यदुवंशीय पुरुषहरूमा श्रेष्ठ एक व्यक्ति थिए : शूरसेन

शूरसेनका दुई सन्तान भए : छोरी पृथा र छोरो वसुदेव  ।

वसुदेवका छोरा भए : वासुदेव श्रीकृष्ण

आफ्नी छोरी पृथालाई शूरसेनले आफ्ना फुपूका छोरा– भाइ कुन्तिभोजलाई दिएका थिए । कुन्तीभोजका सन्तान थिएनन्, त्यसैले शूरसेनले स्नेहपूर्वक– ‘आफ्नो पहिलो सन्तान तिमीलाई दिउँला’– भनेर पहिल्यै वचन दिएका हुँदा ती शूरसेनकी छोरी पृथा कुन्तिभोजले पाएका थिए । पृथालाई कुन्तिभोजले अतिशय स्नेहले पाल–पोष गरेर हुर्काएका थिए । त्यसैले ती कन्याको नाम कालान्तरमा ‘कुन्ती’का रूपमा सुविख्यात हुन गयो ।

आफ्ना पिता कुन्तिभोजका घरमा उनलाई आगन्तुक अतिथि–देवताको स्वागत–सत्कार गर्ने गुरुतर अभिभारा जिम्मा दिइएको थियो । त्यसबखत उनी भरखरै जवानीमा पाइला राख्दै थिइन्, अत्यन्त सुन्दरी थिइन् । एकदिन घरमा ऋषि दुर्वासाको आगमन भयो । कुन्तीले समग्र मनोयोगले दुर्वासाको स्वागत– सत्कार एवं श्रद्धाका साथ पूजा–आराधना गरिन् । हुन त, ऋषि दुर्वासा कठोर स्वभावका थिए, उनले कैयौं व्यक्तिलाई स–साना गल्तीमा पनि ठूलै शाप दिइसकेका थिए । तर, कुन्तीले बडो यत्न र सावधानीले उनको सेवा गरिन् र उनलाई सन्तुष्ट तुल्याइन् । उनको सेवाले सन्तृप्त एवम् सत्कारले परितृप्त भएका ऋषि दुर्वासाले जब आफ्नो ध्यानदृष्टिले उनको भविष्यतर्फ गहन अवलोकन गरे अनि कुन्तीका जीवनमा आउने सम्भाव्य सङ्कटका बारेमा थाहा पाए, अनि त्यसबाट उनको रक्षा गर्नाका निम्ति प्रसन्न–मनले एउटा सिद्ध वशीकरण–मन्त्र दिए । त्यस अमोघ मन्त्रको प्रयोग–विधि पनि सिकाएर अन्त्यमा भने :

हे शुभे कुन्ती ! तिमी यस मन्त्रद्वारा जुन–जुन देवतालाई आवाहन गरौली ती–ती देवताबाट तिमीले पुत्र प्राप्त गरौली, तथास्तु ! – यति भनेर ऋषि विदा भए ।

कुन्ती त्यो वेला अल्लारे उमेरकी ठिटी थिइन् । उनलाई बडो कौतुक भयो– यस्तो पनि होला र ? भन्ने विस्मयशील जिज्ञासा पनि मनमा जाग्यो । लु, कत्तिको हो रहेछ त ! भनेर उनले उत्कट कौतूहलले त्यो मन्त्रको विधिपूर्वक उच्चारण गरेर प्रयोग गरिहेरिन् । उनले सूर्यको स्मरण गरिन् । हेर्दा–हेर्दै जगच्चक्षु सूर्य त अत्यन्त तेजोमय मानव–स्वरूपमा उनका आगाडि आइ पो हाल्नुभयो । आश्चर्य, रोमाञ्च र किञ्चित् भयको त्रिवेणीमा तानिएको तिनको अवस्था किंकर्तव्यविमूढताको मनःस्थितिमा दोलायमान थियो । तेजोमय–स्वरूप गगनमणि श्रीसूर्यले भन्नुभयो :

नानी, मलाई चिन्यौ ? म सूर्यदेव हुँ । महर्षि दुर्वासाका शक्तिशाली मन्त्रका सामू मेरो केही जोर चल्दैन । तिमीलाई तेजस्वी पुत्र प्रदान गर्नका निम्ति मैले आउनै पर्यो ।

कुन्ती रोमाञ्चित भइन् र भनिन् :

हे प्रभो, मेरो सेवाले प्रसन्न भएका ऋषिले मलाई यो मन्त्र दिनुभएको हो । मैले त केवल त्यसको परीक्षणका लागि मात्र यसको प्रयोग गरेकी थिएँ, प्रभु ! भूल हुन गयो । क्षमा चाहन्छु, म हजुरका पाउ पर्छु । स्त्रीले अज्ञानतावश कुनै गल्ती गरिहाले भने पनि श्रेष्ठ पुरुषले सदा क्षमा नै गर्दछन् ।

श्रीसूर्यले भन्नुभयो :

हे भीरु, तिमीले मलाई आवाहन गरेकी छौ, यो किमार्थ व्यर्थ जाँदैन । यो अमोघ छ । यो आवाहनलाई अन्यथा गरे ठूलो दोष लाग्नेछ तिमीलाई ।

कुन्तीले भनिन् :

म कुमारी कन्या हुँ । म हजुरसँग कसरी समागम गर्न सक्छु र ? यसले त ठूलो बदनामी फैलनेछ । मलाई लोकले के भन्ला ?

खेल खेलमा झेल – भनेजस्तै भयो, आफ्नो चकचके बानीले उनी आफैं फसादमा परेकी थिइन्,  वास्तवमा कुन्तीलाई लाज र डरले मर्नु पारेको थियो ।

श्रीसूर्यले आश्वस्त गराउँदै भन्नुभयो :

यसमा तिमीले कुनै डर मान्नुपर्दैन । यसबारे कसैले थाहा पनि पाउनेछैन । हे सुन्दरी, तिमीले मसँग समागम गरे पनि तिम्रो कन्याभाव सुरक्षित नै रहनेछ । मेरो कृपाले तिमीले एक पराक्रमी र यशस्वी पुत्ररत्न प्राप्त गर्नेछौ । त्यो माता अदितिले दिएका दिव्य कुण्डल र कवचलाई धारण गरेर  जन्मनेछ । त्यो महादानी हुनेछ । ब्राह्मणले मागेपछि उसका लागि अदेय केही हुने छैन । त्यो बडा स्वाभिमानी हुनेछ ।

यति भनेर तेजोमय मनोहर–मूर्ति श्रीसूर्यदेवले ती सुन्दरी परमरमणी नवयुवती कुन्तीसँग समागम गर्नुभयो । फलतः विस्मयान्वित तुल्याउँदै तत्काल एक तेजस्वी बालक कुन्तीको गर्भबाट प्रकट भयो । श्रीसूर्यदेवले भने झैं जन्मजात कुण्डल–कवचधारी त्यो बालक देवकुमारजस्तै शोभाशाली थियो । श्रीसूर्यले कुन्तीलाई तत्काल पुनः कन्यात्व प्रदान गर्नुभयो । छोरा जन्माएपनि उनी जस्ताको तस्तै कुमारी नै रहिरहिन् । दिनमणि श्रीसूर्य पनि आफ्नो कृत्य सम्पन्न गरेर देवलोकतिर प्रस्थान गरिहाल्नुभयो ।

अब कुन्तीलाई भने पर्यो फसाद ! त्यो नवजात शिशुलाई के गर्नु ? उनी आत्तिइन् । लोकलाजको भयले कामिन् । धेरै सोच–विचार गर्दा पनि उनलाई कुनै समुचित समाधान सुझेन । लोकलाजको दवाबले गर्दा– जेसुकै होस्– भनेर अन्त्यमा मातृवात्सल्यलाई तिलाञ्जलि दिँदै, बिलकुल निर्मम हुँदै उनले त्यो नवजात शिशुलाई नजीकै बहिरहेको नदीमा बगाइदिइन् ।

यता कुन्ती केही नभए जस्तो गरी घर गइन् । उता त्यो बालकलाई जलमा डुब्दै उत्रिँदै बहँदै जाँदा महायशस्वी सूतपुत्र अधिरथले फेला पार्यो । उसकी पत्नी थिइन् राधा । उनलाई दियो । ती दुवैले प्रवाहमान नदीमा फेला पारेको त्यस तेजस्वी बालकलाई आफ्नो छोरो बनाए । पाल–पोष गरेर हुर्काए । त्यस दम्पतिले त्यो बालकको नाम के राख्ने भनेर सोच्दा एउटा उपाय सुझ्यो । ऊ स्वर्णमय कुण्डल कवच जस्तो धन, अर्थात् वसुका साथ जन्मिएको थियो, त्यसैले वसुषेण  नामकरण गरियो । त्यो बालक उमेर बढ्दै जाँदा सकल शस्त्रविद्यामा प्रवीण बन्यो । त्यो अत्यन्त पराक्रमी थियो । त्यो सूर्यको उपासक थियो । बिहान उठेर स्नानादि सम्पन्न गरिसकेपछि दिउसो पिठिउँतिर घाम नपुगुन्जेल पूर्वाभिमुख बनेर सूर्योपस्थान गरिरहन्थ्यो । त्यस समयावधिमा आफ्नासामुन्ने याचक बनेर आउने ब्राह्मणलले मागेमुताबिक यस जगत्मा रहेको जुनसुकै वस्तु पनि उसले दिने गरेको थियो । त्यही बालकको नाम कालान्तरमा कर्ण रहन गयो । कर्ण नामका पछाडिको उपाख्यान यस्तो छ :

एक पटक के भयो भने स्वयं जगच्चक्षु सूर्यदेवले ब्राह्मणको रूप धारण गरेर उनलाई सपनामा दर्शन दिँदै भन्नुभयो :

बाबु, तिमी ब्राह्मणदेवलाई मागेको हरेक वस्तु दिन्छौ, यो ठूलै पुण्यकर्म हो । तर, यसले तिम्रो जीवनमा घोर आपदा पनि निम्त्याउन सक्दछ । त्यसैले मेरो कुरा सावधान भएर सुन । भोलि बिहानै ब्राह्मणवेश धारण गरेर स्वयं देवराज इन्द्र तिम्रा सामू आउँदैछन् । तिनले तिमीसँग तिम्रो जीवन–सर्वस्व कुण्डल–कवच माग्नेछन् । तिमी यस विषयमा सचेत होऊ है ।

कर्णले पनि सपनामै भने :

हे ब्रह्मन्, यदि ब्राह्मणको वेश धारण गरेर उनी आए भने त, मैले नदिने कुरै आउँदैन । स्वयम् देवराज इन्द्र नै मेरा सामू छल गरेर याचक बन्दछन् भने यो मेरो लागि अझ गौरवको विषय बन्नेछ । उनको याचना पूरा गर्न पाउनु मेरा लागि सौभाग्य हुनेछ । उनले जे माग्छन् म त्यो अवश्य दिनेछु ।

आफ्ना पुत्रको यो अटल वचन–परायणता देखेर सूर्यले भन्नुभयो :

हे दानवीर, यदि त्यसो हो भने म तिमीलाई एउटा सुझाव दिन्छु, त्यो सुन । तिम्रो कुण्डल–कवच लिएपछि उनले तिमीलाई कुनै वर माग्न लगाउनेछन् । त्यो वेला तिमीले उनीसँग समस्त शस्त्रास्त्रलाई निवारण गर्न सक्ने शक्ति माग्नू है ।

यति भनिसकेर ब्राह्मणवेशधारी सूर्य स्वप्नबाट तिरोहित हुनुभयो । बिहान ब्युँझिएपछि पनि कर्णका स्मृतिमा यो घटना ताजा नै रहेको थियो ।

नभन्दै केही दिनभित्रै देवराज इन्द्र  ब्राह्मणवेश धारण गरी उनका सामू उपस्थित भएर कुण्डल–कवचको याचना गरे । कर्णलाई स्वप्न–दृश्य झलझली याद आयो । यी कपट–वेशधारी इन्द्र हुन् भन्ने जानी बुझिकन पनि उनले सहर्ष आफ्नो शरीर उधारेर आफ्ना दुवै दिव्यवस्तु तिनका हातमा राखिदिए । कपटी इन्द्रले मनमनै हाँस्दै विचार गरे । ओहो, यो त अत्यन्तै साहसको काम हो । आजसम्म देव दानव यक्ष गन्धर्व नाग राक्षस कुनै जातिमा पनि यस्तो उत्कट साहसी व्यक्ति देखिएको–जानिएको छैन । अनि प्रकटमा भने :

हे दानवीर, म तिम्रो यो दानबाट प्रसन्न भएँ । यसका बदलामा तिमी जे चाहन्छौ माग, म अवश्य दिनेछु ।

कर्णले स्वप्नादेशलाई स्मरण गर्दै भने :

हे ब्राह्मणदेव, मलाई सकल शस्त्रलाई निवारण गर्न सक्ने, शत्रुसंहारक शक्ति दिनुहोस् ।

तुरुन्तै देवराज इन्द्रले एक दिव्यास्त्र प्रदान गर्दै भने :

हे वीरवर, यस जगत्मा रहेको जति नै शक्तिशाली भए पनि कुनै एक शत्रुलाई यसले नष्ट गर्न सक्दछ चाहे त्यो देवता, असुर, मनुष्य, गन्धर्व, नाग वा राक्षस नै किन नहोस्  । यो लेऊ । यति भनेर देवराज अन्तर्हित भए ।

यसरी आफ्नो शरीरलाई नै उधारेर, कर्तन गरेर यद्वा काटेर कुण्डल–कवचको दान गरेकाले ती वसुषेणको नाम कर्ण एवम् वैकर्तनका रूपमा जगत्–प्रसिद्ध भयो ।

………

महाभारत, आदिपर्व, ११० अध्याय ।

२०८१ कार्तिक २३ गते शुक्रवार ।

ॐ अक्षरालयः ।