दुई वटा दृश्यमा ध्यान दिन म यहाँहरूको ध्यानाकर्षण गरेँ है !

पहिलो दृश्यः कुनै कार्यालय वा क्याम्पसको छुट्टी भयो । कामदार वा विद्यार्थीहरू हुर्रिएर एउटा रेस्टुराँमा खाजा खान छिरे । यो समूहमा महिलाहरूको संख्या बढी छ र पुरुषहरू ज्यादै कम छन् भने खाजा खाएको बिल तिर्न भएका पुरुषहरू हानाथाप गर्ने छैनन् ।

दोस्रो दृश्यः कुनै कार्यालय वा क्याम्पसको छुट्टी भयो । कामदार वा विद्यार्थीहरू हुर्रिएर एउटा रेस्टुराँमा खाजा खान छिरे । यो समूहमा महिलाको सङ्ख्या ज्यादै न्यून छ । पुरुषहरूको संख्या बढी छ भने खाजा खाएको बिल तिर्न पुरुषहरू हानाथाप गर्ने छन् ।

ठीक पढ्नुभयो । हालै हार्वर्ड विश्वविद्यालयले गरेको अध्ययनमा महिलाहरूको नजरमा पर्न पुरुषहरूको भीडमा आफूले बिल तिर्न हानाथाप गर्ने गरेको निष्कर्ष निकालिएको छ । अमेरिकाको बोस्टन शहरका तीनवटा रक्सी भट्टी (पब) मा अध्ययन गर्न गएका प्राध्यापक र अध्येताहरुले १६३ जना ग्राहकहरूको व्यवहार अवलोकन गरे ।

जुन समूहमा पुरुष र महिला बराबरजस्तो देखिन्थ्यो, त्यहाँ पुरुषहरूले महिलाका लागि रक्सी किनिदिने रुचि कम देखाए । त्यस्तै कम महिलाहरू बसेको पबमा तिनका लागि पहिलो राउन्डको ड्रिंक किन्ने रुचि बढी देखाए ।

यसको अर्थ के हो त ? बायोलजी लेटर्स जर्नलका अनुसार, महिला थोरै भएका बेला जुन पुरुषले ड्रिंक्स किनिदिने प्रस्ताव राख्छ भने उसले आफूसँग पर्याप्त पैसा छ भन्ने संकेत दिएको हो । अर्को शब्दमा भन्नुपर्दा, यस्तो गर्दा त्यो पुरुषलाई के लाग्छ भने, उसलाई महिलाको ध्यान आकर्षित गर्ने प्रतिस्पर्धामा जित्नु छ । जति बढी पुरुषहरू हुन्छन्, उति नै पहिलो राउन्ड किनिदिन पुरुषहरूबीच प्रतिस्पर्धा हुन्छ ।

त्यसो त केही अध्येता भने यस्तो अध्ययनलाई अस्वीकार गर्छन् । केहीको धारणामा, हरेक अध्ययन गर्दा पुरुषहरुले आफ्नो पुरुषत्व देखाउनैका लागि पैसा तिर्न लालायित हुन्छन् भन्नु वाहियात हो । पुरुषहरूले महिलाका लागि कुनै चिज किनिदिन इच्छुक हुनुमा उसको प्राचीन अवगुण प्रतिस्पर्धा, प्रजनन र स्रोतहरूको विज्ञापन नै हुनुपर्छ भन्ने छैन ।

यस्ता कार्यमा महिलाले कुनै पुरुषका बारेमा के सोच्छन् भन्दा पनि अरु पुरुषको नजरमा ऊ उत्कृष्ट हुनुपर्छ भन्ने सोचका कारण प्रायः यस्तो व्यवहार देखाउने गरेको केही मनोवैज्ञानिकहरूको दाबी छ ।

बेन माकेल भन्छन्, ‘मानौं कुनै पबमा तपाईं हुनुहुन्छ । त्यहाँ धेरै महिलाहरू छन् भने एउटा पुरुषले धेरै सोचेर मात्र उनीहरुलाई केही किनिदिन्छ । अधिकांश अवस्थामा महिलाहरू धेरै भएको समूहमा कुनै पुरुषले केही किनिदिनु झन्झटपूर्ण, समय धेरै लाग्ने र महँगो दुःस्वप्नजस्तो हुन पुग्छ ।

उनका अनुसार, प्रायः पुरुषहरुको छनोट उति धेरै हुँदैन । एउटा बियर या यस्तै केही तर महिलाहरूको छनोट विविध हुन्छ । जहाँ एउटा चूक भयो भने तपाईंको प्रसिद्धि धूलिसात हुने सम्भावना बढी हुन्छ । त्यसैले ती सारा झन्झट बेहोर्नु भन्दा चूप लाग्नु नै बेस हुन्छ ।

सो अध्ययनको अर्को पाटो पनि छ । पबमा पुगेका समूहहरूमध्ये कुनै पनि समूहका महिलाहरू अघि बढेर आफू खर्च गर्ने ऊर्जा देखाएनन् । अध्ययन प्रतिवेदनमा लेखिएको छः महिलाहरू शुरुमा पबमा गएर पुरुषका लागि किनिदिने मानसिकता देखाएनन् । सम्भवतः उनीहरूले पुरुषबाटै ऊर्जा र स्रोतको अपेक्षा गरेका हुन सक्छन् ।