सुदूरवर्ती साधना–भूमि शतशृंग पर्वतमा तपस्वीहरूका साथ तपोवृत्तिमा संलग्न रहेर राजा पाण्डुको वानप्रस्थ जीवन व्यतीत भइरहथ्यो । दुवै पत्नीहरू कुन्ती र माद्री पनि साथमै थिए । तपःसाधना गर्दा गर्दा उनी स्वयं ऋषितुल्य बनिसकेका थिए ।

एक दिन अमावस्याको रातमा कठोर व्रत पालन गर्नेवाला ऋषिहरूको समूह जगत्–पिता ब्रह्माजीको दर्शन गर्ने अभीप्साले शतशृंग पर्वतबाट पनि अझ माथि उक्लँदै ब्रह्मलोकतिर प्रस्थान गर्न लागेका थियो । त्यही अवसरमा पाण्डु पनि उनीहरूका पछि पछि लागे, कुन्ती र माद्री पनि पतिको अनुसरण गर्न लागे । आफ्नाना पछि–पछि यो लावा–लश्कर आउन लागेको देखेर ती ऋषिहरूले भने–

हे राजन्, यस रमणीय पर्वतमा धेरै यस्ता स्थानहरू छन् जहाँ पुग्न अत्यन्त कठिन छ । त्यहाँ देवता, गन्धर्व र अप्सराहरूको क्रीडाभूमि छ । सयकडौं देव–विमानहरू त्यहाँ खचाखच भरिएका छन् । त्यसै पर्वतमा धनराज कुवेरका अनेक उद्यान छन् । यस मार्गमा विकट नदीहरू छन्, दुर्गम तट छन् । सधैं हिउँले आच्छन्न हुने यस्ता स्थान छन् जहाँ वृक्ष, पशु, पक्षी जस्ता कुनै पनि प्राणीको अस्तित्व छैन । यस्ता मार्गमा केवल वायुको मात्र प्रवेश छ । हे राजन्, यस्ता विकट मार्गमा यी सुकुमारी रानीहरू कसरी अघि बढ्न सक्लान् र ?

पाण्डुले भने– 

हे महर्षिगण, म सन्तानहीन छु । शास्त्रले भन्दछ– सन्तानहीनका लागि स्वर्गको ढोका खुल्दैन । यसै चिन्ताग्निले म सन्तप्त छु । भनिएको छ– मानिस जन्मँदै चार ऋण लिएर आएको हुन्छ : पितृ–ऋण, देव–ऋण, ऋषि–ऋण र मनुष्य–ऋण । जसले यज्ञद्वारा देवतालाई, स्वाध्याय र तपस्याद्वारा ऋषिलाई, पुत्रोत्पादन तथा श्राद्धद्वारा पितृलाई अनि दया र उपकारद्वारा मनुष्यलाई सन्तुष्ट तुल्याउँछ उही ती ऋणहरूबाट उऋण हुन सक्दछ र उसैले स्वर्गलोक प्राप्त गर्दछ । हे ऋषिगण, म अरु ऋणबाट त मुक्त भइसकेको छु । तर पितृ–ऋणबाट म उऋण हुन सकेको छैन । मेरा पिता पनि मजस्तै निःसन्तान विदा हुनुभयो, तर म पिता वेदव्यासद्वारा विचित्रवीर्यका क्षेत्रमा माता अम्बालिकाबाट जन्मिएको थिएँ । तर म अब कसरी सन्तान जन्माऊँ प्रभो !

ती ऋषिगणले भने :

हे धर्मात्मा नरेश, हामी ध्यान–दृष्टिले हेर्दा के बुझ्दछौं भने तपाईंलाई निष्पाप देवोपम सन्तान–ततिको लाभ हुने योग छ । त्यही पुरुष बुद्धिमान् हो– जसले भाग्यप्रदत्त शुभफललाई सत्कर्मद्वारा प्राप्त गर्दछ । तपाईंले पनि सत्प्रयास गर्नुपर्दछ । निश्चय नै सन्तान हुनेछन् ।

– यति भनेर ती ऋषिहरू अगि बढे ।

ती तपोपूत ऋषिहरूका कल्याणमयी सत्य–सिञ्चित वाणी सुनेर राजाका मनमा हर्षको लहर दौडियो । उनी गहन विचारधारामा डुबुल्किन थाले । उनलाई स्पष्ट याद थियो आफैंले अनाहकमा शिकार गरिएका मृगरूपधारी किंदम ऋषिको शापले उनी सम्भोगवञ्चित बनेका छन् । यस अवस्थामा सन्तानोत्पादनको अरु के उपाय हुन सक्छ र ? अनि एकान्तमा रहेका बेला कुन्तीसँग यसो भने : हे प्रिये, हामीलाई जीवनमा आपदा आइलागेको छ । यस अवस्थामा सन्तानोत्पादका लागि जे आवश्यक वैकल्पिक प्रयत्न हुन सक्दछन् तिमी तिनको समर्थन गर है ! किनभने सन्तानहीन मनुष्यद्वारा सम्पन्न यज्ञ, दान, तप र नियमहरू सफल मानिँदैनन् । सन्तान–हीनताका कारण अब शुभलोक–प्राप्तिको बाटो पनि अवरुद्ध भएको छ । हे पृथे ! धर्मशास्त्रमा प्रथमतः छ प्रकारका पुत्रलाई बन्धु–दायाद भनिएको छ । यी त्यस्ता कुटुम्ब हुन्– जसले पैत्रृक सम्पत्तिको उत्तराधिकार प्राप्त गर्दछन् । फेरि, अरु छ प्रकारका पुत्र पनि हुन्छन्– जसलाई अबन्धु–दायाद भनिएको छ, तर ती कुटुम्ब नभए पनि पैत्रृक सम्पत्तिका हकदार मानिन्छन् । यथा–

१. स्वयंजात : विवाहिता पत्नीबाट जन्मिएको पुत्र,

२. प्रणीत : पत्नीका गर्भबाट कुनै उत्तम पुरुषको कृपाले जन्मिएको पुत्र,

३. तत्सम : आफ्नानै छोरीको छोरो– अर्थात् छोरीपटिको नाति,

४. पौनर्भव : दोस्रो विवाहबाट जन्मिएको पुत्र,

५ कानीन : यस कन्याबाट जन्मिएको पुत्र मेरो मानिनेछ भन्ने शर्तका साथ बिहे गरेर दिएकी कन्याबाट जन्मिएको पुत्र । 

६ भानिज : बहिनीको छोरो ।

यी भए– छ प्रकारका बन्धुदायाद ।

अरु ६ प्रकारका अबन्धु–दायादचाहिं यी हुन् :

१ दत्त : मातापिताले स्वेच्छाले समर्पित गरिएको, आफूले छोरो बनाएर पालिएको धर्मपुत्र,

२ क्रीत : धन आदि पदार्थ दिएर किनिएको र पालेर आफ्नो बनाइएको पुत्र,

३ कृत्रिम : स्वयं श्रद्धावश म तपाईंकै छोरो हुँ भनेर आफ्नाना छेउमा आएको पुत्र,

४ सहोढ : कन्यावस्थामै गर्भवती भएकी केटीलाई बिहा गरेर ल्याएपछि जन्मिएको पुत्र,

५ ज्ञाति–रेता : आफ्नानै कुलको, तर अरु कसैको पुत्र,

६ हीन–योनिज : आफूभन्दा हीन जातिकी स्त्रीबाट जन्मिएको पुत्र ।

यी सबै १२ प्रकारका पुत्रमध्ये प्रथम प्रकारका अभावमा द्वितीय प्रकारका पुत्रको अभिलाषा गर्नू– भन्ने शास्त्रको उक्ति छ । हे शुभे, आपत्तिकालमा नीच जातिका पुरुषले उच्च जातिका श्रेष्ठ पुरुषद्वारा पनि पुत्रोत्पत्तिको अभिलाषा गर्नु श्रेयस्कर मानिन्छ, यो स्वयं स्वायंभुव मनुले भन्नुभएको छ ।

अन्तमा पाण्डुले सस्नेह कुन्तीलाई भने : हे यशस्विनी, स्वयं सन्तानोत्पादन गर्न असमर्थ भएकाले आज म तिमीलाई स्वेच्छया अरु कसैसँग समागम गर्ने अनुमति प्रदान गर्दछु । तिमी मसदृश यद्वा मभन्दा पनि उत्तम पुरुषबाट सन्तान प्राप्त गर ।

….

कुन्तीले भावविह्वल हुँदै भनिन् : हे राजन्, यस्तो कुरा म मनको एक कुनामा पनि सोच्न सक्दिनँ, किनभने म हजुरसँग अनन्य–भावले अनुराग राख्दछु । म त हजुरसँगै समागम गरेर छोरो पाउन चाहन्छु । यस विषयको समर्थनमा मैले पहिले नै सुनेको यो लोक–विश्रुत पौराणिक आख्यान म हजुरलाई सुनाउँदछु ।

भनिन्छ– परापूर्वकालमा एक धर्मात्मा राजा भए जसको नाम थियो व्युषिताश्व । ती पुरुवंशीय राजा थिए । एकपल्ट ती राजाले एउटा भव्य यज्ञको आयोजन गरे । जसमा समस्त देवर्षिहरूका साथ स्वयं देवराज इन्द्रको पनि यज्ञमा सवारी भएको थियो । यज्ञमा देवराज सोमपान गरेर उन्मत्त बनेछन्, ब्राह्मणहरू पनि प्रशस्त दक्षिणा पाएर मख्ख परेछन् । त्यसबेला देवता र स्वयं ब्रह्मर्षिले यज्ञको समस्त कर्म सम्हाले । यसरी उनले अनेकौं भव्य यज्ञहरू सम्पन्न गरे । आफ्नाना पुण्य–कर्मले गर्दा ती राजाले समस्त मत्र्यलोक र देवलोकमा पनि विजय प्राप्त गरे ।

उनकी पत्नी थिइन् : भद्रा । ती राजा कक्षिवान्की छोरी थिइन् । ती दुवैमा गहन प्रीति थियो । राजा व्युषिताश्व आफ्नानी प्रियतमा भद्रासँग सदा समागममा लीन रहन्थे । अति–सम्भोगका कारण उनलाई राजयक्ष्मा रोगले गाँज्यो र परिणामतः उनी अकालमै परलोकवासी भए । पत्नी भद्राको बेहाल भयो । उनीहरूका कुनै सन्तान भएका थिएनन् । उनी परमप्रिय पतिको वियोगले पागलजस्ती भइन् र भन्न लागिन् : हे प्रियतम, मलाई पनि आफूसँगै लैजानुहोस् । म हजुर विना एक पल पनि बाँच्न चाहन्नँ । म अभागिनीले जन्म–जन्मान्तरमा कति प्रियतमहरूको जोडीलाई वियुक्त गराएँछु होला जसको पाप–परिणाम अहिले मैले भोग्नुपर्यो । हे प्रियतम ! एकपटक मलाई दर्शन दिनुहोस् र कर्तव्यको आदेश गर्नुहोस् ।

यसरी अनन्यभावले करुण विलाप गर्दै राजाको शवलाई बलियो अंकमालमा बेरेर भद्रा अझ धेरै विलाप गर्न थालिन् ।

तेसै बेला अकस्मात् यस्तो अनौठो आकाशवाणी भयो :

हे भद्रे, उठ । विलाप नगर । म तिमीलाई वर दिन्छु । हे चारुहासिनी, म तिम्रो गर्भबाट कैयौं पुत्रलाई जन्म दिनेछु । हे वरारोहे, तिमी ऋतुस्नान–पश्चात् चतुर्दशी या अष्टमी तिथिका रात आफ्नो शय्यामा मेरो शवसँग सुत्ने गर्नू ।

तीव्रभावले पुत्रेच्छा राख्ने ती पतिपरायणा नारी भद्राले यो आकाशवाणीलाई अनन्य–भावले अक्षरशः पालना गरिन् । हे राजन्, तिनले त्यसै शवसँग समागम गरेर सात भाइ छोरा जन्माइन् । तिनीमध्ये तीन शाल्वदेशका राजा बने भने अरु चार जना मद्र देशका शासक बने ।

अन्तमा कुन्तीले भनिन् : हे भरतवंश–शिरोमणि, यसै गरी हजुरले पनि मेरा गर्भबाट मानसिक संकल्पद्वारा अनेक पुत्र जन्माउन सक्षम हुनुहुन्छ– किनभने तपस्या र योगबलले हजुर सम्पन्न हुनुहुन्छ ।

कुन्तीका सबै कुरा ध्यानपूर्वक सुनेर राजा पाण्डुले भने :

हे कुन्ती, तिमीले सुनाएको कथा अक्षरशः सत्य हो । ती राजा व्युषिताश्वले त्यसरी नै सन्तानोत्पादन गरेका थिए, किन भने ती देवतासमान तेजस्वी थिए । अब तिमी मेरो यो धर्मसम्मत कुरा सुन । पुत्रको अगाध अभिलाषा राख्ने तर, स्वयं सन्तानोत्पादन गर्न असमर्थ पुरुषले भनेको पत्नीले अवश्य मान्नुपर्दछ । म तिमीलाई के आदेश दिन्छु भने– तिमी तपोपूत कुनै असल ब्राह्मणका साथ समागम गरेर गुणवान् छोरो जन्माऊ ।

…….

महाभारत, आदिपर्व, अध्याय १२० र १२१मा आधृत ।

२०८१ साल मार्ग १४ गते शुक्रवार

ॐअक्षरालयः ।