त्यस दिन महाराज पाण्डुको साहिँलो छोरो फाल्गुन अथात् अर्जुनको जन्मोत्सव थियो ।

ऊ आज चौधौ‌ पूरा गरेर पन्ध्रौं वर्षको सोपान उक्लिँदै थियो । शतशृंग पर्वतमा कल्याणकामी ऋषि– गणको सान्निध्यमा महाराज पाण्डुले आफ्ना पाँचै भाइ देवतेजोत्पन्न पराक्रमी पुत्रहरूलाई परम स्नेहले पालन–पोषण गरी उत्तम शिक्षा दिएर सर्वगुण–सम्पन्न बनाएका थिए । उता वसुदेवले यो सबै समाचार थाहा पाएर आफ्नी दिदीका सन्तानहरू वा भनौं भान्जाहरूको समस्त सनातनी संस्कार सम्यक् तवरले सुसम्पन्न होस् भन्नाका खातिर समग्र यथायोग्य सरजाम र द्रव्यको व्यवस्था मिलाएर कुन्तीका समीप पठाएका थिए । ऋषिगण ती पाँचै भाइलाई पुत्रवत् स्नेह गर्दथे । तिनले उनको सकल संस्कार र विद्याध्ययनको अनुष्ठान कुशलताका साथ सम्पन्न गराएका थिए । त्यहाँ एक परम–पराक्रमी शर्याति–वंशका राजा थिए– शुक । तिनी समस्त प्रजाकृत्य सम्पन्न गरेर जीवनको उत्तरार्धमा तपोवृत्ति लिएर त्यहीं शतशृंग पर्वतमा ऋषिगणका साथ निवास गर्दथे । उनले  पाण्डुपुत्रहरूको यथायोग्य शिक्षा–दीक्षा र तालीमको उत्तम व्यवस्था गरिदिएका थिए । आ–आफ्नो जन्मजात संस्कार अनुरूप नै ती पाँच भाइ नितान्त मौलिक व्यक्तित्वका धनी थिए ।

तालीम पाउँदै जाँदा जेठा युधिष्ठिर तोमर–प्रहार–कलामा पारंगत बने ।

माइला भीमसेन गदा–सञ्चालनमा अनुपम बने ।

साइँला अर्जुन धनुर्वेदका पण्डित बने ।

काइँला र कान्छा भाइ नकुल र सहदेव तरवार र ढाल–सञ्चालनमा निपुण बने ।

यी सबैमा पनि अर्जुन शक्ति, खड्ग, वाण, तोमर आदि सकल शस्त्र–प्रयोगमा बेजोड बने ।

त, त्यसदिन अर्जुनको शुभ–जन्मोत्सव धूमधामसँग मनाउने तैयारी चल्दै थियो । कुन्तीलाई भ्याई–नभ्याई थियो । मौसम सारै मनोहर थियो । पाण्डुका मनमा रसमय तरंगको रंग चढेको थियो । उनी रूप–यौवन–मत्ता मदिरेक्षणा कान्छी पत्नी माद्रीलाई लिएर चूपचाप एकान्त वन–विहारमा प्रवृत्त हुँदा भए । समस्त वनोद्देशमा पलाश, तिलक, चम्पा, पारिभद्रक आदि फल–फूलहरूको समृद्धि थियो । हर्षोल्लासमय परिवेश थियो । ती पाण्डु यौवनोन्मत्ता माद्रीका साथ मधुमय मादकताको अनुभव गर्दै वन–विचरण गर्दै थिए । त्यस दिन माद्री स्निग्ध रेशमी परिधानले शोभिता थिइन् र सारै उत्तेजक देखिएकी थिइन् । एकान्त वनोद्देशमा पाण्डुको मन अनायास काम–भावनाको वशीभूत भयो, अर्थात् जे नहुनु थियो– त्यही भयो ।

एउटा रमणीय लता–कुञ्जमा पाण्डुले माद्रीलाई कामावेगका साथ यकायक बाहुपाशमा आबद्ध गरे । माद्री राजाको यस्तो चेष्टा देखेर झस्किइन् र राजालाई तत्काल त्यस कर्मबाट निवृत्त गराउन प्रयास गरिन् । तर, राजाले उनलाई बलियोसँग बाहुपाशमा बाँधेका थिए । प्रारब्धले खेल खेलिरहेथ्यो । उनी अदम्य कामोत्तेजनाले ग्रस्त बनेर माद्रीसँग कामचेष्टा–रत रहे र उनीलाई आफ्नो वशमा लिए । माद्रीको केही जोड चलेन, उनी परवश बनिन् । पाण्डु आवेगपूर्वक उनीसँग केलि–क्रीडामा प्रवृत्त भए । शायद साक्षात् कालले नै ती तपोनिष्ठ बुद्धिमान् पाण्डुलाई आफ्नो वशमा लिइसकेको थियो । फलतः माद्रीसँग समागम गरिरहेकै बेला अचानक उनी काल–वशीभूत भए । उनको प्राणतन्तु यकायक टुट्यो । ऋषि किंदमको शाप चरितार्थ भयो । हेर्दाहेर्दै पलभरमा उनी छट्पटाउन थाले, श्वास–गति अवरुद्ध हुनाले उनको अन्तिम हिक्का छुट्यो । उनको प्राणान्त भयो । उनी निश्चेष्ट बने ।

विचरी माद्री डाँको छोडेर रुन थालिन् ।

त्यसै बेला उनीहरूलाई खोज्दै महारानी कुन्ती, र पाँचै भाइ पाण्डवहरू त्यहाँ आइपुगे । माद्रीले लता–कुञ्जभित्रैबाट करुण स्वरमा भनिन्– दिदी, हजुरमात्रै मेरो छेउमा आउनुहोला । हतार–हतार कुन्ती पुष्पलतिका पन्छाउँदै लता–कुञ्जमा छिरिन् । त्यहाँ जमीनमा सुकुमार पुष्पशय्यामा सम्भोगरत अवस्थामा पाण्डुको शरीर माद्रीको बाहुपाशमा निश्चेष्ट थियो । कुन्तीको होश उड्यो । उनी करुण स्वरले विलाप गर्न थालिन्, रुँदै भनिन्– माद्री, तिमीले यो के गर्यौ? किंदमको शाप लागेको छ भनेर जान्दा–जान्दै तिमीले किन उहाँलाई रोकिनौ ? माद्रीले भनिन्– मैले लाख चेष्टा गरें दिदी । तर उहाँले क्यै गरी मान्नुभएन । मेरो केही जोड चलेन । कुन्तीले भनिन्– यो सबै दुर्र्र्दैवको खेल हो । तर तिमी भाग्यमानी रहिछौ । अन्तकालमा उहाँको मुखचन्द्रको दर्शन गर्न पायौ ।

प्राणान्त भइसक्दा पनि पाण्डुको प्रसन्न मुहार अहिल्यै हाँसिहाल्ला जस्तो थियो । मोहवश कुन्ती उनको देह अँगालेर रुन थालिन्, माद्री पनि उनलाई अँगालेर रुन थालिन् । सबै छोराहरू पनि कुञ्जमा पसे, पाण्डुका चरण समाएर आमासँगै  विलाप गर्न थाले ।

आँशु केही थामिएपछि कुन्तीले राजासँग सती जाने अठोट व्यक्त गरिन्, माद्रीले उनलाई रोकेर आफू सती जाने संकल्प लिइन् । त्यहाँ भेला भएका समस्त ऋषि–मुनिहरूले उनीहरूलाई त्यसो गर्न रोके र भने– पाँच जना पुत्रहरूलाई अनाथ बनाएर त्यस्तो काम गर्नु किमार्थ उचित होइन । कुन्ती र माद्रीका बीच धेरै गहन संवाद चल्यो । अन्तमा माद्रीले कुन्तीलाई मनाउँदै भनिन्– दिदी, मसँग समागम गर्दागर्दै महाराजको प्राण गयो । यस लोकमा मात्र होइन, परलोकमा पनि मैले उहाँको कामनालाई परितृप्त गर्नु मेरो परमकर्तव्य हो र अहोभाग्य पनि । यी सबै पुत्रहरूलाई म सम्हाल्न पनि त सक्तिनँ । हजुरलाई यी मेरा पुत्रहरू पनि जिम्मा लगाएर म उहाँसँगै जान चाहन्छु । कर जोडी बिन्ती छ– मलाई अनुमति दिनुहोस् । यति कुरा गरेर माद्री महाराज पाण्डुको चिता चढिन् र पाण्डुका शवसँगै भष्मावशेष बनिन् । समस्त अन्त्यकर्म ऋषिहरूको सान्निध्यमा सम्पन्न भयो ।

महाराज परलोकगमन पछि  समस्त ऋषिगण मिलेर कुन्ती र पञ्चपाण्डवलाई लिएर हस्तिनापुर प्रस्थान गरे । पाण्डुको अवसानपछि अब तिनको अभिभावकत्व हस्तिनापुर दरबारमा आइपुगेको थियो । दरबारको मूलद्वारमा आइपुगेर समस्त मुनिगणले राजालाई आगमनको सूचना पठाए । सारा नगरवासीहरू महाराज पाण्डुपुत्र, महारानी कुन्ती र ऋषिगणको दर्शनार्थ आइपुगे । उता दरबारभित्रबाट पितामह भीष्म, माता सत्यवती, महाराज धृतराष्ट्र, गान्धारी, विदुर, माता अम्बालिका, र सञ्जय लगायत सबै उनीहरूको स्वागतार्थ द्वारमा आइपुगे । सबैले यथायोग्य ढोगभेट गरे । अनि जटा मृगचर्मधारी ऋषिगणले समस्त घटनाको बेलिविस्तार लगाए । पाँच भाई पाण्डुपुत्रहरूको परिचय दिए । राजाको दुःखद देहान्तको वृत्तान्त बताए । माद्रीको सती–गमन पनि सुनाए । अब दिवंगत महाराज पाण्डु र महारानी माद्रीको अस्थिलाई विधिपूर्वक सेलाउने र सपिण्डीकरण आदि समस्त प्रेतकृत्य सम्पन्न गर्ने सल्लाह पनि दिए । आफ्नो कर्तव्य सम्पन्न गरेर समस्त ऋषिगण सबैलाई चकित तुल्याउँदै अन्तर्हित बने ।

यसरी लामो समयपछि महारानी कुन्तीले आफ्ना नाबालक पाँच सन्तानहरूका साथ हस्तिनापुर दरबारमा प्रवेश गरिन् । प्रज्ञा–चक्षु महाराज धृतराष्ट्रले पाण्डु र माद्रीको समस्त प्रेतकार्य राम्ररी सम्पन्न गराउन धर्मात्मा विदुरलाई आदेश दिए । सबै अत्यन्त शोकसन्तप्त हुँदै अन्त्यकर्ममा संलग्न भए । द्वादश दिन–पर्यन्त पञ्चपाण्डवका साथ सारा बन्धु–बान्धवले भूमिमा शयन गरे । सारा प्रजाजनका साथ समस्त हस्तिनापुर शोकमा डुब्यो । आबाल–वृद्ध–वनिता समस्त शोकमग्न भए । त्यससमय सकल हस्तिनापुर नगरी शोकाच्छन्न बनेको थियो । सबै अन्त्यकर्म राजकीय सम्मानका साथ सम्पन्न गरियो । हजारौं ब्राह्मणहरूलाई दान र भोजनादिद्वारा सन्तुष्ट तुल्याइयो । श्राद्ध सम्पन्न गरियो । गंगामा लगेर अस्तु सेलाइयो । मरणाशौचबाट निवृत्त बनेर सबैले शुद्धिस्नान गरे । यसरी आशौचको सकल कार्य सम्पन्न भएपछि बल्ल सबैले दरबारमा प्रवेश गरे ।

……

श्राद्ध सम्पन्न भइसकेपछि सबै दुःखी बनेको देखेर अकस्मात् प्रकट भएका वेदव्यासले मोहातुरा माता सत्यवतीलाई भने– आमा, अब सुखका दिन गए । खराब दिन आए । भयंकर समय आउनेवाला छ । पृथिवी गत–यौवना भएकी छिन् । अब यहाँ छल–कपट र मायाको बोलबाला हुनेवाला छ । अनेकौं दोष देखिनेवाला छन् । धर्म–कर्म र सदाचारको लोप हुनेवाला छ । दुर्योधनादि कौरवहरूको अन्न्यायले सकल धरणी वीरशून्य बन्दै छिन् । यस्तो अवस्थामा हे मात, हजुर योगपरायण बनेर तपोवनमा नै निवास गर्नु समुचित हुनेछ । आफ्नै आँखाले यस कुलको भयावह विनाश नहेर्नुहोस् ।

व्यासजीका सत्यवचन सुनेर माता सत्यवती तथास्तु ! भन्दै भित्र पसिन् । अनि, पुत्रवधू अम्बिकालाई भनिन्– हे अम्बिके, अब तिम्रा नातीहरूको अन्यायले भरतवंशी वीरहरू विनष्ट हुने समय आएको छ भन्ने मैले सुनेकी छु । त्यसैले पुत्रवियोगातुरा यी अम्बालिकालाई लिएर म वनमा जान चाहन्छु । तिम्रो कल्याण होस् ।

अम्बिकाले तथास्तु ! भनेर आफू पनि सँगै जाने विचार प्रकट गर्नासाथ कुमार भीष्मलाई सोधेर सत्यवती आफ्ना दुवै बुहारी अम्बिका र अम्बालिकालाई साथमा लिएर वन गइन् । त्यहाँ केही समय घोर तपस्या गरेर शरीर त्याग गरी ती तीनै देवीहरूले आफ्नो अभीष्ट उत्तम गति प्राप्त गरे ।

……….

महाभारत, आदिपर्व, १२४, १२५, १२६ र १२७ अध्यायमा आधृत ।

२०८१ साल मंसीर २८ गते शुक्रवार, 

ॐ अक्षरालयः ।