गजलका अधिकांश तत्त्वहरू प्रयोग भएर जीवन्तरूपले उभिएका नेपाली गजललाई लयको अरबी बस्त्र थोबे र अबाया लगाइदिने कि दौरा–सुरवाल, भोटो–कछाड, गुन्यु–चोलो लगाइदिने– यो स्वतन्त्रता गजलकारहरूमा सुरक्षित हुनुपर्छ ।

गजल शेरबद्ध काव्यिक प्रभेद हो । शेरहरू काव्यात्मक सौन्दर्य र लयमा आबद्ध हुन्छन् । परम्परागतरूपमा गजलका तत्त्वहरू काफिया, रदिफ, मतला, तखुल्लस, मिसरा, मिसरा ए उला, मिसरा ए सानी, शेर, बहर आदि मानिएका छन् । गजललाई अन्य काव्यिक रचना विशेषबाट छुट्याउने र मौलिक वैशिष्ट्य प्रदान गर्ने अनिवार्य तत्त्व काफिया हो । यसैले काफिया गजलको सर्वाधिक महत्त्वपूर्ण तत्त्व हो । यसलाई गजलको अनिवार्य तत्त्व, गजलको प्राण, मुटु आदि भन्न सकिन्छ । काफिया अर्थात् तुकयुक्त आनुप्रासिक शब्दहरूको संयोजनले गजल मिठासपूर्ण र मौलिक वैशिष्ट्युक्त हुन्छ । केही गजलकारले काफियाविहीन गजल रचना गरेका छन् तर ती प्राणहीन बन्न पुगेका देखिन्छन् । यसरी लेखिएका गजलका शेरहरू अन्य कविताका दुई हरफ जस्ता देखिएर वैशिष्ट्यहीन हुन पुगेका छन् ।

गजलको संरचना A+A+B+A+C+A+D+A+E+A सूत्रमा हुन्छ । गजलमा काफियापछिको एक प्रमुख तत्त्व रदिफ हो । रदिफ भनेको काफियापछि प्रयोग हुने पद वा पदावली हो । गजललाई सुन्दर, कर्णप्रिय र गेयात्मक पार्न यसले महत्त्वपूर्ण भूमिका खेल्छ । गजलको प्रारम्भमा आउने दुई हरफ मतला, गजलको अन्तिम शेर मकता (मक्ता) गजलमा प्रयोग गरिने नाम र उपनाम तखल्लुस (यसको अनिवार्यता छैन), गजलमा प्रयोग हुने प्रत्येक पङ्क्ति मिसरा, पहिलो पङ्क्ति मिसरा ए उला, दोस्रो पङ्क्ति मिसरा ए सानीका पनि आ–आफ्ना स्थानमा महत्त्व छन् । शास्त्रीय परम्परामा बहर पनि एक महत्त्वपूर्ण तत्त्व हो । गजल लयमा लेखिने काव्यिक विधा भएकाले प्राचीनशास्त्रीहरूले शास्त्रीय लय विधान जन्माएका थिए । यही शास्त्रीय लय विधानलाई ‘बहर’ भनिन्छ ।

गजलको जन्मस्थल अरब हो । इसाको सातौँ शताब्दीमा अरबभूमिमा जन्मेर, फारसीबाट हिन्दी र उर्दू हुँदै नेपाली साहित्यको माध्यमिक कालका नक्षेत्र मोतीराम भट्टले यसलाई नेपाली साहित्यमा प्रवेश गराएका थिए । मोतीराम युगका लक्ष्मीदत्त पन्त ‘इन्दु’, नरदेव पाण्डे, गोपीनाथ लोहनी हुँदै विकसित नेपाली गजलमा उर्वारता थप्ने काम पछिका शम्भुप्रसाद ढुङ्गेल, तीर्थबहादुर आचार्य, शिखरनाथ सुवेदी, रामप्रसाद सत्याल, चक्रपाणि चालिसे आदिले गरे । लेखनाथ र समले पनि केही गजल रचे । नेपालमा प्रजातन्त्र स्थापना हुनुको पूर्व समयमा भीमनिधि तिवारी, उपेन्द्रबहादुर जिगर उदाए । विक्रमाब्द २००० आरम्भ भएपछि गोपालप्रसाद रिमाल, गोविन्द शर्मा विमल, म.वि.वि. शाह, भीम विराग, प्रेमप्रकाश मल्ल, राममान तृषित, छिन्नतला, रवीन्द्र शाह, भूपी शेरचन आदि गजलकारहरूको आगमन भयो । विक्रमाब्द २०३६ पछि नयाँ आयामसहित ज्ञानुवाकर पौडेल, ललिजन रावल, धर्मोगत शर्मा ‘तुफान’, रवि प्राञ्जल, मनु ब्राजाकी, घनश्याम न्यौपाने ‘परिश्रमी’, बुँद रानासहित ठूलो संख्यामा गजलकारहरू उदाए । ज्ञानुवाकर पौडेल र उनका समकालीनहरूले आरम्भ गरेको नेपाली गजलको पूनर्जागृतियात्राले अहिले विश्वभर छरिएर रहेका नेपालीहरूमा गजललाई लोकप्रिय पार्न अहम् भूमिका खेलेको छ भन्दा अत्युक्ति नहोला । यसै सन्दर्भमा विक्रमाब्द २०४० मा प्रकाशित साझा कविता (सम्पादक, तारानाथ शर्मा) सङ्ग्रहले तीर्थ श्रेष्ठका तत्कालीन परिवेशमा रचना गरेका दुई गजललाई कविताको रूपमा स्थान दिएको कुरा पनि स्मरण गर्न चाहन्छु ।

गजल अरबी भाषाका राजाहरूका प्रशस्तिमा गाइने कसिदा, त्यसमा जोडिने प्रणययुक्त मुक्तकीय चतुष्पदीय ‘तस्बिब’, ‘गजला’ ग + ज + अल व्युत्पत्ति अनुरूप अर्थ ‘नारीसितको बोलचाल’ वा ‘प्रेमिकासँगको वार्तालाप’ जुन रूपबाट विकसित भएपछि यसले समयक्रम र देशीय परिस्थिति अनुरूप परिवर्तनलाई आत्मसात गर्दै आएको देखिन्छ । अरबीभूमिमा जन्मेर फारसी भाषामा (अहिलेको गणतन्त्र इरान, पहिलेको नाम पर्सियाको भाषा) लामो समय हुर्किएर, विकसित भएर भारतीय उपमहाद्वीपका हिन्दू र उर्दू भाषामा आइपुग्दा गजलले विकासका धेरै चरण पार गरेको थियो । गजल ‘प्रेमिकासितको वार्तालाप’मा सीमित नरही त्यसमा जीवनका विभिन्न अनुभव, अनुभूतिहरू, सामाजिक, राजनीतिक, धार्मिक, प्रगतिवादी धेरै विषयवस्तु प्रवेश गरिसकेका थिए । यसैगरी मोतीराम भट्ट र मोती मण्डलीकालीन नेपाली गजलले विभिन्न चरणका समयानुरूप परिवर्तन गरेको थियो । अहिले सिद्धान्तका नाममा पुरातनपन्थका राग अलाप्नेहरूले गजललाई ‘प्रेमिकासितको वार्तालाप’ भनेर विश्वमा आधाभन्दा बढी जनसंख्या भएका महिलाहरूलाई न गजल लेखनबाट बञ्चित गर्न सक्छन्, न त बहरको कट्टर राग अलापेर नेपालका हिमाल, पहाड र तराईमा जन्मेहुर्केका नेपाली जातीय लयहरू, लोकलयहरू र शास्त्रीय छन्दमा गजल रचना गर्नबाट कसैलाई बोकोहराम वा तालिवानी शैलीमा बञ्चित गर्न सक्छन् ।

शास्त्रीय परम्पराका मात्र गजल रचना गरिनुपर्छ भन्नेहरूले यो कुरा बुझ्नुपर्छ, गजलको जन्म कुनै निश्चित शास्त्रीय परम्पराबाट भएको होइन । प्रत्येक देशमा शास्त्रीय परम्पराहरूभन्दा पहिले लोक परम्पराहरू जन्मेका हुन्छन्, लिखित भाषाभन्दा पहिले अलिखित भाषा जन्मेका हुन्छन् । प्रत्येक देशका भाषामा पहिले साहित्य जन्मन्छन् त्यसपछि मात्र सिद्धान्त जन्मन्छन् । अरबमा कुनै अल्लाहले वा भारतीय उपमहाद्वीपमा कुनै भगवान्ले पहिले शास्त्र लेखिदिएर त्यस अनुरूप मानिसहरूले साहित्य लेखेका होइनन् । प्राचीन युनानमा पहिले साहित्यहरू थिए, ती साहित्यहरू अध्ययन गरी अरस्तुले साहित्य सिद्धान्त (Poetics) प्रतिपादन गरे । प्राचीन भारतमा पनि साहित्यहरू थिए, ती साहित्यहरू अध्ययन गरी आचार्य भरत लगायतका साहित्य सिद्धान्तशास्त्रीहरूले आ–आफ्ना शास्त्र रचना गरे । ती आचार्यका शास्त्रलाई मात्र ‘ईश्वराज्ञा’ सम्झेर साहित्य रचना गर्ने अनिवार्यता भएको भए शेक्सपियर, इब्सेन, गेटे, बेकेट, वाल्टर ह्टिम्यान, हेमिङ्बे, आर्थर मिलर, प्रेमचन्द्र, रवीन्द्रनाथ ठाकुर, टी.एस. इलियट, देवकोटा, सम, पारिजात, गोपालप्रसाद रिमाल कोही पनि जन्मने थिएनन् । तोल्तस्तोय, दस्तोयब्स्की जन्मने थिएनन् ।

साहित्यकारहरू सबै प्राचीन र समकालीन सिद्धान्त परिवेश बीच निजता, स्वतन्त्रता र अभिव्यक्ति सघनताको खोजी गर्दै विषय र शैलीमा परिवर्तन खोज्छन् । शास्त्रीय सिद्धान्तहरू जति सुन्दर भए पनि ती समकालीन साहित्यकारलाई पिँजडाजस्तो लाग्छ । उनीहरू पिँजडाभित्रको आकाश जति चौडा भए पनि साँघुरो मान्छन् र मुक्त आकाशमा विचरण गर्न चाहन्छन् । अहिले यही परिप्रेक्षमा गजलमा उत्पन्न विवादको खोजी गर्न सकिन्छ ।

गजलका तत्त्वहरू काफिया, रदिफ, मतला, मकता, तखल्लुस, मिसरा, मिसरा ए उला, मिसरा ए सानी, शेर र बहरमध्ये गजल निर्माणमा अनिवार्य तत्त्व भनेका काफिया प्रयोग र दुई हरफका शेर संरचना हुन् । शेर निर्माणमा सहायक तत्त्वहरू मतला (शुरुका दुई हरफ), मकता (अन्तिम शेरका दुई हरफ), तखल्लुस (नाम, उपनाम), मिसरा (गजलका हरफहरू) हुन् । कवितामा अन्य प्रभेदबाट पढ्दा वा सुन्दा यो गजल हो भनी छुट्याउने मुख्य तत्त्व शेरको संरचना र काफियाको सौन्दर्यपूर्ण वैशिष्ट्य र रदिफको लयात्मक साथ हुन् । प्राचीन अरबी फारसी आचार्यहरूले यी मुख्य र सहायक संरचनालाई लयात्मक र संगीतात्मक पार्न आफ्ना भाषिक वैशिष्ट्य अनुरूप बहर निर्माण गरेका थिए । बहर गजलको परम्परागत लयविधान मात्र भएकाले यो परम्परालाई ससम्मान प्रयोग नगरी आफ्नै भाषिक र लौकिक वैशिष्ट्य अनुसार भिन्न लयविधानमा गजल रचना गर्दा कसैको टाउको दुखाइ नबन्नुपर्ने हो । तर जे नहुनुपर्ने हो त्यही भइरहेकाले समकालीन नेपाली गजलमा अनावश्यक विवाद र उग्रवाद देखापरेको छ । यदि गजल जस्तो लोकप्रिय रचनालाई कठमुल्लावाद र जडसूत्रीय अवस्थामा राख्ने हो भने त्यसका अनुयायीहरूलाई प्रश्न गर्न सकिन्छ – यदि बहर अनिवार्य छ भने गजलको प्रारम्भिक परिभाषा ‘प्रेमिकासितको वार्तालाप’मा सीमित हुनु अनिवार्य छ ? किन हिन्दी–उर्दूका गजलकारहरूले सामाजिक र प्रगतिवादी गजल रचना गरे ? यदि ‘प्रेमिकासित वार्तालाप’ गजल हो भने महिलाहरूलाई गजल लेख्न प्रतिबन्धित गरिनुपर्ने हो ? यदि यिनले यो फरमान उल्लङ्घन गरे मलाला युसफजाईको जस्तो नियति भोग्नुपर्ने हो ?

अरबी र फारसीका सिद्धान्तकारहरूले गजलरचना सिद्धान्त निर्माण गर्दा हिन्दी, उर्दू, नेपाली वा अरू भाषामा पनि गजल रचना हुन सक्छन् भनेर सोचेका थिएनन् । के गजल अरबी र फारसी भाषामा मात्र लेखिनुपर्ने हो ?

यस्ता धेरै चाहिने–नचाहिने प्रश्नहरू गर्न सकिन्छन् । तर यस्ता असमाप्त प्रश्नका पछाडि लाग्नुभन्दा नेपाली गजलमा स्वस्थ वातावरण सिर्जना गर्नु आजको आवश्यकता हो ।

नेपाली गजल बहरयुक्त लेखन पद्धतीबाट स्वतन्त्रातर्फ उन्मुख भएको देखिन्छ । स्वयं मोतीराम भट्टले सबै गजल बहरमा लेखेनन् । तीसको दशकभन्दा अगाडिका धेरै गजलकारले स्वतन्त्र लयमा गजल साधना गरे । के ती सबै बहर सिक्न नजानेर स्वतन्त्रतातर्फ उन्मुख भएका हुन् ? कि तिनले स्वाभाविकरूपले बहरको अनावश्यक बन्धनमा बाँधिनभन्दा स्वतन्त्र र स्वदेशी लयका आकाशमा उड्न मन पराए ? कति गजलकारले बहरमा लेख्दालेख्दै बहरको बन्धन तोडेर पनि लेखे । के ती गजलकारहरू सबै अज्ञानी र मुर्ख थिए ?

छन्द वा बहर भनेका शब्द उच्चारण गर्दा उत्पन्न हुने ध्वनिहरूको एक प्राचीन व्यवस्थापन हो । हामीले शब्दोच्चारण गर्दा ध्वनिविज्ञान अनुसार लघु (ह्रस्व) उच्चारण गर्दा छोटो र गुरु (दीर्घ) उच्चारण गर्दा लामो आवृत्ति उत्पन्न हुन्छ । छन्दशास्त्र अनुसार एकमान्त्रिक अक्षरहरू ह्रस्व र द्विमान्त्रिक अक्षरहरू दीर्घ हुन्छन् । यी ह्रस्व र दीर्घ अक्षरहरूको उच्चारण गर्दा उत्पन्न हुने लयात्मक आवृत्ति र सांगीतिकतालाई अनुशासित गर्न संस्कृतमा पिङ्गल आचार्य र गजलका सिद्धान्तशास्त्रीहरूले छन्द र बहर जन्माएका थिए । एकमात्रिक ह्रस्व र द्विमान्त्रिक दीर्घका साथ यहाँ अर्धह्रस्व, अर्ध, दीर्घ, प्लुत स्वरका उच्चारणगत भिन्नतालाई पनि स्मरण गर्न सकिन्छ । यी शास्त्रीय नियमहरू तत्कालीन ज्ञान अनुसार उत्कृष्ट लय सिर्जनाका लागि भएका थिए । तर वर्तमानमा यी शास्त्रीय नियमहरू शस्त्रीय भएका कारणले सम्मानयोग्य भए पनि तिनलाई अनिवार्यरूपमा प्रयोग गरिनु आवश्यक मानिंदैन । यसको कारण शास्त्रीय नियमबाहिर पनि असंख्य लयहरू अस्तित्वमा रहेका हुनु र आधुनिक स्रष्टाहरूको स्वसिर्जित नवीन लयहरूप्रतिको अभिरुचि हो । उदाहरणका रूपमा, शास्त्रीय युगमा उत्कृष्ट संगीत भनेको शास्त्रीय संगीत बुझिन्थ्यो जसको आफ्नो निश्चित भाषा र पद्धति थियो । तर समयक्रममा संगीतमा नवीनता आयो । शास्त्रीय संगीत जन्मनुभन्दा पहिलेका लोकसंगीतहरू र पछिका आधुनिक संगीतहरूका लोकप्रियताबीच अहिले विश्वमा शास्त्रीय संगीतलाई अस्तित्व जोगाउन मुस्किल परेको छ । वर्तमान परिप्रेक्षमा नरराज ढकालमात्र विशुद्ध संगीतकार र गायक हुन्, नारायण गोपाल संगीतकार, गायक नै होइनन् भनियो भने कति सत्य र विश्वसनीय लाग्ला ?

अहिले गजल बहरबद्ध मात्र हुनुपर्छ भन्नेहरूको असामयिक जिद्दी पनि यस्तै हो नरराज ढकालको गायकी मात्र गायकी हो, नारायण गोपालको गायकी गायकी होइन भने जस्तै । लोकसंगीत र आधुनिक संगीत संगीत होइनन् भने जस्तै ।

नेपाली गजलले मोतीराम युगपछि ज्ञानुवाकर पौडेल, ललिजन रावल, बुँद राना, मनु ब्राजाकी र रवि प्राञ्जल आदिको युगसम्म आइपुग्दा कुनै विवादमा नअल्झिई स्वतःस्फुर्त विकास गरिरहेको थियो । संस्कृतबाट नेपाली कवितामा भित्रिएका वार्णिक, मात्रिक लोकप्रिय छन्दहरू र लोकछन्दहरूको पनि प्रयोग गजलमा भइरहेको थियो । लोकछन्दकै हाराहारी मनुब्राजाकीहरूले सममात्रिक आक्षरिक र स्वनिर्मित लयहरूको पनि सफलताका साथ प्रयोग गरिरहेका थिए । गजलको यस्तो स्वाभाविक यात्रामा झमेला तब शुरु भयो जब हिन्दी–उर्दूको प्रभावमा परेका केही गजलकारले बहरमा नलेखिएका अथवा स्वतन्त्र लयमा लेखिएका गजलहरूलाई गजल नै होइन भन्दै पूनर्जागरणका अगुवाहरूलाई समेत अपमान गर्ने गरी आफूलाई स्थापित गर्न अग्रसर भए । तिनले गजलमा शुद्धीकरण अभियानको नाममा नेपाली गजलको इतिहासमा विग्रह र विभाजनका कुरूप धर्सा कोरे । गजलमा बहर प्रयोगको ज्ञान हासिल गरेका तिनले बहरमा गजल रचना गर्ने अभियानलाई मात्र अघि बढाएका भए त्यो नेपाली गजलको इतिहासको एक सुन्दर उपलब्धि हुने थियो तर तिनले अग्रज र समकालीन गजलकारहरूको अपमान, स्वतन्त्र लयविधानमा गजल रचना गर्नेहरूलाई हतोत्साहित पार्ने कार्य गर्न थाले । तिनले देश विदेशमा अरूलाई गाली गर्नु नै साहित्य सेवा हो भन्ठान्ने केही उग्रवादीहरू पनि जन्माए । गजलमा सबभन्दा फोहोरी खेल तब शुरु भयो जब ‘गजल जस्तो देखिने रचना गजल होइन चारु हो’ भनेर हावादारी सिद्धान्तको प्रचार गरिन थालियो । विश्व सामाजिक सञ्जालहरूमा केही उग्रवादीहरूले बहरमा लेखिएको मात्र गजल हो बहरमा नलेखिएको तर गजलजस्तो देखिने रचना चारु हो भन्दै हावादारी प्रशिक्षण सञ्चालन गर्न थाले । त्यसले भर्खर गजल रच्न थालेका युवा गजलकारहरू भ्रमित हुन थाले । कतिले तिनको प्रभावमा परी ‘मैले गजल लेखको होइन रहेछ, चारु लेखेको रहेछु’ भनी आत्मसमर्पण गर्न थाले ।

गजललाई शास्त्रीय बहरमै लेख्नुपर्छ भन्ने कट्टरतावादीहरूमध्ये एक जमात (सबै छैनन्), जसले उग्रवादलाई मलजल गरिरहेको छ, तिनका अहंकार र दम्भको मनोवैज्ञानिक अध्ययन गर्दा के फेला पर्छ भने बहरका नियमहरू नजानेर, नबुझेर, अज्ञानताका कारण वेबहरवादीहरूले छन्दका नियमदेखि विभिन्न लयमा गजल लेखिरहेका छन् र योक्रम बढिरहे हामी बहरवादीहरूको अस्तित्व संकटमा पर्छ भन्ने सन्त्रास हो । यी अहंकार, दम्भ र सन्त्रास सबै आधारहीन छन् । गजलका नवप्रवेशीहरूले बहर नजान्नु अपराध होइन । उनीहरूले आवश्यक लागे र अभिरुचि भए कुनै पनि समय सिक्न सक्छन् । हामी बहरमा लेख्छौँ तिनले नजानेर नलेखेका हुन् भनी फूर्तिफार्ती गर्ने सबैले अभिरुचिले सिक्दै अभ्यासमा गएका हुन् तर सबैले बहरको ज्ञान नभएरै स्वतन्त्ररूपले गजल लेख्न थालेका हुन् भन्नु अरूका बुद्धिमता र अस्तित्वमाथि प्रश्नचिन्ह लगाउनु मात्र हो । यो हामीमात्र श्रेष्ठ हौँ भन्ने श्रेष्ठतावादीग्रन्थी हो जसले विध्वंसमात्र निम्त्याउँछ । जहाँसम्म सन्त्रासको कुरा छ, त्यो एक फोवियामात्र हो । बहरमा नलेख्ने अथवा स्वतन्त्रतापूर्वक लेख्नेहरूले सधैँ बहरको परम्परालाई सम्मान गरेका छन् । यो हाम्रा प्राचीन धर्म, दर्शन, परम्पराहरूलाई सम्मान गरे जस्तै कुरा हो । अर्को कुरा, बहरमा अभिरुचि लिएर सिक्नेहरूको संख्या पनि बढिरहेकै छ । त्यसैले अस्तित्वको संकट मान्ने र निषेधको उग्रतामा लाग्नुपर्ने कुनै कारण देखिँदैन ।

छन्दमा कविता लेख्ने र बहरमा गजल लेख्नेहरूले छन्द र बहरमा अत्यधिक मोह राखेर आधुनिक विश्वमा आधुनिक मोवाइल चलाएर, आधुनिक भूउपग्रह र इन्टरनेटका सहयोग लिएर सधैँ–सबै पुराना नियम र परम्परामात्र ठीक भन्ठान्नुको कुनै अर्थ छैन । समयको परिवर्तनशीलतामा सबै कुरा परिवर्तन हुँदै जान्छन् । विश्व कवितामा छन्दको परम्परा तोडेर गद्यमा कविता लेख्दा वाल्टर ह्टिम्यान र गोपालप्रसाद रिमालहरूले धेरै आलोचना खेपेका थिए । भनिन्छ, छन्दसाधक लेखनाथ पौड्यालले लक्ष्मीप्रसाद देवकोटालाई ‘झयाउरे कवि’ भनी होच्याउँथे । माधवप्रसाद घिमिरेले सय वर्षको उमेरमा टेक्दासम्म गद्य कवितालाई कविता मान्न गाह्रो मान्थे । उनी संस्कृत छन्दमा मात्र कट्टर भने भएनन्, त्यसैले उनले लोकलयहरूमा प्रशस्त गीत–कविता लेखे । हामी गद्य कविहरूलाई उनी माया पनि गर्थे । पोखरामा उनको ८४ औं जन्मोत्सवको सप्ताहव्यापी कार्यक्रम हुँदा उनले भनेका थिए– “साहित्य भनेको हामी सबैको घर हो । मैले लेख्ने कविता घरको आँखीझ्यालजस्तै हो, मोहन कोइरालाजीले लेख्ने कविता आधुनिक झ्यालजस्तै हो । हामीलाई दुवै किसिमका झ्याल चाहिन्छन् ।”

अहिले बहर नै गजल हो भन्ठान्ने कति अगुवा व्यक्तिहरू यही विरोधाभासमा फँसेका देखिन्छन् ।

आचार्य पिङ्गलको छन्दशास्त्रको आधारभूत सूत्र हो– य मा ता रा ज भा न स ल गा । अन्तको ‘गा’ मा कतिले ‘गु’ प्रयोग गर्छन् । यस आधारभूत सूत्रबाट आठ गण निस्कन्छन्– यमाता, मातारा, ताराज, राजभा, जभान, भानस, नसल, सलगा+ल, गा (गु) । यिनको गण र संकेत चिन्ह क्रमशः यस प्रकार छन्ः य गण ISS, म गण SSS, त गण SSI, र गण SIS, ज गण ISI, भ गण SII, न गण III, स गण IIS । ल लघु I गा गुरु S । यहाँ ‘I’ चिन्हले लघु (हस्व), ‘S’ चिन्हले गुरु (दीर्घ) अक्षर भन्ने बुझाउँछ ।

छन्दशास्त्रका नवप्रवेशीहरूलाई आचार्य पिङ्गलको आधारभूत सूत्र य मा ता रा ज भा न स ल गा बाट कुन ठाउँमा लघुशब्द प्रयोग गर्ने, कुन ठाउँमा गुरु शब्द प्रयोग गर्ने र गण निर्माण गर्ने भन्ने अलमल हुनसक्छ । तर यो सजिलै बुझ्न सकिने कुरा हो ।

–   माथि उल्लिखित आधारभूत वाक्यामा दश अक्षर छन् ।

–   पहिलो अक्षर ‘य’ बाट म गण बन्छ । त्यसपछिको दोस्रो क्रमको अक्षर ‘मा’ बाट म गण बन्छ । यसैगरी आठौँ अक्षर ‘स’ बाट स गण बन्छ । यी सबै गणका संकेतचिन्ह माथि दिइसकिएको छ । संकेत चिन्हमा लघु (I) चिन्ह भएको ठाउँमा ह्रस्व र गुरु (S) चिन्ह प्रयोग गरेको ठाउँमा दीर्घ अक्षर प्रयोग गरी शब्द निर्माण गर्ने अथवा कवितामा प्रयोग गर्न त्यस्तो शब्द खोज्ने हो । उदाहरणका लागि आठौँ गण ‘स’ को संकेत चिन्ह IIS हो त्यसैले यहाँ त्यस्तो शब्दको खोजी गर्नुपर्छ जसको अगाडिका दुई अक्षर ह्रस्व होउन् र पछाडिको एक अक्षर दीर्घ होस् । उदाहरणका रूपमा– लहरा ।

–  छन्दशास्त्रको आधार सूत्रको नवौं अक्षर ‘ल’ लाई लघु (I) र दशौँ अक्षर गा (गु) लाई गुरु (S) मानिन्छ । सबै छन्दमा रचित कविता यी गणहरूको समुचित प्रयोग गरेर लेखिन्छ । जस्तो शार्दूलविक्रिडित छन्दमा १९ अक्षर हुन्छन् । यसको गण, गणचिन्ह र कविताको एक हरफ यसप्रकार छ:

शार्दूलविक्रीडित छन्द

म         स         ज           स         त         त      गुरु

SSS     ISS      ISI       IIS       SSI      SSI      S

दाना सुन्दर स्वर्णका झलझली देख्लान् गुडेका कण

यस कवितामा अन्तिम अक्षर ‘ण’ ह्रस्व हो तर अन्तिम चिन्ह दीर्घ (गुरु) भएकोले ह्रस्व भए पनि दीर्घ मानिने चलन छ । यही कारण भनिएको छ– अपि मास मसं कुर्यात् छन्दोभङ्ग नकारयत् अर्थात् बरु मास शब्दलाई मस बनाऊ तर छन्दभङ्ग नगरियोस् ।

यसबाट एउटा कुरा प्रष्ट बुझिन्छ– आचार्य पिङ्गलादि छन्दशास्त्रीहरूले छन्दव्यवस्था निर्धारण गर्दा नमिलेको वा असजिलो परेको ठाउँमा आफूलाई चाहिंदो स्वतन्त्रता लिएकै थिए । यदि होइन भने मासलाई किन मस भन्ने, ह्रस्वलाई किन दीर्घ मान्ने ?

यो छन्दशास्त्रको दोष हो कि स्वतन्त्रताको चाहना हो ? छन्दवादीहरूले सोचुन् ।

संस्कृतमा छन्द जस्तै फरसीमा लयका लागि प्राचीन ज्ञानअनुसार बहरहरू निर्माण भएका थिए । शास्त्रीय छन्दमा गण जस्तै बहरमा ‘रुक्न’ हुन्छन् । जसको समूहलाई ‘अर्कान’ भनिन्छ । संस्कृत छन्द लिखित वर्णविन्यासमा आधारित हुन्छन्, बहर उच्चारण गरिने ध्वनिमा । उच्चारण गरिने ध्वनिको आधार लिने भएकाले रुक्नमा गणमा जस्तो अक्षरगत एकरूपता पाइँदैन । रुक्नमा ह्रस्वलाई (१) र दीर्घलाई (२) संकेत चिन्ह दिइन्छ । वर्णविन्यासमा आधारित नभएर उच्चरित ध्वनिमा आधारित भएकाले पिङ्गल छन्दमा कविता लेख्नुभन्दा बहरमा गजल लेख्नु बढी सजिलो मानिन्छ । शास्त्रीय छन्दमा आठवटा गण भए जस्तै बहरमा मूल आठ रुक्न हुन्छन्– फउलुन्, फाइलुन्, मफाईलुन्, फाइलातुन्, मुस्तफइलुन्, मुतफाइलुन्, मुफाइलतुन्, मेफ्ऊलातु । यी बाहेक अन्य मिश्रित रुक्नहरू हुन्छन् । रुक्नहरूका मात्रा र संकेत चिन्हरू बहरसम्बन्धी प्रत्येक किताबमा दिइएका हुन्छन् । जस्तोः फउलुन् रुक्नको मात्रा १२२, संकेत चिन्ह ISS ।

पद्यकविता गणहरूको निश्चित व्यवस्था अनुसार लेखिए झैँ गजल पनि रुक्नहरूको व्यवस्था अनुसार लेखिने शास्त्रीय चलन हो । यहाँ मेरो प्रश्न छ, गजलका शास्त्रीहरूले लेख्य वर्णलाई आधार नमानेर उच्चारित ध्वनिका आधारमा बहरहरू निर्माण गर्नु स्वतन्त्रताको उपयोग गर्नु हो कि होइन ? लचकताको नियम, मात्रा मिलावट, गिरावट, चढावट आदि नियममा स्वतन्त्रता दिइएको हो कि होइन ? आजको साहित्य रचनाको आधार (बहर निर्माणको आधार) उच्चरित ध्वनिलाई मात्र मान्ने हो भने उच्चरित ध्वनि त देश, काल, परिस्थिति अनुसार भिन्न–भिन्न हुन्छन् । बहर तत्कालीन अरब देशको काल र परिस्थिति अनुरूप निर्माण भएको होला, तर यो सबै देश र परिस्थितिमा कसरी अनिवार्य र आवश्यक हुनसक्छ ?

यी सबै यथार्थलाई विचार गरी बहरका कट्टरतावादीहरूले असामयिक हठ त्याग गर्नु नै उपयुक्त हुन्छ ।

गजल बहरमा लेखेर वा स्वतन्त्र लयमा लेखेर मात्र गजल हुँदैन, यसका लागि तगज्जुल (चमात्कारिक भनाइ), अन्दाजे वयाँ (अभिव्यक्ति कौशल), तख्युल (चिन्तन, तर्क, काव्यशीलता) का साथै अन्य साहित्यिक गुणहरू चाहिन्छन् भन्ने कुरा महत्त्वपूर्ण छ । नेपाली गजलकारहरूमध्ये केही बहरवादी गजलकारले अहम्को लडाइँ गरेको देखिए पनि व्यवहारमा भने त्यति धेरै वैमनष्य देखिंदैन । प्रा.डा. देवी नेपालको ‘छन्द पराग’ (२०६२), अनाममण्डलीद्वारा प्रकाशित ‘नेपाली गजल – विगत र वर्तमान’ (२०६४), कृष्णहरि बरालको ‘गजल सिद्धान्त र परम्परा’ २०६४), घनेन्द्र ओझाको ‘नेपाली गजलः सिद्धान्त र विवेचना’ (२०६७), गोर्खे साइँलोको ‘गजल दर्शन’ (२०६६), आवाज शर्माको ‘अरूज विज्ञान’ (२०७३), नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा संकलित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ (२०७६) र अन्य गजलसम्बन्धी ग्रन्थहरूमा नेपाली गजलको इतिहासको विकासक्रम, गजलका उद्धरण आदि ससम्मान वर्णन गरिएको पाइन्छ । राष्ट्रिय गजल महोत्सव – २०७६ को कार्यक्रम पुस्तिकामा प्रकाशित ‘गजलको सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ नामको गोष्ठीपत्रमा डा. घनश्याम न्यौपाने ‘परिश्रमी’ले लयमा विभिन्न प्रयोग भएको स्वीकार गर्दागर्दै शास्त्रीय बहरप्रति अतिशय आग्रह राखेका छन्, तर उनीद्वारा नै सम्पादित (अर्का सम्पादक गोपाल अश्क) ‘प्रज्ञा आधुनिक नेपाली गजल’मा सबै किसिमका गजललाई स्थान दिएका छन् । हालै मधुपर्कमा ‘गजल शुद्धीकरणमा सम्पादनको भूमिका’ नामक लेखमा घनश्याम न्यौपाने ‘परिश्रमी’ले शास्त्रीय बहरमा लेखिएका बाहेक अन्य सबै अगजल हुन् भन्ने आशय व्यक्त गर्दै सम्पादकहरूलाई त्यस्ता रचना गजल भनेर नछाप्न आग्रह गरेका छन्  । यस्तो आग्रह पूर्वाग्रह राख्नु गजलमा अतिवाद र उग्रवाद जन्माउनु हो । उनी गजलमा विद्यावारिधि गरेका विद्वान् हुन्, मेरा प्रिय भाइ हुन् । म उनलाई बेलैमा आत्मआलोचना गर्न सुझाव दिन्छु । गजललाई अनाहकको शुुद्धीकरण गर्ने भनिए झैँ नेपाली कविता, नाटक, कथा, उपन्यास, निबन्धलाई शुद्धीकरण गर्ने हो भने नेपाली साहित्यमा कति किताब बाँकी रहला ? के देवकोटाले ‘प्रमिथस’ महाकाव्य र समले ‘चिसोचुल्हो’ महाकाव्य संस्कृत छन्द नजानेर रचेका हुन् र ?

प्रत्येक गजलकारलाई आफ्नो गजल शुद्ध पार्ने अधिकार हुन्छ अरूका इतिहास र गजललाई शुद्ध पार्ने अधिकार हुँदैन । अरूका गजललाई ‘चारु’ आदि नाम दिएर भाँडभैलो मच्चाउने अधिकार हुँदैन ।

गजलका अधिकांश तत्त्वहरू प्रयोग भएर जीवन्तरूपले उभिएका नेपाली गजललाई लयको अरबी बस्त्र थोबे र अबाया लगाइदिने कि दौरा–सुरवाल, भोटो–कछाड, गुन्यु–चोलो लगाइदिने– यो स्वतन्त्रता गजलकारहरूमा सुरक्षित हुनुपर्छ ।

सामाजिक सञ्जालहरूमा उग्रवादीहरूका यस्ता गतिविधि देख्दा र तिनले गुरु मान्ने केहीका विभाजनकारी लेख रचना पढेपछि आहत् महसूस गरी धेरै गजलकारहरूले निराश भएर गजल लेख्न छाडे । नेपाली गजलमा वर्तमानमाा देखिएका यस्ता अवाञ्छित गतिविधि बीच हाम्रा विचार जनसमक्ष प्रस्तुत गर्नुपर्छ भन्ने धारणा राखी हामीले पोखरेली गजलप्रेमी समूहको नाममा पौष १५ गते एक औपचारिक कार्यक्रम गरी यो सातसूत्रीय घोषणापत्र जारी गरेका हौँ ।

पोखरेली गजलप्रेमी समूह, पोखरा

गजल घोषणापत्र–२०८१

सिर्जनधर्मिता र रचनात्मक वादविवाद एवम् संवादले साहित्य समृद्ध बन्छ । केही समययता सामाजिक सञ्जाललगायत विभिन्न माध्यममा नेपाली गजलको सहअस्तित्वयुक्त विकासक्रमलाई प्रहार गरी अराजकता सिर्जना गर्ने, अशिष्ट भाषाशैलीमा भिन्न मतका गजलकारहरूलाई होच्याई आफूलाई ‘गजलको आधिकारिक पण्डित हुँ’ भनी ठान्ने र गजल लेखनमा लागेकाहरूलाई भ्रमित पारी निहीत स्वार्थ सिद्ध गर्न खोज्ने थोरै सङ्ख्याका व्यक्तिहरूले गजल शुद्धीकरणका नाममा गालीगलौज गरिरहेको देखिएको हुनाले सबैलाई सचेत र सजग पार्न हामी पोखरेली गजलप्रेमीहरूको समूहले गजलसम्बन्धी अन्तक्रिया कार्यक्रम गरी बुँदागत रूपमा यो गजल घोषणापत्र–२०८१ जारी गरेका छौँ ।

१.   नेपाली साहित्यको कवितामा लोकछन्द, शास्त्रीय छन्दोबद्ध कवितालेखन परम्परा झैँ नेपाली गजलमा बहरबद्ध गजल लेखन परम्पराको संरक्षण र विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

२.  तीसको दशकदेखि नेपाली गजल लेखनमा भित्रिएको स्वतन्त्र लयविधानयुक्त गजल लेखनको नवीन परम्परा, जसले सुस्ताएको गजल लेखनलाई पुनरुत्थान गरी यस अवस्थासम्म ल्याइपुर्याउन ठूलो भूमिका खेलेको छ, जुन अहिले नेपाली गजलकारहरूबीच लोकप्रिय रहेको छ, यसको निरन्तर विकास हुनुपर्छ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

३.   नवीन शिल्पशैली, विषय र चिन्तनहरू भित्रिरहनुले साहित्यलाई स्वस्थ र समृद्ध बनाउँछन् । प्राचीन छन्दहरूको लयविधानबाट मुक्त भई विश्वव्यापी रूपमा गद्य कविताको विकास भएझैँ गजलको बहर अर्थात् प्राचीन लयविधानबाट मुक्त भई स्वतन्त्र लयविधानयुक्त गजलको विकास हुनु एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ ।

४.  केही व्यक्तिहरूले नेपाली गजललेखनमा अनावश्यक विवाद उत्पन्न गरी, अराजकताको सिर्जना गरी गजललाई शुद्ध पार्ने नाममा आफ्नो स्वार्थसिद्ध गर्दै बहरमा नलेखिएका सबै गजल गजल नभई त्यस्ता गजललाई अनेकौँ ‘हास्यास्पद नाम’ दिई हावादारी सिद्धान्तकार बन्ने र नेपाली गजलको स्वाभाविक विकास प्रक्रियालाई विभाजन गरी विशेष गरी नवोदित गजलकारहरूलाई दिग्भ्रमित पारिहेका छन् । हामी यसको घोर भर्त्सना गर्दछौँ । स्वतन्त्र रूपले गजल रचना गर्ने विश्वभरका नेपाली गजलकारहरूलाई आफूले लेखेको स्वतन्त्र लयविधानका गजललाई गजल नभई ‘अरू नै केही’ रहेछ भनी भ्रममा नपर्न आग्रह गर्दछौँ ।

५.   छन्दमा नलेखी कविता हुँदैनथ्यो भने छन्दका महासाधक महाकवि लक्ष्मीप्रसाद देवकोटा र बालकृष्ण समले गद्य शैलीमा फुटकर कविता, खण्डकाव्य, महाकाव्य रचना गर्ने थिएनन् । बहर पनि गजल लेखनको प्राचीन छन्द हो त्यसैले स्वतन्त्र रूपले गजल रचना गर्नु गद्य शैलीमा स्वतन्त्र रूपले कविता रचना गर्नु जस्तै एक स्वाभाविक विकास प्रक्रिया हो भन्ने कुरामा हामी विश्वस्त छौँ । प्राचीन शास्त्रीय परम्परा मात्र ठिक र अरू बेठीक भन्ने सोच राखिएको भए विश्व साहित्य र नेपाली साहित्यमा गद्य कविता, आधुनिक नाटक, कथा, उपन्यास, निबन्ध कुनै पनि विधा जन्मने थिएनन् भन्ने यथार्थमा सबै साहित्यकार र विशेष गरी गजलकारहरूको ध्यान आकृष्ट गर्दछौँ ।

६.   शास्त्रीय बहर र स्वनिर्मित,स्वतन्त्र लयविधान दुवै शैलीमा लेखिएका गजललाई उत्तिकै सम्मान गर्नुपर्छ र ती दुवै शैलीका गजलका आआफ्ना अस्तित्व र महत्त्व छन् भन्ने कुरामा हामी विश्वास गर्दछौँ ।

७.   यदि गजलका धेरै तत्त्वमध्ये एउटा तत्त्व ‘बहर’ प्रयोग नगरी गजल गजल बन्दैन भन्ने हो भने गजलका रदिफ, काफिया, मतला, मकता, मिसरा, शेर आदि अर्थात् गजलका अधिकांश तत्त्वहरू प्रयोग गरेर लेखिएका रचना कथित ‘नयाँ विधा’ कसरी बन्न सक्छ ? बहर र गैरबहरका नाममा लगाइने आक्षेप, गालीगलौज र आरोपप्रत्यारोपलाई तिलाञ्जली दिँदै नेपाली गजलको समुन्नतिको मार्गमा सहअस्तित्वमूलक ढङ्गले हामी सबै लागौँ र नेपाली गजलको इतिहासलाई कुरूप पार्ने, धमिल्याउने र विभाजित पार्ने तत्त्वहरूदेखि सावधान हुन हामी अपिल गर्दछौँ ।

… 

प्रस्तुत पोखरा घोषणापत्र नेपाली गजलको इतिहासमा सहअस्तित्वको एक दस्ताबेज हो । यो दस्ताबेजले बहरमा गजललेखन गर्न, नेपाली जातीय छन्द र स्वनिर्मित लयमा गजल लेखन गर्ने सबै प्रवृत्तिलाई सम्मान गरेको छ । भर्खरै गजल लेखनमा पाइला चालेका नवप्रवेशी गजलकारहरूले पनि प्रष्ट बुझ्न र आफ्नो लक्ष्यपथ आफैँ चयन गर्न सकून् भन्ने अभिप्रायले बहरको कुरा गर्दा शास्त्रीय छन्दको पनि सँगसँगै चर्चा गरिएको हो ।

विश्वको साहित्यको इतिहासमा छन्द र बहरको हजारौँ र सयौँ वर्ष लामो इतिहास छ । यी प्रविधिमा दक्षता हासिल गर्न लामो साधना गर्नुपर्छ । यसैले छन्द र बहर प्रविधिप्रति आधुनिक साहित्यकारहरूमा पनि सम्मानको भावना हुनुपर्छ । कोही आधुनिक हुँदैमा प्राचीनताको असम्मान गर्न मिल्दैन । यसैगरी कोही प्राचीनताको पूजारी हुँदैमा आधुनिकतालाई हेय दृष्टिले हेर्न पनि मिल्दैन । आधुनिक प्रविधिहरूमा दक्षता हासिल गर्न पनि उत्तिकै साधना गर्नुपर्छ । नेपाली गजलकारहरूले जन्माएको जातीय एवम् स्वनिर्मित लयसाधनाले नेपाली गजलमा नेपाली मौलिकता थपेको छ । नेपाली गजलकारहरूको यो मौलिकताको खोजी प्रयासले भविष्यमा अरू देशका गजलकारहरूलाई पनि प्रभावित गर्ने क्षमता राख्छ । हिन्दी उर्दूभाषी गजलकारहरूले नगरेको काम हामीले गर्नुहुँदैन भन्ने एक प्रकारको औपनिवेशिक सोचबाट नेपाली गजलकारहरू मुक्त हुनुपर्छ ।

पोखरा घोषणापत्रले संकेत गरेको अवाञ्छित प्रवृत्तिहरू, विद्वेष र विभाजनकारी प्रवृत्तिहरूको अब अन्त्य हुनुपर्छ । सबैका अस्तित्वलाई सम्मान गर्ने नयाँ वातावरण बन्नुपर्छ । नेपाली गजललाई दुष्प्रभाव पार्ने गरी व्यक्तिगत लहडबाजीमा खोलिएका दोकानहरू बन्द हुनुपर्छ ।

नेपाली गजल अब सहअस्तित्वको युगमा प्रवेश गर्नुपर्छ ।