माेटामाेटी रूपमा गजल के हाे र कसरी नेपालीमा गजल भित्रियाे भन्ने ऐतिहािसक कुराहरू अहिलेका पाठकले बुझिसकेका छन् । त्यसैले म त्यतातिर लाग्दिनँ । सिधै खास विषयमा प्रवेश गर्छु । पछिल्लो समय ‘पोखरेली गजल घोषणापत्र’ जारी भएसँगै पुनः सतहमा आएको गजल विवादतर्फ लागाैं ।

गजल विवादकाे चुराे कुराे के ?

गजल लेखन परम्परामा देखापरेका २ धार नै विवादका कारण हुन् : १) बहरबद्ध, २) माैलिक ।

बहरबद्ध गजल लेखन परम्परा अन्तर्गत गजल लेख्नेहरू बहरका नियमहरूकाे अक्षरश: पालना हुनु पर्दछ भन्ने मान्यता राख्छन् र साेही बमाेजिम कलम चलाउँछन् । याे परम्परा प्राचीन परम्परा हाे । नेपाली गजलमा प्राचीन शब्दले लगभग ढेड सय वर्ष अगाडिकाे समय सङ्केत गर्दछ । यही समयमा माेतीराम भट्टले नेपालीमा गजल भित्र्याएकाे इतिहास हामीसामु छ । माेतीराम समयका गजलहरू बहरबद्ध त थिए तर भाषाप्रतिकाे सतर्कता कम थियाे । बहर मिलाउन ह्रश्वलाई दीर्घ र दीर्घलाई ह्रश्व लेखिएकाे पाइन्छ । भाषाकाे मानक रूपकाे अभाव त्याे बेलामा पनि देखिन्छ । लेख्य भाषामा मानक निर्धारण नभएपछि ‘छन्द के, बहर के ? जसरी पनि मिलाए हुने’ स्थिति त्यहीबेलामा रहेकाले कताकता भाषाका पक्षधर र छन्दबहरका पक्षधरबीच पछि गएर विवाद हुनसक्ने सङ्केत उसैबेलामा पनि विद्यमान रहेकाे देखिन्छ ।

बहरकाे नाममा भाषा बिगार्नुभन्दा स्वनिर्मित लय ठीक हाे । यसले गजललाई यान्त्रिकताबाट छुटकारा पनि दिने र भाषा भूगाेल सुहाउँदाे पनि हुने भन्ने एउटा मत जन्मियाे, र पूनर्जागरण कालमा याे शैली प्रयाेग भयाे । समयसँगै यसले लाेकप्रियता हाँसिल गर्याे । माैलिक लयमा लेख्नेहरू आफ्नाे परिवेश सुहाउँदाे लय हुनुपर्छ भन्ने मान्यता राख्छन्, गजलमा आफ्नै भूगाेल मुताविक सुगन्ध हुनुपर्छ भन्छन् । गजलका अरू सबै नियम दुवैथरीका एउटै हुन् । जब गजल संरचनामा प्रयुक्त हुने लयकाे कुराे आउँछ तब मत बाँझिन्छ । गजल गेय विधा हाे भनेपछि लय यसकाे अनिवार्य तत्त्व हाे भन्नेमा सबैकाे स्वीकाराेक्ति देखिन्छ तर लय कस्ताे हुने ? – विवाद यहीं छ । एकथरीकाे मत बहरबद्ध हुनुपर्छ भन्ने र अर्काेथरीकाे मत बहरमुक्त (स्वनिर्मित) लय प्रयाेग गर्ने भन्ने कुराेमा विवाद अल्झेकाे देखिन्छ । यही विवादमा दुई समूह प्रष्टै भएर देखा परे । यद्यपि बहर निषेध गर्ने कुरा कसैले गरेका छैनन् र यसले उच्च स्थान पाएकाे छ । यदाकदा गैरबहर निषेधकाे स्वर सुनिन थालेपछि याे विवाद चुलिएकाे हाे ।

खास कुरा के हाे त ?

खास कुरा के भने, नेपालीमा लेखिने कुनै पनि साहित्यिक विधाकाे प्रस्ट र अकाट्य सिद्धान्त शास्त्र छैन । सबै विधामा कलम चलाउने आधार भनेकाे आयातित शास्त्र (पूर्वीय र पश्चात्य) नै हुन् । सिर्जनाले बन्धन स्वीकार गर्दैन र यस्ता शास्त्रीय नियमहरू समय समयमा भत्काएर सिद्धान्तकाे धार परिवर्तन गर्छ । अगाडि बढ्ने क्रममा त्यहाँकाे भाषा, भूगाेल, संस्कृति अथवा परिवेश सुहाउँदाे स्वरूप साहित्यले बिस्तारै ग्रहण गर्छ । स्वरूपमा बेलाबेला आउने परिवर्तनलाई समाजले स्वीकार गर्दै जान्छ । यही नै साहित्यकाे नियम हाे । यसै मान्यता अनुरूप गजलमा आधुनिकताकाे रङ ६० काे दशकदेखि पाेतियाे ।

संरचनावादीहरूलाई यही प्राकृतिक नियम स्वीकार गर्न गाह्राे भयाे र भाववादीहरू आफ्नाे धारलाई मान्यता दिलाउने कसरतमा जुटे । यद्यपि, भाववादीहरूकाे संरचना पनि संरचनावादीकाे भन्दा फरक छैन । कुराे ह्रश्व र दीर्घमै अल्झेकाे पाइन्छ ।

संरचनावादीले बहरकाे नाममा भाषाकाे दाेहाेलाे काढेकाे भाववादीलाई असह्य भयो । शब्दलाई आफ्नाे सहजता अनुरूप परिवर्तन गर्ने, बहरकै लागि ह्रश्वलाई दीर्घ र दीर्घलाई ह्रश्व लेख्ने अनि विद्वता छाँट्ने परिपाटीले भाववादीकाे चित्तमा नकारात्मक वृत्ति उठायाे । भावप्रति उदासिन यान्त्रिक गजल सिर्जना गरेर नेपाली गजलकाे श्रीवृद्धि हुँदैन भन्ने मत भाववादीहरूकाे रहेकाे पाइन्छ । भाववादीहरू भावलाई महत्त्व दिई संरचना पक्ष (विशेष गरी लय) मा उदासिन देखिनुले संरचनावादीकाे चित्तमा उस्तै वृत्ति जगायाे । यस्ताे मनाेवृत्ति बाेकेका दुईथरी बीचकाे मतभेद नै गजलकाे विवाद हाे, अरू कुराे केही छैन ।

आफ्नाे मनाेग्रन्थीमा सुधार गर्नुभन्दा विवाद सतहमै ल्याएर गालीगलाैजमा उत्रिनु यसकाे सबैभन्दा कुरूप पक्ष हाे । कला साहित्यमा आफ्नाे अग्रजका फुलेका केश पनि यसले देख्न छाेडेकाे हामी पाउँछाैं, याे लज्जास्पद र निन्दनीय अवस्था हाे ।

यसकाे समाधान छ ?

एउटै समाधान हाे मनाेग्रन्थीकाे सुधार, अर्काे उपाय छैन । यसकाे सुधार नभएसम्म संविधानमै गजलकाे सिद्धान्त लेखे पनि याे विवाद कायमै रहन्छ । मनाेविज्ञानकाे गहिराईमा पुगेर हेर्ने हाे भने बहरवादीमा आफ्नाे मिहिनेत र साधनाकाे उच्च मूल्याङ्कन कसरी गराउन सकिन्छ भन्ने र गैरबहरवादीकाे आफ्नाे लेखनीलाई कसरी स्थापित गराउन सकिन्छ भन्ने आकांक्षा यहाँ प्रष्टिन्छ । यसरी हेर्दा विवाद रचनाकाे केन्द्रमा बहरवादी नै देखिन्छन् । किनभने, गैरबहरवादीले बहरकाे सम्मान गरेका छन् भने बहरवादीले निषेधकाे तारतम्य बुनेका छन् । यही नै अहिलेकाे यथार्थ हाे । जुन दिन बहरवादीले गैरबहरकाे सम्मान गर्छन् त्याे दिन याे विवाद स्वत: अन्त्य हुन्छ ।

के यस्ताे हुनु सम्भव छ ?

याे कुनै हालतमा सम्भव छैन । हृदय परिवर्तन, विज्ञान र अध्यात्मकाे साधनाबाट पनि सम्भव छैन । आफूलाई जति परिवर्तन गर्छु भने पनि मनमा इच्छा जाग्छ र वातानुकूल याे विस्फाेट हुन्छ ।

गर्ने के त ?

सर्जकलाई जे उचित लाग्छ त्यही गर्ने । हृदय पाेखाउन जुन माध्यम उचित लाग्छ त्यही प्रयाेग गर्ने । इतिहासले त्यही भन्छ । महान् रचनाले शास्त्र भत्काउँछ र पुनर्संरचित गर्छ । यही नै साहित्यकाे नियम हाे । बहरवादीले गैरबहरवादीलाई बाहिरी रूपमा स्वीकार्छन् र भित्री रूपमा बेवास्ता गर्छन्, याे अवस्था दाेस्राे पक्षमा पनि रहन्छ, र रहिरहन्छ । कालान्तरमा कुनै महान् रचना दिएर दुवै पक्षले एक अर्कालाई हृदयबाटै स्वीकार गर्ने अवस्था सिर्जना गरे भने यसमा केही समाधान हुनेछ, पूर्णरूपमा भने हाेइन । आफ्नाे लगाव अनुसारकाे आक्षेपकाे परम्परा फेरि पनि जीवित नै रहन्छ । अहिलेकाे विवाद चाँडै टुङ्गाेमा पुग्ने छैन ।

समाधान के ?

समाधान सर्जककाे हातमा मात्र छ । आफ्नाे हृदयले उचित ठहर्याएकाे संरचनामा गजल लेख्ने र लेखिरहने । बहरवादी हुन् या गैरबहरवादी हुन्, उनीहरूकाे बहकाउमा नलाग्ने । ती दुवैथरीका सम्प्रदायकाे सदस्य बन्नु गजलकारलाई केही जरुरी छैन । कालान्तरमा लेखनीकाे मूल्याङ्कन हुन्छ र समयसँगै नेपाली गजलले आफ्नाे रूप निर्धारण गर्छ । गजलकाे दुई धारकाे नाम परिवर्तन हाेला तर पूर्णरूपमा एउटै कित्तामा उभिने सम्भावना न्यून छ । बरु परम्परित र आधुनिक भनेर गजलका दुई स्वरूपले मान्यता प्राप्त गर्ने सम्भावना अधिक रहेकाे देखिन्छ ।