आफ्ना शिष्यहरूको शस्त्रास्त्र–विद्या–विषयक शिक्षा सम्पन्न भइसकेकाले गुरु द्रोणाचार्यका मनमा गुरुदक्षिणा लिने विचार आयो । उनले सारा कौरव र पाण्डव चेलाहरूलाई डाकेर भने :

शिष्यहरू हो ! पाञ्चालराज द्रुपदमाथि आक्रमण गर, युद्धमा हराओ अनि पाता कसेर मेरो छेउमा लिएर आओ, यही मेरो लागि तिमीहरूको गुरुदक्षिणा हुनेछ ।

पाञ्चालराजं द्रुपदं   गृहीत्वा रणमूर्धनि

पर्यानयत भद्रं वः सा स्यात् परमदक्षिणा । मभा, आप, १३७अ, ३श्लो

उनको वचन सुन्नासाथ हवस् गुरु, भनेर ती सबै राजकुमारहरू त्वरित–गतिमा युद्धोद्यत भएर त्यहाँबाट प्रस्थान गरे ।

दुर्योधन, कर्ण, युयुत्सु, दुःशासन, विकर्ण, जलसन्ध र सुलोचन यी सात पराक्रमी योद्धाहरू ‘पहिले म, पहिले म’ भनेर उछिन–पाछिन गर्दै शस्त्रास्त्र र सेनाले सुसज्जित भई दौडिएर पाञ्चाल देश पुगे । त्यहाँका निरपराध देशवासीहरूलाई कुटपीट र लछार–पछार गर्दै द्रुपदको राजधानीमा उधुम मचाउन थाले । उता राजा द्रुपद पनि कौरवसेनाले आक्रमण गर्न लागेको देखेर आफ्ना भाइहरूका साथ युद्धोचित वेशमा सेनासन्नद्ध भएर रणभूमिमा उत्रिए । दुवैतर्फबाट हानाहान शुरु भयो । राजा द्रुपद त्यति कमजोर पनि थिएनन् जति कौरवहरूले ठानेका थिए । द्रुपदको सैन्यले कोैरव सेनालाई हायल–कायल बनाइदियो । कौरवहरूलाई आफ्नो बलको निकै घमण्ड थियो ।

महारथी अर्जुनलाई उनीहरूको मनोविज्ञान सबै थाहा थियो, चुरीफुरी र अहम्भाव पनि थाहा थियो । उनले गुरु द्रोणाचार्यलाई भने : गुरुदेव, पहिले यिनीहरूलाई आ–आफ्नो पराक्रम देखाउने मौका दिऊँ, जब यिनीहरूको चुरीफुरी सकिन्छ अनि हामी अगि सरौंला । किनभने मलाई राम्ररी थाहा छ – यिनीहरूले पाञ्चालनरेश द्रुपदलाई बन्दी बनाउन सक्दैनन् । यति भनेर परम–पराक्रमी अर्जुन आफना दाजुभाइहरूका साथ कौरव–सेना भन्दा आधा कोश परै अडिएका थिए ।

नभन्दै पराक्रमी राजा द्रुपदले एक्लै सारा कौरव–सेनालाई फाँडिदिए । कौरव–पक्षका सारा सैनिक र योद्धाहरू मूच्र्छित भएर जताततै ढल्न लागे । हुन त द्रुपद एउटै थिए । तर डरका मारे कौरवहरूले जताततै उनलाई मात्र देख्न थालेका थिए । आफ्ना सेनाहरू परास्त हुन लागेको देखेर दुर्योधन, विकर्ण, सुबाहु, दीर्घलोचन र दुःशासन मैदानमा डटेर बाणका वर्षा गर्न लागे । दुवै पक्षबाट घमासान बाणवर्षा हुनलाग्यो । तर वीर योद्धा राजा द्रुपदले एकैछिनमा तिनलाई परास्त गरिदिए । दुःशासनमाथि दश, विकर्णमाथि बीस, शकुनिमाथि तीस अनि दुर्योधनका मर्म ताकेर अठ्ठाइस बाण प्रहार गरे, सुबाहुलाई पाँच बाणले तह लगाइदिए अनि जोडसँग सिंहनाद गर्न लागे । सारा नगरवासीहरू मिलेर कौरवसेनालाई हायल–कायल बनाइदिए । हेर्दाहेर्दै ‘मैँ हुँ’ भन्ने कर्णलाई पनि द्रुपदले बाणवर्षा गरेर क्षतविक्षत बनाइदिए, कर्ण आत्तिएर ‘ऐया र आत्थु’ गर्दै भाग्न थाले । उनी साथै सारा कौरवसेना युद्धभूमितिर पीठ फर्काएर भाग्दै आफूतिर आउन लागेको देखेर पाण्डव–गण गुरु द्रोणाचार्यको पाउमा प्रणाम गरेर ‘अब हाम्रो पालो’ भन्दै रणाङ्कणमा अघि सरे । ज्येष्ठाग्रज युधिष्ठिरलाई– ‘दाज्यै, तपाईं युद्ध नगर्नुहोस्, हामीलाई कार्यसिद्धि गर्ने अनुमति दिनुहोस्’ भनेर अर्जुनले विन्ती गरे । अनि आफू महाबली भीम र नकुल सहदेवका साथ सेनाका अग्रभागमा गएर  डटे ।

दश हजार हात्तीको बल भएका महाकाय वीराग्रणी भीम पहिले अघि बढे । फडकदार बाहुले भयङ्गर गदा घुमाउँदै शत्रुपक्षका सेनामा पसेका भीमले मन्दाराचलले समुद्रमन्थन गरे झैं सकल सेनालाई छिन्न–भिन्न गराइदिए । बडे–बडे गजराजका मस्तकमा गदाप्रहार गर्दै शत्रुसेनालाई सोत्तर बनाउँदै उनी अगि बढ्न थाले । वज्राहत पर्वत भूमिसात् भए झैं ती गजराजहरू डङ्ग्रङ्क डङ्ग्रङ्क पृथिवीमा ढल्न थाले । सारा रथी र पदातिहरूको ‘भागा रे भाग!’ भयो ।

यता धनुर्धारी अर्जुनले द्रुपदमाथि वाणवर्षा गर्न लागे । उता द्रुपदका वीर योद्धाहरूले पनि अर्जुनमाथि उत्तिकै बाणवर्षा गर्न थाले । सारा रण–मैदान दुवैतर्फका बाणहरूले आच्छादित भयो । त्यो साारा बाण–वृष्टिलाई छिचोलेर अर्जुन द्रुपदलाई बन्दी बनाउने अभिप्रायले अघि बढे । द्रुपदका भाइ सत्यजित् अब अर्जुनका सामू डटे । सैकडौं बाणको वर्षा गरेर पाण्डव–पक्षलाई हायल–कायल पारेर अर्जुनमाथि जाइलागे । अर्जुनका घोडा, सारथि र रथसहित अर्जुनका देहमा समेत उनका बाणले छेड्न थाले । अर्जुनले पनि क्रुद्ध हुँदै घनघोर बाण–वर्षा गरेर सत्यजित्का घोडा, रथको ध्वजा, मुठ्ठी र पार्श्वरक्षक एवं सारथिसमेत स्वयं सत्यजित्लाई पलभरमा घायल बनाइदिए । धनुष र बाण पनि काटिइसकेकाले केही उपाय नलागेर सातो उडेका सत्यजित् आफ्नो ज्यान बचाउन युद्धभूमिबाट कुलेलम ठोके । यता अर्जुनले पाँच बाणद्वारा पाञ्चालनरेश द्रुपदको धनुष, घोडा र सारथिलाई क्षत–विक्षत तुल्याइदिए । पाञ्चाल–नरेश जब अर्को धनुष र बाण लिन लागे अनि अर्जुन हातमा चम्किलो तरबार लिएर सिंहसमान गर्जना गर्दै द्रुपदका रथमा हामफाले । जसरी गरुडले समुद्रलाई क्षुब्ध तुल्याएर सर्पलाई समाउँछ त्यसैगरी पाञ्चाल–नरेश द्रुपदलाई आफ्नो कब्जामा लिए । आफ्ना राजा शत्रुको कब्जामा परेको देखेर सारा सैनिकहरू ज्यान बचाएर दशै दिशातिर भाग्न थाले । आफ्नो बाहुबलको पराक्रम देखाउँदै अर्जुन द्रुपदलाई पक्डिएर फर्किन लागे । भीमसेनले सारा शत्रुसेनामाथि धावा बोलेको देखेर अर्जुनले भने : दाजु, छोडिदिनुहोस् । राजाहरूमा श्रेष्ठ दु्रपद कौरवहरूका सम्बन्धी हुन् , अकार्थमा उनका सेनाको संहार गर्नु निरर्थक हो । गुरुदक्षिणाका लागि अब महाराज द्रुपद हाम्रा कब्जामा आइसकेका छन् । अब फर्कौं । अर्जुनका युक्तिसंगत कुरा सुनेर युद्धबाट निवृत्त भएर सबै फर्कन लागे ।

यसरी पाण्डवले राजा द्रुपदलाई मन्त्रीहरू सहित रणभूमिमा बन्दी बनाएर लगी गुरु द्रोणाचार्यका समीप गुरुदक्षिणाका रूपमा टक्य्राए । द्रुपदको सारा अभिमान चूर्ण–चूर्ण भइसकेको थियो । धन–सम्पत्ति सबै खोसिएको थियो । राज्य हारिसकेका थिए ।

बन्दी अवस्थामा आफ्ना सामू निरीह अपदार्थ जस्तो बनेर नत–शिर खडा भएका द्रुपदलाई सम्बोधन गरेर द्रोणाचार्यले भने : हे राजन्, मैले बलपूर्वक तिम्रो राज्यको मर्दन गरेको छु । तिम्रो राजधानी अब धूलो उड्ने मैदान बनेको छ । तिमी शत्रुको वशमा परेका निरीह बन्दी बनेका छौ । भन, अब मसँग उही पुरानो मित्रता चाहन्छौ ? यति भनेर द्रोणाचार्य खिल्खिलाए । अनि फेरि भने :

हे वीर, प्राणमाथि सङ्गट आएको थाहा पाएर तिमी भयभीत नहोऊ । हामी क्षमाशील ब्राह्मण हौं । हे क्षत्रियशिरोमणि, तिमी मेरो बाल्य–कालका अत्यन्त प्रिय मित्र हौ । हामी एउटै आश्रममा सँगै खेल–बहाड गरेर हुर्किएका हौं । तिमीप्रति मेरो अगाध स्नेह र प्रेम रहेको छ । हे नरेश्वर, म आज पनि तिमीसँग मित्रताका लागि प्रार्थना गर्दछु । तिमी अब मेरो बनिसकेको यो राज्यको आधाभाग मसँग लेऊ । तिमीले भनेका थियौ नि– ‘जो राजा होइन त्यो राजाको मित्र हुन सक्दैन ।’ त्यसैले, तिमीसँग मित्रताको हात बढाउनकै लागि मैले तिम्रो राज्य लिने प्रयत्न गरेको हुँ । अब गङ्काको दक्षिण–प्रदेशका राजा तिमी भयौ, उत्तर भूभागको राजा म भएँ । अब उचित ठान्दछौ भने मलाई आफ्नो मित्र मान ।

द्रुपदले भने : हे ब्रह्मन्, तपाइँजस्ता पराक्रमी महात्मामा यस्तो उदारता आउनु कुनै विस्मयको वस्तु होइन । म हजुरसँग अत्यन्त प्रसन्न छु र हजुरसँग सदाकालका लागि सहर्ष मैत्री र प्रेमसम्बन्ध चाहन्छु ।

द्रुपदका कुरा सुनेर द्रोणले उनलाई बन्धनमुक्त गरे र प्रसन्नचित्त बनेर उनलाई आदर–सत्कार गरी आफूले जितेको साम्राज्यबाट आधा राज्य दिए । यसपछि दीनतापूर्ण हृदयले गङ्कातटवर्ती अनेक जनपदहरूले सम्पन्न माकन्दपुरी अन्तर्गत काम्पिल्य नगरमा उनले निवास गरे । चर्मण्वती नदीको दक्षिणवर्ती पञ्चालदेशमा शासन गर्न थाले । यसरी द्रोणाचार्यले द्रुपदलाई परास्त गरेर पनि पुनः मित्रभावले उनको रक्षा गरे ।

क्षत्रिय–बलले द्रोणाचार्यलाई जित्न नसकिने र आफू ब्रह्म–बल–रहित भएको यथार्थलाई आत्मसात् गरेपछि शक्तिशाली पुत्र पैदा गरी द्रोणाचार्यलाई परास्त गर्ने मनसायले राजा द्रुपद समस्त धरतीमा विचरण गर्न लागे । यता गुरु द्रोणाचार्यले चाहिँ उत्तर–पाञ्चाल–वर्ती अहिच्छत्र नामक राज्यलाई आफ्नो अधिकारमा लिएर रहन लागे ।

यसरी अर्जुनले एकातिर राजा द्रुपदलाई पराजित गरी बन्दी बनाएर गुरु द्रोणाचार्यलाई सुम्पिए भने अर्कातिर अहिच्छत्रको साम्राज्यसमेत उनका अधीनमा तुल्याएर गुरुले चाहेभन्दा पनि बढी गुरुदक्षिणा टक्य्राए ।

……..

महाभारत आदिपर्व, अध्याय : १३७ मा आधृत,

२०८१ साल माघ ११गते शुक्रवार,

ॐ अक्षरालयः ।