
परापूर्वकालमा इक्ष्वाकुवंशमा एक राजा भए । उनको नाम थियो कल्माषपाद । उनी त्यस समयका असाधारण तेजस्वी राजा थिए ।
एक दिनको कुरा हो, उनी राजधानीबाट निस्किएर शिकार खेल्न वन गएका थिए । विविध हिंस्रक जन्तुहरूको वध गरिसकेपछि थाकेर, भोक र प्यासले लखतरान परेका उनी फर्कंदै थिए । बाटो अप्ठ्यारो र साँगुरो थियो । उनले अगाडि देखे : एक जना बाहुन–चरी उताबाट लमक् लमक् गर्दै आइरहेका छन् ।
प्रिय पाठक बन्धु ! वास्तवमा ती थिए – महर्षि वसिष्ठका सय भाइ छोरामध्येका जेठा छोरा, अत्यन्त तेजस्वी तपस्वी मुनि– शक्ति ।
राजा कल्माषपादले भने : बाटो छोड !
शक्ति मुनिले नरम स्वरमा भने :
मम पन्था महाराज धर्म एष सनातनः
राज्ञा सर्वेषु धर्मेषु देयः पन्था द्विजातये ।। मभा, आप, १७५अ, ८श्लो ।
महाराज, बाटो त तपाईंले पो मलाई दिनुहोस् न ! यही सनातन धर्म हो । धर्मको नियम यही छ : राजाले नै ब्राह्मणलाई पहिले अगि जान बाटो छोड्नुपर्छ ।
यही विषयलाई लिएर उनीहरूमा भनाभन हुन लाग्यो । कोही आफ्ना ठाउँबाट टस से मस भएन । स्वभावतः राजा कल्माषपाद क्रमशः क्रोधको वशीभूत हुँदै गए, अनि निर्दयता साथ ती तपस्वी मुनि शक्तिमाथि दानवीय पाराले कोर्रा बर्षाउन लागे । मर्मान्तक पीडाले आकुल भएका मुनि शक्तिले तत्काल तिनलाई यसरी शाप दिए :
राजाहरूमा नीच हे कल्माषपाद ! तिमी एउटा तपस्वी ब्राह्मणलाई राक्षसले झैं कुटिरहेका छौ । त्यसैले म तिमीलाई शाप दिन्छु : आजदेखि तिमी नरभक्षी बन्नेछौ, तिमी नरमांसका लोलुप राक्षस भएर पृथ्वीतलमा विचरण गर्नेछौ । हे नृपाधम, अब यहाँबाट घस्किहाल !
शक्तिले शाप दिनासाथ राजा कल्माषपादलाई आफ्नो अपराधको तीतो बोध भयो, अनि यिनी महर्षि वसिष्ठका पुत्र तपस्वी शक्ति रहेछन्– भन्ने पनि थाहा भयो । उनी शापमोचनका लागि शक्ति मुनिको स्तुति गर्न लागे, उनका शरण पर्न लागे ।
……..
त्यसताका विश्वामित्र महर्षि वसिष्ठमाथि प्रचण्ड वैरभाव राख्दथे । उग्र तपस्वी विश्वामित्र त्यसैबेला राजा कल्माषपादका छेउमा अदृश्य भावले आइपुगे र उनले आफ्नो स्वार्थ–साधनका लागि यस अवसरको उपयोग गर्ने विचार गरे । उनले एउटा राक्षसलाई राजा कल्माषपादमाथि आविष्ट हुने आज्ञा दिए । ती विप्रर्षि मुनि शक्तिको शाप र विश्वामित्रका आज्ञाका प्रभावले उक्त राक्षस राजा कल्माषपादमाथि आविष्ट भयो । आफ्नो कार्य सफल भएपछि मख्ख पर्दै विश्वामित्र त्यहाँबाट चूपचाप आफ्नो बाटो लागे ।
राक्षसद्वारा आविष्ट भएपछि राजा कल्माषपादको सारा बोध, बुद्धि र विवेक विलुप्त भयो । उनले आफ्नो संस्कार भुसुक्कै बिर्सिए । एक दिन राजालाई वनतिर जाँदै गरेको देखेर भोक–प्यासले मरणान्त हुन लागेका एक ब्राह्मणले उनीसँग सामिष अन्न खान पाऊँ भनेर याचना गरे । राजाले भने :
एकैछिन् यहीं बस्नुहोस्, म वनबाट फर्किएपछि अघाउँजी खान दिउँला ।
तर, उनी यताउति घुमफिर गर्दै दरबार फर्किए । आधारातमा पो बल्ल उनलाई आफूले एक जना ब्राह्मणलाई सामिष भोजनका लागि जंगलमा पर्खाएर आएको स्मरण भयो । आधी रातमा नै उनले भान्सेलाई डाकेर, मासुभात लिएर वनमा गई ब्राह्मणलाई भोजन गराउने आज्ञा दिए । भान्सेले पनि राजाज्ञा शिरोपर गरी तत्काल भोजनको तैयारी गर्न लाग्यो, तर मासु कतै रहेनछ । उसले यस कुराको जानकारी दिएपछि राक्षस अविष्ट भएका ती राजा कल्माषपादले भान्सेलाई भने :
अरु केही भेटिएन भने मान्छेकै मासु खोजेर भए पनि पकाएर ती ब्राह्मणलाई खान देऊ ।
राजाज्ञा शिरोपर गरी भान्से रातारात वधस्थलमा गयो र जल्लादहरूसँग मागेर मान्छेको मासु ल्याएर तैयार गरी, वनमा गएर प्रतीक्षारत ती क्षुधार्त ब्राह्मणलाई खान दियो । ती ब्राह्मणले आफ्नो तपःसिद्ध दृष्टिले हेरे र भने :
यो खानलायक छैन । त्यस नीच राजाले मलाई यस्तो अखाद्य वस्तु खान दियो, तसर्थ म शाप दिन्छु : त्यस मूर्ख राजाको जिब्रो अब यस्तै अन्नका लागि लालायित रहनेछ । नरमांसमा लुब्ध बनेर यस धरातलमा अब ऊ भौंतारिइरहनेछ ।
एक त मुनिवर शक्तिको शाप, त्यहींमाथि यी अर्का क्रोधोद्दीप्त ब्राह्मणको शाप, अभिशाप द्विगुणित भएर राजा कल्माषपादमाथि खनियो । उनको स्वभाव, प्रकृति र प्रवृत्ति सबै दिनानुदिन राक्षसवत् हुँदै जान थाल्यो ।
केही दिनपछि कल्माषपादले कतै यकायक आफ्ना सामू उनै तेजस्वी मुनिवर शक्तिलाई देखे र भने :
तिमीले मलाई सर्वथा अनुचित शाप दियौ । यसको शुभारम्भ म तिमीबाटै गर्दछु । म तिमीलाई नै सबैभन्दा पहिले खान्छु ।
यति भनेर राक्षसी वृत्तिले आविष्ट कल्माषपादले राक्षसवत् बनेर शक्तिको प्राण लिए अनि जसरी नरभक्षक बाघले शिकार खान्छ त्यसैगरी शक्तिलाई खाइदिए । कुबुद्धि–ग्रस्त बनेका कुटिल–मति विश्वामित्रले यो सबै थाहा पाएपछि, कल्माषपादमा आविष्ट राक्षसलाई वसिष्ठका सारा पुत्रमाथि नै जाइलाग्न प्रेरित गर्न थाले । त्यसको परिणाम के भयो भने– एक, दुई, तीन गर्दै राक्षसाविष्ट कल्माषपादले क्रमशः वसिष्ठका सय भाइ छोरा सबैलाई चट् पारिदिए ।
तपोपूत ब्रह्मर्षि वसिष्ठले आफ्ना अन्तज्र्ञानले यो सबै थाहा पाउनुभयो । दुष्टात्मा विश्वमित्रको यो कुत्सित क्रूर करतूत सबै थाहा पाएर पनि उहाँ क्षमाशील नै बनिरहनुभयो । शोकको महत् आवेगलाई उहाँले त्यसरी नै चूपचाप आफैंभित्र धारण गर्नुभयो जसरी सुमेरु पर्वतले पृथ्वीलाई धारण गर्दछ । आफ्ना निर्दोष पुत्रवधूहरूको कारुणिक वैधव्य–व्यथाले शोकदग्ध बनेर उहाँले आफ्नो देह नै त्यागिदिने विचार पनि गर्नुभयो, तैपनि उहाँका मनमा विश्वामित्रप्रति अनिष्टको कामना कहिल्यै जन्मिएन ।
वसिष्ठले मेरुपर्वतको शिखरबाट आफूलाई तल खसालिदिनुभयो, तर उहाँलाई कपासको थुप्रोमा खसेजस्तो अनुभूति भयो । फेरि उहाँ प्रलायाग्नितुल्य जाज्ज्वल्यमान वन–डढेलोमा गएर हामफाल्नुभयो, तर उहाँलाई शीतल जलराशिमा डुबुल्की मारेजस्तो अनुभूति पो भयो । शोकको आवेगले ग्रस्त वसिष्ठ गलामा ठूलो पत्थर बाँधेर समुद्रमा हामफाल्नुभयो, तर समुद्रले हलुकासँग उहाँलाई किनारामा ल्याएर राखिदियो । यसरी आत्महानि गर्ने सबै प्रयास विफल भएपछि उहीँ खिन्नभावले अन्ततः आफ्नै आश्रममा फर्किनुभयो ।
तर, उहाँलाई सकल–पुत्रहीन त्यो शून्य आश्रम श्मशानतुल्य प्रतीत भयो । दुःखार्त हुँदै आश्रमबाट निरुद्देश्य हिंडिदिनुभयो । बाटामा बर्षादको बाढीले अटेसमटेस भएर उर्लिरहको एउटा नदी देखेपछि उहाँले आफ्नो शरीरलाई लता–जालले राम्ररी जेलेर त्यसै जलराशिमा हामफाल्नुभयो, तर त्यस नदीले उहाँका सबै बन्धन खुस्काएर सकुशल बगाउँदै किनारमा ल्याएर छोडिदियो । उहाँले त्यस नदीको नाम विपाशा राखिदिनुभयो ।
अगि बढ्दै जाँदा उहाँले हिमालय पर्वतबाट निक्लिएकी एक भयावहा नदी देख्नुभयो, जसमा प्रचण्ड घातक ग्राहहरू सलबलाइरहेका थिए । वसिष्ठले त्यसैमाथि आफूलाई हुत्याइदिनुभयो, तर उहाँको अग्नि–ज्वालातुल्य तेजस्वी शरीरलाई थाम्न नसकेर त्यो नदी सयकडौं धारमा विभाजित भयो । वसिष्ठले त्यसको नाम शतद्रु राखिदिनुभयो ।
आखिरमा उहाँलाई के निश्चय भयो भने – म कसै गरी पनि नमर्ने रहेछु । उहाँ शोकदग्ध बनेर अनेकौं पर्वत, वन र देश देशावर भौंतारिंदै अन्त्यमा पुनः आफ्नै आश्रमछेउ आइपुग्नुभयो । त्यसबेला उहाँकी पुत्रवधू अदृश्यन्ती उनका पछि लागिन् । ब्रह्मर्षि वसिष्ठले पछाडिबाट सङ्गतिपूर्वक छवटै अङ्गले अलंकृत स्फुटार्थ–समन्वित वेदमन्त्रहरू सस्वर पाठ गरिएको पवित्र ध्वनि सुन्नुभयो र आश्चर्यपूर्वक पछाडि फर्किएर भन्नुभयो : मेरो पछि पछि को आउँदैछ हँ ?
तिनले भनिन् :
हे महाभाग, म हजुरकी बुहारी । अनवरत तपःसंलग्न हजुरका ज्येष्ठ सुपुत्र मुनिवर शक्तिकी अभागिनी अनाथ पत्नी अदृश्यन्ती हुँ पिताजी ! हे भगवन्, मेरो गर्भमा हजुरको नाती, मेरा पतिदेव शक्तिको सुपुत्र छ । उसले मेरो गर्भमै रहेर वेदाभ्यास गरिरहेको १२ वर्ष भइसक्यो प्रभो !
यस्ता कुरा सुनेपछि आफ्नो वंशपरम्पराको लोप भएको रहेनछ भन्ने थाहा पाएर वसिष्ठ प्रसन्न हुनुभयो र त्यसै क्षणदेखि आत्मघातको कृत्यबाट विरत हुनुभयो । उहाँ आश्रमतिर फर्कन लाग्नुभयो । बाटामै उहाँले उही राक्षसाविष्ट कल्माषपादलाई देख्नुभयो । त्यो क्रुद्ध भएर झम्टिन आइरहेको थियो । पछि पछि आइरहेकी अदृश्यन्तीले भनिन् :
भगवन्, त्यो नरभक्षी भयङ्कर राक्षस डण्डा उजाउँदै झम्टिन आयो । बचाउनुहोस्, बचाउनुहोस् ।
वसिष्ठले भन्नुभयो :
छोरी, तिमी नडराऊ । वास्तवमा त्यो राक्षस होइन । तिनी राक्षसाविष्ट कल्माषपाद राजा हुन् ।
यति भनिसकेर झम्टिन आएको त्यस नर–राक्षसलाई ब्रह्मर्षि वसिष्ठले केवल हुङ्कारद्वारा बीचमै रोकिदिनुभयो, अनि मन्त्रपूत जलले अभिषेक गरेर आफ्ना योगबलका प्रभावले क्षणभरमै शापमुक्त गरिदिनुभयो । जसरी ग्रहण लागेका बेला तेजोनिधि सूर्य राहुद्वारा ग्रस्त हुन्छन् त्यसैगरी राजा कल्माषपाद पनि शक्तिद्वारा अभिशप्त भएर १२ वर्षसम्म राक्षस बनेका थिए । वसिष्ठको मन्त्रपूत जलाभिषेकका साथै राक्षसले उनलाई तत्क्षण छोडिदियो । त्यसपछि तुरुन्तै त्यो भयानक रूप विलीन भयो र त्यहाँ तेजोद्दीप्त राजा कल्माषपाद प्रकट भए । उनले सम्भ्रमका साथ वसिष्ठको पाउमा परेर प्रणाम गरे अनि भने :
प्रभो, म हजुरको के सेवा गरुँ ? म हजुरको सेवक यजमान सौदास हुँ ।
वसिष्ठले भन्नुभयो :
अरु केही सेवा गर्नु पर्दैन । बस्, अब उप्रान्त कदापि ब्राह्मणको अपमान नगर्नू ।
उनले भने :
हवस् गुरुवर, म सदा–सर्वदा हजुरको आज्ञापालन गर्नेछु । सदा ब्राह्मणदेवको पूजा–सत्कार गर्नेछु, मान–सम्मान गर्नेछु । हे भगवन्, हजुरको ममाथि कृपा रहोस्, हजुरका कृपाले म इक्ष्वाकुवंशीय राजाको वंशवृद्धिका निम्ति सकल सद्गुण–सम्पन्न एक पुत्र प्राप्त गर्न चाहन्छु ।
गुरु वसिष्ठले तथास्तु भनेर भनेर राजा कल्माषपादका कामनाको अनुमोदन गर्नुभयो ।
प्रिय पाठक बन्धु !
वास्तवमा राजा कल्माषपादलाई एक ब्राह्मणीको शाप लागेको थियो । तदनुसार उनी सन्तान जन्माउन असमर्थ थिए । के भएको थियो भने– उनी शक्ति मुनिको शापद्वारा ग्रस्त भएपछि एक दिन आफ्नी पत्नीका साथ जंगलतिर घुम्न निस्किएका थिए । त्यहाँ एक ब्राह्मण–दम्पति मैथुनरत थियो । राक्षसाविष्ट बनेका कल्माषपादले क्रोध–वशीभूत भएर ब्राह्मणलाई बलपूर्वक समातेर खाइदिए । पतिविरहिता ती ब्राह्मणीले क्रुद्ध बनेर तत्काल तिनलाई शाप दिइन् : हे नीच, मैथुनरत अवस्थामा तैंले मेरा पतिलाई ग्रास बनाइस्, त्यसैले म तँलाई शाप दिन्छु तँ पनि जब पत्नीसँग मैथुनरत होलास्– तेसैबेला तेरो मृत्यु भैजाओस् । जुन महर्षि वसिष्ठका पुत्रहरूलाई तैंले संहार गरेको छस् तिनै ऋषिश्रेष्ठ वसिष्ठसँग समागम गरेपछि मात्र तेरी पत्नीले सन्तान जन्माउन सकोस् । यसै शापका कारण कल्माषपादले वसिष्ठलाई अब– आफ्नी पत्नी मदयन्तीसँग समागम गरेर नियोग–विधिद्वारा वंशवृद्धि गराइदिन अनुरोध गरेका थिए ।
त्यसपछि गुरु पुरोहित वसिष्ठलाई अगि लगाएर राजा कल्माषपाद १२ वर्षपछि राजधानी अयोध्यामा प्रवेश गरे । सकल जनता हर्षातिरेकले जय–जयकार गर्नथाले । सारा अयोध्या–नगरीलाई नववधू झैं सजाइयो । तदनन्तर उत्तम साइतमा राजा कल्माषपादकी महारानी मदयन्ती सकल षोडश–शृंगारका साथ पवित्र वेशमा वसिष्ठका सेवामा उपस्थित भइन् । महर्षि वसिष्ठले ऋतुकालमा शास्त्रीय मर्यादानुरूप दिव्य विधिले महरानीसँग समागम गरेर नियोग–कृत्य सम्पन्न गर्नुभयो । रानीको गर्भ स्थापित भएपछि राजा कल्माषपादबाट पूजा–वन्दनादि ग्रहण गरेर महर्षि वसिष्ठ पुनः आफ्ना आश्रममा फर्किनुभयो ।
यता, धेरै वर्ष बित्दा पनि सन्तान नजन्मिएपछि ती रानी मदयन्तीले आफ्नै गर्भाशयमा पत्थरले प्रहार गरिन् । परिणामतः १२ वर्षपछि छोरो जन्मियो । पत्थर अर्थात् अश्मको प्रहारबाट जन्मिएकाले उसको नाम राखियो– अश्मक । कालान्तरमा तिनै राजा अश्मकले पौदन्य नाम गरेको नगर बसाले ।
…………..
महाभारत, आदिपर्व, १७४ देखि १७६ अध्यायमा आधृत ।
२०८१ चैत्र २२ गते शुक्रवार, चैत्राष्टमी ।
ॐअक्षरालयः ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

