
तपाईंको अघिल्तिर कोही व्यक्ति छ । ती व्यक्तिको उमेर पत्ता लगाउनु छ । अब तपाईंलाई कसैले सुँघेर ती व्यक्तिको उमेर पत्ता लगाउनुहोस् भनेर अह्रायो भने तपाईंले वास्तवमै तिनको उमेर पत्ता लगाउन सक्नु होला ? यो चुनौती तपाईंलाई स्वीकार छ त ?
जसको उमेर पत्ता लगाउन तपाईं सुँघ्न अघि बढ्दै हुनुहुन्छ, उसले कुनै बास्नायुक्त तेल या परफ्युम लगाएको छैन । तर तपाईं उसको शरीर छेउ पुग्नेबित्तिकै एक खास किसिमको शारीरिक गन्ध चाल पाउनु हुनेछ । यही गन्धबाट तपाईंले ती व्यक्तिको उमेर पत्ता लगाउनु पर्ने हुन्छ ।
यो चुनौती मैले तपाईंलाई दिएको होइन । यस्तो चुनौती चाहिँ एउटा शोधबाट प्रेरित भएर मैले सुनाएको मात्र हुँ ।
हाम्रो शरीरले निकाल्ने गन्ध वा सुगन्ध सधैँ एकै नासको हुँदैन । हाम्रो जीवनको उमेरको फरक अवधिमा यसले आफ्नो सुगन्ध फेरिरहन्छ । यो फेरिनुले हामीभित्रको परिवर्तन, प्राकृतिक जीवन, सामाजिक र विकासात्मक झुकावजस्ता कुरालाई पनि बताइरहेको हुन्छ ।
आमा–बाको प्रेम बलियो पार्ने सुगन्ध
बालबालिकालाई हरकोही बोक्न चाहन्छ । यसका पछाडि तिनको शरीरबाट आउने एक किसिमको सुगन्ध पनि हो । बालापनमा पसिनाको ग्रन्थी निकै कम सक्रिय हुन्छ । छालामा रहेका माइक्रोबायोमका कारण हल्का सुगन्ध निस्कने गर्छ ।
रोचक त के छ भने आमाबुवाले आफ्ना बालबालिकाको सुगन्ध निकै मजाले चिन्छन् । एकातिर आफ्नो बालक र अर्कोतर्फ अर्कैका सन्तान उभ्याइदिए र आँखा चिम्म गरे भने बाआमाले आफ्ना सन्तानको सुगन्धबाट नै तिनलाई चिन्छन् ।
यो सुगन्धले आमाबुवामा बालबालिकाप्रति भावनात्मक लगाव सिर्जना गर्छ र बालबालिकाका साथ खुशी र प्रेमपूर्ण भावनालाई सक्रिय पारिदिन्छ । बालबालिकाको सुगन्धले आमाबुवामा उत्पन्न भएका अनेकन् तनावका भावलाई कम गर्न भूमिकासमेत खेल्ने गर्छन् ।
एउटा अध्ययनअनुसार, पोस्टपार्टम (प्रशवपछिको) अवशादमा जाने आमाहरूलाई बालबालिकाबाट निस्कने प्रभावकारी सुगन्धबाट वञ्चित हुने गर्छन् । नवजात शिशुबाट आउने खास किसिमको सुगन्ध यति प्रभावशाली हुन्छ कि आमाबुवाले ती शिशुलाई जतिसुकै भए पनि खर्च गर्न प्रेरित गर्छ ।
जवान सुगन्ध
जब त्यही शिशु हुर्केर जवान हुन्छ, उसको शरीरबाट बेग्लै सुगन्ध निस्कन थाल्छ । सेक्स हार्मोन बनेपछि यस्तो परिवर्तन आउने गर्छ । पसिना बनाउने एक्राइन ग्रन्थी र छालाको महत्त्वपूर्ण ग्रन्थी सेबेसियसलाई सक्रिय बनाउँछ ।
पसिना बनाउने अकितम् ग्रन्थीले पानी र नून निकाल्छ जबकि एपोक्राइन ग्रन्थिले प्रोटिन र अन्य पग्लिएका पदार्थहरू वाष्पीकृत भएर बाहिर निस्कन्छ ।
हाम्रो शरीरभित्र रहेको लिपिड र सीबमजस्ता पदार्थ यिनै ग्रन्थीहरूबाट बाहिर निस्कन्छन् र यिनै कुराले हरेक मानिसले आफ्नै किसिमको विशिष्ट सुगन्ध सिर्जना गर्छ । तर यिनै विशिष्ट सुगन्धमा ब्याक्टेरिया पनि मिसिन थाल्यो भने सुगन्ध दुर्गन्धमा परिणत हुन थाल्छ । त्यसैले केही युवकका छेउमा केही युवती पुग्नेबित्तिकै नाक खुम्च्याउन थाल्छे ।
शरीरको गन्धमा आएको परिवर्तनका कारण आफ्ना सन्तानलाई चिन्ने बाउआमाको क्षमता कम हुन पुग्छ । नयाँ गन्धमा बानी पर्न पनि केही समय लाग्छ । यही अवधिमा युवक आफ्ना बुवाआमाबाट प्राकृतिक रुपमा टाढिने कारणले पनि बुवाआमाले उसको शरीरको सुगन्धको प्रकार बुझ्न सक्तैनन् ।
चिन्न सजिलो
सेबेसियस ग्रन्थीले निकाल्ने पदार्थको जुन तेज गन्ध हुन्छ, वयस्क हुञ्जेलसम्म निकै कमजोर हुन थाल्छ । तर शरीरले निकाल्ने अन्य किसिमको पदार्थ खासगरी नून र पसिनाका कारण उसको शरीरको खास किसिमको गन्ध स्थायी बन्न पुग्छ ।
त्यसो त केही मानिसले आफ्नो दुर्गन्ध घटाउँछन् र त्यसका लागि उनीहरूले उचित खानपिन र तनावजस्ता कुरामा ध्यान दिन्छन् । शरीरको खास हार्मोन र छालामा स्थायी रूपमा पाइने माइक्रोबायोमका कारण पनि मानिसको गन्धको स्थायीपन कायम रहन्छ ।
मानिसमा भएको गन्धको निकै ठूलो भूमिका हुन्छ । खासगरी अँधेरो र भिडभाडमा । जनावरहरूले आफ्नो या पराया सुँघेर नै पत्ता लगाउँछन् । त्यस्तै अँधेरो र भिडभाडमा आफ्ना मान्छेलाई मान्छेले पनि सुँघेर नै पत्ता लगाउनु पर्ने हुन्छ ।
वृद्धावस्था र सुगन्ध
उमेर बढ्दै जाँदा हाम्रो छालाको लचिलोपन कम हुँदै जान्छ । शरीरले क्रमशः पसिना पनि कम छाड्न थाल्छ । यस्ता कुराको कमीका कारण वृद्धावस्थामा शरीरको तापक्रम स्थिर राख्न गाह्रो हुन्छ ।
उमेर बढ्दै जाँदा सेबेसियम ग्रन्थी रसाउन छाड्छ । यसको आकारमा पनि परिवर्तन हुन्छ । यसले शरीरमा एन्टिअक्सिडेन्टको मात्रा कम हुन्छ । खासगरी भिटामिन ई र स्कोलिनको मात्रा न्यूनस्तरमा झर्छ ।
एन्टिअक्सिडेन्टको मात्रा कम हुन थालेपछि शरीरमा अक्सिडेसनको क्रिया बढ्न थाल्छ । यो क्रियाले वृद्धवृद्धाहरूमा अनौठो गन्ध पलाउन थाल्छ । यस किसिमको गन्धलाई जापानीहरुले केरिशो नामकरण गरेका छन् ।
वैज्ञानिकहरूका अनुसार ४० वर्षको उमेरपछि छालामा फ्याटी एसिड खासगरी ओमेगा सेभेन र पलमाइटोलिक एसिडले आफ्नो काम गर्ने प्रक्रिया नै परिवर्तन गर्छन् । जसका कारण शरीरको गन्ध पनि परिवर्तन हुन्छ ।
जब कुनै छेउका वृद्धवृद्धाको अनौठो गन्ध आउँछ, हामीलाई अचानक हाम्रा हजुरबा–हजुरआमा याद आउन सक्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

