जीवनको ८० औँ वसन्त चल्दै थियो । महापरिनिर्वाण उन्मुख पाइला अघि बढ्दै थिए । बुद्ध पावातर्फ लाग्नुभयो । मल्लहरूको मनोरम पावामा पुग्यो भिक्षुसमूह । कम्मारपुत्र चुन्दको आँपको वन थियो त्यहाँ । त्यहीं बुद्धसहित भिक्षुसङ्घ रह्यो । थाहा पाएर चुन्द बुद्धकहाँ उपस्थित भए । बुद्धको उपदेशले प्रसन्न चुन्दले भने– “भन्ते, भिक्षुसङ्घका साथ भोलिको भोजन मेरो घरमा गरिदिनुहोस् ।”

बुद्धले मौन स्वीकृति दिनुभयो । अभिवादनसहित बुद्धलाई प्रदक्षिणा गरी चुन्द गए ।

उज्यालो भएपछि चुन्दले सुस्वादु खाद्यभोज्य पर्याप्त मात्रामा तयार पारे । “सूकरमद्दव” भनिने खास भोजन तयार पारेका थिए उनले । पूर्वाह्णमा भिक्षुसङ्घसहित बुद्ध चुन्दको घर पुग्नुभयो । यथास्थानमा बसिसकेपछि भोजनदानको तयारी भयो । बुद्धले सूकरमद्दव आफूलाई र अन्य भोजन भिक्षुहरूका लागि पस्कन भन्नुभयो । चुन्दले त्यसै गरे । बाँकी रहेको सूकरमद्दव खाल्डोमा हाल्न अह्राउनुभयो । चुन्दले त्यस्तै  गरे ।

पचाउन निकै गाह्रो विशेष परिकार थियो त्यो ।

सूकरमद्दव खाएपछि बुद्धलाई कडा रोग उतपन्न भयो । मलद्वारबाट रगत बग्न थाल्यो । मरणान्तक वेदना हुन थाल्यो । बुद्धले होसपूर्वक पीडित नबनी त्यो वेदनालाई सहनुभयो ।

“जाऔँ आनन्द, अब कुसीनगर जाऔँ”, बुद्धले आनन्दलाई भन्नुभयो । बुद्धको पेटमा तीव्र वेदना भइरहेको थियो । निरन्तर रगत बगिरहको थियो । प्रतिकूल स्वास्थ्यका बाबजुद उहाँको यात्रा जारी रह्यो ।

के हो सूकरमद्दव ?

सूकरमद्दव खासमा के थियो ? यो प्रश्न महापरिनिर्वाणपछि नै अनुत्तरित देखिन्छ । कारण, भोजनका बेला बुद्धले मात्र खानुभयो । आम मानिसले खाइराख्ने साधारण भोजन भएको भए बुद्धले गाड्न लगाउनु नपर्ने । त्यतिमात्र होइन देवब्रहादिले पनि पचाउन नसक्ने भनेर बुद्धले भन्नुभएको छ । त्यसको अर्थ हो, त्यो विशेष भोजन थियो । आम मानिसले खानेभन्दा फरक थियो । अर्कातिर स्वर्णकार चुन्द स्वयं बुद्धका आर्यश्रावक हुन् । बुद्धसँगको पहिलो भेटमा नै उनी स्रोतापन्न भएका थिए । उनलाई बुद्धको परिनिर्वाण बारे ज्ञान पनि थियो । त्यसैले पक्कै पनि सावधानीपूर्वक विशेष शक्तियुक्त परिकार बनाउने चेष्टा गरे ।

आखिर के थियो त सूकरमद्दव ? महापरिनिब्बानसुत्तको अर्थकथामा सूकरमद्दव बारे प्रसङ्ग पाइन्छ । उल्लेख छ –  सूकरमद्दवन्ति नातितरूणस्स नातिजिण्णस्स एकजेट्ठकसूकरस्स पवत्तमंसं। तं किर मुदु चेव सिनिद्धञ्च होति ।

प्रसंगानुसार सूकरमद्दव भनेको न अतितरूण नत अतिवृद्ध उत्तम सुँगुरको “पवत्तमंस” हो । त्यो कोमल र स्निग्ध हुन्छ । पवत्तमांस भनेको बजारमा बेच्न राखिएको मरेको जनावरको मासु भन्ने कुरा पालिको भेसज्जखन्धबाट पुष्टि हुन्छ । त्यहाँ भनिएको छ, “पवत्तमंसंन्ति मतस्स मंसं ।” अङ्गुत्तर निकायको सीहसुत्तमा वैशालीका सेनापति सिहले बुद्धलाई भोजनका लागि आमन्त्रण गरेको प्रसङ्ग छ । उक्त सूत्रको अर्थकथामा पवत्तमंसलाई यसरी व्याख्या गरिएको छ –

पवत्तमंसन्ति पकतिया पवत्तं कप्पियमंसं मूलं गहेत्वा अन्तरापणे परियेसाहीति अधिप्पायो।

सूकरमद्दव भनेको बजारमा बेच्न राखिएको स्वाभाविक रूपमा प्राप्त सुँगुरको मासु भन्ने अर्थ लाग्छ । परिभाषाअनुसार प्राकृतिक रूपमा आफैँ मरेको भन्न पनि सकिन्छ ।

महापरिनिब्बानसुत्तको अर्थकथामा वैकल्पिक व्याख्या पनि दिइएको छ । नरम भातलाई पाँच किसिमको गोरसमा पकाएर बनाइएको सूपलाई सूकरमद्दव भनिन्छ । जस्तै गवपान भन्ने परिकार । उल्लेख छ –

एके भणन्ति – ‘‘सूकरमद्दवन्ति पन मुदुओदनस्स पञ्चगोरसयूसपाचनविधानस्स नामेतं, यथा गवपानं नाम पाकनाम’’न्ति।

महापरिनिब्बानसुत्तको अर्थकथामा थप उल्लेख छ–

केचि भणन्ति – ‘‘सूकरमद्दवं नाम रसायनविधि, तं पन रसायनसत्थे आगच्छति, तं चुन्देन – ‘भगवतो परिनिब्बानं न भवे्यया’ति रसायनं पटियत्तं ।

सूकरमद्दवको अर्थ विशेष रसायनविधिद्वारा बनाइएको परिकार हो । रसायनको अर्थमा पनि सूकरमद्दवको प्रयोग हुन्छ । बुद्धको छिटो परिनिर्वाण नहोस् भनेर चुन्दले त्यस विधिअनुसार मिश्रण गरी परिकार बनाएका थिए ।

महापरिनिब्बानसुत्तको टीकामा भनिएको छ–

सूकरमद्दवन्ति वनवराहस्स मुदुमंसं। यस्मा चुन्दो अरियसावको सोतापन्नो, अञ्ञे च भगवतो, भिक्खुसङ्घस्स च आहारं पटियादेन्ता अनवज्जमेव पटियादेन्ति, तस्मा वुत्तं ‘‘पवत्तमंस’’न्ति।

यो प्रसंगले सूकरमद्दव भनेको जङ्गली बँदेलको कमलो मासु हो भन्ने बुझाउँछ । चुन्द स्वयं स्रोतापन्न भएकाले बुद्ध र भिक्षुसङ्घलाई के दिनुपर्छ भन्ने जान्दथे । अतः हिंसा नगरिएको भन्ने अर्थमा ”पवत्तमंसं“ भनेर अर्थकथाकारले उल्लेख गरेको पाइन्छ ।

उदान अर्थकथामा पनि सूकरमद्दवको प्रसङ्ग आएको छ । महार्थकथामा सुँगुरको कोमल र स्निग्ध मासु भनियो । उल्लेख छ –

सूकरमद्दवन्ति सूकरस्स मुदुसिनिद्धं पवत्तमंस’’न्ति महाअट्ठकथायं वुत्तं। 

तर, केहीले सूकरमद्दव भनेको सुँगुरको मासु होइन भन्छन् । बरू सुँगुरले खोस्रेको बाँसको तामा भन्छन् । प्रसंगमा उल्लेख छ – केचि पन ‘‘सूकरमद्दवन्ति न सूकरमंसं, सूकरेहि मद्दितवंसकककीरो’’ति वदन्ति।

अरू केहीले सुँगुरले खोस्रेको स्थानमा उम्रेको च्याउ भन्ने गरेका छन् । उदान अर्थकथाकार लेख्छन्– अञ्ञे सूकरेहि मद्धितप्पदेसे जातं अहिछत्तकं।

अरू केहीका अनुसार माथि भनिएजस्तै सूकरमद्दव भनेको एक रसायन हो । साहित्य उल्लेख गर्छ– अपरे पन ‘‘सूकरमद्धवं नाम एकं रसायन’’न्ति भणिंसु।

जेसुकै भए पनि चुन्दले बुद्धको परिनिर्वाण बारे सुनेका थिए । त्यो विशेष परिकार खाएर उहाँ स्वस्थ भई लामो आयु बाँचे हुन्थ्यो भन्ने भावनाले उनी प्रेरित थिए भन्ने कुरा पनि पालिसाहित्यमा पाइन्छ– तञ्हि चुन्दो कम्मारपुत्तो ‘‘अज्ज भगवा परिनिब्बायिस्सती’’ति सुत्वा ‘‘अप्पेव नाम नं परिभुञ्जित्वा चिरतरं तिट्ठे ्यया’’ति सत्थु चिरजीवितुकम्यताय अदासीति वदन्ति (उदान अर्थकथा) ।

प्रसङ्गमा उद्धृत अर्थकथा तथा टीकाको साहित्य पाँचौँ र सातौँ शताब्दीमा लेखिएका हुन् । यसको अर्थ बुद्धको महापरिनिर्वाणको धेरैपछिको साहित्य हो । त्यतिबेला पनि प्रशस्त मतभेदहरू देखिएको कुरा माथिका प्रसङ्गबाटै स्पष्ट हुन्छ । पालि विनयसाहित्यमा बुद्धले त्रिकोटिपरिशुद्ध मासुको ग्रहणमा निषेध गर्नुभएको छैन । भिक्षुले आफ्ना लागि भनेर पशुको हिंसा गरेको देखेको, सुनेको हुनुहुँदैन । र, त्यस विषयमा शङ्काको अवस्थासमेत सिर्जना भएको छैन भने त्यस्तो मासु खान हुन्छ, अन्यथा हुँदैन ।

पालिसाहित्यमा भिक्षाका रूपमा मासुभक्षणको प्रसङ्ग पर्याप्त पाइन्छ । तर, बुद्धले अन्तिम भोजनका रूपमा ग्रहण गरेको भोजन सूकरमद्दवचाहिँ मासु होइन भन्ने आधार खोज्न पालि साहित्यभन्दा बाहिर जान नपर्ने देखिन्छ ।

निष्कर्षः

बुद्ध बेलुवग्राममा हुँदादेखि नै बिमारी हुनुहुन्थ्यो । उहाँलाई पेटको समस्या थियो । उमेरले असी वर्षको हुनुहुन्थ्यो । र, जीवनलाई सामान्य  रूपमा नै चल्न दिनुभएको थियो । सुँगुरको मासु पकाएको भए त्यहाँ शङ्काको अवस्था हुन्थ्यो । किनकि, त्यो बुद्धका लागि विशेष भोजन थियो । शङ्काको अवस्थामा मासु त्रिकोटिपरिशुद्ध मानिँदैन । र, बुद्ध र भिक्षुहरूले खाँदैनन् । सुँगुरको मासु सामान्य मानिसले खाने, पचाउने गरेको लौकिक दृष्टान्त छ । तर, बुद्धले चाहिँ महापरिनिब्बानसुत्तमा सूकरमद्दवलाई एक तथागतले बाहेक अरूले पचाउन नसक्ने भन्नुभएको छ । सामान्य जनावरको मासुमात्र भएको भए बुद्धले खाल्डो खनेर गाडिहाल्न लगाउनुपर्ने थिएन । यी विविध आधारमा सूकरमद्दव कुनै मासु वा तज्जन्य परिकार थिएन भन्न सकिन्छ ।

(‘बुद्धका पाइला’ कृतिको अंश । लेखक लुम्बिनी बौद्ध विश्वविद्यालयमा उपप्राध्यापक हुनुहुन्छ ।)