बुद्धियोगबलोत्साहैः सर्वाऽस्त्रेषु च निष्ठितः

अस्त्रे गुर्वनुरागे च     विशिष्टोऽभवदर्जुनः ।

तुल्येष्वस्त्रोपदेशेषु   सौष्ठवेन च वीर्यवान्

एकः सर्वकुमाराणां    बभूवाऽतिरथोऽर्जुनः ।।

(मभा, आप, १३१ अ, ६४ र ६५ पद्य)

बुद्धि, मनोयोग, बल र उत्साहले गर्दा अर्जुन समस्त शस्त्रास्त्र–विद्यामा प्रवीण भए । अस्त्रको अभ्यास र गुरुप्रतिको अनुरागमा पनि अर्जुन अग्रगण्य भए । यद्यपि गुरुले त सबैलाई समानभावले विद्योपदेश गर्नुहुन्थ्यो तैपनि वीर्यवान् अर्जुन आफ्ना विशिष्ट कौशलले गर्दा ती सबै राजकुमारहरूमध्ये सर्वश्रेष्ठ अतिरथी हुन पुगे ।

द्रोणाचार्यका दुई शिष्य भीम र दुर्योधन गदायुद्धमा बेजोड थिए, अश्वत्थामा धनुर्वेदका रहस्यज्ञानमा सर्वोत्कृष्ट थिए, नकुल र सहदेव तरवारयुद्धमा कुशलतम थिए, युधिष्ठिर रथस्थ योद्धाहरूमा सर्वोत्तम थिए तर अर्जुन उपर्युक्त सबै प्रकारका युद्धकलामा अग्रगण्य थिए । धृतराट्रपुत्रहरू अत्यन्त दुरात्मा थिए । तिनीहरू भीमसेनको बलाधिक्य र अर्जुनको युद्धकौशल देखेर जल्दथे ।

सबैको यथेष्ट शिक्षा सम्पन्न भइसकेपछि एक दिन गुरु द्रोणाचार्यले तिनको परीक्षा लिने विचार गरे । उनले एउटा अग्लो रुखका टुप्पामा कुशल कालिगढले बनाएको एउटा नकली गिद्ध फिट गर्न लगाए र सबै केटाहरूलाई भने : तिमीहरू सबै धनुर्बाणका साथ तम्तयार भएर पंक्तिबद्ध भई उभिओ अनि मेरो आज्ञाको प्रतीक्षा गर ।

अनि द्रोणाचार्यले पाण्डवाग्रणी युधिष्ठिरलाई सम्बोधन गरेर भने : तिमी धनुषको ताँदो तन्काऊ र बाणसन्धान गर अनि मैले संकेत गर्नासाथ लक्ष्यवेध गर । युधिष्ठिर तैयार भएपछि भने : हे राजकुमार, अब तिमी यो रुखको टुप्पामा बसेको गिद्धतिर हेर, देख्यौ? उनले भने : देखें गुरुवर ।  एकैछिन पछि फेरि सोधे : के तिमीले रुखलाई, आफूलाई, आफ्ना भाइहरूलाई, मलाई र त्यो गिद्धलाई पनि लगातार देखिरहेका छौ? उनले भने : हो, हजुर देखिरहेको छु । उनले दिक्क मान्दै भने : हट तिमी अब, तिम्रो पालो सकियो । तिमीले यो लक्ष्यवेध गर्न सक्दैनौ । त्यसपछि उनले अरु सबै भाइहरूलाई पनि यसै गरी अगि सारे र त्यसै गरी प्रश्न गरे । सबैको उत्तर एउटै आयो । सबै फेल भए । अन्तमा उनले अर्जुनलाई अगि सारे र मुसुक्क हाँस्दै पहिले जस्तै प्रश्न गरे ।

अर्जुनले जवाफ दिए : म यतिखेर न मेरा भाइहरू, न हजुर, न आफू, न रुख, यी अरु कसैलाई पनि देखिरहेको छैन, केवल गिद्धलाई मात्र देखिरहेको छु । फेरि गुरुले सोधे : गिद्धलाई देखिरहेका छौ भने भन : कस्ता छन् त्यस गिद्धका अंगहरू ? अर्जुनले भने : मैले त्यसका अरु अंगहरू देखिरहेको छैन गुरुवर, म त केवल त्यसको टाउको मात्र देखिरहेको छु । अर्जुनका यस्ता कुरा सुनेर रोमाञ्चित हुँदै द्रोणाचार्यले भने : अब बाण चलाऊ । गुरुको आदेश पाउनुमात्र के थियो अर्जुनको बाण छुट्यो, बाण छुट्नुमात्र के थियो, गिद्धको मस्तक च्वाट्टै काटियो ।

अर्जुनको लक्ष्यभेदनमा यस्तो एकाग्रता र परम–प्रवीणता देखेर द्रोणले उनलाई हृदयमा लगाए र मनमनै विश्वस्त भए : अब राजा द्रुपदलाई अर्जुनले अवश्य ठेगान लगाउन सक्दछन् ।

एक दिन सारा चेलाहरूलाई लिएर उनी गंगास्नानका लागि निस्किएका थिए । त्यहाँ यकायक एउटा ग्राहले पानीभित्रबाट द्रोणको पिँडुलामा दाह्रा गाड्यो । उनी आफैं समर्थ हुँदाहुँदै पनि हडबडाए जस्तो गरेर कराए : लौ न मलाई कसैले बचाओ! अरु राजकुमारहरू अकमक्क परेर हेर्दै थिए, पराक्रमी अर्जुनले तुरुन्त पाँचवटा अमोघ बाणहरू विद्युत्–वेगमा प्रहार गरेर त्यो ग्राहलाई जहाँको तहीं ठहरै पारिदिए । ग्राहको शरीर तत्क्षण टुक्रा–टुक्रा भयो । प्रसन्न हुँदै द्रोणाचार्यले भने :

हे महाबाहु अर्जुन, मेरा गुरु अग्निवेशका नामले विख्यात हुनुहुन्छ । उहाँले पूर्वकालमा महर्षि अगस्त्यसँग धनुर्वेदको शिक्षा ग्रहण गर्नुभएको थियो । मैले ठूलो तपस्या गरेपछि मात्र उहाँले यो अस्त्र मलाई प्रदान गर्नुभएको थियो । आज म तिमीलाई उही ब्रह्मशिर नामक अस्त्र प्रयोग र उपसंहार मन्त्रका साथ प्रदान गर्दछु । यो समस्त अस्त्रहरू मध्येको परमास्त्र हो । यसलाई धारण गर्नु अत्यन्त कठिन छ । यो वज्रसमान प्रकाशवान् छ । यो अमोघ अस्त्रमा सारा संसार डढाउन सक्ने सामथ्र्य छ । मनुष्यमाथि चाहिं तिमीले यसको कदापि प्रयोग नगर्नु । कुनै मानवेतर शक्तिले तिमीलाई पीडा दियो भने मात्र यसको प्रयोग गर्नु । आफ्नो मन र इन्द्रियहरूलाई संयममा राखेर तिमी यस अस्त्रलाई धारण गर । हवस्, भनेर गुरु–वचनको समादर गर्दै अर्जुनले सो अस्त्र ग्रहण गरे, अनि गुरु द्रोणाचार्यले भने : अब यस संसारमा तिमीजत्तिको धनुर्धर पुरुष कोही हुनेछैन । अब तिमी मलाई एउटा अर्को पनि वचन देऊ । अर्जुनले भने : हवस् गुरु । गुरुले भने : हे निष्पाप अर्जुन, कदाचित् युद्धभूमिमा म स्वयं तिम्रा विरुद्धमा लड्न आएँ भने पनि तिमीले अवश्य मेरो सामना गर्नू । अर्जुनले रोमाञ्चित हुँदै गुरुचरणमा प्रणाम गरे । यसपछि –समुद्र–सीमा–पर्यन्त पृथिवीमा अर्जुनजस्तो सर्वोत्कृष्ट धनुर्धारी कोही छैन – भन्ने प्रसिद्धि अनायास स्वतः फैलिन गयो ।

एक दिन सारा राजकुमारहरूको शस्त्रास्त्र–विद्याको शिक्षा विधिवत् सम्पन्न भएको घोषणा गर्दै गुरु द्रोणाचार्यले अफना चेलाहरूको कला–कौशल प्रदर्शन गर्न भनेर एउटा भव्य समारोहको आयोजना गरे । एउटा विशालाकार रंगशालाको निर्माण गरियो । त्यहाँ हजारौं हजार प्रेक्षकहरूलाई आरामसँग बसेर युद्ध–कला अवलोकन गर्ने व्यवस्था मिलाइयो । एउटा असल साइत जुराएर युद्ध–कला–कौशल प्रदर्शन समारोहको आयोजन गरियो । सारा दरबार त्यो अद्भुत प्रदर्शन हेर्न त्यहाँ उपस्थित भयो । अनि समस्त राजकुमारहरू शस्त्रास्त्रले सुसज्जित भएर आ–आफनो कला–कौशल देखाउन थाले ।

सबै राजकुमारहरुले आ–आफ्नो कौशल देखाए । अरुको पालो सकिएपछि भीम र दुर्योधनको गदायुद्ध शुरु भयो । दुवै एक से एक बाहुबली थिए । कसैले कसैलाई जित्न पनि सकेन, हराउन पनि सकेन । खेल खेल नभएर साँच्चैको युद्ध जस्तो हुन थालेपछि द्रोणाचार्यले दुवैलाई रोके । खेल बराबरीमा टुंगियो ।

अन्तमा अर्जुनलाई बोलाइयो । द्रोणाचार्यले सबैभन्दा सुयोग्य चेलाको रूपमा उनको परिचय दिएपछि कुन्तीका नेत्र–युगलमा हर्षाश्रु र स्तन–द्वयमा पयः–स्रवण हुन लाग्यो । अर्जुनको कौशल हेर्न लाग्दा सारा रंगशाला सूची–भेद्य मौनतामा डुबेको थियो । अर्जुनले चमत्कारी प्रदर्शन गर्न थाले । उनले पहिले आग्नेयास्त्र प्रयोग गरेर पलभरमा भयङ्कर अग्नि–ज्वाला प्रकट गरे, अनि अर्को पल वारुणास्त्र प्रयोग गरेर त्यसलाई तुरुन्तै निभाइदिए । त्यसै गरी पहिले वायव्यास्त्र चलाएर आँधी प्रकट गरे अनि लगत्तै पर्जन्यास्त्र प्रयोग गरेर बादल पैदा गरे । भौमास्त्रद्वारा पृथिवी र पार्वतास्त्रद्वारा पर्वत उत्पन्न गरिदिए फेरि अन्तर्धानास्त्र प्रयोग गरेर सबैले देख्दा–देख्दै आफू विलीन बने । उनी यो क्षणमा अग्ला देखिन्थे भने ऊ क्षणमा साना बामपुड्के देखिन्थे । कहिले रथको धुरामा प्रकट हुन्थे कहिले रथका बीचमा । अनि आँखा झिमिक्क पारुन्जेलमा जमिनमा उभिएर अस्त्रकौशल देखाइरहेका हुन्थे । उनले खेल–खेलमा हातको सफाइ देखाउँदै सानो भन्दा सानो निशानालाई पनि तत्क्षण शर–विद्ध गरेर सबैलाई आश्चर्य–चकित बनाइदिए । रंगशालामा एउटा फलामे सुँगुर थियो त्यो वरपर चक्कर काटिरहन्थ्यो । अर्जुनले एकै खेप हानेजस्तो गरी पाँचवटा बाण हानेर त्यसको मुख यति कुशलताका साथ थुनिदिए कि ती बाणहरू एक अर्कासँग न छोइकन त्यहाँ गाडिएका थिए । एक ठाउँमा एउटा गोरुको सिंग डोरीमा झुण्ड्याइएको थियो । त्यसको प्वालमा अर्जुनले लगातार एक्काइस वटा बाण गडाइदिए । यसै गरी खड्ग, धनुष, गदा आदि युद्धको कौशल पनि उनले चमत्कारिक शैलीमा प्रदर्शन गरे ।

यसरी उनको कला–कौशल–प्रदर्शन अब सम्पन्न हुनै लागेको थियो । अचानक रंगशालाको मूल द्वारमा ठूलो कोलाहल र खैलाबैला मचियो । पछि केही बेरमा मानवीय कोलाहल शान्त हुनमात्र के लागेको थियो कसैले आफ्ना वज्रतुल्य भुजाहरूमा ताल ठोकेको जस्तो आवाज आउन थाल्यो । यस्तो लाग्दथ्यो– मानौँ दुइ वज्रहरू आपसका ठोकिएका हुन् । कतै पहाड पो विस्फोट भएर पड्किएको हो कि अथवा डरलाग्दो प्रलयकालीन मेघको गड्याङ्–गुडुङ् पो हुन लाग्यो कि जस्तो भान भयो । सबै प्रेक्षकहरू मुण्टो बटारी–बटारी उता रंगशालाको मूलद्वारतिर हेर्न लागे ।

यता अतुल पराक्रमशाली पञ्च–पाण्डवका साथ आचार्य द्रोण रंगशालामा यसरी खडा थिए मानों पाँच तारा भएको हस्ता नक्षत्रले युक्त चन्द्रमा नीलगगनमा सुशोभित भइरहेको होस् ।

वास्तवमा राधा–नन्दन अधिरथ–पुत्र कर्ण रंगशालामा आइपुगेका थिए । सूर्यतेजबाट उत्पन्न तिनी अत्यन्त तेजस्वी र पराक्रमी पनि थिए । रंगशालामा प्रवेश गरेर तिनले गुरुवर्गलाई उपेक्षापूर्वक प्रणाम गरेर अर्जुनलाई सम्बोधन गर्दै भने : तिमी आफूलाई सर्वश्रेष्ठ ठान्ने भूल नगर । तिमीले देखाएका सबै करतब म पनि देखाउन सक्दछु । यति भनेर सबैले हेर्दा हेर्दै ती सबै शस्त्रास्त्र–कौशल कर्णले त्यहाँ प्रस्तुत गरिदिए जुन अर्जुनले भरखरै गरेर देखाएका थिए । यो देखेर दुर्योधन भावातिरेकमा पुगेर प्रशंसा गर्दै कर्णलाई आलिंगन गर्न पुगे । अनि कर्णले भने : अब म अर्जुनसँग द्वन्द्व–युद्ध गर्न चाहन्छु । सबै प्रेक्षकको ढुकढुकी बढ्यो, अब के हुने हो? भनेर । दुवै आमने–सामने भए । हेर्दा–हेर्दै दुर्योधनादि कर्णका आसपास खडा भए भने भीष्म, द्रोण, कृप आदि अर्जुनका पक्षमा उभिए । यो सारा दृश्य देखेर कुन्ती बेहोश भइन् । उनलाई जल–सिञ्चन गरेर जसैतसै होशमा ल्याइयो । कृपाचार्यले भने :

हे कर्ण! अर्जुन त राजकुमार हुन्, तिमी को हौ? आफ्नो परिचय देऊ, किनभने राजकुमारहरू आफूभन्दा नीच कुलका व्यक्तिहरूसँग युद्ध गर्ने गर्दैनन् ।

यो सुनेर कर्ण लज्जाले शिर निहु¥याउन लागे । त्यसै बेला दुर्योधनले राजसी तुजुक देखाउँदै भने :

म अहिले नै यिनलाई अङ्गदेशको राजपदमा अभिषेक गर्दछु ।

अनि, तुरुन्तै सबै इन्तजाम गरियो । कर्णलाई अङ्गदेशको राजाका पदमा अभिषिक्त गरियो । कर्णले भावाभिभूत हुँदै भने : हे नृपति–शिरोमणि दुर्योधन! हजुरले मलाई राज्य प्रदान गर्नुभयो । यसको अनुरूप म  हजुरलाई के दिऊँ, हजुर जे भन्नुहुन्छ म त्यही गर्दछु । दुर्योधनले कर्णसँग आजन्म प्रगाढ मित्रताको माग राखे । तथास्तु! भनेर कर्णले दुर्योधनलाई आफनो आलिंगनमा बाँधे ।

ठीक त्यसै बेला लठ्ठी टेक्दै एउटा बूढो मानिस कर्ण! कर्ण!! भनेर सम्बोधन गर्दै त्यहाँ आइपुग्यो । त्यो थियो– अधिरथ । उसलाई देख्नासाथ कर्णले उसका गोडामा शिर राखेर ढोगिदिए । अधिरथले हतार हतार आफ्नो वस्त्रको फेरले गोडा ढाक्यो । यो दृश्य देख्नासाथ सबैलाई अवगत भयो : कर्ण त अधिरथको पो छोरो रहेछ । भीमसेनले कर्णको उपहास गर्दै भने :

तिमी गएर चाबुक सम्हाल । तिम्रो कुलको परम्परानुरूप कर्म त्यही हो । जसरी यज्ञको पवित्र पुरोडाशको भागी हुन कुकुरलाई दिन सुहाउँदैन त्यसै गरी तिमीलाई पनि राजा हुन सुहाउँदैन ।

वरिपरिको भीडलाई पर पन्छाउँदै दुर्योधन अघि बढे र भने :

हे वृकोदर, तिमीले यसो भन्न सुहाउँदैन । क्षत्रियहरूमा बलकै प्रधानता रहन्छ । शूरवीरको र नदीहरूको उत्पत्तिको वास्तविक कारण जान्न कठिन नै हुन्छ । सम्पूर्ण चराचर जगत्लाई व्याप्त गर्ने तेजस्वी सूर्यको उत्पत्ति जलबाट भएको हो । दानवहरूलाई संहार गर्ने वज्र महर्षि दधीचिको हड्डीबाट बनेको हो । सुनिन्छ : कुमार कार्तिकेय स्कन्द अग्नि, कृत्तिका, रुद्र र गंगा यी सबैका पुत्र हुन् । कति ब्राह्मणहरू क्षत्रियबाट उत्पन्न भएका छन् । महर्षि विश्वामित्र आदि क्षत्रिय पनि ब्राह्मण बनिसकेका छन् । समस्त शस्त्रास्त्र–विद् हाम्रा गुरु आचार्य द्रोण स्वयं कलशबाट जन्मनुभयो । कृपाचार्य स्वयं कासको झाडीबाट उत्पन्न हुनुभएको हो । अनि हे भीमसेन, तिमीहरू सबै दाजुभाइहरूको जन्म कसरी भयो भन्ने कुरा पनि मलाई राम्ररी थाहा छ । अनि, समस्त शुभ लक्षणहरूले सम्पन्न, कुण्डल र कवचका साथ उत्पन्न भएका सूर्यसमान तेजस्वी यी कर्ण कुनै सूत जातिकी स्त्रीका पुत्र कसरी हुन सक्दछन् ? के कुनै हरिणीले बाघ जन्माउन सक्छे र ? अङ्गराज कर्णको वीरता हेर र उनलाई सामना गर्न सक्छौ भने अगि सर ।

यसरी तर्क–वितर्क र वाद–विवाद चल्दा–चल्दै पश्चिमाचलमा पुगेर घाम अस्ताए । समारोह सकियो । सारा दर्शक–दीर्घामा बसेका प्रेक्षकहरू कोही अर्जुनको र कोही कर्णको प्रशंसा गर्दै रंगशालाबाट बाहिर निस्कन लागे  । कर्णजस्तो पराक्रमी पुरुषलाई आफ्नो मित्र बनाउन पाएकोमा दुर्योधन अहंभाव गर्वले भुक्क फुलेको थियो । उनी कर्णका दुवै हात समाएर मीठो भलाकुसारी गर्दै रंगशालबाट निस्कन लागे ।

पाण्डव–ज्येष्ठ युधिष्ठिरका मनमा पनि कता–कता आभास हुन लाग्यो :

साँच्चिकै कर्णतुल्य धनुर्धर यस जगत्मा शायद कोही पनि छैन कि !

तर, रंगशालामा आयोजित आजको भव्य अनुष्ठानमा अर्जुनले गरेको प्रदर्शन सर्वोत्कृष्ट थियो भन्ने विषयमा सबै एकमत थिए । वास्तवमा गुरु द्रोणाचार्यका शिष्यहरूमा अग्रणी अर्जुन नै थिए, किनभने आफ्ना विशिष्ट उत्तम गुणहरूले उनले गुरुको मन जितेका थिए ।

……….

महाभारत आदिपर्व, १३१ देखि १३६ अध्यायमा आधृत,

२०८१ साल माघ ४ गते शुक्रवार,

ॐअक्षरालयः ।