संसारमा जटिल समस्याका रूपमा देखिएको मानसिक स्वास्थ्य र नसर्ने रोगहरूको तीव्रताले आउने पुस्तालाई ठूलो चुनौती दिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहेको छ ।

औसत ४/५ वर्षमा मलाई ग्यास्ट्राइटिसले दुःख दिने गर्दथ्यो । म निक्कै अघिदेखि खानपानमा भने सजगै थिएँ । तथापि मलाई यसले दुःख दिने श्रृङ्खला निरन्तर चलिरह्यो । चिकित्सकसँग सल्लाह लिएर करीव एक महिना जतिको औषधी सेवन गरेपछि फेरि ४/५ वर्षलाई आनन्द हुन्थ्यो । पछिल्लो समय सोही सिलसिलामा २०८० साल फागुन महिनामा पहिलेझैँ चिकित्सकसँग आफ्नो दुःख बिसाउन पुगेँ । उहाँले पनि यसअघि झैँ ठूलो समस्या नरहेको बताएर औषधी दिँदै भन्नु भयोक – ”तपाईँलाई पटक पटक दुःख दिइरहने भयो, फ्याटी लिभर (कलेजोमा बोसो जम्मा हुने) पो भयो कि ? त्यसले पनि दुःख दिनसक्छ । तपाईंले शारीरिक अभ्यासलाई अलि जोड दिनु परो । नयाँ वर्ष आउँदै छ, नयाँ सालदेखि जीवनलाई नयाँ ढङ्गले चलाउनुस्, मिल्छ र सक्नुहुन्छ भने विहान एक-डेढ घण्टा योग गर्नुस् ।’

मैले भनेँ- ”म विहानको समयमा एक घण्टा त नियमित हिँड्छु ।”

उहाँले थप्नुभयो, ”ठीक छ । हिँड्नु हुन्छ भने दौडनुहोस्, हैन भने योग गर्नुहोस् । त्यसले फ्याटी लिभरको समस्या रैछ भनेपनि ठीक हुँदै जानेछ ।”

म रुटिनमा आउने समस्याबाट मुक्त हुन खोजिरहेको थिएँ । भनेँ- ”यदि त्यस्तो हो भने नयाँ वर्ष किन कुर्नु पर्‍यो र ! म त्योभन्दा अघि नै योग गर्न शुरू गरिहाल्छु । मेरो घर नजिकै जीवन विज्ञानको योग प्रयोगशाला पनि छ ।”

चिकित्सकसँगको भलाकुसारीपछि औषधी लिएर फर्किएँ । २०८० को चैतदेखि उक्त प्रयोगशालामा योग गर्न जान थालेँ । शुरूशुरूमा केही अप्ठेरो लागे पनि क्रमशः अभ्यस्त हुँदै गएँ । कहिलेकाहीँ स्वास्थ्यका अरू समस्या आउँदा र घरदेखि टाढा जानु परेभन्दा बाहेक मैले हालसम्म योग गर्न छाडेको छैन ।

यसरी नियमित योग गर्दा मेरो ग्यास्ट्राइटिसका लक्षणहरू देखिएका छैनन् । योग गर्दा पैतालादेखि शिरसम्मको अङ्ग र भागहरू चल्ने हुनाले अङ्गहरूमा बोसो जम्ने सम्भावना कम हुने’रैछ । शरीरका भित्री अङ्गहरूलाई पनि चलायमान बनाउने विधिहरूले साँच्ची नै अद्भुत परिवर्तनको महसूस हुने रैछ । शरीरमा रहेका विजातीय तत्त्वहरूलाई अङ्गहरूको क्रियाशीलताले हटाउने तरिका वैज्ञानिक हुँदोरहेछ ।

हुन त योगको प्रादुर्भाव हजारौँ वर्ष पहिले भएको मानिन्छ । योगका प्रथम आविष्कारक या भनौँ  प्रयोगकर्ता आदिपुरुष भगवान् शिव हुन् भन्ने मान्यता छ । शिवले यहीँका हिमश्रृङ्खलाहरूमा विचरण गर्दा योगको आविष्कार भएको मानिन्छ । नेपालदेखि कैलाश (तीब्बत) को क्षेत्रमा योग जन्मिएको मान्ने हो भने हामी आज योगको इपिसेन्टर (उद्भवस्थल) मा छौँ । दैनिक जीवनमा गरिने क्रियाकलाप र शरीरमा हुने समस्याहरूको निदानका क्रममा प्रयोगात्मक परीक्षण गर्ने सिलसिलामा भगवान् शिवले योग जन्माउनु भयो होला भन्ने अनुमान लगाउन सकिन्छ । त्यसपछि योग हिमालय श्रृङ्खलाबाट वरपरका क्षेत्रमा फैलँदै गयो । हाम्रा धेरै अग्रजहरूले यसमा थपघट गर्दै योग आज हाम्रो सामु परिस्कृत रूपमा आइपुगेको छ ।

विशेषगरी योग भनेको जोडिनु हो । शरीरमा भएका समस्याहरूलाई विभिन्न विधिहरूमा जोडेर निदान गर्नु नै योग हो । गुरुसँग शिष्य जोडिनु, मनसँग मन जोडिनु पनि योग हो । योगको विकासमा विभिन्न कालखण्डका विद्वान ऋषिमुनिहरूको योगदान अविस्मरणीय छ । पछिल्लो समय योगलाई परिस्कृत गर्ने कार्य पतञ्जलि ऋषिले गर्नुभएको मान्यता छ ।

त्यसोत योग र ध्यान सँगसँगै आउने पक्ष हुन् । योगले शारीरिक पाटोलाई मजबुत गराउँछ भने ध्यानले मानसिक स्वास्थ्यमा पुठ दिन्छ । भगवान् शिवले पनि योग गरेर हिमालमै ध्यान बसेको कुरा वैदिक ग्रन्थहरूमा उल्लेख रहेको पाइन्छ । योग र ध्यानको मिश्रणलाई स्वादिलो बनाएर आजको आधुनिक समाजमा फैलाउने श्रेय चैँ भगवान् गौतम बुद्धलाई जान्छ । आजभन्दा करीव २६ सय वर्ष अगाडि दरवार त्यागेर ज्ञानको खोजका क्रममा शरीर र मनलाई विभिन्न ढङ्गले परीक्षण गरिरहनुभयो । जुनजुन क्रियाले ज्ञान आएन त्यसलाई त्याग्दै र जुनजुन क्रियाले ज्ञान प्राप्त गर्न सहयोग गरे तिनलाई आफ्ना शिष्यहरूमार्फत समाजमा फैलाउनु भयो । मानव समुदायको शारीरिक र मानसिक स्वास्थ्यमा गौतम बुद्धले गर्नुभएको यो अद्भुत योगदानलाई हामीले हालसम्म पनि पुँजीकृत गर्न चुकिरहेका छौँ । त्यसतर्फ सिङ्गो समाजको ध्यान कम गएको हो कि ?

पुर्खाले गरेको अनुसन्धान र निस्केको निचोडलाई हामीले थप परीक्षण र परिस्कृत गर्नपट्टि ध्यान नै दिएनौँ । कोही कसैले भनिदिएको भरमा धारणा बनाउने सिलसिलाले क्रमशः हाम्रो ज्ञान  र क्षमतामा खिया लाग्नु स्वभाविकै हो । आफ्ना पुर्खाले निकालेको निचोडमा थप अध्ययन र परीक्षण गर्ने जाँगरबाट निकै पर पुगेको वर्तमान यथार्थलाई हामीले मनन गर्नै पर्ने हुन्छ । यस तथ्यलाई जति छिटो मनन गर्छौं त्यति छिटो हामीले आफ्नो पुर्ख्यौली ज्ञानलाई न्याय गर्छौं । प्रतिस्पर्धा र भागदौडको वर्तमान समयमा केही समय आफ्ना लागि छुट्याउन अवश्य गाह्रो कुरा हो । तथापि मानव समुदायमा बढ्दो शारीरिक र मानसिक समस्या एवम् संकटलाई न्यूनीकरण गर्दै निराकरणको मार्गमा हिँड्नु आजको पुस्ताको अनिवार्य पक्ष हो । त्यो बाटोमा हिँड्नका लागि पूर्वजले रोपिदिएको योग र ध्यानलाई जीवनशैलीका रूपमा अपनाउँदै आफ्ना समस्याहरू समाधानतर्फ लाग्नु बुद्धिमतापूर्ण कदम हुनेछ ।

योग र ध्यानका विषय पूर्वीय देशहरूमा कम प्राथमिकतामा पर्न थालेपछि पश्चिमका मुलुकहरूले यसमा विहङ्गम अध्ययन गरे । योगका फाइदाहरूका बारेमा व्यवहारगत रूपमा विस्तृत अध्ययन गरी आफ्नो समाजमा लागू गरे । भारत, नेपाल, श्रीलङ्का, भूटान, तीब्बतमा पश्चिमाहरू बसेर स्थानीय भाषा सिकेर योग र ध्यानलाई आत्मासात् गरी आफूहरूको भाषामा त्यस्ता विषयहरूलाई उल्था गरेर जनमानसमा चेतना भर्न थाले । आफ्ना मिहिनेतहरूलाई जीवन्त राख्नका लागि विश्वविद्यालयहरूमा योग र ध्यानलाई पाठ्यक्रममा समावेश गरेर अध्ययन गर्ने परम्परालाई आजसम्म पनि निरन्तरता दिइरहेको पाइन्छ ।

आजका चर्चित विद्वान् युभल नोहा हरारीले आफ्नो पुस्तक २१ औं शताब्दीका लागि प्रस्तावित २१ वटा विषयहरूमा ध्यानलाई समावेश गर्नुले पनि पश्चिमा समाजले यसलाई कुन महत्त्वमा हेरेको रहेछ भन्ने बुझ्न सकिन्छ । योग र ध्यान उत्पत्ति भएकै भूमिमा भने यसको महत्तालाई उजागर गर्न सकिएको छैन । हाम्रा विश्वविद्यालयहरूमा योग र ध्यानका विषयमा पढाइ हुने व्यवस्था गर्न नसक्नु साँच्चै दुःख लाग्दो पक्ष हो । तथापि रजनिश ओशो, सद्गुरु, बाबा रामदेवले भारत लगायतका देशहरूमा योग र ध्यानको महिमालाई नयाँ शिराबाट उठाउनुभएको छ । नेपालमा पनि ओशो केन्द्र, पतञ्जलि, जीवन विज्ञान, पातञ्जल लगायतका केन्द्रहरूले योग र ध्यानलाई आमरूपमा विस्तार गर्न अहम् भूमिका खेलेका छन् । यी संस्थाहरूलाई आगामी दिनमा केन्द्र, प्रदेश र स्थानीय सरकारहरूले योग र ध्यानलाई घरघरमा विस्तार गर्ने अभियानमा परिचालित गरी शारीरिक र मानसिक रूपमा स्वस्थ नागरिक उत्पादनमा ध्यान पुर्‍याउनु पर्नेछ ।

योगले व्यक्तिको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्यका साथै दीर्घकालीन रूपमा फाइदा पुर्‍याउँदछ । आजको संसारमा जटिल समस्याका रूपमा देखिएको मानसिक स्वास्थ्य र नसर्ने रोगहरूको तीव्रताले आउने पुस्तालाई ठूलो चुनौती दिने विश्व स्वास्थ्य संगठनले चेतावनी दिइरहेको छ । त्यस पृष्ठभूमिमा योग र ध्यानको महत्त्व समाजको तल्लो तहसम्म पुर्‍याउन राज्यका संयन्त्रहरूले पनि विशेष पहल र ध्यान दिन आवश्यक छ ।

त्यसो त योग र ध्यानको माध्यमबाट देशले आर्थिक प्रगति पनि गर्नसक्छ । राष्ट्रको समृद्धिका लागि योग पर्यटनको विकासमा राज्यले ध्यान दिन आवश्यक छ । हिमालय श्रृङ्खलाहरूका मुनि, विभिन्न ऐतिहासिक र लुम्बिनी, मुक्तिनाथ लगायतका धार्मिक स्थानहरूमा योग केन्द्रहरू खोलेर विदेशी नागरिकहरूलाई योग र ध्यानको ‘प्याकेज’ बेच्न सक्दा देशको श्रीवृद्धि नै हुनेछ ।

फेरि व्यक्तिगत प्रसङ्गमै फर्कन्छु, करीव दुई महिनाअघि एक जना मित्र ग्यास्ट्राइटिस समस्याबाट पीडित भएको बारेमा कुराकानी हुँदा मैले आफ्नो वृत्तान्त सुनाएँ र मिलेमा नियमित योग गर्न आग्रह गरेँ । योगपछि आफ्नो स्वास्थ्यमा के-कस्तो प्रभाव पर्छ आफैँ परीक्षण गर्न भनेँ । उनले त योग गर्ने मानिस चैँ मर्दैनन् र ? पो भने । उनको अप्रत्यासित प्रश्नबाट म अलि असन्तुलित भएँ तर तुरुन्तै सम्हालिएर जवाफ दिएँ – योग र ध्यानकै आविष्कार गर्ने भगवान् शिव, गौतम बुद्ध, पतञ्जलि, भगवान् श्रीकृष्ण पनि मरेका हुन् नि । जब जीव भएर जन्मिइन्छ तब मृत्यु त स्वभाविक छ । मृत्यु कसैको काबुमा रहँदैन, फरक कति मात्र हो भने जसले योग र ध्यान गर्छ उस्ले बाँचुञ्जेलको जीवन होसपूर्वक जिउँछ र मृत्युलाई पनि होसपूर्वक अपनाउँछ । सृष्टिको शाश्वत नियमभन्दा बाहिर त को नै पो जान सक्छ र ? तर जतिञ्जेल बाँच्छ पूर्ण मानव भएर जिउँछ र मर्दा पनि मृत्युको महिमा जानेर मर्दछ । सायद ज्ञान भनेकै त्यही होला !  जीवन नै बुझ्न सकेन भने झन् मृत्यु बुझ्न त कठीनै हुनेछ ।

योग दिवसको सबैमा शुभकामना ।