महाभारतीय आख्यानका अनुरागी प्रिय बन्धु !

राजा ययाति र अष्टकका वीचको ज्ञानमय संवाद अघि बढ्दै थियो,

अन्त्यमा अष्टकले यसरी आफ्नो जिज्ञासा प्रकट गरे –

अष्टक :

चरन् गृहस्थः कथमेति धर्मान्

    कथं भिक्षुः कथमाचार्यकर्मा ।

वानप्रस्थः सत्पथे संनिविष्टो

    बहून्यस्मिन् सम्प्रति वेदयन्ति ।। म., आ.प,९० अ.,१श्लो. ।

हे राजन्, ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्न्यास– यी चार आश्रममा रहने व्यक्तिका लागि के–कस्ता आचरणहरू उपयुक्त छन् ? जसको पालन गर्नाले तिनलाई पुण्यलोकको प्राप्ति हुन्छ ।

ययाति :

१. ब्रह्मचर्याश्रम

सद्गुरुको शिष्य बन्नु, गुरुले बोलाउँदा उहाँका समीपमा जानु, अह्राउनुभन्दा पहिले नै गुरुसेवामा सन्नद्ध रहनु, राती गुरु सुतीसकेपछि सुत्नु, बिहान गुरु जागा हुनुपूर्व नै जागा हुनु यी ब्रह्मचर्याश्रममा रहनेका लागि सदाचरण हुन् । जो मृदु, दान्त वा संयमी, धैर्यशाली, अप्रमादी अनि स्वाध्यायशील छ तेस्तो ब्रह्मचारीले सिद्धि प्राप्त गर्दछ ।

२. गृहस्थाश्रम

न्यायपूर्वक प्राप्त भएको धनले यज्ञ गर्नु, दान दिनु, सदा अभ्यागत अतिथिलाई भोजन गराउनु, केही नदिईकन अर्काको वस्तु  नलिनु– गृहस्थाश्रमका यी सनातन उत्तम परम्परा हुन् ।

३. वानप्रस्थाश्रम

वनमा निवास गर्नु, आफ्नै पराक्रमले जीवनवृत्ति सम्पन्न गर्नु, आहार विहारलाई सन्तुलित राख्नु, पापकर्मबाट निवृत्त हुनु, अरुलाई दान दिनु अनि कसैलाई पनि सन्ताप नदिनु, यी वानप्रस्थाश्रमका सदाचरण हुन् । यस्ता आचरणमा स्थित व्यक्तिले सिद्धि प्राप्त गर्दछ ।

४. सन्न्यासाश्रम

शिल्पकलाको उपयोग विना नै जीवनवृत्ति निर्वाह गर्नु, शम, दम आदि उत्तम गुणले सम्पन्न बन्नु, जितेन्द्रिय बन्नु, सबैभन्दा बेग्लै रहनु, गृहस्थका घरमा नसुत्नु, परिग्रह नगर्नु, थोरै हिंड्नु, एक्लै अनेक स्थानमा भ्रमण गर्नु, यी सन्न्यासाश्रमका सदाचरण हुन् । यस्तो आचरणमा रहने व्यक्ति नै भिक्षु कहलाउन योग्य मानिन्छ ।

रात्र्या यया वाभिनितश्च लोका

    भवन्ति कामाभिजिताः सुखाश्च ।

तामेव रात्रिं प्रयतेत विद्वान्

    अरण्यसंस्थो भवितुं यतात्मा ।। ६

जुन रात लोकप्रति कुनै चासो लाग्न छाड्यो – रूप, रस, गन्ध आदि विषयप्रतिको तिर्सना निख्रियो, तिनको ग्रहणमा भन्दा पनि परित्यागमा मन रमाउन लाग्यो, त्यसै रात विद्वान् पुरुषले अरण्यवासी बन्ने अठोट गरोस् ।

जुन वनवासी मुनिले वनमा नै आफ्नो पञ्चमहाभूतात्मक देह विसर्जन गर्दछ उसले आफूपूर्वका दश पिंढी र आफू पछिका दश पिंढी र आफ्नो समेत गरेर जम्मा एक्काइस पिंढीलाई पुण्यभागी तुल्याउँछ ।

अष्टक :

हे राजन्, मुनि कति प्रकारका हुन्छन् ? अनि मौन कति प्रकारका हुन्छन् ? अनुकम्पा गरेर यस बारे पनि उपदेश गर्नुहोस् ।

ययाति :

अरण्ये वसतो यस्य     ग्रामो भवति पृष्ठत :

ग्रामे वा वसतोऽरण्यं स मुनिः स्याज्जनाधिप ।। ९

हे जनाधिप, अरण्यमा निवास गरेका वेला गाउँ जसका पिठिउँतिर पर्दछ अनि गाउँमा निवास गरेका वेला अरण्य जसका पिठिउँतिर पर्दछ त्यसै पुरुषलाई मुनि भनिन्छ ।

यसको आशय के भने – हे अष्टक, जो वानप्रस्थ आश्रममा रहेका वेला गाउँका सुखसुविधाप्रति अनासक्त बन्दछ त्यसैलाई गाउँतिर पिठिउँ फर्काएको मुनि भनिन्छ । जसले अग्नि र गृहलाई त्यागिसकेको छ जसले गोत्र र वेदका शाखासँगको सम्बन्ध पनि तोडिसकेको छ, जो मौन रहन्छ अनि त्यति मात्र वस्त्रको अपेक्षा गर्दछ जसले कौपीन र चीवरको अभिप्राय पूर्ण हुन्छ, जसले प्राणरक्षाका निम्ति मात्र मिताहारको इच्छा गर्दछ, यस नियमानुसार गाउँमा बस्ने सन्न्यासीको पिठिउँतिर अरण्य हुन्छ भनिएको हो ।

जो मुनि समस्त कामनाको परित्याग गरेर कर्मप्रवृत्तिबाट विमुख भइसकेको छ र जसको इन्द्रिय संयमनशील बनेर सदा मौनमा अधिष्ठित रहेको छ त्यस्तो सन्न्यासी परम सिद्धिमा प्राप्त हुन्छ ।

धौतदन्तं कृत्तनखं सदा स्नातमलंकृतम् ।

असितं सितकर्माणं कस्तमर्हति नार्चितुम् ।।१५

जसले दन्तमञ्जन गरेको छ, जसले नखकर्तन गरेको छ, जसले नित्यस्नान गरेको छ, जो यम–नियम–प्राणायाम आदि आन्तरिक अलङ्गारले आभूषित छ, जो शीतोष्ण सहन गर्नाले स्वयं त श्यामवर्ण छ, तर जसका आचरणहरू शुभ्रवर्ण–सुकिला छन् त्यस्तो पुरुष कसका लागि पूजनीय हुँदैन र ?

अनवरत तपोनुष्ठानले जसको काया कृश बनेको छ, जो सुख दुःख राग द्वेष आदि द्वन्द्वले रहित भएर मौनभावमा अधिष्ठित छ, उसले यस लोकलाई जितेर परलोकमाथि पनि विजय प्राप्त गर्दछ । जब सन्न्यासी मुनि गाई गोरुले झैं आफूलाई जुरेको आहार मुखले नै ग्रहण गर्दछ उसले सबै लोकलाई जित्यो भन्ने बुझ अनि ऊ अमृतत्वमा प्राप्त भयो– मोक्षस्थितिमा प्राप्त भयो भनेर बुझ ।

….

राजा ययाति र अष्टकका बीच यसरी लामो संवाद चल्दछ । राजा ययाति क्षीणपुण्य बनेर स्वर्गलोकबाट मत्र्यलोकतिर झर्दै हुन्छन् । उनको गहन जीवनानुभव, तपोनिष्ठता र ज्ञानमयताले अभिभूत बनेर संवादको अन्त्यमा अष्टकले आफ्नो पुण्यसम्पदा प्रदान गरेर ययातिलाई स्वर्गलोकमै प्रतिष्ठित गराउने शुभाकांक्षा जनाउँछन्, तर ययातिले विनम्रतापूर्वक यस प्रस्तावलाई अस्वीकार गर्दछन् । कसैको प्रदान आफूले ग्रहण नगर्ने दृढता व्यक्त गर्दछन् ।

तल झर्दै गर्दा उनी पृथिवीलोकमा आइपुग्छन्, तर उनले पृथ्वीको स्पर्श गरेका हुँदैनन् । जमीनको सतहभन्दा किञ्चित् माथि उनी अविचलभावले स्थित रहन्छन् । त्यहाँ उनकी छोरी माधवी र उनका सन्तानहरू हुन्छन् । माधवीले आफू र आफ्ना सन्तान अथवा राजा ययातिका पुत्री र दौहित्रहरूले आर्जन गरेको समस्त पुण्यसम्पदा प्रदान गरेर उनलाई स्वर्गलोकमा प्रतिष्ठित गराउने चाहना गर्दछिन् । राजा ययातिले यो धर्मपूर्वक गरिएको वैधानिक प्रदान हो भने आफूले सप्रेम स्वीकार गर्ने आकांक्षा राख्दछन् । अन्ततः छोरी र छोरीपटिका नातीहरूले प्रदान गरेको पुण्य सञ्चयका प्रभावले उनले पुनः स्वर्गलोकमा प्रतिष्ठा पाउँदछन् । यसै सन्दर्भमा ययातिको वचन आउँछ :

तस्मात् पवित्रं    दौहित्रमद्यप्रभृति पैतृके ।

भविष्यति न सन्देहः पितृणां प्रीतिवर्धनम् ।।

आजउपरान्त पितृकर्म श्राद्धमा दौहित्र– छोरीतर्फको नाती परमपवित्र मानिनेछ । उसको उपस्थितिले श्राद्धकर्ममा पितृहरूको हर्षवर्धन हुनेछ । श्राद्धमा तीन कुरा सबैभन्दा पवित्र मानिने छन् : पवित्रता, अक्रोध र अत्वरा (हतार नगर्नु) । त्यसैगरी श्राद्धमा भोजन गर्नेवाला, भोजन पस्किनेवाला र पितृसूक्त पाठ गर्नेवाला यी तीन व्यक्ति पनि पवित्र मानिनेछन् । दिनको आठौं भागमा जब सूर्यको ताप मन्द हुन लाग्दछ त्यस समयलाई कुतप भनिन्छ । त्यसैवेला पितृलाई गरिएको प्रदान अक्षय्य मानिन्छ ।

तिलाः पिशाचाद् रक्षन्ति  दर्भा रक्षन्ति राक्षसात् ।

रक्षन्ति श्रोत्रियाः पंक्तिं    यतिभिर्भुक्तमक्षयम् ।।

श्राद्धकर्ममा तिलले पिशाचहरूबाट सुरक्षित राख्दछन्, कुशले राक्षसहरूबाट सुरक्षित राख्दछन्, श्रोत्रिय ब्राह्मणहरूले पंक्तिको रक्षा गर्दछन् भने यतिगण (सन्न्यासीहरू) द्वारा सम्पन्न गरिएको भोजनले अक्षय फल प्रदान गर्दछन् ।

लब्ध्वा पात्रं तु विद्वांसं  श्रोत्रियं सुव्रतं शुचिम् ।

स कालः कालतो दत्तं  नान्यथा काल इष्यते ।।

उत्तम व्रती, पवित्र, श्रोत्रिय ब्राह्मण श्राद्धका लागि उत्तम पात्र हो । त्यस्तो पुरुष जुन वेला भेटिन्छ त्यही नै श्राद्ध गर्ने उत्तम वेला हो भन्ने बुझ्नू । त्यस्तालाई गरिएको दान नै उत्तम कालको दान हो , यो भन्दा उपयुक्त अरु कुनै काल छैन ।

….

आफ्ना छोरी र नातीहरूलाई यति शिक्षा दिइसकेपछि राजा ययाति पुनः स्वर्गलोकको यात्राका निम्ति सन्नद्ध बन्दछन् । अष्टक एवम् उशीनरपुत्र पुण्यशील राजा शिबिका साथमा ययातिको दिव्ययात्रा अगि बढ्दछ । यसरी देवराज इन्द्र झैं यशस्वी पुण्यकर्मा राजा ययातिको स्वर्गलोकमा प्रतिष्ठा प्राप्त हुन्छ ।

अन्त्यमा ययातिको यो वचन :

सत्येन वै द्यौश्च वसुन्धरा च

    तथैवाग्निर्ज्वलते       मानुषेषु  ।

न मे वृथा व्याहृतमेव वाक्यं

    सत्यं हि सन्तः प्रतिपूजयन्ति ।। २५

सत्यले नै पृथ्वी र आकाश टिकेका छन्, सत्यले नै मनुष्यलोकमा अग्नि प्रज्वलित भएको छ, मैले कदापि वृथा वाक्य बोलेको छैन, साधुजनले सदा सत्यलाई नै सर्वोपरि समादर  गर्दछन् ।

……

इति ययाति उपाख्यानम् ।

२०८१ भाद्र २० गते शुक्रवार, अक्षरालय ।