
शस्त्रास्त्र–विद्याका धुरन्धर पण्डित द्रोणाचार्यलाई कुरुवृद्ध कुमार भीष्म–पितामहले समस्त कुरु–कुलीय ती नाती केटाहरूको गुरुका रूपमा हस्तिनापुर दरबारमा ससम्मान नियुक्त गरेपछि मुदित–मना द्रोणाचार्यले पनि ती बटुकहरूलाई मनोयोगका साथ शस्त्रास्त्र–शिक्षा दिन थाले । भरद्वाज–नन्दन द्रोणलाई समस्त धन–दौलत, इज्जत र प्रतिष्ठाका साथ समस्त सुख–सुविधाले सुसज्जित भवन प्रदान गरियो । जहाँ पत्नी कृपी र सुपुत्र अश्वत्थामाका साथ गुरु द्रोण आनन्दपूर्वक रहन थाले ।
एक दिन एकान्त स्थलमा समस्त शताधिक कुरुकुल–नन्दन शिष्य केटाहरूका बीचमा गुरु द्रोणाचार्यले भने– हे निष्पाप राजकुमार हो! मेरो मनमा एउटा इच्छा छ, अस्त्र–शिक्षा प्राप्त गरिसकेपछि तिमीहरूले मेरो त्यो इच्छा पूरा गर्नुपर्नेछ । भन, तिमीहरूमध्ये कसले मेरो त्यो इच्छा पूरा गर्न सक्छ ?
उनका कुरा सुनेर अरु सबै केटाहरू त चूपचाप–चाराना भए, तर पाण्डुनन्दन अर्जुनले अघि बढेर भने– गुरुदेव, म हजुरले आज्ञा भएको जुनसुकै इच्छा पनि पूर्ण गर्नेछु । यो सुनेर द्रोणका नेत्र–युगल हर्षातिरेकले अश्रुपूरित भए । भावमय बनेर उनले अर्जुनलाई छातीमा लगाए, मस्तक सुँघे र स्नेहावेगका साथ अर्जुनलाई मायाँ गरे ।
अनि, गुरु द्रोणाचार्यले विधिवत् शिष्यहरूलाई शस्त्रास्त्र–विद्याको शिक्षा दिन थाले । द्रोणाचार्यको गुरुकुलमा कुरुवंशी राजकुमारहरूका साथ वृष्णि–वंशी, अन्धक–वंशीका साथ अरु धेरै राजकुलका राजकुमारहरूका साथसाथै राधा–नन्दन सूतपुत्र कर्ण पनि शिक्षा ग्रहण गर्न आउने गर्दथे । कर्ण अर्जुनसँग सदा ईर्ष्या भाव राख्दथे । दुर्योधनको पक्ष लिएर एक न एक निहुँ झिकेर सारा पाण्डुपुत्रहरूको अपमान गर्ने गर्दथे ।
पाण्डु–नन्दन अर्जुन जिज्ञासा, शिक्षा, बाहुबल र तत्परताका दृष्टिले सबै शिष्यहरूमध्ये अव्वल थिए, गुरु द्रोणाचार्यकै योग्यतानुरूप थिए । उनलाई गहन विद्यानुराग थियो । त्यसैले हरेक काम अत्यन्त कुशलता र स्फूर्तिका साथ सम्पन्न गर्दथे । गुरु द्रोणाचार्यलाई अर्जुनमा गहिरो भरोसा थियो । उनको प्रतिभामा अगाध विश्वास थियो ।
गुरु द्रोणाचार्य आफ्नो छोरो अश्वत्थामाप्रति अथाह स्नेह राख्दथे र उसलाई अरुभन्दा विशेष बनाउन चाहन्थे । त्यसका लागि उनी एउटा चलाखी गर्ने गर्दथे । बिहान–बिहानै केटाहरूलाई पानी लिन नदी–किनारमा पठाउँथे । अरु सबै शिष्यहरूलाई उनी स–सानो मुख भएको कमण्डलु दिएर पठाउँथे, तर अश्वत्थामालाई ठूलो मुख भएको घडा दिने गर्दथे । परिणामतः पानी भर्दा–भर्दै अरुलाई विलम्ब हुन्थ्यो भने अश्वत्थामा सबैभन्दा पहिले नै पानी भरेर आइपुगिहाल्दथे । अनि, गुरु द्रोणाचार्य अरु आइपुगुन्जेलमा छोरालाई विशेष अस्त्रकौशल–विधि सिकाइहाल्दथे । तर, चाँडै नै यो रहस्य अर्जुनले थाहा पाइहाले । उनी झन् के कम ! उनले जुक्ति निकालिहाले । उनी वारुणास्त्रको प्रयोग गरी मिलिक्कै कमण्डलु भरेर सबैभन्दा पहिले आइपुगिहाल्न थाले । यसरी गुरु द्रोणाचार्यले सिकाएको एक–एक कुरा नछोडीकन सिक्न थाले । अश्वत्थामाले कुनै कुरामा पनि उनलाई उछिन्न सकेनन् ।
अर्जुन धनुर्बाणको साधनामा सततः संलग्न भएको देखेर द्रोणाचार्यले एक दिन भान्सेलाई एकान्तमा बोलाएर भने– तिमीले अर्जुनलाई कहिल्यै पनि अँध्यारामा भोजन गर्न नदिनू है । अनि, मैले यसो भनेको कुरा पनि उनलाई कहिल्यै नभन्नू नि । तर, एक दिन अर्जुनले भोजन गरिरहेका बेला अचानक हावाको एक तीव्र झोंक्का आयो र झ्याप्पै बत्ती निभाइदियो । अर्जुन अँध्यारैमा खान थाले । अँध्यारामा पनि गाँस लिएको हात मुखमै पुगेको देखेर उनलाई विस्मयबोध भयो । यो सबै अभ्यासकै परिणाम हो– भन्ने समझ उनमा अनायास पलायो । अनि त उनी रात्रिको गहन अन्धकारमा पनि धनुर्बाणको अभ्यास गर्न थाले । अँध्यारैमा पनि निशानामा तीर सध्न थाल्यो । आधारातको बेलामा पनि धनुष्टंकार सुनेर द्रोणाचार्य उठेर हेर्न गए । अर्जुनलाई मनोयोगले अभ्यास गर्न लागेको देखेर भाव–विभोर हुँदै उनलाई छातीमा लगाएर भने– हे मेरा प्रिय शिष्य अर्जुन, म यस्तो प्रयत्न गर्नेछु कि यस जगत्मा तिमीजत्तिको जान्ने धनुर्धर कोही पनि नहोस् । अनि उनले अर्जुनलाई अझै तिखार्न थाले । घोडामा, हात्तीमा, रथमा र जमीनमा रहेर कुशलताका साथ युद्ध गर्ने कला पनि सिकाए ।
गुरु द्रोणाचार्यले कौरवहरूलाई गदा–युद्ध, खड्ग–युद्ध, तोमर, प्रास र शक्तिको प्रयोग–कुशलता पनि सिकाए । उनको कीर्ति दिग्–दिगन्त फैलियो । उनीसँग शिक्षा ग्रहण गर्न भनेर देश देशान्तरबाट हजारौँ राजा र राजकुमारहरू त्यहाँ आउन थाले ।
एकदिन निषादराज हिरण्यधनुको छोरो एकलव्य पनि धनुर्विद्या सिक्न भनेर त्यहाँ आइपुग्यो । तर त्यो निषाद अर्थात् शिकारीको छोरो भन्ने बुझेपछि द्रोणले उसलाई शिष्य बनाउन मानेनन् । तर त्यो केटो निकै तेजी थियो । उसले गुरु द्रोणाचार्यको पाउमा शिर राखेर प्रणाम गर्यो अनि एकान्त वनमा गएर उनको माटाको मूर्ति बनायो । त्यसै मूर्तिलाई गुरु थापेर धनुर्विद्याको अभ्यास गर्न थाल्यो । ऊ गुरुभक्त, दृढसंकल्प एवम् अत्यन्त परिश्रमी थियो । दिनरातको मेहनत र मनोयोगपूर्वक सम्पन्न एकाग्र अभ्यासले ऊ छिटै नै एक कुशल धनुर्धर बन्यो ।
एक दिन समस्त कौरव र पाण्डव गुरुको अनुमति लिएर शिकार खेल्न भनेर रथमा चढी गहन वनतर्फ लागेका थिए । उनीहरूको सेवा गर्न भनेर एक सेवक पनि स्वेच्छया विविध उपकरण लिएर उनीहरूका पछि–पछि लागेको थियो । उसको पालतू कुकुर पनि ऊसँगै थियो । त्यस कुकुरले अघि बढ्दै जाँदा एकलव्यलाई देख्यो । एकलव्यको शरीर कालो वर्णको थियो । जिउभरि मैलो जमेको, एउटा कालो मृगचर्म बेरेको, लामो जटा पालेको अनौठो मानिस देखेर त्यो कुकुर त्यसैतिर फर्किएर एकोहोरो भ्वाङ् भ्वाङ् भुक्न थाल्यो । यसरी झर्को लाग्ने गरी एकोहोरो भुकेको देखेर एकलव्यलाई कुकुरको मुख थुनिदिन मन लाग्यो । उनले आफ्नो अस्त्रविद्याको कौशल देखाउँदै एकसाथ सातवटा बाण त्यस कुकुरको मुख ताकेर यसरी हानिदिए कि– ती बाणले यकायक कुकुरको मुख थुनियो । ती बाण यति कौशलका साथ हानिएका थिए कि– न त तिनको प्रहारले उसलाई कुनै चोट लागेको थियो न त शरीरको अरु कुनै भाग छोएको थियो । ती बाणहरुले त बस् कुकुरको मुखमा ओकल्नै नसकिने गरी मुखबुझो मात्र लगाइदिएको थियो ।
त्यो कुकुर भयभीत भएर आत्तिंदै फनक्क फर्किएर पाण्डवहरूका छेउ आइपुग्यो । मुखभरि बाणको बुझो लागेर भुक्न पनि नसक्ने बनेको त्यो कुकुरलाई देखेर सबै आश्चर्यचकित भए । प्रहारकको हस्तकौशल र शब्द–वेधी प्रवीणता देखेर ती छक्क मात्र होइन लज्जित पनि भए । अनि, अरे वाफ रे वाफ् ! भन्दै त्यस प्रहारकको प्रशंसा पनि गर्न थाले । अलिकति अघि बढेपछि उनीहरूले अभ्यासरत धनुर्धरलाई पनि देखे ।
त्यसलाई उनीहरूले पहिले पनि देखेकै थिए । तर अहिले उसको रूप बदलिइसकेको थियो । कसैले चिन्न सकेनन् । सोधे– तिमी को हौ ? कसका शिष्य हौ ?
उसले भन्यो– म निषादराज हिरण्यधनुको पुत्र हुँ अनि आचार्य द्रोणको शिष्य हुँ । सबै छक्क परे । शिकार–कर्म जसै तसै सम्पन्न गरेर फर्किए । विशेषतः अर्जुनको मन अशान्त थियो । उनी वारंवार त्यही एकलव्यलाई सम्झिएर विकल बनिरहेका थिए । आखिर एकान्त समयमा गुरुका सामू नतमस्तक भएर भने– हजुरले त भन्नुभएको थियो कुनै पनि शिष्य मजत्तिको हुनेछैन भनेर, तर त्यो निषादपुत्र मभन्दा पनि जान्ने कसरी भयो त ? आचार्य द्रोण सबै कुरा बुझेर एकछिन घोरिए । त्यसपछि मनमनै केही अठोट गरेर अर्जुनलाई अगि लगाएर त्यही ठाउँमा गए– जहाँ एकलव्य एकाग्रभावका साथ धनुर्विद्याको अभ्यास गर्दै थिए ।
गुरुलाई देख्नासाथ उनले गोडामा ढोगिदिए । विधिवत् पूजा गरे अनि हात जोडेर आज्ञाको प्रतीक्षा गर्दै बसे । द्रोणाचार्यले भने– यदि तिमी मेरा शिष्य हौ भने लौ अब तिमी मलाई गुरुदक्षिणा देऊ ।
एकलव्यले प्रसन्न हुँदै भने– हे भगवन्, ब्रह्मवेत्ताहरूमा श्रेष्ठ गुरुदेव, आज्ञा होस् । हजुरलाई गुरुदक्षिणा दिन पाउनु मेरो परमसौभाग्य हो । आज्ञा गर्नुहोस्– म के दिऊँ ? यस धरतीमा यस्तो कुनै वस्तु छैन जो हजुरका निमित्त अदेय होस् ।
अनि द्रोणाचार्यले भने– तिमी मलाई तिम्रो दाहिने हातको बूढी औंलो देऊ ।
गुरुको यो दारुण वचन सुनेर पनि एकलव्यको मुहारमा विषादको रेखासम्म पलाएन । ती उदार–मना प्रसन्न–चित्त एकलव्यले एक क्षण पनि सोचविचार नगरीकन आफ्नो दाहिने हातको बूढी औंठो च्वाट्ट काटेर गुरचरणमा अर्पित गरिदियो ।
उसको यो अनुपम गुरुभक्ति देखेर द्रोणाचार्य विस्मयान्वित एवम् परमप्रसन्न पनि भए । अन्तमा करुणासाथ उनले बूढीऔंलो नभए पनि तर्जनी र मध्यमा अंगुलीको संयोजनले बाण समाउँदै धनुष खिँचेर प्रहार गर्ने विधि सिकाइदिए ।
तर, अब एकलव्यको कुशलता पहिलेको जस्तो रहेन । उनको बाणसन्धानको गतिमा त्यो शीघ्रता आउन सकेन जो पहिले थियो ।
….
यसरी निषादराज–पुत्र एकलव्यको तेजोवध गरिएपछि अर्जुन प्रसन्न भए । उनको चिन्ता हट्यो । द्रोणाचार्यको कथनको सत्यता पनि सुरक्षित रह्यो । अब अर्जुनजत्तिको जान्ने धनुर्धर यस जगत्मा कोही पनि हुने भएन ।
…..
महाभारत, आदिपर्व, १३१ अध्यायबाट
२०८१ पौष २६ गते शुक्रवार
ॐअक्षरालयः



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

