एक समयको कुरा हो । अम्बालिका–पुत्र महाराज पाण्डु एउटा सघन वनमा विचरण गर्दै थिए ।
कुन्ती र माद्रीसँग विवाह भए उपरान्त कतिपय दिन सुखभोगका साथ बितिसकेपछि महाराज पाण्डुले आफ्ना पराक्रमद्वारा सबैमाथि विजय प्राप्त गरे । धेरै अश्वमेध यज्ञ गरे । उनलाई वनमा बस्ने, शिकार खेल्ने शौक थियो । त्यसैले अफ्ना दुवै पत्नीका साथ उनी वनमै अड्डा जमाउन थाले । राजधानीबाट राजा धृतराष्ट्रले सारा सुख–सुविधाको व्यवस्था उनका लागि वनमै जुटाइदिएका थिए ।
त, त्यो दिन उनी एक सघन अटव्यमा विचरण गर्दै थिए । त्यहाँ विविध हिंस्रक जीवजन्तुहरू निवास गर्दथे । जाँदै गर्दा राजा पाण्डुले एउटा सारै सुन्दर मृग–मृगीको रहरलाग्दो जोडी देखे । त्यो जोडी तन्मयताका साथ प्रणय–क्रीडामा जुटेको थियो, त्यसैले असावधान पनि थियो । तिनीहरूलाई देख्नासाथ आखेट–व्यसनी पाण्डुको मन उत्तेजित भयो । उनले शीघ्रातिशीघ्र आफ्नो धनुर्विद्या–कौशलको उपयोग गर्दै तीव्रगामी, स्वर्णिम पुंखपत्र–शोभी पाँचवटा वाण एक साथ त्यो मैथुनरत मृग–युगलमाथि प्रक्षेप गरे । सनसनाउँदै गएर त्यो अग्निशिखोपम पञ्च–वाणले त्यो जोडीलाई तत्काल ठाउँको ठाउँ ढालिहाल्यो । पाण्डु आफ्ना अचूक वाणको यो चमत्कार देखेर आत्ममुग्ध एवम् उत्तेजित हुँदै दौडदै शरविद्ध हरिण–युगलका छेउमा पुगे । त्यो जोडी छटपटाइरहेको थियो ।
वास्तवमा त्यो मृग, मृग थिएन । त्यो मृगिणी, मृगिणी थिइन । ती त एक परम तेजस्वी ऋषि थिए– जो आफ्नी सहचरीसँग मृगवेष धारण गरी स्वच्छन्द प्रणय–क्रीडामा समाधिमग्न झैं लवलीन बनेका थिए । पाण्डु नजीक आइपुग्नासाथ उनलाई विस्मयाविष्ट तुल्याउँदै त्यो मृगले मानव–बोलीमा भन्यो –
हे राजन्, जो मनुष्य काम र क्रोधको आवेशले पागल बनेका हुन्छन् अनि बुद्धिका भाँडोमा बिर्को लाएर पाप–कर्ममा लिप्त रहन्छन् तेस्ता अधमहरू पनि यति धेरै क्रूर हुँदैनन् जति क्रूरता तिमीले हामीमाथि प्रकट गरेका छौ । वास्तवमा सबै प्रारब्धकै खेल हो, जसले तिम्रो बुद्धिलाई पनि कुण्ठित बनाइदियो । हे भारत, धर्मप्राण क्षत्रियकुलमा तिम्रो जन्म भएको छ तैपनि काम र लोभको वशीभूत हुनाले तिम्रो बुद्धि भ्रष्ट भएको रहेछ, त्यसैले यस्तो जघन्य कर्म गर्यौ ।
पाण्डुले भने–
हे मृग, तिमी मलाई यसरी दोष लगाउन पाउँदैनौ । राजाहरूले मृगया आखेट गर्नु त शास्त्रनिर्दिष्ट धर्म नै हो, यसमा मेरो के दोष? इतिहास बताउँछ– एक समय महर्षि अगस्त्य एक सत्रमा दीक्षित थिए । त्यसबेला उनले पनि देवताहरूको हितार्थ सारा पशुहरूलाई जंगलतिर लखेटिदिएका थिए । म क्षत्रीय हुँ र आखेट गर्नु मेरो धर्मानुकूल हो । किन तिमी बित्थैमा ममाथि आक्षेप लगाउँछौ ?
मृगले भन्यो–
म मर्न लागेकाले तिम्रो निन्दा गरेको हैन । हे राजन्, मेरो भन्नु यत्ति नै हो– जो सम्पूर्ण प्राणीमात्रका लागि हितकर एवम् अभीष्ट छ– त्यस्तो परम प्रीतिकर प्रणयक्रीडामा तन्मय–भावले डुबेको जोडामाथि प्रहार गर्नु कुनै पनि विवेकशील व्यक्तिको धर्म होइन । म त उत्कट हर्ष र तीव्र उल्लासका साथ कामरूपी पुरुषार्थको साधनामा लवलीन थिएँ, तिमीले यति कुरा त ख्याल राख्नुपर्ने हो, कम से कम प्रणय–क्रीडा सम्पन्न हुन त दिनुपर्ने हो । तर तिमी विवेकहीन रहेछौ, कुरुकुलका जन्मिएर पनि तिम्रो संस्कार सप्रिएको रहेनछ । यस्तो क्रूर–कर्म समस्त लोकमा निन्दित छ । यस्तो कुकृत्यले न यश पाइन्छ, न स्वर्ग नै । हे राजन्, तिमी त आफैं स्त्रीभोगका विज्ञ छौ । शास्त्र र धर्म बुझ्दछौ । यस्तो नरकगामी कुकर्म तिमीले गर्नु हुन्नथ्यो ।
हे राजन्, म त फल–मूलको आहार गर्ने एक मुनि हुँ । मृगको कलेवर धारण गरेर, शम दम आदि तपोवृत्ति पालन गरेर सदा वनमै निवास गर्दछु । मेरो नाम किंदम हो । मानवशरीरमा रहेर कामवृत्तिको सेवन गर्नु लज्जास्पद लागेकाले मृग–रूपमा रहेर आफ्नी अनन्य प्रियतमासँग कामभोगमा प्रवृत्त बनेको थिएँ । तर तिमीले यसरी मलाई मार्यौ । हुन त म मुनि हुँ – भन्ने जानेर तिमीले ममाथि प्रहार गरेका होइनौ, त्यस कारण तिमीलाई ब्रह्महत्याको पाप त लाग्दैन । तर काममोहित अवस्थामा तिमीले निर्दोष प्राणीको वध गरेकाले यसको सजाय त तिमीले भोग्नै पर्दछ । त्यसैले म तिमीलाई शाप दिन्छु : तिमी पनि जब प्रणय–क्रीडामा मग्न रहनेछौ तब निश्चय नै तिमीमाथि मृत्युले आक्रमण गर्नेछ –
यति भनिसक्नु मात्र के थियो– त्यस मृगको आफ्नी प्रियतमा मृगिणीका साथमै प्राणपखेरु उडेर गयो ।
यो शाप शाप थिएन, वज्र–निर्घोष थियो, महाराज पाण्डु क्षणभरमै शोकविदग्ध ततश्च तीव्रभावले दुःखातुर बने ।
…..
यो अनपेक्षित अप्रत्याशित घटनाले महाराज पाण्डुको हृदयमा मर्मान्तक चोट लाग्यो । उनका मनमा यस्ता विचार–तन्तुहरूले तानाबाना बुन्न थाले –
उत्तम कुलमा जन्मिएको असल मानिसको पनि अन्तःकरण स्थिर नभएपछि विवेकरहित भएर दुष्कर्म गर्न पुग्दो रहेछ । मेरा पिता विचित्रवीर्य पनि कामभोगमा अत्यासक्त हुँदा अकालमै स्वर्गवासी हुनुभएथ्यो रे ! र पछि ऋषि वेदव्यासका कृपाले माता अम्बालिकाको कोखबाट मेरो जन्म भयो । शिकारको अत्यासक्तिका कारण यसै दुर्व्यसनले गर्दा आज मेरो बुद्धि बिग्रेछ । म नराम्ररी फँसें । अभिशप्त बनिसकें । अब यसरी भएन । आजदेखि म पनि पिता वेदव्यासकै जस्तो उत्तम वृत्तिको अनुसरण गर्दछु । म आफ्नो शरीरलाई कठर भन्दा कठोर तपमा समर्पित गरिदिन्छु । एक्लै वनमा बस्छु । शिर मुडाएर सन्न्यस्त बन्दछु । रुखमनि सुत्छु । त्यही मेरो घर हुनेछ । सबै वस्तुहरुको परित्याग गर्दछु । प्रिय–अप्रिय, निन्दा–स्तुति, दुःख–सुखप्रति समभाव राख्दछु । अहिंसा–व्रत पालन गर्दछु । भिक्षाटन गरेर प्राण–निर्वाह गर्दछु । सकाम कर्मलाई चटक्क त्यागेर निष्कामकर्मी बन्दछु । विषय–वासनाबाट व्यावृत्त बन्दछु । तपःसाधना गर्दछु । धारणा र ध्यानको अभ्यास गरेर मोक्षमार्गको अनुगामी बन्दछु ।
म सन्तानोत्पादनको शक्तिले रहित बनेको छु । अब मेरो गृहस्थाश्रममा केही काम छैन ।
यसरी अत्यन्त दुःख र दीनताबोधले ग्रस्त बनेका पाण्डु लामो लामो निःश्वास फेर्दै आफ्ना पत्नीद्वय कुन्ती र माद्रीलाई सम्बोधन गर्दै भन्न लागे –
अब तिमीहरू दुवै हस्तिनापुर फर्क । माता अम्बिका र अम्बालिका, राधा धृतराष्ट्र र महात्मा विदुरसहित समस्त बन्धु–बान्धवलाई के भनिदेओ भने– राजा पाण्डु सन्न्यासी भएर वनवासी बने, अब फर्किएर आउँदैनन् ।
कुन्ती र माद्रीले दुःखित हुँदै राजालाई यसरी सम्झाए– हे भरतश्रेष्ठ, सन्न्यासका अतिरिक्त अरु पनि त आश्रम छन् नि । जहाँ आफ्ना पत्नीका साथ रहेर पनि तपःसाधना गर्न सकिन्छ । हामी पनि हजुरसँगै बस्दछौं । इन्द्रियसंयम गरेर तपस्विनी बन्दछौं । हर–तरहले हजुरको सेवा गरेर बस्दछौं । यसरी चटक्क छोड्नुहुन्छ भने त आजै हामी प्राण–परित्याग गरिदिन्छौं ।
पाण्डुले भने– ठीक छ, यदि तिमीहरूको यही निश्चय हो भने म तिमीहरूसँग वानप्रस्थ आश्रममै बसुँला र मेरा पिता वेदव्यासकै जीवनपथको अनुसरण गरुँला । दुई समय स्नान–सन्ध्या गरुँला । अग्निहोत्र गरुँला । जटा मृगचर्म धारण गरुँला । थोरै आहार गरेर शरीरलाई क्षीण बनाउँला । एकान्तमा रहेर आत्मचिन्तन गरुँला । फलमूलले जीवन निर्वाह गरुँला । यसै गरी कठोर तप गरेर वानप्रस्थ आश्रममै आजीवन रहुँला जबसम्म प्राणान्त हुँदैन ।
अनि, राजा पाण्डु, महारानी कुन्ती र माद्रीले पनि आफ्ना बहुमूल्य लत्ता–कपडा, गर–गहना आदि सबै निकालेर ब्राह्मण ब्राह्मणीहरूलाई दिए । अनि, केही बहुमूल्य पदार्थहरू पनि दिएर सेवकहरूलाई यस्तो आज्ञा दिए–
तिमीहरु हस्तिनापुर जाओ, राजा धृतराष्ट्रलाई यो सबै जिम्मा लगाइदेओ । अनि के भन भने– राजा पाण्डु सबै कुरा त्यागेर आफ्ना पत्नीहरूसँग वानप्रस्थी भए ।
यस्ता कुरा सुनेपछि हा धिक्, हा धिक्– गर्दै ती सबै अनुचरहरू आर्तनाद गर्न थाले । पछि शोकसन्तप्त हुँदै लुरुलुरु हस्तिनापुरतिर लागे अनि वहाँ राजा धृतराष्ट्र समक्ष समस्त ती बहुमूल्य वस्तुहरू सुम्पिएर सबै यावत् वृत्तान्त पनि तिनले यथावत् बेलिबिस्तार लगाए ।
राजा धृतराष्ट्र ती सबै कुरा सुनेर अत्यन्त स्तब्ध भए । भाइ पाण्डुको अप्रीतिकर समाचारले खिन्न भए, विषण्ण भए । भोगविलासहरूमा उनको रुचि हरायो । पाण्डुलाई सम्झेर दुःखित रहन थाले ।
यता राजा पाण्डु फल–मूलले जीविका–निर्वाह गर्दै दुवै पत्नीका साथ त्यस जंगलबाट नागशत नामक पर्वततिर लागे । त्यहाँबाट अघि बढ्दै चैत्ररथ नामक वन पार गरेर कालकूट र हिमालय पर्वतका पनि पारी गन्धमादन पर्वतमा पुगे । त्यसपछि इन्द्रद्युम्न सरोवर पुगेर त्यसपछि हंसकूटलाई पनि पार गरेर शतशृंग पर्वतमा पुगे र अन्त्यमा त्यहीं रहेर तपश्चर्यामय जीवनको अभ्यास गर्न लागे ।
…..
महाभारत– आदिवर्प, ११७ र ११८ अध्यायमा आधृत ।
२०८१ साल मंसीर ७ गते शुक्रवार
ॐ अक्षरालयः ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।