा विदुर पञ्च–पाण्डव–परिवारलाई लिन भनेर हस्तिनापुरबाट पाञ्चाल देशतिर प्रस्थान गरे । उनले नववधू द्रौपदी, पञ्च–पाण्डव र यज्ञसेनका निम्ति पनि प्रशस्त धन–सम्पत्ति र बहुमूल्य उपहार लिएर गएका थिए । त्यहाँ पुगेर उनले राजा द्रुपद एवम् अन्य सबैलाई यथायोग्य शिष्टाचार अभिवादन आदि गरेपछि तिनीहरूका बीच सौहार्दपूर्ण वातावरणमा भलाकुसारी चल्यो । हस्तिनापुर दरबार यो नूतन सम्बन्धबाट गौरवान्वित एवम् अत्यन्त हर्षित भएको कुरा पनि विदुरले सुनाए र अन्त्यमा पाण्डवहरूलाई लिन आफू आएको कुरा द्रुपदका सामू विन्ती बिसाए ।

राजा द्रुपदले भने –

म कसरी आफ्नै मुखले मेरा प्रिय ज्वाइँहरूलाई – जानुहोस् भनूँ ? यदि कुन्तीनन्दन पाँचै भाइ उचित सम्झनुहुन्छ भने र उहाँहरूका परमहितैषी बलराम र श्रीकृष्ण पनि उहाँहरूको हस्तिनापुर सवारी हुनु समुचित ठान्नुहुन्छ भने सवारी अवश्य हुनेछ । उहाँहरूको जे इच्छा, म त्यसैमा खुशी छु !

अन्ततः विदुरको प्रस्तावलाई सबैले अनुमोदन गरे । माता कुन्ती, नववधू कृष्णा र पाण्डवहरूका साथ महात्मा विदुर हस्तिनापुर प्रस्थान गरे । राजा द्रुपदले प्रशस्त सम्पत्ति र उत्तम उपहारहरू अर्पित गर्दै धूमधामका साथ उनीहरूको विदाइ गरे ।

उता महाराज धृतराष्ट्रले उनीहरूको स्वागतार्थ गुरु द्रोणाचार्य र कृपाचार्यका साथ विकर्ण, चित्रसेन लगायत कौरवाग्रणीहरूलाई पठाए । बडो धूमधामका साथ हस्तिनापुर नगरीले पञ्च–पाण्डव–परिवारको स्वागत गर्‍यो । महाराजको आज्ञाले पाण्डुकै महलमा उनीहरूको आवास–व्यवस्था मिलाइयो । सारा सुख–सुविधाको आवश्यक व्यवस्था पनि गरियो । त्यहाँ उनीहरूलाई सबै बन्धुबान्धवहरू भेट्न आए । नागरिकजनले उनीहरूको हर्षोल्लासपूर्वक स्वागत सत्कार गरे । पूजा गरे, श्रद्धार्पण गरे । स्वयं गङ्गानन्दन भीष्म, गुरु द्रोणाचार्य र कृपाचार्य एवम् अङ्गराज कर्ण आदिले उनीहरूको त्यहाँ स्वागत गरे ।

केही समय विश्राम गरेपछि धृतराष्ट्र तथा भीष्मपितामहले उनीहरूलाई दरबारमा बोलाए । त्यहाँ स्वयं महाराज धृतराष्ट्रले भने –

हे कुन्तीनन्दन युधिष्ठिर, तिमीहरूका पिता– मेरा भाइ पाण्डु अत्यन्त असल थिए । तिमीहरू पनि सारै असल छौ । तिनी जनताको पालन–पोषण राम्ररी गर्दथे । तिनी बलवान् थिए, मैले भनेपछि जुनसुकै दुष्कर कार्य गर्न पनि नाइँ–नास्ति गर्दैनथे । मेरै आज्ञाले उनले यो राज्य बढाएका थिए । त्यसैले यो राज्य तिमीहरूको पनि हो । त्यसैले म यस राज्यको आधा भाग तिमीहरूलाई नै दिन चाहन्छु ।  म चाहन्छु– तिमीहरू पनि तिम्रा पिताले झैं मेरो आज्ञा पालन गर ।

यति भनेर राजा धृतराष्ट्रले तुरुन्तै राज्याभिषेकको सारा सामग्री–सम्भार मगाएर धूमधामसँग राजपदमा युधिष्ठिरलाई प्रतिष्ठित तुल्याए । अभिषेकोत्सवमा कृपाचार्य, द्रोणाचार्य, भीष्म, धौम्य, वेदव्यास, श्रीकृष्ण, बलराम, बह्लीक, सोमदत्त आदि विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो । सबैले जयजयकार गरे । आशीर्वाद दिए । सारा नगरवासीले उनीहरूको भव्य अभिनन्दन गरे । उता, यो सबै देखेर दुर्योधनादि सारा दुष्टाधिराजहरूचाहिं रीसले रनक्क ताते र ईर्ष्याले हुरुरु जले अनि अन्तमा शोक–सन्तापले शिथिल भए ।

……

महाराज धृतराष्ट्रले भने – 

हे युधिष्ठिर, मेरा छोराहरू दुरात्मा, अहंकारी र ज्यादै स्वार्थी स्वभावका छन् । तिनीहरू मेरो आज्ञाको पालन पनि गर्दैनन् । त्यसैले म के भन्छु भने– तिमीहरू यहाँ नबस, तिनीहरूले अकार्थमा झगडा गर्न थाल्नेछन् ।  तिमीहरू खाण्डवप्रस्थ जाओ । त्यतै बसेर राज्य गर । त्यो निकै राम्रो ठाउँ छ, किनभने स्वयं वज्रपाणि इन्द्रले त्यस स्थानको रक्षा गर्दछन् । पुरुरवा, आयु, नहुष, तथा ययाति आदि हाम्रा सबै यशस्वी पूर्वजहरूको पनि राजधानी त्यही थियो । तिमीहरू त्यहीं एउटा सुन्दर नगर निर्माण गरेर बस । यसैमा तिमीहरूको कल्याण छ । यथाशीघ्र त्यहाँ जाने काम गर ।

राज्याभिषेक सम्पन्न भइसकेपछि महाराज धृतराष्ट्रको आज्ञा शिरोपर गरी पाण्डवहरू खाण्डवप्रस्थतर्फ लागे । त्यो गहन वन– अटव्य जंगल थियो । भगवान् श्रीकृष्ण उनीहरूका साथमा हुनुहुन्थ्यो । उहाँले देवराज इन्द्रलाई सम्झनुभयो । उहाँका मनको कुरा बुझेर देवराजले विश्वकर्मालाई त्यस विराट् जंगलमा श्रीकृष्णका इच्छानुसार एउटा रमणीय नगरी बनाउने आज्ञा दिए र भने –

त्यसको नाम इन्द्रप्रस्थ रहनेछ ।

इन्द्राज्ञाले विश्वकर्मा तत्काल श्रीकृष्णका सामू हाजिर भए र भने –

मेरा लागि के आज्ञा छ प्रभो ।

श्रीकृष्णले भन्नुभयो –

यहाँ महेन्द्रपुरीतुल्य एक महानगर बनाऊ । इन्द्रकै इच्छानुसार त्यसको नाम पनि इन्द्रप्रस्थ रहनेछ ।

त्यसपछि स्वयं वेदव्यासलाई अगि लगाएर जमीनको नाप गराइयो । वास्तु–पूजा सम्पन्न गराइयो । हेर्दाहेर्दै चाँडै नै त्यहाँ एउटा भव्य महानगर बनाएर विश्वकर्माले तैयार गरे ।

त्यस महानगरको सुरक्षार्थ अग्ला–अग्ला प्राकार र खाइहरू बनाइए । उच्च शिखर–समन्वित गोपुरले सुशोभित नगरद्वार, अनेकानेक गगनचुम्बी अट्टालिका, अपार युद्धसामग्रीले खचाखच भरिएको शस्त्रागार, नगरसुरक्षाको उत्तम व्यवस्था, अपार धनधान्य र रत्नहरूको भण्डार, दिव्य फलफूलले लटरम्म भएका बृहद् उद्यानहरू, मगमग बास्नाहरूले भरिएका ढकमक्क फूलबारीहरू, मयूर, हाँस र कोइली अदि पक्षीहरूको सुमधुर कलरव, प्रशस्त दूधालु गाईहरूले भरिएका गाई–गोठहरूका साथै उन्नत खेतीपातीहरूको सम्पन्नताका साथ समस्त समृद्धि र ऐश्वर्यले इन्द्रप्रस्थ सम्पन्न बन्यो । लाग्दथ्यो अमरावतीतुल्य देवधाम यसै धराधाममा निर्मित भएको छ । नगरको भव्यता देखेर सम्मोहित भएका धेरै जनताहरू आनन्दका साथ त्यहाँ आएर बसोबास गर्न थाले ।

महानगरको निर्माण–कार्य सुसम्पन्न भएपछि विश्वकर्मालाई पूजा सत्कार गरेर विदा गरियो । अनि भगवान् श्रीकृष्णले पनि जाने आज्ञा माग्न लाग्नुभएको देखेर इन्द्रप्रस्थ राज्यका महाराज युधिष्ठिरले भनेः

हे निष्पाप वृष्णिनन्दन, हजुरकै कृपाले मैले राज्य प्राप्त गरें । हे अच्युत, हजुरकै प्रसादस्वरूप यो अनकण्टार अटव्य जंगल आज धनधान्यले सुसम्पन्न राष्ट्र बनेको छ । हे महामते, हजुरकै कृपाले हामी आज राज्य–सिंहासनका अधिकारी बनेका छौं । हे माधव, अनन्तकालसम्म हजुर नै हामी पाण्डवहरूका परमगति हुनुहुन्छ । हे प्रभो, हाम्रा मातापिता र इष्टदेव पनि हजुर नै हुनुहुन्छ किनभने हामी हाम्रा पिता पाण्डुका बारेमा त केही जान्दैनौं । हे अनघ, हजुरले नै बुझेर हाम्रा लागि करणीय के हो त्यो गराइबक्सेला । हामीले गनुपर्ने कर्तव्य कर्म के हो – त्यही आज्ञा होस् ।

वासुदेव श्रीकृष्णले भन्नुभयो –

हे महाभाग, तपाईंले आफ्नै प्रभावले धर्मपूर्वक पाउनुपर्ने राज्य प्राप्त गर्नुभएको हो । तपाईंकै बुबा, हजुरबुबाहरूले आर्जन गरेको राज्य आखिर तपाईँले किन पाउनुहुन्थेन र ? धृतराष्ट्रका पुत्रहरू दुराचारी छन्, तिनीहरूले तपाईँहरूको के बिगार्न सक्छन् र ? तपाईं इच्छानुसार प्रजा–पालन गर्नुहोस् । सदा धर्मको मर्यादालाई परिपालन गर्नुहोस् । हे कुरुनन्दन, तपाईंलाई मैले भन्नुपर्ने धर्मोपदेशका कुरा यति नै हुन् कि – सदा ब्राह्मणहरूको सेवा गर्नुहोस् । चाँडै नै देवर्षि नारद यहाँ पाल्नुहुनेछ । उहाँको आदर–सत्कार गर्नुहोस् । उहाँका कुरा सुन्नुहोस् । उहाँको आज्ञा अवश्य पालन गर्नुहोला ।

यति भनिसकेर श्रीकृष्ण आफ्नी फुपू कुन्तीसँग प्रणामपूर्वक विदा माग्न लाग्नुभयो । कुन्तीले भनिन्M

हे केशव, लाक्षागृहमा पसेदेखि मैले जे–जति दुःखकष्ट भोग्नुपर्‍यो त्यो मेरा पिता कुन्तीभोजले पनि थाहा पाउनुभएको छैन । हे गोविन्द, तपाईंकै सहायताले मैले यस अपार दुःख–सागरलाई पार गरें । हे प्रभो, तपाईं अनाथहरूका नाथ हुनुहुन्छ । हे महामते, यी पाण्डुपुत्रहरूलाई सदा सम्झनुहोला, किनभने तपाईंका शुभचिन्तनले नै यिनीहरू जीवनधारण गर्दछन् ।

— हजुरको आज्ञा म सदा पालन गर्नेछु ।

संक्षेपमा यति नै भनिसकेपछि श्रीकृष्ण कुन्तीलाई प्रणाम गरेर दाजु बलरामका साथ त्यहाँबाट विदा हुनुभयो । अन्त्यमा सारा पाण्डवहरूसँग पनि विदावादी भएर उहाँले स–दल–बल द्वारकापुरीतर्फ पदार्पण गर्नुभयो ।

…….

महाभारत– आदिपर्व, अध्यायM २०५, २०६ र २०७ मा आधृत ।

२०८२ साल जेष्ठ २ गते शुक्रवार । ॐ अक्षरालयः ।