नेपाली गजल बेलाबखतमा चर्चामा आइरहन्छ । पछिल्लो समय पोखरा घोषण पत्रले गजललाई पुनः चर्चामा ल्यायो, बहसमा उतार्यो । केही समय पहिला वि.स. २०७६ मा नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजनामा गजल बहस तथा विमर्श भएको थियो । जसले प्रज्ञा घोषणपत्र जारी गर्यो । गजल लेखनमा जारी भएका जारी गरिएका घोषणापत्रहरू गजलको संरचना तथा सिद्धान्तका विषयमा आवश्यक थिए वा थिएनन् त्यो अलग कुरा हो । तर घोषणापत्रहरू आएपछि कतिपय स्वतन्त्र लयमा गजल सृजना गर्नेहरूले गजल लेखनमा सकस मान्न थाले । निरन्तरता दिन हिच्किचाए भने कतिले ‘सृजना पहिला त्यसपछि सिद्धान्त’ भन्ने विचार बोकेर स्तरीय र जनजिब्रोमा झुण्डिने गजल सृजनामा लागिपरिरहे ।

विगतदेखि विभिन्न क्षेत्रमा गजलका विषयमा चर्चा, परिचर्चा तथा विमर्शहरू हुँदै आएका छन् । यतिबेलाको गजलको बहस केवल बहसमा मात्रै सीमित नभएर विवादमा उत्रिएको छ । यो बहसले दर्जनौं प्रश्नहरू खडा गरेको छ । गजल लेखनमा किन विवाद भइरहन्छ ? गजलका विषयमा हुने गरेको विवाद उपयुक्त वा अनुपयुक्त के हो ? गजलको स्तरीयता नाप्ने मापदण्ड के के हुन् ? आदि विषयले धेरैको ध्यान खिचेको छ । यो बहसको चुरो कुरो जान्नका लागि गजल के हो ? गजलको प्रारम्भ कहाँबाट र कसरी भयो ? गजलको विकासक्रम के कसरी बढेको छ ? आदि विषयहरूलाई हेर्नुपर्ने हुन्छ ।

कुनै बेला राजा महाराजाको दरवार तथा उच्च घरनियाँको सामिप्यमा मनोरञ्जनको साधन थियो गजल । सीमित घेरा तोडेर गजल जनजनको मनमनमा पुगेको पनि शताब्दीऔं भइसक्यो । गजल अरबी भाषाबाट शुरु भयो । यसको इतिहास खोज्दै जाँदा इस्वीको शुरुसम्म पुग्न सकिन्छ । हालको इरानमा २००० वर्षपूर्व गजल शुरु भएको मानिन्छ । तर त्यतिबेला गजललाई गजल नभनेर कसिदा भनिन्थ्यो ।

गजल अरबी भाषाबाट शुरु भएको मानिए तापनि अरबी भाषामा गजल लेखिएको प्रमाण भेटिंदैन । सातौं शताब्दीतिर फारसी भाषामा प्रवेश गरेसँगै गजलले साहित्यिक मान्यता पाएको थियो । गजल हुनुपूर्व गजलको सम्बन्ध अरबी भाषा साहित्यको कसिदासँग सन्निकट रहेको मानिन्छ ।

प्रणय प्रसङ्गमा टेकेर गरिने मुक्तकीय रचना तस्बिक हो । ‘तस्बिक र कसिदा उस्तै भए पनि दुवैको उद्देश्य फरक रहेको, तस्बिक विकसित भएर गजल भएको’ (रावल, नेपाली गजल गीत र वर्तमान, २०६४ पृष्ठ १५) भन्ने विचार ललिजन रावलले राखेका छन् । यो हिसाबले हेर्ने हो भने पनि अरबी भाषाको कसिदा नै फारसी भाषासम्म आइपुग्दा गजल बनेर परिचित हुनपुग्यो भन्न सकिन्छ ।

गजलको उत्पति अरबी भाषाबाट भएको अर्थात् बीउ अरबी भाषामा, फारसी भाषाबाट विधागत मान्यता पाएकाले गजलको टुसा पलाउने काम फारसी भाषामा भएका मान्न सकिन्छ । हिन्दी भाषासम्म आइपुग्दा दह्रोसँग जरा हाल्न सक्यो गजलले भने नेपाली भाषामा लेखिन थालेपछि गजल वृक्षको आयतन फैलिन पुगेको छ ।

नेपालमा वि.स. १९४० तिर मोतीराम भट्टले गजललाई भित्र्याए । मोतीमण्डली मार्फत् नेपाली गजललाई स्थापित गर्न मोतीराम भट्टले खेलेको भूमिकालाई महत्त्वका साथ हेर्ने गरिन्छ । मोतीराम भट्टलाई लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहली, नरदेव पान्डे आदिले मोतीमण्डलीमा रहेर साथ थिए । मोतीमण्डलीका साथीहरू गजल लेखनमा एकले अर्काको हात समातेर हिंडेकाले नै गजल मौलाउने मौका पायो । आज पनि उनीहरूको नाम गजलको क्षेत्रमा सम्मानित नामका रूपमा लिइन्छ । यदि उनीहरूका बीचमा तिक्तता रहेको, एकले अर्काको खुट्टा तान्ने प्रवृति देखाएको भए नेपाली गजल कुनै कुनामा मरिच जस्तै खुम्चिएर रहने थियो सायद ।

समकालीन गजलसम्म आइपुग्दा गजल पुरानो परिभाषामा मात्र सीमित छैन । प्रणयरञ्जनमा मात्रै रमाएको छैन । गजल अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ प्रेमिकासँगको वार्तालाप भन्ने हुन्छ । त्यसैले गजललाई पुरुषहरूले मात्रै लेख्नुपर्छ, श्रृङ्गारिक धारबाहेक अन्य धारमा लेख्न सकिंदैन भन्ने जडलाई समातेर बसेको भए गजल विश्वव्यापी हुने थिएन । गजलले परम्परावादी विषयवस्तुमा परिवर्तन गर्ने दुष्साहस नगरेको भए आज पनि गजल प्रेमको पछ्यौरीमा लुटपुटिइरहेको हुन्थ्यो । राजा महाराजाहरूको कोठीभित्र पाउजुको झङ्कारमा अलमलिइरहेको हुन्थ्यो । गजल लेखनमा परिवर्तन आयो र त गजल आज संसारभरि पुगिसकेको छ ।

हरेक साहित्यिक विद्याले आफ्नो अस्तित्व कायम राख्न छुट्टै संरचना निर्माण गरेको हुन्छ । हरेक विधाका आ–आफ्नै नियम छन् । संरचनागत विशेषता छन् । तिनै नियम, संरचना, तत्त्व, विषयवस्तुको बाहुल्यता वा विशेषताले आफूलाई स्थापित गरेका हुन्छन् । लोकप्रियता कमाएका हुन्छन् । गजलको कुरा पनि त्यही हो । विधागत संरचना, तत्त्व र विषवस्तुले गजलले आफूलाई स्थापित गरिरहेको छ ।

गजल मल्ला, मत्ला, शेर, रदिफ, काफिया, बहर, तखल्लुस आदिको परिधिभित्र बाँधिएर निमार्ण हुन्छ । ‘गजलका लागि रदिफ, बहर, तखल्लुस अनिवार्य तत्त्वभित्र नपरे पनि यिनीहरूको आगमनले गजललाई आर्कषक, सशक्त, चोटिलो बनाउनका साथै यसको पूर्णतातर्फ भने उन्मूख गराउँछ (बराल प्रतिनिधि नेपाली गजलः २०५८ पृष्ठ ख)।’ भन्ने कुराले गजलमा बहर नै सबै थोक होइन र बहरको अनिवार्यता बिना पनि गजल बन्न सक्छ भन्ने कुरातर्फ सङ्केत गरेको भए पनि अहिलेको गजलसम्बन्धी बहस बहरमा नै गएर थिग्रिएको छ ।

मोतीराम भट्टद्वारा नेपाल भित्र्याएको गजललाई मोतीमण्डलीले आफ्नो बलबुताले भ्याएसम्म स्थापित गर्न मिहिनेत गर्यो । वि.स. १९४० देखि वि.स.२००२ सम्म नेपाली गजल लेखनले निरन्तरता पायो । शम्भुप्रसाद ढुङ्गेल मोतीराम पछाडिका सशक्त गजलकार थिए । यसपछि उपेन्द्रबहादुर जिगर र भीमनिधि तिवारीले गजललाई उचाइमा पुर्याउन कोशिश गरे । वि.स.२००२ पछि भने समयको परिवर्तनसँगै गजलले आफूलाई परिवर्तन गर्न नसकेकाले क्रमशः ओझेल पर्दै गयो । निष्क्रिय बन्दै मूर्छित अवस्थामा पुग्यो ।

मोतीमण्डलीबाट स्थापित हुने कोशिश गरिरहेको नेपाली गजल परिभाषागत संकुचन र समय सान्दर्भिकताको कमीले राम्रो मान्न छोडियो, केही समय मूर्छायो । श्रृङ्गारिक धार, प्रेमका कुरा, नारीसँगको वार्तालाप आदिमा सीमित पार्न खोजिएकाले गजल खुम्चिन पुगेको थियो । झण्डै चालीसको दशक नेपाली गजल शून्यतामा हरायो । वि.स.२०३६ मा मधुपर्क मासिकमा ज्ञानुवाकर पौडेलको गजल प्रकाशित भएपछि पुनः गजलले आफ्नो यात्रा अगाडि बढायो । यो यात्रा आजसम्म निरन्तर चलिरहेको छ । लाग्छ अब यो यात्रा सानोतिनो अवरोधले रोकिने छैन । कसैले तर्साउँदैमा र थर्काउँदैमा पछाडि हट्ने छैन । तर्कहीन विवादमा रुमल्लिने छैन ।

नेपाली गजल लेखनमा सबैभन्दा उर्वर समय भनेर साठीको दशकलाई मानिन्छ । यो समयमा लाखौं गजल लेखिए । हजारौं गजलका कृतिहरू प्रकाशित भए । विभिन्न क्षेत्रमा गजलसम्बन्धी संघसंस्थाहरू स्थापना भए । गजल गोष्ठी, गजल विमर्श, गजलका प्रशिक्षण र अन्तरक्रियाहरू हुन थाले । गजलकारहरूमा आपसी प्रतिस्पर्धा बढ्न थाल्यो । गजलप्रतिको रुची र अध्ययन क्रमशः बढ्न थाल्यो । गजलको संरचनागत तत्त्वहरूमाथि आ–आफ्ना विचारहरू देखिन थाले । यिनै विचारहरू बहसमा परिणत हुँदै पछिल्लो समय विवाद हुँदै प्रतिसोधमा उत्रिएको देखिन्छ । मुख छोड्ने र घोषणापत्र जलाउने गतिविधिमा सामेल भएको देखिन्छ ।

गजल लेखनमा आजभोलि कसैले शैलीलाई महत्त्व दिएको देखिन्छ त कसैले संरचनालाई । कसैले भाव पक्षलाई महत्त्व दिनुपर्ने कुरा गर्छन् त कसैले बहरलाई । गजल गीत हो, गजल कविता हो । गीतको लय र कविताको भाव भए मात्रै सुन्दर गजल बन्न सक्छ । त्यसैले पनि गजललाई शास्त्रीय बहरबद्ध गजल मात्रै गजल हो, लयबद्ध गजल वा भावप्रधान गजल गजल नै होइन भनेर गजललाई अलगअलग कित्तामा राखेर हेर्दा नै आजको गजल बहसबाट विवादमा पुगेको हो । बहस हुनु राम्रो हो तर विवाद हुनु राम्रो होइन । तर्क गर्नु राम्रो हो तर तथ्य लुकाउनु राम्रो होइन ।

गजल लेख्नेहरूलाई थाहा छ, गजल शास्त्रीय वा प्राविधिक विधा हो । बहर गजलको अनुशासन हो । परम्परा हो । केन्द्रीय तत्त्व हो । कसैले बहरको वकालत गर्छ भने नराम्रो मान्नु पर्ने के नै छ र ? फेरि बहर मान्दैनौं भनेर कसैले भनेजस्तो पनि लाग्दैन अनि विवाद किन ? मिसरा, शेर, रदिफ, काफिया, बहर, मक्ता, मतला र तखल्लुस गजलका विभिन्न अङ्ग हुन् । यी अङ्गमध्ये कुनै एउटा अङ्ग  कमजोर हुँदैमा गजल भएन भन्न मिल्छ र ? हुन पनि शरीरमा भएका दर्जनौं अङ्गहरू मध्ये एउटा अङ्ग कमजोर हुँदैमा मान्छेलाई के मान्छे नै नमान्ने त ? यस्तो पनि हुन्छ र ?

वर्तमान समयसम्म आइपुग्दा नेपाली गजलमा स्पष्ट रूपमा तीन धार देखिएका छन् –

१) पहिलो धार– सिद्धान्तको आधारमा शास्त्रीय बहरमा लेख्ने धार हो । यो धारमा मोतीराम भट्टले शुरु गरेको गजल लेखन परम्परा पर्दछ । मोतीरामले अधिकांश गजलहरू फारसी पिङ्गल छन्दमा लेखेको मानिन्छ । यो धारलाई पछिल्लो समय घनश्याम परिश्रमी, नारायणप्रसाद गैरे, धनेन्द्र ओझालगायतले नेतृत्व गर्दै आएका छन्  ।

२) दोस्रो धार – लय र चेतनालाई प्राथमिकतामा राखेर स्वनिर्मित लयमा गजलहरू लेख्ने गजलकारहरू यस धारमा पर्छन् । मनु ब्राजाकीले यही धारमा रहेर थुप्रै गजलहरू सृजना गरे । शास्त्रीय बहरलाई भन्दा स्वर्निमित बहरलाई महत्त्व दिने, गति, यति, लय मिलाउने बुदराना, ललिजन रावल, रवि प्राञ्जल, श्रेष्ठ प्रिया पत्थर आदिले यो धारको नेतृत्व गरेको देखिन्छ ।

३) तेस्रो धार – गजलको फ्रेममा रहेर स्वतन्त्र लय मन पराउने, बहरलाई भन्दा भावलाई महत्त्व दिने गजलकारहरू यस समूहमा पर्दछन् । यस धारलाई लय निरपेक्ष धार पनि भनिन्छ । गजलमा विचार र भाव गहन तरिकाले आउनु पर्ने मान्यता यस धारमा गजल लेख्नेहरूको धारणा रहेको पाइन्छ । बहरमा गजल लेख्दा गहिरो भाव आउने सम्भावना कम हुन्छ । गजल प्राविधिक कुरा हो । गजलले आफ्नो फ्रेम छोड्नु हुँदैन तर गजलमा परिवर्तन आवश्यक छ भन्ने ठूलो जमात यो धारमा देखिन्छ । ज्ञानुवाकर पौडेल, खगेन्द्र गिरि कोपिला, बाबु त्रिपाठीहरूले यो धारलाई नेतृत्व गरिरहेको पाइन्छ ।

अहिलेको गजलको विवाद तीन धार बीचमा नभएर दुई धारमा देखिन्छ । मध्यममार्गी धार अर्थात् दोस्रो धारले स्वनिर्मित बहरमा गति, यति, लय र भावलाई सँगसँगै लैजानु पर्ने कुरामा जोड दिएको देखिन्छ । नेपाली भाषा साहित्य तथा माटो सुहाउँदो लय तथा छन्द वा स्वर्निमित बहर प्रयोग गरेर भए पनि गजल लेख्नुपर्ने कुरामा जोड दिएको पाइन्छ । यो धारले पछिल्लोपटक पोखरामा भएको गजलको घोषणापत्रलाई अनुचित मानेको देखिंदैन । यो धार समेत गजलमा समय अनुसारको परिवर्तन हुनुपर्ने पक्षमा रहेको देखिन्छ ।

पहिलो धार (बहरवादी) र तेस्रो धार (गैर बहरवादी) बीचको विवादले उग्ररूप लिएको छ । घोषणापत्र जलाउने र तल्लो स्तरमा आएर मुख छोड्नेसम्मका अशोभनीय गतिविधि भइरहेका छन् । गजल नलेख्ने कतिपय साहित्यकारहरूले यो गतिविधिलाई कमिलाको प्वाँख पलायो भनिरहेका छन् भने कतिपयले सर्जकहरूले सिद्धान्तलाई भन्दा सिर्जनालाई महत्त्व दिएर आफूलाई सहज लागेको शैली अपनाउनु पर्ने बताइरहेका छन् । गजलका सर्जकहरू नै समालोचक भएकाले यस्तो भएको हो भन्नेहरूको पनि कमी छैन ।

सिर्जनाले सिद्धान्त बनाउँछ । साहित्यका जति पनि विधाहरू छन् सबैका आ–आफ्नै सिद्धान्त छन्, संरचना छन् । हरेक विधाको सिद्धान्त विधागत सिर्जनाको संरचना हेरेर बनाइएको छ । सिर्जना यन्त्रिक हुन सक्दैन भने सिद्धान्त अकाट्य । समय परिस्थिति तथा सामाजिक परिवर्तनले विचार तथा सिद्धान्तमा परिवर्तन ल्याउने गरेको छ । अधिकांश साहित्यिक विधाहरूले आफ्नो धार परिवर्तन गर्ने गरेका छन् । यो परिपाटी नेपाली साहित्यमा मात्रै होइन विश्व साहित्यमा नै देखिन्छ ।

नेपाली काव्य विधालाई हेर्ने हो भने पनि बेलाबखत काव्य लेखनमा विभिन्न मोड तथा धारहरू देखा परेका छन् । एउटा धारमा लेख्नेले अर्को धारलाई सहर्ष स्वीकारेको देखिन्छ । कुनैबेला वीर धारमा मात्रै लेखिने कविता राजनीतिक तथा सामाजिक परिवर्तन सँगसँगै विभिन्न धारमा परिवर्तन भयो । वीर धारबाट शुरु भएको कविताको धार भक्ति धार, श्रृङ्गारिक धार, परिष्कारीवादी धार, स्वच्छन्दवादी धार, प्रयोगवादी धार हुँदै समसामयिक धारसम्म आइपुगेको छ । कविताको नयाँ प्रयोग वा परिवर्तित धार भविष्यमा कहाँसम्म पुग्छ, यसै भन्न सकिंदैन । कुनै बेला कविता भनेको छन्द मात्रै हो पनि भनियो । गद्य कवितालाई कविता नै मानिएन । तर अब यो स्थिति छैन । कविता भनेको कविता नै हो पद्य होस् कि गद्य । कविताको अन्य नामाकरण गरिरहनुपर्ने जरुरत देखिएन ।

नेपाली कथामा पनि विभिन्न धारहरू देखापरेका छन् । सामाजिक यथार्थवादी धार, मनोवैज्ञानिक धार, प्रगतिवादी धार, नव चेतनावादी धार वा प्रयोगवादी धार आदि । शैली तथा संरचनामा आएको परिवर्तनले आख्यानमा उपन्यास, कथा र लघुकथा बनेका छन् । एकले अर्कोलाई स्वीकारेकै छन् । तर गजलमा शैलीगत विविधता आउँदा किन यस्तो विवाद ? गजल लेखनमा शैलीगत तथा संरचनागत परिवर्तन अकाट्य छ ? अरबी भाषाबाट फारसी, ऊर्दू, हिन्दी हुँदै नेपालसम्म आइपुग्दा गजलले आफूलाई कहिल्यै परिवर्तन गरेन त ? खासमा नेपाली गजलकारहरूको विवाद गजल संरचनाको कुन कुन पक्षसँग सहमत र कुनकुन पक्षमा असहमत छन् ? विचारणीय कुरा छ ।

गजलको संरचना गजलले विधागत मान्यता पाएदेखि नै परिवर्तन हुँदै आएको पाइन्छ । उबेला पनि एकथरी गजलकारहरूले रदिएको प्रयोगलाई अनिवार्य मान्थें भने अर्काथरीले नभए पनि हुने मान्यता राख्थे । पछि यी दुबै शैलीलाई स्वीकारियो । रदिएको प्रयोग भएका गजललाई मुरद्दफ र रदिफको प्रयोग नभएका गजललाई गैरमुरद्दफ गजल भनेर दुबैथरीले सहर्ष स्वीकार्दै आएका छन् । प्रयोग गर्दै आएका छन् ।

एउटै गजलका विविध शेरहरूमा फरक फरक विषयवस्तुको उपस्थितिलाई गजलको सिद्धान्तले स्वीकार गरेको छ । यो गजलको मौलिकता हो । ‘मत्लादेखि मतलालसम्म एउटै विषयवस्तुमा लेखिएका गजलहरूलाई मुसलसल र हरेक शेरमा विविध विषयवस्तु भएमा त्यस्तो गजललाई गैरमुसलसत गजल भनिन्छ ।’ (बराल, प्रतिनिधि नेपाली गजल २०५७ पृष्ठ ख) । नेपाली गजलका सिद्धान्तकारहरूले भनेको यही नै हो । यो विषयमा पनि विवाद देखिंदैन । दुष्यन्त कुमारले हिन्दी गजलमा समसायिक विषवस्तुहरू प्रवेश गराएका थिए ।

गजलमा पहिलो र दोस्रो त्यसपछिका विजोर पङ्तिहरूमा काफियाको प्रयोग हुने गर्दछ अर्थात् चौथो, छैठौं, आठौं, दसौं हरफहरूमा काफिया प्रयोग हुने गर्दछ । हरेक मिसर–ए–सानीमा काफिया प्रयोग हुन्छ भने मिसर–ए–उलामा प्रयोग हुँदैन । गजलको यो नियम सबैले स्वीकारेकै नियम हो ।

गजलको विषयमा विवादमा उत्रिने दुबैथरीका गजलकारहरूले गजलका संरचनागत तत्त्वहरूलाई मज्जाले स्वीकारेको देखिन्छ । गजलको पहिलो मत्लाका दुबै शेरमा काफियाको प्रयोग र त्यसपछिका प्रत्येक शेरको दोस्रो–दोस्रो पङ्तिमा काफियाको प्रयोग नगरे पनि हुन्छ भन्ने आवाज कतै सुनिंदैन । गजलका शेरहरूमा काफियाको पुनरावृत्तिलाई दुबैले स्वीकारेकै छन् । गजलमा पूर्ण काफिया, आाशिंक काफिया, एकाक्षरी काफिया, मिश्रित काफिया, मिलित काफिया (हम काफिया) गरी विभिन्न स्वरूका काफियाहरूको प्रयोग दुबैथरीले गरेको भेटिन्छ ।

गजललाई बढी गेयात्मक बनाउन काफियापछि पदमूलक, पदावली मूलक, वाक्यात्मक रदिएको प्रयोग गरिएका मुरद्दफ गजल र रदिफविहीन गैरमुरद्दफ गजलमा दुबैथरीको उत्तिकै लगाव देखिन्छ । एउटा गजलमा कम्तिमा ६ पङ्ति हुनु पर्ने, दुई पङ्तिलाई एक शेर मानिने भएकाले तीन शेरको एउटा गजल बन्न सक्ने मान्यता दुबैको छ । गजलका प्रत्येक शेर स्वतन्त्र हुन्छन् भन्ने कुरामा कसैको विमति देखिंदैन । बढीमा यति शेरभन्दा बढी लेख्न नहुने भन्ने अडान पनि कुनैको छैन । फेरि विवाद किन ?

हरेक गजलमा मतला हुने, मतलाका दुवै पङ्तिमा काफियाको प्रयोग हुने भए पनि गजलको अन्तिम शेर मक्ताको ए–उलामा मात्रै काफिया रहने प्रायः मक्तामा तखल्लुस राख्ने प्रचलन रहे पनि यो अनिवार्यता नरहेको विचार दुबैथरी गजलकारहरूको देखिन्छ । बिम्ब, प्रतीक वा सङ्केत, शिल्प वा कला गजलका आन्तरिक शक्ति र सङ्छिप्तता, तरलता, भावगाम्भीर्य, नवीनता गजलका विशेषता हुन् भन्नेमा दुबैथरी गजलकारहरूको समान मत देखिन्छ । फेरि विवाद के का लागि ?

शेर निमार्णशैली दुबैको उस्तै छ । हरेक शेरमा मिसरा–ए–उला र मिसर–ए–सानी रहने र मिसरा–ए–उलाले विषयवस्तुको उठान गर्ने र मिसरा–ए–सानीले पहिलो पङ्तिको जिज्ञासा मेटाउने शैली दुबैथरीले अपनाएकै छन् । कुनै समय थियो गजलकारले आफ्नो सृजनामा नाम तथा उपनाम (तखनल्लुस) राख्नै पर्थ्यो । तखल्लुस नभएका गजललाई गजल नमान्ने प्रचलन थियो तर आजभोलि अनिवार्यता छैन । यो मान्यतामा परिवर्तन भएको छ । यसमा दुबैथरीको राय बझिएको छैन । तखल्लुस नराखेकाले गजल नै भएन भन्ने आँट कुनै सिद्धान्तकारले गर्नै सक्दैन ।

गजल विवादको चुरो कुरो बहरमा पुगेर अड्किएको छ । बहर भनेको छन्द हो । हरेक गजल कुनै न कुनै बहरमा हुन्छ भन्ने अडान बहरमा गजल लेख्नेहरूको छ । गजलका कतिपय बहरहरू पिङ्कल छन्दसँग मिल्ने खालका हुन्छन् । गजलमा प्रयोग हुने बहर संस्कृतका छन्दभन्दा फरक र केही नरम हुन्छन् । प्रायः गजलमा पन्ध्र प्रकारका बहरहरूको प्रयोग बढी हुने गरेको कुरा बहरमा मात्रै गजल लेख्नुपर्छ भन्नेहरूले बताउँदै आएका छन् । ‘गजल जुनसुकै बहरमा लेख्दा पनि हुन्छ अन्यथा खबरदार तिमीलाई गजल लेख्ने अधिकार छैन’ भनेर कडा रूपमा प्रस्तुत भएको देखिन्छ बहरबादी गजलकारहरू । के बहरविनाका गजल गजल नै भएनन् त ? के गजलमा परिवर्तन स्वीकार्य छैन ?

गजलमा प्रयोग हुँदै आएका जति पनि बहरहरू छन् ती बहर एकैचोटि निमार्ण भएका होइनन् । प्रयोगमा आएका होइनन् । यो मान्न दुबै तयार छन् । गजलमा प्रयोग हुने बहरहरूको मात्रा बढाउन हुन्न भन्ने पक्षको वकालत पनि कसैले गरेको देखिंदैन । फेरि विवाद के का लागि ? नेपाली गजलमा बहरहरू थपिए भने बिग्रने केही छ र ? स्वनिर्मित बहरहरूलाई मान्यता दिँदा आकाश नै खस्ने हो र ? बरु बहरका नाममा गजललाई राग, विराग, चारु, गीत्तल भनेर गिथोली गिथोली रोर्वट जस्तो यन्त्रिक बनाउन खोज्नुलाई उचित मान्न सकिएला र ?

गजल गेय परम्पराबाट प्रभावित र विकसित विधा हो । गेय परम्पराबाट विकसित भएको विधा भएकाले गजलमा लय हुनैपर्छ । गायनधर्मिता हुनैपर्छ । लयविना न त कविता बन्छ, न त गीत बन्छ, न त गजल नै । लय मिलाउन शब्दहरूको मेल र आक्षरिक संयोजन आवश्यक छ । यो विधानलाई गैरबहरवालाहरूले पनि मान्दै आएको पाइन्छ । मुसलसल र गैरमुसलसल गजल लेख्न सकिने कुरामा दुबै धारका गजलकारहरू सहमत छन् । गजलमा बिम्बात्मक शैलीमा आ–आफ्ना रोजाइका विषयवस्तु लिन पाउने छुट दुबै धारका गजलकारहरूले दिएका छन् ।

गजलमा कल्पना मात्रै हैन जीवन्तता दिन विचार पनि दिनुपर्छ । वैचारिक विषयवस्तुमा कल्पनाशीलताको मात्रा प्रचुर हुनसक्यो भने उत्कृष्ट गजल बन्न सक्छ । गजलमा प्रयोग हुने भाषा सरल, बोधगम्य, सलील हुनुपर्छ, दुबै धारका गजलकारहरू यही भन्छन् । दरबारबाट सडकसम्म पुग्नु, राजाबाट रङ्कसम्म पुग्नु, श्रृङ्गारिक धारबाट समसामयिक धारसम्म पुग्नु गजलमा आएको परिवर्तन होइन ? समयानुकुल हुने परिवर्तनमा फेरि विवाद किन ?

विभिन्न धार समातेर हिंडेका गजलकारहरूले एकले अर्कोलाई नसुन्ने र नमान्ने स्थिति देखिएको छ । जसले शिकारूहरूलाई अन्यौल थपिदिएको छ । नयाँ गजलकार जन्माउन कठीन हुन थालेको छ ।

बिर्सन नहुने कुरा के हो भने सिर्जनाले सिद्धान्त बनाउने हो । सिर्जना पहिला हो त्यसपछि सिद्धान्त । निर्मित  नियम तथा सिद्धान्तमा आवश्यक संशोधन गर्ने परम्परा आजको होइन  । गजल सिद्धान्तलाई पनि सिर्जनाको सापेक्षतामा हेरिनुपर्छ, जड बनाइनु हुँदैन । जसले जसरी लेखेको भए पनि एकले अर्कोलाई यसरी हिलो छ्यापेर कहिलेसम्म बस्ने ?

गजलमा कवित्व हुनैपर्छ । गजल गायन विधा हो । हिन्दी र उर्दूमा गजल लेख्ने गजलकारहरूले गजललाई तरन्नुम र तहतमा वाचन गर्ने परम्परा कायम गर्दै आएका छन् । नेपाली गजलमा भने गायन पक्ष फस्टाउन सकेको छैन । गजल गाउनै पर्छ वाचन गर्नुहुँदैन भन्ने स्थितिमा कोही छैनन् । श्रोताहरू गजलको बहरमा भन्दा भावमा बढी केन्द्रित हुने गरेका छन् । सर्वसाधरणसम्म गजल पुगेको छ भने गैरबहरवाला गजलहरू नै पुगेका छन् । समसामयिक विषयवस्तुमा लेखिएका गम्भीर भाव बोकेका गजलहरू नै धेरैको रोजाइमा पर्न थालेकाले नेपाली गजलले परिवर्तन खोजेको अनुमान गर्न कठीन छैन ?

परिवर्तन समयको माग हो । मानवीय स्वभाव र संस्कृतिमा परिवर्तन हुन्छ भने विचारमा परिवर्तन नहुने कुरै भएन । जीवन नै परिवर्तनशील छ भने विधामा परिवर्तन नहुने कुरै भएन । सिद्धान्तको सीमा हुन्छ भने विचारहरूको पनि आयु हुन्छ । विचारले मानिसलाई केही बेर बाँध्न सक्छ तर मानिसले विचारलाई बाँधेर राखिराख्न सक्दैन । बन्धनमा नरोकिने विचारले नै हो परिवर्तलाई डोर्याउने । भन्ने गरिन्छ, जब मानिसमा परिवर्तनको अभिलाषा सकिन्छ, सम्झनुहोस् जीवन सकिंदैछ । त्यसैले पनि परिवर्तन आवश्यक छ । परिवर्तन विनाको जीवन निरर्थक छ ।

चर्चा र विवादका बीचमा कविडाँडा साहित्य समाजले तीनै धारको नेतृत्व गर्ने गजलकारहरूलाई एउटै मञ्चमा उतार्दै छ । यो मञ्च नेपाली गजलको इतिहासमा सम्मानित मञ्च बन्न सकोस् । यसपटकको बहस विचारमा गएर टुङ्गिनेछ भन्ने लागेको छ । नेपाली गजल समाज र समय सँगसँगै हिंड्न सकोस्, शुभकामना ।

जय गजल, जय साहित्य ।।